कञ्चनरुपमा १५ शैय्याको अस्पतालको शिलान्यास – Nagarikabhiyan : National News

कञ्चनरुपमा १५ शैय्याको अस्पतालको शिलान्यास

राजविराज  । सप्तरीको कञ्चनरुप नगरपालिकास्थित कंचनपुरमा १५ शैय्याको सरकारी अस्पतालको आज शिलान्यास गरिएको छ ।

वडा नम्बर ८ मा निर्माण हुने गरि संघीय सरकारको हरेक पालिकामा कम्तिमा १५ शैय्याको सरकारी अस्पताल निमार्ण गर्ने नीति अनुसार प्राथमिक अस्पतालको कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले शिलान्यास गर्नुभयो ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख मिश्रले गुणस्तरीय अस्पताल निर्माणका लागि नगरपालिकाबाट हुने सहयोग गर्ने बताउनुभयो ।

उहाँले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको भन्दै आज आफुले सरकारी अस्पतालको शिलान्यास गर्न पाएकोमा खुशी अनुभुति भइरहेको बताउनुभयो ।

२०५३ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तररोन्नती गरी प्राथमिक अस्पताल बन्न लागिएको हो ।

सो अवसरमा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले संविधानमा प्रत्येक स्थानीय तहमा आधारभुत स्वास्थ्य सेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

१५ शैय्याको अस्पताल आधारभूत अस्पताल मात्र नभएको र अबको दिनमा अर्थ मन्त्रालयले एकैचोटी आइसियु , भेन्टिलेटरसहितको उपकरणहरु खरिद गर्नका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट समेत निकासा गरिसकेको स्वास्थ्य कार्यालयका प्रमुख यादवको भनाई छ ।

संघीय सरकारले अस्पताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु ३ करोड २३ लाख तीन हजार बजेट विनियोजन गरेको नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक डम्बरप्रसाद गुप्ताले जानकारी गराउनुभयो ।

उक्त कार्यक्रममामा उपप्रमुख निरु पोखरेलले १५ शैय्याको प्राथमिक अस्पतालबाट यस नगरपालिकाले मात्र नभई छिमेकी गाउँपालिका र नगरपालिकाले समेत लाभ लिन सक्ने बिश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडका, राजनितिक दलका प्रतिनिधि , स्वास्थ्य शाखाका सुरेन्द्र प्रसाद यादव, वडा अध्यक्षहरु , बहुक्षेत्रीय पोषण कार्यक्रमकी स्वयमसेवीका सुशीला चौधरी लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सरकारी अस्पतालको शिलान्यास भएपछि नगरबासीहरु हर्षित भएका छन् ।