८ फाल्गुन २०७९, सोमबार १२:२९ – Page 7 – Nagarikabhiyan : National News

जीवन विकास लघुवित्तले लाभांश वितरण घोषणा

काठमाडौं । जीवन विकास लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समिति बैठकले ३७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषण गरेको हो ।

कम्पनीको गत वर्षको नाफाबाट २८ प्रतिशत बोनस सेयर र करसहित  ९.३७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । लघुवित्तले ७० प्रतिशत बोनस सेयर र ३.६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सञ्चालक समितिको निर्णय नियामक लगानीकर्तालाई उक्त लाभांश वितरण गर्नेछ ।

लुम्बिनी प्रदेशका कृषि मन्त्री भण्डारीलाल अहिरले लिए सपथ

बुटवल । लुम्बिनी प्रदेश सरकारका मन्त्री भण्डारीलाल अहिरले पद गोपनियताको सपथ ग्रहण गरेका छन् । उनलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरेचनले कृषि तथा भूमि सुधार मन्त्री नियुक्त गरेका थिए । एक साताअघि कृषिमन्त्री बनेका तुल्सीराम शर्मालाई मुख्यमन्त्रि कार्यालयमा लगेर जसपाका अहिरलाई मुख्यमन्त्री गिरीले मन्त्री गराएका हुन् ।

यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा एमालेले मुख्यमन्त्रीसहित ५ मन्त्रालय लिएको थियो । त्यसमध्येबाटै जसपा सरकारमा आएको अवस्थामा एमालेले लिएको मन्त्रालयबाटै दिने भन्ने सहमति गरिएको थियो । त्यहीअनुसार मुख्यमन्त्री गिरीले एमालेका कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मालाई मुख्यमन्त्री कार्यालयमै राखेर जसपाको चित्त बुझाएका हुन् ।त्यस्तै, मुख्यमन्त्री गिरीले माओवादी केन्द्रबाट यसअघि मन्त्री बनेकी कृष्णा केसीले पदवहाली अस्वीकार गरेपछि उनको पदवहाली नभएसम्म वा अर्को मन्त्री व्यवस्था नभएसम्मका लागि आन्तरिक मामिला, कानुन तथा सहकारीमन्त्रीको जिम्मेवारी खानेपानी, ग्रामीण तथा सहकारीमन्त्री चेतनारायण आचार्यलाई तोकेका छन् ।

मुख्यमन्त्री गिरीसँगै पुस २८ मा बिनाविभागीय मन्त्रीको शपथ लिएकी केसीलाई माघ २८ मा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो । उनले जिम्मेवारी अस्वीकार गर्दै पदवहाली गरेकी छैनन् ।लुम्बिनी प्रदेशमा अब ११ मन्त्री भएका छन् । यद्यपी मन्त्रालय भने १० वटै राखिने र एमालेबाट यसअघि कृषि मन्त्री बनेका तुल्सी शर्मालाइै मुख्यमन्त्री कार्यालय हेर्नेगरी विनाविभागीय रुपमा राखिने भएको हो ।

अस्पतालहरूमा डिजिटल प्रणाली सुरु गरिने

काठमाडौं । सरकारले केन्द्र र प्रदेशस्तरीय अस्पतालमा अनलाइन टिकेटिङसहितको डिजिटल प्रणाली सुरु गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरूमा अनलाइन टिकेटिङ, रेफरललगायत स्वास्थ्य सेवासँग सम्बन्धित सबै कार्यहरू डिजिटल प्रणालीमार्फत गर्ने जनाएको छ ।

यस्तै, अस्पतालमा इलेकट्रोनिक मेडिकल रेकर्ड प्रणाली पनि लागू गरिने भएको छ । संघ अन्तर्गतका अस्पतालहरूबाट प्रदान गरिने सेवाको शुल्कमा २०८० सम्ममा एकरूपता कायम गरिने मन्त्रालयले जनाएको छ ।

नेपालको राष्ट्रपतिका लागि एसडी मुनीले दिए सम्भावित ४ उम्मेदवारको नाम

काठमाडौं । भारतीय बुद्धिजीवी एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि सम्भावित ४ जनाको नाम सुझाएका छन्। नेपालमा भावी राष्ट्रपतिका विषयमा लिएर राजनीतिक सक्रियता बढिरहेका बेला उनले ट्विटरमार्फत् उपयुक्त पात्र भन्दै ४ जनाको सुझाएका हुन्।

आज बिहान उनले ट्वीटरमा लेखेका छन्, ‘नेपालमा सर्वसम्मतीबाट नयाँ राष्ट्रपतिको माग जायज छ। दवेन्द्रराज पाण्डे, प्रा बराल, दमन ढुंगाना, अनुराधा कोइराला जस्ता निर्दोष इमान्दारिता र राजनीतिक संवेदनशीलता भएका निष्पक्ष व्यक्तिहरू राजनीतिक वर्गले मान्न योग्य छन्।’सहमतिबाट राष्ट्रपति चयन गर्ने कुरा जायज रहेको बताउँदै उनले निर्दलीय व्यक्तित्व राष्ट्रपतिका लागि उपयुक्त हुने पनि उल्लेख गरेका छन्।

प्रधानमन्त्रीद्वारा पूर्व स्वास्थ्यमन्त्री श्रेष्ठको निधनप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व स्वास्थ्यमन्त्री डा. मधुराप्रसाद श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री प्रचण्डले पूर्वमन्त्री, बुद्धिजीवी एवम् मानव अधिकारकर्मी श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

‘पूर्व स्वास्थ्यमन्त्री, बुद्धिजीवी एवं अधिकारकर्मी डा. मधुराप्रसाद श्रेष्ठको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दछु’ प्रचण्डले लखेका लखेका छन् ‘ ‘डा.श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवार, आफन्तजन र शुभेच्छुकमा हार्दिक समवेदना प्रकट गर्दछु।’

मौन स्नान गरी मनाइयो सोमबारे औँशी

काठमाडौं । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँशी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँशी परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउँछन् ।

सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक सनातनी परम्परा रही आएको छ ।

माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दान लगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् भट्टराईले बताए ।

पर्वतबाट ३० करोडको सुन्तला निर्यात

पर्वत । जिल्लाको मुख्य निर्यातजन्य वस्तुको रुपमा रहेको सुन्तला उत्पादन यस वर्ष वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षका तुलनामा चालु आर्थिक वर्षमा झण्डै २५ प्रतिशतले उत्पादन वृद्धि भएको हो। कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष सुन्तला खेती गर्ने क्षेत्रफल र उत्पादन दुवै वृद्धि भएको छ। यस वर्ष जिल्लामा पाँच हजार मेट्रिक टन सुन्तला उत्पादन भएको छ। सोमध्ये चार हजार २५० मेट्रिक टन सुन्तला निर्यात भएको ज्ञान केन्द्रले जनाएको छ।

गत कात्तिकको अन्तिम सातादेखि माघ महिनाको अन्तिम सातासम्म जिल्लाका सुन्तला निर्यात भएका छन्। जिल्लाको उच्च पहाडी क्षेत्रमा अवस्थिति बाँसखर्कवाट माघको अन्तिम सातामात्र सुन्तला बजार पठाइएको थियो। निर्यात भएका चार हजार दुई सय ५० मेट्रिक टन सुन्तलाबाट जिल्लामा २९ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले जानकारी दिइन्। पर्वतबाट औषतमा ७० रुपैयाँको दरले सुन्तला निर्यात भएका छन् । यहाँ उत्पादित सुन्तला पोखरा, काठमाडौं, नारायणगढ र बुटवलसम्म पुगेको थापाले बताइन्।

जिल्लामा अहिले ८३० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ। सो मध्ये पाँच सय हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ भने बाँकी क्षेत्रफलबाट आगामी वर्षदेखि उत्पादन दिन सुरु हुनेछ। उत्पादित सुन्तलामध्ये झण्डै १५ प्रतिशत सुन्तला कृषकले उपभोगमै खर्चिएको अनुमान छ। गत आर्थिक वर्ष ०७८/७९ मा पर्वतमा चार हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। गत वर्ष चार सय ५० हेक्टर क्षेत्रफलबाट मात्र उत्पादन भएको थियो भने यस वर्ष झण्डै ११ प्रतिशत बढी क्षेत्रफलबाट उत्पादन थप भएको वरिष्ठ कृषि विकास अधिकृत थापाले बताइन्।

यस वर्ष अनुकूल मौसम, रोग किराको प्रकोप कम र हावाहुरी, असिना पानीलगायतबाट कुनै क्षति नभएकाले सुन्तला उत्पादन वृद्धि भएको हो। पछिल्लो समय बाँझै रहेको खेतबारीमा सुन्तला लगाउने र स्थानीय तहहरुले पनि सुन्तला खेती गर्ने कृषकलाई प्रोत्साहन गर्न थालेपछि क्षेत्रफलमा वृद्धि हुँदै गएकाले बर्सेनि उत्पादन बढ्दै गएको छ।

“किसानले मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिना नपरेको कारण सुन्तला उत्पादनमा वृद्धि भएको हो,” उनले भनिन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पर्वतको जलजला र मोदी, महाशिला र पैँयु गाउँपालिकाका तथा फलेवास नगरपालिकाका विभिन्न वडालाई जोन र ब्लकको रुपमा विकास गरिएको छ । जिल्लामा सबैभन्दा बढी जलजला गाउँपालिकाको बाँसखर्कमा सुन्तला उत्पादन हुँदै आएको छ । यहाँको एउटै गाउँबाट झण्डै आठ करोडको सुन्तला निर्यात भएको छ।

त्यसैगरी लेखफाँट, माझफाँट, बनौ, कुश्मा नगरपालिकाको दुर्लुङ, मोदी गाउँपालिकाको बाजुङ, देउपुर, चित्रे, तिलाहार, महाशिला गाउँपालिकाको भोक्सिङ, होश्राङदी, पैँयु गाउँपालिकाको हुवास, त्रिवेणी, टकलाक, बिहादी गाउँपालिकाको बाच्छा, फलेवास नगरपालिकाको कुर्घा, पाङराङ, लिमीठाना र ठानामौलामा व्यावसायिक रुपमा सुन्तला खेती गरिँदै आएको छ। जिल्लाबाट निर्यात हुने मुख्य उत्पादित वस्तुमा सुन्तला नै परेको छ।

अन्य वस्तुको तुलनामा पर्वतबाट सुन्तला बढी मात्रामा बाह्य जिल्लामा निर्यात हुन थालेको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ। कृषकको बोटमै सुन्तला खरिद गर्न व्यापारी आउने भएका कारण सुन्तलाको बजारीकरणमा समस्या नरहेको देउपुरका कृषक दाताराम चापागाईले बताए।

भूकम्पपछि १० हजारभन्दा बढी सिरियाली शरणार्थी स्वदेश फर्किए

एजेन्सी । दक्षिणी टर्किएमा गएको विनाशकारी भूकम्पपछि कम्तीमा १० हजार ६३३ सिरियाली शरणार्थी स्वेच्छिक रूपमा स्वदेश फर्किएका छन्। टर्कीका रक्षामन्त्री हुलुसी अकारले भूकम्पमा परी आफ्नो परिवार र बासस्थान गुमाएका सिरियाली परिवार स्वेच्छाले आफ्नो भूमिमा फर्किएको बताएका छन् ।

मन्त्रीले उत्तरी सिरियामा पनि ठूलो भूकम्प गएपछि सिरियालीहरू टर्कीको सीमामा ओइरिएको आरोपलाई अस्वीकार गर्नु भएको अर्ध-आधिकारिक एनाडोलु एजेन्सीले उल्लेख गरेको छ । “यी दाबीहरू पूर्णतया असत्य छन्। सीमा रेखाबाट कुनै अप्रत्यासित आगमन भएको छैन।  हामीले सम्बन्धित अधिकारीहरूबाट जानकारी प्राप्त गरेर अनुसन्धान पनि गर्यौं तर त्यस्तो भएको होइन रहेछ ।” मन्त्रीले भने। सन् २०११ मा गृहयुद्ध शुरु भएपछि आफ्नो देशबाट भागेका झन्डै ३५ लाख सिरियाली शरणार्थीहरू टर्किएमा रहेका छन्। झन्डै आधा शरणार्थीहरू दक्षिणी टर्किएमा शरण लिएका छन् ।  हालै विनाशकारी भूकम्पले यस क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ।

फेब्रुअरी ६ मा टर्कीको दक्षिणी प्रान्त कहरामनमारासमा गएको ७.७ र ७.६ म्याग्निच्युडको भूकम्पपछि टर्किए र सिरियामा ४६ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ।

मदिरा नियन्त्रणको रकमले विद्यालय भवन निर्माण

बझाङ । मदिरा नियन्त्रणको रकमले पनि भवन बनाउन सकिन्छ भन्दा धेरैलाई विश्वास गर्न मुस्किल हुन्छ । धेरै ठाउँमा मदिरा नियन्त्रणका लागि दुई/चार हजार समितिले असुल गरेपछि नियमित सेवन गर्नेहरूको पनि भागा भाग हुन्छ । दोस्रो पटक जरिवानामा पर्नेहरू त धेरै नै कम हुन्छन् तर बझाङको साविकको दौलिचौर गाविस (अहिलेको सुर्मा गाउँपालिका–१) मा भने मदिरा सेवन गरेर जरिवाना तिर्नेलाई खासै छोएन । जति जरिवाना तिरे पनि सेवन गर्ने र बिक्री गर्ने कम भएनन् ।

जिल्लामै दौलिचौर गाविस सबैभन्दा बढी अशान्त भइरह्यो। नेपाल प्रहरीले पनि ४५ जनासम्म सुरक्षाकर्मी राख्यो। जिल्लामै चुनौतीको विषय बनेको मदिरा र हिंसा केही वर्षपछि मात्रै साम्य हुँदै गयो । विसं २०६७ दौलिचौरमा मदिरा अत्यधिक भएपछि नियन्त्रण समिति बन्यो । समितिले मदिरा बेच्ने, सेवनलाई चर्को जरिवाना तोक्यो। सुरक्षाकर्मीलाई जँडिया समात्ने जिम्मेवारी दिइयो । समितिका अध्यक्ष बने गोरखबहादुर बोहरा ।

उनको कार्यकालमा मदिराको जरिवानाबाट रु ३२ लाख सङ्कलन भयो । विसं २०६७ देखि २०७४ सालसम्म मदिरा नियन्त्रण समितिले दौलिचौरमा सङ्कलन गरेको रकम जम्मा गरेर दौलिचौर माध्यामिक विद्यालयलाई हस्तान्तरण गर्‍यो । उनी भन्छन्, “त्यसबाट २५ प्रतिशतअर्थात् आठ लाख जँडिया समातेबापत प्रहरीलाई दियौँ । बाँकी सङ्कलन भएको रकमले विद्यालयको पक्की भवन बनायौँ।”

उनका अनुसार जिल्लामै तत्कालीन सयममा मदिराको भण्डार दौलिचौरलाई मानिन्थ्यो। “जिल्लाभर अन्य ठाउँमा नपाइने मदिरा पनि दौलिचौरमा आउन थालेपछि हामीले मदिरा नियन्त्रण समिति बनायौँ,” उनी भन्छन्, “समितिले सुरूमा मदिरा नियन्त्रणका लागि प्रत्येक गाउँ गाउँमा अभियान नै चलायो तर, मदिरा रोकिएन। पछि अनिवार्य जरिवानाको नियम बनायौँ।”

मदिरासँगै क्यारेम, गुच्ची खेल्नेलाई पनि नियन्त्रणमा लिँदै जरिवाना तिराएको बोहरा सम्झन्छन्। मदिरा बेच्नेलाई रु २५ हजार, सेवन गर्नेलाई रु १० हजार, क्यारेमबोर्ड खेल्नेलाई रु १० हजार, गुच्ची खेल्नेलाई रु १५ सयका दरले जरिवाना गराएपछि सात वर्षमै रु ३२ लाख सङ्कलन गरेर त्यस रकमले विद्यालयको पक्की भवन बनाएको उनले बताए। मदिराले नियन्त्रणको जरिवानाबाट रु दुई लाख ५० हजारको विद्यालयमा मन्दिर र चौतारा, ३५ हजारको सोलार, २५ हजारको घेरबार, २० हजारको मन्दिरमा मूर्ति र घण्टीसहित दुई कोठे पक्की भवन बनाएको थियो ।

तत्कालीन दौलिचौर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलक बोहरा पनि मदिरा नियन्त्रणको पैसा धेरै नै उठेर भवन बनाएको बताउँछन्। “विद्यालयका भवन त्यसै रकमले मात्रै त होइन तर पनि त्यति ठूलो रकम सङ्कलन भएको हुँदा धेरै काम भयो,” उनी भन्छन् । विद्यालयका अन्य भवन बनाउनका लागि छ/सात वर्षमै दौलिचौरबाट रु ७० लाख चन्दा उठाएको उनले बताए। “अहिले त भवन नै बनेका छैनन्”, उनले भने, “त्यस बेलामा धेरै ठाउँबाट स्रोत जुटाएर ६ कक्षादेखि १२ कक्षासम्म सञ्चालन गरेका हौँ।” विद्यालयमा खानेपानी, शौचालय, घेरबारलगायतका काम स्थानीय सरकार आउनुअगावै बनाएको उनले बताए ।

पहिलेको तुलनामा अहिले दौलिचौर निकै शान्त छ । सुर्मा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रप्रसाद जोशीले भने, “म पहिलो स्थानीय सरकार बनेपछि आएको हुँ। पहिले निकै अशान्त भन्ने सुनिन्थ्यो । मदिराकै कारण हत्या पनि भएको रहेछ । घरेलु हिंसा त घरैपिच्छे हुन्थ्यो भन्ने सुनिन्थ्यो। अहिले भने त्यस्ता घटना सुनेकै छैन।”

उनका अनुसार अहिले सुर्मामा धेरै मान्छे आफ्नो काममा व्यस्त भएका छन् । “सुर्मामै अहिले फुर्सदिला मान्छे भेट्न मुस्किल पर्ला जस्तो छ। रातदिन आफ्नै काममा लागेका मान्छे भेटिन्छन्।” सुर्मा गाउँपालिकामा मदिरा सेवन गरेर हिँड्ने मान्छे धेरै कम भएको उनले बताए । दौलिचौरमा मदिरा नियन्त्रण समिति पनि अहिले निष्क्रिय भएको उनले बताए।

२० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्छः दुर्गा प्रसाई

भैरहवा । समाजसेवी तथा व्यवसायी दुर्गा प्रसाईले २० लाख भन्दा मुनिको ऋण मिनाहा हुनुपर्ने लगायतका विभिन्न माग गर्दै भैरहवामा सभा गरेका छन ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको संयोजकत्व गरेका प्रसाईले भैरहवामा सम्बोधन गर्दे १ करोड युवा देशबाहिर रहेको देशको पैसा जति ५५ व्यापारी र १० जना नेताले बाहिर लगेको आरोप लगाए ।

देशमा भएका युवाहरु मध्ये पनि लघुवित्त र सहकारीले खेदेको र त्यसबाट पनि बचेका युवाहरु माानसिक तनावमा आई पूर्व हिड्नुको साटो पश्चिम हिडिरहेका अवस्था रहेको उनकाे भनाइ छ  ।

राष्ट्र र राष्ट्रियताको संरक्षण र सबलीकरण गर्ने, सनातन धर्मको संरक्षण र सम्बर्द्धन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम राख्ने, आर्थिक विकृति, विसंगति विरुद्ध सशक्त ढंगले आवाज उठाउदै साे अभियान जारी राखने उनले जानकारी दिए ।

उनका अनुसार देशका व्यवसायीहरु आर्थिक संकटमा परेका बेला उनीहरुलाई उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरण नरहेकाे भन्दै व्यवसायीमैत्री वातावरण बनाउन प्रसाईकाे माग छ ।

आम नागरिकलाई गणतन्त्र नलागेकाे तर  व्यापारी र नेताहरुलाई गणतन्त्र लागेकोले उनै दलाल, माफिया सामान्तीहरुले देश सक्ने  लागेकाे उनकाे भनाइ छ ।

उनले देशका जनताको हितमा लागेर अभियान गर्दा कारवाही भोग्नु परेको बताउदै कुनै पार्टीको झोले र गुलाम भएर नहिड्नेसमेत बताए ।

‘हाम्रो अभियानको उद्देश्य नै संघीयता खारेज, हिन्दु राज्य, २० लाख भन्दा मुनिको ऋण मिनाहा, २० लाख भन्दा माथीको ऋणमा ४ देखि ६ प्रतिशत व्याजदर, लघुवित्त र सहकारी बन्द लगायतको माग रहेको छ’ उनले भने ।

संसारमै नभएको कर नेपालमा रहेकाे उल्लेख गर्दै उनले उद्योग वाणिज्य संघहरु पनि पिडितको पक्षमा नआएको आरोप लगाए ।


विदेशको कमाइले स्वदेशमा उद्यमी

मोरङ । मोरङ बेलबारी नगरपालिका–९ डाँगिहाटका किसान विवेक बोगटी विहान ३ बजेदेखि च्याउ टिप्न व्यस्त भेटिन्छन् । विदेशमा मजदुरी छोडेर स्वदेशमै उद्यमी बन्ने चाहनाले विगत पाँच वर्षयता उनी च्याउ उत्पादनमा लागेका छन् ।

विदेशको जागिर छाडेर स्वदेशमै पसिना बगाउने उद्देश्यले सुरु भएको यो व्यवसायबाट उनले यस वर्ष मात्रै करिब रू ५० लाख आम्दानीको लक्ष्य लिएका छन् । तीन वर्ष मलेसिया बस्दा कमाएको करिब रू एक लाख ५० हजार लगानी गरी उनले मेहनती मसरुम कृषि फर्म सुरु गरेका थिए । हाल कम्पनीमा रू एक करोडभन्दा बढी लगानी भइसकेको उनको भनाइ छ ।

तीन कठ्ठा क्षेत्रफलमा तीन वटा प्लाष्टिकका टनेलमार्फत सुरु गरिएको च्याउखेती हाल हाल चार वटा पक्की घर बनिसकेका छन् भने थप तीन वटा बन्ने क्रममा छन् । च्याउ उत्पादन हुने पक्की घर ५० फिट लम्बाई र २२ फिट चौडाइका छन् । एउटा घरमा एक हजार दुई सय ६५ वटा च्याउका पोका रहने र ती पोकामा राम्रो भएमा दुई महिनासम्म निरन्तर उत्पादन हुने बोगटीको भनाइ छ ।

वार्षिक तीन लट उत्पादन हुने र प्रत्येक लटमा करिव १० देखि १५ लाखसम्म आम्दानी हुने बोगटीको दाबी छ । गर्मीभन्दा भन्दा जाडो मौसममा उत्पादन राम्रो हुने भन्दै उनले हाल दैनिक नौ सय किलोसम्म उत्पादन भएको जानकारी दिए । उत्पादित च्याउ बिक्रीमा कुनै समस्या नभएको उनको भनाइ छ । हाल थोकमा रू एक सय ५० का दरले च्याउ बिक्री भइरहेको उनले जानकारी दिए । उत्पादन गरिएको च्याउ हरेक विहान ४ बजेसम्म इटहरी पुर्‍याई सक्नुपर्ने र ७ बजे सम्ममा बिराटनगर र धरानसम्म पुर्‍याई सक्नुपर्ने हुन्छ ।

दैनिक रुपमा अटो रिक्साबाट पनि स्थानीय क्षेत्रमा पु¥याउन समस्या हुन थालेपछि अब आफै पिकअप भ्यान खरिद गर्ने योजना बनाएका छन् । उनले हाल फर्ममा स्थानीय पाँच जनालाई दैनिक ज्यालादारिमा रोजगारी दिइरहेका छन् भने आगामी दिनमा थप रोजगारी सिर्जना गर्ने योजना बनाएका छन् ।

सुन्दरहरैचाको गछियास्थित बहिनी ज्वाँइ विजय सापकोटाले सञ्चालन गरेको च्याउ उद्योगबाट प्रभावित भएर सोही पेसा रोजेको बोगटीको भनाइ छ । सापकोटाले १० वटा घर निर्माण गरी च्याउ उत्पादन गरिरहेका थिए तर दुई वर्ष अघि उनको फर्म आगलागीबाट जलेर नष्ट भएको थियो । हाल उनी काठमाडौँस्थित च्याउको विउ उत्पादन गर्ने ल्याव सञ्चालन गरिरहेका छन् ।

विवेक वोगटीले पनि सोही ल्यावबाट कन्ये जातको च्याउको विउ लिइरहेका छन् । दुई वर्षअघि डल्ले च्याउ उत्पादन टनेल निर्माण गर्न भनेर प्रदेश १ सरकारले २० लाख अनुदान दिएको उनले सुनाए । डल्ले च्याउ राम्रो उत्पादन नभएपछि अहिले लगाउन छोडेको उनी बताउँछन् । ‘बैदेशिक रोजगारी छाडेर उद्यमी बन्न चाहने युवालाई बैंकहरुले सरल कर्जा दिन्छ भन्ने सुनेर बिराटचोकस्थित कृषि विकास वैंकमा पटक–पटक जाँदा पनि बैंकले कुनै वास्ता गरेन, त्यसपछि जानै छाडे’, उनले गुनासो गरे । रासस

प्रदेशलाई अधिकार दिन कन्जुस्याई भयो: मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश सरकारलाई अधिकार दिन कन्जुस्याई गरेको टिप्पणी गरेका छन । उनले संघीय सरकारले प्रदेश सरकारलाई बलियो बनाउन अधिकार नदिएको गुनासो गरे । ‘अहिलेसम्म कुन प्रधानमन्त्रीले प्रदेशलाई अधिकार दिने हुन् त्यसको प्रतिक्षामा छौं’ राष्ट्रिय दलित पत्रकार संघ नेपालको आयोजनामा आईतबार पोखरामा आयोजना गरेको ‘दलित आन्दोलन र आरक्षण नीति’ बिषयक प्रदेशस्तरीय विचार गोष्ठिलाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले भने ।

उनले प्रदेश सरकारसँग आर्थिक अधिकार नै नभएको बताए । ‘हामीले बनाएको कानुन पनि संविधान अनुसार नै संघीय संसदले बनाएन भने, बाझिएन भने लागूू हुँदैन’ उनले भने । मिश्रित प्रणालीबाट निर्वाचन हुँदा पनि सेरोमोरियल राष्ट्रपतीमाथि पनि आशंका गरिएकाले पूर्ण समानुपातिक निर्वाचनमा जादा झनै समस्या हुनसक्ने संकेत गरे । मुख्यमन्त्री अधिकारीले दलित समुदायको सवाललाई सम्बोधन गर्न आफुजस्ता वर्गका व्यक्तिहरुले बोल्नुपर्ने बताउँदै गण्डकी प्रदेश सरकार समुदायको पक्षमा काम गर्न तत्पर रहेको बताए ।

‘मैलै बुझ्न कोसिस गर्नेछु, यो समुदायको पक्षमा लाग्नेछुु’ उनले भने । उनले विगतका सरकारले ल्याएका भगवत सर्वजित सिप विकास कार्यक्रम तोडमोड भएको बताउँदै त्यसलाई उचाईका साथ लागूू गरिने बताए । उनले निर्वाचन प्रणालीको बारेमा बहस गर्न सकिने तर, यसको प्रभावकारिताका बारेमा छलफल गर्नुपर्ने बताए । उनले समाजमा सबैभन्दा सिपयुुक्त समुदायलाई विभेद गरेकाले मूलूक पछाडि परेको बताए ।‘संविधान बनाउने हेडक्वारर्टरले समुदायको सवाललाई बुझ्नुपर्छ’ उनले भने –‘नभएर रुकुम घटनाहरु दोहरिने छन ।’ कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सिता कुमारी सुन्दासले दलित तथा उपेक्षित समुदायको सवालमा काम गर्ने प्रतिबद्धता जनाईन ।उनले राज्यको नीति निर्माण तहमा दलित समुदायको उपस्थिती हुनुपर्ने बताउँदै प्रदेश सरकारका तर्फबाट त्यसलाई सुनिश्चित गर्न पहल गर्ने बताईन ।

त्यस्तै प्रतिनिधिसभा सदस्य शिव नेपालीले दलित समुदायको सवाललाई प्रतिनिसभामा सशक्त रुपमा आवाज उठाउने प्रतिबद्धता जनाए । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य भएका उनले आफूहरु नयाँ शक्तिका रुपमा आएको बताउँदै समाजमा रहेको विभेदका विरुद्ध आवाज उठाउने बताए । त्यस्तै कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समाजमा रहेका सबैखाले विभेदको अन्त्य नहुँदासम्म आरक्षण लागूू गर्नुपर्ने बताए । तर, उनले आरक्षण नै आवश्यक नपर्ने समाज निर्माणमा जुट्नुुपर्ने बताए । उनले संविधान अनुसार आवश्यक कानुन निर्माणमा महानगरको तर्फबाट प्रतिबद्धता जनाए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संविधानसभा सदस्य पर्शुराम रम्तेलले सवैधानिक र कानुनी व्यवस्थामै ग्यारेन्टी नगर्दासम्म दलित समुदायको प्रतिनिधित्व नहुने बताए । उनले प्रदेश, संघमा दलित समुदायको प्रतिनिधित्व जनसंख्या अनुसार नभएको बताउँदै अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताए । उनले यदि मिश्रित निर्वाचन प्रणाली नै अपनाउने भए दलित र महिलाका लागि सुरक्षित निर्वाचन प्रणालीमा जानुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष विनोद पहाडीले नेपालमा आरक्षण नीति ओरोला लागेकाले गण्डकी प्रदेशबाट दलित आन्दोलन र आरक्षण नीतिमाथि बहस शुरुवात गरेको बताए । उनले गण्डकीबाट शुरु भएको बहस ७ वटै प्रदेशमा राष्ट्रिय दलित पत्रकार संघले गर्ने बताए । उनले राजनीतिक प्रतिनिधित्वदेखि सञ्चार माध्यममा समेत दलितहरुको उपस्थिती हस्तक्षेपकारी नभएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुुरु घिमिरे, राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय उपाध्यक्ष दीपक परियार, गण्डकी प्रदेश अध्यक्ष रेम विश्वकर्माले बोलेका थिए ।

एमालेले १३ फागुमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक

विराटनगर । नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ ।

२५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन नै एमालेले आफ्नोतर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए ।  विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुनमा सार्वजनिक गर्ने बताएका हुन् ।

एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई भोट माओवादी केन्द्रले मत दिने विश्वास व्यक्त गरेका उनले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी गरे ।

कोरोनाविरुद्धको बुस्टर डोज प्रदेशलाई वितरण गरिँदै

काठमाडैं । कोरोना भाइरस संक्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) प्रदेशहरुमा वितरण कार्य सुरु गरिएको छ। सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) ले फागुन १ र ४ गते गरेर झन्डै सात लाख डोज खोप दिएको छ।

स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाले बाइभ्यालेन्ट खोपको जम्मा १५ लाख डोज चार चरणमा उपलब्ध गराइने सहमति भएको छ। ‘दुई लट खोप आइसकेको छ’, उनले भने, ‘भोलि फेरि तीन लाख ४५ हजार आउँदै। बाकि रहेको एक लट केहि दिनमै आउँने छ।’

बाइभ्यालेन्ट खोप बुस्टर डोज खोप नेपालमा पहिलो पटक भित्रिएको उनले जानकारी दिए। ‘यो खोप ओमिक्रोनको सब-भेरिएन्टका विरुद्ध बढि प्रभावकारी मानिएको छ’ उनले भने। उक्त बुस्टर डोज गण्डकी प्रदेशमा हिजो नै पठाइसकेको र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा भोलिसम्म पठाइसक्ने उनको भनाइ छ।

बाँकी रहेको प्रदेशमा त्यसपछि पठाइने छ। उनी भन्छन् ‘बुस्टर डोज कहिले सुरु गर्ने भन्ने चाहि प्रदेश र जिल्लाहरुले आफ्नै हिसाबले संचालन गर्ने भनेका छन्।’

भन्सार महसुल उठाउन हुम्लाबाट काठमाडौँमा

सुर्खेत ।  हुम्लाको यारी भन्सार कार्यालयमा रहेका कर्मचारीले उधारोमा भन्सार महसुल राख्ने गरेका छन् । चीनबाट आएका सामग्री बुझ्ने व्यापारी हिल्सामा नआएपछि उधारोमा सामानको विवरण तयार गरेर उधाराेमा राख्नु परेको हो ।

चीनले यारी नाका एकतर्फी खुलाएको छ । कार्यालय प्रमुख रामराज जैसी हिल्सामा पुगेर आयात भएको सबै सामानको विवरण र लाग्ने भन्सार दस्तुरको बिल काटे पनि रुपैयाँ असुल गर्न नसकेको बताएका छन् । हाल व्यापारी र निर्माण व्यवसायी सबै काठमाडौं रहेको कारण सो भन्सार महसुल असुल गर्न उनी काठमाडौं पुगेका छन्।

सबै व्यापारीसँग उनको काठमाडौंमा सम्पर्कसमेत भइसकेको छ। चीनबाट आयात भएको सामानको भन्सार महसुल १० लाख रहेको र त्यसका एक लाख ८० हजार मात्र असुल भएको थियो भने ८ लाख २० हजार रुपैयाँ असुल गर्न बाँकी छ। भन्सार दस्तुर असुल भएको सामानमा खाद्यान्न र लत्ताकपडाको मात्र छ।

असुल गर्न बाँकी रकम विकास निर्माण सामग्रीको रहेको छ। अब काठमाडौंमै असुल गरेर नगद जम्मा गरिने भएको छ। पुस १३, १७, १८ र २१ गते गरी चार पटक एकतर्फी रूपमा चीनले नाका खुलाएर सामान नेपाल पठाएको थियो।

जसमा ३४ गाडी सामान नेपाल भित्रिएको थियो। जसमा ११ हजार बोरा सिमेन्ट र तीन गाडी सरिया आयात भएको थियो। हिमपातले नारा लेकको सडक बन्द भएका कारण सो सामान पनि हिल्सामै थन्किएको छ।

राष्ट्रपतिको आममाफीबाट अरुण चौधरी रिहा, भन्छन्- माथि प्रतिशोध साँधियो

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरी कारागारमुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट आममाफी पाएपछि आइतबार उनी कारगारमुक्त भएका हुन् ।

उनलाई नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले कारगार पुगेर स्वागत गरेकी थिइन् । १८ दिन कारागार बसेर रिहा भएकाले चौधरीले आफूमाथि प्रतिशोध साँधिएको आरोप लगाएका छन् । गत ४ मंसिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरीलाई ट्याक्टर जलाएको आरोपमा ९ वैशाख २०७० मा कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो ।

उनीमाथि ३ भदौमा २०६६ मा बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा सो सजाय सुनाइएको थियो ।
तर,  उनी प्रहरीको फरार सूचीमा रहँदै आएका बेला उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।