सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक अन्य संकटमा ओली
१५ असार २०८०, शुक्रबार ०८:५०
असार १५ काठमाण्डाै –नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारसँग सेटिङ गरेका व्यवसायीबाहेक अन्य व्यवसायीहरु संकटमा परेको बताएका छन्।
असार १५ को राष्ट्रिय धान दिवस मनाउन चितवन पुगेका अध्यक्ष ओलीले जिल्लाको युवा उद्यमी मञ्चले गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै करका दरहरु हेरफेर गराउन सफल व्यवसायीहरु बाहेक अरु आर्थिक मन्दीको चपेटामा पर्न थालेको बताए।
अहिलेको आर्थिक संकटपूर्ण अवस्था कहिलेसम्म कायम रहला भनेर युवा उद्यमीहरुले राखेको जिज्ञासामा अध्यक्ष ओलीले अहिलेको सरकारको आर्थिक अनुशासन नभएकाले सरकार रहेसम्म संकट रहिरहने बताए।
उद्योगी व्यवसायीहरु संकटमा पर्दै जाने तर एमाले टुलुटुलु हेरेर मात्रै बसिरहन नसक्ने भन्दै ओलीले त्यसका लागि पार्टीले जिम्मेवार भूमिका खेल्ने बताए। उनले भने ‘किन आर्थिक संकटपूर्ण अवस्था आउन खोज्यो भन्दा सरकारको गलत नीति छ, अनुशासन भएन। अहिलेको सरकारको तस्वीर देखेपछि पुग्छ, यो समस्या कहिले टुंगिएला भनेर।’
बैंकहरूको गलत नीति र रवैयाले पनि उद्योगीहरुलाई संकटमा परेको भन्दै ओलीले त्यसलाई सच्चाउन जरुरी रहेको बताए।
ऋण लिएर कुनै काम गर्न पाएको छैन, ब्याज र किस्ता माग्न सुरु गर्छ, जसले बैंक चलाइदिएको छ, तोकेको ब्याज दिएको छ, उसैलाई दुःख दिएको छ, जुन प्रयोजनका लागि ऋण दिएको हो, त्यसको रिटर्न नभइञ्जेलसम्म त कसरी उसले ब्याज किस्ता तिर्न सक्छ।’ ओलीले भने।
रोजगारी दिने ठाउँ भनेको सरकारी जागिर जस्तो मात्रै भएको भन्दै ओलीले लाखौंलाई देश भित्र नै रोजगारी सिर्जना गर्नका लागि उद्योगहरु खोल्नुपर्ने र राज्यले त्यसमा सहजीकरण गर्नेपर्ने धारणा राखे।
युवाहरुको पलायन खतरनाक कुरा भएकाले ब्रेन ड्रेन र मसल ड्रेनलाई रोक्नुपर्ने उनको धारणा छ। उब्जनी हुने खेतबारी बाँझै राखेर युवाहरू खाडी लगायतका देशमा पलायन हुनुमा केही न केही कमजोरी भएको उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया