१० माघ २०७८, सोमबार १०:१६ – Page 3 – Nagarikabhiyan : National News

व्यापारघाटा चुलिँदै : आयात १० खर्ब, निर्यात एक खर्ब १८ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा आयातसँगै निर्यातमा समेत वृद्धि भएको छ । सो अवधिमा नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब १८ अर्ब ८५ करोडको मात्र निर्यात गरेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आयात ५९ दशमलव १३ प्रतिशत र निर्यात ९५५ दशमलव ४८ प्रतिशतले वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ६१ अर्ब २४ करोड ५३ लाखको आयात हुँदा नेपालले ६० अर्ब ७९ करोड ९२ लाखको निर्यात गरेको थियो । निर्यात बढ्दै गए पनि आयात झन धेरै बढेको हुँदा व्यापारघाटा चुलिँदै गएको छ ।

व्यापारघाटा चुलिँदै

चालु आर्थिक वर्षको पहिलो छ महिनामा व्यापारघाटा ४६ दशमलव ६४ प्रतिशतले बढेर आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा रु छ खर्ब ४४ करोड ६१ लाखको व्यापारघाटा भएको थियो ।

यसैगरी चालु आर्थिक वर्षको पहिलो छ महिनामा मुलुकको वैदेशिक व्यापार रु ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाखको भएको छ । गत वर्षको सोही अवधिमा मुलुकको वैदेशिक व्यापार सात खर्ब २२ अर्ब ४५ करोडको भएको थियो । यो गत वर्षको सोही अवधिको तुलनामा ५४ दशमलव ८६ प्रतिशतले बढी हो।

१४१ देशबाट आयात

चालु आवको पहिलो छ महिनामा नेपालमा १४१ देशबाट रु नौ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख मूल्य बारबरका विदेशी वस्तुको आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार सो अवधिमा सबैभन्दा धेरै आयात भारतबाट भएको छ ।

भारतबाट सो अवधिमा छ खर्ब तीन अर्ब ५४ करोड ५१ लाखको आयात भएको छ । भारतपछि चीनबाट ठूलो मात्रामा आयात भएको छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट रु एक अर्ब ४५ अर्ब ९१ करोड ३६ लाख मूल्य बराबरका वस्तु आयात भएको छ।

यसैगरी नेपालले चालु आर्थिक वर्षको पहिलो छ महिनामा भारततर्फ रु ९६ अर्ब ५६ करोड तथा चीनतर्फ रु ४५ करोड ६२ लाख ४७ हजार मूल्य बराबरका वस्तु निर्यात गरेको भन्सार विभागले जनाएको छ ।

देवानगंजमा अति बिपन्न परिवार लाई न्यानो लुगा, ब्ल्याङकेट लगायत स्यानेटरी प्याड बितरण !

देवानगंज । सुनसरी को सिमावर्ती क्षेत्र देवानगंज गाउँपालिका वडा नम्बर १ मध्यहोर्षाही का अति बिपन्न परिवार लाई न्यानो लुगा, ब्ल्याङकेट र स्यानेटरी प्याड बितरण गरिएको छ ।

लियो क्लब अफ बिरेन्द्रपुर धरान र अंकुर सामाजिक संस्था देवानगंजले संयुक्त रुपमा एक कार्यक्रमको आयोजना गरि मध्यहोर्षाहीका १६० जना भन्दा बढि बृद्ध, महिला, बालबालिका, गरिब, र असहायहरु लाई जाडो छल्न न्यानो लुगाका साथै किशोरीहरू लाई महिनावारी भएको बेला अपनाउनुपर्ने सरसफाइको उपाय र स्यानेटरी प्याड को प्रयोग बिधिसम्बन्धि जानकारी दिई स्यानेटरी प्याड बितरण गरिएको अंकुर सामाजिक संस्था देवानगंज का अध्यक्ष सन्तकुमार मेहता ले जानकारी दिए।


जाडोमा निकै कष्टकर जीबन बिताइरहेका अति बिपन्न परिवारलाई थोरै भएपनि राहत होस भनेर न्यानो लुगा, ब्ल्याङकेट र स्यानेटरी प्याड बितरण कार्यक्रम अनतरगत लुगा सहयोग गरिएको लियो क्लब अफ बिरेन्द्रपुर धरान का अध्यक्ष प्रतिक ओझाले बताए ।

सुनसरी जिल्लाका बिभिन्न ठाउँमा पुगी लियो क्लब अफ बिरेन्द्रपुर धरान का टिम ले स्थानिय संघ संस्था संग सहकार्य गरी असायहरुलाइ सहयोग गर्दै आएको छ । लगातारको चीसोले बाहिर निस्कन समेत समस्यामा परीरहेको बेला लायन्स क्लबले न्यानो लुगा वितरण गरेपछि मध्यहोर्षाही का अति बिपन्न परिवारहरु निकै खुसी भएका छन ।

समाजमा बसोबास गर्नै सबै मानिसहरुले यस्तै सहयोगको भाबना राखे कोही पनि दुःखमा नपर्ने लियो क्लब अफ बिरेन्द्रपुर धरान का संस्थापक अध्यक्ष एलिन गुरुङग ले बताए ।

देवानगंज गाउँपालिका वडा नम्बर १ मध्यहोर्षाही का वडा सचिव दिलिप साहको प्रमुख आतिथ्यमा लुगा बितरण गरिएको हो । बितरण कार्यक्रममा बोल्दै वडा सचिव दिलिप साहले अति बिपन्न परिवारलाई न्यानो लुगा बितरण गरिने कार्य अत्यन्तै उदाहरणिय कार्य गरेको कारण संस्थाका स्वयमसेवक युवाहरु लाई धन्यवाद समेत व्यक्त गरे।

न्यानो लुगा वितरण कार्यक्रममा द्रुत प्रतिकार्य केन्द्र (क्यू. आर. सी) देवानगंज ले समेत सहयोग गरेको थियो । लियो क्लब अफ बिरेन्द्रपुर धरान र अंकुर सामाजिक संस्था देवानगंज संग सहकार्य गरेर सहयोग गर्न पाउँदा धेरैनै खुसी लागेको क्यू. आर. सी. देवानगंज का संयोजक किशोर मेहता ले जानकारी दिए ।

उक्त कार्यक्रम मा लियो क्लब अफ बिरेन्द्रपुर धरान का आशिष साह, सुशान बस्नेत, अंकुर सामाजिक संस्था देवानगंजका दिपक मेहता , दशरथ मेहता , समाज सेवी डोमी ठाकुर का साथै नागरिक अभियान का देवानगंज न्युज डेस्क प्रमुख ब्रहमदेव मेहता लगायत को उपस्थिति थियो ।

‘२४ लाख खोप कता हरायो ? अस्पताल निर्माणको एक अर्ब ५० करोड किन काटियो ?’

काठमाण्डौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालले कोरोना संक्रमणवाट जोगाउन ल्याइएको २४ लाख खोप हराएको घटनाको विषयमा प्रश्न उठाएको छ ।

पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको ६ महिने कार्यकालका बारेमा पहिलो पटक औपचारिक टिप्पणी गर्दै एमालेले अस्पताल निमार्णका लागि छुटाइएको एक अर्ब ५० करोड रुपैयाँ काटेको प्रति आक्रोशसमेत व्यक्त गरेको छ ।

एमालेका अनुसार कोभिड महामारीको नयाँ लहरले जनजीवन फेरि आक्रान्त हुन थालेको उल्लेख गर्दै आफनो सरकारले शून्यबाट सुरु गरेर ८० भन्दा बढी कोभिड प्रयोगशाला, दर्जनौं कोभिड अस्पताल, हजारौं शैयाहरु, अक्सिजन प्लान्ट, थप पूर्वाधारहरु एंव पर्याप्त खोपको प्रवन्ध गरेको स्मरण गराएको छ । ‘तर, यो सरकार महामारीको नयाँ लहरमा गैरजिम्मेवार र निष्प्रभावी देखिएको छ, २४ लाखभन्दा बढी मात्रा खोप हराएको चरम गैरजिम्मेवार र लज्जास्पद अभिव्यक्ति सरकारी अधिकारीहरुले नै दिइरहेका छन् । क्mहाँ गयो त्यति धेरै मात्राको खोप ? कसले लुकायो वा बेच्यो ? यसका लागि को जिम्मेवार छ ?’ एमालेको प्रश्न छ ।

एकातिर यति ठूलो मात्रामा खोप गायब पारिएको तथा अर्कातिर भण्डारमा भएको खोपको सही वितरण हुन नसक्दा हजारौं नागरिकहरू खोपबाट बञ्चित हुन पुगेको एमालेको टिप्पणी छ । ‘अरू त अरू, खोप लगाउन आवश्यक सिरिन्ज र अत्यन्त आधारभूत मानिएको औषधि सिटामोलसमेत उपलब्ध गराउन नसक्नुले सरकार कति गैरजिम्मेवार छ भन्ने स्पष्ट हुन्छ,’ एमालेले देउवा सरकार माथि निशाना साँधेको छ ।
देउवा सरकारले अकारण स्वास्थ्य क्षेत्रको बजेटसमेत कटौती गरी जनस्वास्थ्यको विषयमाथि खेलवाड गरिरहेको थप आरोप लगाएको छ ।

‘जनतालाई घर–आँगनमै स्वास्थ सुविधा उपलब्ध गराउन विगत सरकारले स्थानीय तहमा ३९६ आधारभूत अस्पताल निर्माणअघि बढाएको थियो, उक्त कामका लागि २०७८ जेठ महिनामा प्रस्तुत बजेटमा  ६ अर्ब १५ करोड रुपैयाँ विनियोजना गरिएकोमा वर्तमान सरकारले एक अर्ब ५० करोड रुपैयाँ कटौती गरेको छ,’ एमाले अध्यक्ष ओलीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ । उसका अनुसार देउवा सरकार सरकार कोभिड पीडित बिरामीको उपचारका लागि खरिद गरिएको आईसीयू, एचडीयु तथा भेन्टिलेटरको भुक्तानीबाट समेत भाग्दै आमनागरिकलाई स्वास्थ्य सुविधा पु¥याउने दायित्वबाट बिमुख हुँदै गएको छ ।

देउवा सरकारले पुस मसान्तभित्र दुई तिहाई र चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेकोमा हालसम्म यो संख्या ४० प्रतिशत मात्र पुगेको एमालेको भनाइ छ । ‘अघिल्लो सरकारले व्यवस्था गरिदिएका खोपको आपूर्ति, व्यवस्थापन, भण्डारण र वितरण पनि राम्ररी गर्न असक्षम वर्तमान सरकारले तु्लनात्मक रुपमा सहज अवस्थामा समेत नागरिकलाई पर्याप्त मात्रामा खोप लगाउन नसकिरहेको बेला सार्वजनिक सेवा उपयोगका लागि खोप कार्ड अनिवार्य भनेर हास्यास्पद र विभेदकारी कदम चालेको छ’ एमाले अध्यक्ष ओलीले बक्तब्यमार्फत प्रश्न तेर्साएका छन् ।

कोभिड महामारीको जोखिमका बेला अग्रपंक्तिमा रहेर काम गर्ने राष्ट्रसेवकहरूले पाउने जोखिम भत्ता पनि उपलब्ध नगराएको भन्दै असन्तुष्ट देखिएको एमालेले संकटका बेला पनि कर्मचारीहरुलाई राजनीतिक आस्थाका आधारमा पक्षपातपूर्ण ढंगले सरुवा गर्ने, जिम्मेवारीविहीन बनाउने र आफू अनुकूल संरचना तयार पार्ने जस्ता गैरजिम्मेवार कामहरू गरिरहेकोमा असन्तुष्टी जाहेर गरेको छ ।

यसैगरी, सबै प्रकारका जटिल रोगको उपचारका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न काठमाडौँको कीर्तिपुरमा प्रस्तावित सुपर स्पेसियालिटी सेन्टर निर्माणका लागि विनियोजित ५० करोडलाई घटाएर १० करोड रुपैयाँमा सीमित पारिदिएको भन्दै एमालेले वक्तव्यमार्फत आक्रोश व्यक्त गरेको छ ।

मधेस प्रदेशले ‘चुच्चे नक्सा’ हालेर राजपत्र सच्चायो

काठमाडौं । तत्कालीन प्रदेश २ को नाम परिवर्तन भई मधेस भएको जानकारी दिन जारी राजपत्रमा नेपालको ‘चुच्चे नक्सा’ नसमेटिएको विषय सार्वजनिक भएपछि पुनः सच्चाइएको छ ।

मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले ‘भूलवश हुन गएको प्रावधिक त्रुट िसच्याइएको जानकारीसहित मन्त्रालयले पुनः राजपत्र छापेको’ जानकारी दिएका छन् ।

गत ३ माघमा प्रदेश २ को प्रदेशसभाले नाम परिवर्तन गरी मधेस प्रदेश कायम गरेको थियो । सो बारे जानकारी दिने भन्दै प्रदेश सरकारले शुक्रबार राजपत्रमा प्रकाशित गरेको थियो, जसको सार्वजनिक सामाजिक सञ्जालमार्फत झाले गरेका थिए ।

पहिलो प्रकाशित राजपत्रमा सार्वभौम संघीय संसदले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा जारी गरेको दुई वर्ष बितेको अवस्थामा पनि मधेस प्रदेशले पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गरेपछि आलोचना भएको थियो ।

बेलायतमा देखियो ओमिक्रोनको सहप्रजाति, ४०० भन्दा बढी संक्रमित

लन्डन । बेलायतमा ओमिक्रोनको सहप्रजाति देखिएको छ । बेलायतमा गरिएका परीक्षणमा ४०० भन्दा बढी जनामा सहप्रजाति देखिएको हो । ओमिक्रोन बीए.२ लाई थप अनुसन्धानमा राखिएको बेलायतको स्वास्थ्य सुरक्षासम्बन्धी निकाय (युकेएचएसए) ले जनाएको छ । अहिलेसम्म ४२६ जनामा सो संक्रमण पुष्टि भएको छ ।

यसअघिका विश्लेषणले नयाँ सहप्रजाति ओमिक्रोनभन्दा छिटो फैलिन सक्ने विश्लेषण गरिएको थियो, तथापी  वैज्ञानिकहरु यसबारे निश्चित हुन सकेका छैनन् । सहप्रजातिलाई भेरियन्ट अफ कन्सर्न भने घोषणा गरिएको छैन् ।

सहप्रजातिबारे थप विश्लेषण गरिने युकेएचएसएले जनाएको छ । सहप्रजातिले आगामी साता बेलायतको महामारीलाई कसरी आकार दिन्छ भन्ने बारेमा प्रष्ट हुन बाँकी छ । सहप्रजातिले महामारीलाई कस्तो स्वरुपमा लैजान्छ भन्ने बारेमा विज्ञहरुले थप अनुसन्धान गरिरहेको युकेएचएसएका निर्देशक डा. मिरा चन्दले बताइन् ।

बेलायतमा सरकारले काेभिड प्रतिबन्धलाई खुकुलाे पार्ने तयारी गरेकाे छ । अब सार्वजनिक स्थलमा मास्कबिना नै हिँडडुल गर्न पाइने भएकाे छ । -एजेन्सी

साउदीमा सामाजिक सञ्जालमा आधारहीन अफवाह फैलाउनलाई पाँच वर्ष जेल हालिने

रियाद । सामाजिक सञ्जालमा आधारहीन अफवाह फैलाउने व्यक्तिलाई पाँच वर्ष जेल सजाय तोकिने साउदी सरकारले चेतावनी दिएको छ । रियादमा एउटा कन्सर्ट रद्द भएपछि घर जाने क्रममा युवतीहरुमाथि यौन दुव्र्यवहार भएको विवरण सार्वजनिक भइरहेका बेला सरकारको सो चेतावनी आएको हो ।

राजधानी रियादनजिकै १४ फेब्रुबरीमा आयोजना गर्ने भनिएको एउटा कन्सर्ट मौसमका कारण अन्तिम समयमा रद्द गरिएको थियो । कार्यक्रम रद्द भएपछि सयौं युवायुवती निराश मुद्रमा कार्यक्रम स्थलबाट बाहिरिएका थिए । घर फर्किने क्रममा केही महिला हराएका र केहीमाथि यौन दुव्र्यवहारको धम्की दिइएको विवरण सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । उनीहरुमाथि वास्तवमै दुव्र्यवहार भए नभएको विषय अझै प्रष्ट हुन सकेको छैन् ।  महिलाहरुको सो गुनासो पछि समाजिक सञ्जालमा अफवाह फैलाउनेलाई जेल हाल्ने सरकारले बताएको हो ।

कतिपयले महिलामाथि दुव्र्यवहार नभएको र प्रतिकूल मौसमका कारण कार्यक्रम रद्द गरिएको भन्दै आयोजकको प्रशंसा गरेका छन् । यसैबीच, साउदी मनोरन्जन निकायकी प्रमुख तुर्की अल शेखले ऋंखलाबद्ध ट्विट गर्दै महिलामाथि दुव्र्यवहार भएका विवरण गलत भएको बताएका छन् ।-एजेन्सी

कोरोनाविरुद्ध खोप लगाएको आधा घण्टामै मृत्यु

धनगढी । कैलालीमा कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टामै एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको खोप लगाएको आधा घण्टामै मृत्यु भएको हो ।

उनको मृत्यु खोप लगाएकै कारण हो वा अन्य कारण बारे भने खुलाइएको छैन । उनले आइतबार कैलाली गाउँपालिका–४ स्थित वडा स्वास्थ्य कार्यालयमा भेरोसेलको दोस्रो मात्रा खोप लगाएका थिए ।

कोभिडविरुद्धको खोप : सरकार र ओलीमध्ये कसले झुट बोले ?

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले कोरोना रोकथाम र नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल असफल भएको आरोप लगाएका छन् । आइतबार १५ बुँदे विज्ञप्तिमार्फत ओलीले शेरबहादुर देउवा सरकारमाथि हमला बोलेका हुन् ।

ओलीले निकालेको विज्ञप्तिको १० नम्बर बुँदामा लेखिएको छ, ‘वर्तमान सरकारले पुस मसान्तभित्र दुई तिहाइ र चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाइसक्ने घोषणा गरेकोमा हालसम्म यो संख्या ४० प्रतिशत मात्र पुगेको छ ।’

तर, स्वास्थ्य मन्त्रालयको दैनिक बुलेटिनमा ओलीले लगाएको आरोपभन्दा ठीक उल्टो छ । सरकारले ८१ प्रतिशत नागरिक कोभिडविरुद्धको पहिलो खोप लगाइसकेको र पूर्ण मात्रा खोप लगाउनेको संख्या ६४ दशमलव ६ प्रतिशत रहेको जनाएको छ । तर, एमाले अध्यक्ष ओलीले जारी गरेको विज्ञप्तिमा ४० प्रतिशत मात्र रहेको दाबी गरिएको छ ।

यस्तोमा सरकार र ओलीमध्ये एकले पक्कै सफेद झुट बोलेको प्रस्ट हुन्छ । वर्तमान सरकारले आगामी चैत मसान्तसम्म सबै नागरिकलाई पूर्ण मात्रा खोप लगाइसक्ने घोषणा गरेको छ । जसअनुसार एक मात्रा लगाउनेको संख्या एक करोड ६२ लाख ४२ हजार पुगेको छ । पूर्ण मात्रा खोप लगाउनेको संख्या एक करोड २८ लाख ७० हजार र अतिरिक्त (बुस्टर डोज) लगाउनेको संख्या एक लाख ४२ हजार पुगेको जनाएको छ ।

तीन दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दा ६३ प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएको उल्लेख गरेका थिए । सरकारको पुस मसान्तसम्मको टार्गेट ७५ प्रतिशतलाई पूर्ण मात्रा खोप लगाउने थियो ।

ओलम्पिक खेलको पूर्वसन्ध्यामा चीनमा कोभिड परीक्षण तीव्र, बेइजिङमा २० लाख जनाको परीक्षण

बेइजिङ । बेइजिङमा २० लाख मानिसको कोभिड परीक्षण गरिएको छ । हिउँदे ओलम्पिक सुरु हुन दुई साता मात्र बाँकी हुँदा २० लाख जनामा कोभिड परीक्षण गरिएको हो । क्यानडाबाट आएको मेलमार्फत एक व्यवसायी संक्रमित भएको विवरण सार्वजनिक भइरहेका बेला सरकारले कोभिड परीक्षण तीव्र पारेको हो । विश्वकै सबैभन्दा ठूलो जनसंख्या भएको बेइजिङमा ३० जना कोभिड संक्रमित भेटिएका छन् ।

विश्व स्वास्थ्य संगठन र अमेरिकी रोग नियन्त्रण केन्द्रका अनुसार संक्रमित वस्तुबाट कोभिड सर्ने सम्भावना न्यून हुन्छ । तर, चिनियाँ अधिकारीहरुले भने विदेशबाट पठाएको मेलबाट पनि कोभिड सर्न सक्ने आशंका व्यक्त गर्दै आएका छन् ।

विश्वमा अन्य देशहरुको तुलनामा चीनको संक्रमण दर न्यून छ । चीनले कोभिडविरुद्ध शून्य सहनशिलताको नीति अप्नाउदै आएको छ । ४ फेब्रुवरीदेखि सुरु हुने ओलम्पिक खेलका लागि विभिन्न देशहरुबाट अतिथि आउने क्रम सुरु भएको थियो ।-एजेन्सी

प्रचण्ड पत्नी सीतालाई कोरोना संक्रमण, आईसीयूमा उपचार हुँदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रचण्डको सचिवालय स्रोतका अनुसार  दुई दिनअघि गरिएको पीसीआर परीक्षणमा दाहाललाई कोरोना पुष्टि भएको हो । हाल उनको मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार जारी राखिको छ ।

उनमा निमोनियासमेत देखिएको र अहिले स्वास्थ्य अवस्था स्थिर रहेकाे बताइएकाे छ । केहीदिन अघि अध्यक्ष प्रचण्डमा पनि कोरोना पुष्टि भएको थियो ।

ललितपुरकाे सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी

काठमाडौं । ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी भएको छ । तीन सय वर्ष पुरानो मूर्ति शनिबार राति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।

मूर्ति चोरी भएको खबर थाहा पाउना साथ ऊर्जामन्त्री पम्फा भुसाल आइतबार बिहान घटनास्थलको निरीक्षण गर्न पुगेकी थिइन् । सुनाकोठी भुसालको निर्वाचन क्षेत्र पर्छ । मन्त्री भुसालले मूर्ति चोरीको भत्सर्ना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको जानकारी गराइन् ।

एसईई वैशाखमा, तयारीमा जुट्न आग्रह

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा छन् । राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ ।

बोर्डका अध्यक्ष डा। महाश्रम शर्माले आगामी वैशाखको सुरुमा परीक्षा सञ्चालन हुने र सोका लागि परीक्षा तालिका केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिए । उनले भने, “परीक्षाका विषयलाई लिएर दोधारको स्थितिमा रहनु पर्दैन, परीक्षा हुन्छ । विद्यार्थी अहिलेदेखि नै परीक्षाको तयारीमा जुट्दा हुन्छ ।” उनले वैशाखमा परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को नयाँ शैक्षिक सत्रसम्बन्धी क्यालेन्डरमा कुनै असर नपर्ने गरी नतिजा प्रकाशन गरिने बताए । आगामी चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्न लागेकाले पनि सो महिनामा एसईई सञ्चालन गर्न समस्या देखिएको हो ।

“शिक्षकको परीक्षाले सामान्य असर गर्न सक्छ तर त्योभन्दा पनि विद्यार्थीको पढाइ पूरा नभएको गुनासा आएकाले वैशाखमा परीक्षा सञ्चालन गर्न लागिएको हो” उनले भने, “सुगम स्थानका विद्यार्थीले अनलाइनबाट पनि पठनपाठन गरे तर दुर्गमका र अनलाइनको पहुँच नभएकाको कोर्स नसकिएको रिपोर्टिङ भएको छ । भदौबाट मात्र पढाइ राम्ररी सञ्चालन भएकाले उनीहरूले कोर्स सक्न पर्याप्त समय पाएका छैनन् ।”

विगतमा मङ्सिरमा परीक्षा तालिका सार्वजनिक गर्ने प्रचलन थियो भने चैतमा परीक्षा सञ्चालन गरिन्थ्यो । कोभिड–१९ का कारण गएका दुई वर्षमा बोर्डले परीक्षा सञ्चालन गर्नु परेन । विद्यालयले गरेको मूल्याङ्कनका आधारमा विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराइएको थियो । परीक्षा हुन नसक्दा २०७६ सालको एसईईको प्रश्नपत्र जलाइएका थिए भने २०७७ सालको एसईईको प्रश्नपत्रलाई बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय ९सानोठिमी०मा अझै सुरक्षित राखिएको छ । गत वर्षकै प्रश्नपत्रलाई यस पटक पुनः प्रयोग गर्नका लागि भनेर सुरक्षित राखिए पनि त्यसबारेमा निर्णय भइसकेको छैन ।

अध्यक्ष डा। शर्माले एसईईका लागि प्रश्नपत्र तयार गर्न पर्याप्त समय भएको र नभ्याउने अवस्था भएमा आफूहरूसँग प्रश्नपत्र बैङ्क रहेकोले प्रश्नपत्र तयारीमा खासै समस्या नपर्ने बताए । “समय भएकाले नयाँ छाप्न पनि सकिन्छ” उनले भने, “ओमिक्रोन भाइरस सङ्क्रमणको अवस्था पछिसम्म कायम रहेमा कक्षा १२ मा गरिएको अभ्यासलाई प्रयोग गर्न सकिनेछ ।” राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को गत वार्षिक परीक्षामा इमेलमार्फत प्रश्नपत्र पठाएको थियो । इन्टरनेट र प्रिन्टरको सुविधा नभएका केही विद्यालयमा मात्र सानोठिमीबाट प्रश्नपत्र पठाइएको थियो । परीक्षा सुरु हुनु एक घण्टाअघि इमेलबाट पठाइएको प्रश्नपत्रलाई विद्यालयले प्रिन्ट गरी वितरण गर्ने व्यवस्था मिलाइएको थियो । उहाँले यस्तो विधि प्रयोग गर्दा एसईईको प्रश्नपत्र छपाइमा हुँदै आएको ठूलो खर्च पनि बचत हुनसक्ने बताए ।

नेपालको विद्यालय संरचनासम्बन्धी भएको प्रावधानमा कक्षा १० को वार्षिक परीक्षा प्रदेशस्तरमा सञ्चालन हुने भन्ने रहेको छ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखे पनि शिक्षा निकायले त्यसप्रति ठाडो असहमति जनाएको छ । बोर्डका अध्यक्ष डा। शर्माले सिकाइ र मूल्याङ्कनका लागि परीक्षा आवश्यक रहेको र परीक्षा गुणस्तरीय हुनुपर्छ भन्ने आफूहरूको अडान रहेको बताउँदै भने, “बरु एसईई सञ्चालनका लागि प्रदेशलाई जिम्मेवार बनाउन तयार छौँ । यो भनेको सङ्घीयताको मर्मअनुसार हुनेछ । त्यसका लागि प्रदेशलाई प्रश्नपत्र बैङ्क उपलब्ध गराउन सक्छौँ । ” उनले कक्षा १२ को परीक्षा आगामी जेठ महिनामा सञ्चालन हुने जानकारी दिए। कक्षा ११ को परीक्षा विद्यालय आफैँले सञ्चालन गर्नेछन् ।

भारतमा घट्दै कोरोना संक्रमण

भारतमा लगातार तेस्रो दिन कोरोनाका नयाँ सङ्क्रमितको सङ्ख्यामा कमी देखिएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार ३ लाख ९ हजार ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्ठी भएको हो। यस बीचमा २ लाख ४८ हजार २ सय २० जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घन्टामा थप ५०७ जना सङ्क्रमितले ज्यान गुमाएका छन्।

यसअघि शुक्रबार ३ लाख ३७ हजार जनामा सङ्क्रमण पुष्टि भएको थियो। यस्तै शुक्रबार भारतमा ४ सय ८६ जनाले ज्यान गुमाएका थिए। त्यसअघि बिहीबार ३ लाख ४७ हजार नयाँ सङ्क्रमित भेटिँदा ७०३ जनाले ज्यान गुमाएका थिए। यद्यपी हाल भारतमा २१ लाख ६६ हजार ९९९ सक्रिय संक्रमित उपचार गराइरहेका छन्। तेस्रो लहर सुरू भएसँगै भारतमा पहिलो पटक सक्रिय सङ्क्रमितको सङ्ख्या २१ लाख नाघेको हो।  गत ३१ डिसेम्बरमा सक्रिय सङ्क्रमित १ लाख रहेको भारतमा २२ दिनमै यो सङ्ख्या २१ गुणाले बढेको हो।

यस्तै राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा ४५ जना कोरोना संक्रमितको ज्यान गएको छ। यो संख्या तेस्रो लहर सुरू भएपछिकै सर्वाधिक हो।  यसअघि सन् २०२१ जुन ५ मा दिल्लीमा ४८ जनाले ज्यान गुमाएका थिए। यस्तै शनिबार महाराष्ट्रमा कोरोनाका ४६ हजार ३ सय ९३ जना नयाँ संक्रमित फेला परेका छन्। यहाँ ४८ जनाले ज्यान गुमाएका छन्।-एजेन्सी

एमाले अध्यक्ष ओलीको पत्रकार सम्मेलन रोकियो, प्रेस बक्तब्य आउँदै

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समसमायिक  बिषयमा प्रेस बक्तब्य जारी गर्ने भएका छन ।

अपरान्ह १ बजे पत्रकार सम्मेलनमार्फत धारणा राख्ने भनिए पनि २५ जना भन्दा बढी उपस्थित नहुने सरकारको निर्देशन अनुसार प्रेस बक्तब्य आउन लागेको हो । ‘पत्रकार सम्मेलन नहुने भयो, अब समसामायिक राजनीतिक बिषयमा अध्यक्षको प्रेस बक्तब्य आउँछ’, केन्द्रीय सदस्य बिष्णु रिजालले भने ।

ग्लोबल छनोटका लागि नेपालले चारदेशीय टी-२० शृंखला खेल्ने

काठमाण्डौं ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीले चारदेशीय टी-२० शृंखला खेल्ने भएको छ । शृंखलामा नेपालसँगै ओमान, सयुक्त अरब इमिरेट्स (युएई) र आयरल्यान्ड सहभागी हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

नेपालले अक्टोबरदेखि अस्ट्रेलियामा सुरु हुने टी- २० विश्वकपका लागि अर्को महिना ग्लोबल छनोट खेल्दैछ । ओमानमा  १७ फेब्रुअरीबाट सुरु हुने छनोटको तयारीका लागि नेपालले चारदेशीय शृंखला खेल्न लागेको हो ।

शृंखलाको पहिलो खेलमा नेपाल ११ फेब्रुअरी मा घरेलु टोली ओमानविरुद्ध मैदान उत्रनेछ । १२ फेब्रअरीमा दोस्रो खेलमा युएईविरुद्ध र १४  फेब्रुअरीमा आयरल्यान्डसँगै खेल्नेछ ।

ग्लोबल छनोटको समूह ‘ए’ मा नेपालसँगै आयरल्यान्ड, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, जर्मनी र आयोजक ओमान छन् । ग्लोबल छनोटका खेलहरु  १७ देखि २४ फेब्रुअरीसम्म हुने तालिका छ ।

३६ यात्रुमा कोभिड देखिएपछि किरीबाटीमा लकडाउन

किरीबाटी ।  टापु राष्ट्र किरीबाटीमा महामारी सुरु भएपछि पहिलो पटक लकडाउन घोषणा गरिएको छ । पहिलो अन्तर्राष्ट्रिय उडानका यात्रुमा कोभिड देखिएपछि लकडाउन घोषणा गरिएको हो । फिजीबाट किरीकबाटीका लागि उडेको विमानका ३६ यात्रुमा कोभिड देखिएको थियो ।

यसअघि चार जनामा भाइरस देखिएको थियो । गत साता मात्र किरीबाटीमा दुई जनामा कोभिड देखिएको थियो ।किरीबाटी विश्वकै सबैभन्दा एक्लो टापुमध्यको एक हो । किरीबाट नजिकको महादेश अस्ट्रेलियासम्मको दूरी चार हजार ८०० किलोमिटर टाढा छ । सन् २०२० को जनगणना अनुसार यहाँको जनसंख्या १ लाख १९ हजार छ ।  -एजेन्सी