१२ फाल्गुन २०७९, शुक्रबार १२:११ – Page 3 – Nagarikabhiyan : National News

भोजपुरका पर्यटकीय क्षेत्र ओझेलमा

भोजपुर । भोजपुरमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र भए पनि ती क्षेत्र ओझेलमा पर्ने गरेका छन् । राणाकालीन समयमा डोली पैसा छापिएको टक्सार, बालागुरु षडानन्द अधिकारीले पहिलो संस्कृत पाठशाला स्थापना गरेको ऐतिहासिक क्षेत्र दिङला, क्रान्तियोद्धा योगमाया जलसमाधि लिएको क्षेत्र मझुवाबेँसीलगायत दर्जनौँ ऐतिहासिक तथा पर्यटकीय क्षेत्र भए पनि यी क्षेत्रले देशको ध्यान तान्न सकेका छैनन् ।

यहाँ योगमायाको तपोभूमि गौडेनी, प्रसिद्ध शिद्धकाली मन्दिर, गोल्मेराजा गोल्मेरानी भिर, नागछाँगा, चुलाचुली गुफा, धार्मिक तथा पर्यटकीय क्षेत्र साल्पासिलिचुङ, पौवादुङमा गाउँपालिकामा रहेको दोस्रो हलेँसी भनेर निचिएको त्रिपुरेश्वर महादेव, सन्तानेश्वर महादेवलगायत यहाँ प्रशस्त धार्मिक तीर्थस्थल छन् । यी ठाउँका बारेमा स्थानीयलाई समेत कम जानकारी छ । त्यस्तै जिल्लाकै अग्लो छाँगे झर्ना, सिलिचुङ चुचुरो, टेम्केडाँडा, मैयुङडाँडालगायत स्थान जिल्लामा प्रसिद्ध छन् । यी स्थानबाट पर्यटकीयस्थलको सहज आनन्द लिन सकिन्छ । खासगरी बसाइँसराइ दर बढी भएका कारण यहाँको जनघनत्व कम छ । मानिसको चाप कम भएसँगै यस्ता स्थलका विकासमा प्रत्यक्ष असर पुग्ने स्थानीय जानकारहरूको भनाइ छ ।

ऐतिहासिक हतुवागढी, कोटगढी पनि छन् । हतुवागढी गाउँपालिकामा रहेको हतुवागढी र पौवादुङमा गाउँपालिकामा रहेको कोटगढी दुवै स्थान गुमनाम छन् । कतिपय ऐतिहासिक धरोहरको स्थानीयस्तरबाट संरक्षण गरिए पनि देश–विदेशमा चिनाउन नसक्दा यहाँ बाह्य पर्यटकको आवागमन कमै हुने गरेको छ । मानिसको बसोबास कम भएसँगै पर्यटकीय तथा धार्मिक क्षेत्रमा मानिसको आवगमन घटेको देखिन्छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क जिल्लाको जनसंख्या ऋणात्मक रहेको छ । विसं २०६८ को जनगणनामा जिल्लाको कुल जनसंख्या एक लाख ८२ हजार चार सय ५९ थियो । विसं २०७८ को राष्ट्रिय जनगणनामा यहाँको जनसंख्या घटेर एक लाख ५८ हजार नौ सय ९१ भएको छ । दश वर्षमा यहाँको जनसंख्या २३ हजार चार सय ६८ ले घटेको छ । जिल्लाको जनसंख्या वृद्धिदर वार्षिक एक दशमलव ३२ ले ऋणात्मक देखिएको छ ।

कुनै पनि ठाउँको पर्यटकीयसँगै अन्य क्षेत्रको विकासमा जनसंख्याले भूमिका खेल्ने गर्दछ । तर यहाँ भने जनसङ्ख्याले विकासमा असर पुर्‍याएको देखिन्छ । त्यससँगै सडक, स्वास्थ्य, शिक्षा, रोजगारी र भौतिक पूर्वाधार लगायतले पनि विकासको सूचक निर्धारण गर्दछ । यहाँ हिउँद याममा यातायात सञ्चालन भए पनि बर्खायाममा मानिसलाई घुमफिरका लागि यातायातको सहज पहुँच छैन । यसका लागि कतिपय स्थानमा सडकको विकास गर्न आवश्यक छ भने कतिपय ठाउँका पर्यटकीय क्षेत्रमा पुग्न पैदलमार्गलाई व्यवस्थित बनाउनुपर्ने स्थानीयको माग छ ।

प्रचार अभाव तथा आवश्यक पूर्वाधार विकास अभावमा यहाँका पयर्टकीय क्षेत्र भएको तुलनामा पर्यटक नआउने गरेको जिल्लाका स्थानीय अजय राईको भनाइ छ । ‘यहाँ दर्जनौँ पर्यटकीय तथा धार्मिक क्षेत्र छन्’, उनले भने, ‘पर्यटकीय क्षेत्रको तुलनामा घुम्न आउने मानिसको संख्या ज्यादै न्यून छ । काम विशेषले केही बाहिरबाट आए पनि यहाँको पर्यटकीय क्षेत्रलाई नै हेर्नका लागि भनेर आउने पर्यटकको संख्या कम छ । हामीले प्रचार–प्रसारमा ध्यान दिन आवश्यक छ ।’

यहाँको मुन्दुम पदमार्गको पछिल्लो समयमा आएर परिचित बनेपछि आशा गरेअनुसारको अनुपातमा पर्यटक आउन नसकेको राईको भनाइ छ । अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराइैका समथर फाँटका मनोरम दृश्यावलोकन गर्दै यात्रा गर्न पाइने पदमार्ग भए पनि देशमा देखिएको कोभिडका कारण बाह्य पर्यटक आउन समस्या भएको राईको बुझाइ छ ।

उकालो–ओरालो हुँदै फैलिएको यो पदमार्गको यात्राबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक–३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला हेर्न सकिन्छ । त्यस्तै पदमार्गको आसपासमा निर्माण भएका किराँत राईहरूको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूला–ठूला घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीचोकलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित बनाउने गर्दछ ।

यहाँका किराँत राई, शेर्पा, तामाङलगायत जातजातिको पहिचान झल्कने परिकार, गोठवालाले उत्पादन गर्ने अग्र्यानिक खानेकुरा, विभिन्न किसिमका वन–वनस्पती, जडीबुटीलगायत स्वाद लिन सकिन्छ । नेपालका सबै हिमाललाई एकै ठाउँबाट हेर्न सकिने स्थानका रूपमा यसले चिनारी बनाएको छ । तर पर्यटकलाई यस्ता ठाउँको विषयमा कमै मात्रमा जानकारी हुँदा पनि आवगमन कम हुने स्थानीय जानकारहरूको भनाइ छ ।रासस

कानुन व्यवसायी महिलाको राष्ट्रिय सम्मेलन वीरगन्जमा

वीरगन्ज । कानुन व्यवसायी महिलाको ३० औँ राष्ट्रिय सम्मेलन आजदेखि पर्साको वीरगन्जमा सुरु हुँदैछ । त्यस अवसरमा आज बिहान यहाँ प्रभातफेरी गरिएको छ । सम्मेलनका अवसरमा वीरगञ्जको घण्टाघरबाट सम्मेलनस्थल टाउन हलसम्म प्रभातफेरी गरिएको छ । सम्मेलनको कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उद्घाटन गर्ने कार्यक्रम छ ।

शनिबारदेखि केन्द्रीय कार्यकारिणी परिषद्को ४८ औँ बैठक संयुक्तरूपमा हुने तय भएको छ । नेपाल कानुनी व्यवसायी परिषद्को तथ्याङ्कानुसार नेपालभर करिब तीन हजार कानुन व्यवसायी महिला छन् भने सम्मेलनमा तीन सयभन्दा बढी कानुनी व्यवसायी महिला सहभागी भएको बारका महासचिव अञ्जिता खनालले जानकारी दिए ।

बारको कार्यकारिणी बैठकको उद्घाटन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धु्रवबहादुर प्रधानले उद्घाटन गर्ने कार्यक्रम छ । ‘पेशागत उत्कृष्टता हाम्रो प्रतिबद्धता’ नाराका साथ आयोजना गर्न गरिएको उक्त सम्मेलनमा बारले ‘वर्तमान अवस्थामा बारको भूमिका भावी कार्ययोजनासहितको मार्गचित्र’बारे छलफल गर्नेछ ।

त्यस्तै सम्मेलनले समग्र महिला अधिकारको अवस्था र स्वतन्त्र न्यायपालिकाका लागि कानुन व्यवसायी महिलाको भूमिका, सङ्घीय संरचनमा महिला सहभागिता, पेशागत चुनौती, हिंसापीडितको न्यायमा पहुँचको अवस्था र निःशुल्क सहायतालगायत विषयमा विभिन्न विषयमा अवधारणापत्र र कार्ययोजनामाथि बृहत् छलफल गर्ने भएको छ ।

कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

रामपुर । हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहेका छन्, युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उनलाई व्यस्तताको अनुभूति छैन ।

पछिल्लो समय धेरैले गाउँ छाड्दै गरेको अवस्थामा थापाले भने गाउँमै व्यवसाय गरेर आयस्रोत बृद्धि गर्ने मनसायले स्थानीय जातका कुखुरा र कालिजपालन व्यावसाय थालेका छन् । कालिजपालन व्यवसाय यो क्षेत्रका लागि नयाँ हो । भारतीय सेनामा करिब २४ वर्ष काम गरेका थापाले सन् २०२१ मा अवकाश लिएपछि आफ्नै पुर्ख्यौली थलो रामपुर नगरपालिका–७ गोलैचेमा व्यवसाय थालेका हुन् । उनले स्थानीय जातका कुखुरा, कालिज, लौकाट जातका पशुपक्षीलाई व्यवसायीकरण गर्ने गरी सुरु गरेको बताए । थापाले करिब नौ महिनाअघि उक्त व्यवसायमा हात हालेका हुन् ।

गाउँको भिरालो जमिनमा व्यवस्थित तारजालीले चारैतिर बारबन्देज गरेर दीर्घकालीनरूपमा सञ्चालन गर्ने अठोटका साथ उनी हिजोआज व्यवसायमा व्यस्त छन् । स्थानीय जातका पाँच सय कुखुरा र एक सय ७५ कालिजबाट व्यवसाय सुरु गरेका थापाले करिब नौ महिनामा राम्रै आम्दानी गरेका छन् । हाल स्थानीय जातको कुखुरा प्रतिकिलो भाले रु आठ सय, पोथी रु सात सय र कालिज एउटाको रु दुई हजार पाँच सयमा बिक्री भइरहेको छ । बजार भाउ राम्रो, स्थानीयस्तरमा पनि धेरैले स्थानीय जातको कुखुरा, कालिज खोज्ने भएकाले मागअनुसार पुर्याउन नसकिएको उनको भनाइ छ ।

थापाले कालिजका लागि भिरालो रुख, बिरुवासहितको चारैतिर तारजालीले घेरिएको खुला संरचना तयार पारेका छन् । यसले चरनका लागि, खेल्न, डुल्न धेरै सजिलो परेपछि छिटो बिक्री गर्न लायकको हुने उनी बताउँछन् । “स्थानीय कुखुरा, कालिज झट्ट नपाइने हुँदा माग बढ्दो छ, ग्राहकको मागलाई ध्यानमा राखेर व्यवसायलाई बढाउने सोच बनाएको छु”, उनले भने, “कालिज, स्थानीय कुखुरामा ग्राहकको सौख बढी रहेकाले ठूलो सङ्ख्यामा पालेर यस क्षेत्रको बजार धान्ने लक्ष्य लिएर व्यवसायमा लागेको छु ।”

महँगो भए पनि हिजोआज कालिजमा धेरैको आकर्षण बढ्दै गएकाले बुटवलबाट चल्ला ल्याएर फार्ममा हुर्काएर बिक्री गर्दा राम्रो कमाइ भएको थापा बताउँछन् । उनले एउटा कालिजको चल्ला रु तीन सय ८० मा खरिद गरेर ल्याएका हुन् । घरमै लगेर बिक्री गर्ने सुविधाले उनलाई ग्राहकको माग धान्न मुश्किल भएको छ । थापाले रामपुर क्षेत्रका ग्राहकको मागलाई पुर्याउने गरी तीन हजार पाँच सय कालिज पाल्ने तयारीसहित फार्म व्यवस्थित गर्दै छन् ।

“स्थानीय उत्पादनमा फरक स्वाद पाइने र स्वास्थ्यका लागि राम्रो हुने भएकाले हिजोआज स्थानीय कुखुरा, कालिज खरिद गर्ने धेरै छन्, व्यावसायिक फार्म कम छन्, गाउँको जग्गाको सदुपयोग, व्यवसायबाट आम्दानी हुने, समय बिताउने माध्यम गज्जब लागिरहेछ”, उनले भने ।

यस व्यवसायसँगै सौखका रूपमा खरायो, लौकाट पनि पालेका छन् । फार्ममा हाल नौवटा ठूला र १० साना खरायो र छ वटा बाख्रा छन् । समथर भागदेखि माथिल्लो बस्ती हावापानी उपयुक्त हुने भएकाले गाउँमै व्यावसायिकरूपमा कुखुरा र कालिजपालनमा लागेको थापाले बताए । कुखुराको तुलनामा रोग कम लाग्ने र दाना कम चाहिने भएकाले कालिजबाट धेरै कमाउन सकिने उनले अनुभव बटुलेको बताए । अब कालिजलाई थप गरेर यस क्षेत्रलाई कालिज हबका रूपमा विस्तार गर्ने योजना छ ।

पन्ध्र दिनको चल्ला हुर्काएपछि चल्ला हुर्काउन कठिनाइ नपर्ने उनको भनाइ छ । यस व्यवसायमा करिब रु आठ लाखको लगानी परेको छ । यस क्षेत्रमा नयाँ व्यवसाय भएकाले अवलोकनमा जाने, खरिद गर्न जानेको चहलपहल छ । कुखुराको अण्डाबाट चल्ला निस्कन १८ देखि २२ दिन, कालिजको २५ देखि २६ दिनको समय लाग्दछ । चल्ला निस्केको करिब छदेखि सात महिनामा बेच्न लायकको हुने हुँदा पनि राम्रोसँग पालनपोषण गरे छिटो फाइदा दिन सकिने व्यवसायी थापाले बताए ।

वर्षौदेखि बाउबाजेले भोगचलन गर्दै आएका गाउँका पाखापखेरा छाडेर शहर पस्ने क्रम बढ्दो रहेको अवस्थामा थापाले गाउँमै बसेर गरेको यस व्यवसाय सबैका लागि उदाहरणीय बनेको समाजसेवी सन्दीप राना बताउँछन् । उनी भन्छन्, “युवा विदेश जाने, घरपरिवारका सदस्य सहरबजार आसपासमा गाउँ छाडेर कोठा भाडामा बस्ने चलन बढ्दो छ, यसले गाउँ पछिल्लो समय रित्तिँदै गएको छ, गाउँको रमणीय वातावरणमा बसेर पशुपक्षीपालन, तरकारी खेती, होमस्टे ९घरबास० सञ्चालन गरेर महिनामा लाखौँ कमाउन सक्ने प्रशस्त आधार छन् ।”

रानाले गाउँका जग्गा सदुपयोग गरी केही नयाँ उद्यम, व्यवसाय गरेर आयआर्जन बढाउन युवालाई उत्प्रेरित गर्दै आएका छन् । विकासको नयाँ योजना बनाएर काम गरियो भने गाउँ छाडेर अन्यत्र बसाइँ गएका स्थानीय पुनः आफ्नै पुर्ख्यौली थलोमा फर्कने राना बताउँछन् ।

आज पनि सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । पछिल्लो समय निरन्तर घटिरहेको सुनचाँदीको मूल्यमा आज पनि गिरावट आएको छ । महिनाको सुरुवातमा तोलामा १ लाख ४ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता निरन्तर घटिरहेको छ । यसैक्रममा आज पनि सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा १ लाख २ हजार ४०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ९०० रुपैयाँ छ । हिजो बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।

महिनाको १२ दिनको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा १६ सय रुपैयाँको गिरावट आइसकेको छ । यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर १२ सय ७५ रुपैयाँ कायम छ ।

हेटौँडा सिमेन्ट उद्योगले पुन: उत्पादन थाल्यो

काठमाडौं ।  कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुन: उत्पादन थालेको छ। कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो। कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ।

हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ।

उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार छ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने जानकारी दिए। बाँकी कोइला आउने क्रममा रहेको छ। कोइला आपूर्ति भारत, भुटान, इण्डोनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताए।

एकैपल्ट ६१ जना सहसचिवको सरुवा, को कहाँ ?

काठमाडौं । नेपाल सरकारले ६१ जना सहसचिवको सरुवा गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले संघ तथा प्रदेशका विभिन्न मन्त्रालय मातहतमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले ६१ सहसचिवको सरुवा गरिएको पुष्टि गरेका छन् ।

सरुवाको सूची संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको हो । सरुवा हुनेमा सबैभन्दा बढी गृह मन्त्रालयका रहेका छन् । गृह मन्त्रालयमा रहेका १० जनालाई सरुवा गरिएको छ भने अन्य १० लाई गृहमै ल्याइएको छ ।

मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, र प्रदेश मन्त्रालयका सहसचिवहरूको पनि सरुवा गरिएको छ । हालै बढुवा भएका १५ जना सहसचिवलाई प्रदेश मन्त्रालयमा सरुवा गरिएको छ ।

राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनका विषयमा निर्णय गर्न आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठकमा राष्ट्रपति पदमा उम्मेदवार छनोट गर्ने तथा निर्वाचन प्रक्रियामा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गरिने नेता राजाराम श्रेष्ठले जानकारी दिए।

पार्टीले लिएका मुद्दा स्थापित गर्न राष्ट्रपति निर्वाचन प्रमुख चासो र प्राथमिकताको विषय नभएकाले तटस्थ हुनुपर्ने केही नेताले माग गरेपछि सो विषयमा विवाद र मतभेद बढेको छ। बैठक दिउँसो १ बजे बोलाइएको उनले बताए।

निर्वाचनका सन्दर्भमा पछिल्लोपटक विकास भएका राजनीतिक घटनाक्रम, समसामयिकलगायत विषयमा छलफल केन्द्रित हुने बैठकमा देशभर पार्टीको अवस्था, सङ्गठन सुदृढीकरणका योजना, विभिन्न प्रदेशका बैठकबाट आएका सुझावबारे पनि जानकारी गराइने छ। निर्वाचन आयोगले यही फागुन १३ गते राष्ट्रपति पदको मनोनयन गर्न समय तय गरेको छ।

दुबई जान पाउनुपर्ने मागसहित सन्दीपले दिएको निवेदनमा आजलाई पेसी

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानले खेल्नका लागि दुबई जान पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा दायर गरेको निवेदनमाथि सुनुवाइका लागि आज (शुक्रबार)लाई पेसी तोकिएको छ। संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईमा हुने क्रिकेट प्रतियोगितामा खेल्नका लागि जान पाउनुपर्ने मागसहित बिहीबार बुधबार लामिछानेका तर्फबाट अधिवक्ता सरोज घिमिरेले निवेदन दिएका थिए।

नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म युएई र पपुवान्युगिनीसँग शृङ्खला खेल्दैछ। सोही खेलका लागि दुबई जानुपर्ने भन्दै सन्दीपको तर्फबाट अधिवक्ता घिमिरेले निवेदन दिएका हुन्। नाबालिग बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशपछि थुनामा बसेका लामिछाने उच्च अदालत पाटनले हालै जारी गरेको आदेशपछि २० लाख धरौटीमा रिहा भएका थिए।

अदालतले सन्दीपलाई काठमाडौंभन्दा बाहिर जान नपाउने सर्त राख्दै रिहा गरेको थियो। उक्त सर्तअनुसार उनी खेल्नका लागि दुबई जान पाउने छैनन्। त्यही सर्त खारेज गर्दै खेल्नका लागि दुबई जान पाउनुपर्ने माग राख्दै निवेदन दिइएको हो।

विराटनगरमा अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता शुरु

विराटनगर । विराटनगरमा आज बिहिबारदेखि अन्तर स्कुल हव लिग क्रिकेट प्रतियोगिता हुरु भएको छ । नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगरमा विराटनगर–६ केशलिया पुल नजिक रहेको एमविजे क्रिकेट मैदानमा प्रतियोगिता शुरु भएको हो ।

विहिबार भएको खेलमा सत्यनारायण माध्यमिक विद्यालय र सरस्वती माध्यमिक विद्यालय विजयी भएका छन् । पहिलो खेलमा सत्यनारायण स्कुलले बुढानिलकण्ठ स्कूललाई ७ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बुढानिलकण्ठले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सवै विकेट गुमाई ५९ रनमा सिमित भयो ।

जसमा अमित साहले सर्वाधिक १० रनको योगदान दिए । सत्यनारायणका म्यान अफ द म्याच आकाश यादव र विकाश कामतले ३–३ विकेट लिए । ६० रनको सामान्य लक्ष्य पाएको सत्यनाराणले ९ दशमलव ३ बलमा ३ विकेट गुमाउँदै सो लक्ष्य पार गरेको थियो । जस्मा महमद हरुनले १६ लरनको योगदान दिए । बुढानिलकण्ठका कादिल यादवले २ विकेट लिए ।

बिहिबारै भएको दोस्रो खेलमा सरस्वती माध्यमिक विद्यालयले पाखरिया माध्यमिक विद्यालयलाई ७५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेका सरस्वतीले निर्धारित २५ ओभरमा ४ विकेट गुमाई १ सय ५१ रनको विशाल योगफ खडा गरेको थियो ।

जसमा राकेश खडकाले ३७ रन बनाउँदा साहिद शेखले ३२ रन र रामनारायणले ३१ रन बनाए । पोखरियाका दिपराज चौधरी र सफर पोखरेलले १–१ विकेट लिए ।

१ सय ५२ रनको विशाल लक्ष्य पछ्याएको पोखरियाले १६ ओभरमा सवै विकेट गुमाई ७६ रन मात्र बनायो । जसमा राहुल महतोले २९ रन बनाए । सरस्वतीका रोहन मण्डलले ४ विकेट लिँदा राकेश खडकाले ३ विकेट लिए । खेलको म्यान अफ द म्इाच सरस्वतीमा अलराउण्डर खेलाडि राकेश खडका घोषित भए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगितामा विराटनगरमा ८ वटा निजि तथा सामुदायिक स्कूल सहभागि रहेको नेपाल क्रिकेट फाउन्डेसनका अध्यक्ष अविशेक श्रेष्ठले जानकारी दिए ।

प्रतियोगितामा विराटनगरको बाल्मीकि, बुढानिकलन्ठ, बिनायक, सरस्वती, सत्यनारायण, पोखरीया, मनकामना र राइजिङ नेपाल स्कुल सहभागि छन् । प्रतियोगिता फागुन १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले ट्रफि र प्रमाणपत्र पाउँनेछन् । बेस्ट ब्याटर, बेस्ट बलर, म्यान अफ द टुर्नामेन्ट, बेस्ट किपर र बेस्ट फिल्डरले हुने खेलाडीले विराटनगर क्रिकेट क्लब एण्ड एकाडेमीको तर्फबाट छात्रवृत्ति पाउँनेछन् ।

प्रतियोगितामा भाग लिने टिमले दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ रहेको छ भने प्रतियोगिता सम्पन्न गर्न करिब २ लाख खर्च हुने अनुमान गरिएको छ । नेपाल क्रिकेट फाउन्डेसनले यो प्रतियोगिता सकिएलगतै मार्च ३ तारिखबाट महिला क्रिकेट प्रतियोगिता विराटनगरमा गर्दैछ ।

सामुदायिक विद्यालयको मात्र महिला खेलाडीहरूले प्रतियोगितामा भाग लिन पाउने फाउण्डेसनको अध्यक्ष श्रेष्ठले बताए । क्रिकेट खेलको ग्रासउटबाट विकास गर्ने उद्देश्यले स्कुल तहबाट यस्तो प्रतियोगितामा जोड दिएको उनले बताए ।

दक्षिण कोरियाका प्राध्यापकको पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण

विराटनगर । चाङगाव विश्वविद्यालय दक्षिण कोरियाका प्राध्यापक डाक्टर डाइ यङ जङको नेतृत्वमा आएको प्राध्यापकहरूको टोलीले पूर्वाञ्चल विश्वविद्यालयको निरिक्षण गरेको छ ।

चाङगाव विश्वविद्यालयको सहयोगमा पूर्वाञ्चल विश्वविद्यालयको शिक्षा शास्त्र तर्फ बी. एड मा सञ्चालन भएको ‘विशेष आवश्यकता शिक्षा’ को अनुगमत गर्न चार सदस्यीय प्राध्यापकहरूको टोलीले विश्वविद्यालयको भ्रमण गरेको हो ।

टोलीले विशेष आबश्यकता शिक्षामा अध्ययनरत विद्यार्थीहरूसँग छलफल र अन्तरक्रिया समेत गरेको छ । छलफलको क्रममा विशेष आबश्यकता शिक्षाको आबश्यकता, अवसर र चुनौतीका विषयमा विद्यार्थीहरूले जिज्ञासा राखेका थिए ।

कोरियाली प्राध्यापकहरूको टोलीले भने अध्ययन र सिकाई प्रक्रियाका विषयमा विद्यार्थीहरूसँग प्रश्न गरेका थिए । अपाङ्गता र विशेष क्षमता भएका मानिसहरूका क्षेत्रमा यो शिक्षा प्रभावकारी हुने भन्दै कोरियाली प्राध्यापकहरूले कोरियामा यसको धेरै माग रहेको जानकारी गराए ।

कोरियाको निजी, सार्वजनिक र सरकारी क्षेत्रमा यो शिक्षा प्राप्त गरेका विद्यार्थीले रोजगारी पाउने गरेको प्राध्यापकहरूको भनाई छ । कला, शिक्षा तथा कानून शंकायका डिन प्रा. डा. अनिलकुमार पोखरेलको नेतृत्वमा विश्वविद्यालयका योजना शाखा प्रमुख डा. कोमल दुलाल, जनता आदर्श बहुमुखी क्याम्पसका प्रमुख महेशप्रसाद निरौला लगायतको टोलीसँग कोरियाली प्राध्यापकहरूको टोलीले छलफल समेत गरेको छ ।

विशेष आबश्यकता शिक्षालाई प्रभावकारी बनाउने, विशेष आबश्यकता शिक्षामा स्नातक तह उतिर्ण उत्कृष्ट विद्यार्थीलाई चात्रवृत्तिमा कोरियामा स्नातकोत्तर तहको अध्ययनको अबसर दिने, अनुभव र शिक्षा आदान प्रदानका लागि पूर्वाञ्चल विश्वविद्यालयका प्राध्यापकहरूलाई चाङगाव विश्वविद्यालयमा अध्ययनको अवसर प्रदान गर्ने विषयमा छलफल भएको र यसमा कोरियाली प्राध्यापकहरूको टोली सकारात्मक रहेको क्याम्पस प्रमुख निरौलाले जानकारी दिए ।

पूर्वाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस जनता आदर्श बहुमुखी क्याम्पस पुष्पलाल चोक विराटनगरमा गत वर्षदेखि शिक्षा शंकाय तर्फ स्नातक तहमा विशेष आवश्यकता शिक्षाको अध्यापन हुँदै आएको छ ।

हात्तीपाइविरुद्धको औषधि सेवन गर्न महानगवासीलाई मेयर कोइरालाको आह्वान

विराटनगर । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न सम्पूर्ण महानगरवासीलाई मेयर नागेश कोइरालाले आह्वान गरेका छन् । विराटनगरबाट हात्तीपाइले रोग निवारण गर्न सबैले औषधि सेवन गर्नुपर्नेमा जोड दिँदै उनले औषधि सेवन गर्न आह्वान गरेका हुन् ।

महानगर परिसरमा संचालित स्वास्थ्य केन्द्रमा हात्तीपाइले रोगविरुद्धको औषधि सेवनपछि मेयर कोइरालाले सरकारले संचालन गरेको अभियानलाई साथ दिएर विराटनगरबाट मात्रै होइन नेपालबाट हात्तीपाइले रोग निवारण गर्न जरुरी रहेको बताए ।

उनले खान मिल्ने सबै उमेर समूहका व्यक्तिहरूलाई औषधि सेवन गर्न अपिल समेत गरेका छन् । औषधि सेवनले मात्रै हात्तीपाइले रोग निवारण गर्न सकिने बताउँदै मेयर कोइरालाले सरकारको अभियानलाई साथ दिन सबैलाई आग्रह गरे ।

सो अवसरमा मेयर कोइरालासहित उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, निजी अस्पतालहरूको छाता संगठन (अफिन)का अध्यक्ष डा. शंकर अधिकारी, कोशी अस्पतालका मेसु डा. रविनराज सिंह, वडाध्यक्षहरू, कार्यपालिका सदस्यका साथै कर्मचारीहरूले समेत औषधि सेवन गरे ।

महानगरका १९ वटै वडामा स्वाथ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरूले औषधि खुवाउनेछन् । औषधि खान मिल्ने महानगरको योग्य जनसंख्या ८० प्रतिशतलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको महानगरको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

नेपाल सरकारले बिहीबारदेखि हात्तीपाइले रोग देखिएका १५ जिल्लामा सरकारले औषधि सेवन कार्यक्रम सञ्चालन गरेको छ । फागुन २५ गतेसम्म झापा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन गरिनेछ ।

यही २५ गतेसम्ममा ८४ लाख ९८ हजार ५ सय १ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । सरकारले सन् २००३ देखि ६४ जिल्लामा हात्तीपाइलेविरुद्धको आमऔषधि अभियान सञ्चालन गरेको थियो ।

तीमध्ये ४८ जिल्लामा बिरामी फेला नपरेकाले तिनमा औषधि खुवाउन बन्द गरिसकेको छ । नेपालमा जनस्वास्थ्य समस्याका रूपमा रहेको हात्तीपाइले रोग सरकारले सन् २०२० मै निवारण गर्ने लक्ष्य लिएको थियो । तर नसकेपछि सन् २०३० सम्मको समय थपेको छ ।

महेन्द्र मोरङका सात प्राध्यापकलाई सम्मान

विराटनगर । विराटनगर स्थित महेन्द्र मोरङ क्याम्पस व्यवस्थापन संकायका सात जना प्राध्यापक सम्मानित भएका छन् । डा. शिवचन्द्र चौधरी, मोहनकुमार  श्रेष्ठ, रामकुमार थापा,  डा. मोहनकुमार सुवेदी, वेदप्रसाद संग्रौला, डा. जनकनाथ सापकोटा र  जयकुमार महतो सम्मानित भएका हुन् ।

दुई दशक बढी समयदेखि क्याम्पसमा प्राध्यापन गरिरहेका उनीहरूलाई विषयगत विभागको प्रमुखमा नियुक्त भएकोमा बिहीबार स्वागत गर्दै सम्मान गरिएको हो । सम्मानित डा. चौधरी व्यवस्थापन विज्ञान, श्रेष्ठ व्यवस्थापन, रामकुमार थापा बजारशास्त्र,  डा. सुवेदी वित्तशास्त्र, संग्रौला अर्थशास्त्र र डा. सापकोटा लेखाशास्त्रका अध्यक्ष हुन् भने महतो एमपीए अनुसन्धान समितिका संयोजक हुन् ।

उनीहरूलाई क्याम्पसका सहायक प्रमुखद्वय शिवनारायण चौधरी र डिल्ली पोखरेल, पूर्व सह–परीक्षा नियन्त्रक डा. उद्धव पोखरेलले सम्मानित गरेका हुन् । सो अवसरमा बोल्दै सहायक प्रमुख पोखरेलले ज्येष्ठता, क्षमतालगायतको आधारमा नियुक्ति गरिएका नयाँ प्रमुखहरूले प्राज्ञिक उन्नयनमा योगदान दिनेमा आफू पूर्णविश्वस्त रहेको बताए ।

सहायक प्रमुख चौधरीले व्यवस्थापन अध्ययनका लागि विद्यार्थीको चाप अनुसार कक्षा कोठाको अभाव रहेको बताउँदै नयाँ भवन बनाउनु पर्नेमा जोड दिए । सो अवसरमा पूर्व सह–परीक्षा नियन्त्रकद्वय डा. उद्धव पोखरेल र नन्द न्यौपाने, त्रिवि आंशिक प्राध्यापक संघ क्याम्पस एकाई अध्यक्ष धीरज आचार्य, सह–प्राध्यापक अर्जुन दाहाल, नन्दकिशोर अग्रवाल, दिनेश श्रेष्ठ, बद्री पौडेल र शाखा अधिकृत  विनोद कामतले  शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा सम्मानित हुनेका तर्फबाट मोहनकुमार श्रेष्ठले नवनियुक्त विभागीय प्रमुखले जिम्मेवारीपूर्वक काम गर्न कुनै कसर बाँकी नराख्ने बताए । स्वतन्त्र प्राध्यापक समूहबाट आयोजित सो कार्यक्रम डा जनकनाथ सापकोटाको संयोजकत्वमा सम्पन्न भएको थियो ।

बारामा सार्वजनिक स्थानमा डिजे बजाउन प्रतिबन्ध

बारा । जिल्ला प्रहरी कार्यालय बाराले बिहीबारदेखि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने भएको छ । उत्सव र कार्यक्रमका नाममा चर्को आवाजमा डिजे बजाउने क्रम बढेपछि प्रहरीले नियन्त्रण गर्न लागेको हो ।

जनस्तरबाट गुनासो आएपछि सार्वजनिक स्थानमा डिजे बजाउन रोक लगाउने गरी निर्देशन दिइएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

‘जिल्ला प्रहरी कार्यालय मातहतका सबै कार्यालय र युनिटलाई डिजे नियन्त्रणमा लिन बुधवार साँझ निर्देशन दिएको छु’ प्रहरी उपरीक्षक बोगटीले भने ‘बिहिवारदेखि डिजे बजाएको भेटिएमा प्रहरीले नियन्त्रणमा लिनेछ ।’

प्रहरी उपरीक्षक बोगटीले सार्वजनिक स्थानमा डिजे बजाएको पाइएमा प्रहरीलाई जानकारी गराउन अनुरोध गरेका छन् । डिजेका कारण समाजमा पर्ने असरप्रति सचेत हुन आग्रह गर्दै प्रहरी उपरीक्षक बोगटीले त्यसको प्रयोग नगर्न समेत अपिल गरेका छन् ।

गाडीमा ठुला स्पिकर राखेर चर्को आवाजमा गित बजाउने क्रम बढ्दो अवस्थामा रहेपनि नियन्त्रणका लागि सम्बन्धित निकायले चासो नदेखाएको भन्दै चौतर्फी आलोचना हुँदै आएको थियो ।

युवाहरूमाथि सिंगो राष्ट्रको भरोसा छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवाहमाथि सिंगो राष्ट्रको आशा र भरोसा रहेको बताएका छन् ।

बिहीबार बिहान काठमाडौंको टुंडिखेलमा आयोजित राष्ट्रिय सेवा दलद्वारा सञ्चालित १७ औँ व्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कवाजलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने,  ‘तपाईहरूमाथि तपाईका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।’

यस्तो छ दीक्षान्त समारोहमा प्रधानमन्त्रीले गर्नुभएको सम्बोधनको पूर्णपाठ :

यस दीक्षान्त कवाजमा राष्ट्रिय सेवा दलको प्रमुख संरक्षकको हैसियतले सहभागी हुन पाउँदा हर्षित एवं गौरवान्वित महसुस गरेको छु। युवाहरूको व्यक्तित्व विकास गर्ने उद्देश्यले वि.सं. २०२२ सालबाट “अनुशासन नै राष्ट्र सेवाको मूल जग हो” भन्ने मान्यतासहित स्थापना भएको राष्ट्रिय सेवा दलको तालिममा छनौट भई तालिम सफलतापूर्वक सम्पन्न गरी दीक्षित हुनुहुने क्याडेट छात्र÷छात्राहरूलाई हार्दिक बधाइ ज्ञापन गर्दछु।
देशलाई “जननी जन्मभूमिश्च स्वर्गादपी गरीयसी” युक्तिलाई आत्मसाथ गर्दै चन्द्र र सूर्यअंकित झण्डाप्रति सदैव अनुशासित भई देश र जनताको सेवा गर्ने युवाहरूको खाँचो पर्दछ। नेपाल सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपद्को समयमा परिचालन गर्न सकिने तालिमप्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ।

तपाईहरूमाथि तपाईका अभिभावकको मात्र आशा र सपना निहित नरही प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ। त्यसैले सर्वोत्कृष्ट समाजको निर्माणका लागि यसै युवा अवस्थामा तपाईहरूले आफ्नो मनोवल उच्च बनाउनुका साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र सोअनुरूपको कार्यभार पूरा गर्न सवल नागरिक बन्ने कार्य पनि उत्तिकै महत्वपूर्ण छ।

नैतिकवान्, क्षमतावान् र देशभक्त युवाहरू तयार गरी राष्ट्रको आवश्यकता सम्बोधन गर्ने उद्देश्यसहित राष्ट्रिय सेवा दल स्थापना भएको हो। राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईहरू निःस्वार्थ सेवाभावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रूपमा महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुनेछ र यस तालिमको दौरानमा हासिल गरेका ज्ञानले तपाईहरूलाई लक्ष्य प्राप्तिका लागि अभिप्रेरित गर्ने विश्वास लिएको छु।
यस तालिममा तपाईहरूलाई सैनिक पोसाकमा विभिन्न सैनिक कला तथा समसामयिक विषयमा ज्ञान मात्र दिइँदैन विभिन्न प्राकृतिक भू–बनोट, संस्कृति, परम्परा र संस्कारबाट आई राष्ट्रिय सेवा दलको एउटै छानामुनि बसी एक–अर्काको भावना एवं संस्कृति, परम्परा, संस्कार र इतिहास बुझ्ने मौका पनि मिल्दछ। यसरी देशभित्र विद्यमान विविध भाषा, संस्कृति, भेषभुषा एवं विशेषताहरूको जानकारीले तपाईहरूलाई आफ्नो देशप्रतिको गौरव बढाउनुका साथै राष्ट्रि«य एकताको भावनामा थप प्रतिवद्धताको विकास हुने विश्वास लिएको छु।

आजको अवस्थामा अनुशासित र राष्ट्रप्रति समर्पित युवा हरेक राष्ट्रको पहिलो आवश्यकता हो। यस कार्यक्रमको महत्व पनि राष्ट्रको उल्लेखित कार्यभार पूरा गर्ने जिम्मेवारीसँग जोडिएको छ। यस अवसरमा युवाहरूको शारीरिक, मानसिक, बौद्धिक विकासका निम्ति नेपाल सरकार निरन्तर क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्दछु।

तपाईहरूले प्रदर्शन गरेको जोसिलो कवाज, कला र प्रस्तुतिहरूको अवलोकनले मलाई विगतमा मेलै राष्ट्रिय सेवा दल तालिम गर्दाको सुखद क्षणहरू स्मरण भइरहेको छ। हाल म प्रधानमन्त्रीको रूपमा कार्यरत रहँदा राष्ट्रिय दलको लक्ष्यअनुरूप अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाहरूप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउँदै यस तालिमबाट प्राप्त हुने ज्ञानले देशप्रति थप जिम्मेवारी र कर्तव्यबोधको उर्जा प्राप्त भएको छ। 

राष्ट्रिय आवश्यकताको अनुपातमा राष्ट्रिय दलको तालिमको मात्रात्मक उपस्थिति पर्याप्त देखिँदैन। हाल विद्यमान ७७०० को संख्या बढाएर आगामी दिनमा तालिममा सहभागीको संख्या बिस्तार गर्नुपर्ने आवश्यकताप्रति नेपाल सरकार गम्भीर छ। आगामी दिनमा संख्या वृद्धि गरी तालिमको गुणस्तरमा समेत थप प्रभावकारिता ल्याइने प्रतिवद्धता व्यक्त गर्दछु।

युवाहरूको नेतृत्व विकासमा अग्रणी भूमिका खेल्ने राष्ट्रिय सेवा दल परिवार तथा नेपाली सेनालाई हृदयदेखि आभार व्यक्त गर्दछु। साथै तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाली सेना, स्थानीय सरकार, विद्यार्थीहरू, तालिममा सहभागी गराउनहुने विद्यालय परिवार तथा आफ्ना छोरारछोरीहरूलाई यस तालिममा सहभागी गराउनुहुने आदरणीय अभिभावकज्यूहरूमा नेपाल सरकारको तर्फबाट आभार प्रकट गर्दछु।
अन्त्यमा, महत्वपूर्ण तालीम सफलतापूर्वक पूरा गरी दीक्षित हुनुभएका तपाई क्याडेट छात्र÷छात्राहरूको निरन्तर प्रगतिसहित उज्वल भविष्यको कामना गर्दछु, धन्यवाद।

माइक्रो बसको ठक्करबाट १ जनाको मृत्यु

धनगढी । कैलालीमा माइक्रो बसको ठक्करबाट १ जनाको मृत्यु भएको छ। आज (बिहीबार) बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका – ९ बल्मीमा बा ५ ख ४०३२ नम्बरको माइक्रो बसले ठक्कर दिँदा स्थानीय केहुँराम चौधरीको मृत्यु भएको हो। घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।

‘जनयुद्ध दिवस’ लाई सरकारले राष्ट्रिय दिवस मनाउनु दुःखद्: अध्यक्ष ओली

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ लाई राष्ट्रिय दिवसको रुपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्नु दुःखद् भएको बताए ।

बिहीबार आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गदै त्यस्ता कार्यलाई सही भन्न नसकिने बताएका छन् ।

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति संकेत गर्दै अध्यक्ष ओलीले हिंसाको बाटो छोडेर शान्ति प्रक्रियामा आईसकेपछि किन फेरी हिंसाको महिमामण्डन गर्नु पर्‍यो? भनि प्रश्न समेत गरे। उनले हिंसाप्रतिको पुरानो लगाव सम्झिनुको कुनै पनि अर्थ नरहेको पनि बताउँदै भने, ‘नेपाल जस्तो शान्तिप्रिय भनिएको देशमा हिंसा भयो ।