माओवादीद्वारा सहिद परिवार तथा एमाले र काङ्ग्रेसका कार्यकर्तालाई सम्मान
१० फाल्गुन २०७९, बुधबार १६:३९
विराटनगर । मोरङको पथरीशनिश्चरे—५ भेटघाट चोकमा माओवादी केन्द्रले १० जनालाई सम्मान गरेको छ । मंगलबार माओवादी केन्द्रले राजनीतिक परिवर्तनको लागि ज्यान गुमाएकाको परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने १० जनालाई सम्मान गरेको हो ।
माओवादी केन्द्रको पथरीशनिश्चरे–५ नम्बर वडा समितिले जनयुद्धका सहिद परिवार र काङ्ग्रेस, एमालेका राजनीतिक परिवर्तनमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरेको जनाएको छ ।
जनयुद्धमा साहदत प्राप्त गरेका सहिद सन्तोष लिम्बूकी पत्नि लक्ष्मी लिम्बू, नेत्रबहादुर मगरकी आमा सरस्वती मगर, हंसिलाल राजवंशीकी बुहारी उज्वलकुमारी राजवंशी र हालसम्म बेपत्ता लक्ष्मी खतिवडाको बाबु जनकलाल खतिवडालाई दोसल्ला र सम्मान पत्र प्रदान गरिएको थियो ।
पार्टी केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य गीता तिम्सिना, केन्द्रीय लेखा समिति सदस्य लालबहादुर सुस्लिङ मगर, ५ नम्बर वडा अध्यक्ष चेतेन्द्र खड्का लगायतको उपस्थितिमा पञ्चायत विरुद्धको आन्दोलनमा काङ्ग्रेस र एमालेबाट योगदान गर्ने वडाबासीहरूलाई पनि सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुनेहरूमा दधिराम कुइँकेल, शोभालाल चौकरी, तिलक धिमाल, ईन्द्रबहादुर घिमिरे, गोपाल गन्गाइ, तिलबिक्रम बस्नेत, धनबहादुर लिम्बू लगायत रहेका छन् । कार्यक्रममा मोरङ ३ (क)बाट बिजेता समानुपाति प्रदेशसभा सदस्य गीता तिम्सिनालाई पनि दोसल्ला ओढाएर बधाई तथा सम्मान गरिएको थियो ।
माओवादी केन्द्र ५ नम्बर वडा समिति अध्यक्ष रिजमान अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका नगर सहइन्चार्ज नेत्र पोख्रेल (बिशाल)ले जनयुद्ध वा त्यो भन्दा अघि बलिदान दिने सहिदहरूलाई भुल्दै जाने अवस्थ आएकोले परिवारलाई सम्मान गरिएको बताए । पोख्रेलले सहिद सबैको साझा हुने तर्क प्रस्तुत गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि गीता तिम्सिना, संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मागर, ५ नम्बर वडा अध्यक्ष चेतेन्द्र खड्का, माआवादी केन्द्र नगर अध्यक्ष गोबिन्द कटुवाललगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा पार्टीको १ नम्बर प्रदेश समिति सदस्य रञ्जु कटुवाल, नगर सह–इन्चार्ज बालकुमार मगर (विकास) किराती राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय महासचिव अर्जुन किराती, सचिव मान दियाली, नेता मदन पोख्रेल, शिव तिम्सिना, राजकुमार तिरुवालगायतको उपस्थिति रहेको थियो ।
जनयुद्ध दिवसकै अवसरमा वडाबाट सहिद तथा बेपत्ता परिवार र राजनीतिक परिवर्तनमा योगदान गर्ने वडाबासीलाई सम्मान गरिएको माओवादी केन्द्र नगरका युवा नेता प्रताप लुइँटेलले बताए ।
जनयुद्ध कालमा पथरीशनिश्चरे नगरबाट मात्र २२ जना बढीले ज्यान गुमाएका थिए । २८ औं जनयुद्ध दिवसको अवसरमा केही दिनपछि सहिद तथा बेपत्ता परिवारलाई बृहत कार्यक्रमको आयोजना गरी सम्मान गर्ने कार्यक्रम रहेको माओवादी केन्द्र नगर समिति अध्यक्ष गोबिन्द कटुवालले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया