संसदीय दलमा बहुमत देखाउन ओलीलाई भीम रावलको चुनौति – Nagarikabhiyan : National News

संसदीय दलमा बहुमत देखाउन ओलीलाई भीम रावलको चुनौति

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको दाबी गरेका छन् । उनले सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको दाबी गरे ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको पनि बताए ।

उनले आफूहरको मुख्य लडाई भनेको लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाको लागि भएको प्रतिक्रिया दिए । उनले भने,‘लोकतान्त्रिक मान्यताको रक्षा हुने कि नहुने भन्ने नै हाम्रो मुख्य प्रश्न हो । देशलाई नेतृत्व गर्छु भन्ने व्यक्ति यत्ति अनैतिक बन्न मिल्छ ? उहाँले त फैसला सुन्नेबित्तिकै राजीनामा दिनुपर्दथ्यो ।’

रावलले केपी ओलीको त गणपुरक संख्या नै नपुग्ने जिकिर गरे । उनले भने,‘बहुमतले गरेको निर्णयमात्रै आधिकारिक हुन्छ । केन्द्रीय कमिटीले निर्देशन दिएअनुसार हुन्छ । पार्टीको विधान र संसदीय दलको विधानबाहेक उहाँहरुको कुरा स्थापित हुँदैन् ।’

ओलीले जनताले सरकार चलाउन दिएको पाँच वर्षको जनमतलाई अपमान गरेको रावलको भनाई छ । उनले अहिले ओलीले नेतृत्व गरेको पार्टी नै नभएको भन्दै गुटको संज्ञा दिए ।

प्रधानमन्त्री ओलीलाई यसअघि नै कारबाही गरिसकेको सुनाउँदै अब एकता नहुने रावलको भनाई छ । त्यस्तै, आफ्नो पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालले पनि प्रधानमन्त्री हुन्छौं भनेर नभनेको सुनाउँदै रावलले भने,‘प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री हुन्छौं भनेर दाबी गर्नुभएको छैन् । सहमतिबाट जो पनि बन्ने भयो । संविधानको मर्यादा, लोकन्त्रको रक्षा, राष्ट्रिय हितको रक्षा, नेपाली जनताको भावना परिपूर्ति गर्नुपर्छ ।’

उनले ओली पक्षसँग संसदीय दलमा बहुमत भए त्यो देखाउन ओलीलाई चुनौति पनि दिए । उनले भने,‘ल लाईन लगाएर देखाउनुहोस् । को–को रैछन् ? हामीसँग स्पष्ट बहुमत भएको कारणले प्रतिनिधिसभा विघटन गर्नुभयो । अविश्वासको प्रस्ताव ल्याएर हटाउन लागेको भनेर प्रतिनिधिसभा विघटन गरेको कुरा उहाँले गर्नुभएको होईन र ?’