रामप्रसादराई गाउपालिका भोजपुरले “स्थानीय तहको सेवाप्रवाहलाई व्यवस्थित वनाउनको लागि पुनर्ताजगी तालिम” सम्पन्न गरेको छ । प्रमुख प्रशासकीय अधिकृत श्री बाबुनन्दन मेहताको अध्यक्षता, गाउँपालिकाको उपाध्यक्ष श्री सम्झना राईको प्रमुख आतिथ्यता, निमित्त प्रमुख जिल्ला अधिकारी श्री गिरीराज भट्टराईको विशेष आतिथ्यतामा संचालन गरिएको उक्त तालिम मिति 2078/07/12 गते शुक्रबार र 13 गते शनीवार सम्म संचालन भएको थियो । पुनर्ताजगी तालिममा सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली व्यवस्थापन, सुशासन र वित्तिय अनुशासन, वडा कार्यालयवाट प्रवाह हुने सेवाहरू, वडा सचिवको जिम्मेवारी र कार्यक्षेत्र, जिन्सी व्यवस्थापन, योजना तथा तालिम कार्यान्वयन तथा व्यवस्थापन, स्वास्थ्य सेवा प्रवाह, स्थानीय तहमा सार्वजनिक सेवा व्यवस्थापन लगायतको विषयमा प्रशिक्षण दिइएको थियो । उक्त तालिममा गाउँपालिका र मातहतको निकायमा कार्यरत कर्मचारीहरु, स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो । उक्त तालिममा निमित्त प्रमुख जिल्ला अधिकारी श्री गिरीराज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत श्री बाबुनन्दन मेहता, साकेला गाउँपालिका खोटाङका MIS Operetor श्री डि एम चाम्लिङ राई, प्रशासकीय अधिकृत श्री अनन्त राई, सूचना प्रविधि अधिकृत श्री सजन सुव्वा, असई श्री ज्ञानराज भट्टराई, वडा सचिव श्री तिलक कार्की, वडा सचिव श्री मनकाजी कट्टेलले अभिमुखीकरण गराउनु भएको थियो । कार्यक्रमको संयोजन सामाजिक विकास शाखा प्रमुख श्रीप्रसाद ढकालले गर्नु भएको थियो । पुनर्ताजगी तालिमले कर्मचारीहरूलाई आफुले सम्पादन गर्नु पर्ने कामको सम्वन्धमा अभिमुखीकरण दिई आ आफ्नो जिम्मेवारी र जवाफदेहिता वोध गराएकोले आगामी दिनमा गाउँपालिकाको सेवाप्रवाहलाई सहज सरल छिटो छरितो प्राविधिमैत्री र प्रभावकारी वनाउन टेवा पुग्ने भनी प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले आफ्नो मन्तव्य व्यक्त गर्नु भयो । सोही क्रममा गाउँपालिका उपाधक्ष श्री सम्झना राईले गाउँपालिकाको हरेक शाखा र मातहतको निकायवाट प्रवाह हुने सेवालाई प्रभावकारी वनाउन पुनर्ताजगी तालिमले महत्वपूर्ण भुमिका खेल्ने कुरा वताउनु भयो । आगामी दिन सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई व्यवस्थित वनाउन भुक्तानी शिविर संचालन गर्न गाउँपालिकाले यथाशिघ्र तयारी गर्ने र सम्वन्धित सरोकारवालाहरू संग छलफल आगाडी वढाउने व्यहोरा गाउँपालिका अध्यक्ष श्री विजय राईले वायक्त गर्नु भयो । उक्त दुइ दिने तालिम कार्यक्रमको समापन समारोहमा गाउँपालिकाको कर्मचारीहरूलाई प्रशिक्षण दिइ कर्मचारीहरूमा नयाँ जोश जाँगर र उत्प्रेरित गरी उनीहरूको समग्र क्षमता विकास गरेकोले गाउॅपालिका अध्यक्ष श्री विजय राई उपाध्यक्ष श्री सम्झना राई, वडाध्यक्षज्यूहरू र प्रमुख प्रशासकीय अधिकृत श्री बाबुनन्दन मेहताले निमित्त प्रमुख जिल्ला अधिकारी श्री गिरीराज भट्टराई, Mis Operetor श्री डि एम चाम्लिङ राई, वडा सचिव श्री तिलक कार्की, वडा सचिव श्री मनकाजी कट्टेललाई प्रशंसा पत्र वितरण गरी सम्मान पनि गर्नु भयो ।
Month: १३ कार्तिक २०७८, शनिबार १८:१०
कुशवाहा कल्याण समाजको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न !
इनरुवा । नेपाल कुशवाहा कल्याण समाज इनरुवा नगर कार्य समितिले बितेको दशै र आउदै गरेको तिहार , छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवम चियापान कार्यक्रम सम्पन्न गरेका छन।
इनरुवा नगरपालिका वार्ड न. ९ बबिया स्थित श्री शहीद श्यामसुन्दर आधारभुत विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम नेपाल कुशवाहा कल्याण समाज इनरुवा नगर अध्यक्ष देवप्रसाद मेहताको अध्यक्षतामा सुरु भएको थियोे । भने कार्यक्रमका प्रमुख अतिथी इनरुवा नगरपालिका प्रमुख राजन मेहता , बिशिस्ट अतिथीमा सुनसरी जिल्ला क्षेत्र न. २ का व्यावस्थापिका सांसद तथा कल्याण समाजका पुर्व केन्द्र अध्यक्ष सीता राम मेहताले पुर्व केन्द्र अध्यक्ष डा. कृपाराम मेहताले सन्युक्त रुपमा मैनबती बाली लब कुशको फोटोमा फुल माला अर्पण गरेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । नगर प्रमुख राजन मेहताले सभा लाई सम्बोधन गर्दे कुशवाहा जातिय सङ्गठन लाई एतिहासमा हेर्दा उच्च मुल्यांकन भएका छ्न । भने साथै मेरो ५ महिनाको तब सुबिधा सहित कुशवाहा कल्याण समाजका लागि ५ लाख बराबरको कोषका लागि प्रतिबद्धता गर्नु भएको थियोे ।
कार्यक्रमको स्वागत मन्तव्यमा इनरुवा नगर कार्य सदस्य रघुनन्दन मेहता नगर कार्य समितिले लिएको जिम्मेवारी पुर्ण रुपमा सक्रिय भएर जिम्मेवारी वहन नगेको र आउने दिनमा पुर्ण रूपमा आ – आफ्नो जिम्मेवारी बहनका लागि सबै आग्रह गर्दे गएको दशै र आउदै गरेको दिपावली , छ्ठ पर्वको सम्पुर्ण कुशवाहा बन्धुहरु लाई शुभकामना दिएका थिए । मन्तव्यकै क्रममा जिल्ला कार्य समितिका सल्लाहकार सत्यनारायण मेहताले २०७८ को राष्ट्रिय जनगणनामा भएको कोड न. १८ को कोष्टमा कुशवाहा लेखाउन आग्रह गर्दे कार्यक्रममा उपस्थित भएका सम्पुर्ण कुशवाहा बन्धुहरु लाई शुभकामना दिएका थिए । स्वागत मन्तव्यकै क्रममा कुशवाहा कल्याण समाज सुनसरीका जिल्ला अध्यक्ष श्री लाल मेहताले सभा लाई सम्बोधन गर्दे सबै कुशवाहा बन्धु लाई हिन्दुहरुको महान पर्व गएको दसै र आउदै गरेको तिहार , छ्ठ पर्वको शुभकामना दिएका थिए ।
त्यसै गरि डा. कृपाराम मेहताले कुशवाहा कल्याण समाजको हक हितका लागि सबै सङ्गठित भएर जातीय हक हितका लागि अगाडि बढनका लागि सबै अगुवाहरु लाई आग्रह गर्नु भएको थियो। भने कार्यक्रममा पुर्व केन्द्र अध्यक्ष तथा सांसद सीता राम मेहताले कुशवाहा समाजको २०४५ सालमा स्थापन भएको थियोे । भने कुशवाहा समाजले स्थानीय तह देखि केन्द्र सम्म भएको कार्य तथा गतिविधिहरुको बारेमा कार्यक्रममा वर्णन गर्दे कुशवहा कल्याण समाज लाई अझ मजबुत र संगठितका लागि सबैको साथ र सहयोगको आवश्यक रहेको बताउदै कुशवाहा समाज लाई आ – आफ्नो हक अधिकारका लाई सङठित हुनु जरुरी हुन आवश्यक रहेकोे बताए ।
कार्यक्रममा नेपाल कुशवाहा कल्याण समाज सुनसरी जिल्ला भु पु अध्यक्षद्वय राम प्रासद मेहता, बालकृष्ण मेहता, जिल्ला अध्यक्ष श्री लाल मेहता, भु पु उप मेयर तथा बरिस्ठ अधिवक्ता अर्जुन मेहता, जिल्ला सह – सचिव धर्मवीर आर्य , नगर सल्लाहकार बुध नारायण मेहता, कुशवाहा विद्यार्थि कल्याण सुनसरी जिल्ला अध्यक्ष अर्जुन मेहता, जिल्ला सदस्य बलराम मेहता, जिल्ला समन्वय समितिका सदस्य अहिल्या मेहता , जिल्ला सदस्य कैलु मेहता , कृष्ण देव मेहता, भजन लाल मेहता, बिन्देश्वर मेहता, गायक तथा कलाकार प्रकाश अनुराग , सहिद पिता शिव नारायण मेहता एवम कुशवाहा समाजका समाजसेवी , बुद्धिजीवी व्याक्ती लगायत करिब ५ सय व्याक्तिहरुको उपस्थिती रहेको नगर कार्य समितिका सचिव मनोज कुमार मेहताले बताए ।



नेप्सेको प्रमुख कार्यकारीमा आवेदन खुल्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन खुलेको छ ।
खुला प्रतिष्पर्धामार्फत सीईओ नियुक्तिका लागि सार्वजनिक सूचना जारी गर्दै अर्थमन्त्रालयले दरखास्त आह्वान गरेको हो । योग्य आवेदकहरूलाई १५ दिनभित्र आवेदन दिन आह्वान गरिएको छ ।
तत्कालिन सीईओ चन्द्रसिंह साउदले सेयर खरिद बिवादमा परेर राजीनामा दिएपछि नेप्से कार्यकारी प्रमुख विहीन बनेको थियो । बुक बिल्डिङमार्फत साधारण सेयर निश्कासनको तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको भेटिएपछि उहाँ बिवादित हुनुभएको थियो ।
राष्ट्रपति भण्डारी ढोरपाटन आरक्षकाे भ्रमणमा
बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज ढोरपाटन सिकार आरक्ष क्षेत्रको अवलोकन भ्रमण गर्नुभएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत दिउँसो १२ः४० बजे ढोरपाटन पुगेर उहाँले आरक्ष कार्यालयको निरीक्षणसमेत गर्नुभयो ।
निरीक्षणपछि राष्ट्रपतिसमक्ष आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल र आरक्षको सुरक्षार्थ तैनाथ नेपाली सेनाको शत्रुमर्दन गुल्मका गुल्मपति सेनानी गोविन्द विष्टले आरक्षका गतिविधि र सुरक्षा स्थितिबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीले आरक्षमा रहेका सङ्ग्रहालयका साथै ढोरपाटन उपत्यकाको दृश्यावलोकन गर्नुभएको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी दिनुभयो । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी आरक्ष क्षेत्रमा सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।
राष्ट्रपति भ्रमणमा आउनुहुने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी हिजै ढोरपाटन पुगेका थिए । ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो । सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ । सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ । एक हजार ३२५ वर्ग किमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुम जिल्लाको उच्च पहाडी र हिमाली भू–भागमा अवस्थित छ ।
पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ । राष्ट्रपतिको भ्रमणले ढोरपाटन क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ ।
हत्याको आरोपमा एक पक्राउ
कैलाली । कैलालीमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ ठेकीपुरका १८ वर्षीय किरण साउँद रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टका अनुसार गए राति साउँद र टीकापुर नगरपालिका–८ कालीमाटीका अनुप साउँदबीच कालीमाटीमा वादविवाद भएको थियो । सो क्रममा झगडा हुँदा किरणले अनुपलाई धारिलो हतियार (चक्कु) प्रहार गरी घाइते बनाएका थिए । घाइते अनुपको टीकापुर अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ । किरणलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ ।रासस
महाधिवेशन गर्न नसक्ने कांग्रेस बुढो भयो : ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन गर्न नसक्ने गरी नेपाली कांग्रेस बुढो भएको बताएका छन् ।
काठमाडौं सिन्धुपाल्चोक सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उनले भने ‘कांग्रेस महाधिवेशन नै आयोजना गर्न नसक्ने अशक्त हालतमा कांग्रेस बुढो भयो’, विचार बुढो भयो। केही पनि छैन। महाधिवेशन पनि गर्न नसक्ने हालतमा कांग्रेस पुग्यो।’ महाधिवशेन गर्न नसक्ने पार्टीले एमालेले प्रतिस्पर्धा गर्न सक्दैन ।’
‘पाँच वर्षभित्र गर्नुपर्ने महाधिवेशन गर्न नसक्ने। त्यसपछि ६ महिनामा गर्नुपर्ने, गर्न नसक्ने। निर्वाचन आयोगले दिएको ६ महिनाभित्र, अहिले पनि १३ वटा जिल्लामा बल्ल जिल्ला अधिवेशन भएको छ। के भएको छ। प्रतिनिधि छनोट भएको होला। बाँकी बाँकी नै छ।’ ओलीले एमालेको विधान महाधिवेशनको भने प्रशंसा गरेका थिए। उनले आफूहरुले सो महाधिवेशन भव्यताका साथ सम्पन्न गरेको बताएका थिए।
इन्धनको मूल्यवृद्धिमा पुनर्विचार गर्न नेता सिंहको आग्रह
काठमाडौं । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा भएको इन्धनको मूल्य वृद्धिबाट कम आय भएका जनता नराम्ररी प्रभावित हुने बताउँदै त्यसमा पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका छन्।
दीपावली, नेपाल सम्वत् र छठ पर्वका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ महानगरपालिका–८ वडा इकाइ समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले नेपाल आयल निगमको व्यवस्थापनका सबै पक्षलाई सूक्ष्म विश्लेषण गरी उसले गरेका फजूल खर्च घटाउनेतर्फ सरकार लाग्नुपर्ने सुझाव दिए।
आजदेखि लागू हुनेगरी निगमले गरेको इन्धनको मूल्य वृद्धिको विरोध गर्दै नेता सिंहले निगमको व्यवस्थापनलाई चुस्त तुल्याउँदै उसले व्यहोर्नुपरेको नोक्सानी घटाउन सकिने प्रशस्त स्थान रहेको टिप्पणी गरे। देशलाई वेथितिबाट पार लगाउन नेपाली काङ्ग्रेसको नेतृत्वमा वर्तमान सरकार गठन भएको तर्क गर्दै उनले जनचाहनाअनुसार सरकारले काम गर्नुपर्नेमा जोड दिए। ‘इन्धनको मूल्यवृद्धिले जनतालाई राहत होइन, आहत पारेको छ’, उनले भने।
अफगानिस्तानबाट थप ३२ जना नेपालीको उद्धार
काठमाडौं । सरकारले अफगानिस्तानबाट थप ३२ जना नेपालीलाई उद्धार गरेर आज काठमाण्डौ ल्याएको छ । आज उद्धार गरेर ल्याएका ३२ जनासहित अहिलेसम्म अफगानिस्तानबाट ९ सय ४० जना नेपालीलाई स्वदेश फकाईएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यो सँगै अफगानिस्तानमा अब उद्धारका लागि कुनै पनि नेपाली नागरिकहरु नरहेको परराष्ट्र मन्त्रालयको दाबी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरेले अब अफगानिस्तानमा कुनै पनि नेपाली उद्धारको पर्खाइमा नरहेको बताउनुभयो ।
उनले भने, ‘आज ३२ जना नेपाली आउनु भएको छ । यसपछि अब चाँही उद्धारको पर्खाइमा रहेका नेपालीहरुको संख्या समाप्त भएको छ । त्यहाँ कोही नेपाली रहेको भए त्यो यूएन सिस्टममा रहनु भएको छ । आज नेपाल एयरलाइन्सको दुबई फ्लाइटबाट २९ जना नेपालीहरु आएको र यसअघि आजै बिहान अन्य ३ जना गरी ३२ जना नेपालीहरुको उद्धार गरी स्वदेश फिर्ता गरिएको हो ।’
चीनसँग पुनर्मिलन बाहेक ताइवानको कुनै भविष्य छैन : विदेशमन्त्री वाङ यी
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीले शुक्रबार ताइवानले चीनसँग पुनर्मिलन गर्नु बाहेक अर्को कुनै विकल्प नभएको र चीनको हिस्सा हुनु बाहेक यसको कुनै अन्तर्राष्ट्रिय कानुनी हैसियत पनि नभएको बताएका छन् । संयुक्त राष्ट्रसंघमा ताइवानको अर्थपूर्ण सहभागिताको लागि अमेरिकाले आह्वान गरेको प्रतिक्रिया स्वरूप उनले यस्तो टिप्पणी गरेका हुन् ।
रोममा हुने शिखर सम्मेलनअघि वाङ यीले अमेरिका र केही अन्य देशले एक चीन सिद्धान्तलाई रोक्न नसक्ने बताएका छन् । मन्त्री वाङले एक चीनको विपक्षमा रहन खोज्नेहरू २१ औं शताब्दीमा सफल हुने सम्भावना धेरै कम रहेको र यदि तिनीहरू निरन्तर त्यसै किसिमले सक्रिय रहे भने ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् ।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मंगलबार संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा ताइवानको ‘अर्थपूर्ण’ सहभागितालाई समर्थन गर्न आह्वान गरेपछि वाङको यस्तो टिप्पणी आएको हो ।
ब्लिन्केनले एक विज्ञप्तिमा भनेका छन्, ‘हामी सबै संयुक्त राष्ट्र सदस्य राष्ट्रहरूलाई संयुक्त राष्ट्र प्रणालीमा र अन्तर्राष्ट्रिय समुदायमा ताइवानको बलियो, अर्थपूर्ण सहभागितालाई समर्थन गर्न हामीसँग सामेल हुन प्रोत्साहन गर्छौं, ताइवानका एयरपोर्टहरूमार्फत वार्षिक दशौं लाख यात्रुहरू यात्रा गर्ने गरे पनि ताइवानले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको त्रैवार्षिक सम्मेलनमा प्रतिनिधित्व गरेको थिएन, ब्लिन्केनले उल्लेख गरेका छन् ।
सन् १९७१ मा चीनले आफ्नो ठाउँ लिएपछि ताइवानले संयुक्त राष्ट्रसंघ छोडेको थियो । त्यसयता ताइवानलाई महासभा र अन्य विश्व मञ्चहरूमा सहभागी हुनबाट वञ्चित गरिएको छ ।
भारतमा कोभिड–१९ को नयाँ संक्रमितको संख्या बढ्यो
एजेन्सी । भारतमा कोभिड–१९ सङ्क्रमितको संख्या शनिबार बढेर तीन करोड ४२ लाख ६० हजार ४७० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर १४ हजार ३१३ नयाँ बिरामीहरू थपिएको भारतको संघीय स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कले देखाएको छ ।
यस बाहेक शुक्रबार बिहानसम्म कोभिड सङ्क्रमणबाट थप ५४९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४ लाख ५७ हजार ७४० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश दक्षिणी राज्य केरलाका छन् । हाल देशमा एक लाख ६१ हजार ५५५ सक्रिय सङ्क्रमितहरू छन् । पछिल्लो २४ घण्टामा भने १३ हजार ५४३ संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या तीन करोड ३६ लाख ४१ हजार १७५ पुगेको छ ।
स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरिँदै
काठमाडौं । निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्नेभएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व नै मतदाता नामावलीसम्बन्धी काम सम्पन्न गर्नुपर्ने कानूनी व्यवस्थाअनुरुप आयोगले नामावली सङ्कलनको अभियान सञ्चालन गर्न लागेको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुलुकका सबै पालिका केन्द्रमा मङ्सिर १ गते वा अर्को कुनै उपयुक्त समयमा टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान अघि बढाइने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आउँदो चैतसम्ममा स्थानीय तहको निर्वाचन हुन्छ भन्ने कानूनी व्यवस्थालाई टेकेर आउँदो मङ्सिर मसान्तमा अभियान सम्पन्न गर्ने हेतुले मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गरिनेछ ।”
जनताको घरदैलोमा पुगेर सेवा प्रदान गर्ने क्रममा आयोगले नामावली सङ्कलन गाउँपालिकाको केन्द्रमै दर्ता टोली खटाएर गराउन लागेको हो । मतदाता नामावलीमा नाम दर्ताका लागि १८ वर्ष पुगिसकेका व्यक्तिले पालिका केन्द्रमा आउने टोलीसमक्ष नेपाली नागरिकताको प्रमाणपत्र देखाएर आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
अभियानमा नाम दर्ताका सन्दर्भमा १६ वर्ष उमेर पुगेका व्यक्तिकोसमेत नाम दर्ता र तस्वीर खिच्ने काम हुनेछ । निर्वाचनका लागि मतदाता नामावली सबैभन्दा प्राथमिक विषय मानिएकाले आयोगले विशेष अभियानमार्फत मतदाता नामावली अद्यावधिक गर्न लागेको बताएको छ ।
आयोगले रोजगारी, पठानपाठन र व्यवसायका सिलसिलामा स्थायी ठेगानाभन्दा बाहिर रहे बसेका मतदातालाइ छिट्टै नै सबै निर्वाचन कार्यालय, इलाका प्रशान कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ३६५ दिन नियमितरुपमा मतदाता नामावली नाम दर्ताका लागि आवश्यक स्थायी बन्दोबस्त मिलाउन लागेको छ ।
कार्यस्थलबाटै आफनो स्थायी ठेगानामा मतदाता नामावलीमा नाम सङ्कलन गर्न चाहनेलाई सहज तुल्याउने हेतुले आयोगले मुलुकभरका सबै निर्वाचन कार्यालयबाट बाह्य जिल्लाकोसमेत मतदाता नामावलीमा नाम दर्ता गर्ने अभियान पनि प्रारम्भ गर्न लागेको छ । आगामी दिनमा यो अभियानलाई कानूनी बन्दोबस्तभित्र राखेर नियमितरुपमै सङ्कलन गर्ने व्यवस्था मिलाइने प्रमुख आयुक्त थपलीयाले जानकारी दिनुभयो ।
विद्यमान निर्वाचन ऐनअनुरुप निर्वाचनको मिति तय भएपछि मतदाता नामावली सङ्कलन गर्न नसकिने प्रावधान छ । मतदाता नामावली सङ्कलन गर्नका निम्ति निर्वाचन आयोगलाई एकाधिकार छ । आयोगले नियमितरुपमा जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र इलाका प्रशासन कार्यालय मतदाता नामावली दर्ता गर्दैआएको छ ।
निर्वाचन आयोगले कुनै पनि मतदाता मतदानमा नछुटुन् भन्ने ध्येयले निर्वाचन अघि निर्वाचनलाई लक्षित गरी नामावली सङ्कलनसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गरी मतदाता नावमाली सङ्कलन गर्दैआएको छ ।
देशभर चिसो बढ्यो : जुम्लाको तापक्रम दुई डिग्री
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकासहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
अब चिसो निरन्तर बढ्दै जाने विभागका मौसमविद् शान्ती कँडेलले बताउनुभयो । दिउँसोपख घाम लागे पनि बिहान र बेलुका चिसो महसुस हुने गरेको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ । केही दिनअघिदेखि दिउँसोको तापक्रमसमेत दुईदेखि तीन डिग्री सेल्सियसका दरले घटिरहेको छ ।
हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभाग मौसम सामान्यतया सफा रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २५ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम दुई दशमलव शून्य डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।रासस
जलवायु परिवर्तनको समस्या समाधानमा एकजूट हुन राष्ट्रसंघको आह्वान
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले जी ट्वान्टी राष्ट्रका नेताहरुलाई जलवायु परिवर्तन र कोरोना भाइरसको समस्या समाधानका लागि एकजूट हुन आह्वान गरेका छन् । इटलीको रोममा जी ट्वान्टी सम्मेलन शुरु हुनु अघि उनले जी ट्वान्टी राष्ट्रका नेताहरुलाई जलवायु परिवर्तनको खतरनाक समस्या हल गर्न र कोरोनाको खोप वितरणको असमानता हटाउन आह्वान गरेका हुन् ।
उनले ठूला शक्ति राष्ट्रहरुबीच देखिएको भयंकर अविश्वासको वातावरण नै समस्या समाधानको अवरोध भएको भन्दै उनले जलवायु परिवर्तनको समस्या समाधान गर्न ब्यापक राजनीतिक इच्छाशक्तिको जरुरी देखिएको उल्लेख गरे । विश्वको कुल गाहस्र्थ उत्पादनको ८० प्रतिशत हिस्सा ओगट्ने जी ट्वेन्टी राष्ट्रका नेताहरुको सम्मेलनले भोलिदेखि बेलायतको स्कटल्याण्डमा शुरु हुने विश्व जलवायु सम्मेलनबारे धारणा तय गर्ने अपेक्षा गरिएको छ ।
महासचिव गुटेरसले विकासशील राष्ट्रहरुलाई बार्षिक १ सय अर्ब डलरको सहायत उपलब्ध गराएर उनीहरुको जलवायु अर्थतन्त्रलाई सहयोग गर्न र विश्व तापमानलाई २ दशमलव ७ डिग्रीबाट तल झार्न पनि आह्वान गरे । कोरोना भाइरसको खोप वितरणमा भईरहेको असमानताको पनि उनले भत्र्सना गरेका छन् ।
राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथमा पूजाअर्चना
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छिन् । राष्ट्रपतिबाट त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरे ।
मुक्तिनाथको दर्शन भ्रमणका लागि उनी आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमार्फत मुक्तिनाथ पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा एमालेका नेत्री श्रीमाया थकाली, प्रदेशसभा सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गरेका थिए ।
नेपालमा लामो समयदेखि कारोना भाइरसको महामारीबाट धार्मिक पर्यटनसम्बन्धी गतिविधी एवं तीर्थयात्रा हुन सकेको छैन । यस अवस्थामा नेपालको पर्यटन एवं तीर्थयात्रा सुरिक्षत छ भन्ने सन्देश दिन र नेपालका सुप्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको प्रचार होस् भन्ने हेतुले राष्ट्रपति भण्डारी आज मुस्ताङ जिल्लामा अवस्थित सुप्रसिद्ध मुक्तिनाथ मन्दिर पुग्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । राष्ट्रपति भण्डारी आजै बागलुङ जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जाने भएकी छन् ।
जेलबाट रिहा भए आर्यन खान
एजेन्सी । ड्रग्स प्रकरणमा पक्राउ परेका आर्यन खान रिहा भएका छन् । प्रहरीले गत अक्टोबर २ मा ड्रग्स केसमा परेका आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो ।
आर्यनको जमानत भएसँगै उनी आज मुम्बईस्थित आर्थर रोड जेलबाट आज विहान रिहाइ भएका हुन् । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए उनको २ पटक जमानत रद्द गरिएको थियो । बिहीबार खानले जमानत पाएका थिए । मुम्बई उच्च अदालतले शुक्रबार जमानतका लागि १४ सर्त राखेको थियो । तर, सर्त उल्लंघन भएमा जमानत रद्द हुने बताएको थियो ।
प्रधानमन्त्री देउवा लण्डनमा विभिन्न भेटवार्ता र कार्यक्रममा व्यस्त
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप–२६० अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार राति लण्डन आइपुग्नुभएको छ ।
लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई नेपालका लागि सर्वदलीय संसदीय समूहका अध्यक्ष सांसद वीरेन्द्र शर्मा, बेलायतका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाललगायतले स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल शनिबार र आइतबार यहीँ रहने र विभिन्न भेटवार्ता तथा कार्यक्रममा व्यस्त रहने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यहाँको स्थानीय समयानुसार शनिबार बिहान उहाँसँग बेलायतको दुवै सदनका केही सांसदहरु तथा पूर्वरक्षामन्त्री लर्ड लनकास्टरले भेट्नुहुने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री देउवासँग दिउँसो बेलायत–नेपाल समाजका प्रतिनिधि र बेलायत–नेपाल गैरसरकारी संस्था मञ्चका विशिष्ट व्यक्ति, गैरआवासीय नेपाली सङ्घका पदाधिकारी, बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिलगायतले भेट्ने कार्यक्रम रहेको छ । आजै साँझ उहाँले नेपालका लागि सर्वदलीय संसदीय समूह ९एपीपीजी–एन० र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले आयोजना गने स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।
आइतबार बिहान उहाँसँग भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधिले भेट्ने र प्रधानमन्त्री देउवा उहाँको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुने मन्त्रालयले जनाएको छ । आइतबार साँझ उहाँ स्कटल्याण्डको इडिनवर्ग हँुदै ग्लास्गो प्रस्थान गर्नुहुनेछ । कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म ग्लास्गोमा आयोजना हुँदैछ ।
प्रतिनिधिमण्डलमा वन तथा वातावारणमन्त्री रामसहायप्रसाद यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन सचिव डा पेमनारायण कँडेल, गृहसचिव टेकनारायण पाण्डे, राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी, अर्थ सचिव मधुकुमार मरासिनी, राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा माधवबहादुर कार्की, शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदीलगायत अन्य उच्च अधिकारी, निजी सुरक्षा अधिकृत र सञ्चारकर्मीसहित २१ जना हुनुहुन्छ ।
