१३ कार्तिक २०७८, शनिबार १२:०२ – Page 4 – Nagarikabhiyan : National News

काँचो धागोले बाँधेको गठबन्धन होइन: अध्यक्ष नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत छ भनेका छन् ।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा उहाँले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताए ।

उनले प्रदेश नं १ मा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने जनाए । प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उनले अघिल्लो सरकारले सङ्घीयता, राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए । उनले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको छ भने।

साहरुख खान पुत्र आर्यन २७ दिनपछि रिहा हुँदै

एजेन्सी । क्रूज ड्रग्स प्रकरणमा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा हुँदैछन् । गत अक्टोबर २ मा आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो ।

खानले बिहीबार जमानत पाएका थिए। बाम्बे उच्च अदालतले शुक्रबार जमानतका लागि १४ सर्त राखेको थियो । तर, सर्त उल्लंघन भएमा जमानत रद्द हुनेछ ।

आर्यनको जमानत भए पनि औपचारिकता बाँकी रहेकाले उनी अझै मुम्बईस्थित आर्थर रोड जेलमा रिहाइको पर्खाइमा छन् । आज बिहान १० बजे कारागार खुलेपछि उनी बिहान नै ११ बजेसम्म रिहा हुने ठानिएको छ ।

आर्यनलाई पार्टीका लागि तयार एक क्रुज सिपबाट पक्राउ गरिएको हो । उनको साथमा ड्रग्स नभेटिएको र उनले सेवन नगरेको भनिए उनको २ पटक जमानत रद्द गरिएको थियो ।

विद्युतीय सवारीको प्रवर्द्धनमा ऊर्जा मन्त्रीको जोड

काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातीत इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताएकी छिन्।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको २५ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित विद्युतीय सवारी र्‍यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनि झण्डै रु दुई अर्ब र खाना पकाउने एलपी ग्याँसको आयातमा रु ४० अर्ब खर्च भइरहेको उल्लेख गरिन्। बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत्को उपयोग बढाउनुको विकल्प नरहेको उनको भनाइ थियो।

उनले उद्योग, यातायात र घरायसी प्रयोजनमा विद्युत्को खपत बढाउन सकिएमा विद्युत् खेर जाने अवस्था नआउने र त्यसले राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने धारणा राखिन्। मन्त्री भुसालले विद्युतीय सवारी साधनको  प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकता दिएको बताउँदै जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न र स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न विद्युतीय सवारीको प्रयोग बढाउनुपर्ने बताइन्।

कार्यक्रममा मन्त्रालयका सचिव सागर राईले विद्युतीय सवारी वातावरणमैत्री, यात्रुका लागि सहज र विद्युत्को खपत बढाउने क्षेत्र भएकाले यसको  प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र सर्वसाधारणले विद्युतीय सवारीको प्रयोगमा जोड दिनुपर्ने खाँचो औँल्याइन्।

केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीले वातावरण संरक्षण र स्वच्छ ऊर्जाको प्रवद्र्धनमा जोड दिँदै आएको केन्द्रले विद्युतीय सवारीको बारेमा सर्वसाधारणलाई जानकारी र नीतिनिर्माताहरुलाई पनि प्रविधिको बारेमा अवगत गराउन र्‍यालीको आयोजना गरेको जानकारी दिइन्।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै चार/पाँच सय मेगावाट विद्युत् खेर गइरहेको र आगामी दिनमा यो परिणाम अझ बढ्ने निश्चित रहेकाले विद्युत्को खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण भइरहेको उल्लेख गरे।

ललितपुरको जावलाखेलबाट शुरु भएको र्‍याली काठमाडौँका विभिन्न स्थान हुँदै भृकुटीमण्डपमा आएर विसर्जन भएको थियो। र्‍यालीमा विद्युतीय साइकल, स्कुटर, मोटरसाइकल, ट्याम्पो र कार गरी झण्डै ३०० को सङ्ख्यामा सहभागिता थियो।

विश्वकप क्रिकेट : इंग्ल्यान्ड र अष्ट्रेलिया भिड्दै

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज शनिबार दुई खेलहरु हुँदैछन् । विश्वकप अन्तर्गत शनिबार हुने पहिलो खेलमा दक्षिण अफ्रीका र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । सारजाहमा हुने दक्षिण अफ्रीका र श्रीलंकाबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ ।

समूह १ मा रहेको दुबै टिम आज दोस्रो जितको खोजीमा हुनेछन् । दक्षिण अफ्रीका २ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

श्रीलंका २ अंकसहित चौंथो स्थानमा रहेको छ । विश्वकप अन्तर्गत नै अर्को खेलमा दुई उपाधि दाबेदार इंग्ल्यान्ड र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । दुबईमा हुने इंग्ल्यान्ड र अष्ट्रेलियाबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ । समूह १ मा रहेको इंग्ल्यान्ड र अष्ट्रेलिया तेस्रो जितको खोजीमा रहेका छन् । दुबै टोलीले अघिल्ला दुई खेलमा जित निकालेका थिए । इंग्ल्यान्ड २ खेलमा ४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

अष्ट्रेलिया ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । दुई टिमबीचको पहिल्लो पाँच भेटमा इंग्ल्यान्डले तीन खेल जितेको छ । अष्ट्रेलियाले दुई खेल जितेको छ ।

भारत–भूटान सीमा क्षेत्रमा पनि हात्तीको आतंक, मान्छे मार्ने, अन्न खाई दिने र घर भत्काउने

झापा । नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुबर्स’ मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा रहेको छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईबस्तु हिँडेझैँ हरेक साँझ आहार खोज्दै जङ्गली हात्तीको लर्को बस्ती र बाली क्षेत्रमा पस्ने गरेको देख्न सकिन्छ । भूटानको प्रवेशबिन्दु फुन्चोलिङसँग जोडिएको अलिपुरद्वारको मदारीहाट ब्लकमा एक लाखभन्दा बढी नेपाली भाषी बसोबास गर्छन् । जहाँ दैनिक ४०० को हाराहारीमा आउने हात्तीले मान्छे मार्ने, खेतबारीको अन्नबाली खाइदिने र घर भत्काउने गरेको डुबर्स न्यूज च्यानलका सम्पादक नवीन आचार्यले बताए ।

पश्चिम बङ्गाल सरकारले जल्दापाडा राष्ट्रिय निकुञ्जको वरिपरि विद्युतीय घेराबार गरेर हात्ती गाउँ पस्न नदिने उपाय गर्दै आएपछि समस्या केही कम भएको उनको भनाइ छ । तर, हात्ती आउने क्रम भने रोकिएको छैन । किसानले धानबाली जोगाउन खेतमा बनाइएका काठ र बासका अग्ला मचान (स्थानीय भाषामा टुङ)मा अनिदै रात बिताउने गरेको उनले जानकारी दिए । जिल्लाको बानरहाट, मेघनाथ, साहनाथ, वीरपाडा, कालचिनीलगायतका क्षेत्रमा नेपाली भाषीको ठूलो बसोबास रहेको छ । उनीहरुको मुख्य पेसा कृषि भए पनि हात्ती आतङ्कका कारण उनीहरुले अन्नखेती गर्न छाडेर सुपारी लगाउन थालेका स्थानीय साहित्यकार किरण उपाध्यायले बताए ।

बाली पाकेर घरमा भित्र्याउन नपाउँदै क्षति हुन थालेपछि धान, मकै, गहुँ लगाउन किसानले छाडिसकेको बताउँदै उपाध्यायले भने, “जीविकाका लागि सुपारी खेतीतिर मानिस लागेका छन् । व्यापार र पर्यटनमा पनि आकर्षण बढ्दै गएको छ ।” स्थानीय नेपाली भाषी पेसा बदलेर पशुपालनमा समेत लाग्न थालेका छन् । उनले सो क्षेत्रमा आसामबाट जङ्गली हात्ती आउने गरेको र किसानले बढी दुःखकष्ट बेहोर्ने गरेको जनाए । हात्तीबाट मृत्यु भएका परिवारलाई भारत सरकारले प्रति व्यक्ति भारु चार लाख नगद र परिवारका एक सदस्यलाई राष्ट्रिय निकुञ्जभित्रै सुरक्षागार्डको रोजगारीको व्यवस्था गर्दै आएको उनले बताए ।

जिल्लामा जुनसकै राजनीतिक दलका उमेदवारलाई जिताउने निर्णायक मत रहेको दाबी गर्दै आएका नेपाली भाषीले हात्तीसँग सधैँ हार्ने गरेको दुखेसो सुनाउने गरेका छन् । भारत सरकारले जङ्गली जनावर मार्न नपाइने कडा कानुनी व्यवस्था गरेको तर स्थानीयवासीको सुरक्षामा पर्याप्त ध्यान नदिएको उनीहरुको गुनासो छ । भूटानी सीमा नजिकको भारतीय डुबर्स क्षेत्र, नेपाल र भूटानमा जङ्गली हात्तीले पुर्याउँदै आएको क्षति विषयमा अलिपुरद्वारको जल्दापाडा निकुञ्जमा दुई दिनअघि सम्पन्न एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मको अन्तरदेशीय बैठकमा समेत छलफल भएको थियो । नेपाली टोलीले बैठकमा मानव–हात्ती द्वन्द्वको अवस्थाबारे अवगत गराएको थियो ।

आसामबाट आउने जङ्गली हात्ती डुबर्सको मदारीहाट हुँदै टिस्टा र त्यहाँबाट सिधै नेपाल आउने गरेको एशोसिएशन फर कन्जरभेसन एन्ड टुरिज्मका अध्यक्ष राज वसुले बताए । भूटानको दक्षिणी क्षेत्र, भारतको डुबर्स र नेपालको कोशीटप्पुसम्मको लामो भूभाग हात्तीको परम्परागत विचरण क्षेत्र भएको उनले बताए । “हात्तीको कुनै देश हुँदैन, मानव र हात्तीबीचको द्वन्द्व कुनै एउटा देशको मात्र समस्या होइन”, हिमालयले छोएको देशमा पर्यटन प्रवद्र्धनको साझा अभियान सञ्चालन हुनुपर्ने वकालत गर्दै आएका भारतीय संरक्षणविद् वसुले भने, “यो द्वन्द्वलाई अब पर्यटन विकासमा रुपान्तरण गर्नुको विकल्प छैन ।”

डुबर्स क्षेत्रमा रहेका राष्ट्रिय निकुञ्ज वरपर र पहाडी क्षेत्रमा हजारौँ होमस्टे र टुरिस्ट गाइड व्यवसायको प्रवद्र्धनमा आफ्नो संस्था जुटिरहेको जानकारी दिँदै नेपाल, भूटान र म्यानमारमा समेत यसका लागि पहल भइरहेको उनले बताए । द्वन्द्वलाई पर्यटनमा रुपान्तरण गर्दा स्थानीय हात्तीपीडित बासिन्दाको आर्थिक उपार्जन दिगो हुने र वन्यजन्तुको समेत संरक्षण हुने वसुको धारणा छ ।

सीमा नाकामा थप कडाइ गर्ने सुरक्षा समिति बैठकको निर्णय

काठमाडौं । देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा शुक्रबार गृह मन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो ।

अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने निर्णय समिति बैठकमा भयो । कडाइ गर्नका लागि नाकामा सीसीटिभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनुपर्ने व्यवस्था गर्ने, अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकमा भएको छ ।

पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकाले नाकामै स्वास्थ्य जाँच गर्ने पनि बैठकमा निणर्य भएको छ । त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा पनि बैठकमा छलफल भयो । बैठकमा अफगानी नागरिक र अन्य देशका नागरिक कति छन् भन्नेबारेमा सुरक्षा निकायका प्रमुखहरूले कार्यवाहक प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका थिए ।

गृहमन्त्री खाँणले अनधिकृतरुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिन सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरु कडाइ गर्नुपर्ने बताए । कार्यवाहक प्रधानमन्त्री खाँणको सक्रियतामा बसेको बैठकमा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक प्रधुम्न कुमार कार्की सहभागी थिए ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आमन्त्रितथिए । समसामयिक विषयमा थप छलफल गर्न छिट्टै अर्को बैठक आइतबार पुनः बोलाइएको छ । रासस

जथाभावी बालुवा उत्खननले २० करोडका दुई पुल भासिने खतरामा

रौतहट । ऋषि निर्माण सेवाले जथाभावी बालुवा उत्खनन गर्दा रौतहटस्थित लालबकैया नदीको दुई वटा पुल भासिने जोखिम बढेको छ । कटहरिया नगरपालिकाबाट नदीको ठेक्का लिएका उक्त निर्माण सेवाले जेसिबी प्रयोग गरेर जथाभावी बालुवा उत्खनन गर्दा कटहरिया र गर्जाघाट बकैया नदीको पुल भासिने जोखिम बढेको हो ।

अहिले एका बिहानैदेखि जेसिबी प्रयोग गरेर ठेकदार ब्रह्म नारायण यादवका मानिसहरु कटहरिया पुल देखि मात्र ५० मिटर दक्षिण र गर्जापुलको दुबै तर्फ मात्र १ सय मिटर टाढा बाट दैनिक सैयौं टिपर, ट्याक्टर बालुवा ढुवानी गरिरहेका छन् । कुनै पनि भौतिक संरचना पक्की निर्माण भएको स्थानबाट कम्तीमा ५ सय मिटर टाढा बाट नदीजन्य पदार्थ निकाल्नुपर्ने कानुनी व्यवस्था रहेको डिभिजन सडक कार्यालय चन्द्रपुरका प्रमुख रामनरेस केशरीले बताए ।

तर कटहरिया र गुजरा नगरपालिकामा सबै जनप्रतिनिधि र नेताहरु मौन बसेको कारण ठेकदारले आफ्नो फाइदाको लागि झण्डै २० करोड रुपैयाँको लागतमा निर्माण भएका दुई वटा पुल भासिने जोखिम बढेको छ ।

पूर्वमन्त्री प्रभु साहको पहलमा करिब १० करोडको लागतमा कटहरिया, गमहरिया घाट लालबकैया नदीमा केही वर्षअघि पुल निर्माण भएको थियो । त्यसैगरी रौतहट क्षेत्र ३ का तत्कालीन संघीय सांसद पूर्व मन्त्री गोविन्द चौधरीको पहलमा झण्डै ९ करोडको लागतमा केही वर्षअघि गर्जाघाट लालबकैया नदीमा पुल निर्माण भएको थियो ।

स्थानीय निर्वाचनपछि सम्बन्धित जनप्रतिनिधिले आफ्नो पालिका भित्रको सार्वजनिक सम्पतिको रेखदेख गर्नुपर्ने संविधानमै व्यवस्था छ । कटहरिया र गुजरा नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यसहितको सर्वसम्मतिमा बर्षेणी लालबकैया नदीको टेण्डर गर्ने गर्दछन् ।

ठेक्का पाएका ठेकेदारले प्रत्येक वर्ष कटहरिया र गर्जा घाट लालबकैया पुल छेउबाट नै बालुवा गिट्टी उठाउँदा पनि मात्र बजेट चलाउने जनप्रतिनिधिहरु मौन बसेका हुन्छन् । वर्तमान अवस्थामा कटहरिया, गर्जाघाट लालबकैया नदीको पुलको रेखदेख अथवा सुरक्षा संरक्षण कसले गरिदिने ठूलो प्रश्न उठेको छ ।

रौतहटका सिडियो कृष्ण बहादुर शाहीले उक्त दुई पुलको रेखदेख गर्ने जिम्मा कटहरिया, गुजरा नगरपालिका र डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको भएको बताए । साथै उनले अवैध उत्खनन अविलम्ब रोक्का गराउने प्रतिबद्धता जनाए । रासस

साउथ स्टार पुनित राजकुमारको ह्दयघातका कारण निधन

मुम्बइ  । दक्षिण भारतीय अभिनेता पुनित राजकुमारको ४६ वर्षको उमेरमा हृदयघातका कारण शुक्रबार निधन भएको छ । हृदयघात भएपछि उनलाई बेंग्लोरको विक्रम अस्पतालमा भर्ना गरिएको थियो । पुनीत दिवंगत अभिनेता राजकुमारका छोरा थिए । उनी फ्यानमाझ ‘अप्पु’ नामले परिचित थिए ।

प्रख्यात टेलिभिजन प्रस्तोता पुनीत बाल कलाकारका रुपमा करियर सुरुवात गरेका थिए । उनी कन्नड फिल्ममा सर्वाधिक कमाई गर्ने अभिनेताको सूचीमा सूचीकृत थिए । क्रिकेटर वैंकटेश प्रसादले उनको निधनको पुष्टि गरेका छन् ।

अष्ट्रेलियामा कोभिड-१९ का कारण सृजित प्रतिबन्ध सहज बन्दै

एजेन्सी । अष्ट्रेलियाको क्यानबेरामा कोरोनाभाइरस नियन्त्रणका निम्ति लगाइएको प्रतिबन्ध क्रमशः सहज बनाइदैछ । अष्ट्रेलियाको राजधानी क्षेत्र (ACT) का बासिन्दाहरूले शुक्रबारदेखि घर बाहिर जादा मास्क लगाउन अनिवार्य हुनेछैन।

अगस्टको शुरुदेखि पहिलो पटक क्यानबेराका कला र मनोरञ्जन स्थलहरू लगायत सिनेमाघर र नाट्यशालाहरूमा सिट क्षमताको ७५ प्रतिशतसम्म मात्र व्यवस्थापन गरेर पुनः खोलिएका छन्। आतिथ्य स्थलहरूको लागि संरक्षक क्यापहरू भित्र अधिकतम २५ व्यक्तिहरू सम्म बस्न मिल्ने बनाइएको छ। त्यसैगरी घरपरिवारमा १० जना पाहुना आवतजावतलाई अनुमति दिइएको छ। त्यसैगरी ३० जनासम्म मानिसहरू घर बाहिर भेला हुन सक्नेछन् । व्यामशाला र अन्य क्लबहरू सञ्चालनका निम्ति अनुमति प्रदान गरिएको छ।

संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले ५० वर्षभन्दा माथिका ८५.२ प्रतिशत र ७० वर्षभन्दा माथिका करिब ९० प्रतिशतलाई कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाइएको जानकारी दिएका छन् । उनले घरमा निको हुने कोभिड-१९ बिरामीहरूलाई सहयोग गर्न प्राथमिक हेरचाह नेटवर्कका लागि १८ करोड अष्ट्रेलियाली डलर (१३५.४ मिलियन अमेरिकी डलर) कोषको घोषणा गरेका छन् ।

विराटनगरका ट्राफिक इन्चार्जहरू अबैध सम्पति कमाउँदै, सम्धित निकाय मुख दर्शक !

विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले सरुवा भएर आएपछि नै पहुँचका भरमा लामो समयदेखि एकै कार्यालयमा बस्दै आएका प्रहरीलाई सरुवा गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको सुनाएका थिए । तर उनी आएको चार महिना बितिसक्दा पनि लामो समय एउटै कार्यालयमा बिताएका ट्राफिक प्रहरीहरूको सरुवा हुन सकेको छैन ।

विराटनगरका विभिन्न स्थानका ट्राफिक बिटका इन्चार्जहरू एउटै कार्यालयमा पावरका भरमा बसिरहेका छन् । सवारी साधन तथा बिभिन्न व्यवसायीहरूबाट मासिक रूपमा रकम असुली गर्दै आएका यी इन्चार्जहरूले माथिल्लो निकायसम्म मोटो रकम बुझाएर लामो समयदेखि एकै स्थानमा बसिरहेका छन् । यसरी बस्नेमा पुष्पलाल चोक ट्राफिक बिटका इन्चार्ज गणेश दाहाल, हाटखोला ट्राफिक बिटका इन्चार्ज विशाल प्रधान र रानी ट्राफिक पोष्टका हबल्दार गौतम विश्वास रहेका छन् ।

गणेश दाहाल

दाहाल २२ वर्षदेखि प्रहरी सेवामा आवद्ध छन् । उनी ट्राफिक प्रहरीमा आवद्ध भएको १६ वर्ष भयो । साढे ४ वर्ष अगाडी पुष्पलालचोक ट्राफिक इन्चमर्जका रूपमा आएका दाहाल विराटनगरका स्थानिय हुन । ईट्टा व्यवसायी, क्रसर व्यवसायी, टिपर व्यवसायी लगायतबाट उनले अबैध रूपमा मासिक रकम संकलन गरिरहेका छन् । उनले संकलन गरेको रकम आफुभन्दा माथिल्लो निकायसम्म बाड्ने गरेका छन् । यसरी अबैध रकम उठाएर माथिल्लो निकायसम्म पुर्याउन खप्पिस रहेका उनलाई सरुवा गर्न माथिल्लो निकाय नै मौन रहेको श्रोत बताउँछ । विराटनगरको राजवंशी चोकमा उनको घर हैन दरबार बनाएका छन् । उनले राजवंशी चोक लगायत अबैध रूपमा कमाएको सम्पतिले धेरै ठाउँमा जग्गा जमिन जोडेका छन् । उनी अहिलेसम्म आफुलाई पायक पर्ने र कमाउ हुने स्थानमा मात्रै जाने गरेको पाइएको छ । उनी यसभन्दा पहिला नेमुवा ट्राफिक पोष्टमा कार्यरत रहेका थिए ।

विशाल प्रधान

प्रधान १६ वर्षदेखि प्रहरी सेवामा छन् । उनी ट्राफिक प्रहरीमा ११ वर्षदेखि कार्यरत छन् । उनी हाटखोलामा ट्राफिक इन्चार्जको रूपमा रहेको ६ वर्ष बढी भएको छ । धान चामल व्यवसायीका ट्याक्टर, ईटा व्यवसायी, भारतीय गाडीहरू, टिपर साथै विभिन्न क्षेत्रबाट उनले अबैध रकम असुली गर्ने गरेका छन् । अबैध रूपमा कमाएको पैसा उनले माथिल्लो निकायसम्म मासिक रूपमा करिब ७० सम्म बुझाउने गरेको विशेष श्रोतले बताएको छ ।

गौतम विश्वास

विश्वास १९ वर्षदेखि प्रहरी सेवामा आवद्ध छन् । उनी १२ वर्षदेखि भने ट्राफिक प्रहरीमा आबद्ध छन् । रानी ट्राफिक पोष्टको हबल्दारका रूपमा रहेका विश्वासको घर विराटनगरको बुधनगरमा रहेको छ । उनी ५ वर्षदेखि घरपायक स्थानमा रहँदै आएका छन् । उनले भारतीय गाडीहरूसँग अबैध रूपमा मोटो रकम असुली गर्ने गरेका छन् । उनले माथिल्लो निकायलाई अबैध रूपमा संकलन गरेको रकम महिनाको ७० हजारसम्म बुझाउने गरेका छन् ।

 

यता १ नम्बर ट्राफिक कार्यालय इटहरीका प्रमुख बासुदेव खतिवडाले भने एक महिना भित्रमा ट्राफिक संगठनमा धेरै सुधार गर्ने छौँ , लामो समय एकै स्थानमा बसेका र अनैतिक काम गरिरहेकालाइ कार्वाही प्रक्रिया अगाडी बढाइ बढाइसकेको बताए । गुनासो आएका धेरै ट्राफिक बिटमा सुधार गरिसकेको र अबैध रकम असुली गरेर माथिल्लो निकायसम्म पुर्याउने भन्ने कुरा गलत रहेको उनले समेत उनले जानकारी दिए।

पँहुच नभएका ट्राफिकहरू भने बारम्बार सरुवा भइरहन्छन । तर यसरी जरा गाडेर अबैध सम्पति कमाएर माथिल्लो निकायसम्म पुर्याउँदै एकै स्थानमा लामो समय बसेकाहरूलाई सरुवा गर्न माथिल्लो निकाय नै मौन देखिन्छ ।

संसद्को चालू अधिवेशन अन्त्य

काठमाडौँ । ससंदको चालू अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आज (शुक्रबार) राति १२ बजेदेखि लागु हुने गरि संसद्को चालू अधिवेशनको अन्त्य गरेकी हुन् ।

पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको थियो । तर, विपक्षी दलको विरोध र नारावाजीकाबीच पनि सभामुख सापकोटाले कार्यसूची अगाडी बढाउँदै आएका थिए ।

बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले अर्को बैठक कार्तिक २९ गतेका लागि तोकेका थिए ।

सचिवालयले जारी गरेको सूचना

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८–०७–११ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन, सम्वत् २०७८ साल कार्तिक १२ गते शुक्रबार राती १२ः०० बजेदेखि अन्त्य भएकोले मिति २०७८ साल कार्तिक ११ गतेको प्रतिनिधि सभाको बैठकबाट कार्तिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक र मिति २०७८ साल असोज २५ गते सोमबार बसेको राष्ट्रिय सभाको बैठकबाट अर्को सूचनाद्वारा तोकिने मिति र समयमा बस्ने गरी स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएकोले क्रमशः प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२)को प्रतिबन्धात्मक वाक्यांश र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२)को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दुवै सभाका मा.सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

डा.भरतराज गौतम
संघीय संसदको महासचिव

नेपाल बार परिसरमै अधिवक्ताबीच हानाहान

काठमाडौँ ।  नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ ।

सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए ।

‘न्यायालय बन्धक बनाउन हुँदैन । सर्वसाधारणले दु:ख पाए । इजलास सूचारु हुनुपर्छ भन्दा ममाथि आक्रमण गरियो । अब म कानुनी उपचारमा जान्छु,’ चुडालले भने ।

‘विश्वमा वर्षेनी एक करोड ३० लाखलाई पक्षघात’

काठमाडाैं । विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षघात हुने गरेको पाइएको छ । विश्व पक्षघात दिवसका अवसरमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ चिकित्सक एवं न्यूरोलोजिष्ट डा राजु पौडेलले विश्वमा बर्सेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षघात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको बताउनुभयो ।

“पक्षघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ, यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनु जरुरी छ”, उहाँले भन्नुभयो । विश्वमा हरेक चार जनामा एक जनालाई र छ सेकेण्डमा एक जनालाई पक्षघातको सम्भावना रहेको डा पौडेलको भनाइ थियो । उहाँले नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उल्लेख गर्नुभयो । नेपालमा अहिले पक्षघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

डा पौडेलले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निस्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति सतर्क रहन हुनुपर्दछ । सन्तुलन गुम्नु, अनुहार बाङ्गो हुनु, आँखाको ज्योति अचानक गुम्नु, बोली लरबराउनु, हातखुट्टा लुरो हुनु पक्षघातको लक्षण भएको र यस्ता लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको उहाँले बताउनुभयो ।
पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गरिने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने समेत डा पौडेलको भनाइ थियो ।

आज २९ अक्टोबरअर्थात् विश्व पक्षघात दिवसका अवसरमा काठमाडौँको महाराजगञ्जदेखि सामाखुशी चोकसम्म जनचेतनामूलक कार्यक्रमसहित पदयात्रा गरिएको थियो । उक्त अस्पताल, नेशनल न्यूरो सेन्टर र नेपाल पक्षघात सङ्घको आयोजनामा गरिएको उक्त कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, कर्मचारी, सङ्घका पदाधिकारी एवं न्यूरो सेन्टरका कर्मचारीको सहभागीता थियो ।

तालिवान भन्छ– ‘अफगानिस्तानमा आइएसको पत्तासाफ हुन्छ’

एजेन्सी । केही साता अघिसम्म अफगानिस्तानको पूर्वी सहर जलालाबादका चोकमा मानिसहरुको शब भेटिन्थ्यो । कसैलाई हातखुट्टा काटेर गोली ठोकेर फालिएको हुन्थ्यो भने केहीलाई सडकमै झुन्डाइन्थ्यो ।

हत्या गरिएकामध्ये धेरैका गोजीमा कागजको एउटा बिटो हुन्थ्यो । अनि त्यहाँ लेखिएको हुन्थ्यो–अतिवादी मुस्लिम समूह आईएसको सदस्यबिरुद्ध सरकारलाई गुप्तर गरेको अभियोगमा भौतिक कारबाही ।

ती त्रासदीपूर्ण हमलाको जिम्मा कसैले लिदैनथ्यो । बरु त्यस्ता गैरन्यायिक हत्यामा तालिवानको संलग्नता रहेको आशंका गरिन्थ्यो । किनकी अफगानिस्तानमा आइएसको तुलनामा तालिवानकै दबदबा थियो । तर, अहिले परिस्थिति भिन्न छ ।

तालिवानको सत्तापलटपछि अफगानिस्तान तुलनात्मक रुपमा ‘शान्त’ छ । तर, कतिपय स्थानमा आईएसले आफ्नो प्रभाव देखाउन हिंसात्मक हमला गरेका छन् । आईएसलाई ‘निर्मूल’ गर्ने तालिवानले अठोट गरेको छ ।

पछिल्लो समयमा जलालाबादमा तालिवान आईएसमाथिको दमनमा उत्रिएको छ । स्थानीय स्तरमा ‘दायस’ भनिने आइएसले अहिले पनि तालिवान शैलीमा आक्रमण गरेर भाग्न थालेका छन् ।

आईएस र तालिवानबीच एक अर्कोमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् । आइएसले तालिवानलाई आफ्नो अडान छोडेको आरोप लगाएको छ भने तालिवानले ‘जघन्य हत्या’ मा उत्रिएको बताएको छ ।

नानगरहार प्रान्तका तालिवान गुप्तर सेवाका प्रमुख डा.बशिरले आईएसलाई सो प्रान्तबाट पत्तासाफ गर्न थालेको बताउँछन् । तालिवानले सयौँ आईएस लडाकु पक्राउ गरेको उनको भनाई छ ।

डा.बशिर र सम्पूर्ण तालिवानले नै अफगानिस्तानमा आईएसको पकड गुम्दै गएको बताउँछन् । अफगानिस्तानको युद्ध अन्त्य भएको र देश शान्तिको पथमा हिडिसकेको तालिवानको दाबी छ । अब अफगानिस्तानमा आईएसको अस्थित्व समाप्त पार्ने डा.बशिरको दाबी छ ।

स्थानीय तहमा भ्रष्टाचारको संजाल

नेपालमा जनताबाट निर्वाचितहरु सबैको मनमनमा र जनजनमा हुनुपर्ने हो । उनीहरुले गरेको कामबाट धेरैलाई प्रभावित पार्ने र जनताको हितमा सकृय रहनुपर्नेमा त्यस विपरितको कार्यमा जनप्रतिनिधिहरु लागेका छन् । देशमा संविधान जारी भएपछिको पहिलो ऐतिहासिक स्थानीय तहको निर्वाचनमा भाग लिएका वा मतदान गरेका नागरिकले सबै गाउँ, नगर, देशको विकास हुने भन्ने भावना बोकेका थिए । जनताको हितमा काम गर्नुपर्ने जनताको प्रतिनिधिको रुपमा पदिय व्यवहार प्रकट हुनुपर्नेमा त्यसको ठीक उल्टो हाम्रा नेता तथा जनप्रतिनिधिले पदिय जिम्मेबारीलाई पद, पैसा, परिवार र कमिसनमा सिमित बनेका छन् । जनताले कुन भावनाबाट कति विश्वास गरेर मतदान गरेर विजय गराए, राजनीतिक दलमा कति गृहकार्य गरेर टिकट पाएको र कति आश्वासनको बीचमा आफ्नो आश्वासनलाई सार्थक गर्ने भनी मतदान गर्न बाध्य पारेको भन्ने कुराहरु विर्सेर एकाएक व्यक्तिवादी, परिवारबाद, जातिवाद, पार्टीबादमा लागेर व्यवहार प्रदर्शन गर्न थालेपनि जनताद्धारा निर्वाचित जनप्रतिनिधिहरुमा पदिय उद्मात बढेको रहेछ भन्ने कुराको पुष्टि हुन्छ । हिजोको दिनमा निर्वाचनमा मतदान गर्न आग्रह गर्ने शैली, भोट माग्न घरदैलौमा खुट्टा ढोग्न समेत पछी नपर्ने जनप्रतिनिधिहरु आज सवाँ चार वर्षको अवधिमा उनीहरु जुनजुन पार्टीबाट जितेर आएपनि एउटै कित्तामा उभिन खोज्नुले हाम्रा नेताहरुको दूरदर्शितामा कमि र भ्रष्टाचारमा लिप्त कतिसम्म रहेछ भन्ने कुरा घाम झै छर्लंग छ । हामी नेपाली जनताको नासोको रुपमा जारी भएको संविधान र संघीय गणतन्त्रलाई जोगाइराख्न नेताहरुले आफूलाई परिवर्तन गर्नुपर्नेमा त्यसमा उल्टो अमर्यादित, अनियमित, अवैध, अन्यौल, अराजक, अपारदर्शिता, कमिसन, भ्रष्टाचारको संजालमा लिप्त भएका छन् ।
जनताले चाहेको जस्तो केही नभएपनि यहाँ नेताले भने जस्तो भएको छ । गाउँ, नगर , जिल्ला र देशमा विकास र राजनीतिक घटना क्रमले मतदाताले चाहे जस्तो विकास र परिर्वतन हुन सकेको छैन् । नागरिकले आफ्नो क्षेत्रको समग्र विकास, शान्ति र समृद्धिको आश जनप्रतिनिधिहरुबाट गरेका छन । यो मानवको मानविय स्वभाव पनि हो । नागरिकले जनप्रतिनिधिलाई माया गर्छ तर उनीहरुले सबै नागरिकलाई माया गर्न सकेन भने अन्याय हुन्छ । यो कुरा बुझ्न पदिय उदमातमा रुमलिएका जनप्रतिनिधिहरु तयार छैन् ।
यसको उदाहारण स्वरुप दुहवी नगर प्रमुख वेदनारायण गच्छदारले आफ्नो तेस्रो नगर सभाबाट दुहवी नगरपालिका विकासको आधार, कृषि, उद्योग, प्रविधि, खेलकुदर व्यपार मुल नारा अघि सारेकोमा त्यसमा आन्शिक मात्रै काम गरे भने केही काम भाषण, कागज र गफमा सिमित गरे । गच्छदारको कायैशैलीले अहम, घमण्ड र व्यक्तीवादी काममा लिप्त बनेका छन् । दुहवीमा नगर कार्यालय सञ्चालन खर्चमा २० लाख रुपियाँ, इन्धन पदाधिकारी २० लाख , इन्धन कार्यालय प्रयोजन १० लाख , इन्धन अन्य प्रयोजन एक लाख, भ्रमण खर्चमा २३ लाख , सवारि मर्मत २० लाख , मेसनरी मर्मत पाच लाख सहित ३४ वटा शिर्षकमा काम भन्दा बढी कागज मिलाएर खाने मेलोको बजेटमा रजाई गरेको गुनासो बाहिर आएको छ ।
गच्छदारको कार्यालयको पदाधिकारीमा प्रमुख, उपप्रमुख , प्रशासकिय अधिकृत , कार्यापालिका सदस्यहरु सहित बाहेक वडाहरुको वडाहरुमा प्रत्येक वडामा एक लाख ५० हजारका दर १२ वडामा १८ लाख इन्धन खर्चको लागि बजेट आर्थिक वर्ष २०७५।०७६ मा खर्च गरेको कागजी विलभरपाई लेखा शाखामा पेश भएको पाइएकोछ । यसरी हेर्दा वडाहरुको लम्बाई, चौडाई र वडामा वडा अध्यक्षको घर देखी कार्यालय, वडा भित्रको गाउँटोल र नगरपालिकाकासम्म पुग्न मुस्किलले दैनिक पुग्न पनि आधा लिटरदेखी १ लिटर इन्धन खर्च गरेपनि पुग्ने देखिन्छ तर दुहवीमा पदिय उद्मातको भरमा काम भन्दा कागजमा तलव, भत्ता बाहेकका सुविधाहरुको कागज मिलाएर खाईरहेको छ । दुहवी नगरको क्षेत्रफल ६५ दशमलव १३ वर्गकिलोमिटर छ । वडाहरुमा सबै भन्दा धेरै १२ नम्बर वडाको १३ दशमलव ४१ वर्गकिलोमिटर र सबै भन्दा कम ६ नम्बर वडाको क्षेत्रफल शुन्य दशमलव ४२ वर्गकिलोमिटर रहको छ । यो समग्रमा सधै सबै बाटोमा यात्रा गर्दा वडामा मुस्किलले एक सय रुपियाँ दिन र नगर प्रमुखले दैनिक यात्रा पालिका भरी गर्दा १० लिटर इन्धन खर्च हुने विज्ञहरुको तर्क छ तर यहाँ वडा अध्यक्षहरुले दैनिक विदा समेतको हिसाव गर्दा चार सय ११ रुपियाँको तेल खर्च गर्दैछ । यो सरकारी गाडी सनिवार र विदाको दिन अनुमती विना चढ्न पाईदैन तर पनि विदा समेतको हिसाव हेर्दा चार लिटर इन्धन खाईरहेका छन् भने नगर प्रमुख र उपप्रमुखले दैनिक पाँच हजार चार सय ८० रुपियाँ इन्धनमा खर्च गरिरहेका छन् । यो कार्यपालिकाको निर्णयबाट नै पारित गरेकाले यो संस्थागत तथा नीतिगत भ्रष्टाचारको एउटा नमुना मात्रै हो । यही सेरोफेरोमा कुरा गर्न सामुहिक प्रतिकृयाका लागि उनीहरुको कार्यपालिका बैठकमा पुग्दा पदिय उदमात, अराजकता देखियो ।
केही वडा अध्यक्षहरु समेत सुशासन, पारदर्शिता, जवाफदेहिता, जनसहभागिता, वीधिको शासनको कुरा गर्दा सुन्ने साहस समेत गर्न चाहेन । उनीहरुमा रहेको पदिय उद्मात , भ्रष्ट मानसिकता यसैबाट प्रष्ट भयो । वार्षिक रुपमा वडाले गर्ने कार्यालय संचालन खर्च, नगरपालिकाले गर्ने खर्च, सवारी, इन्धन, मसलन्द सहितका आधा भन्दा बढी संस्थगत रुपमा काजग मिलाई भ्रष्टाचार गर्ने विषयमा प्रश्न गर्ने वितिकै पदिय उद्मात देखाए । सुन्न नचाहेर अर्को निउँ खोज्न थाले ।
आफ्नो जिम्मेबार, हैसियत र पदिय मर्यादाको विषयमा सामान्य ख्याल नगरी नगर प्रमुख देखी वडा अध्यक्षसम्मले सुशासन, पारदर्शिता, जवाफदेहिता, जनसहभागिता, वीधिको शासनको कुरा सुन्ने साहस गरेन । उल्टै यसरी सोधेर तपाईकाहरुको काम कसरी चल्ने, पत्रिका कसरी चन्ले भन्ने धम्की दिए । उनीहरुको यो निच व्यवहार र पदिय उद्मातको एउटा श्रृखला जस्तो देखियो । अनुहारमा मुस्कान हराएको , पत्रकारको अगाडी पीडित जस्तो कालो अनुहार पारेको, कुरा सुन्नेसम्मको आट र हैसियत गुमाएर आफ्नो पदिय दम्भ देखाउन उदत देखिए ।
यो दुहवीको मात्रै समस्या होईन सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा पनि यही रवैया छ । यहाँका जनप्रतिनिधिहरु चार वर्षको अवधिमा कर्मचारीहरुको सहयोगमा कागज मिलाएर भ्रष्टाचार गर्न खपिस नै भईसकेका छन् । कुनै एकपार्टी विषेशका नभई अपवादमा बाहेक सबैको एउटै धारणा कागज मिलाउने सरकारी स्रोतले आफ्नो घर परिवार पाल्ने, खल्ती पर्ने, कालो धन कमाउने हिसावले दिएका छन् । यसको उदाहरण दुहवी झै संस्थागत भ्रष्टाचार गर्न इन्धन देखी कार्यालय संचालन खर्चको शिर्षकहरुको विषलेशण काफी छ । इनरुवामा त्यो चरितार्थको व्याख्या त्यती धेरै गर्नुपर्छ जस्तो छैन् । इनरुवामा ४० शिर्षकमा आय वा राजस्व संकलन गर्ने, ६३ वटा शिर्षकमा व्यय वा खर्च गर्ने बजेट ल्याएको छ । आय र व्ययको हिसाव सहित ६८ करोड ७६ लाख ८८ हजार रुपियाँको बजेट ल्याएको छ । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले चालु आर्थिक वर्ष २०७६।०७७ का लागि ल्याएको बजेट, नीति तथा कार्यक्रममा धेरै हिसावले संस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने काम गरेको देखिन्छ ।
भैपरी आउने पुजीगत समपुरक कोषमा दुई करोड, अनुशंधान तथा परामर्शमा १० लाख, अन्य सार्वजनिक निर्माण शिर्षकमा , कर्मचारी पारिश्रमिकमा चार करोड ५० लाख, पदाधिकारी पारिश्रमीक ५० लाख, पोशाक १८ लाख, खाध्यानमा २१ लाख, औषधी उपचारमा एक लाख महंगी भत्तामा ४३ लाख, कर्मचारी बैठक भत्तामा १० लाख, पदाधिकारी बैठक भत्तामा ३० लाख , अन्य भत्तामा ५ लाख सहितमा त नियम होला तर इन्धनमा करोड बढीको बजेट विनियोजन गरेको देखिन्छ । शिर्षकको हिसाव हेर्ने हो भने पदाधिकारी इन्धन ४० लाख, कार्यालय प्रयोजनका लागि इन्धन ५० लाख, इन्धन अन्य प्रयोजनका लागि १० छुट्याएको छ । यो मात्रै होईन भौतिक पूर्वाधार मिर्नाणका लागि योजना बनाउदाँ समेत बजार मूल्य भन्दा डेढ गुणा बढीको बनाउन पाउने गरि निर्णय गरेको छ जुन संस्थागत भ्रष्टाचारलाई सिधै प्रोत्साहन गर्छ । नगरस्तरीय योजनामा पूर्वाधार विकास तर्फ शिर्षक नै नलेखी अत्यावश्यक साना तिना योजनाहरुको लागि एक रोड रुपियाँ बजेट विनियोन गरेको छ । यो पनि नीतिगत भ्रष्टाचारलाई प्रोत्साहन गर्ने गरि आएको छ । इनरुवाको १० वटा वटाहरु अनि प्रत्येक वडामा दुई करोड बजेट र गाउँटोल जान्ने जनप्रतिनिधिहरु भएर पनि यती ठूलो बजेट अनि अत्यावश्यक साना तिना योजनाहरुको लागि एक रोड रुपियाँ बजेट विनियोन गरेको भनिएको छ । त्यसमा त सम्भावना भएका वा जोखिम नै रहेको अत्यावश्यक साना तिना योजनाहरुमा यो यो वा यहाँ यहाँ सम्भावनासम्म उल्लेख गर्न सकेको भए नियनमा खोट देखिदैन थियो तर नियममा खोट भएर बजेट विनियोन गरेको प्रष्टै देखिन्छ । अघिल्लो आर्थिक वर्षमा ९५ लाख रुपियाँ इन्धनमा मात्रै सकाए । नगरमा योजना तथा कार्यक्रममा मात्रै नभई नीतिगत रुपमा नै भ्रष्टाचार गर्ने गरि बजेट ल्याएको नागरिकको गुनासो जहाँत्यही छ । वडाहरुमा प्रति महिना एक लाख रुपियाँ कार्यलय संचालन खर्च दिने गरि वार्षिक १२ लाख रुपियाँ छुट्याएको छ । यो इनरुवाको वडाहरुको क्षेत्र र काम गर्ने शैली तथा जनघन्त्वको आधारमा बढी रकम हो । यसलाई वडा अध्यक्ष र वडा सचिवलाई केही काम र धेरै कागजी विलभरपाईको भरमा खर्च गर्न पाउने कुरालाई प्रोत्साहन गरेको नगरबासीहरुको आरोप बाहिर आएको छ । यसरी नगरको बजेट, नीति, योजना तथा कार्यक्रममा विकास निर्माणको काममा मात्रै नभई कार्यालय संचालन खर्चको समेत सीमाले संस्थागत भ्रष्टाचारलाई मलजल गरेको छ । जनताको विभिन्न काम र सेवाको वापत कर संकलन गर्ने गरेको भएपनि नागरिकलाई कर अनुसारको सेवा छिटोरितो दिन सकेको छैन् । कार्यालय संचालन खर्चको कुरा मात्रै नभई विकासको काममा समेत योजना स्टिमेटमा नै प्राविधिकहरुले बजार मूल्य भन्दा डेढ गुणा बढी बजेट बनाई उपभोक्ता समिति , ठेकेदार र अन्य निर्माणकर्तालाई फाईदा हुने र त्यसबाट केही कमिसन प्राविधिकहरुले समेत बझ्ने परिपार्टी निरन्तरता दिए जस्तो देखिएको छ ।
हाम्रो देशको पूर्वदेखि पश्चिमसम्म र उतरदेखि दक्षिणसम्ममा सबै नागरिकले शिक्षा, स्वास्थ्य, सञ्चार, खानेपानी, यातायात, विद्युत, स्वक्ष वतावरणकोे अपेक्षा संविधान र नयाँ जनप्रतिनिधिहरुबाट गरेका छन् र थिए तर त्यही कुराहरु हाम्रो संविधानमा उल्लेख पनि गरेको र नेताहरुले आफ्नो नगर तथा गाउँसभाबाट पारित पनि गरेको छ । विडम्बना तर यसको अनुभुती नागरिकले गर्न पाएका छैन् ।
स्थानीय तहमा समग्र विकासले नै सबै नगारिकको आशालाई परिपूर्ती गर्न सक्छ । नेपाली नागरिकले कहिले पनि ठूलो माग राखेका छैन् केवल नागरिकले विकासमा पारदर्शिता, जवाफदेहिता, सुशासन, जनसहभागिता, वीधिको शासन , जिम्मेबारी प्रतिको जनप्रतिनिधिहरुको बफादारिताको आश गरेका छन् । यो अभावमा सदियौदेखिको विभिन्न शासक विरुद्धमा आन्दोलन गरेका नागरिकहरु अहिले पनि ठूला राजा फालिए पनि साना राजाको रुपहरु पाल्न बाध्य छन् । हाम्रो देशका एकल शासकहरु, जातिय र पारिवारिक शासकको शासनले नागरिकलाई उपेक्षा गर्दै जादाँ ति शासकका विरुद्धमा भएको सर्घषले ल्याएको एक पछिको अर्को परिवर्तनलाई संस्थागत गर्न नसक्दा संघर्ष रोकिएको छैन् । तथापी हाम्रा जनप्रतिनिधिहरुले यसलाई नजर अन्दाज गरिरहेका छन् । समग्र विकासमा ध्यान भन्दा पनि व्यक्ती परिवार र टिकटका लागि सहयोग गरेका पात्र प्रति बढी ध्यान दिएर पदिय उद्मागमा लिन भएका छन् ।
हामी नागरिकले काल होईन कला प्रदर्शन गर्न चाहन्छ । नागरिकका आधारभुत आवश्यकताहरुलाई परिपूर्ती गर्न राज्यले वा जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने हो तर उनीहरुको दिमागमा वा मनोवृतिमा अर्कै कुराले स्थान पाएकाले जनप्रतिनिधिहरुको पदिय उद्मात र कार्यशैली सबैले सजिलै थाहा पाईसकेकाछन् ।

आजको सत्य संसार पत्रिकामा खवर छ ।

नेपाल बारको बैठक : अधिवक्ताबीच हानाहान

काठमाडौँ ।  नेपाल बार एशोसिएसन परिसरमा अधिवक्ताबीच हानाहान भएको छ । बार एशोसिएसनको बैठक बसिरहेका बेला शुक्रबार दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच हानाहान भएको हो । न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको बताइएको छ ।

सर्वोच्च अदालतका एसपी दीपक रेग्मीले दुई जना अधिवक्ताहरुबीच व्यक्तिगत विषयमा विवाद भएको बताए ।

‘न्यायालय बन्धक बनाउन हुँदैन । सर्वसाधारणले दु:ख पाए । इजलास सूचारु हुनुपर्छ भन्दा ममाथि आक्रमण गरियो । अब म कानुनी उपचारमा जान्छु,’ चुडालले भने ।