११ फाल्गुन २०७९, बिहीबार १२:२४ – Page 4 – Nagarikabhiyan : National News

डाँडाखर्क गाउँ: सुविधा सबै छन्, तर घरमा बस्ने मान्छे छैनन्!

पर्वत । पर्वत सदरमुकाम कुश्मादेखि बसमा कच्ची सडक हुँदै डेढ घण्टाको दूरीमा पुग्न सकिने सुन्दर र रमणीय गुरुङ गाउँ छ आर्थर डाँडाखर्क।

गाउँमा बिजुली, घरघरमा खानेपानीको धारो, अङ्ग्रेजी माध्यमको पठनपाठन, स्तरोन्नति पर्खदै गरेको स्वास्थ्यचौकी र पक्की हुने क्रममा रहेको चाक्ला ग्राभेलिङ सडकले गाउँमा भौतिक विकास हुँदै गएको सङ्केत गर्छ। तर, यति हुँदाहुँदै पनि गाउँमा मान्छे बस्न छाडेका छन्।

हरेकजस्तो घरका ढोकामा लगाइएका ताल्चा र भग्नावशेष रहेका घरले आर्थर डाँडाखर्कदेखि विस्थापित भएकाको सङ्ख्या अत्यास लाग्दो रहेको जनाउँछ।

यहाँका कतिपय बासिन्दा हङकङ, बेलायत, अमेरिका युरोपलगायतका देशहरूमा परिवारसहित बस्दै आएका छन्। नजिकको सहर पोखरा, काठमाडौं, चितवनजस्ता सुविधा सम्पन्न सहरमा गएर बसोबास गर्ने परिपाटी बढ्दै गएपछि गाउँ सुनसान बन्न पुगेको हो।

‘घरमा आमा र बुबा बस्नु हुन्छ। हामी दुई बहिनी पोखरातिर बस्ने गर्छौं, कहिलेकाहीँ चाडबाडमा गाउँ पुग्ने हो,’ २१ वर्षीया सजना गुरुङले भनिन्, ‘हाम्रा आफन्तको घर सबै रित्ता छन्, उनीहरूको छोराछोरी पनि बाहिर देशमा भएको हुँदा घर भत्किसकेका छन्, अब, फेरि उनीहरू फर्केर गाउँ आउँछन् भन्ने चाहिँ लागेको छैन।’

गाउँको बसाइँसराइ ठूलो चुनौती बनेको वडाध्यक्ष रुद्रमोहन रिमालले बताए। उनले भने, ‘मान्छेका आधारभूत आवश्यकता सबै पुगेका छन्, विकास निर्माणका काम पनि दिन प्रतिदिन बढी रहेकै छन् र पनि बसाइँसराइ रोक्न सकिएको छैन। लाहुरेको गाउँ भएकाले गर्दा पनि उनीहरुका सबै परिवार बाहिर नै जाने परिपाटीले गर्दा पनि गाउँ रित्तो बनेको हो।’

टपक्क मिलेका छपनी, ढुङ्गाले छाएका लहरै मिलेको गाउँ, पुरानो मौलिक शैलीमा निर्माण गरिएका घुमाउने घर, कौसी, कोठी, बार्दली, धन्सार यी सबै यहाँका मौलिक विशेषता हुन्। गाउँको बाटो हुँदै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पञ्चासेको लेक पुग्न सकिन्छ।

‘कुश्मादेखि नजिकै भएर पनि यो गाउँ सुनसान भएको महसुस हुन्छ,’ स्थानीय रुपा थापा गुरुङले भनिन्, ‘गाउँमा मान्छे बस्न छाडे पनि यहाँको दुई सय वर्ष पुरानो बौद्ध गुम्बा, गुरुङ समुदायको कला संस्कृति र ढुङ्गाका पुराना र घुमाउने घर समेटेर गुरुङ सङ्ग्रहालय बनाउन सकेमा बाहिरका मान्छेलाई गाउँमा आकर्षित गर्न सजिलो हुन्थ्यो भने गाउँ पनि रमाइलो बन्ने थ्यो।’

आर्थर डाँडाखर्क पुर्खौली भएका थुप्रै आर्थरवासीले यति बेला पोखरामा समाज घर निर्माण गरेका छन्। ‘विभिन्न ठाउँमा छरिएर बसेका आफन्तलाई जमघटका लागि सहजता प्रदान गर्न पोखरामा समाज घर बनाएका हौँ,’ कुश्मा बस्दै आएकी स्मृति गुरुङले भनिन्, ‘सबै आफन्ती गाउँमा जान सक्ने परिस्थिति नभएको हुँदा जन्म, मृत्युदेखि बिहेवारी, भोज सबै कार्यक्रम पोखरामा नै हुने गरेको छ।’

बिहेवारी र रमाइलो कार्यक्रममा मान्छेको भीड यसै हुने नै भयो। त्यसबाहेक मान्छे मर्दा पनि वरपरका गाउँबाट हुलका हुल मान्छे आउने ५० वर्षीया पार्वती गुरुङले सुनाइन्। ‘यस गाउँको कोही मर्‍यो भने नजिकको गाउँ रामजा, तिलहार, भुक्ताङले, ठानामौला, दुर्लुङका थुप्रो मान्छे यहाँ आउने गर्थे,’ गुरुङले आफू १६/१७ वर्ष उमेर हुँदाको स्मरण गर्दै भनिन्, ‘त्यो बेला अरघु (मृत्यु संस्कार) ३/४ दिनसम्म हुन्थ्यो, गाउँमा आएका पाहुनालाई प्रत्येकको घरमा सुत्ने र बस्ने व्यवस्था हुन्थ्यो। ठाउँठाउँमा खुद्रा होटल पनि खोलिन्थे, त्यो बेला केटीलाई केटाले पैसा खर्च गरेर खुवाउने चलन थियो। अहिले ती सबै कहानी भए, गाउँमा मान्छे देख्नै मुस्किल हुन थाल्यो।’रासस

ड्युटीमा रहेका प्रहरी जवानले कञ्चटमा गोली हानी गरे आत्महत्या

सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा एक जना प्रहरी जवानले गोली हानी आत्माहत्या गरेका छन् । बिहीबार बिहान २ः५६ को समयमा ड्युटी बसिरहेको समयमा प्रहरी जवानले एसएलआरबाट दाहिने साईडको कन्चटमा गोली हानी आत्माहत्या गरेका हुन् ।

दार्चुलाको अपी नगरपालिका–६ घर भएका २६ वर्षीय कबिन्द्र बिकले आफ्नै कन्चटमा एसएलआर गोली हानी आत्माहत्या गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनको दरबन्दी कालिकोटको प्रहरी चौकी सुकाटियामारहेको थियो । तर उनी कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत रहेका थिए । घटनाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक मिलन पाण्डेको कमाण्डमा ८ जनाको प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

रुपन्देहीमा बेहुला बेहुली सवार कार ट्रकमा ठोकिदा, ४ जना घाइते

बुटवल । रुपन्देहीको सैनामैनामा कार र ट्रक एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सालझण्डी र फारलाईन विचको जङगलमा पश्च्मिबाट पूर्व तर्फ आउँदै गरेको लु ३ च ८९२ नम्बरको ट्रकमा विहीबार विहान लु २ ख ४३० नम्बरको कार ठोक्किएको थियो । कार लिएर फर्कदै गरेको बताइएको छ ।

दुर्घटनाबाट कारमा सवार बाँकेको राप्ती रोनारी गाउँपालिका–९ की २२ वर्षीया कविताकुमारी थारु, सोही ठाउँकी २३ वर्षीया शुशिला थारु, १५ वर्षीय विवश थारु र नवलपरासी पश्च्मिको सरावल गाउँपालिकाका २५ वर्षीय कृष्णा चौधरी घाइते भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते मध्ये कविताकुमारी थारुको अवस्था गम्भीर रहेको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

लालबन्दीबाट १ अर्बको तरकारी निकासी

सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आर्थिक वर्षको सात महिनामा एक अर्ब बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका-७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले गत साउन १ देखि माघ मसान्तसम्ममा तरकारी निकासीबाट १ अर्ब ६६ लाख ६३ हजार ३ सय ५० रकम आर्जन गरेको समितिका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिएका छन् ।

उनका अनुसार आव २०७९/०८० को साउनमा रु २० करोड २ लाख, भदौमा रु १८ करोड ८५ लाख ५२ हजार, असोजमा रु २७ करोड ८० लाख ८३ हजार, कात्तिकमा रु नौ करोड ६३ लाख ७८ हजार, मङ्सिरमा रु सात करोड १० लाख ६८ हजार, पुसमा रु १७ करोड १५ लाख ८८ हजार र माघमा रु २० करोड ९४ लाख ३७ हजार हाराहारी रकम सङ्कलन छ ।

चालु आवको सात महिनामा १ अर्ब ६६ लाख ६३ हजार तीन सय ५० रकम सङ्कलन भएको समितिका अध्यक्ष तोरणबहादुर मगरले जानकारी दिएका छन् । जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका गोलभेँडा, परबल, बोडी, सिमी, भन्टा, करेलालगायतका तरकारी लालबन्दीको बजारमा आउने समितिले जनाएको छ । अध्यक्ष मगरका अनुसार सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सीतामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुन्छ ।

लालबन्दीबाट टमाटर, भन्टा, बोडी, लौका, करेला, काँक्रो, फूलकोभी, बन्दा कोभी, घिरौँला, सिमी, झिङ्गनी, मूला, हरियो खुर्सानी, बेथुको साग, गाँजर, भिन्डी, परबल, रुख कटहर, फर्सी, धनियाँको पात, कागती, मटरकोसा, प्याज र भेँडेखुर्सानीलगायतका तरकारी निकासी हुन्छ ।

त्यस्तै, सङ्घीय सरकार मातहत रहेको थोक तरकारी बजारको छ कोठे भवन निर्माणका लागि शिलान्यास गरिएको छ । कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्रको ५० लाख ७७ हजार मा सो भवन निर्माण हुनेछ ।

चालु आवको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी समितिले नै भवन निर्माणको काम थालेको अध्यक्ष मगरले जानकारी दिएका छन् । लालबन्दी बजारसहित सङ्घ सरकार मातहत ११ वटा बजार रहेका छन् ।

५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साप्ताहिक कारोबारको पाँचौं दिन आज (बिहीबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। बिहीबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तोलामा ५०० रुपैयाँले घटेपछि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार भने सुनको मूल्यमा कुनै फेरबदल आएको थिएन। बुधबार पनि अघिल्लो दिन, मंगलबारको जस्तै छापावाल सुन प्रतितोला १ लाख ३ हजार र तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर प्रतितोला १ हजार २८५ रुपैयाँ कायम भएको छ। यसअघि बुधबार चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा किनबेच भएको थियो।

खुल्ला सीमालाई मध्यनजर गरि सुरक्षा योजना बनाउन आग्रह

भैरहवा । रुपन्देहीका नव आगन्तुक प्रहरी प्रमुखलाई रुपन्देहीमा रहेको खुल्ला सीमालाई मध्यनजर गरि सुरक्षा कार्ययोजना बनाउन आग्रह गरेका छन । सिद्धार्थनगर सुनचाँदी ब्यवसायी संघले बिहिबार भैरहवामा आयोजना गरेको प्रहरी प्रमुखको स्वागत तथा सम्मान कार्यक्रममा बोल्ने वक्ताहरुले वर्तमान आर्थिक मन्दिको अवस्थामा ब्यवसायीहरु थप जोखिममा परेको बताएका हुन ।

भारतको उत्तर प्रदेश सङ्ग सीमा जोडिएको रुपन्देही प्राय भारतिय अपराधीहरुद्वारा अपराध गरिने कारण भारतिय चुनौतीलाई ध्यान दिन प्रहरी प्रमुखलाई सुनचाँदी ब्यवसायीहरुले आग्रह गरेका हुन । कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष जोगलाल विश्वकर्माले बिगतका दिनमा रुपन्देहीमा सबै भन्दा बढी सुनचाँदी ब्यवसायी नै लुटिएको बताए । उनले ब्यवसायीहरुको बहुमुल्य समान लुटिएको र केही घटनामा बाहेक धेरै घटनामा चोरहरु नसमातेकोमा चिन्ता ब्यक्त गरे । अधिकांश लुटेराहरु भारतबाट आउने गरेको कारण यसमा नियन्त्रणको प्रयास गर्नु पर्ने उनले बताए ।

यस बाहेक सुरक्षा निकायले ब्यवसायीहरुमाथिको दृष्टिकोण पनि परिवर्तन गर्नु पर्ने वक्ताहरुको आग्रह थियो । नेपाल सुनचाँदी ब्यवसायी समिती केन्द्रिय परामर्श समितिका सदस्य श्याम कुमार विश्वकर्माले प्रहरीले सुन चोरकै नजरले ब्यवसायीलाइ समेत हेर्ने गरेको गुनासो गरे । अहिलेको अवस्थामा चोर र सज्जनको पहिचान गर्न कठिन परिरहेको उनको भनाइ छ । कतिपय अवस्थामा चोरहरु बिल सहित नै समान बेच्न आउने गरेको विश्वकर्माको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि रुपन्देहीका प्रहरी उपरीक्षक भरर बहादुर विश्वकर्माले खुल्ला सीमाका कारण हुने अपराधमा सजग भएको बताए । यसका लागि सुरक्षाका अधिकतम उपायहरु अपनाइएको उनको भनाइ थियो । विश्वकर्माले रुपन्देहिको शान्ती सुरक्षा एवम अपराध अनुसन्धानमा शून्य शहनशिलता अपनाउने बताए । जिल्लाको शान्ती सुरक्षाको लागि उनले ब्यवसायी एवम नागरिकको सहयोगको खाचो रहेको बताए । जोखिमबाट जोगिन ब्यवसायलाइ सुरक्षित र मर्यादित बनाउनु पर्ने विश्वकर्माको भनाइ छ । ‘आफ्नो ब्यवसायको सुरक्षाको लागि भए पनि आफू वरिपरिको वातावरण एवम क्रियाकलापमा निगरानी गर्न आवश्यक छ ।’ उनले भने ‘ प्रत्येक पसलम सीसीटीवी भए नभएको यकिन गरि नभएको ठाउमा राख्न सहयोग गर्नुहोला ।

सिद्धार्थनगर सुनचाँदी ब्यवसायी संघका अध्यक्ष दिपक कौशलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रिय परामर्श समितिका संयोजक प्रेमकुमार सेन्चुरी, लुम्बिनी प्रेस क्लबको अध्यक्ष सम्झना शर्मा, बुटवल सुनचाँदी ब्यवसायी संघका उपाध्यक्ष मिलन सुनार, रुपन्देही सुनचाँदी ब्यवसायी संघका उपाध्यक्ष गोपाल रामदाम, लुम्बिनी प्रदेश सुनचाँदी ब्यवसायी संघका उपाध्यक्ष बिक्रम सुनारले सुनचाँदी ब्यवसायीका समस्याहरुका बारे बोलेका थिए । कार्यक्रम संघका महासचिव सुनिल सेन्चुरी एवम स्वागत मन्तब्य उपाध्यक्ष राजन विश्वकर्माले गरेका थिए ।

आजदेखि आत्मनिर्भर लघुवित्तको आईपीओ बिक्री खुला

काठमाडौ । आत्मनिर्भर लघुवित्तले बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन गरेको छ ।

लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । जसअनुसार प्रतिसेयर १०० अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर कम्पनीले निष्कासन गरेको छ । यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर निष्कासन गरिसकेको छ ।

यस्तै, कर्मचारीहरुका लागि जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

उक्त आईपिओमा सर्वसाधारण लगानीकर्ताले फागुन १५ गतेसम्म आवेदन दिन पाउनेछन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा भने फागुन २५ गतेसम्म पनि भर्न पाइनेछ ।

आवेदकहरुले यस आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन । क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तको आइपीओलाई ‘केयर एनपी बी प्लस’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जाउँछ ।

राष्ट्रपति निर्वाचन : आज मतदाताविरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन कार्यतालिका अनुसार भोलि अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ । अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी  छ ।

‘कक्षा छ, कोठा तीन : थपिँदै दुःखका दिन’

जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८ दशरथ नगरस्थित श्री राष्ट्रिय प्राविमा शिशुदेखि कक्षा ५ सम्म पढाइ हुन्छ । तर, यहाँ पठनपाठनका लागि तीन वटा मात्रै कक्षाकोठा छन् ।

एउटै कक्षाकोठामा फरक–फरक २ कक्षाका विद्यार्थी राखेर पठनपाठन गर्नुपर्दा गुणस्तरीय सिकाइमा निकै समस्या भइरहेको छ भने विद्यार्थी सङ्ख्या पनि बर्सेनि घट्दै छ ।

एकातिर कक्षाकोठाको अभाव, त्यसैमा भएकै संरचनाको पनि उचित व्यवस्थापन नहुँदा यो विद्यालय संरक्षकको अभावमा बेवारिसे छोडिएको कुनै संरचनाजस्तै लाग्छ । विद्यालय हो भन्ने ठम्याउन पनि प्रवेशद्वार अड्याउनका लागि बनाइएको पर्खालको भित्तामा लेखिएको विद्यालयको नामको सहारा लिनुपर्ने अवस्था छ । उपमहानगरपालिकाकै ‘मुटु’ भागमा रहेको यो विद्यालय विसं २०५७ देखि सञ्चालनमा छ ।

विसं २०६६ देखि सरकारी मान्यता पाएर जेनतेन अहिलेसम्म सञ्चालनमै रहे पनि भौतिक पूर्वाधार व्यवस्थापनमा ध्यान नदिँदा यहाँ विद्यार्थी जोगाउनसमेत धौधौ छ । विज्ञान विषयकी शिक्षिका सुनिताकुमारी चौधरीले विद्यालयको भौतिक सुधार हुन नसक्दा अहिले नजिकका अभिभावकले विकल्प खोज्न थालेको बताउनुभयो । कक्षा कोठाको अभाव, सडकसँगै जोडिएर पनि घेरा पर्खाल नहुँदाको असुरक्षा, फोहरमैला जस्ता विभिन्न कारणले अहिले विद्यार्थी पाउन मुस्किल भएको उहाँले बताउनुभयो ।

शिक्षिका पिंकी कुमारीले उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमै भएर पनि भौतिक संरचनाको अभावले विद्यार्थीलगायत शिक्षक, शिक्षिकालाई पठनपाठन गर्न निकै कठिनाइ भइरहेको गुनासो गर्नुभयो । “एउटा कक्षाको विद्यार्थीलाई पढाउँदा अर्कोले त्यही कोठामा बस्नुपर्छ, त्यो समय अर्को साथीले पढाउने कुरा पनि भएन”, उहाँले भन्नुभयो, “यस्तो समस्या वर्षौंदेखि छ, विद्यार्थी र हामी पनि निरास छौँ, समयको बर्बादी र गुणस्तरीय सिकाइमा समस्या भइरहेको छ ।”

विद्यालयका प्रधानाध्यापक विन्देश्वर दासले पनि यसरी पढाउन थालेको वर्षौं भएको जानकारी दिनुभयो । “एउटै कक्षामा फरक फरक दुई कक्षाका विद्यार्थी राखेर पढाउन थालिएको वर्षौं भइसक्यो, के गर्नु बाध्यता यस्तै छ”, उहाँले भन्नुुभयो, “विद्यालयको आम्दानी छैन, अरुलाई भवन बनाएर सहयोग गरिदिन भनेको वर्षौं भइसक्यो तर कसैले सुनेनन्, अब त थाकी सके !”

कुनै बेला एउटै कक्षामा दुईसयसम्म विद्यार्थी हुने यस विद्यालयमा अहिले छ वटा कक्षामा भर्ना हुने विद्यार्थीको सङ्ख्या जोड्दा करिब एक सय मात्रै छ । तर, ती सबै विद्यार्थी विद्यालयमा नियमित उपस्थित हुँदैनन् । तथ्याङ्कअनुसार विद्यालयमा कक्षा १ मा १७, कक्षा २ मा १६, कक्षा ३ मा १२, कक्षा ४ मा ६ र कक्षा ५ मा नौ जना विद्यार्थी भर्ना छन् । शिशु कक्षामा भने ४० विद्यार्थी रहेको विद्यालयको अभिलेखमा देखिन्छ । यहाँ दुई स्थायी, दुई राहत र तीन बाल विकासलाई पढाउने जनशक्ति तथा दुई सहयोगी गरी आठ जना कर्मचारी छन् । नजिकै मुस्लिम धर्मावलम्बीको बसोबास रहेकाले यस विद्यालयमा भर्ना हुने कूल विद्यार्थीमध्ये पाँच÷सात जनाबाहेक सबै सोही समुदायका बालबालिका छन् ।

कक्षा ५ मा अध्ययनरत छात्र अरमान अन्सारीले अर्को कक्षासँग बसेर पढ्नुपर्दा सबैभन्दा दुःख लाग्ने गरेको बताउनुभयो । उहाँले एउटा सरले पढाएको बेला अर्को कक्षाको विद्यार्थी पर्खेर बस्नुपर्ने वा समय बिताउन कक्षा छोडेर अन्तै जानुपर्ने कारण आफूहरुलाई स्कूल आउन मन नै नलाग्ने गरेको सुनाउनुभयो । त्यसैगरी कक्षा ४ मा अध्ययनरत सृष्टिकुमारी चौधरीले गरिबीका कारण आफू श्री राष्ट्रिय प्राविमा पढ्न बाध्य भएको जनाउनुभयो । “हुनेखाने साथीहरु विद्यालय छोडेर अन्तै पढ्न गइसके तर हामी चाहिँ गरिबीको कारणले यही पढिरहेका छौँ”, सृष्टिले मलिन मुद्रामा भन्नुभयो, “हाम्रा लागि त कोही पनि रहेन छ, विद्यालय राम्रो भए त राम्ररी पढ्न पाइन्थ्यो, भविष्य पनि राम्रो बन्थ्यो होला तर अहिले त विकल्प नभएर यहाँ आउनुपरेको छ ।”

विसं २०६६ मा विद्यालयले सरकारी स्वीकृति पाएसँगै जिम्मेवारी सुरु गर्नुभएका प्रधानाध्यापक यादवले विद्यालयको यही दूरावस्थाका कारण प्रतिवर्ष विद्यार्थीको सङ्ख्या घट्दै गएको बताउनुभयो । “गरिब पढ्ने स्कूल भनेर पो हो कि, कसैले यहाँको अवस्था सुधार्न सहयोग गर्दैनन्, यसले विद्यार्थी त घटिरहेकै छन्, सँगसँगै उपमहानगरमै यस्तो अवस्थाको विद्यालय भन्ने गरिन्छ”, प्रअ यादवले भन्नुभयो ।

यो विद्यालयको अवस्थाका बारेमा वडा र उपमहानगरपालिकाको नेतृत्वलाई पनि जानकारी छ तर सुधारका लागि भने ठोस् पहल भएको छैन । उपमहानगर प्रमुख मनोजकुमार साहले आफ्नो कार्यकाल सुरु भएको छोटो समयमै आफूले विद्यालयको अवस्था सुधारका लागि पहल सुरु गरिसकेको बताउनुभयो । सुरुमा रु पाँच लाख दिने कुरा भएको र आफ्नो कार्यकालमा विद्यालयको मुहार फेर्ने गरी काम हुने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

त्यसैगरी वडा नं ८ का अध्यक्ष दिनेशकुमार सिंहले पनि विद्यालयको भौतिक संरचना सुधारका साथै त्यहाँ वरपरको वातावरण पनि विद्यालयमैत्री बनाउन जरुरी रहेकाले सोहीअनुसार सुधारका विषयमा छलफल भइरहेको बताउनुभयो । उहाँले विद्यालयलाई विद्यालयजस्तै बनाउने गरी काम हुने धारणा राख्नुभयो ।

विसं २०६७ सम्म कक्षा १ को पढाइ हुने यस विद्यालयमा शैक्षिक सत्र २०६७ मा कक्षा २, विसं २०७२ मा कक्षा ३ र २०७३ मा कक्षा ४ र चालु शैक्षिक सत्रदेखि कक्षा पाँचसम्मको पढाइ हुन्छ । प्रधानाध्यापक यादवले आफूले स्थानीय, प्रदेश र केन्द्र सरकारले विद्यालयको अवस्था सुधारमा सहयोग गरे उर्दु शिक्षक र अङ्ग्रेजी माध्यममा पढाइ सुरु गरी विद्यार्थीको आकर्षण बढाउने योजना रहेको बताउनुभयो ।रासस

आज मौसम बदली, हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । मौसम पुन: बदली भएको छ । पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि मौसम आंशिकदेखि सामान्य बदली भएको हो । आज प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शुक्रबार पनि मौसम बदली हुनेछ । शुक्रबार प्रदेश नं १ को पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाका उच्च पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपाल राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत

विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामती प्रदेश १ समितिको अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन् । विराटनगरस्थित होटल रुबीजमा मंगलबार सम्पन्न प्रदेश सम्मेलनबाट माओवादी केन्द्र निकट समितिमा सुवेदीसहित ४० सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

समितिको उपाध्यक्षमा नारायण राय यादव, ताराकिरण राई, नमिता पौडेल तामाङ, जमान सिंह मोक्तान, रत्न प्रसा चौंलागाई चयन भएका छन् । यस्तै सचिवमा अम्बर राई, सहसचिवमा खगेन्द्र पौडेल, उत्तम आचार्य, वेदनिधि कार्की ढोली चयन भएका छन् । यस्तै कोषाध्यक्षमा प्रकाश राई, सहकोषाध्यक्षमा राजिव बस्नेत चयन भएका छन् ।

यस्तै सदस्यहरूमा गोपाल बराल, कृष्ण घिमिरे, हेमु पोर्तेल, विन्देश्वर साह, रामप्रसाद मिश्र, दिपेन्द्र कार्की, गणेशबहादुर गुर्धामी, डम्बर कुमार राई, बाबुराम बस्नेत, श्रीराम पण्डित, मिनप्रसाद पराजुली, तोषल भट्टराई, बालकृष्ण दंगाल चयन भएका छन् ।

अन्य सदस्यहरूमा हिमाल दनुवार, डा.नागेन्द्र बहादुर दाहाल, भानुभक्त श्रेष्ठ, देबेन्द्र चापागाईं, लेखराज मगर, रजनी याम्फु राई, उमेश राई, अम्बिका सुवेदी, सौगात रेग्मी, सरोज सुवेदी, रमिता कुमारी सिंह, चिन्तामणि पोखरेल, दिनेश ढुंगाला र अञ्जु चौधरी रहेका छन् ।

उक्त सम्मेलनको पूर्व उर्जा मन्त्री तथा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले उद्घाटन गरेकी थिइन् भने सम्मेलनमा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, माओवादी केन्द्रका सचिव राम कार्की लगायतको सहभागीता थिए । सम्मेलनमा माओवादी केन्द्र निकटका १४ वटै जिल्लाका ३ सय ५० जना कर्मचारीहरूको उपस्थिति थियो ।

माओवादीद्वारा सहिद परिवार तथा एमाले र काङ्ग्रेसका कार्यकर्तालाई सम्मान

विराटनगर । मोरङको पथरीशनिश्चरे—५ भेटघाट चोकमा माओवादी केन्द्रले १० जनालाई सम्मान गरेको छ । मंगलबार माओवादी केन्द्रले राजनीतिक परिवर्तनको लागि ज्यान गुमाएकाको परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने १० जनालाई सम्मान गरेको हो ।
माओवादी केन्द्रको पथरीशनिश्चरे–५ नम्बर वडा समितिले जनयुद्धका सहिद परिवार र काङ्ग्रेस, एमालेका राजनीतिक परिवर्तनमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरेको जनाएको छ ।

जनयुद्धमा साहदत प्राप्त गरेका सहिद सन्तोष लिम्बूकी पत्नि लक्ष्मी लिम्बू, नेत्रबहादुर मगरकी आमा सरस्वती मगर, हंसिलाल राजवंशीकी बुहारी उज्वलकुमारी राजवंशी र हालसम्म बेपत्ता लक्ष्मी खतिवडाको बाबु जनकलाल खतिवडालाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।

पार्टी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गीता तिम्सिना, केन्द्रीय लेखा समिति सदस्य लालबहादुर सुस्लिङ मगर, ५ नम्बर वडा अध्यक्ष चेतेन्द्र खड्का लगायतको उपस्थितिमा पञ्चायत विरुद्धको आन्दोलनमा काङ्ग्रेस र एमालेबाट योगदान गर्ने वडाबासीहरूलाई पनि सम्मान गरिएको थियो ।

यसरी सम्मानित हुनेहरूमा दधिराम कुइँकेल, शोभालाल चौकरी, तिलक धिमाल, ईन्द्रबहादुर घिमिरे, गोपाल गन्गाइ, तिलबिक्रम बस्नेत, धनबहादुर लिम्बू लगायत रहेका छन् । कार्यक्रममा मोरङ ३ (क)बाट बिजेता समानुपाति प्रदेशसभा सदस्य गीता तिम्सिनालाई पनि दोसल्ला ओढाएर बधाई तथा सम्मान गरिएको थियो ।

माओवादी केन्द्र ५ नम्बर वडा समिति अध्यक्ष रिजमान अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका नगर सहइन्चार्ज नेत्र पोख्रेल (बिशाल)ले जनयुद्ध वा त्यो भन्दा अघि बलिदान दिने सहिदहरूलाई भुल्दै जाने अवस्थ आएकोले परिवारलाई सम्मान गरिएको बताए । पोख्रेलले सहिद सबैको साझा हुने तर्क प्रस्तुत गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथि गीता तिम्सिना, संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मागर, ५ नम्बर वडा अध्यक्ष चेतेन्द्र खड्का, माआवादी केन्द्र नगर अध्यक्ष गोबिन्द कटुवाललगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पार्टीको १ नम्बर प्रदेश समिति सदस्य रञ्जु कटुवाल, नगर सह–इन्चार्ज बालकुमार मगर (विकास) किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय महासचिव अर्जुन किराती, सचिव मान दियाली, नेता मदन पोख्रेल, शिव तिम्सिना, राजकुमार तिरुवालगायतको उपस्थिति रहेको थियो ।

जनयुद्ध दिवसकै अवसरमा वडाबाट सहिद तथा बेपत्ता परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने वडाबासीलाई सम्मान गरिएको माओवादी केन्द्र नगरका युवा नेता प्रताप लुइँटेलले बताए ।

जनयुद्ध कालमा पथरीशनिश्चरे नगरबाट मात्र २२ जना बढीले ज्यान गुमाएका थिए । २८ औं जनयुद्ध दिवसको अवसरमा केही दिनपछि सहिद तथा बेपत्ता परिवारलाई बृहत कार्यक्रमको आयोजना गरी सम्मान गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र नगर समिति अध्यक्ष गोबिन्द कटुवालले बताए ।

दुर्घटनामा तीन जनाको मृत्यु, एक जना घाइते

विराटनगर । झापा, मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मंगलबार सुनसरीको इटहरी उप–महानगरपालिका–१० खनारमा सिटि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को २ ह ६४३२ नम्बरको सिटि सफारि आफैँ अनियन्त्रित भएर पल्टिँदा सिटिमा सवार इटहरी–१० का ४० वर्षीय सुरेन्द्र सरदारको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका सरदारको उपचारको क्रममा विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बुधबार मोरङको बेलबारी नगरपालिका–१ शिशौली चोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको ना ५ ख ६९४२ नम्बरको बसले सोही दिशा तर्फ आउँदै गरेका दुईवटा साइकललाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका साइकल यात्री बेलबारी–२ का १९ बर्षीय लेखनाथ चौहानको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको लागि नोबेल अस्पताल विराटनगर पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएका अर्का साइकल यात्री १८ बर्षीय राम बस्नेतको नोबेल अस्पतालमा उपचार भइरहेको छ । यस्तै बुधबार झापाको कनकाई नगरपालिका– १ दुर्गापुर चोकमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएके छ ।

पश्चिमबाट पुर्व तर्फ आउँदै गरेको प्र १–०१–०१६–३१५९ नम्बरको मोटरसाइकलललाई बिपरित दिशाबट आउदै गरेको बा ४ ख ९३१९ नम्बरको बिर्तामोड–२ को निधी क्याम्पसको बसले ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते भएका मोटरसाइकल चालक ताप्लेजुङ श्रीजंघा गाँउपालिका–४ का ३५ बर्षीय समिर लिम्बुको उपचारको क्रममा वीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा संलग्न सवारी साधनहरू र चालक प्रहरीले नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान गरिरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

विराटनगर महानगरद्वारा नगर प्रहरीलाई इलेक्ट्रिक साइकल वितरण

विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरीलाई इलेक्ट्रिक साइकल वितरण गरेको छ । मंगलबार महानगरपालिकाले नगर प्रहरीलाई इलेक्ट्रिक साइकल वितरण गरेको हो ।

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन इलेक्ट्रिक साइकल वितरण गरेको जनाएको छ ।

महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले महानगर प्रहरीका प्रमुख राजन पौडेलसहित नगर प्रहरीलाई इलेक्ट्रिक साइकलको चाबी हस्तान्तरण गरे ।

सो अवसरमा मेयर कोइरालाले महानगर प्रहरीलाई थप स्रोत साधनयुक्त बनाउने योजनाअनुसार इलेक्ट्रिक साइकल वितरण गरिएको बताए । उनले नगर प्रहरीलाई जिम्मेवार भएर छिटो छरितो रूपमा काम गर्न निर्देशनसमेत दिए ।

सो अवसरमा महानगरका प्रवक्ता सन्तोष न्यौपाने, वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, काजीबहादुर बस्नेत, वासुबहादुर बस्नेत, राम पोखरेल, सूर्यनारायण महतो, जितेन्द्रकुमार साहलगायत विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

बाजुरा केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प

धनगढी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । आज बुधबार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु बनाएर ५.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पबाट कुनै क्षति भएको जानकारी अहिलेसम्म आएको छैन । यसअघि माघ १० गते बाजुरामै केन्द्रबिन्दु भएर गएको ५.९ म्याग्निच्युडको भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो । त्यसपछि माघ १२ गते पनि बाजुरामा केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बलात्कार आराेपमा एक जना पक्राउ

ओखलढुंगा । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आराेपमा खिजिदेम्बा गाउँपालिका-८ बस्ने २१ वर्षीय लाक्पा शेर्पालाई  प्रहरीले पक्राउ गरेको छ ।

शेर्पाले ती किशोरीलाई सिद्धिचरण नगरपालिका-११ रमाईलोडाँडास्थित होटलमा सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।