सिटी अस्पताल प्रकरण : अस्पताल प्रशासनसँग सहमति भएपछि आफन्तले बुझे शव – Nagarikabhiyan : National News

सिटी अस्पताल प्रकरण : अस्पताल प्रशासनसँग सहमति भएपछि आफन्तले बुझे शव

विराटनगर । शल्यक्रियाको क्रममा विराटनगरको सिटी अस्पतालमा मृत्यु भएकी जहदा गाउँपालिका–४ की ३९ वर्षीया सन्जु कुमारी मेहेताको शव परिवारले बुझेको छ । अस्पताल प्रशासन र मृतकको परिवारबीच सहमती भएपछि आफन्तले शव बुझेका हुन् । अस्पताल प्रशासनसँग सहमती भएपछि शव बुझेको मृतकका भाई दीलिप कुमार मेहेताले बताए ।

आइतबार किड्नीको पथरीको उपचारका लागि अस्पताल भर्ना भएकी मेहेताको डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै आफन्त आक्रोशित भएका थिए । सिटी अस्पतालका डाक्टर सुनिल कुमार यादवले भने बिरामीको मुटु समस्याका कारणले मृत्यु भएको  बताए । उनले यो घटनामा चिकित्सको कुनै दोष नरहको बताए ।

बिरामीको मृत्यु भएपछि अस्पताल प्रशासनले राति नै एम्बुलेन्समा लास राखेर डिस्चार्ज गर्न खोजेकाले घटना रहस्मय भएको भन्दै आफन्त आक्रोशित भएका थिए । ‘बेहोस हुने सुई लगाउने बित्तिकै भाउजुको मृत्यु भइसकेको जस्तो लाग्छ । तर राति १२ बजे बिरामीलाई बचाउन कोशिस गर्दैछौँ भनेर चिकित्सकले भनेका थिए’, मृतकका आफन्त विभाष सिंहले भने, ‘तर त्यसको केहीबेरमा मृत घोषणा गर्दै लाश ल्याएर एम्बुलेन्समा राखिदिए ।’

आक्रोशित मृतकका आफन्त र अस्पताल प्रशासनबीच सोमबार दिउँसो सहमति भएपछि अवस्था सामान्य बनेको थियो ।