१६ फाल्गुन २०७९, मंगलवार १०:२५ – Page 2 – Nagarikabhiyan : National News

रासायनिक मलको माग अत्यधिक

वीरगञ्ज। आगामी वर्ष पनि धानखेतीका समयमा पुनः रासायनिक मलको अभाव हुने भएको छ ।

मलखाद खरिदको प्रक्रिया लामो र धेरै समय लाग्ने भएकाले तत्काल मल खरिदका लागि बोलपत्र प्रक्रिया सुरु नगरिए आगामी असार, साउन र भदौमा मलखादको अभाव हुने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । कम्पनीलाई मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्सामा चालु आर्थिक वर्ष २०७९÷८० को सात महिनामा एक लाख ३० मेट्रिक टन रासायनिक मल प्राप्त भएको छ ।

चालु आवको साउनदेखि माघसम्ममा ९० हजार मेट्रिक टन युरिया र ४० हजार मेट्रिक टन डिएपी मल प्राप्त भएको कार्यालयका प्रमुख चन्द्रप्रसाद चम्लागार्इँले जानकारी दिनुभयो । तीस हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डिएपी मल आउने क्रममा रहेको र केही दिनभित्रै आइपुग्ने उहाँको भनाइ छ ।

यसबाहेक थप २०–२० हजार युरिया र डिएपी खरिदका लागि बोलपत्र स्वीकृत गर्ने प्रक्रियामा रहेको र सो बोलपत्र स्वीकृत भएर मल आए पनि मलको माग अत्यधिक रहेकाले त्यो २०८० जेठसम्म मात्र धान्न सकिने प्रमुख चम्लागाईँले बताउनुभयो ।

“अहिलेसम्म युरिया र डिएपी गरी एक लाख ३० हजार मेट्रिक टन मल आइसक्यो, ५० हजार मेट्रिक टन मल आउने क्रममा छ र ४० हजार मेट्रिक टन मल बोलपत्र स्वीकृत प्रक्रियामा छ”, उहाँले भन्नुभयो, “हामीकहाँ आइसकेको, आउने क्रममा रहेको र बोलपत्र खरिद प्रक्रियामा रहेको मल सबै आयो भने पनि त्यो जेठसम्म मात्रै पुग्ने देखिन्छ ।” थप मलका लागि अहिले नै प्रक्रिया सुरु नगरिए धानखेतीको समयमा मलको अभाव हुनसक्ने प्रमुख चम्लागाईँको भनाइ छ ।

‘‘धानखेतीको मुख्य सिजन असार, साउन र भदौमा रासायनिक मलको माग अत्यधिक हुन्छ, त्यो बेलासम्म अहिले प्राप्त भएको वा आउन लागेको मलले पुग्ने देखिँदैन, त्यसैले धानखेतीको समयमा चाहिने आवश्यक मल खरिदका लागि अहिले नै प्रक्रिया सुरु गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

मल खरिदको बोलपत्र प्रक्रिया लामो हुने भएकाले समयमै सुरु नगरिए समयमा मल नआउने र धानखेतीको समयमा मलको हाहाकार हुनसक्ने प्रमुख चम्लागाईँको कथन छ । जिटुजीमार्फत खरिद भएको रासायनिक मल प्राप्त भएलगत्तै जिल्ला–जिल्लामा मल पठाउन थालिएको सो कार्यालयले जनाएको छ ।

रासायनिक मलको अभाव हुन नदिन मल प्राप्त भएलगत्तैबाट मलखाद बाँडफाँट भएअनुसार जिल्ला–जिल्लामा मल पठाउँदै आएको प्रमुख चम्लागाईँले बताउनुभयो । चालु आव २०७९÷८० मा आएको मलमध्ये मधेस प्रदेशको आठवटा जिल्लामा युरिया, डिएपी र पोटास गरी ४२ हजार एक सय २२ मेट्रिक टन रासायनिक मल वितरण गरिएको छ ।

सो कार्यालयका अनुसार पर्सा जिल्लामा युरिया तीन हजार चार सय ५० मेट्रिक टन, डिएपी दुई हजार ६० मेट्रिक टन र पोटास चार सय मेट्रिक टन र बारामा युरिया तीन हजार चार सय ८६ मेट्रिक टन, डिएपी एक हजार सात सय ३२ मेट्रिक टन र पोटास एक सय ८५ मेट्रिक टन मल वितरण गरिएको छ ।

यस्तै धनुषामा युरिया चार हजार नौ सय ५५ मेट्रिक टन, डिएपी दुई हजार तीन सय पाँच मेट्रिक टन र पोटास दुई सय २२ मेट्रिक टन, महोत्तरीमा युरिया दुई हजार तीन सय २३ मेट्रिक टन, डिएपी एक हजार तीन सय २१ मेट्रिक टन र पोटास एक सय ७४ मेट्रिक टन, सर्लाहीमा युरिया चार हजार एक सय ३६ मेट्रिक टन, डिएपी एक हजार नौ सय २९ मेट्रिक टन र पोटास दुई सय ३५ मेट्रिक टन तथा रौतहटमा युरिया तीन हजार ४५ मेट्रिक टन, डिएपी एक हजार चार सय ४१ मेट्रिक टन र पोटास एक सय ६५ मेट्रिक टन मल वितरण गरिएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी आलोक कुमारले जानकारी दिनुभयो ।

सो अवधिमा सिरहामा युरिया एक हजार सात सय ५० मेट्रिक टन, डिएपी एक हजार सात सय ४४ मेट्रिक टन र पोटास दुई सय ८५ मेट्रिक टन र सप्तरीमा युरिया एक हजार सात सय पाँच मेट्रिक टन, डिएपी एक हजार ४० मेट्रिक टन र पोटास ३४ मेट्रिक टन वितरण गरिएको प्रमुख चम्लागाईँको भनाइ छ ।

मुलुकभर करिब सात लाख मेट्रिक टन रासायनिक मलको आवश्यकता रहे पनि हाल मागको करिब ५० प्रतिशत पनि आपूर्ति हुन नसक्दा बर्सेनि मलको हाहाकार हुने गरेको उहाँले बताउनुभयो । मागबमोजिम आपूर्ति नभए पनि अघिल्लो आव २०७८÷७९ को तुलनामा चालु आव २०७९÷८० मा बढी मल आएको जनाएको छ ।

अघिल्लो आव २०७८÷७९ मा युरिया ६० मेट्रिक टन र डिएपी ४० मेट्रिक टन मलमात्र आएको थियो । उहाँका अनुसार मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले मधेस प्रदेशमा वर्षभरिका लागि चार लाख ६३ हजार मल चाहिने भन्दै पत्र पठाएको छ । ‘‘यसरी हेर्दा अहिले आइरहेको मल मधेस प्रदेशकै लागि पनि अपुग हुने देखिन्छ”, प्रमुख चम्लागाईँले भन्नुभयो, “यस्तो स्थितिमा कसरी मल पु¥याउन सकिन्छ, सम्भव नै देखिँदैन ।” त्यसैले बर्सेनि मलको अभाव हुने सम्भाविक नै हो, उहाँको कथन छ ।

सो कार्यालयमार्फत मधेस प्रदेशको आठवटै जिल्ला, बागमती प्रदेशको १० जिल्ला र गण्डकी प्रदेशको तनहुँ, लमजुङ, गोरखा, कास्की, पर्वतलगायतका जिल्लामा रासायनिक मल पठाउँदै आएको छ । बर्सेनि डिएपी र युरिया मलको आपूर्ति कम भएपछि किसानलाई मलखादको समस्या हुने गरेको नेपाल कृषक महासङ्घ मधेस प्रदेशका अध्यक्ष मुक्ति यादवले बताउनुभयो । मागअनुसार मलको आपूर्ति नहँुदा बर्सेनि किसान मलका लागि डिलरहरू चहार्ने गरे पनि सहजरूपमा मल पाउने अवस्था नरहेको उहाँको भनाइ छ ।

रचना रिमालको स्वरमा ‘जय माँ पाथीभरा’ सार्वजनिक

विराटनगर । गायीका रचना रिमालको स्वरमा ‘जय माँ पाथीभरा’ देवीको भजन सार्वजनिक भएको छ । यसअघि उक्त भजन गायक प्रवीण बेडवालको स्वरमा सार्वजनिक भएको थियो ।
सुरेश चन्द्र दाहालको शब्द, डा.भवानी शंखर भट्टराईको श्लोक रचना, राजन क्षेत्रीको सङ्गीत रहेको उक्त भिडियो ताप्लेजुङ स्थित पाथीभरा मन्दिर क्षेत्रमा छायाङ्कन गरिएको छ ।
दिनेश कोइरालाको अभिनय रहेको उक्त भिडियोमा कलर तथा सम्पादन सुरेश चन्द्र दाहालको रहेको छ ।

उत्कृष्ट विद्यार्थी नगदसहित पुरस्कृत

विराटनगर । विराटनगर–९ मा रहेको शिक्षादिप कलेजले उत्कृष्ट हुने विद्यार्थीलाई नगदसहित पुरस्कृत गरेको छ । सोमबार कलेजमा एक कार्यक्रमको आयोजना गरेका कलेजले लिएका दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई कजेलले नगद सहित पुरस्कृत गरेको छ ।

कक्षा ११ र कक्षा १२ मा विज्ञान संकायमा अध्ययनरत ४० भन्दा बढी विद्यार्थीलाई नगद सहित सम्मान गरेको कलेजका निर्देशक भुपेन्द्र दाहालले जानकारी दिए । विद्यार्थीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडकाले पुरस्कृत गरेका थिए ।

सिटी अस्पताल प्रकरण : अस्पताल प्रशासनसँग सहमति भएपछि आफन्तले बुझे शव

विराटनगर । शल्यक्रियाको क्रममा विराटनगरको सिटी अस्पतालमा मृत्यु भएकी जहदा गाउँपालिका–४ की ३९ वर्षीया सन्जु कुमारी मेहेताको शव परिवारले बुझेको छ । अस्पताल प्रशासन र मृतकको परिवारबीच सहमती भएपछि आफन्तले शव बुझेका हुन् । अस्पताल प्रशासनसँग सहमती भएपछि शव बुझेको मृतकका भाई दीलिप कुमार मेहेताले बताए ।

आइतबार किड्नीको पथरीको उपचारका लागि अस्पताल भर्ना भएकी मेहेताको डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्त आक्रोशित भएका थिए । सिटी अस्पतालका डाक्टर सुनिल कुमार यादवले भने बिरामीको मुटु समस्याका कारणले मृत्यु भएको  बताए । उनले यो घटनामा चिकित्सको कुनै दोष नरहको बताए ।

बिरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले राति नै एम्बुलेन्समा लास राखेर डिस्चार्ज गर्न खोजेकाले घटना रहस्मय भएको भन्दै आफन्त आक्रोशित भएका थिए । ‘बेहोस हुने सुई लगाउने बित्तिकै भाउजुको मृत्यु भइसकेको जस्तो लाग्छ । तर राति १२ बजे बिरामीलाई बचाउन कोशिस गर्दैछौँ भनेर चिकित्सकले भनेका थिए’, मृतकका आफन्त विभाष सिंहले भने, ‘तर त्यसको केहीबेरमा मृत घोषणा गर्दै लाश ल्याएर एम्बुलेन्समा राखिदिए ।’

आक्रोशित मृतकका आफन्त र अस्पताल प्रशासनबीच सोमबार दिउँसो सहमति भएपछि अवस्था सामान्य बनेको थियो ।

मोरङका छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित दुई जना पक्राउ

विराटनगर । मोरङका छुट्टाछुट्टै दुई स्थानबाट लागूऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । सुनबर्षी नगरपालिका–२ बाट ब्राउन सुगर सहित एक जना र केराबारी गाउँपालिका–६ बाट गाँजा सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शनिबार बेलुका प्रहरी चौकी अमरदहबाट खटिएको गस्ति टोलीले चेकजाँचको क्रममा सुनबर्षी–५ का २८ बर्षीय उपेन्द्र साह पक्राउ परेका हुन् । प्रदेश ०१–०२–०४८ प ३९४३ नम्बरको मोटरसाइकलमा सवार उनलाई साथबाट १ ग्राम ३० मिलिग्राम ब्राउन सुगर, डिजिटल तराजु १ थान र नगद ४२ हजार ६ सय रुपैँयासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी केराबारी–६ का ५० बर्षीय गुर्माछान मगरले आफ्नै घरमा गाँजा बिक्रि गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर बाट खटिएको (आरआइटी) प्रहरी टोलीले उनलाई ३ सय ग्राम गाँजा र नगद ६७ हजार ७ सय रुपैँयसहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरूविरुद्ध थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

तेली कल्याण समाजद्वारा एक सयबढी व्यक्तिलाई सम्मान

विराटनगर । तेली कल्याण समाज नेपाल, मोरङ जिल्ला कार्यसमितिले एक सय बढी व्यक्तीलाई सम्मान गरेको छ । विराटनगर एक कार्यक्रमको आयोजना गर्दै समाजले विभिन्न क्षेत्रमा आवद्ध तेली समुदायका व्यक्तिहरूलाई सम्मान गरेको हो ।

समाजले मेधावी विद्यार्थी, चिकित्सक, स्वास्थ शिक्षा, शिक्षा सेवा, प्रशासन, नापी, प्रहरी, कानुन, युवा, आयुर्वेद सेवा, इन्जिनियरिङ, वन, व्यापारी, उद्योगी, बैंकिङ, सेवानिवृत तथा कार्यालय प्रमुख आदि गरेर १५ विधा वा क्षेत्रमा सफलता हाँसिल गरेका २४ जनासँगै जग्गादाता महेश कुमार साहलाई दोसल्ला र कदर पत्रले सम्मान गरेको हो ।

समाजले शिक्षा सेवामा आवद्ध विरेन्द्र साह (रंगेली), सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप कुमार साह, नापी तर्फ प्रविण प्रताप साह, प्रहरी निरिक्षक कामेश्वर साह, निरुडे लघुवित्तका डिपुटि सिइओ भागनारायण साह, लियो अन्तराष्ट्रियका सिद्धार्थ साह, अधिवत्ता सन्जु कुमारी साह, नेपाल एग्रोका अनिल कुमार साह, रेडियोलोजिष्ट डा. पन्नालाल साह, प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ डा. स्वेता साह, डेन्टल सर्जन डा. अमित कुमार साह र औषधि विज्ञानमा विद्यावारिधी गरेका डा. अनिल कुमार साहलाई सम्मान गरेको छ ।

कार्यक्रममा करिब दुई सय जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा तेली कल्याण समाज नेपालका ७ वटै जिल्लाका अध्यक्षहरू, केन्द्रीय अध्यक्ष, उपाध्यक्षहरू, महासचिव, सचिव तथा सदस्यहरू, प्रदेश २ का सांसद भरत साह, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई र केन्द्रिय अध्यक्ष विश्वनाथ साह उपस्थिति रहुको थियो ।

समाजले एसइइ परीक्षा २०७८ मा उत्कृष्ट अङ्क ल्याएर उतीर्ण हुने रतुवामाई नगरपालिका ४ का अस्मिता साह, सुनबर्षी ६ का प्रियंका कुमारी साह, सुनबर्षी ४ का धिरज कुमार साह, विराटनगर १२ का विराट साह, अपेक्षा साह, विराटनगर ४ का लिना सेठ र सुन्दरहरैँचा १३ का अरुण साह सात जना विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ । कार्यक्रममा विभिन्न १५ क्षेत्रमा कार्यरत ८० जना ब्यक्तिहरूलाई मायाको चिनोले सम्मान गरिएको आयोजक संस्थाका अध्यक्ष डाक्टर बालकृष्ण साहले जानकारी दिए ।

झोराहाटमा साहित्य, फागुन महिनाको कार्यक्रममा पाँच स्रष्टा प्रस्तुत

विराटनगर । झोराहाट नाट्य घरले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्दै आएको  साहित्यिक श्रृङखला ‘झोराहाटमा साहित्य’ मा पाँच जना स्रष्टा प्रस्तुत भएका छन् । नाटक घरको सभा हलमा शनिबार आयोजित कार्यक्रममा इटहरीका अग्रज स्रष्टा कृष्णविनोद लम्साल, धरानका परिक्रमा श्रेष्ठ, इटहरीकी मिश्रा गुरुङ, विराटनगरकी पुष्पा सायरा र दमकका हरि पराजुली प्रस्तुत भएका हुन् । उनीहरूले आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।

झोराहाट नाट्य समूहले पूर्वसहित विभिन्न क्षेत्रका कविहरूलाई मञ्च उपलब्ध गराउँदै आएको  छ ।  कार्यक्रममा लामो समयदेखि साहित्य र पत्रकारितामा समर्पित इनरुवाका अग्रज स्रष्टा शशीप्रसाद बजगाईँलाई सम्मान गरिएको थियो ।

झोराहाट नाटक घरले साहित्यसँगै नाट्य क्षेत्रमा समेत काम गर्दै आएको छ । मासिक साहित्यिक श्रृङखला सहित बेला–बेला नाटक मञ्चन, नाट्य लेखन र अभिनयको प्रशिक्षण समेत सञ्चालन गर्दै आएको छ । कार्यक्रममा पूर्वका विभिन्न जिल्लाका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रिमियर शो सम्पन्न

विराटनगर । नेपाली कथानक चलचित्र ‘म पर्खिरहन्छु’ को प्रथम प्रदर्शन (प्रिमियर शो) शनिबार विराटनगरमा सम्पन्न भएको छ । इन्द्रेणी कला प्रतिष्ठानको आयोजनामा चलचित्रको प्रिमियर शो सम्पन्न भएको हो । विराटनगरका कलाकारहरूको बाहुल्यता रहेको यो चलचित्र २०७७ सालको नयाँ वर्षमा प्रदर्शनी (रिलिज) को तयारी भए पनि कोरोना कहरले रोकिएको थियो ।

पछि नयाँ नेपाली चलचित्रहरूको बीचमा ‘म पर्खिरहन्छु’ले प्रथम प्रदर्शनीको लागि समय मिलाउने क्रममा शनिबार प्रथम प्रदर्शनी  विराटनगर–८ हाटखोलास्थित आरके महलमा गरेको हो । नेपाली र मैथिली गरी एक दर्जन बढी चलचित्र निर्देशन गरिसकेका सन्तोष सरकारको कथा, सम्वाद (पटकथा), निर्देशन रहेको ‘म पर्खिरहेको छु’ को निर्मात्री बबिता श्रेष्ठ हुन् ।

नेपाली युवाले भोगेको वास्तविक घटनामा आधारित वियोगान्त कथा रहेको ‘म पर्खिरहेछु’ मा भूपेन्द्र रायमाझी र नषराज घिमिरेको संगीत छ । कथामा वैदेशिक रोजगारीले पारिरहेको सामाजिक समस्या, पारिवारिक विचलन पाइन्छ  र यस्तो अवस्थामा समाजलाई सही मार्ग लैजानका लागि गरिएको प्रयास देखिएको छ ।

यस चलचित्रका प्रमुख कलाकारमा विनोद श्रेष्ठ, कल्पना भट्टराई, पुष्प श्रेष्ठ, प्रवलदीप विश्वास, शारदा आर्यन, प्रमोद श्रेष्ठ, दिनेश कोइराला, डीबी बस्नेत, विनोद दुगड, कृष्ण सुवेदी र महेश सहनी छन् । बाल कलाकारमा बेदिका श्रेष्ठ र शीतला सरकार छन् ।

यस चलचित्रमा डा. विनोद श्रेष्ठ र सुरेश वैद्यको गीतमा रामा मण्डल र मनिषा पोखरेलले स्वर दिएका छन् । कोसी भिजन फिल्म प्रोडक्सन इटहरीको व्यानरमा निर्माण गरिएको ‘म पर्खिरहेछु’ मा राजेश लेप्चा र नविन राईले द्वन्द्व निर्देशन रहेको छ भने हेमन्त योञ्जनले सम्पादन गरेका हुन् ।

पूर्वको प्रमुख शहर विराटनगर, इलाम,  इटहरी, धरान, धनकुटालगायत पर्यटकीय स्थल जेफाले, डाँडाबजार, कोशी व्यारेज, श्रीअन्तुमा छायाङ्कन गरिएको यस चलचित्रको क्यामराम्यान यज्ञ पराजुली र सुमन तामाङ छन् ।

दुई घण्टा १५ मिनेट समयको यस चलचित्रको सम्पादन गुञ्जन स्टुडियो काठमाडौंमा र अन्तिम सम्पादन म्युजिक हब पोष्ट प्रोडक्सन स्टुडियो ओशीवारा, अन्धरी वेष्ट मुम्बईमा गरिएको अभिनेता डा. श्रेष्ठले जानकारी दिए ।

होमस्टे संचालकलाई एस्पायर कलेजका विद्यार्थीद्वारा प्रशिक्षण

विराटनगर । विराटनरको एस्पायर कलेजमा विद्यार्थीले कोसी टप्पु बन्यजन्तु आरक्ष छेउमा रहेको सप्तकोसी होमस्टेका संचालकहरूलाई प्रशिक्षण दिएका छन् । कलेजमा बिपिएच. ( ब्याचरल इन प्रोफेसनल हस्पिटालिटी) प्रथम सेमेष्टर अध्ययनरत विद्यार्थीहरूले  प्रशिक्षण दिएका हुन् ।

होमस्टे कस्तो हुनुपर्छ, होम स्टेमा पाहुनालाई कसरी स्वागत गर्ने, होमस्टेलाई सफा कसरी राख्ने, शान्त तथा मनोरम वातावरण कसरी बनाउने, होमस्टेमा आएका पाहुनालाई कसरी खुसी बनाउने भन्ने विषयमा विद्यार्थीहरूले प्रशिक्षण दिएका हुन् ।

सुनसरीको प्रकाशपुरमा संचालित १२ बटा होमस्टेका संचालकलाई उनीहरूले प्रशिक्षण दिएका थिए । होटल म्यानेजमेन्टमा अध्यनरत सुलभ निरौला, लिजा खतिवडा, समीर लावती र लिया खवासले उनीहरूलाई प्रशिक्षण दिएका थिए ।

कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर शुभम भट्टराईका अनुसार बिद्यार्थीहरूलाई समय समयमा यस्ता कार्यक्रमहरूमा सहभागी गराउने गरिएको छ । यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई पढेका कुरा व्यबहारमा उतार्न सजिलो हुने उनले बताए ।

कलेजका प्रीन्सिपल सिएम बस्नेतको नेतृत्वमा गएको टोलिले होमस्टे संचालकहरूलाई सहजीकरण गरेको र उक्त प्रशिक्षण लाभदायक रहेको संचालकहरूले बताएको बस्नेतले जानकारी दिए ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टमा एमविए अध्ययनरत विद्यार्थीहरू निशान्त तिमल्सिना, आदित्य आचार्य, जेसिका राजलावत, अस्मिता सुवेदी र संगिता भुर्तेलले होमस्टे कसरी व्यस्थापन गर्ने, लेखा कसरी राख्ने तथा बजारीकरण कसरी गर्ने भन्ने बारेमा प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रमबाट २५ जना भन्दा बढी व्यावसायीहरू लाभान्वित भएका छन् ।

एमाले महानगर कमिटीले थाल्यो ‘मिसन ग्रासरुट’ अभियान

विराटनगर । नेकपा एमालेले देशब्यापी रूपमा थालेको ‘मिसन ग्रासरुट’ अभियानलाई विराटनगर महानगर कमिटीले पनि आरम्भ गरेको छ । शुक्रबार महानगर कमिटीको विस्तारित बैठकले विभिन्न कार्ययोजना बनाउँदै अभियानको थालनी गरेको हो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पोलिटब्यूरो सदस्य तथा अभियानका लागि विराटनगर महानगरको फोकल पर्सनका रूपमा खटिएका विशाल भट्टराई, प्रदेश कमिटीका नेता तथा जिल्ला कमिटीका नेताहरूको उपस्थिती रहेको थियो ।

एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले बैठकमा प्रस्तुत गरेका प्रस्तावहरू सर्वसम्मत पारित गर्दै बैठकले केन्द्रिय कमिटीले सञ्चालन गरेको पार्टी सुध्रिढिकरण तथा विस्तारको अभियानलाई तालिका बनाएर अघि बढाउने निर्णय गरेको छ । यस्तै बैठकले मातहतका कमिटीहरुलाई पनि अभियानमा सक्रियता पूर्वक लागेर समयमा काम सक्न निर्देशन दिएको छ ।

जस अन्तर्गत फागुन १३ देखि १७ सम्म सबै कमिटीको विस्तारित बैठक बसी कार्यायोजना निर्माण गर्ने, जिम्मेवारि बाँडफाँट गर्ने, फागुन १९ देखि २२ सवै वडामा प्रशिक्षण अभियान सञ्चालन गर्ने, फागुन २६ देखि ३० गते सम्म पार्टि सदस्यता नविकरण र नयाँ सदस्यता विस्तार गरिसक्ने निर्णय बैठकले गरेको छ ।

यस्तै चैत १ देखि ५ गते सम्म स्ववियू निर्वाचनमा केन्द्रित भएर अनेराश्ववियुका उम्मेदवारलाई जिताउन पहलकदमी लिने, चैत  ६ देखि १५ सम्म टोल अधिवेशन गर्दै समाजमा उल्लेख्य योगदान गर्नेहरुलाई सम्मान गर्ने कार्यक्रम महानगर कमिटीले तय गरेको छ ।

चैत १६ देखि २२ सम्म सबै वडामा अधिवेशन गरि २३ देखि २७ गतेसम्म सबै वडामा रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने एमाले विराटनगर महानगर कमिटीले निर्णय गरेको छ । चैत २८ गते सबै मातहतका कमिटीका प्रविदेनहरु सहिहत महानगरको विस्तारित बैठक बसेर अभियानको समिक्षा गर्ने निर्णय गरेको बैठकले चैत ३० गते नयाँ वर्ष २०८० को शुभकामना आदान प्रदान गर्दै बैसाख ९ गते एक समारोहका बिच पार्टीको स्थापना दिवस मनाएर अभियानको औपचारिक समापन गरिने अध्यक्ष सागर थापाले बताए ।

प्रदेश सरकारको औचित्यमाथि उठेका प्रश्नहरू निराधार हुन् : मन्त्री चापागाईं

विराटनगर । प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईँले संघीय सरकारको भन्दा प्रदेश सरकारले विकास निर्माणका काम छिटो गर्ने र जनताको पहुँचमा रहेको बताएका छन् ।

मोरङको बेलबारी–४ स्थित लिम्बू चोक र सभापुर जोड्ने नवनिर्मित पुल उद्घाटनको लागि शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारको औचित्यमाथि उठेका प्रश्नहरू निराधार रहेको बताए । प्रदेश सरकार गठन भएयता प्रशासनिक, विकास निर्माणका कुराहरूमा जनता सहजै पुग्न सक्ने अवस्था सिर्जना भएको बताए ।

‘प्रदेश सरकार थिएन भने काठमाडौं छिर्नुपर्ने हुन्थ्यो, मेहेनतका साथ सिंहदरबार छिर्नुपर्ने हुन्थ्यो योजना पर्छ या पर्दैन भन्ने हुन्थ्यो’, उनले भने, ‘योजना परे पनि सहज हिसाबले पहुँचमा पुग्छ कि पुग्दैन । यस्ता थुप्रै समस्यालाई  प्रदेश सरकारले हल गरेको छ ।’ उनले अघिल्लो सरकारले प्रदेशको औचित्य स्थापित गरेको र यो सरकारले प्रदेश सरकारको औचित्य र आवश्यकतालाई थप व्यवस्थित र बलियो बनाउने बताए । विकासका आयोजनालाई समयमा सम्पन्न गर्न गुणस्तरीयतालाई पनि ध्यान दिनुपर्ने उनको जोड थियो ।

मन्त्री चापागाईंले मोरङको बेलबारी–४ स्थित केसलिया खोलामा निर्माण भएको पुल उद्घाटन गरेका छन् । ३७ मिटर लम्बाइ रहेको सो पुल ६ करोड १८ लाख ४३ हजारको लागतमा निर्माण भएको हो । गीताञ्जली कन्स्ट्रक्सन प्रालि दुहबी र प्रदेश १ सरकारको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयबीच पुल निर्माणका लागि ०७६ फागुन १८ गते सम्झौता भएको थियो ।

दुई वर्षमा सक्नुपर्ने पुल कोभिडका कारण केही ढिला भएको पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए । ०७९ असार २५ गते पुल निर्माण सकिएको थियो ।

अबदेखि सरकारले दिने आकस्मिक बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुल्ने

काठमाडौं । सरकारले दिने आकस्मिक बिदाका दिन अब बैंक तथा वित्तीय संस्था बन्द गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७९ मा संशोधन तथा परिमार्जन गर्दै शुक्रबार यस्तो प्रावधान ल्याएको हो ।

अब नेपाल राष्ट्र बैंकले जारी गरेको बैंक बिदाको सूचीबाहेक नेपाल सरकारले आकस्मिक बिदा दिएको दिन नगद कारोबार, चेक क्लियरेन्स, आरटीजीएसजस्ता अत्यावश्यक बैंकिङ सेवा नियमित गर्नुपर्ने छ ।

यस्तो बिदाको दिन १० बजेदेखि १ः३० बजेसम्म कार्यालय खुला राख्न समेत राष्ट्र बैंकले समय तोकेको छ । यस बेला बैंक तथा वित्तीय संस्थाले आवश्यक विभाग र कार्यालय खुला राखेर सेवा सूचारु गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

वैदेशिक रोजगार विभाग प्रवेश गर्दा परिचयपत्र अनिवार्य

काठमाडौं । वैदेशिक रोजगार विभागमा परिचयपत्र देखाएर मात्रै छिर्न पाइने भएको छ। असम्बन्धित व्यक्तिको प्रवेशमा कठाई गर्ने उदेश्यले परिचयपत्र देखाएर मात्रै विभागमा प्रवेश गर्नुपर्ने व्यवस्था गरिएको विभागले बताएको छ।

पिडितको नामबाट कानून, विधि तथा प्रकृया विपरित कार्यलय भित्र नाराजुलुस गरेको भन्दै विभागले परिचय पत्र देखाएर मात्रै विभाग प्रवेश गर्नुपर्ने नियम लागू गरेको बताएको छ।

‘अमर्यादित भाषा प्रयोग गरी काम गर्ने कर्मचारीलाई काम गर्ने वातावरण प्रभावित पार्ने क्रियाकलाप बढ्दै गएको सम्बन्धमा विभागको ध्यानाकर्षण भएको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ। कुनै गुनासो भए कानुनी प्रकृयाअनुसार लिएर आउन विभागले आग्रह गरेको छ।

 

हिमपात नहुँदा भोकमरीको जोखिम

बझाङ । सुर्मा गाउँपालिका–१ दौलिचौरका राजेन्द्रबहादुर बुढा खेतबारीमा हेर्दै टोलाउछन् । मङ्सिरमा छरेको गहुँ फागुनको मध्यतिर पनि नउठेपछि आउँदो वर्ष खाद्य सङ्कट होला भन्ने चिन्ताले उनलाई सताउन थालेको छ। जिल्लाको लेकाली भेगमा पुसको महिनामा बाक्लो हिमपात भएपछि माघ–फागुनमा गहुँ हुर्किसक्थ्यो । बुढा भन्छन्, “यो समयमा त गहुँले चारैतिर हरियाली हुन्थ्यो । खेत गराहरू गहुँमय हुन्थे । तोरी पनि रहरलाग्दो हुन्थ्यो । यस वर्ष भने खराप समय भयो।”

सुर्मामा एकपटक मात्रै हिमपात भए पनि उब्जनी पर्याप्त हुन्थ्यो । ठाउँअनुसार बर्खा र हिउँदमा हुने उब्जनीले नै सुर्मावासीलाई बेशा (खाद्यान्न) गर्नु पर्दैथ्यो । “हाम्रो ठाउँ हिमाल भए पनि राम्रो उब्जनी हुन्थ्यो”, बुढा भन्छन्, “बर्खे बाली पनि राम्रै उत्पादन हुन्छ । हिउँदमा भने आकाशकै भर पर्नुपर्छ । मङ्सिरको महिनादेखि आकाश हेर्न लागेका हौँ । आजसम्म न पानी, न हिउँ परेको छ।”

सदाबहार हरियाली भइरहने रूखहरू पनि सुक्न थालेको सुर्मा–४ का श्याम बोहराले बताए। “हिउँ पर्छ कि भनेर हामीले सुर्मादेवीलाई गुहार्यौ। बिहान बेलुकाको पूजामा हिउँकै बर माग्यौँ”, बोहराले भने। गत महिना हिमपात भयो तर सुर्माका अग्ला डाँडाकाँडाभन्दा तल आएन। पानी पनि पर्यो तर, जमिनको धुलो पनि नमरेको उनको भनाइ छ। फागुनको दोस्रो सातासम्म पनि पानी नपरेपछि खडेरीले यस वर्षको हिउँदे बाली राम्रो नहुने बताउँदै बोहरा भने, “उम्रेको बाली पनि सबै सुकिसक्यो । अब हिमपात भए वनस्पतिका लागि मात्रै काम लाग्छ।”

दौलीचौर माविभन्दा पछाडिको जिउलोमा कृषि ज्ञान केन्द्रले कृषकलाई आलु लगाउन सुझाव दिएको थियो। “कृषिले हिउँदे आलु लगाउनका लागि जमिन बाँझो छोड्नु भनेको थियो,” राजेन्द्रबहादुर बुढाले भने, “सिँचाइसहित आलुको बीउ दिने भनेपछि जमिन बाँझो छोड्यौँ । त्यसै ठाउँमा प्रदेशले पनि सिँचाइ पोखरी दिने भनेपछि ज्ञान केन्द्र पछि हट्यो । त्यसपछि मङ्सिरमा गहुँ छर्‍यौँ। अहिले सिँचाइ नहुँदा सुकेर मर्न लागेको छ।”

ज्ञान केन्द्रबाट अनुगमन गर्न गएको टोलीले सिँचाइ पोखरी दिने तयारी गरेको तर प्रदेश योजना आएपछि सानो जिउलोमा दुईवटा योजना नदिने भन्दै ज्ञान केन्द्रले अर्को गाउँका लागि सिँचाइ पोखरी सारेको उनी बताउछन्। “सुदूरपश्चिम प्रदेशले दिएको योजना दुई लाख रूपैयाँको हो”, बुढाले भने, “त्यो ट्याङ्कीबाट दुई गणा खेतलाई पनि सिचाँइ पुग्दैन।”

उनका अनुसार गत वर्ष दौलीगाडले नहर बगाएपछि सिँचाइ पूरै अवरूद्ध भएको थियो । दौलीगाडमा नहरको बाँध बनाउनकै लागि एक करोडभन्दा बढी रकम लाग्ने बताइएको छ । यहाँ सिँचाइको योजना नथपिए जिउलो बाँझै रहने चिन्ता किसानमा बढेको छ । सुर्मा गाउँपालिकाले पालिकाभर उत्पादन बढाउने भन्दै यस वर्ष ४० क्विन्टल गहुँको बीउ वितरण गरेको थियो।

दौलुके बारसेचार र स्वर्गद्वारी प्रजातिको गहुँको बीउ कृषकको मागअनुसार पाँचवटै वडाका किसानलाई वितरण गरेको पालिकाले जनाएको छ। सुर्मा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखा प्रमुख चक्रप्रसाद जोशीका अनुसार हिमपात नहुँदा यसपटक सबै लगानी खेर जाने देखिएको छ।

“सुर्मामा १० हेक्टर जमिनबाहेक सबै आकासेपानीकै भरमा छ”, उनले भने, “नहर बनेका ठाउँमा पनि खोलामा पानीको बहाब नहुँदा सुकेको छ ।” जोशीका अनुसार यस वर्ष ८० प्रतिशत बाली सुक्ने अनुमान गरिएको छ। “डोरीमा करिब ५० रोपनी, भुरामा १० रापनी, ४ नम्बरको माथिल्लो गाउँमा ६० रोपनी बराबरको जमिनमा लगाएको बाली ९० प्रतिशत सुकिसकेको छ।” हिमाली जिल्लाकै हिमाली उर्बर जमिन भएको ठाउँमा हिमपात नहुँदा यसपटक निकै सास्ती खेप्नुपर्ने उनले बताए।
गत वर्ष सुर्मामा दौलुके बारसेचार जातको ५० क्विन्टल गहुँको बीउ वितरण गरेको थियो । त्यसमा एक कट्टा हुने ठाउँमा तीन कट्ठासम्म पनि उत्पादन भएको थियो । “गत वर्ष गहुँको एकै बालामा मुठ्ठी बराबर फलेको थियो”, उनले भने। जोशीका अनुसार सुर्मेलीले आयस्रोतका रूपमा जडीबुटीलाई मानेका थिए । हिमपात नभएपछि हिमालमा पनि जडिबुटीसमेत नपाइने गरेको उनले बताए। “हिउँ नपरे हिमाल पनि रित्तै हुन्छ। जडीबुटी पाइँदैन । न खेतीपाती न जडीबुटी भएपछि स्वतःनै भोकमरी हुने भयो”, उनले भने ।

यता कृषि ज्ञान केन्द्र बझाङका अनुसार उत्पादन नभएको सबै ठाउँमा खाद्य अभाव हुने गरेको छ। केन्द्रका प्रमुख टेकबहादुर विष्टले भने, “तल्लो तटीय क्षेत्रबाहेकका ठाउँमा दशकयता नै उत्पादन घटिरहेको छ।

एघार हजार हेक्टर गहुँ उत्पादन भइरहेकामा यस वर्ष भने झण्डै ३० प्रतिशत उत्पादन घट्ने देखिन्छ।” विष्टका अनुसार बझाङमा ४० प्रतिशत सिञ्चित जमिन छ भने ६० प्रतिशत असिञ्चित जमिन छ। त्यसमध्ये पनि आकासे पानी तथा हिमपात नहुँदा लेकाली भेगमा ३० प्रतिशत घट्ने र तल्लो भागमा ५/७ प्रतिशत उत्पादन घट्ने अनुमान गरेको उनले बताए।

ओलीले सुरु गरे ‘केपी बा’ युट्युब च्यानल

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नाममा युट्युब च्यानल सुरू गरेका छन्। ओलीको जन्मदिनको अवसर पारेर फागुन ११ गतेबाट ‘केपी बा’ नामको युट्युब च्यानल सुरू भएको हो। बिहीबार उक्त युट्युब च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकको भिडिओ अपलोड गरिएको छ।

युट्युब च्यानल सुरू गरेको बारे ओलीले सामाजिक सञ्जालमा च्यानललाई सेयर गर्दै लेखेका छन्, ‘मेरो जन्मदिनको सन्दर्भ पारेर नयाँ युट्युब च्यानल ‘बा’ सुरू भएको छ। यसमा आउँदो पुस्तालाई सुनाउन मेरा अनुभव र स्मरण राखिने छ ।’

https://youtube.com/watch?v=117jRU-Sg_4&feature=shares

सर्लाहीमा रासायनिक मल वितरण

सर्लाही । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयले यहाँका किसानलाई रासायनिक मल वितरण गर्न थालेको छ। स्थानीय तहका सिफारिसमा कार्यालयले युरिया, डिएपी र पोटास मल वितरण गर्न थालेको सो कार्यालयका प्रमुख दीपक थापामगरले जानकारी दिए।

उनका अनुसार २० स्थानीय तह रहेको जिल्लाका दुई सय वडाबाट एक–एक सहकारीलाई स्थानीय तहको सिरफारिसका आधारमा मल वितरण थालिएको हो। जिल्लाको लालबन्दीमा १७, हरिवनमा ११, बागमतीमा १२, ईश्वरपुरमा १५, बरहथवामा १८, मलङ्गवामा १२, हरिपुरमा नौ, हरिपूर्वामा नौ, बलरामा ११, गोडैतामा १२, कविलासीमा १०, चक्रघट्टामा नौ, चन्द्रनगरमा सात, धनकौलमा सात, ब्रम्हपुरीमा सात, रामनगरमा सात, विष्णुमा आठ, कौडेनामा सात, पर्सामा छ र बसबरिया गाउँपालिकामा छ थोक बिक्रेता रहेका कार्यालय प्रमुख मगरले जानकारी दिए।

उनका अनुसार जिल्लामा आएको २० हजार चार सय बोरा रासायनिक मल जिल्लाका दुई सयवटै डिलरलाई दामासाहीरूपमा वितरण सुरु गरिएको छ। यसमा हरेक डिलरलाई ९५ बोरा युरिया, पाँच बोरा डिएपी र दुई बोरा पोटास गरी दुई सयवटा डिलरलाई २० हजार चार सय बोरा रासायनिक मल वितरण गरिने कार्यालयले जनाएको छ।

जिल्लामा अहिले गहुँ, मकै, मुसुरो, तरकारीका साथै उखुको ‘सिजन’ रहेको र जिल्ला प्रशासन कार्यालयमा बैठक बसेर सबै थोकबिक्रेतालाई दामासाहीरूपमा मल वितरण सुरु गरिएको प्रजिअ इन्द्रदेव यादवले बताए। सरकारले युरिया प्रतिबोरा रु आठ सय २१, डिएपी प्रतिबोरा रु दुई हजार दुई सय ७१ र पोटास प्रतिबोरा रु एक हजार छ सय ७१ मा डिलरलाई दिने र स्थानीय तहले निर्धारण गरेको दररेटअनुसार थोक विक्रेताले जिल्लाका किसानलाई मल बिक्री गर्ने कार्यालयले जनाएको छ।

कार्यालयले मल बिक्री-वितरणमा पादर्शिता ल्याउन थोकबिक्रेताले किसानलाई बिक्री गरेको मलको तथ्याङ्क, खाता र प्रतिवेदन प्रमाणित गर्न पनि अनुरोध गरेको छ। मल बिक्री-वितरणमा केही समस्या वा गुनासो आएमा अनुगमन समितिले अनुगमन गर्दा डिलरले किसानलाई बिक्री वितरण गरेको मलको बिल, खाता नम्बर र प्रतिवेदन प्रमाणित गर्न राख्न अनुरोध गरेको छ।

जिल्लाका किसानले बाली लगाउने समयमा मल नपाएको गुनासो गर्दै आएका थिए। मल वितरणसँगै अब जिल्लाका किसानलाई यो सिजनमा मल नपाउने समस्या हट्ने जनाइएको छ।