झोराहाटमा साहित्य, फागुन महिनाको कार्यक्रममा पाँच स्रष्टा प्रस्तुत
१४ फाल्गुन २०७९, आईतवार १६:३४
विराटनगर । झोराहाट नाट्य घरले हरेक महिनाको दोस्रो शनिबार आयोजना गर्दै आएको साहित्यिक श्रृङखला ‘झोराहाटमा साहित्य’ मा पाँच जना स्रष्टा प्रस्तुत भएका छन् । नाटक घरको सभा हलमा शनिबार आयोजित कार्यक्रममा इटहरीका अग्रज स्रष्टा कृष्णविनोद लम्साल, धरानका परिक्रमा श्रेष्ठ, इटहरीकी मिश्रा गुरुङ, विराटनगरकी पुष्पा सायरा र दमकका हरि पराजुली प्रस्तुत भएका हुन् । उनीहरूले आ–आफ्ना सिर्जना वाचन गरेका थिए ।
झोराहाट नाट्य समूहले पूर्वसहित विभिन्न क्षेत्रका कविहरूलाई मञ्च उपलब्ध गराउँदै आएको छ । कार्यक्रममा लामो समयदेखि साहित्य र पत्रकारितामा समर्पित इनरुवाका अग्रज स्रष्टा शशीप्रसाद बजगाईँलाई सम्मान गरिएको थियो ।
झोराहाट नाटक घरले साहित्यसँगै नाट्य क्षेत्रमा समेत काम गर्दै आएको छ । मासिक साहित्यिक श्रृङखला सहित बेला–बेला नाटक मञ्चन, नाट्य लेखन र अभिनयको प्रशिक्षण समेत सञ्चालन गर्दै आएको छ । कार्यक्रममा पूर्वका विभिन्न जिल्लाका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया