१० फाल्गुन २०७९, बुधबार १४:०९ – Page 5 – Nagarikabhiyan : National News

सन्दीप लामिछानेलाई युएई लैजान राखेपलाई क्यानको पत्राचार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने श्रृंखलामा सन्दीप लामिछानेलाई सहभागी गराउन पहल थालेको छ । घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछानेलाई युएईमा हुने श्रृंखलामा सहभागी गराउन क्यानले राष्ट्रिय खेलकुद परिषद्लाई पत्राचार गरेको छ ।

बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्दा लगाइएको सर्तले देश बाहिर जान पाउने छैनन् । तर, कानुनी बाधा हटाएर उनलाई युएईमा लैजान क्यानले पहल थालेको हो । क्यानले राखेपलाई लेखेको पत्रमा लामिछानेलाई राष्ट्रिय टिमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न आग्रह गरिएको छ ।

दक्षिण कोरियाको प्रजनन दर घट्दो

एजेन्सी । दक्षिण कोरियाको प्रजनन दर उल्लेखनीय रूपमा घटेको छ । युवा पुस्ता विवाह गर्न र बच्चा जन्माउन अनिच्छुक हुँदा प्रजनन दर ह्वात्तै घटेको कोरियाली तथ्याङ्क कार्यालयले जनाएको छ ।

सन् २०२१ मा कुल प्रजनन दर शून्य दशमलव आठ एक प्रतिशत रहेकामा गत वर्ष कुल प्रजनन दर शून्य दशमलव सात आठ प्रतिशत कायम भएको उक्त कार्यालयले बुधबार बताएको हो । यो प्रजनन दर सन् १९७० यताको सबैभन्दा कम हो । सन् २०१८ पछि लगातार देशको प्रजनन दर एक प्रतिशतभन्दा कम रहेको छ ।

बालबच्चाको स्याहारसुसारको लागतमा निरन्तर भइरहेको वृद्धि, बढ्दो बेरोजगारी, विवाहप्रति बदलिएको सामाजिक धारणा, आवासको उच्च मूल्यलगायत कारणले युवा पुस्तामा विवाह र सन्तानोत्पादनमा अरुची तथा ढिलो विवाह गर्नाले प्रजनन दर घटेको उक्त कार्यालयले बताएको छ ।

कोरियाली तथ्याङ्क कार्यालयका अनुसार गत वर्ष दुई लाख ४९ हजार बच्चा जन्मेका थिएभने सन् २०१७ मा चार लाख बच्चाको जन्म भएको थियो । त्यसपछि लगातार तीन वर्ष तीन लाख बालबालिका जन्मेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् बागलुङ कालिकामा पूजा आराधना

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गरेकी छन् । मुल पूजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा आराधनापछि राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका थिए ।

कालिकाको दर्शनका लागि राष्ट्रपति नेपाली सेनाको हेलिकोप्टरबाट बिहान बागलुङ बजार आइपुगेकी हुन् । राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाले स्वागत गरेका थिए ।

राष्ट्रपति निर्वाचनका लागि ८८१ मतदाताको नामावली सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मतदाता नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।

यसमा संघीय संसदका ३३१ र प्रदेश सभाका ५५० जनाको नाम समावेश छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरुले भाग लिन पाउँछन् । सहायक निर्वाचन अधिकृत अमृता कुमारी शर्माका अनुसार प्रकाशित मतदाता नामावलीको दाबी विरोधको उजुरी आजै बिहान ११ बजेदेखि भोलि १२ बजेसम्म तोकिएको छ ।

सो समयमा पर्न आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । राष्ट्रपतिको पदको लागि फागुन १३ गते मनोनयन दर्ता र २५ गते निर्वाचन हुँदैछ ।

मेन्छियाम हाइड्रोपावरको आईपीओ निष्काशन

काठमाडौं । मेन्छियाम हाइड्रोपावरले बुधबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि उक्त आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको छ ।

मेन्छियाम हाइड्रोपावरले १०० रुपैयाँअंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गर्नेछ । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानीय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता र योबाहेक संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि २ लाख ७१ हजार २९१ कित्ता सेयर छुट्याइएको छ ।

साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई भने १ लाख ८ हजार ५१७ कित्ता सेयर छुट्याइएको छ ।  यो आइपीओमा एनआईसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

उक्त आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आवेदकले फागुन २५ गते गतेसम्म आवेदन दिन सकिनेछ यदि सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा स्थानीयले भने चैत ९ गतेसम्म आवेदन दिन पाउनेछन् ।

स्थानीय बासिन्दाले आयोजना स्थल, एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबीआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यता, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो १ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको सो पार्टीका महासचिव बेदुराम भुसालले जानकारी दिए ।

सत्तारुढ गठबन्धन दलभित्र एमालेले राष्ट्रपतिमा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको नाम प्रस्ताव गरेको चर्चाका बीच सो पार्टीले सचिवालय बैठक बोलाएको हो ।

सुनको भाउ स्थिर हुँदा बढ्यो चाँदीकाे मूल्य

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

बुधबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।

अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य बुधबार स्थिर रहेको  हाे ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो।  बुधबार चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो।

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ । राष्ट्रपति निर्वाचनका विषयमा छलफल गर्न अध्यक्ष ओली बालुवाटार पुगेका हुन् । प्रधानमन्त्रीसँग छलफलका लागि गठबन्धनका अन्य नेताहरु पनि बालुवाटार जाने बताइएको छ ।

राष्ट्रपतिको निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारको टुङ्गो लाग्न सकेको छैन । फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि फागुन १३ गतेनै उम्मेदवार मनोनयन गर्नुपर्ने छ । तर सत्ता पक्ष र विपक्षी गठबन्धनले राष्ट्रपतिको उम्मेदवार तय गर्न सकेका छैनन् ।

बागलुङ कालिका मन्दिर जिर्णोद्धार

बागलुङ । धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित बागलुङको कालिका मन्दिरलाई कलात्मक ढङ्गले जिर्णोद्धार गरिएको छ । ताम्रपत्रले मन्दिर छाइएको छ भने कलात्मक इँटाको प्रयोग गरेर मन्दिरलाई थप आकर्षक बनाइएको छ ।

धार्मिक संरचना कङ्क्रिटमय बनेको तथा केही संरचनाले मन्दिरको सौन्दर्यतामा समस्या ल्याएको भन्दै कालिका मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर र मन्दिर क्षेत्रलाई कलात्मक ढङ्गले रुपान्तरण गर्न रणनीतिक योजना बनाएको हो । मन्दिरका अन्य सहायक संरचना सत्तल, हवन कुण्डलगायत निर्माणाधीन छन् । दुई महिना लगाएर ताम्रपत्र मर्मतलगायत काम गरेको छ । मन्दिरको बाहिरी संरचनामा कलात्मकरुपमा निर्माण गरिएका इँटाको प्रयोग गरिएको छ । पञ्चवर्षीय रणनीतिक सुधार कार्यक्रमअन्तर्गत मन्दिरको स्वरुपलाई कलात्मक बनाइएको र आगामी दिनमा अन्य संरचना पुरातात्विक शैलीमा निर्माण गरिने कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

‘मन्दिरको भित्री संरचना जीर्ण भएको थियो, तामाको छानो चुहिने भएपछि जिर्णोद्धारसँगै मर्मतसम्भार गरिएको हो’, उनले भने, ‘दुई चरणमा गरेर दुई महिनामा कलात्मक बनाइएको हो ।’ मन्दिरको पूर्वपट्टिको सत्तल र हवन अग्निकुण्डलाई कलात्मक बनाइँदै छ । सिमेन्ट र ढुङ्गाजडित संरचना हटाएर कलात्मक काठ र धातुको प्रयोग गरेर संरचना बनाउने योजना रहेको खड्का बताउँछन् ।

२६ लाखको लागतमा मन्दिरको जिर्णोद्धार गरिएको हो । सत्तल निर्माणमा ७० लाख र हवनकुण्ड निर्माणमा १३ लाख खर्च लाग्ने समितिले जनाएको छ । मन्दिर जिर्णोद्वारपछि चिटिक्क देखिएको छ । आगमी दिनमा मन्दिर तथा अन्य संरचना निर्माण गर्दा काष्ठकला, धातु तथा अन्य पुरातात्विक वस्तुको प्रयोग गर्नुपर्ने समितिलाई स्थानीयवासीको सुझाव छ ।

युएई र कतार जान ट्याक्सी चालकलाई रोक

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा युनाइटेड अरब इमिरेटस् (युएई) र कतारमा बाइक राइडर र ट्याक्सी चालक पदका लागि जान रोक लगाएको छ । विभागले सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको हो ।

युएई र कतारमा यी पदमा गएका अधिकांश श्रमिक समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति रोक्ने निर्णय गरेको हो । पछिल्लो समय बाइक राइडर र ट्याक्सी चालक पदमा त्यहाँ जाने श्रमिकले स्वीकृति मागपत्रबमोजिमको न्यूनतम तलब प्राप्त गर्न नसकेको गुनासो बढेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार सहजरूपमा लाइसेन्स प्राप्त गर्न नसक्दा लामो समय कामविहीन भई बस्नुपरेको अवस्था रहेको र अधिकांश श्रमिक धेरैपटक ट्राफिक कारबाहीमा परी ठूलो जरिवाना बुझाउनुपरेको गुनासो आएकाले सम्बन्धित मुलुकको ट्राफिक नियम र सडक अनुशासनसम्बन्धी ज्ञान र अनुभवको कमीले गर्दा दुर्घटना बढेसँगै विभागले उक्त निर्णय लिएको हो ।

युएई र कतारमा बाइक राइडर र ट्याक्सी चालक पदमा श्रमिक पठाउनु सुरक्षित नदेखिएपछि विभागले पूर्वस्वीकृति रोक्ने निर्णय लिएको हो । विभागका अनुसार अर्को निर्णय नभएसम्म यो नियम कार्यान्वयनमा रहने छ । उक्त पदको मागपत्र प्रमाणीकरण नगर्न कतार र युएईस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरिएको विभागद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

चितवनमा सात महिनामा चौध गैँडा मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन्। निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैँडा मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन्।

जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैँडा मारेका उनले बताए। निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका दुई गैँडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो। अन्य कालगतिले मरेका हुन्। सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर सात सय ५२ गैँडा रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा मात्र छ सय ९४ गैँडा छन्।

चोरी सिकारीले गैँडा मार्न थालेपछि निकुञ्ज विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन सुरु गरेको छ। यससँगै निकुञ्ज प्रशासनले सुरक्षा रणनीतिलाई बलियो बनाउँदै लगेको छ। गत आवमा निकुञ्ज र वन क्षेत्रमा गरी ४१ वटा गैँडा मरेका थिए। निकुञ्ज क्षेत्रमा ३७ र वन क्षेत्रमा चार गैँडा मरेका तिवारीले जानकारी दिए। गत आवमा चोरी–सिकारीबाट दुई गैँडा मरेका थिए।

चिनियाँ राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । राजदूत सेनले बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर राष्ट्रपति निर्वाचनको विषयमा चासो राखेका हुन् ।

राष्ट्रपतिको चुनाव नजिकिँदै गएसँगै अन्तर्राष्ट्रिय चासो बढ्दै गएको छ । भारतीय र अमेरिकी चासो सार्वजनिक भइरहेका बेलामा चिनियाँ राजदूतले पनि राजनीतिक भेटघाट बढाएका छन् । बालुवाटार स्रोतका अनुसार सेनले प्रचण्डसँग अबको राष्ट्रपति को बन्ने भन्ने बारेमा जिज्ञासा राखेका थिए ।

जवाफमा प्रचण्डले दलहरूबीच छलफल जारी रहेकाले सहमतिमा राष्ट्रपति चयन हुने बताएका छन् । यसअघि अघिल्लो साता प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा भेटवार्ता भएलगत्तै राजदूत सेन बालकोट पुगेर ओलीसँग संवाद गरेका थिए । त्यतिबेला पनि राजदूत सेनको चासो राष्ट्रपति चुनावसँग रहेको बताइएको थियो ।

राष्ट्रपतिले गरिन् हेटौँडामा २ सय बेड अस्पतालको उद्घाटन

हेटौँडा । राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा उपमहानगरपालिका वडा नंबर १ मा रहेको हेटौँडा अस्पतालको ७० कोठे भवनको उद्घाटन गरेकी छिन् ।

संघीय सरकारको ३५ करोडको लागतमा निर्माण सम्पन्न भएको भवनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले हेटौँडा अस्पतालले यस क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवामा अतुलनीय सेवन दिन सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।

२०७७ सालमा ठेक्का भएर यही वर्षको गत असोज महिनामा निर्माण सम्पन्न भएको अस्पातल भवनमा अहिले ७० बेडसहितको विशेषज्ञ सेवा सञ्चालनमा रहेको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष एवम मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईले बताए ।

नयाँ भवनमा ७० बेड सञ्चालन भएसँगै अब हेटौँडा अस्पतालमा २ सय बेड नियमित सञ्चालन भएका छन् । प्रदेशको राजधानी भएसँगै स्वास्थ्य सेवामा पछि परेको भन्ने गुनासोलाई हेटौँडा अस्पतालमा नियमित भएका सेवा विस्तारले कमि गर्दै लगेको हेटौँडा अस्पताल विकास समितिका सदस्य उत्सव चौँलागाईले बताए ।

अस्पतालको नयाँ भवन निर्माणसँगै अस्पतालको इमरजेन्सी बेड संख्या ८ बाट २४ वटामा वृद्धि भएको छ । अस्पतालमा हाल ५७ जना चिकित्सकहरु कार्यरत रहेकोमा ३८ जना विषेशज्ञ डाक्टरहरू छन् । अस्पतालमा मेडिकल अधिकृत १९ जना रहेका छन् भने नर्सिङ अधिकृत ५ जना, स्टाफ नर्स ३८ जना समेत गरेर २ सय जना स्वास्थ्यकर्मी अस्पतालमा कार्यरत रहेको प्रतिष्ठानले जनाएको छ ।

हाल अस्पतालमा १७ बेडको आइसियू, २० बेडको एचडीयू क्षमता र ६ बेडको डायलिसिस सेवा सञ्चालन रहेको छ । अस्पतालले ५०० बेडको लागि पर्याप्त हुने अक्सिजन प्लान्ट जडान गरेको छ ।

अस्पतालले पछिल्लो पटक मनोरोगको विशेषज्ञ सेवा सञ्चालन गरेको अस्पतालले जनाएको छ । नयाँ भवन बन्नुअघि दैनिक ४ सय जनालाई मात्रै सेवा प्रदान गर्दै आएको अस्पतालले हाल दैनिक ७ सय जनाभन्दा बढीलाई सेवा दिइरहेको छ ।

जलवायु परिवर्तन : न वर्षा न हिमपात

मनाङ। यसवर्ष हिउँदमा वर्षा हुनुपर्ने हो। तर वर्षा हुन सकेको छैन। पहाड तथा तराईमा वर्षा नहुँदा हिमाली क्षेत्रमा पनि हिमपात हुनसकेको छैन। यसवर्ष हिमाली क्षेत्रमा आवश्यक मात्रामा मात्रै नभइ हिमपात नै हुनसकेन। अहिले जलवायु परिवर्तनको प्रत्यक्ष असर हिमाली क्षेत्रमा परेको देख्न सकिन्छ।

हिमाली क्षेत्रमा हिमपात भएर सेताम्मे हिउँ देखिनुपर्ने समयमा काला पत्थर मात्रै देखिन्छ। हिउँले रुझेर यहाँका धुलो हिलाम्मे हुनुपर्ने समय हो। तर, यसवर्ष यहाँ मौसम प्रतिकूल भएर हिमपात हुनसक्ने सम्भाव्यता देखिए पनि हिउँ पर्न सकेन।

मनाङमा हिमपात नहुँदा हिमाल कालापत्थर बन्दै गएको छ। हिमपात नभएपछि यहाँ कृषि क्षेत्रमा सिँचाइको अभाव देखिनेछ। पर्याप्त मात्रामा हिमपात भएको अवस्थामा यहाँ उत्पादन वृद्धि हुने गर्दछ। मनाङको तल्लो क्षेत्रमा वर्षा हुने र माथिल्लो क्षेत्रमा भार हिमपात हुँदा यहाँको उत्पादन फस्टाउने गरेको किसान बताउँछन्।

हिमाली जिल्ला मनाङमा यसपटक हिमपात भएको छैन। यस वर्ष बेमौसममा हिमपात भयो। तर हिमपात हुने समयमा भने हिमपात हुनसकेन। मनाङमा गतवर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो। यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायःजसो मङ्सिर अन्तिमदेखि हिमपात हुनुपर्ने हो।

तर, हिमपात हुँदा जीवनयापनमा समस्या हुने भएकाले यहाँका स्थानीयवासी चिसो र हिमपात छल्न कात्तिक अन्तिम र मङ्सिर पहिलो साता बेँसी झर्ने गर्दछन्। उनीहरु काठमाडौँ, पोखरा, बेँसीसहरलगायतका स्थानतर्फ जाने गर्दछन्। चिसो छल्न मनाङवासी बेंसी झरे पनि हिमपात हुने समयमा यस पटक हिमपात भएन।

हिमपात नहुँदा किसान चिन्तित

हिमपातले हिउँदेबालीमा सिँचाइ हुने भए पनि नहुँदा सिँचाइको अभाव हुने र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले किसानका लागि समयमै हिमपातको महत्व रहेको छ। “यहाँको मुख्य बाली आलु र करु हो। चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ। तब मात्र माटो भिज्छ”, ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय पशुपालक किसान याङदुङ गुरुङ भन्छन्, “जमिन तातिएपछि हिउँ पर्नाले हिउँको पानी जमिनमुनि नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई असर गर्छ।”

हिमपात हुनुपर्ने समयमा हिउँ परेन यसवर्ष बाली राम्रो हुने अवस्था नभएको उनी बताउँछन्। उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर गर्छ। “स्याउ फुल्ने भनेको फागुन, चैतमा हो। माघमा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुन पाउँदैन, यस पटक त हिमपात नै भएन”, उनले भने।

यस पटक उत्पादन नहुने उनी बताउँछन्। “हिमाली क्षेत्रमा नै हिउँ परेन यहाँ अब पानीको हाहाकार हुने भयो खेतीबालीलाई, के भएको हो ? अहिलेसम्म यस्तो थाहा पाएका थिएनौँ”, गुरुङले भने।

“मङ्सिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो। अहिले माघ महिनाको पनि आधा कटिसक्यो। तैपनि हिउँ परेको छैन”, नासों गाउँपालिका–५ थुतेन लामाले भने, “आकाशमा अलिअलि मात्र बादल लाग्ने गरेको छ। हिउँपर्ने सङ्केत अझै कुनै छाँटकाँट देखिँदैन।”

तापक्रम भने निकै घटेर मौसम चिसिएको उनीले बताए। नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात नभएको बताए। कहिलेकाहीँं पानीको छिटा परे पनि हिउँपर्ने सङ्केत नदेखिएको लामा बताउँछन्।

उनका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फू गाउँ चिसोका कारण यतिबेला खाली भए पनि हिमपात भएको छैन। गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेँसी झरिसकेका छन्। मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानपछि सबै बेंसी झरेको उनले जानकारी दिए।

“समयमा हिउँ नपर्दा खेतीबाली उत्पादनमा ह्रास आउने भयो”, लामाले भने। विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो। यसपटक सोहीअनुसारको व्यवस्था गरिए पनि हालसम्म हिउँ नपरेको उनी बताउँछन्। प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गाना खनालले मनाङमा हालसम्म जिल्लामा हिमपात नभएको जानकारी दिइन्।

माथिल्लो मनाङमा हल्का हिमपात भए पनि आवश्यक मात्रामा हिमपात नभएको उनी बताउँछिन्। “मनाङमा हालसम्म हिउँ परेको छैन”, उनले भनिन्। मनाङमा बस्ती रहेको सबैभन्दा तल्लो क्षेत्र एक हजार सात सय मिटर उचाइमा रहेको तालगाउँमा समेत यसअघि यो समय हिउँपर्ने गर्दथ्यो। मनाङमा जेठमा फापर रोपिन्छ। चैततिर गहुँ, आलु र केराउ लगाइन्छ। मङ्सिर, पुसमा हिउँ परे मात्रै जमिनमुनि चिस्यान पुग्छ र खेतीपाती हुन्छ। अहिले हिउँ परेन खेतीबाली राम्रो हुँदैन। तापक्रम बढेपछि पर्ने हिउँ पग्लिएर माथि–माथि नै सुक्ने किसान बताउँछन् ।

चिसोले पूर्वाधार निर्माणमा समस्या

हिमपात नभए पनि यहाँ चिसो बढ्दै गएपछि विकास निर्माणका कार्य गर्न रोकिन्छ। चिसो बढेसँगै माथिल्लो मनाङको पूर्वाधार निर्माणको काम पूर्ण रुपमा ठप्प हुन्छ। गतवर्ष निरन्तरको वर्षाले क्षति पुर्‍याएको निर्माणाधीन भौतिक संरचना निर्माणका कार्य अहिले रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ।

विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रो लगायतको विकास निर्माणका कार्य रोकिएको पूर्वाधार विकास कार्यालय मनाङका प्रमुख जय विष्टले बताए। “सदरमुकाम चामे, नासाें गाउँपालिका क्षेत्रमा केही कार्यनिर्माण भइरहेको छ । तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा पूर्वाधारको कार्य रोकिएको छ”, उनले भने।

चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न नसकिएको विष्टले बताए। “हिमपात नै नभए पनि चिसोले माथिल्लो मनाङतर्फको पूर्वाधार निर्माणका काम गर्न कठिन छ। यहाँको काम वर्षमा जम्माजम्मी तीन महिना मात्रै गर्न पाइन्छ”, विष्टले भने।

मनाङको मेरुदण्डको रुपमा रहेको चामे–बेँसीशहर सडक खण्डको निर्माणकार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उनले बताए। प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको उनले बताए। यससडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ।

मनाङको सहज यातायातका लागि सरकारले विशेषरुपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनीयोजन गर्दै आएको छ। विपदग्रस्त जिल्लालाई समावेश गरेर सङ्घ सरकारमार्फत विपद व्यवस्थापन विभागबाट रु तीन करोड १४ लाख बजेट विनियोजन भएपछि तालगाउँको संरक्षणको लागि तटबन्धन निर्माणको काम भने भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ। मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ। निर्माणकार्य सकिने अवस्थामा जाडो मौसमले गर्दा केही ढिलाइ हुने भएको जनाइएको छ।

हिमाल कालापत्थर

हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन्। हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नहुँदा पग्लिएर नाङ्गिन थालेका छन्। पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यसवर्ष हिमपात हुन नसक्दा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन्।

जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ। हिमपात नभएपछि हिमालको हिउँ पग्लिएको छ। हिउँ पग्लिएपछि हिमाल नाङ्गिँदै गएका छन्। पछिल्लो वर्षमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ। मौसम फेरिएर पुस–माघमा हिउँ नपर्ने र फागुन–चैतमा हिउँ पर्ने अवस्था आएको छ। हिउँ नपरेपछि यतिबेला अन्नपूर्ण दोस्रो, तेस्रो, चौंथो, चलु फरेस्ट, हेम्लुङ, मनास्लु, निलगिरि, तिलिचो पिक, थोराङ पिकलगायतका हिमाल रङ उडेझै फिक्का देखिन थालेका छन्।

मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना मनाङका प्रमुख लेखनाथ गौतमले बताए। उनका अनुसार समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाडजस्ता देखिन थालेको र जङ्गली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको छ।

पर्यटक घटे

हिमाली जिल्लामा समेत हिमपात नभएपछि हिउँ खेल्न आउने पर्यटक घटे। विगतका वर्षमा हिमपात हुनासाथ मनाङ आउने पर्यटक यसवर्ष आउने वातावरण बनेन। “हिउँ परे हिमाल सेताम्मे हुन्थे, हिमपातपछि मौसम खुल्थ्यो, अहिले दिनहुँ हुस्सु मात्रै छ, हिमाल पनि हिउँविहीन देखिन थालेका छन्, मौसम यसरी नै बिग्रदै जाने हो भने हिउँदमा हिमपात नै नहुने हो कि भन्ने कौतुहलता बढेको छ”, पर्यटन व्यवसायी सङ्घ मनाङका अध्यक्ष विनोद गुरुङले भने।

गतवर्ष पुस पहिलो साता नै हिमपात भएपछि हिउँ खेल्नका लागि पर्यटकको उल्लेख्य आगमन भएको उनले बताए। यस वर्ष हिउँ नपरेपछि पर्यटन व्यवसायसमेत प्रभावित बनेको उनको गुनासो छ। “हिउँ खेल्न पर्यटक खचाखच हुन्थे, हिमपात नभएपछि सबै होटल सुनसान छन्, सुक्खा जाडोको कारण नेपाली पर्यटक पनि घुम्न आउन छाडेका छन्”, उनले भने। हिउँ नपरे पनि चिसो भने अत्यधिक बढेपछि जनजीवन प्रभावित बनेको छ।

हिमपात भएपछि भने यहाँका पर्यटकीयस्थलमा पर्यटक भरिभराउ हुने गरेका थिए। जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जङ्गली फूलहरूमा पनि देखिन थालेको छ। चैत–वैशाखमा फूल्ने लालीगुराँस यसवर्ष पुसदेखि नै फुलेको देखिएको छ।

जङ्गलमा लालीगुराँस पुसमै फुलेपछि स्थानीय अचम्मित बनेका छन्। “मौसम परिवर्तन हुँदै गएको छ, भारी वर्षा र भारी चिसोको समस्या हरेक वर्ष बढ्दो छ, पानी र हिउँ समयमा पर्दैन, वनका फूल बेमौसममा फुल्न थालेका छन्, यो नै जलवायु परिवर्तनको प्रत्यक्ष प्रभाव भएको विज्ञहरु बताउँछन्।रासस

स्कटल्याण्ड विरुद्ध नेपालको उत्कृष्ट बलिङ, २१३ रनको लक्ष्य प्राप्त

बुटवल । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा स्कटल्यान्ड विरुद्ध नेपालले उत्कृष्ट बलिङ गरेको छ । स्कटल्याण्डलाई नेपालले ४६ ओभर १ बल खेल्दै २१२ रनमा समेटेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालविरुद्धको खेलमा स्कटल्यान्डका जर्ज मुन्सीले अर्धशतक पूरा गर्दै सर्वाधिक ६० रन बनाए ।

उनले ५० बलको सामना गर्दै ९ चौका र २ छक्का प्रहार गरे । यस्तै, म्याथ्यु क्रसले ४ चौका र १ छक्का प्रहार गर्दै ४२ रन जोड । ब्रेन्डन म्याकमुलेनले ४८ बलमा ३ चौकासहित ३१ रन बनाए । यसैगरी, ओपनर काइल कोएत्जर र क्रिस्टोफर म्याकब्राइडले समान २२–२२ रनको योगदान गरे । नेपालको कसिलो बलिङकासामू अन्य ब्याटरहरुले भने दोहोरो अंकको रन जोड्न सकेनन् । कप्तान रिची बेरिङटोन र माइकल लिस्क शून्य रनमा आउट भए भने टोमस म्याकिन्टसले १ रन बनाए ।

नेपालका सन्दीप लामिछानेले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै चार विकेट लिए । उनले एकै ओभरमा लगातार दुई विकेट लिएका थिए । योसँगै लामिछानेले जारी सिरिजमा १४ विकेट पूरा गरेका छन् । यस्तै, करण केसीले २ विकेट लिँदा ललित राजबंशी र कुशल मल्लले १–१ विकेट लिए । १ विकेट दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए ।

केहीबेरमा नेपालले जवाफी ब्याटिङ गर्ने छ । स्कटल्यान्डको लिग टु सिरिजमा यो अन्तिम खेल हो। नेपाललगातार चौथो जित हात पार्दै घरेलु भूमिमा शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ । यसअघि पहिलो खेलमा नेपालले स्टकल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।

नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेपछि शीर्ष तीनमा रहने सम्भावना पनि बढेको छ । यदि आज हार टारे नेपाल लिग टु सिरिजमा घरेलु भूमिमा चारै खेल जित्ने पहिलो टोली बन्ने छ । यस्तै स्कटल्यान्डलाई लिग टु को पुरै सिरिजमा कुनैपनि टिमले लगातार दुई खेलमा हराउन सकेको छैन ।

हिजो (सोमबार) भएको खेलमा स्कटल्यान्डसँग नामिबिया पराजित भएपछि त्यसको फाइदा पनि नेपाललाई पुगेको छ । लिग टु च्याम्पियन स्कटल्यान्ड अन्तिम खेल जित्दै ट्रफी उचाल्न चाहन्छ । स्कटल्यान्डलाई लिग टुको ट्रफी आजै प्रदान गरिनेछ । नेपाल २७ खेलबाट २४ अंक जोड्दै तालिकाको छैटौँ स्थानमा छ । लिग टुका बाँकी ९ मध्ये ६ मा जित हात पारे नेपालको ओडिआईले निरन्तरता पाउनेछ ।

राष्ट्रपति पदमा काँग्रेसले जित्नुपर्छ : कोइराला

सिन्धुली । नेपाली कांग्रेस नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताउनुभएको छ । प्रेस युनियन सिन्धुलीले आज सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रपति पद कांग्रेस समर्थकले जित्ने जिकिर गर्नुभएको हो । पार्टीमा सहमति हुने र तत्काल राष्ट्रपति पदको उम्मेदवार हुने यही नै बेला हो भन्ने नआइसकेको उहाँको भनाइ थियो  ।

नेता कोइरालाले भन्नुभयो, “राष्ट्रपतिको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्रमुख भूमिका रहन्छ, हामीले माओवादीका नेताहरूसँग सल्लाह र घनिभूत छलफल गरिरहेका छौँ, नेपाली काँग्रेसले उक्त पदमा उम्मेदवार दिन्छ र त्यो उम्मेदवारले जित्छ तपाईँ ढुक्क हुनुस् ।” दल बाहिरको व्यक्ति राष्ट्रपति पदको उम्मेदवार भए राष्ट्रिय सहमति निकाल्न सकिने पनि उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “एक वर्षमा हुनुपर्ने पार्टीका काम हुनसकेका छैनन्, सङ्गठनलाई मजबुत बनाउन सकिएन भने आगामी निर्वाचनको नतिजा अर्कै हुनेछ त्यसैले पार्टीलाई बलियो बनाउनु पर्दछ ।” लोकतन्त्रलाई बलियो बनाउन काँग्रेसले जनतासँग सहकार्य गर्नुपर्ने र देशको विकास तथा  समृद्धिका लागि हरेक विषयमा जनतालाई जोडेर लगे लोकतन्त्र सुदृढ, सुशासन, पारदर्शिता हुनाका साथै  दलप्रति जनताको विश्वास रहने नेता कोइरालाको भनाइ थियो  ।रासस