एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ – Nagarikabhiyan : National News

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली र वेब मनिटरिङ प्रणालीको शुभारम्भ गर्नुभएको छ । मङ्गलवार सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रालयमा एक औपचारिक कार्यक्रमका बीच सूचना प्रविधि विभागद्वारा विकास गरिएको एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ गरेकी हुन्।

यस प्रणालीअन्तर्गत सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइटहरू सञ्चालनमा आउने भएको छ । शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री शर्माले सबै सरकारी निकायका आ-आफ्नै वेबसाइट हुने र सर्वसाधारणले सूचना खोज्न पनि झन्झटिलो हुने भएकाले अब एकै प्रणालीमार्फत सरकारी निकायको सूचनाहरू पाउन सकिने अवस्था आएको बताइन् । उनले यसबाट धेरै खर्च कटौती हुने तथा साइबर सुरक्षाको दृष्टिले पनि सुरक्षित हुने बताएकी छन् ।

यो प्रणालीबाट विभागले निकायगत वेबसाइट व्यवस्थापन गर्नका लागि सरकारी निकायलाई प्रणाली व्यवस्थापक (Admin User)  उपलब्ध गराउने र सोही प्रयोग कर्ता मार्फत सम्बन्धित निकायले आफ्नो वेबसाइटमा  मेनु र उप मेनुहरू थपघट गर्न, नारा तथा लोगो राख्न, फाइलहरू व्यवस्थापन गर्न, कर्मचारी र कार्यालयको कार्य विवरण राख्ने लगायतका  कार्यहरू गर्न सकिने छ ।

त्यस्तै कर्मचारीको विवरण, सङ्गठन संरचनालगायतका कामहरू पनि गर्न सकिने बताइएको छ । त्यस्तै सबै सरकारी निकायहरूको निगरानी गरी ह्याक हुनसक्ने जोखिम कम गर्न वेब मोनिटरिङ प्रणालीसमेत सञ्चालनमा ल्याइएको जानकारी गराइएको छ ।