९ फाल्गुन २०७९, मंगलवार १२:१७ – Page 6 – Nagarikabhiyan : National News

साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत दुई वर्ष देखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मंगलबार बिहान कार्कीका बुबा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले उक्त प्रतिवद्धता गरेका हुन् । सोक्रममा प्रधानमन्त्री प्रचण्डले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराए ।

वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ । विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठूलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हितअनुकूल परिचालन गर्न सरकार प्रतिवद्ध छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

धनकुटा जिल्लाको चौबिसे गाउँपालिका–४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लंघन गरेको कसुरमा साउदी जेलमा रहेका छन् ।

ॐ नम: शिवायमा गायिका इन्दिरा जोशी फरक अवतारमा

काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीको ॐ नम: शिवाय बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  गायिका इन्दिराकै शब्द तथा संगीत रहेको ॐ नव: शिवायको एरेन्ज सक्षम श्रेष्ठले गरेका हुन् ।

युवापुस्ताहरुलाई लक्षित गरेर बनाइएको गीतको शैली नयाँ छ । जुन अन्तर्राष्ट्रियस्तरमा पनि प्रचलित भएको इन्दिरा बताउँछिन् । पशुपतिनाथ मन्दिर परिसरमा छायांकन गरिएको सार्वजनिक भिडियोमा  इन्दिरा अहिलेसम्मकै भिन्न अवतारमा जय शम्भो भोले जय जय भन्दै देखापरेकी छिन् । जसको भिडियोमा पनि नयाँ प्रयोग गरिएको छ ।

३ मिनेट लामो भिडियोमा इन्दिराले भगवान शिवको महिमाको वर्णन गरेकी छिन् । इन्दिरा आफू कलाकारितामा लाग्नु अघिदेखि नै शिवको भक्त रहेको बताउँछिन् । गौरव बिष्ट र झोलेको  छायांकन, गौरव बिष्टकै सम्पादन तथा मिन रावलको कलरिङ रहेको भिडियोको निर्देशन सक्षम श्रेष्ठले गरेका हुन् । भिडियो इन्दिरा जोशी अफिसियलबाट बजारमा आएको हो ।

विज्ञान र प्रविधिमा लगानी नगरी नेपालको विकास असम्भव

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विज्ञान र प्रविधिको विकास नभईकन नेपालको विकास हुन नसक्ने बताएका छन् ।आज बालुवाटारस्थित निवासमा आविष्कार केन्द्रका प्रमुख महावीर पुन सँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन् ।

‘वैज्ञानिक आविष्कारको क्षेत्रलाई अगाडि नबढाइकन नेपालको विकास हुँदैन, नेपाल स्वतन्त्र भएर आत्मसम्मानको साथ बाँच्ने अवस्थातिर जाँदैन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ, जसले गर्दैन त्यो टिक्दैन ।’विज्ञान प्रविधिको विकासका लागि विद्यमान ऐनमा देखिएका समस्या समाधान गर्ने आश्वासनसमेत उनले दिएका थिए ।

राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख पनले विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी हुनुपर्ने बताएका थिए । उनले कृषि, शिक्षा, ऊर्जा, पर्यटन, स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपाल निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा राष्ट्रिय योजना आयोगका अध्यक्ष मीन बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका विज्ञान प्रविधि विभाग प्रमुख गणेश साह, महासचिव देव गुरुङलगायत सहभागी थिए ।

पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एककाे मृत्यु

चितवन । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन् ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो ।  बिहान ६ बजेको समयमा तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा पाँच जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा बाघको आक्रमणबाट एक , हात्तीको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट तीन  रहेको उनले जानकारी दिए ।

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज मंगलबार घटेर १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन मंगलबार १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार तोलामा १२९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

देवानगंजमा होटल म्यानेजमेन्ट सम्बन्धी कार्याशाला सम्पन्न

देवानगंज । सुनसरीको देवानगंज गाउँपालिकाले एकदिने होटल म्यानेजमेन्ट सम्बन्धी कार्याशाला सम्पन्न भएको छ ।

देवानगंज गाउँपालिकाको आयोजना तथा अर्गन होटल स्कुलको सहकार्यमा भएको कार्याशाला सम्पन्न भएको हो । गाउँपालिका भित्रका विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूलाई कार्याशालामा सहभागी गराइएको गाउँपालिकाका अध्यक्ष वेचन प्रसाद मेहताले बताए । यसबाट
विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यवहारीक ज्ञानमा पनि सरिक गराउन कार्यशाला संचालन गरिएको उनको भनाई छ ।

कार्यशालामा विद्यार्थीहरूलाई अमित कुमार महतोले प्रशिक्षण दिएका थिए । कार्यक्रमको प्रमुख अथितिति सुनसरी क्षेत्र नं. २ (ख) का प्रदेशसभा सांसद रामप्रसाद मेहता, अथितितिहरुमा शिक्षक उमेश मेहता, इन्द्रेव गुप्ता, कृष्णवल्ब मेहता, जसपाका प्रदेश उपाध्यक्ष, राकेश मेहता लगायत देवानगंज गाउँपालिका भित्र रहेका कक्षा १० विद्ययार्थी शिक्षकहरुको सहभागिता रहेको थियो ।

 

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री

काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।

कास्कीको लेखनाथमा आज आयोजित पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनशक्तिको विदेश पलायन रोक्न सम्वद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईँहरूबिच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु । विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईँहरूको काँधमा पनि छ ।”

उहाँले सङ्घीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताउनुभयो । “सरकारको यस प्रयासमा यहाँहरूलगायत सम्पूर्ण शैक्षिक जगतको महत्वपूर्ण सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु ।”

प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहने बताउनुभयो ।  शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावको उच्च बौद्धिक सक्रियता, सकारात्मक  तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले उल्लेखित लक्ष्य हासिल गर्न सकिनेछ भन्ने आफूले विश्वास लिएको उहाँको भनाइ थियो । रासस

मोरङमा बोराभित्र हालेको अवस्थामा भेटियो महिलाको शव

विराटनगर । मोरङको बुढीगंगा-२ अमाहिमा १ जना महिलाको शव भेटिएको छ । पहिचान नखुलेको अन्दाजी ३५ वर्षीया महिलाको हत्या गरेको अवस्थामा शव भेटिएको हो ।

स्थानीय नरसिंह चौधरीको घरमा बोराभित्र हालेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीका बहादुर कार्कीले जानकारी दिए । अहिले घटनास्थलमा मोरङ प्रहरीका डिएसपी रञ्जन कुमार दाहालको नेतृत्वमा टोली परिचालन भएको छ । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको छ ।

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण

काठमाडौँ । उत्तर कोरियाले आज दुईवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । प्योङयाङले रणनीतिक आणविक आक्रमण गर्न आफू सक्षम रहेको दाबी गर्दै परीक्षण गरिएका क्षेप्यास्त्र शत्रुका सबै हवाई अखडालाई ध्वस्त पार्ने क्षमताका भएको बताएको छ ।

अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको जवाफमा शनिबार प्योङयाङले आफ्नो सबैभन्दा शक्तिशाली अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपण गरेको ४८ घण्टामा दोस्रो पटक क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । जापानको रक्षा मन्त्रालयले आज प्रक्षेपण गरिएका दुवै मिसाइल ५० देखि एक सय किलोमिटरको उचाइमा उडेका जनाउँदै आफ्नो विशेष आर्थिक क्षेत्र बाहिर खसेका बताएको छ । जापानका प्रधानमन्त्री फुमियो किसिदाले क्षेप्यास्त्र प्रक्षेपणबारे राष्ट्रसङ्घीय सुरक्षा परिषद्को आपत्कालीन बैठकका लागि अनुरोध गर्नुभएको छ ।

दक्षिण कोरियाका प्रधानसेनापतिले प्रक्षेपणलाई गम्भीर उत्तेजना भन्दै त्यसको निन्दा गरेका छन् । साथै उनले त्यस्ता गतिविधि तत्काल रोकिनुपर्नेमा जोड दिएका छन् । दक्षिण कोरियाली विदेश मन्त्रालयले प्योङयाङको हतियार कार्यक्रमसँग सम्बन्ध भएका चार व्यक्ति र पाँच संस्थामाथि प्रतिबन्धको घोषणा गरेको छ । सुरक्षा विश्लेषकहरूका अनुसार छोटो दूरीका क्षेप्यास्त्र परीक्षण गरेर उत्तर कोरियाले हिन्द–प्रशान्त क्षेत्रका अमेरिकी सैन्य अखडा र दक्षिण कोरियाली कमाण्ड सेन्टरलाई निशाना बनाएको बताएका छन् ।

भारतीय दूतावासद्वारा डायलासिस उपकरण हस्तान्तरण

काठमाडौं । भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ। आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गरेका हुन्।

राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताए। उनले उपलब्ध डायलासिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गरे।

उनले भने, “यी मेसिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने विश्वास दूतावासको छ। नेपाल र भारत सरकारको सहकार्यमा विकासका काम भइरहेका छन्, सोही क्रममा नेपाल भारतमैत्री ट्रमा अस्पताल, बिपी कोइराला अस्पताल र विभिन्न परियोजनाले नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगको काम भइरहेको छ।”

उनका अनुसार सन् २००३ देखि साना परियोजनामार्फत भारत सरकारले नेपालमा सामुदायिक अस्पताल, स्वास्थ्य उपकरण र औषधि उपलब्ध गराउँदै आएको छ। उनले अहिले भारत सरकारले सिरहादेखि सिन्धुलीसम्म विभिन्न १० प्रकारका परियोजनामार्फत काम गरिरहेको बताए।

“भारत सरकारले नेपाल सरकारलाई विभिन्न समयमा नौ सय ५० एम्बुलेन्स उपलब्ध गराएको छ। छिटै थप एम्बुलेन्स उपलब्ध गराई एम्बुलेन्सको सङ्ख्या एक हजार पुर्‍याउनेछौँ”, उनले भने। मन्त्री गिरीले भारत सरकारबाट उपलब्ध भएको सहयोगप्रति आभार प्रकट गरे।

उनले भने, “धेरै मिर्गौला बिरामीले समयमा डायलासिस सेवा पाउन सकेका छैनन्। भारत सरकारले उपलब्ध गराएको उपकरणलाई आवश्यक ठाँउमा पुर्‍याउँछौँ र यसले बिरामीलाई सहज उपचारमा सहयोग पुग्नेछ।”

उनले भारत सरकारले भूकम्पको समयमा र कोभिड–१९ महामारीको समयमा गरेको सहयोगको प्रशंसासमेत गरे। “भारतको ‘छिमेकी प्राथमिकता नीति’ नेपालका लागि खुसीको कुरा हो, भारतीय सरकारको सहयोग निकै उल्लेखनीय छ”, उनले भने।

दूतावासले दुई सय थानमध्ये कार्यक्रममा २० वटा उपकरण उपलब्ध गराएको हो। बाँकी उपकरण छिट्टै नेपाल भित्रिने दूतावासले जानकारी दिएको छ। उपलब्ध उपकरणलाई आवश्यकताअनुसार विभिन्न अस्पतालमा वितरण गरिने मन्त्रालयकी सचिव देविकुमारी गुरागाईंले जानकारी दिए।

दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाउने तयारी

काठमाडौं । उद्योगीहरुले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाउन प्रस्ताव गरेका छन्। दूधको मूल्य बढाउनका लागि दुग्ध विकास संस्थान, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ र केन्द्रीय दुग्ध सहकारी संघको आग्रह अनुसार राष्ट्रिय दुग्ध विकास बोर्डले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई प्रस्ताव राखेको छ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यबाहक कार्यकारी डा.बालक चौधरीले अहिले आफूहरुले मूल्य बढाउनका लागि मन्त्रालयलाई सिफारिस गरेको र मन्त्रालयले निर्णय गरेपछि मूल्यवृद्धि लागू हुने बताए। ‘हामीले १० रुपैयाँ बढाउने भनेर कुषि तथा पशुपंक्षी मन्त्रालयलाई प्रस्ताव राखेका छौँ। अब मन्त्रालयले स्वीकृति दिएपछि दूधको मूल्य बढ्छ,’ उनले भने।

महाशिवरात्रिका लागि पशुपति आएका साधुसन्तको बिदाइ गरिँदै

काठमाडौँ I महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

कम्तीमा पनि चार हजारभन्दा बढी साधुसन्तको एकै साथ बिदाइ गरिने कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शिवरात्रिका लागि पशुपतिनाथमा आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहित रु पाँच सयदेखि ८ हजारसम्म दक्षिणा दिइन्छ । भारतलगायत विभिन्न देशबाट आएका साधुसन्तलाई पशुपति क्षेत्र विकास कोष र गुठी संस्थानले परम्पराअनुसार बिदाइ गर्ने चलन छ ।

साधुसन्तको दक्षिणाका  लागि रु आठ लाखदेखि १० लाखसम्म छुट्टाइएको कोषले जनाएको छ । यसपाली पशुपतिनाथमा आउने साधुसन्तको सङ्ख्या बढेको कोषले जनाएको छ ।

यसैगरी महाशिवरात्रिका अवसरमा पशुपतिनाथमा सङ्कलन भएको भेटिको गणना कार्य पनि आइतबारबाट सुरु भएको कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार गणना सक्न अझै पाँच–छ दिन लाग्नेछ । यही फागुन ६ गतेको महाशिवरात्रिमा कम्तीमा १५ लाख भक्तजन पशुपति मन्दिर पुगेका र सात लाख जनाले मूल मन्दिरको नै दर्शन गरेका पशुपति क्षेत्र विकास कोषका परिषद् सदस्य पूर्णसङ्गम जेठाराले जनाकारी दिनुभयो ।रासस

५३ किलो गाँजासहित २ जना पक्राउ

चितवन । चितवनबाट ५३ किलो गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय अर्जुन दर्जी र एक जना नाबालक रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गएराति राप्ती नगरपालिका–१ लोथरमा जाँचका क्रममा पिप्लेबाट लोथर जाँदै गरेको वा ३ च २५०४ नम्बरको गाडीमा लैजाँदै गरेको गाँजा बरामद गरिएको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रही कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।

सुरक्षाकर्मी र कर्मचारीकै मिलोमतोमा सीमानाकामा तस्करी

सिरहा । सिराहामा प्रहरी प्रशासनकै सेटिङमा व्यापक चोरी, तस्करी हुँदा भन्सार कार्यालयले लिएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको छ । प्रहरी प्रशासन, भन्सारका कर्मचारी र तस्करबीचको  मिलेमतोमारु तस्करले ल्याएको सामानमध्ये केहीे सामानको मात्र राजस्व तिर्ने र बाँकीको   राजस्व नै नतिरी भित्र्याउने गरेकाले चालु आर्थिक वर्षका लागि लिइएको लक्ष्यको १८ प्रतिशत मात्र राजस्व उठेको हो ।

जिल्लाको माडर, औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटो प्रयोग गरी यस क्षेत्रमा व्यापक चोरी तस्करी बढेपछि भन्सार कार्यालय माडरको राजश्व असुली अवस्था निरन्तर खस्किँदै गइरहेको देखिएका छन् ।

सिरहा भन्सार कार्यालय माडर खैरटोका, सिराहाले चालु आर्थिक वर्ष २०७९÷०८० को साउन महिनामा एक करोड ३३ लाख ५५ हजार लक्ष्य रहेकोमा लक्ष्यको २३ प्रतिशत ३० लाख ७४ हजारमात्र राजश्व रकम असुली गरेको देखिन्छ ।

त्यस्तै भदौ महिनामा एक करोड ६६ लाख ५ हजार लक्ष्य लिएकोमा लक्ष्यको २० प्रतिशत ३३ लाख ० हजार, असोज महिनामा एक करोड ६७ लाख ८ हजार लक्ष्य रहेकोमा लक्ष्यको २७ प्रतिशत ४४ लाख ५३ हजार, कात्तिक महिनाको एक करोड ५९ लाख ४७ हजार लक्ष्यको ३० प्रतिशत ४७ लाख ८० हजार, मंसिर महिनाको एक करोड ६ लाख २२ हजार लक्ष्यको २५ प्रतिशत ४२ लाख ८ हजार र पुस महिनाको एक करोड ७७ लाख ७२ हजार लक्ष्यको ५७ प्रतिशत एक करोड २ लाख ११ हजार मात्र राजश्व असुली भएको र माघ महिनामा १ करोड ७० लाख ३८ हजार लक्ष्य लिएको भन्सार कार्यालयले लक्ष्यको ३८ प्रतिशत रकम मात्र असुली गरेका छन् ।

भन्सार कार्यालय माडर खैरटोकाले ७ महिनामा लिएको वार्षिक लक्ष्य जम्मा १९ करोड ९५ लाख ४६ हजारमा कुल रकमको १८ प्रतिशत अर्थात ३ करोड ५ लाख ८८ हजार रुपैया राजस्व मात्र असुली भएको सिरहा भन्सार कार्यालय माडर खैरटोकाका सूचना अधिकारी नायब सुब्बा गोपाल महतोले जानकारी दिए ।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको तथ्यांकले नै सिरहा जिल्लामा तस्करी भइरहेको पुष्टि गर्छ । तस्करहरुले सीमानाकामा बस्ने सुरक्षाकर्मी र भन्सार प्रमुख लगायतका कर्मचारीहरुलाई एकमुस्ठ रुपमा मोटो रकम तिरेर नाकाहरुको वरिपरि राखिएको गोदाममा भण्डारण गर्ने र रातभरि निर्धक रुपमा प्रहरी प्रशासनकै आखा अगाडिबाट तस्करी गर्ने गरेको स्थानीयहरु बताउँछन् ।

सीमानाका तस्करीको विशेष निगरानी गर्न खटाइएका सशस्त्र प्रहरी, नेपाल प्रहरीले नै तस्करसंग नजराना लिई  तस्करीको संरक्षणतर्फ आकर्षक रहेको नाम नखोल्ने सर्तमा एकजना तस्करले बताए । उनले भने, ‘प्रहरी प्रशासनलाई मासिक रुपमा आफूहरुले लाखौं रुपैयाँ बुझाएर मात्र मालसमान ओसार पसार गर्ने गरेको बताएका छन् ।

सीमानाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लै उपस्थिति रहे पनि प्रहरीको आँखा अगाडिबाटै तस्करले भन्सार राजश्व छली गरी निर्धक्क मालसामान वारपार गर्ने गरेको स्थानीयहरु बताउँछन्।

जिल्लाको माडर,औरही, बरियारपट्टी नरगी, कुसन्डी, झाझपट्टी, चतरी, कल्याणपुर, पटेर्वा लगायतका नाका तथा चोरबाटोहरु प्रयोग गरी तस्करहरुले रातीको समयमा चिनी, कपडा, मोटरपार्टस्, किरानाको सामान, ग्यास चुल्हो, पान मसाला, सुर्तीजन्य पदार्थ(रजनीगन्धा, गुटखा) भन्सार राजश्व छली गरी वारी (नेपाल ) भि¥याउने र वारि(नेपाल)बाट व्यापक रुपमा मदिरा, चाइनिज स्याउ, सुपारी लगायतका सामग्रीहरु पारी (भारतीय बजार )पु¥याउने गरेको नाम नखाल्ने सर्तमा एकजना स्थानीयले सुनाए ।

उनले थपे, ‘यस क्षेत्रबाट रातभरी प्रहरी प्रशासनकै सेटिङमा भारतीय बजारबाट मालसमान ल्याएर टेम्पो, पिकअप र मोटरसाइकल मार्फत सिरहा सदरमुकाम लगायतका बजारहरु  मिर्चैया ,गोलबजार,लाहान, लगायतको वजार सम्म ल्याइन्छ ।’
सुरक्षाकर्मीले नै तस्करहरुलाई ‘लाइन क्लियर’ रहेको संकेत गरेपछि उनीहरुले अन्धाधुन्द सामान ढुवानी गर्न सुरु गर्छ उनले सुनाए । प्रहरीलाई खबर गरे पनि बेपत्ता गरेको उनले गुनासो पोखे ।

जिल्लामा चोरी तस्करी भइरहेको विषयमा जिज्ञासा राख्दा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेक्वा सिरहाका प्रमुख प्रमोद भारतीले आफू आएलगतै सम्पूर्ण सीमानाकामा कडाका साथ खटिन र तस्करी नियान्त्रण गर्न निर्देशन गरिसकेको दाबी गरे ।

‘म आएको पनि २० दिन मात्र भएको छ, आएलगतै चोरी तस्करी नियन्त्रणमा खटिरहेका छौं,’ उनले थपे, ‘चोरी तस्करीमा हाम्रो युनिटको कुनै किसिमको संग्लनता भए काडा कारबाही गर्छाैँ ।’

चोरी निकासी र राजस्व छलिका विषयमा जिल्ला प्रहरी कार्यालयका प्रमुख ‘एसपी’ टेकु नन्द लिम्बूसँग सम्पर्क गर्दा उनले आफू मिटिङमा रहेको जवाफ दिएपछि कुरा हुन सकेन । यता भारतीय बजारबाट भन्सार छलि गरी ल्याइएका सामान भण्डारण गरिने लहान, सिरहा, मिर्चैया र गोलबजारका गोदामबारे स्थानीयबासी जानकार रहे पनि  प्रहरी बेखवरझँै बसेका छन् ।

आजदेखि १५ दिने मिथिला माध्यमिक परिक्रमा सुरु

जनकपुरधाम । मिथिला मध्यमिक परिक्रमा आजदेखि सुरु भएको छ। धनुषाको मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी कुटीबाट डोला निस्किएसँगै १५ दिने १३३ किलोमिटरको परिक्रमा यात्रा सुरु भएको हो।

परिक्रमा यात्राको सुरुआतमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मिथिला बिहारीको डोला काँधमा बोकेका थिए। त्रेता युगदेखि जनकपुरधामस्थित सुन्दर सदन कुटीबाट किशोरीजी र कचुरीबाट मिथिला बिहारीको डोलासँगै १५ दिने मिथिला माध्यमिक परिक्रमा हुँदै आएको छ।

नेपालकै सबैभन्दा लामो १५ दिने मिथिला मध्यमिक परिक्रमाका क्रममा श्रद्धालु नेपाल र भारतका १५ धार्मिक स्थानमा पुग्ने गर्छन्। सोमबार कचुरीबाट निस्किएको परिक्रमाका यात्रु साँझसम्म जनकपुरधामको हनुमानगढीमा पुगी विश्राम गर्नेछन्।

फागुन शुक्ल औँसीको दिन कचुरीबाट निकालिएको डोला हनुमानगढीमा विश्राम गरेर मंगलबार भारतको कल्याणेश्वर जानेछ। हनुमानगढीबाट निस्किएपछि मिथिला मध्यमा परिक्रमाको औपचारिक सुरुआत हुन्छ। श्रद्धालुले नेपालका धार्मिक तथा ऐतिहासिक ठाउँहरूको १०७ र भारतको २६ गरी १३३ किलोमिटर भूभागको परिक्रमा गर्ने गर्छन्।

मिथिला मध्यमा परिक्रमा हनुमानगढी, भारतको कल्याणेश्वर, गिरिजास्थान, महोत्तरीका मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, धनुषाका पर्वता, धनुषाधाम, सतोखर र औरही पुग्ने गरेका छन्। त्यसपछि भारतको करुणा, विशौललगायत धार्मिकस्थल हुँदै १४औँ दिनमा जनकपुरधाम फर्कने छन्।

त्यसपछि एक दिन जनकपुरधाममा विश्राम गरी भोलिपल्ट अन्तगृही घुमेपश्चात् परिक्रमा सम्पन्न हुन्छ। यी सबै विश्रामस्थलको आफ्नै विशेषता छ। महोत्तरीको कञ्चनवन पुगेर श्रद्धालु भव्य रूपमा होली खेल्ने परम्परा छ। त्यही दिनदेखि तराईमा होलीको सुरुआत हुन्छ।

ब्राजिलमा भीषण बाढी–पहिरो: ३६ जनाको मृत्यु

साओ पाउलो । ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ।

बाढी पहिरोबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन्। उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ। उबातुबा शहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन्।

साओ पाउलो शहरको उत्तरी तटीय क्षेत्रमा दुई सय २८ जना घरबारविहीन भएका तथा ३२८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। अधिकारीहरूले बाढीपहिरामा हराएका तथा घाइते भएकाहरूका बारेमा जानकारी दिएका छैनन्।

साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती पाँच शहरमा आपत्‌काल घोषणा गरेका छन्। साथै उनले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर निकासा गरेका छन्। राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने भएका छन्।

जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिका कारण ब्राजिलमा अकल्पनीय प्रभाव परिरहेको छ। गत वर्षको मुसलधारे वर्षाका कारण पेट्रोपोलिस शहरमा दुई सय ३० जनाभन्दा बढीको मृत्यु भएको थियो।