सुनसरीको हरिनगरबाट २ सय ५८ किलो गाँजा बरामद
१६ फाल्गुन २०७९, मंगलवार १७:१०
देवानगंज । सुनसरीबाट सशस्त्र प्रहरीले २५८ किलो गाँजा बरामद गरेको छ । जिल्लाको हरिनगर गाउँपालिका– ५ नरकटियाबाट सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो ।
वसन्तपुर बीओपीबाट खटिएको सशस्त्रको गस्ती टोलीले सोमबार राति करिब १० बजेतिर हरिनगरको भुटाहा–घुस्की सडकखण्डबाट १२ बोरा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको हो ।
सहायक प्रहरी निरीक्षक सुमन रानाभाटको कमाण्डमा खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआइजी कमल गिरीले बताए ।
भुटाहाबाट घुस्कीतर्फ जाँदै गरेको बिआर १ ए के ७१०० नम्बरको भारतीय स्कारपियोलाई चेकजाँच गर्दा गाँजा बरामद भएको उनले बताए ।
बरामद गरिएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीलाई बुझाएको छ । स्कारपियो चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।
उनको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । गाडी रोकेर चेकजाँच गर्न खोज्दा चालकले भाग्ने प्रयास गर्दै खेतछेउमा गाडी छोडेर भागेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया