इस्लामाबाद । पाकिस्तानमा पहिलो पटकमा सर्बोच्च अदालतमा महिला न्यायाधीश नियुक्त भएकी छिन् । न्यायाधीश आयसा मलिकले सोमबार सर्वोच्च आदलतको न्यायाधीशको सपथ खाएर इतिहास रचेकी हुन् । बिहीबार पाकिस्तानको न्याय सेवा आयोग (जेसीपी) ले मलिकलाई सर्वोच्चको न्यायाधीश नियुक्तिका लागि सिफारिश गरेको थियो ।
आयोगका पाँच सदस्यमध्ये चार जनाले उनको पक्षमा मतदान गरेका थिए । सर्वोच्चका प्रधान न्यायाधीश गुल्झर अहमेदले सोमबार नै मलिकलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् । मलिकलाई सर्वोच्चको न्यायाधीश हुन त्यति सहज वातावरण थिएन् । किनकी उनको प्रमोसनमा देशभरका वकिलहरुले विरोध गरेका थिए । वरिष्ठताका हिसावले उनी लाहोर उच्च न्यायालयको चौथो वरियतामा थिइन् । मलिकको नियुक्तिको विरोधमा पाकिस्तान वार काउन्सीलले पनि आन्दोलन घोषणा गरेको थियो ।
सर्वोच्चका १७ न्यायाधीशमध्ये अगस्टमा एक जना न्यायाधीशले सेवानिवृत्त पाएपछि एउटा सिट रिक्त थियो ।-एजेन्सी
काठमाडौं । तीनवटा दशैं एकै वर्ष परेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाको भाग्यरेखा राजयोगमा पर्ने गरेको ज्योतिषीय विश्लेषण छ ।आजभन्दा १९ वर्षअघि पनि यस्तै योग निर्माण भएकाले अक्षम भनेर पूर्वराजा ज्ञानेन्द्र शाहले देउवालाई प्रधानमन्त्रीबाट हटाएका थिए । तर, त्यसपछि केन्द्रीय राजनीतिमा शक्तिशाली अवस्थामा फर्केका देउवा फेरि पनि १९ वर्षअघिकै योग दोहोरिने चर्चा सुरु भएको छ ।
यस्तो शक्तिशाली राजयोगको संयोग परेको अवस्थामा कसैले कमजोरीको फाइदा उठाउन खोजेमा त्यस्ता वर्गको अस्तित्वमै संकट आउन सक्ने ज्योतिषी सुरेशचन्द्र रिजाल बताउँछन् । यो वर्ष तीनवटा दशैं परेको छ । २०७७ सालको चैते दशैं पनि २०७८ सालमा मनाइयो भने मूल दशैं र चैते दशैं पनि यही वर्ष नै पर्ने भएकाले यो वर्ष तीनवटा दशैं पर्छ । तीनवटा दशैं एकै वर्ष भएको बेलामा देउवाको भाग्यरेखा राजयोगमा पर्ने ज्योतिषी रिजालको दाबी छ ।
१९ वर्षअघि पनि एकै वर्ष तीनवटा दशैं भएको र पछि अपदस्थ हुनुपरे पनि देउवा चर्चा र शक्तिमै रहेको उनले बताए । ‘१९ वर्षपछि अहिले पनि पहिलेकै योग देखिएकाले देउवा चर्चित र शक्तिशाली नै बनिरहने योग छ,’ रिजालले न्युज कारखानासँग भने ।
काठमाडौं । जनता समाजवादीकी नेतृ तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले आफ्नो अभिव्यक्तिलाई पूर्वाग्रहपूर्ण ढंगले आआफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
रौतहटको गौरमा यही ५ माघमा ’बलिदानी दिवस’को अवसरमा आयोजित कार्यक्रममा उनले गौर काण्ड दोहोर्याएर जनमत पार्टीका संयोजक सिके राउतको हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै चौतर्फीं विरोध भइरहेको छ । उनलाई मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग उठिरहेका बेला सोमबार विज्ञप्ति जारी गरेर मन्त्री यादवले आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरेर बुझिएको बताएकी छन् ।
‘हाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी युवा संघ’ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ,’ मन्त्री यादवले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आफ्नो अभिव्यक्ति कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको भन्दै उनले सिके राउतलाई मार्ने धम्की नदिएको नाम उल्लेख नगरी बताएकी छन् ।
७ चैत २०६३ मा तत्कालीन नेकपा माओवादी र मधेशी जनअधिकार फोरमले गौरको राइसमिलमा कार्यक्रम आयोजना गर्दा भएको झडपमा २८ जना मारिएका थिए । सिके राउत नसच्चिए सोही घटना दोहो¥याउने अभिव्यक्ति दिएको भन्दै मन्त्री यादवको चौतर्फी विरोध भइरहेको छ ।
तर, सोमबार उनले विज्ञप्ति जारी गरेर भनेकी छन्, ‘मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । साथै, उक्त वक्तव्यलाई अतिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछ । मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभए पनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछु । साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछ ।’
विज्ञप्तिको पूर्णपाठ
नेपालमा संघीयता, लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र, नागरिक स्वतन्त्रता प्राप्तिका लागि मधेसी, आदिवासी–जनजाती, दलित, महिला, थारु, मुस्लिम, उत्पीडित जातजाति र अल्पसंख्यक समुदायहरुमाथि वषौदेखि कायम रहेको थिचोमिचो, शोषण, दमन, उत्पीडन, विभेद र असमानता अन्त्य गरी पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न भएको ऐतिहासिक मधेस जनविद्रोह, माओवादी जनयुद्ध र जनआन्दोलनको सिलसिलामा आफ्नो ज्यानको आहुति दिने महान वीर सहिदहरुको सम्झनामा उहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली अपण गर्न प्रत्येक वर्ष माघ ५ गतेलाई ’बलिदानी दिवस’ को रुपमा मनाउँदै आएको सबैलाई सर्वविदितै छ ।
त्यसै क्रममा हाम्रो पार्टीको भातृसंगठन ‘समाजवादी यूवा संघ’ले रौतहटस्थित गौरमा श्रद्धाञ्जली सभाको आयोजना गरेको थियो । त्यस सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कुनै पूर्वाग्रह वा दूरासयपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हुनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ–आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।
मेरो मन्तव्यलाई लिएर केही भ्रम फैलिएको बुझिन आएकोले सो प्रति गहिरो दुख व्यक्त गर्दै आफ्नो भनाई कसैप्रति हिंसाको प्रयोग नगर्ने र कसैलाई उत्तेजित पार्न नभएको व्यहोरा समेत जानकारीका लागि अनुरोध गर्दछु । साथै, उक्त वक्तव्यलाई अत्तिरञ्चित नगरिदिन हुन् विनम्र आग्रह पनि गर्दछ । मेरो वक्तव्य व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएपनि त्यस्तो भ्रम पर्न गएकोमा सो प्रति दुःख व्यक्त गर्दछ । साथै यसलाई सामान्य रुपमा लिन हार्दिक अनुरोध पनि गर्दछु । अगामी दिनमा यसप्रति सचेत रहनेछ ।
काठमाडौँ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी)लाई १३ अर्ब २० करोड रुपैयाँ भुक्तानी गरेको छ । सञ्चित बचत शून्यमा झरेपछि तेल किन्नसमेत पैसा नभएको बताएको निगमले सरकारसँग ऋण लिएर सोमबार आइओसीलाई रकम भुक्तानी गरेको हो ।
निगमले मूल्य स्थिरीकरण कोषबाट एक अर्ब ८० करोड रुपैयाँ लिएर जनवरी महिनाको दोस्रो किस्ताबापतको रकम आइओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको शुक्रबारको बैठकले आइओसीलाई तिर्न अपुग एक अर्ब ८० करोड रुपैयाँ निगमलाई उपलब्ध गराउने निर्णय गरेको थियो । कोष सञ्चालक समितिको अध्यक्ष वाणिज्य तथा आपूर्ति सचिव रहने व्यवस्था छ ।
निगमले दोस्रो किस्ताबापत आइओसीलाई २३ तारिखमा रकम बुझाउनुपर्ने भए पनि आइतबार आइओसी बन्द भएका कारण एक दिन पछि भुक्तान गरेको हो । निगमले प्रत्येक अंग्रेजी महिनाको ८ र २३ तारिखमा आइओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापतको रकम भुक्तानी गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार उकालो लाग्दा निगमको घाटा पनि चुलिँदै गएको छ । नेपालमा वार्षिक डेढ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।
काठमाडौं । देशको टाउकोमा थुप्रिएको अत्यधिक ऋण, मुद्रास्फीति र अनियन्त्रित महँगीका कारण आफूलाई अचेल निद्रा नलाग्ने पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बताएका छन् । एक नयाँ मिडिया रिपोर्टले पनि यो तथ्य पुष्टि गरेको छ । तथापि, महँगीबारे कोरोना महामारी बढी जिम्मेवार रहेको पनि इमरानले स्पष्टीकरण दिएका छन् ।
पाकिस्तानी अखबार ‘डन’का अनुसार, आकाश छुँदै गएको महँगीले आफूलाई राति निदाउन नदिएको इमरानको स्वीकारोक्ति छ । उनले मुद्रास्फीति विश्वव्यापी समस्या भएको पनि भन्न भ्याएका थिए ।
सन् २०१८ मा राजनीतिइतरका व्यक्ति प्रधानमन्त्री हुँदा पाकिस्तानी जनता निकै खुसी थिए । क्रिकेटमा खुबै जमेका र देशको प्रतिनिधित्व गरेका खेलाडी इमरान जब पाकिस्तानको सत्तामा उक्लिए तब त्यहाँका जनतामा आशा पलाएको हो । तर परिस्थिति सोचेजस्तो भएन । इमरानले आफ्नो नेतृत्वको पाकिस्तान तहरिक-ए–इन्सान पार्टी सत्तामा जाँदा देशले ठूलो व्यापारघाटा बेहोरिरहेको बताएका छन् । यसले गर्दा आयात मूल्य बढ्न गएको र परिणामतः महँगी बढेको उनको भनाइ छ ।
पाकिस्तानले महामारी नियन्त्रणका लागि आठ हजार बिलियन डलर खर्च गरेको छ । तर पनि कोरोना महामारी पूर्ण नियन्त्रणमा आएको छैन । सबै नागरिकसम्म खोप पुगेको छैन । पाकिस्तानमा महँगीको मार सबैभन्दा बढी आवधिक तलबमा काम गर्ने वर्ग परेको देखिएको छ ।
पाकिस्तानको बाह्य ऋणको अंक भयावह छ । ‘टे«डिङ इकोनोमिक्स ग्लोबल माइक्रो मोडल्स एन्ड एनालिस्ट’का अनुसार २०२२ सम्ममा पाकिस्तानको बाह्य ऋण एक लाख १८ हजार पाँच सय मिलियन अमेरिकी डलर पुग्ने अनुमान छ । यो ठूलो ऋण तिर्ने उपाय पाकिस्तानले अहिलेसम्म फेला पार्न सकेको छैन ।
गत महिनामात्रै पाकिस्तानले साउदी अरबसँग एक वर्षे ऋण लियो । कतिपय विश्लेषकहरू पाकिस्तान अहिले चिनियाँ ऋणको पासोमा परिसकेको बताउँछन् । केही महिनाअघि उक्त दक्षिण एसियाली मुलुकले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग पनि ऋण लिएको थियो । उक्त ऋण निकै विवादमा परेको थियो ।
धनी तथा शुभेच्छुक मुलुक र अन्तर्राष्ट्रिय आर्थिक संस्थाहरूसँगको ऋणले सबैभन्दा बढी त्यहाँका नागरिकमाथि भार पर्न गएको छ । अहिले प्रत्येक पाकिस्तानी नागरिकको टाउकोमा ११ सय एक अमेरिकी डलर ऋण रहेको छ ।
कुनै समय पाकिस्तान दक्षिण एसियाको धनी देशहरूमध्ये एक थियो । कतिपय अर्थशास्त्रीहरू २०१० देखि उक्त देश ओरालो लाग्न थालेको बताउँछन् । अहिले अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँको मूल्य पनि निकै तल रहेको छ ।
अधिकारकर्मीहरू पाकिस्तानमा सबैभन्दा कमजोर मानवअधिकार रहेको बताउँछन् । सोही कारण पाकिस्तानी नागरिकको व्यक्तिगत उन्नति हुन नसकेको उनीहरूको धारणा छ । त्यहाँ उत्पादकत्व पनि निकै खस्केको छ । पाकिस्तानमा पछिल्लो समय सडकमा बसेर माग्नेहरूको संख्या पनि उत्तिकै बढेको छ ।
कलाकार, खेलाडी तथा राजनीतिकर्मी इमरानलाई निद्रा नलाग्नु स्वाभाविक छ । उनले जेजस्तो सपना बोकेर राजनीतिमा प्रवेश गरेका थिए, त्यो साकार हुन सकिरहेको छैन । भन्न सकिँदैन, त्यो सार्क देशले कहिले आफ्नो मुहार फेर्ला र प्रधानमन्त्री इमरानले कुन दिनदेखि मज्जाले निदाउन सक्लान् !
काठमाडौं । सोमबारबाट सहिद सप्ताह सुरु भएको छ । प्रजातन्त्र स्थापनाका लागि विभिन्न कालखण्डमा ज्यानको आहूति दिएका सहिदको सम्झनामा हरेक वर्ष १० देखि १६ माघसम्म विभिन्न कार्यक्रम गरी उनीहरूको योगदनाको चर्चासहित सहिद सप्ताह मनाउने गरिएको छ ।
२०१२ सालदेखि नै काठमाडौं महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष सहिद सप्ताह मनाउन थालिएको हो ।
प्रजातन्त्र र स्वतन्त्रताको माग राखेका शुक्रराज शास्त्रीलाई १० माघ १९९७ मा काठमाडौंको टेकुस्थित पचलीमा मृत्युदण्ड दिइएको थियो । सहिद शास्त्रीलाई मृत्युदण्ड दिइएको दिन १० माघदेखि १६ माघसम्म सहिद सप्ताह मनाउने गरिएको छ ।
१३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा तत्कालीन राणाशासकले मृत्युदण्ड दिएको थियो । १६ माघलाई सहिद दिपवसको रुपमा मनाउने गरिएको छ ।
काठमाडौँ । अमेरिकी विद्युतीय गाडी निर्माता टेस्लाका मालिक एलन मस्क, इथेरियमका सहसंस्थापक भितालिक बुटेरिन तथा इ कमर्स फाेरम गुमारोडका संस्थापक सहिल लाभिंगियाबीच ट्विटरमा कृत्रिम काेख चर्को बहस बढेको छ ।
जनसंख्या पतनको बढ्दो सम्भावना र त्यसलाई समाधान गर्न कृत्रिम कोख –(सिन्थेटिक वम्ब) बारे ट्विटरमा बहस बढेको हो । एउटा पछिल्लो ट्विटमा मस्कले भनेका छन्, ‘जनसंख्याको सम्भावित पतनबारे हामीले सोच्नै पर्छ ।’ मस्कको ट्विटलाई जबाफ दिँदै लाभिंगियाले लेखेका छन्, ‘हामी सजिलै, चाँडो, सस्तो र सबैलाई पहुँच हुने सिन्थेटिक कोख प्रविधिको विकास गर्नुपर्छ ।’
उनीहरुको च्याट जनसंख्या पतन र कृत्रिम कोखको विकासमा केन्द्रित थियो । आगामी केही दशकपछि मानिसहरु मंगल ग्रहमा बस्ने ठोकुवा गर्दै आएका मस्कका लागि जनसंख्या पतन निश्चय नै चिन्ताको विषय हो । किनकी पृथ्वीमा नै मानिसको पतन भए मंगल ग्रहमा बसाइँ सार्ने उनको योजना पुरा हुने छैन् ।
ट्विटरमा दुई जनाबीच बहस बढिरहेका बेला अर्का अर्बपति बुटेरिनले लेखेका छन्, ‘सिन्थेटिक कोखले गर्भधारण र महिला तथा पुरुषबीच हुने असमानताको विभेद हटाउछ ।’
के हो कृत्रिम कोख ?
कृत्रिम कोख एउटा यस्तो उपकरण हो, जसले वाह्य गर्भावस्थालाई अनुमति दिन्छ । यस प्रकृयामा भ्रुणको विकास जीवको शरीर बाहिर हुन्छ । नेदरल्याड्सका वैज्ञानिकहरुले कृत्रिम कोख विकास गरिरहेको र त्यसले समय नपुगी जन्मिने शिशुलाई जोगाउने सन् २०१९ को एउटा रिपोर्टमा बीबीसीले जनाएको थियो ।
विज्ञहरुका अनुसार नवजात शिशुहरुको ठूलो संख्यामा मृत्यु हुनुको मुख्य कारण समय नपुगी जन्मिनु हो । तर, कृत्रिम भ्रुणको अवधारणाले विभिन्न कानुनी प्रश्न पनि खडा गरेको छ ।-एजेन्सी
काठमाडौं । कोरोनाभाइरस संक्रमणको महामारीले दुई वर्ष पूरा गरी सक्दा ३५ करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । सन् २०१९को अन्त्यतिरबाट कोरोनाभाइरस संक्रमण सुरु भएको थियो । २४ जनवरी २०२२को बिहान ४ बजे वल्डोमिटरले अपडेट गरेको विवरणअनुसार विश्वभर हालसम्म ३५ करोड २१ लाख २६ हजार ९०७ जना मानिस कोरोनाबाट संक्रमित भएका छन् ।
कोरोनाबाट सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा सात करोड १९ लाख २५ हजार ९३१ जना संक्रमित भएका छन् । अमेरिकापछि भारतमा तीन करोड ९५ लाख ४३ हजार ३२८ जना, ब्राजिलमा दुई करोड ४० लाख ४४ हजार ४३७ जना, फ्रान्समा एक करोड ६६ लाख ९२ हजार ४३२ जना, बेलायतमा एक करोड ५८ लाख ५९ हजार २८८, रुसमा एक करोड ११ लाख आठ हजार १९१ जना, टर्कीमा एक करोड नौ लाख ४७ हजार १२९ जना र इटालीमा ९९ लाख २३ हजार ६७८ जना संक्रमित भएका छन् ।
कोरोना संक्रमणबाट हालसम्म ५६ लाख १४ हजार ७८८ जनाको मृत्यु भएको छ । वल्डोमिटरका अनुसार सबैभन्दा बढी अमेरिकामा आठ लाख ८९ हजार १९७ जनाले ज्यान गुमाएका छन् । त्यसपछि क्रमश ब्राजिलमा ६ लाख २३ हजार १४५ जना, भारतमा चार लाख ८९ हजार ८९६ जना, रुसमा तीन लाख २६ हजार ११२ जना, मेक्सिकोमा तीन लाख तीन हजार १८३ जना र पेरु दुई लाख चार हजार ३२३ जनाको मृत्यु भएको छ ।
यीबाहेक एक लाखभन्दा बढी नागरिक गुमाउने फ्रान्स, बेलायत, इटाली, जर्मनी, अर्जेन्टिना, इरान, कोलम्बिया, पोल्याण्ड, इन्डोनेसियासहितका देशहरू छन् । साथै संक्रमितको संख्या ३५ करोडभन्दा बढी हुँदा र ५६ लाखभन्दा बढी मानिसले ज्यान गुमाउँदा २७ करोडभन्दा बढी व्यक्तिले कोरोनालाई जितेका छन् । वल्डोमिटरका अनुसार २७ करोड ९८ लाख ५२ हजार २३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।
काठमाडौँ । हङकङमा घरपालुवा जनावरको रेखदेख गर्ने एकजना कर्मचारीलाई भाइरस सङ्क्रमण भएपछि हजारौँ ह्याम्सटर भनिने मुसा प्रजातिका घरपालुवा जनावरहरूलाई मार्न आदेश दिइयो।
हङकङका अधिकारीहरूका अनुसार पसलमा बेच्न राखिएको कुनै सङ्क्रमित ह्याम्सटरबाट मानिसमा भाइरस सरेको हुनसक्छ। यहाँ भाइरस कसरी सर्यो भन्ने यकिन हुन नसके पनि स्वास्थ्य वैज्ञानिकहरू जनावरहरूमा भाइरस उत्परिवर्तन भएर मानिसहरूमा नयाँ महामारी निम्त्याउन सक्ने कुरामा चिन्तित छन्।
हङकङमा ठूलो सङ्ख्यामा ह्याम्सटरहरू मारिएको घटना धेरै देशहरूमा समाचारको शीर्षक बन्यो। अधिकारीका हातबाट ह्याम्सटरहरू मारिनबाट जोगाउन मानिसहरूले यसलाई पाल्न प्रस्ताव गरेको र यी जनावर मारिनुअघि नै मानिसहरू घरपालुवा जनावरका पसलमा जाँदै गरेको समाचारहरू प्रकाशित भए।
जनावरहरूमा कोभिड फैलिएका धेरैमध्येको यो पछिल्लो एउटा घटना मात्र थियो। जनावरको स्वास्थ्यका लागि विश्व सङ्गठन(ओआईई)ले १७ प्रकारका जनावरमा ६२५ वटा कोभिड सङ्क्रमणका घटना भएको गत महिना जनाएको छ। विभिन्न ३२ वटा देशको तथ्याङ्कमा सिंह, बाघ देखि कुकुर, बिरालो र बन बिरालोसम्म छन्।
तर अधिकांश सङ्क्रमित जनावरहरू चिडियाखानामा भएका कारण उनीहरूलाई क्वारन्टीन राख्न र परीक्षण गर्न अप्ठ्यारो थिएन। तर जनावर स्वास्थ्यका विज्ञहरूका अनुसार जङ्गली जनावरमा सङ्क्रमण फैलिए ठूलो जोखिम निम्त्याउन सक्छ। अहिलेसम्म एउटा मात्रै जङ्गली जनावरमा मानिसबाट सङ्क्रमण सरेको थाहा हुन आएको छ। अमेरिका र क्यानडामा जनावरहरूमा कोभिड परीक्षण गर्ने क्रममा सेतो पुच्छर भएको हरिणमा मानिसबाट सङ्क्रमण सरेको पाइएको थियो।
तर परीक्षण नै नभएका देशहरूमा मानिसहरूबाट जङ्गली जनावरमा भाइरस सरेको चिन्ताबीच ओआइईले जङ्गली जनावरहरूको तत्कालै विश्वभर परीक्षण गर्न विज्ञहरूसँग काम भइरहेको जनाएको छ।
यसले किन महत्त्व राख्छ?
विज्ञहरू जङ्गलमा रहने जनावरहरू भाइरसको सञ्चय स्थल बन्न सक्ने, उनीहरूमा भाइरस उत्परिवर्तन भएर थप खतरनाक हुँदै मानिस र जङ्गली जनावर दुवैलाई जोखिम बढाउने सम्भावना रहेको बताउँछन्।
“यस अर्थमा पनि जङ्गली जनावरहरूको निगरानी हुनु महत्त्वपूर्ण छ तर त्यो भइरहेको छैन,” सिङ्घापुरको ड्यूक-एनयूस मेडिकल स्कुलमा उदाउँदा सङ्क्रामक रोग सम्बन्धी कार्यक्रम हेर्ने प्राध्यापक लिन्फा वाङ् भन्छिन्।
“यदि मैले यो गर्न चाहेँ भने पनि स्रोत कहाँबाट जुटाउने, कति नमुनामा परीक्षण गर्ने र को सँग सहकार्य गर्ने भन्नेबारे मलाई केही पनि थाहा छैन। यो हामीले झेल्नुपर्ने ठूलो चुनौतीको रूपमा रहेको छ।” यो महामारी पनि जनावरबाट मानिसमा भाइरस फैलिएकै कारण सुरु भएको ठान्ने गरिएको छ। विश्व भेटेरिनरी असोसिएशनकी महामारी जोखिम व्यवस्थापन विज्ञ प्राध्यापक नोएल मरेन्डा यो भाइरस फेरि मानिसहरूबाट जनावरमा फैलन सक्ने प्रति ध्यान दिन हुन जरुरी हुने बताउँछन्।
“कोभिड सम्बन्धी आवश्यकताका लागि जङ्गली जनावरहरूको निगरानी गर्नु विश्वव्यापी मुद्दा हुनुपर्ने हो तर अहिले त्यो देखिइरहेको छैन,” उनले बीबीसीसँग भने। “मानिस र जनावरहरूबीचको यो आदानप्रदान छानबिन हुनुपर्छ र अन्तर सम्बन्धित समस्याहरूको अध्ययनको लागि बहु-आयामिक सहकार्य आवश्यक पर्छ।” ढल र फालिएका खानेकुराबाट जनावरहरूमा भाइरस सर्ने जोखिम सम्बोधनका लागि वैज्ञानिकहरूले सहरी योजनाविद् र फोहोर व्यवस्थापन विज्ञहरूसँग सहकार्य गरेको उनी देख्न चाहन्छन्।
जङ्गली जवावरहरूमा भाइरसको भण्डार
जनावरहरूले सञ्चय गरेका भाइरसका कारण मानिसहरूलाई असर गरेका धेरै उदाहरणहरू छन्। वैज्ञानिकहरूका अनुसार इबोला, हेन्द्रा र निपा भाइरस चमेरामा सञ्चित भएर बसेको थियो। रेबिज भाइरस रकुनहरू र फ्याउराहरूमा बस्ने गरेको पाइएको थियो। क्षयरोगको भाइरस पनि जनावरबाटै मानिसमा सरेको थियो।
उनीहरूका अनुसार सन् २००९ मा महामारीको रूप लिएको स्वाइन फ्लू कसरी जनावर र मानिसहरूबीच एक अर्कामा भाइरस सर्न सक्छ भन्ने उदाहरण भएको बताउँछन्। स्वाइन फ्लू सबैभन्दा पहिले सुँगुरबाट मानिसमा सरेको थियो भने पछि मानिसले सुँगुरलाई सङ्क्रमित गराएका थिए। बिरामीको कुनै पनि लक्षण नदेखिएको सेतो पुच्छर हुने हरिणमा कोरोनाभाइरसको कुनै उत्परिवर्तन भए नभएको विषयमा वैज्ञानिकहरूले अनुसन्धान गरिरहेका छन्।
“हामीले सिक्वेन्स गरेका नमुनाहरूबाट कुनै पनि उल्लेख्य उत्परिवर्तन भएको पाएनौँ,” पेन स्टेट विश्वविद्यालयका क्लिनिकल प्राध्यापक डाक्टर सुरेश कुचिपुडीले भने। “ती नमुनाहरू महामारीको सुरुवाती चरणमै लिइएका थिए। भाइरस हरिणहरूमा फैलँदै गए नगएको र उत्परिवर्तन भए नभएको पत्ता लगाउन हामीले सबैभन्दा पछिल्ला उदाहरणहरूको पनि विश्लेषण गरिरहेका छौँ।”
जति धेरै भाइरस फैलँदै गयो मानिसहरूलाई खतरा निम्त्याउने जोखिम पनि उति नै धेरै हुने गर्छ। “यो हामी सुरक्षित नभएसम्म कोही पनि सुरक्षित हुँदैन भनेजस्तै हो,” डा मरेन्डा भन्छन्। “जनावरको संसार पनि यसैमा समेटिन्छ।”
ठूलो चुनौती
तर हामीले सबै वन्यजन्तुलाई कसरी निगरानीमा राख्ने? जबकि स्तनधारी जीवहरू मात्रै ५,००० प्रकारका छन्। प्रोसिडिङ्स अफ न्याशनल एकेडेमी अफ साइन्सेसमा प्रकाशित एक अनुसन्धानले ४१० वटा फरक प्रजातिहरू पहिचान गरेको छ जसको कोषको सतहमा पाइने प्रोटिनमा कोरोनाभाइरस टाँसिन सक्छ। त्यसमध्ये पनि २५२ वटा जनावर स्तनधारी, ७२ चरा, ६५ माछा, १७ सरीसृप र चार वटा उभयचर प्रजाति छन्।
कोषको बनोटका आधारमा कोभिड सङ्क्रमण हुनसक्ने अति उच्च, उच्च र मध्यम जोखिममा रहेका १०३ प्रजातिका जनावर मध्येमा ४० प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयूसीएन)को जोखिम, लोपोन्मुख र अति लोपोन्मुख जनावरको रातो सूचीमा रहेका प्रजाति छन्। “हाम्रो विश्लेषणले विश्वका आदिम र पुराना जनावरहरूमा कोरोनाभाइरस सङ्क्रमण विकाश हुनसक्ने देखाएको छ। त्यसमध्ये पनि चीनमा पाइने २१ प्रजातिका आदिम जनावरहरू कोरोनाभाइरस भण्डारण गर्न सक्ने सम्भावित जनावरहरू हुन सक्छन्,” सन् २०२० मा प्रकाशित अनुसन्धानले भनेको छ।
“यो परालको कुन्यूमा सियो खोज्नुजस्तै हो। विश्वमा कोभिड बिरामीका लागि भेन्टिलेटरहरू जुटाउन सङ्घर्ष गरिरहेका देशहरू पनि छन्। उनीहरूका लागि यो प्राथमिकतामा पर्दैन,” हङकङको सिटी विश्वविद्यालयमा वन हेल्थका प्राध्यापक डर्क फाइफर भन्छन्। “त्यसैले हामी कसरी अघि बढ्ने र यसलाई प्रभावकारी रूपमा कसरी गर्ने भन्ने अहिलेको मुख्य प्रश्न हो।”-बीबीसी
ओउन्डी । क्यामरुनको राजधानी सहर याओउन्डीस्थित एउटा नाइट क्लबमा आगो लाग्दा कम्तिमा १६ जनाको मृत्यु भएको छ । आगलागीमा आठ जना घाईते भएका छन् । नाइट क्लबमा राखिएको पटका पड्किदा आगो लागेको हो । पट्काबाट सल्किएको आगो केही मिनेटमा क्लबभर फैलिएको थियो ।
घटनाबारे सरकारले अनुसन्धान सुरु गरेको छ । बिस्फोटमा मृत्यु भएका व्यक्तिका आफन्तप्रति राष्ट्रपति पाउल वियाले गहिरो समवेदना व्यक्त गरेका छन् ।
आगलागीमा जलेकामध्ये केहीको अवस्था गम्भीर रहेको प्राप्त विवरणहरुमा जनाइएको छ । क्यामरुनमा यसअघि पनि नाइट क्लबमा आगो लाग्दा क्लबमा रमाउन गएका मानिसहरुको जलेर मृत्यु भएको थियो । –एजेन्सी
काठमाण्डाैं । चिनी र रसायन मिश्रित ‘नक्कली’मह बजारमा बिक्री हुने गरेको खुलासा भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनिवार्य रुपमा अनुज्ञापत्र लिन भनेको छ ।
मह उत्पादन तथा बिक्री वितरणका लागि खाद्यबाट अनुज्ञापत्र लिनुपर्ने कानुनी व्यवस्था भए पनि विभागले कानुन पालना भए नभएकोबारे खासै चासो दिएको थिएन ।
तर, हालै मात्र प्रहरीले नक्कली मह उत्पादन गर्ने उद्योगमा छापे हानेर एक जनालाई पक्राउ गरेपछि विभाग पनि चनाखो भएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले गत बिहीबार काठमाडौंको ज्याठाबाट नक्कली महसहित नरबहादुर श्रेष्ठलाई पक्राउ गरेको थियो ।
खाद्य विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै नियमकानुनबारे सार्वजनिक सूचना जारी गरेको हो । ‘महको उत्पादन तथा प्याकिङ गरी बिक्रीवितरण गर्ने खाद्य उद्योगले खाद्य ऐन २०२३ को दफा ४ (ख) र खाद्य नियमावली, २०२७ को नियम २४ बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा अन्तर्गतका सम्बन्धित कार्यालयबाट अनिवार्य रुपमा अनुज्ञाप लिइ र प्रत्येक आर्थिक वर्षका लागि नवीकरण गरेर मात्र मह उत्पादन तथा बिक्रीवितरण गर्न हुन जानकारी गराइन्छ ।’
महमा कुनै प्रकारको मिसावट गरेको पाइएमा खाद्य ऐन अनुसार कारबाही हुने चेतावनी दिइएको छ । साथै महको लेवलमा अनिवार्य रुपमा अनुज्ञापत्र खुलाउन भनिएको छ । अनुज्ञापत्र नभएको मह उपभोग नगर्न पनि उपभोक्तालाई आह्वान गरिएको छ ।
काठमाडौँ । कोभिड–१९ सङ्क्रमणको दर बढेसँगै उपत्यकासहित देशभर सिटामोलको अभाव कायमै रहेको छ । आमउपभोक्ताको गुनासोपछि प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार सरोकारवालालाई बोलाएर सिटामोलको अभाव तत्काल समाधान गर्न निर्देशन दिए। उक्त निर्देशनपछि औषधि व्यवस्था विभाग, नेपाल औषधि उद्योग लिमिटेड र निजी उत्पादक उद्योगीले बिहीबारदेखि उपत्यकासहितका बजारमा सहज रूपमा सिटामोल उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए तर बजारमा अहिले पनि बजारमा सिटामोल पाइँदैन ।
उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसिनाले व्यवसायीको निजी स्वार्थपूर्तिका लागि अहिलेको परिस्थितिमा जुनसुकै बेला आवश्यक पर्ने सिटामोलको अभाव सिर्जना गरेको आरोप लगाए । उनले भने, “अहिले बजारमा सिटामोल अभाव होइन, औषधि उत्पादक उद्योगीले कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउन सरकारलाई बाध्य पार्ने खेल हो । ”
औषधि उत्पादकका अनुसार बजारमा सिटामोल अभावको मुख्य कारण भने विगतमा सरकारले निर्धारण गरेको यसको अधिकतम मूल्य नै हो । सरकारले सिटामोलको उपभोक्ता मूल्य प्रतिट्याब्लेट एक रुपियाँ निर्धारण गरेको छ तर उत्पादकका अनुसार यसको उत्पादन लागत नै एक रुपियाँ ४० पैसा पर्छ । सोही कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडबाहेक अन्य निजी उत्पादकले सिटामोल उत्पादन गर्दैनन् ।
नेपाल औषधि उद्योग सरकारी अनुदानमा चल्ने भएकाले उसले घाटा खाएरै भए पनि सिटामोल उत्पादन गर्दै आएको दाबी गर्दै आएको छ । उद्योग घाटामा भएपछि सरकारसँग अनुदान मागेको र रकम प्राप्त नभएपछि केही महिनायता उत्पादन घटाएका छन् ।
नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले कोभिड–१९ सङ्क्रमण बढेकाले एकै पटक पारासिटामोल र सिटामोलको अत्यधिक मागका कारण बजारमा केही अभाव देखिनु स्वाभाविक भएको स्वीकार गर्नुभयो तर पारासिटामोल अभाव भए पनि हाहाकारको अवस्था भने नरहेको उनको दाबी छ ।
अध्यक्ष पाण्डेले सरकारी कम्पनीका अतिरिक्त स्वदेशी निजी ३०र३२ वटा कम्पनीले पारासिटामोल उत्पादन गर्ने गरेको र पछिल्लो तीन दिनयता ५० लाख ट्ब्यालेट पारासिटामोल बजारमा पठाइसकेको र औषधिको अद्यावधिक अवस्था औषधि व्यवस्था विभागलाई उपलब्ध गराइरहेको जानकारी दिए।
निजी व्यवसायीले व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत मात्रै पारासिटामोल उत्पादन गरेको भन्दै उनले भने, “पारासिटामोलको मूल्य भारतमै एक चक्कीको दुई रुपियाँ १५ पैसासम्म पर्छ तर सरकारले नेपालमा यसलाई १४ वर्षदेखि एक रुपियाँ मूल्य तय गरेको छ र त्यही मूल्यमा उपलब्ध गराउँदै आएका छौँ। ”
सरकारी स्वामित्वको नेपाल औषधि उद्योगले भने बजारमा सिटामोल अभाव भएपछि पछिल्लो दुई दिनमा छ लाख ट्याब्लेट बजारमा पठाएको जनाएको छ । लामो समय बन्द भएर तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा पुनः सञ्चालनमा आएको यो उद्योगले सरकारले निःशुल्क वितरण गर्ने सिटामोल उत्पादन गर्दै आइरहेको छ । उद्योग पुनः सञ्चालनका लागि सरकारले छ करोड रुपियाँ अनुदान दिएको थियो ।
उद्योग पुनः सञ्चालनपछि यसले वार्षिक २३ लाख चक्की सिटामोल मात्र बिक्री गरेको तथ्याङ्क छ । नेपाल औषधि लिमिटेडका महाप्रबन्धक महम्मद सफिउल्लाहले बढी बिरामीको चाप हुने अस्पतालका औषधि बिक्री कक्षमा शुक्रबार, शनिबार र आइतबार सिधै सिटामोल पु(याइएको जानकारी दिए। सो कम्पनीका अनुसार ३३ लाख ट्ब्यालेट बनाउन कच्चा पदार्थ तयारी अवस्थामा रहेको र थप कच्चा पदार्थ आयातका लागि प्रक्रिया अगाडि बढाइएको छ ।
औषधि लिमिटेडले झन्डै दुई करोड ट्ब्यालेट माग आउने अनुमान गरी सोहीअनुसारको योजना बनाई छ महिनामा ८० लाख ट्ब्यालेट बनाएको जनाएको छ । प्रतिट्ब्यालेट एक रुपियाँ ३० पैसा लागत लागे पनि सरकारले एक रुपियाँ मूल्य निर्धारण गरेकाले नोक्सान भए पनि उत्पादन गर्दै आएको कम्पनीले जनाएको छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले सिटामोल बजारमा गइरहेकाले मङ्गलबारसम्म सहज हुने दाबी गरे । अहिले बजारमा सिटामोलको अभाव हुनुको मुख्य समस्या ‘सप्लाइचेन’मा भएको चर्चा गर्दै उनले भने, “औषधि बजारमा पर्याप्त गएर पनि किन पाइँदैन भनेर हामीले अनुगमन गरेका छौँ, अनुगमनका क्रममा क्यास तिरेर सिटामोल किन्ने औषधि पसलमा छ, जसले बाँकी सिटामोलको माग गर्छ त्यसकामा पाइँदैन।
अहिले ठूला अस्पताल परिषद्मा सञ्चालित फार्मेसी र वरपरका औषधि पसलमा सिटामोल पाइन्छ । दुई(दुई दिनपछि सबै ठाउँमा सहज हुने उनको भनाइ छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र औषधि व्यवस्था विभागको संयुक्त अनुगमन टोलीले शनिबार पनि अनुगमन गरेर सिटामोल लुकाउने तीनवटा औषधि पसललाई जरिवाना गरेको जनाएको छ ।
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको १००औं स्वतन्ता दिवसअघिसम्म सरकारले नयाँ भारत बनाउने लक्ष्य राखेको बताएका छन् । स्वर्गीय नेताजी सुभाष चन्द्र बोसको प्रतिमाको अनावरण गर्दै प्रधानमन्त्री मोदीले भने, ‘स्वतन्त्रत भारतको सपनाका लागि कहिल्यै विश्वास नगुमाउनू। भारतलाई हल्लाउने अहिलेसम्म विश्वमा कुनै शक्ति छैन ।’
सरकारले स्वतन्त्र भारतको सपना साकार पार्ने लक्ष्य पुरा गरेको उनले बताए । ‘भारतले १०० औं स्वतन्त्रता दिवस मनाउनुअघि हामीले नयाँ भारत बनाउने लक्ष्य राखेका छौ,’ मोदीले भने । सन् २०४७ मा भारतले १००औं स्वतन्त्रता दिवस मनाउनेछ ।
देशका लागि सेवा गर्ने क्रममा सहिद भएका सुरक्षाकर्मीप्रति श्रद्धान्जली व्यक्त गर्दै मोदीले भने, ‘देशका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने सम्पूर्ण सुरक्षाकर्मीप्रति श्रद्धा व्यक्त गर्न चाहन्छु ।’-एजेन्सी
नयाँ दिल्ली । भारतमा कोभिड संक्रमितको संख्या दोस्रो दिन पनि घटेको छ । पछिल्लो २४ घन्टामा तीन लाख नयाँ संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ३३ हजारले कमि हो । अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले संक्रमण घटेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा अझै पनि कूल संक्रमितको ५ दशमलव ६९ प्रतिशत सक्रीय संक्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३९ जनाको संक्रमणबाट मृत्यु भएको छ । संक्रमितमध्ये ६० प्रतिशत खोप नलगाएका वा एक मात्र खोप लगाएका भएको बताइएको छ ।
संक्रमण बढेपछि सरकारले खोप अभियानलाई तीव्र पारेको छ । अहिलेसम्म ७२ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।-एजेन्सी
न्युयोर्क । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड १९ महामारीलाई नयाँ चरणमा लगेको र चाँडै नै यो महामारी अन्त्य हुने विश्वास विश्व स्वास्थ्य संगठनका निर्देशकले गरेका छन् । ‘ओमिक्रोनले युरोपलाई महामारी अन्त्यको खेलतर्फ लग्दैछ,’ डब्लूएचओका महानिर्देशक हान्स क्लुगले भने । मार्चसम्म भने ओमिक्रोनबाट ६० प्रतिशत युरोपेली संक्रमित हुने उनको भनाई छ ।
सम्पूर्ण युरोपलाई ढाकेको ओमिक्रोन केही महिनापछि शान्त रहने उनको विश्वास छ । खोपका कारण विश्वव्यापी रुपमा मानिसहरुको रोग प्रतिरोधात्मक क्षमता बढेको उनले बताए । ‘तर, यस वर्षको अन्त्यसम्ममा विश्व शान्त बन्नेछ,’ उनले भने ।
अमेरिकाका वरिष्ठ वैज्ञानिक एन्थोनी फाउसीले पनि कोभिड संक्रमण विस्तारै विश्वबाटै घट्दै जाने विश्वास गरेका छन् । अमेरिकामा कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ ।
काठमाडाैं । १२ माघमा तय भएकाे राष्ट्रिय सभा निर्वाचनका लागि आइतबार मध्यराति अर्थात् ४८ घन्टा अगाबै मौन अवधि सुरु भएकाे छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन भने मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाएको हुनुपर्नेछ ।
मौन अवधिमा एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत पनि मत माग्न र निर्वाचन प्रचार गर्न बन्द गरिएकाे छ ।
उनका अनुसार उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि प्रतिबन्ध छ । निर्वाचन मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन आयोगले सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशनसमेत दिएको छ ।
१९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।