१५ मंसिर २०७७, सोमबार १०:५८ – Page 3 – Nagarikabhiyan : National News

नुवाकोटमा वडाध्यक्षका प्रत्यासीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

 त्रिशूली । गए राति मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का नेकपाका नेता रामबहादुर तामाङको मृत्यु भएको छ । तारेकश्वर गाउँपालिका–१ दाङसिङबाट आफ्नो घर डाँडाखर्कतर्फ फर्कने क्रममा छागेखोलास्थित भिरमा मोटरसाइकल दुर्घटना हुँदा ५५ वर्षीय रामबहादुर तामाङको घटनास्थलमा नै ज्यान गएको हो ।

 

जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीका अनुसार दाङसिंह–डाँडाखर्क सडकखण्डको छागेखोला भिर भन्ने स्थानमा तामाङ चढेको बा२७ प ८६५८ नंं को मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा उनी करिब दुई हजार ५०० मिटर तल खसेका थिए ।

दुर्घटनापश्चात् मोटरसाइकल सडक छेउमै अड्किएको भए पनि तामाङ भने भिरबाट खसेकाले घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर ज्यान गुमाएका तामाङ विसं २०७४ वैशाखमा भएको स्थानीतयहको निर्वाचनमा तारकेश्वर गाउँपालिका–६ मा साविक नेकपा एमालेबाट वडाध्यक्ष पदमा प्रतिस्पर्धामा रहेका थिए भने पार्टी एकतापश्चात् नेकपाको स्थानीय नेताको रूपमा राजनीतिमा सक्रिय थिए ।

खिरको बहानामा ७ वर्षिय बालिका बलात्कार

सप्तरी । सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको प्रहरीले जनाएको छ ।

बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने प्रयास गरेको पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । उनका अनुसार पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ ।

पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएको प्रहरीले जनाएको छ । तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष रमानन्द चौधरीले आरोपितले बालिकालाई घरमा बोलाएर यौन दुव्र्यवहार गरेको बताए । कपडा खोलेपछि बालिकाले चिच्याएको सुनी स्थानीयवासी पुगेर बालिकाको उद्धार गरेको उनले जानकारी दिएको आजको राजधानी दैनिकमा खवर छ ।

  • प्रदेश १ समाचारदाता : शिवम् अस्गरुवा

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

धर्म र संस्कृति जाति विशेषका नभई साझा हुँदै गएका छन्ः मुख्यमन्त्री पोखरेल

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सबै धर्म र संस्कृतिको सम्मान र जगेर्ना गर्ने समान अवसरलाई झन फराकिलो बनाएकोे बताएका छन् ।

श्री गुरुनानकको ५५२ औँ जन्मजयन्तीको अवसरमा आज शुभकामना दिँदै उनले नेपाल जाति, धर्म–संस्कृति र भूगोलमा विविधतायुक्त मुलुक भएको र यही विविधतायुक्त नेपाली समाजको पहिचान विशाल र ओजिलो बनेको उल्लेख गरे ।

धार्मिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा सबै धर्मको सम्मान र संस्कृतिको जगेर्ना हुने वातावरण तयार भएको उनको भनाइ छ ।

“धर्म र संस्कृति जाति र समुदाय विशेषका नभएर सबैका साझा हुँदै गएका छन्, जसले समाजमा भ्रातृत्व र मेलमिलापको वातावरण बनाएको छ”, मुख्यमन्त्री पोखरेलले उल्लेख गरेका छन् ।

काठमाडौँका विभिन्न स्थानमा रहेका प्राचीन गुरुनानक मठमा हस्तलिखित गुरुग्रन्थ रहेको बताउँदै उनले भारतका सबै गुरु दरबारमा दर्शनका लागि उपलब्ध हुन नसकेका ती दुर्लभ ग्रन्थ हाम्रा लागि गौरवका विषय भएकाले गुरुनानक र शिख धर्मका ऐतिहासिक धार्मिक ग्रन्थको संरक्षण गर्नु हामी सबैको दायित्व र कर्तव्य भएको बताए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले अल्पसङ्ख्यक समुदायको उत्थान र विकासका लागि पनि मार्ग प्रशस्त गरेको जनाउँदै उनले संवैधानिकरूपमै आयोगको गठन गर्ने व्यवस्था गरेर सम्मान व्यक्त गरेको बताए ।

मुख्यमन्त्री पोखरेलले संविधानको व्यावहारिक कार्यान्वयन हुँदै जाँदा सबै समुदाय, वर्ग र जातिले अधिकारको उपभोग गर्दै जाने विश्वास व्यक्त गरे । उनले गुरुनानक जयन्तीलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै मनाउन आग्रह गरे । (रासस)

बिराटनगरमा एम्बुलेन्स दुर्घटना, एकजना बिरामीको मृत्यु

बिराटनगर । बिराटनगरमा एम्बुलेन्स दुर्घटना हुँदा एकजना विरामीको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।

बिराटनगर महानगरपालिका–४ कञ्चनबारीस्थित कोसी राजमार्गमा रोकेर राखेको भारतीय लहरीमा गएराति करिब १ बजे एम्बुलेन्स ठोक्किँदा सप्तरीको तिलाठी कोइलाडी–२ का ६५ वर्षीय नुनुलाल मण्डलको मृत्यु भएको हो ।

एम्बुलेन्स ठोक्किँदा गम्भीर घाइते भएका मण्डलको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा ज्यान गएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए ।

सप्तरीबाट बिरामी बोकेर बिराटनगरतर्फ आएको स १ च ११२२ नम्बरको एम्बुलेन्स सडकमा रोकेर राखेको एनएल ०१ एल ०३३६ नम्बरको भारतीय लहरीमा पछाडिबाट ठोक्किएको थियो ।

एक्कासि दमले च्यापेपछि मण्डललाई बीपी विचार समाज राजविराजको एम्बुलेन्समा राखेर उपचारका लागि बिराटनगरको गोल्डेन अस्पतालतर्फ ल्याइँदै थियो । मृतक मण्डल दमका पुराना रोगी रहेको खुलेको छ ।

दुर्घटनामा एम्बुलेन्समा सवार तिलाठी कोइलाडीकै ३० वर्षीय जितेन्द्र मण्डल, ५० वर्षीय रामसुन्दर मण्डल र ४५ वर्षीय भोलिदेवी मण्डल घाइते भएका छन् । तीनै जना घाइतेको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

एम्बुलेन्स चालक हरिनारायण यादव फरार छन् । लहरीका चालक पनि फरार भएका कारण खोजी थालिएको प्रहरीले जनाएको छ । अनलाईनखबरबाट

 

नाइजेरियामा ११० जनाको घाँटी रेटेर हत्या

काठमाडौं । नाइजेरियामा इस्लामिक स्टेट आतंकवादी समूह बोको हरामले ११० जनाको क्रूर ढंगले हत्या गरेको छ ।

सो समूहले खेतमा काम गरिरहेकाहरुलाई नियन्त्रणमा लिएर हातखुट्टा बाँधी घाँटी रेटेर हत्या गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।

संयुक्त राष्ट्रसंघले यो हत्याको निन्दा गर्दै नाइजेरियाको अवस्थाप्रति चिन्ता प्रकट गरेको छ ।

घटना गत शनिबारको हो । पूर्वोत्तर नाइजेरियाको मैदुगुरी शहर नजिकको गाउँलाई बोको हरामले निशाना बनाएको हो । घटनास्थलमा सुरुमा ४३ शव फेला परेका थिए । तर पछि थप शव फेला परेर मारिनेहरुको संख्या ११० पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघका एक अधिकारी एडवर्ड क्यालनले भनेका छन्, ‘यो घटना निर्दोष नागरिकमाथि भएको यस वर्षकै सबैभन्दा हिंस्रक हो । म यो जघन्य अपराधीहरुलाई कारबाही गरेर न्याय दिलाउन आग्रह गर्दछु ।’

नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारीले पनि किसान मजदुरको हत्या गरिएको घटनाको निन्दा गरेका छन् । उनले यो घटनाबाट सिंगो देश घाइते भएको भन्दै उनले दोषिलाई पक्राउ गरी सजायँ दिलाउने प्रतिबद्धता जनाएका छन् । अनलाईनखबरबाट

पाँच दिनदेखि बेपत्ता युवकको शव झाडीमा भेटियो

बिराटनगर । सुनसरीको दुहबीमा पाँच दिनदेखि बेपत्ता एक युवकको शव फेला परेको छ । दुहबी नगरपालिका–२ का १७ वर्षीय सुजननारायण चौधरीको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय दुहबीका अनुसार सोमबार बिहान करिब ५ बजे दुहबी–२ मा रहेको शुभलक्ष्मी उद्योगको पछाडि रहेको झाडीमा चौधरीको शव भेटिएको छ ।

चौधरी १० मंसिरयता बेपत्ता थिए । कक्षा ११ मा अध्ययनरत चौधरीको अपहरण गरी हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

घटना शंकास्पद भएकाले अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।

प्रहरी स्रोतका अनुसार सुजन बेपत्ता भएकै दिन आमाको मोबाइलमा अज्ञात व्यक्तिले पैसा माग गर्दै धम्की दिएका थिए । सोही दिन आफन्तले छोरा हराएको जानकारी इलाका प्रहरी कार्यालयमा दिएका थिए । तर पाँच दिनपछि शव फेला परेको हो । मृतकको परिवारसँग फिरौती माग्नका लागि अपहरण गरिएको हुनसक्ने प्रहरीको आशंका छ ।

शव पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ । घटनामा संलग्न भएको आशंमा प्रहरीले शंकास्पद केही व्यक्तिलाई पक्राउ गरेको छ । अनलाईनखबरबाट

चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा दुई घण्टा बिताउनुको अर्थ

 काठमाडौं । एक दिने ‘वर्किङ भ्रमण’ का लागि नेपाल आएका चिनियाँ रक्षामन्त्री वेई फेङहेले सैनिक मुख्यालय भद्रकालीमा झण्डै दुई घण्टा बिताए । नेपाली सेनाबाट ‘गार्ड अफ अर्नर’ लिएर प्रधानसेनापति पूर्णचन्द्र थापासँग औपचारिक वार्ता गर्दासम्म उनले जंगी अड्डामा लामै समय बिताए ।

यसबाहेक उनले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग छोटो भेट गरे । र, आइतबार नै भ्रमण सकेर फर्किए ।

चिनियाँ रक्षामन्त्रीको नेपाली पक्षसँगको भेटवार्तामा उठेका विषयवस्तुको चर्चा गर्नुभन्दा पहिला नेपाल-चीन सैन्य सहकार्यको पृष्ठभूमितिर जाउँ ।

सन् १९६२ को भारत-चीन युद्धपछि तत्कालीन राजा महेन्द्रले पश्चिमा मुलुकहरुसँग सैन्य सहायता लिने नीति अगाडि बढाएका थिए । उनको आग्रहप्रति विशेष गरी अमेरिका र वेलायत निकै सकारात्मक थिए ।

सन् १९६४ मा अमेरिकासँग एक सम्झौता भयो र केही सैन्य सामाग्री आयो । त्यसपछि वेलायतले पनि नेपाललाई सैन्य सहयोग गर्न थाल्यो । त्यस अगाडी नेपाललाई सैन्य सहयोग गर्ने मुलुक भारत मात्र थियो ।

त्यसपछि लामो समय पश्चिमा मुलुकहरुले नेपाललाई सैन्य सहयोग गरे । नेपालको रक्षा क्षेत्रमा विशेषत भारत, अमेरिका र वेलायत प्रमूख साझेदारको रुपमा रहे ।

यस्तो सहयोगमा लामो समय भारतको प्रभूत्व रह्यो । यसबाहेक अन्य मुलुकबाट पनि नेपालले हतियार खरिद गर्‍यो । तर, भारतलाई जानकारी गराएर ।

अर्काे छिमेकी चीनसँग सन् १९५५ मा कुटनीतिक सम्बन्ध स्थापना  भए पनि सहकार्यको स्कोप भने एकदमै सीमित रह्यो । तर, पछिल्लो समय चीनसंग नेपालको सैन्य सहकार्य बढेको छ ।

आवरणमा अन्य राजनीतिक र रणनीतिक सन्देश बोकेको चिनियाँ रक्षामन्त्रीको यो एकदिने ‘वर्किङ भिजिट’ दुई देशबीच बाँक्लिदो सैन्य सहकार्यको निरन्तरता पनि हो ।

चिनियाँ सैनिक सहयोगको ऐतिहासिक पृष्ठभूमिको कुरा गर्दा नेपाल र चीनबीच धेरैपछि अर्थात् सन् १९८८ मात्र पहिलो सैन्य सहकार्य सम्बन्धी एक समझदारी भएको थियो ।

तर, त्यसपछि पनि सैन्य सहकार्य भने प्रगाड रुपमा अगाडि बढेन । १९८९ मा नेपालले चीनबाट केही सैन्य सामाग्रीहरु लिँदा भारतले आपत्ती जनाएर नाकाबन्दी नै गरेको थियो ।

राजा ज्ञानेन्द्रले १९ माघ २०६१ मा ‘कू’ गरेपछि भारत, वेलायत र अमेरिकाले आफूले दिएको हतियार नेपालमा प्रजातान्त्रिक आन्दोलन दबाउन दुरुपयोग हुने भन्दै नेपाली सेनालाई दिँदै आएको सहयोग रद्द गरे ।

त्यसपछि राजा ज्ञानेन्द्र र तत्कालीन सैनिक नेतृत्वले सहयोगका लागि चीनतर्फ हात फैलायो । चीनका लागि सहयोग विस्तार गर्ने त्यो एक अवसर थियो ।

नेपालमा सुरक्षा लगायत चिनियाँ चासोको ग्यारेन्टी गर्ने राजसंस्थाको आग्रहलाई चीनले इन्कार गरेन र सहयोग गर्‍यो । चीनले १९५० देखि नै नेपालको राजसंस्थालाई भरपर्दाे संस्थाको रुपमा लिएको थियो ।

त्यसैको निरन्तरता स्वरुप ७ कात्तिक २०६२ मा चीनले ठूलो राशीको सैन्य सहयोग गर्ने घोषणा गर्‍यो । त्यसयता नेपालमा चिनियाँ सैन्य सहयोग बढेको बढ्यै छ । त्यसयता नेपालको आन्तरिक राजनीतिमा ठूलो बदलाव आएको छ । भलै, राजतन्त्रको अन्त भएर गणतन्त्र स्थापना भएको छ ।

आफूले भरपर्दाे मित्रका रुपमा लिँदै आएको राजसंस्था नरहेपछि चीन नेपालमा अर्काे संस्थाको खोजीमा थियो, जसले आफ्नो सुरक्षा चासोलाई सम्बोधन गर्न सकोस् । त्यसपछि चीनको नेपाल नीतिमा व्यापक धेरै परिवर्तन आउन थालेको विश्लेषकहरु बताउँछन् ।

त्यसपछि ठूला-साना सबै राजनीतिक दलसँग सौहार्द्धपूर्ण सम्बन्ध बनाएर जाने नीति चीनले लिएको देखिन्छ । किनकि कुनै पनि दल कुनै पनिबेला सरकारमा जान सक्छ ।

नेपाल गणतन्त्र भएसँगै काठमाडौंमा तिब्बती शरणार्थी गतिविधि  खुल्ला रुपमा देखिन थाल्यो, जसले चिनियाँ चासो झनै बढ्यो । सन् २००८-२०१० बीचमा काठमाडौंमा यस्ता गतिविधि निकै नै बढे ।

यस्ता घट्नाक्रमसँगै आफू विरोधी गतिविधि नियन्त्रण गर्न चीनले नेपालका प्रमुख दुई सुरक्षा निकाय नेपाली सेना र शशस्त्र प्रहरीसँगको सहकार्यलाई सुदृढ बनाउने नीति लियो ।

लगातार सत्ता र सरकार परिवर्तनले गर्दा एउटा पार्टी र सरकारमा भर पर्न कठिन हुने भएकाले चीनले आफ्नो सुरक्षा चासोका लागि स्थायी शक्ति सेनासँग दीर्घकालीन सहकार्यको नीति अगाडि बढायो ।

२०६४ को निर्वाचनमा माओवादी सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा उदाएपछि नेपाली सेनाको आधुनिकीकरणका लागि चीनले २.६ मिलियन डलर बराबरको सैन्य सहयोग उपलब्ध गराउने घोषणा गर्‍यो ।

तत्कालीन रक्षामन्त्री रामबहादुर थापाले चीनसँग सो सम्झौतामा हस्ताक्षर गरेका थिए । संयोग, त्यसको १२ वर्षपछि चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न उनै थापा गृहमन्त्रीको हैसियतमा आइतबार विमानस्थलमा पुगे ।

त्यसपछिका वर्षहरुमा चिनियाँ अधिकारीहरु बाक्लो रुपमा नेपाल भ्रमणमा आइरहेका छन् । प्रत्येक वर्ष सैनिक अधिकृतहरुले एक अर्काको मुलुक भ्रमण गरिरहेका छन् ।

सन् २००८, २००९, २०११ र २०१३ मा चिनका उच्च सैनिक अधिकारीहरुले नेपाल भ्रमण गरेर नेपाली सेनालाई सहयोगको घोषणा गरे ।  नेपाल-चीन सैन्य सहकार्यको हिसाबले २०१७ निकै महत्वपूर्ण रह्यो । सो बर्ष नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच पहिलो सैन्य अभ्यास भयो ।

लामो समयदेखि भारतसँग भईरहेको सैन्य अभ्यास चीनसँग पनि शुरु भयो । त्यही वर्ष चिनियाँ रक्षामन्त्रीले नेपाल भ्रमण गरेर प्राकृतिक प्रकोपसँग जुध्न र शान्ति मिसनमा खटिने नेपाली सैनिकका लागि आवश्यक सहयोग गर्ने घोषणा गरे ।

विशेषतः शान्ति मिसनका लागि चाहिने सामाग्रीमा अन्य मुलुकको सहयोग अपर्याप्त भएपछि सरकारले चीनबाट सहयोग ल्याउन थाल्यो ।

सन् २०१७ दुई देशको सैन्य सहकार्यका लागि महत्वपूर्ण रह्यो किनभने त्यो वर्षबाट नेपाल-चीन सैन्य सहकार्यको शुरुवात भयो । त्यसपछि २०१८ मा रक्षामन्त्री ईश्वर पोखरलेले चीन भ्रमण गरेर रक्षा सहकार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । त्यसबेला सैन्य तालिममा सहकार्य, विपद् व्यवस्थापन, औषधी र अन्य उपकरण र शान्ति सेनामा दुई देशबीच सहकार्य गर्ने सहमति भएको थियो । त्यसबेला चीनले नेपाललाई दिने सैन्य सहयोगमा ५० प्रतिशतले बृद्धि गरेको थियो ।

रक्षामन्त्री पोखरेलले त्यसको एक वर्षपछि २०१९ अक्टोबरमा फेरी चीन भ्रमण गरे । त्यसपछि नेपाली सेनाका प्रधानसेनापतिहरुले पनि चिन भ्रमण गरिरहेका छन् । नेपाल-चीन सैन्य सहकार्य बढीरहेको समयमा नेपाल आएका चिनियाँ रक्षामन्त्रीले जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग बिभिन्न विषयमा कुराकानी गरेका छन् ।

उक्त भेटवार्तापछि नेपाली सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सो भेटवार्ताका क्रममा आपसी हित र द्वीपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको थियो ।

कोभिड-१९ को महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदान-प्रदानका कार्यहरु सुचारु गर्ने र विगतमा सहमति भएका सैन्य सहायता प्रगतिका बारेमा छलफल भएको थियो ।  सो भेटमा चिनियाँ रक्षामन्त्रीले विगतमा गरेका सहयोगका प्रतिवद्धता शुचारु गर्ने आश्वासन दिएका छन् ।

चीनले नेपाली सेनालाई आफ्नो सुरक्षा चासो सम्बोधन गर्ने एक दीर्घकालीन र विश्वसनीय संस्थाका रुपमा हेरेको यसले देखाएको छ । यसको अर्थ यो होइन कि उसले सरकारसँगको सम्बन्धलाई कम महत्व दिएको छ ।

जो सरकारमा आयो उसैसँग मिलेर काम गर्ने चिनियाँ नीति हो । तर झण्डै दुई तिहाइको सरकार बन्दा पनि अस्थिर देखिँदा चीनले सेनासँगको सहकार्यलाई महत्व दिएको देखिन्छ ।

यति मात्र होइन, पछिल्लो समयमा चीनले हुम्ला जिल्लामा नेपाली भुभाग मिचेर भवनहरु बनाएका खबरहरु पनि सार्वजनिक भइरहेका छन् । नेपाली सेनाले केही समय अगाडि सर्वे र सीमा निरीक्षणसम्बन्धी एक निर्देशनालय निर्माण गरेको छ ।

त्यसैले, सीमाको विषयमा समेत नेपाली सेनासँग चीनले नजिकबाट काम गर्न चाहिरहेको छ । यसरी हेर्दा सीमादेखि आफ्नो कोर सुरक्षा चासोको विषयमा नेपाली सेनासँग नजिकबाट काम गर्ने चिनियाँ नीतिको निरन्तरताका रुपमा नै यो भ्रमण भएको देखिन्छ ।अनलाईनखबरबाट

रोकिएका सैन्य सहयोग सुरु गर्ने चिनियाँ रक्षामन्त्रीको आश्वासन

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोगका कार्यक्रम यथाशीघ्र सुरु गर्ने बताएका छन् ।

जंगीअड्डामा आइतबार रक्षामन्त्री फेङ्हेसहितको प्रतिनिधिमण्डल र नेपाली सेनाबीचको छलफलमा उनले उच्च स्तरीय भ्रमणलगायतका द्विपक्षीय सहयोगका कार्यक्रम यथाशीघ्र सुरु गर्ने आश्वासन दिएका नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

छलफलमा कोभिड १९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदान नियमित गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्तिसम्बन्धी प्रगतिको बारेमा कुराकानी भएको सेनाले  जनाएको छ । चिनियाँ रक्षामन्त्री फेङ्हेले नेपाली सेनाको कोभिड-१९ महामारीविरुद्धको प्रतिकार्यको सहयोगको प्रतिबद्धतासमेत जनाएका थिए ।

आइतबार जंगीअड्डामा रक्षामन्त्री फेङ्हेको सम्मानमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । उनले जंगी अड्डाको निरीक्षण भ्रमण र प्रधान सेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

सो भेटवार्तापछि चिनियाँ रक्षामन्त्री फेङ्हेसहितको प्रतिनिधिमण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्य-दृश्य सामग्री प्रस्तुत गरिएको थियो । त्यसपछि चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच छलफल भएको नेपाली सेनाले जनाएको छ ।

अनलाइनखबरबाट

इज्जत जाने डरले बुवाले दिएका थिए अमृतालाई गोली हान्न साढे २ लाख

रौतहट ।  रौतहटकी १७ वर्षीया अमृताकुमारी साहको हत्यामा संलग्न ७ जना पक्राउ परेका छन्।

उनको हत्या भएको झन्डै तीन सातापछि जिल्ला प्रहरी कार्यालय रौतहटले हत्यामा संलग्न ७ जनालाई आइतबार पत्रकार सम्मलेन गरी सार्वजनिक गरेको हो। हत्याका मुख्य अभियुक्त आइतबारमात्रै पक्राउ परेका हुन्।

माधवनारायण नगरपालिका-७ लौकाहाकी अमृताको कात्तिक २६ गते हत्या भएको थियो। राति साढे ११ बजेतिर सुतिरहेका बेला उनको कन्चटमा गोली हानिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीको अनुसन्धानले  अमृताका बुवाआमाले नै छोरीमाथि गोली हान्न लगाएको खुलेको छ।  अमृताका बुवा ५५ वर्षीय रामअयोध्या साह र आमा सीतादेवी साहलाई पनि प्रहरीले पक्राउ गरेको छ।

रौतहटका प्रहरी उपरीक्षक सिद्धीविक्रम शाहका अनुसार अमृताको आमाबुवाले इज्जत जाने डरले नै छोरीको हत्या गर्न लगाएको बयान दिएका छन्।

अमृता सोही ठाँउका ३० वर्षीय थारू भन्ने सोशिन्द्रप्रसाद भगतसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा थिइन्।

परिवारको दबाबमा गत फागुनमा अमृताको विवाह सर्लाही विष्णु गाउँपालिका-३का रुपेश साहसँग भयो।

विवाहपछि सोशिन्द्रप्रसादले रुपेशमाथि छुरा प्रहार गरेका थिए। श्रीमानलाई छुरा हानिएको घटनापछि अमृता माइती आएकी थिइन।

अमृता र रुपेशबीच गत असारमा सम्बन्धविच्छेद  भएको प्रहरी उपरीक्षक शाहले बताए।

सम्बन्धबिच्छेद पछि रुपेशका परिवारले अमृतार उनका प्रेमी सोशिन्द्रप्राद भगतमाथि ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता गरेका थिए।

अमृता र सोशिन्द्रबिचको प्रेम सम्बन्ध उनका आमा बुवालाई पनि स्वीकार्य थिएन।

प्रहरीका अनुसार रुपेशको परिवारले हालेको मुद्दामा छोरी पक्राउ परे आफूहरूको इज्जत जाने डर थियो।

अमृता आफ्ना प्रेमी सोशिन्द्रसँग भागेर जाने डर, प्रेमका कारण भएको सम्बन्धविच्छेद, माइतीमा बस्न आउने कुरालगायतले परिवारलाई हैरानी भएको थियो।

आमाबुवाले त्यस्ता कुरा निस्किँदा आफूहरू अपहेलित हुनु परेको महसुश गर्थे।

त्यही कारणले बुबा रामअयोध्या साह र मृतकका भिनाजु लक्ष्मण साहले छोटेलाल साहलाई अमृताको हत्या गर्न एक लाख ५० हजार रुपैयाँ दिएका थिए।

उनीहरूले कात्तिक ९ गते महानवमीका दिन बिहान हत्या गर्ने योजना बनाएको प्रहरी अनुसन्धानबाट देखिएको छ।

‘दसैंको महानवमीमा अमृतालाई उपचारको बहानामा लिएर भारतमा मार्ने योजना बनाएका थिए तर उनी त्यहाँबाट भाग्न सफल भइन्,’ प्रहरी उपरीक्षक शाहले भने।

अमृता भागेर आएपछि उनीहरूले अमृताको हत्या गर्न पुन: योजना बनाए।

त्यसपछि उनीहरूले गोनाही नगरपालिका-२ लक्ष्मिनीया कुरुनीयाका कैमुल देवानलाई छोरीको हत्या गर्न एक लाख रुपैयाँ दिएका थिए। प्रहरीका अनुसार उनले नै गोली प्रहार गरेका थिए।

अमृतामाथि गोली हान्ने देवान आइतबार पक्राउ परेका छन्।

घटनामा संलग्न परोहा नगरपालिका-४का ४६ वर्षीय छोटेलाल साह, गोनाही नगरपालिका-२ लक्ष्मिनिया करुनियाका ६० वर्षीय शेख अलियास, अन्दाजी ३५का बहुदल भन्ने ईस्लाम अंसारी र ३६ वर्षीय शेख इम्ताजलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरूमाथि थप अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत रौतहटबाट आइतबार ७ दिन म्याद थप गरेको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा अभियुक्तहरुले अपराध स्वीकारसमेत गरिसकेका छन्। सेतोपाटीबाट

कतारले दिने ३ वटा मर्सिडिज कार लिने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । मन्त्रिपरिषदको बैठकले कतार सरकारले नेपाल सरकारलाई दिन लागेको ३ वटा मर्सिडिज बेन्ज १ सय ८० मोडेलका कारहरु लिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले ति कारहरु सरकारी प्रयोजनका लागि प्रयोगका लागि स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

यस्तै बैठकले नेपाल सरकार कार्यसम्पादन नियमावली २०७७ स्वीकृत गर्ने निर्णय भएको छ । अर्थ मन्त्रालयको पस्तावमा नवौं प्रवर्तन सुरुवाती पुँजी कर्जा प्रवाह कार्यविधि स्वीकृत गर्ने निर्णय भएको छ । रातोपाटीबाट

नव दम्पतीलाई शुभकामना कार्ड

२०७७ मंसिर १४ गते । सुनसरीको कोशी गाउँपालिकामा विवाह गर्ने र गर्भ धारण गर्ने दम्पतीलाई शुभकामना कार्ड दिने भएको छ । कोशी गाउँपालिकाले प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुण फाउण्डेसन नेपालको सहयोगमा विवाह गर्ने नवदम्पतीलाई विवाहको शुभकामना र गर्भवती भएको महिलालाई गर्भमा रहेको बच्चाको सु स्वास्थ्यको कामना सहित दम्पतीलाई शुभकामना कार्ड दिने भएको हो ।
गाउँपालिकालाई अपांगमैत्री र अपागंता भएका व्यक्ति मुक्त गाउँ बनाउने अभियान अन्तरगत गर्भमा रहेका बच्चा स्वास्थ्य राख्न र अहिले रहेका वा भएका अपागंता भएकाहरुलाई अपांगता रोकथाम तथा पूरस्थापना कार्यक्रम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष ऐयुव अंसारीले जानकारी दिनुभयो ।
अपांगता रोकथाम तथा पूनरस्थापना कार्यक्रम अन्तरगत आईतबार कोशी गाउँपालिका १ लौकहीमा सामुदायमा आधारित अभिभुखिकरण कार्यक्रम सम्पन्न गरेको कार्यक्रम संयोजक राजकिसोर मेहताले जानकारी दिनुभयो ।
मेहताका अनुसार मंसिर १५ गतेबाट गाउँपालिकाको कुनै पनि उमेर पुगेको विवाह गर्ने दम्पती र गर्भवती भएको महिलाले स्वयमसेविका मार्फत गाउँपालिकाको अपांगता रोकथाम तथा पूरस्थापना कार्यक्रमको शुभकामना कार्ड पाउने छ ।
त्यसका लागि पाकिला भरीका ८७ जना स्वयमसेविका र अनमीहरुलाई मोवाईल उपलब्ध गराउने देखी वडा वडामा अपांगता रोकथाम तथा पूनरस्थापना कार्यक्रम सम्बन्धी अभिमुखिकरण कार्यक्रम गर्न लागेको मेहताले बताउनुभयो ।
कार्यक्रमबाट नव दम्पतीदेखी गर्भवतीसम्म र अपांगता भएर उपचार नपाएकासम्मले लाभ लिन पाउने भएको मेहताको भनाई छ । लौकहीमा आईतबार अपांगता रोकथाम तथा पूनरस्थापना कार्यक्रम कोशी १ का वडा अध्यक्ष राजकुमार साहको अध्यक्षतामा समपन्न भएको थियो ।भूकम्प अनलाइनबाट

ट्रान्सपरेन्सी इन्टरनेशनलको रिपोर्ट सरकारद्वारा अस्वीकार

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सो रिपोर्ट पूर्वाग्रह र भ्रामक रहेको भन्दै त्यसलाई नेपाल सरकारले अस्वीकार गर्ने स्पष्ट पारे ।

मन्त्रिपरिषद्को बैठक सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेमलनमा बोल्दै गुरुङले मिसनका आधारमा तयार गरिएको रिपोर्ट कुनै पनि हालतमा सरकारलाई मान्य नहुने स्पष्ट पारे । सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालमा आवद्ध व्यक्तिहरु राजनीतिक पूर्वाग्रह राख्ने व्यक्तिहरु भएकाले उनीहरुले बनाएको रिपोर्ट विश्वसनीय नै नहुने दावी गरेको छ ।

रिपोर्टमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्टाचारलाई प्रशय दिएको उल्लेख गरिएको थियो । रातोपाटी

चरासँग ठोक्किएपछि कैलाश एयरको हेलिकप्टर नुवाकोटमा आकस्मिक अवतरण

१४ मंसिर, काठमडौं । नुवाकोटमा कैलाश एयरको हेलिकप्टर ठूलो दुर्घटनाबाट बचेको छ ।

बागलुङबाट काठमाडौं आउँदै गरेको हेलिकप्टर चरासँग ठोक्किएपछि चालकले नुवाकोटमा आकस्मिक अवतरण गरेको प्रदेश ३ का प्रमुख डीआईजी बसन्त लामाले जानकारी दिए ।

हेलिकप्टरमा रहेका सबै ६ जना सकुशल रहेका छन्, एक जना यात्रुको घुँडामा सामान्य चोट लागेको जानकारी आएको लामाले बताए ।

चरासँग ठोक्किएपछि हेलिकप्टरको अगाडि भागमा सामान्य क्षति भएको छ । उक्त हेलिकप्टरका यात्रु लिन अर्को हेलिकप्टर पठाइएको छ ।

आदित्यको विवाहको तयारी सुरु, रिसेप्सनका लागि प्रधानमन्त्री मोदीदेखि अमिताभ बच्चनसम्मलाई निम्तो

एजेन्सी मुम्बई । बलिउडका चर्चित गायक उदित नारायणको घरमा अहिले खुसीको माहोल छाएको छ । खुसीको माहोलको कारण उनका छोरा तथा ‘इन्डियन आइडल १२’ का होस्ट आदित्य नारायणको विवाह हो । आदित्यले प्रेमिका श्वेता अग्रवालसँग १ डिसेम्बरमा विवाह गर्न लागेका हुन् ।

केही अगाडि आदित्यको तिलक कार्यक्रम आयोजना भएको थियो । सोही कार्यक्रम पछि नै उनको विवाहको तयारी सुरु भएको हो । आदित्यको विवाहमा जम्मा ५० मानिस मात्र सहभागी हुनेछन् । तर, विवाहपछि भव्य रिसेप्सन पाटी आयोजना हुनेछ । जसमा नेता, अभिनेतालगायत ठुलाठुला हस्तीको सहभागीता रहनेछ ।

आदित्य र श्वेताको विवाह मन्दिरमा साधारण तवरबाट हुनेछ ।  विवाहमा नजिकका आफन्त र साथीहरुमात्र सहभागी हुनेछन् । विवाहपछि परिवारेले एक भव्य रिसेप्सन पार्टी आयोजना गर्र्दैछन् । यसका लागि बलिउडका सबै स्टारलाई निम्ता समेत पठाइएको छ ।

‘छोरोको विवाहको तयारी भइरहेको छ । २ डिसेम्बरमा रिसेप्सन पार्टीको आयोजना हुनेछ,’ उदितले भने, ‘रिसेप्सन मुम्बईको एक फाइभ स्टार होटलमा हुनेछ । अहिले भेन्यु फाइनल भएको छैन ।’ रिसेप्सन पार्टीका लागि बलिउड अभिनेता अमिताभ बच्चनदेखि सबै सेलिब्रेटी र प्रधानमन्त्री नरेन्द्र मोदीसमेतलाई निम्ता पठाएइएको उदितले जानकारी दिए ।

आदित्य र श्वेता बिगत १२ बर्षदेखि एकअर्काेसँग डेट गरिरहेका छन् । यी दुबैको पहिलोटक भेट फिल्म ‘शापित’को सेटमा भएको थियो ।

सिद्धबाबालाई थुनामा राख्न सर्वोच्चको आदेश

१४ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनेर चिनिने कृष्‍णदास गिरीलाई थुनामा नै राख्न आदेश दिएको छ ।

एक अनुयायीमाथि बलात्कार गरेको अभियोगमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई २०७६ माघ ९ गते धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो ।

सिद्धबाबाबाले उक्त आदेश बेरीतको रहेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । तर गत शुक्रबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उच्च अदालतको आदेश बेरीतको नदेखिएको भन्दै सिद्धबाबालाई थुनामा नै राख्न आदेश दिएको हो ।

‘मिसिल हेर्दा पीडितको किटानी जाहेरीको अतिरिक्त निजले मौकामा गरेको कागज, वरदात भएको भनिएको समय, त्यसको अघिपछि पीडित प्रतिवादीको आश्रममै रहेको तथ्य, पीडित र प्रतिवादीबीच भएको मोवाइलको मेसेजबाट देखिएको सामिप्यता, अडियो मेसेजको प्रमाणिकता प्राविधिक जाँचबाट पुष्टि भएको अवस्थालगायतका तत्काल प्राप्त प्रमाढको आधारमा निज अहिले नै निर्दोष रहेछन् भन्न सकिएन’ आदेशमा भनिएको छ ।अनलाइनखबर

अफगानिस्तानको घाज्नी प्रान्तमा भएको कार बम आक्रमणमा २६ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

एजेन्सी । अफगानिस्तानको घाज्नी प्रान्तमा भएको कार बम आक्रमणमा २६ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

आत्मघातीले सैनिक शिविरमा गरेको यस किसिमको यो सबैभन्दा घातक आक्रमण हो ।

पछिल्ला केही महिनादेखि सैनिक शिविरलाई लक्षित गरी यति भिषण आक्रमण गरिएका थिएनन् ।

घाज्नी अस्तालका निर्देशक बाज मोहम्मद हेमातले २६ जनाको मृत्यु भएको र १७ जना गम्भीर घाइते अवस्थाका सैनिक अस्पतालमा ल्याइएको जानकारी दिए । मृतक एवं घाइतेहरु सबै सैनिक रहेको उनले बताए ।

घाज्नी प्रान्तीय परिषदका एक सदस्य नासिर अहमद फकिरीले पनि आक्रमणबाट भएको क्षति पुष्टि गरे । आक्रमणको जिम्मा कुनै समूहले पनि लिएको छैन ।