प्रदेश सरकारको औचित्यमाथि उठेका प्रश्नहरू निराधार हुन् : मन्त्री चापागाईं
१३ फाल्गुन २०७९, शनिबार १६:३८
विराटनगर । प्रदेश १ का सडक पूर्वाधार तथा शहरी विकासमन्त्री दुर्गाप्रसाद चापागाईँले संघीय सरकारको भन्दा प्रदेश सरकारले विकास निर्माणका काम छिटो गर्ने र जनताको पहुँचमा रहेको बताएका छन् ।
मोरङको बेलबारी–४ स्थित लिम्बू चोक र सभापुर जोड्ने नवनिर्मित पुल उद्घाटनको लागि शुक्रबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले प्रदेश सरकारको औचित्यमाथि उठेका प्रश्नहरू निराधार रहेको बताए । प्रदेश सरकार गठन भएयता प्रशासनिक, विकास निर्माणका कुराहरूमा जनता सहजै पुग्न सक्ने अवस्था सिर्जना भएको बताए ।
‘प्रदेश सरकार थिएन भने काठमाडौं छिर्नुपर्ने हुन्थ्यो, मेहेनतका साथ सिंहदरबार छिर्नुपर्ने हुन्थ्यो योजना पर्छ या पर्दैन भन्ने हुन्थ्यो’, उनले भने, ‘योजना परे पनि सहज हिसाबले पहुँचमा पुग्छ कि पुग्दैन । यस्ता थुप्रै समस्यालाई प्रदेश सरकारले हल गरेको छ ।’ उनले अघिल्लो सरकारले प्रदेशको औचित्य स्थापित गरेको र यो सरकारले प्रदेश सरकारको औचित्य र आवश्यकतालाई थप व्यवस्थित र बलियो बनाउने बताए । विकासका आयोजनालाई समयमा सम्पन्न गर्न गुणस्तरीयतालाई पनि ध्यान दिनुपर्ने उनको जोड थियो ।
मन्त्री चापागाईंले मोरङको बेलबारी–४ स्थित केसलिया खोलामा निर्माण भएको पुल उद्घाटन गरेका छन् । ३७ मिटर लम्बाइ रहेको सो पुल ६ करोड १८ लाख ४३ हजारको लागतमा निर्माण भएको हो । गीताञ्जली कन्स्ट्रक्सन प्रालि दुहबी र प्रदेश १ सरकारको सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयबीच पुल निर्माणका लागि ०७६ फागुन १८ गते सम्झौता भएको थियो ।
दुई वर्षमा सक्नुपर्ने पुल कोभिडका कारण केही ढिला भएको पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले जानकारी दिए । ०७९ असार २५ गते पुल निर्माण सकिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया