विराटनगरका ट्राफिक इन्चार्जहरू अबैध सम्पति कमाउँदै, सम्धित निकाय मुख दर्शक !
१२ कार्तिक २०७८, शुक्रबार १५:०३
विराटनगर । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुणकुमार बिसीले सरुवा भएर आएपछि नै पहुँचका भरमा लामो समयदेखि एकै कार्यालयमा बस्दै आएका प्रहरीलाई सरुवा गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको सुनाएका थिए । तर उनी आएको चार महिना बितिसक्दा पनि लामो समय एउटै कार्यालयमा बिताएका ट्राफिक प्रहरीहरूको सरुवा हुन सकेको छैन ।
विराटनगरका विभिन्न स्थानका ट्राफिक बिटका इन्चार्जहरू एउटै कार्यालयमा पावरका भरमा बसिरहेका छन् । सवारी साधन तथा बिभिन्न व्यवसायीहरूबाट मासिक रूपमा रकम असुली गर्दै आएका यी इन्चार्जहरूले माथिल्लो निकायसम्म मोटो रकम बुझाएर लामो समयदेखि एकै स्थानमा बसिरहेका छन् । यसरी बस्नेमा पुष्पलाल चोक ट्राफिक बिटका इन्चार्ज गणेश दाहाल, हाटखोला ट्राफिक बिटका इन्चार्ज विशाल प्रधान र रानी ट्राफिक पोष्टका हबल्दार गौतम विश्वास रहेका छन् ।
गणेश दाहाल

दाहाल २२ वर्षदेखि प्रहरी सेवामा आवद्ध छन् । उनी ट्राफिक प्रहरीमा आवद्ध भएको १६ वर्ष भयो । साढे ४ वर्ष अगाडी पुष्पलालचोक ट्राफिक इन्चमर्जका रूपमा आएका दाहाल विराटनगरका स्थानिय हुन । ईट्टा व्यवसायी, क्रसर व्यवसायी, टिपर व्यवसायी लगायतबाट उनले अबैध रूपमा मासिक रकम संकलन गरिरहेका छन् । उनले संकलन गरेको रकम आफुभन्दा माथिल्लो निकायसम्म बाड्ने गरेका छन् । यसरी अबैध रकम उठाएर माथिल्लो निकायसम्म पुर्याउन खप्पिस रहेका उनलाई सरुवा गर्न माथिल्लो निकाय नै मौन रहेको श्रोत बताउँछ । विराटनगरको राजवंशी चोकमा उनको घर हैन दरबार बनाएका छन् । उनले राजवंशी चोक लगायत अबैध रूपमा कमाएको सम्पतिले धेरै ठाउँमा जग्गा जमिन जोडेका छन् । उनी अहिलेसम्म आफुलाई पायक पर्ने र कमाउ हुने स्थानमा मात्रै जाने गरेको पाइएको छ । उनी यसभन्दा पहिला नेमुवा ट्राफिक पोष्टमा कार्यरत रहेका थिए ।
विशाल प्रधान

प्रधान १६ वर्षदेखि प्रहरी सेवामा छन् । उनी ट्राफिक प्रहरीमा ११ वर्षदेखि कार्यरत छन् । उनी हाटखोलामा ट्राफिक इन्चार्जको रूपमा रहेको ६ वर्ष बढी भएको छ । धान चामल व्यवसायीका ट्याक्टर, ईटा व्यवसायी, भारतीय गाडीहरू, टिपर साथै विभिन्न क्षेत्रबाट उनले अबैध रकम असुली गर्ने गरेका छन् । अबैध रूपमा कमाएको पैसा उनले माथिल्लो निकायसम्म मासिक रूपमा करिब ७० सम्म बुझाउने गरेको विशेष श्रोतले बताएको छ ।
गौतम विश्वास

विश्वास १९ वर्षदेखि प्रहरी सेवामा आवद्ध छन् । उनी १२ वर्षदेखि भने ट्राफिक प्रहरीमा आबद्ध छन् । रानी ट्राफिक पोष्टको हबल्दारका रूपमा रहेका विश्वासको घर विराटनगरको बुधनगरमा रहेको छ । उनी ५ वर्षदेखि घरपायक स्थानमा रहँदै आएका छन् । उनले भारतीय गाडीहरूसँग अबैध रूपमा मोटो रकम असुली गर्ने गरेका छन् । उनले माथिल्लो निकायलाई अबैध रूपमा संकलन गरेको रकम महिनाको ७० हजारसम्म बुझाउने गरेका छन् ।
यता १ नम्बर ट्राफिक कार्यालय इटहरीका प्रमुख बासुदेव खतिवडाले भने एक महिना भित्रमा ट्राफिक संगठनमा धेरै सुधार गर्ने छौँ , लामो समय एकै स्थानमा बसेका र अनैतिक काम गरिरहेकालाइ कार्वाही प्रक्रिया अगाडी बढाइ बढाइसकेको बताए । गुनासो आएका धेरै ट्राफिक बिटमा सुधार गरिसकेको र अबैध रकम असुली गरेर माथिल्लो निकायसम्म पुर्याउने भन्ने कुरा गलत रहेको उनले समेत उनले जानकारी दिए।
पँहुच नभएका ट्राफिकहरू भने बारम्बार सरुवा भइरहन्छन । तर यसरी जरा गाडेर अबैध सम्पति कमाएर माथिल्लो निकायसम्म पुर्याउँदै एकै स्थानमा लामो समय बसेकाहरूलाई सरुवा गर्न माथिल्लो निकाय नै मौन देखिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया