१२ कार्तिक २०७८, शुक्रबार १३:३९ – Page 5 – Nagarikabhiyan : National News

वडा अध्यक्षको घण्टाको आठ सय रुपियाँ खर्च

जनताबाट निर्वाचित वडा अध्यक्षको एक घण्टाको खर्च कति होला ? वडा अध्यक्षले कहाँबाट खर्च पाउछ ? त्यसको व्यवस्थापन कसरी गर्दै होला भन्ने धेरैको प्रश्न मनमा छ तर यसलाई सोध्ने आट गरेको देखिदैन् । यसमा धेरैको गुुनासो र प्रश्न सत्य संसारसंग आएकोले खोजविन गर्दै जादाँ सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाको १ नम्बर वडाको अनुुगमन गरेको अवस्थामा वडा अध्यक्ष राचन्द्रय पौदारले प्रतिघण्टा आठ सय रुपियाँ खर्च गरेको रहस्य फेला परेको छ । पाठकको जिज्ञासाको खोजी गर्दै जादाँ वडा अध्यक्षले इनरुवा नगरपालिकाको नगर सभाबाट बैधानिक रुपमा खर्च गर्न पाउने गरि पारित भएको बजेटको संचालन खर्च शिर्षकमा वार्षिक १० लाख देखी १२ लाख रुपियाँ पाउदो रहेछ । पौदारले सो पैसा सिधै पाएको देखिएको भएपनि नागरिकबाट विभिन्न शिर्षकमा करको नाममा उठाएको रकम इनरुवा नगरको राजस्व शाखामा बुझाउने र त्यहाँबाट फेरी वडालाई निकासा दिएको रकम रहेछ । जनतालाई निर्वाचनमा गरेको बाचाको विपरित राजस्व वा कर उठाउने काम गरेपनि त्यसको खर्च पारदर्शि रुपमा नगर्दा नागरिकमा असन्तुुष्टि बढेको छ । वडालाई वर्षको २ लाख रुपियाँ बढी संचालन खर्च बढी हुने देखिएको छ तर नगर प्रमुखले आफ्नो करौडो सुविधा उपभोग गर्दै नागरिकलाई शोषण गर्ने नियमत राखेकाले वडा अध्यक्षहरुलाई पनि अत्याधिक खर्त गर्ने गरी वार्षिक १० देखी १२ लाख रुपियाँ संचालन खर्चको नाममा बजेट दिएको सत्य संसारले अनुुगमनको क्रममा पाइएको छ ।  नागरिकहरुमा केहीले एक छाकको रक्सी मासुु, केही रकमको प्रलोभनमा परेर भ्रष्टाचार गर्ने नियत र प्रवृति बोकेकाहरुलाई मतदान गरेर निर्वातित गराउदाँको पीडा पाँच वर्षसम्म खेप्नुपरेको स्थानीयबासी तथा इनरुवा १ का युुवा नेता अभिनन्द यादवले बताउनुुभयो । इनरुवा १ मा छेदिलाल चौधरीको घर देखी दक्षीण ब्लक बाटो निर्माण, निर्वाचन कार्यालयदेखी दक्षीण ब्लक बाटो निर्माण, गौरीशंकर टोलमा सविता नेपालको घरजाने बाटोमा ब्लक बाटो निर्माण, दलबहादुरको घर देखी गोपालको घरजाने बाटोमा ब्लक बाटो निर्माण, नुतन पेट्रोल पम्पदेखी उत्तर बाटो, द्वारीका पोखरेलको घरदेखी उत्तर बाटोमा ब्लक बाटो निर्माण, सुदा सत्कार मार्गमा विचमा ढलका साथै ब्लक बाटो निर्माण, लक्ष्मी पौडेलको घरदेखी पश्चिम माटो पुरी ग्राभेल गर्नेकार्य, दिपक परियारको घर उत्तर ब्लक बाटो निर्माण, तारा पोखरेलको घरजाने बाटोमा ब्लक बाटो निर्माण, राम आचार्यको घरजाने बाटोमा ब्लक बाटो निर्माण मुकुन्द भट्टराईको घरदेखी बालमन्दिर जाने बाटोमा नाला तथा आरसिसिको निर्माण, ठाकुर चौकमा रहेको सडक छेउको खाली जेष्ठ नागरिकको लागि विश्रामस्थल निर्माण, मुगालाल परियारको घर उत्तर लालबहादुरको घर सम्म जाने बाटोमा ब्लक बाटो निर्माण, प्रभु बैंकदेखी पूर्व मनोज साहको घरसम्म पक्कीनाला तथा स्लाव निर्माण कार्य, शंकरपूर शाखादेखी पकले दर्जीको घरसम्म बाटोमा ब्लक बाटो निर्माण, रामवावु पोखरेलको घरदेखी पूर्व शंकरपूर साखा नहर सम्म पक्की नाला तथा पिच बाटो निर्माण, नागेश्वर यादवको घर जाने बाटोमा माटो पुरी ग्राभेल गर्ने कार्य, यस १ नम्बर वडाका बाटोहरुको डि पि आर गर्नकालागि समेत विनियोजन भएको बजेटमा पारदर्शि रुपमा काम नभएको वडाबासीको गुनासो छ । त्यसैगरी मनोज साहको घरदेखी वडाकार्यालय सम्मको बाटोमा नाला निर्माण कार्य, हुलाक देखि दक्षिण बाटोमा ग्राभेल सडक निर्माण कार्य गर्ने । दिपक परियारको घर देखि दक्षिण बाटोमा माटो पुरी ग्राभेल गर्ने , रोहित बहादुर कुवरको घर जाने वाटो ग्राभेलगरि व्लक टायल कार्य ,भगवती मा.वि.मा चिसोपानी फील्टर जडान, वर्षाको पानी निकासको लागि नाला सफा तथा हयुम पाइप खरिद गर्ने कार्य, ओम शान्ती जाने सडकमा पक्क्ी नाला निर्माण ब्रहमदेव मेहताको घरदेखि दक्षिण पिच सडक सम्म पक्की नाला निर्माण, दाजु भाइ होटल उत्तर हुदै पूर्व गुद्रि र पश्चिम भगवती मा.वी. पछाडिको बाटो निर्माण, विन्देश्वर साहको घरदेखी दुहवी रोड सम्म र फुटकर योजना पाँच लाख सहित एक करोड ७० लाख बजेट खर्च गरेको वडाको आर्थिक पारर्शिता नभएको भन्दै सबै हिसाव विलभरपाई र काम गर्नेहरुलाई राखेर सार्वजनिक सुनुवाई गर्नुपर्ने माग वडाबासीले गरेका छन् । सत्यसंसारले गरेको ३० वटा विभिन्न योजनाको अनुगमनमा सबैतिर गुणस्तर नभएको र बजेट पारदर्शिता नभएको गुनासो सुनाएका छन् । यस वडाको स्वास्थ्य स्वयंसेवीका प्रोत्साहन कार्य ५० हजारको काम केही प्रभावकारी भएको पनि वडाबासीले प्रतिकृया दिएका छन् । वडाको सडक बत्तिकोलागि चार लाख रुपियाँ, सार्वजनीक सुनुवाइ, सुचना तथा संचारमा ५० हजारको काम नै नगरी कागज मिलाएर खाएको आरोप बडाबासीले लगाएका छन् । सुनसरी वाचनालयमा ल्यापटप, कम्प्युटर तथा इन्टरनेट उपलबध गराउने नाममा पनि लाखौ अनियमितताको आरोप छ । दलीत, आदिवासी, जनजाती, अपाङग र जेष्ठ नागरीक कार्यक्रम खर्च एक लाख रुपियाँ पनि कागजी रुपमा नै सकेको आरोप छ । च्याउ खेती, विउ वितरण कार्य, करेशावारीमा उपयोग हुने साग सव्जी विउ विजन वितरण कार्य, श्री बैष्णव परिषद रामानुज सामुदायीक भवनलाई धार्मिक ग्रन्थ खरिद तथा सहयोग , कृषकहरुलाई प्रोत्साहन गर्न सिचाइको लागि वोरिङग वितरण गर्ने कार्यक्रम, किटनासक औषधि छिटने मेसिन खरिदगरि वितरण ,फोहर व्यवस्थापन तथा आवश्यक सामान खरीद, बालबालिकालाई शैक्षिक सामग्री सहितमा अनियमितता भएको आरोप बडाबासीको छ ।
यतीमात्रै अनियमितता र भ्रष्टाचार सिमित नभई संस्थागत भ्रष्टाचार समेत संचालन खर्चका
नाममा आर्थिक वर्ष २०७७।०७८ मा १० लाख रुपियाँ खर्च गरेको फेला परेको छ । संचार महसुलको नाममा ५० हजार विधुतको नाममा ५० हजार , पिउने पानीको नाममा ३० हजार, इन्धन समितिको नाममा ७५ हजार, इन्धन कर्मचारीको नाममा ७५ हजार, मसलन्द खर्च भईजाने नाममा ६० हजार, मसलन्द तथा खर्च भई नजाने सामन खरिदको नाममा एक लाख, मसलन्द छपाईको नाममा ५० हजार , सुचना प्रकाशनको नाममा ५० हजार , पत्रपत्रिकाको नाममा २५ हजार, कार्यालय चिया खाजा खर्चको नाममा एक लाख, अतिथि सत्कार नाममा ३५ हजार घर भाडा दुई लाख र त्यसमा विविध नाममा ५० हजार मरम्मत संभारको नाममा ५० हजार रुपियाँ गरि १० लाख रुपियाँ खर्च गरेको छ । यो विवरण अनुसार प्रत्येक शिर्षकमा कागज मिलाएर वडा अध्यक्ष पौदार वडा सचिवले लाखौको भ्रष्टाचार देखादेख गरिरहेको छ । नागरिक जागरुक नहुदाँ जनप्रतिनिधिहरु छोटो राजाको रुपमा लाखौ रुपियाँ मासिक सुविधा लिएको स्थानीय विन्देश्वर मेहताले गुनासो गर्नुभयो ।
यता वडा अध्यक्ष पौद्धारले आफूले कुनै भ्रष्टाचार र अनियमितता नगरेको तर सरकारी सुविधा लिएको प्रतिकृया दिनुभयो । पौद्धारले आफू भ्रष्टाचार र अनियमितता गरेको पुष्टी भए कार्वाही भोग्न र राजीनामा दिने समेत जिकिर गर्नुभयो । पौद्धारले यतीको किरि गर्दा संकाको घेरामा रहेको स्थानीयको दावी रहेको छ । दुई वर्ष अघि वडाबासी र नागरिक समाजले हरहिसाव माग्दै ज्ञापन पत्र दिएको र सूचनाको हक प्रयोग गरेर सूचना माग्दा पनि नदिएको तर बजेट सार्वजनिक सुनुवाईको नाममा खर्च गरेको र कार्यक्रम नगरेकोले पौद्धारमाथि सम्पती सुद्धिकरण आयोग, अख्तियार दुरुपयोग अनुशंधान आयोग र जिल्ला प्रशासन कार्यालय समेतले छानविन गर्नुपर्ने वडाबासीको माग छ ।

आजको सत्य संसार पत्रिकामा खवर छ ।

 

एमालेको केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौं । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधिहरुको मापदण्ड अनुमोदन गर्नका लागि केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बैठक शुरुभएको हो ।

बिहीबार भएको स्थायी कमिटीको बसेको बैठकले महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने गरी मापदण्ड तयार पारेको छ ।स्थायी कमिटीले पास गरेको प्रतिनिधि छनोटको मापदण्ड आजको केन्द्रीय बैठकमा पेश गरिने छ।

एमालेको मंसिर १० देखि १३ सम्म चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्न लागेको छ । एमालेले अहिले सम्पूर्ण ध्यान महाधिवेशन आयोजनामा केन्द्रित गरेको छ ।

छिटाहामा पहिलो पटक कालोपत्रे, स्थानीय खुसी

सुनसरीको गढी गाउँपालिका ४ छिटाहाका सुनिल साहले गाउँमा पहिलो पटक कालो पत्रे भएकोले आफूहरुलाई राहतको महसुस भएको बताउनुभएको छ । गाउँमा पहिलो पटक तीन किलो मिटर बाटो कालोपत्रे भएकाले साहले आफूहरुलाई राहतको महसुस भएको सुनाउनुभयो । वहाँले एउटै वडामा २४ किलोमिटर सडकमा उच्चस्तरीय ग्राभेल र तीन किलोमिटर कालो पत्रे भएकाले हिलो धुलो मुक्त बाटोबाट यात्रा गगर्न पाएको बताउनुभयो । गढी गाउँपालिका ४ मा जनप्रतिनिधि आएको साढे चार वर्षको अवधीमा विभिन्न १३ स्थानमा वडाको बजेट र पालिकाको समन्वयमा उच्च स्तरीय ग्राभेल देखी तीन किलोमिटर सडकबाटो कालो पत्रे भएको वडा अध्यक्ष रामचन्द्र महतोले जानकारी दिनुभयो । वडामा भएको सडक बाटोमा नाला निर्माण सहित कालोपत्रे, उच्चस्तरीय ग्राभेलको कार्य सम्पन्न भएको वडा अध्यक्ष महतोले जानकारी दिनुभयो ।
वडामा सबै काममा उपभोक्ताहरुको समेत जनश्रमदान रहेकाले काम राम्रो भएको महतोले जानकारी दिनुभयो । वहाँले आफू निर्वाचित भएपछि पानी जम्ने, मानिसलाई आउनजान समस्या भएको जिर्ण बाटोदेखी ग्राभेलसम्मको बाटोहरुलाई आवश्यकता र प्राथमिकताका आधारमा सुरुमा अनुगमन गरेर योजना बनाएको र क्रमशः काम गर्दै जादाँ हालसम्ममा तीन किमि बाटो कालोपत्रे गरेको जानकारी दिनुभयो ।

वडाध्यक्ष महतोका अनुसार साविक छिटहा गाविसमा संचालन हुदै आएको वडा कार्यालयको आफ्नै भवन निर्माण गरेर गाउँमै वडा कार्यालय संचालन गरिएको, वडामै आधारभुत स्वास्थ्य केन्द्र संचालन गरेको , तीन विद्यालयमा छेराबेरा, वाल निर्माण, प्रवेशद्धार निर्माण, मर्मत सम्भार, फौदारस्थान आधारभुतमा आठ कोठे भवन निर्माण सहित चार आथिर्क वर्षमा बिभिन्न १०० वटा योजना तथा कार्यक्रमहरु सञ्चालन गरेको छ । वडामा महिला स्वंयसेविकाको खाजा खर्चदेखी सडक बाटोमा कालोपत्रे गर्ने कामसम्मको योजना रहेको बताउनुभयो ।
विद्यार्थी टिकाउनका लागि खाजा कार्यक्रम र निःशुल्क पाठयपुस्तक तथा बालमैत्री कक्षा कोठाको ब्यवस्था गरिएको तथा नियमित रुपमा जनप्रतिनिधिबाट अनुगमन तथा निरिक्षणको काम भईरहेको जानकारी दिनुभयो ।

आजको सत्य संसार पत्रिकामा खवर छ ।

चितवन राजनीतिक कुरुक्षेत्र बन्दैछ : प्रचण्ड

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनमा ठूलो लडाइँ र टक्कर हुन लागेको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगर कमिटीले शुक्रबार भरतपुरमा आयोजना गरेको चाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले चितवन राजनीतिक कुरुक्षेत्र बन्न लागेको बताए ।

एमालेले चितवनमा १०औँ महाधिवेशन गर्न लागेपछि प्रचण्ड एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएका हुन् । ओली मानसिक रूपले हारिसकेको भन्दै उनले आफूलाई नै ताकेर चितवनमा महाधिवेशन गर्न लागेको बताए । यद्यपि एमालेले चितवनमा महाधिवेशन गर्दा आफूलाई फाइदा नै भएको उनले बताए ।

‘देशभरिको ध्यान चितवनमै छ । देशबाहिरका मान्छेको ध्यान पनि विस्तारै चितवनमै केन्द्रित हुँदै छ’, उनले भने, ‘चितवनमा चुनाव मात्रै हुनेवाला छैन । यहाँ ठूलो लडाइँ हुनेवाला छ । ठूलो टक्कर हुुँदै छ ।’ अबको संघर्ष दुईवटा वर्ग र विचारबीचमा लडाइँ भएको उनले बताए ।

ओली प्रवृत्तिमा हिजोका राजामहाराजा र तिनका आसेपासेदेखि लिएर संघीय गणतन्त्रलाई मन नपराएका विदेशी प्रतिक्रियावादी रहेको उनले आरोप लगाए । त्यस्तो प्रवृत्तिविरुद्ध नेपाली जनता र त्यसको नेतृत्व गर्ने माओवादी केन्द्र लड्न लागेको उनले बताए ।

‘यतिबेला यसरी नेपाली राजनीति दुई कित्तामा विभाजित छ । दुई कित्ताबीचको लडाइँको केन्द्रबिन्दु चितवन हुने खतरा भनुँ वा गौरव प्राप्त हुँदै छ’, उनले भने, ‘जनताले जित्ने हो कि वैरीले जित्ने हो भन्नेको फैसला चितवनको लडाइँमा देखिनेवाला छ ।’

माओवादी केन्द्र र आफूविरुद्ध लड्नकै लागि एमालेले चितवनमा महाधिवेशन गर्न लागेको उनले दाबी गरे । राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति ल्याएर नभएपछि एमालेले महाधिवेशन नै यहीँ गर्न लागेको उनले बताए । कतिपयले प्रचण्ड अब डराएर चुनाव लड्न अरु नै जिल्लामा जान लागेको भन्ने थाहा पाएको भन्दै उनले आफू डराउने खालको मान्छे नभएको बताए । चितवन छाडेर कतै नजाने भन्दै उनले अबको चुनावमा सबै प्रतिगमनकारीलाई बढार्न मन लागेको उल्लेख गरे ।

‘अर्ली इलेक्सन’मा जान जरुरी छैन : अध्यक्ष नेपाल

कास्की । सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समयअगावै प्रतिनिधिसभा निर्वाचन (अर्ली इलेक्सन) मा जानु जरुरी नभएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा ‘अर्ली इलेक्सन’बारे सञ्चारकर्मीको जिज्ञासामा उनले अगावै चुनाव गर्नु आवश्यक नरहेको भन्दै स्थानीय, प्रदेश र सङ्घीय चुनाव एकै पटक गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष नेपालले भने, ‘किन अर्लीमा जानु ? अर्लीमा जानु जरुरी छैन । मिल्छ कि मिल्दैन छलफल गर्नुपर्ला, कानूनी जटिलता छ की छैन थाहा छैन, पाँच दलमा छलफल भएको पनि छैन तर मलाई लागेको चाहिँ सबै चुनाव एकै पटक गराउनुपर्छ भन्ने हो ।’ निर्वाचन खर्च र राष्ट्रको सम्पत्ति जोगाउनका लागिसमेत निर्वाचन छुट्टाछुट्टै गर्न नहुनेमा उनले जोड दिए ।

माओवादी केन्द्रसँग तत्काल पार्टी एकता सम्भव नभएको भन्दै अध्यक्ष नेपालले एकीकृत समाजवादीलाई चुनावसम्म बलियो र शक्तिशाली पार्टी बनाइने जिकिर गरे ।

‘वामपन्थी पार्टी मिलुन्, सबै कम्युनिस्ट एक ठाउँमा आउन् भन्ने चाहना केही व्यक्तिको होला । त्यो राम्रो कुरा पनि हो तर माओवादीसँग तत्काल एकता सम्भव छैन । चुनाव अघि हामी एकता होइन यो पार्टीलाई बलियो र शक्तिशाली बनाएर अघि बढ्छौँ ।’ उनले भने ।

एमालेमा फर्किने कुरामा कल्पना समेत नगरिएको बताउँदै अध्यक्ष नेपालले अहिले एमालेमा बसेकाको बेहाल भएको र भविष्यसमेत नरहेको जिकिर गरे ।

एकीकृत समाजवादीलाई विचार र नीति प्रधान पार्टी बनाउँदै सर्वहारा श्रमजीवी जनताको पार्टीका रुपमा स्थापित गरिने र आगामी निर्वाचनमा पाँच दलीय गठबन्धनसँग मिलेर अघि बढ्ने उनको भनाइ थियो ।

स्पेनी सभामुख र ओलीबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेकी स्पेनको एस्ट्रामादुराकी सभामुख ब्लान्का मार्टिन देल्गाडोले एमाले अध्यक्ष केपी ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

बाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको निमन्त्रणामा ६ दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आएकी उनले शुक्रबार अध्यक्ष ओलीसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् । यसअघि बिहीबार देल्गाडोको टोली पाटन दरबार स्क्वायरको भ्रमण गरेको थियो ।

अफ्रिकालाई सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह

एजेन्सी । ‘संयुक्त राष्ट्रसंघले अफ्रिकालाई विभिन्न क्षेत्रमा सहयोग गर्न आग्रह गरेको छ । बिहीबार संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहमदले सो कुरा बताएकी हुन् ।उनले सुरक्षा परिषदमा ब्रिफिङका क्रममा अफ्रिकालाई सहयोग गर्न भनेकी हुन् । उनले भनेकी थिईन् कि अफ्रिकालाई यतिखेर खासगरी सबैभन्दा बढी सहयोग काभिड १९ का विरुद्धमा चाहिएको छ ।

अफ्रिकालाई कोभिडका विरुद्धमा खोप तथा अन्य स्वास्थ्य सामग्रीहरु सहयोग गर्न विश्वका नेताहरुमा ऐक्यबद्धता हुनुपर्ने उनले बताएकी थिईन् ।साथै उनले यसका अतिरिक्त दिगो विकास र आर्थिक क्षेत्रमा पनि अफ्रिकालाई विश्वका देशहरुले ऐक्यबद्ध भएर सहयोग गर्नु पर्दछ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका तर्फबाट उनले राष्ट्रसंघीय सुरक्षा परिषदमा बोल्दै अफ्रिकालाई अहिले विशेष गरी तीन क्षेत्रमा सहयोग चाहिएको धारणा राखेका हुन् ।

उनले तत्कालका लागि अफ्रिकालाई खोप चाहिएको बताए । उनले भने– अहिले तत्कालै अफ्रिकालाई कोभिडको खोप अति अवाश्यक छ र यसका लागि विश्वका देशहरुले खोप तथा खोप किन्नका लागि अनुदानको आवश्यकता परेको छ ।त्यस बाहेक अफ्रिकालाई अन्य दिगो विकासका साथै आर्थिक सहयोग लगायतका क्षेत्रमा सहयोग आवश्यक परेको भन्दै यसका लागि विश्वका देशहरुको ऐक्यबद्धता आवश्यक रहेको पनि उनले बताए ।

१९ न्यायाधीशको आन्दोलनः ‘हिम्मत नभएकाको गनगन’

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विवादमा तानिएपछि सर्वोच्च अदालतमा ४ दिनयता गजबको दृष्य देखिन थालेको छ । जबराले न्यायपालिकामा भाग खोजेको, न्यायिक मनसायमा खोट भएकोलगायतका आरोप लगाउँदै सर्वोच्चका १४ जना न्यायाधीशले प्रधानन्यायाधीशले डाकेको फुलकोर्ट (न्यायाधीशहरूको पूर्ण बैठक) बहिष्कार गरे ।

यो बहिष्कारसँगै उनीहरूले अघोषित रूपमा इजालस बहिष्कार थाले । नेपाल बारलगायतका निकाय प्रधानन्यायाधीशविरुद्ध ‘नरम आन्दोलन’मै हुँदा बैठक र इजलास छाडेका न्यायाधीश चार दिनयता भने ‘कुहिराको काग’ भएका छन् ।

प्रधानन्यायाधीशले मार्गप्रशस्त गर्नुपर्ने भन्दै १४ जनाबाट सुरु भएको न्यायाधीशको आन्दोलनमा ऐक्यबद्धता जनाउनेको संख्या १९ पुगिसकेको छ । ‘यस अर्थमा अब प्रधानन्यायाधीश एक्लो हुनुहुन्छ’, सर्वोच्चका एक न्यायाधीशले न्युज भने ।

४ दिनयता मुद्दा नहेरेका ती न्यायाधीश इजलास बहिष्कार गरेको भन्न भने सहमत छैनन् । हामीले बहिष्कार गरेका होइनौं, निकासका लागि छलफल गरिरहेका छौं’, उनी भन्छन् ।

४ दिनयता हरेक दिन साढे ११ बजेपछि बैठक बस्ने तर इजलासमा नजाने प्रवृत्ति बढेपछि हामीले उनलाई सोध्यौँ, ‘बन्दीप्रत्यक्षीकरणका मुद्दासमेत नहेरेर किन इजलास बहिष्कार गर्नुभएको जनताले के भन्लान् तपाइहरूलाई ? ’

नाम नबताइदिने सर्तमा उनले भने, ‘प्रधानन्यायाधीशविरुद्ध छौँ, अझै एकमत हुनसकिएका छैनन् कतिपय एजेण्डामा, केही दिन छलफल गर्न जरुरी छ नि ।’

उनले न्यायपालिका सुधारकै लागि छलफल गरेर निकासकै पहल गरिरहेको बताए पनि नेपाल बार एसोसिएसनको बहस नगर्ने जस्तो घोषित आन्दोलन जबराविरुद्ध गर्न सकेका छैनन् ।

नेपाल बारले इजलासमा बहसमा जान नसक्ने भन्दै सर्वसाधारणसँग क्षमा मागिसक्दासमेत न्यायाधीशहरू भने मुद्दा पनि नहेर्ने, आन्दोलन पनि नगर्ने चरित्रमा पुगेका छन् ।

एकजना वरिष्ठ अधिवक्ता १९ जना न्यायाधीशहरूको यो कार्यलाई ‘हिम्मत नभएकाहरूको गनगन’ भन्छन् । किन भन्नुहोला भने नि न इजलास बहिष्कार गर्छौं चोलेन्द्रले राजीनामा दिनुपर्छ भनेर नै भन्छन्, न इजलासमा बसेर मुद्दा हेर्छन्, यस्ता न्यायाधीशलाई गनगने किन नभन्ने ?’

प्रधानन्यायाधीश जबराले न्यायाधीशले मागेकै भरमा राजीनामा नदिने भन्दै संवैधानिक विधिअनुसार चल्ने बताइसकेका छन् भने न्यायाधीशहरू भने अहिलेसम्म यसविषयमा साझा धारणा बनाउन असफल छन् ।

शुक्रबारसमेत दिनभरजसो साझा रणनीतिकै लागि छलफलमा बस्ने उनीहरूले बताएका छन् । न्यायाधीशको छलफलका कारण सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणलगायतका महत्वपूर्ण मुद्दाको सुनुवाई निरन्तर प्रभावित हुँदै आएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई जना घाइते

दमक । झापाको गौरादहमा तीव्रगतिका दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गौरादहका अनुसार बिहान ८ बजेतिर गौरादह नगरपालिका–४ स्थित स्कुलचौन–चाप्रामारी धरधरे सडकखण्डमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको थियो। दुर्घटनामा परी मे९प २७०३ का मोटरसाइकल चालक गौरादह–५ का अन्दाजी ४० वर्षीय भानु भनिने वेणु अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।

अधिकारीले चलाएको मोटरसाइकल र मे६प ५४१६ नंको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीको भनाइ छ। सो दुर्घटनामा परी ५४१६ नंको मोटरसाइकलका चालक गौरादह–५ चप्रामारीका ३० वर्षीय अनुप राजवंशी र पछाडि सवार १६ वर्षीय ललित शर्मा घाइते भएका छन्। उनीहरु दुवै जनाको उपचारका लागि न्यूरो अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहेकामा बिहीबार प्रतितोला रु ९१ हजार ९००मा कारोबार भएकोे थियो ।

यसैगरी आज चाँदी बिहिबारको तुलनामा प्रतितोला रु पाँच घटेर रु एक हजार २४५ कायम भएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो । छापावाल सुन यो साताको मङ्गलबार अधिकतम रु ९२ हजार ६०० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

राष्ट्रपति शनिबार ढोरपाटन भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन जाने भएकी छन्। राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ।

प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिए। ‘अवलोकन भ्रमणका लागि राष्ट्रपति ढोरपाटन आउनलाग्नुभएको हो, केही समय ढोरपाटन क्षेत्रमा बिताएर उहाँ भोलि नै फर्कनुहुन्छ’, प्रजिअ कार्कीले भने। राष्ट्रपतिको भ्रमण तालिकाबारे विस्तृत जानकारी भने आफूसँग नआइपुगेको उनको भनाइ छ।

राष्ट्रपति आउने भएपछि प्रजिअको नेतृत्वमा सुरक्षा निकायका प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन्। ढोरपाटन देशकै एकमात्र सिकार आरक्ष रहेको क्षेत्र हो। सिकार पर्यटनका लागि विश्वकै विख्यात ढोरपाटनमा अहिले सिकारको याम चलिरहेको छ।

सौखिन र खर्चिला विदेशी सिकारीको रोजाइमा ढोरपाटन पर्ने गरेको छ। एक हजार ३२५ वर्गकिमीमा फैलिएको आरक्ष बागलुङ, म्याग्दी र रुकुमको उच्च पहाडी तथा हिमाली भू–भागमा अवस्थित छ। पर्यटकीय क्षेत्र ढोरपाटन देशकै ठूलो उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना बनाउने सरकारी घोषणाले पनि चर्चामा छ।

स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्र सुधारका लागि आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासङ्घले आज यहाँ आयोजना गरेको ‘चितवनको स्वास्थ्य सरोकारमा क. प्रचण्ड’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रमा नीतिगत रूपमा आमूल परिवर्तन ल्याउनुपर्ने बताउनुभएको हो ।

उहाँले राजनीतिक परिवर्तन भए पनि पुरानै ऐन, नियम र परम्परा कायम रहेकाले स्वास्थ्य क्षेत्रमा परिवर्तन आउन नसकेको उल्लेख गर्नुभयो । दाहालले भन्नुभयो, “राजनीतिक परिवर्तन हुन्छ, ऐन, नीति परम्परा बदलिँदैन, संविधानअनुसार ऐन छैन ।”

संविधानमा समाजवादोन्मुख राज्य भने पनि व्यवहारमा त्यो लागू गर्न नसकिएको बताउँदै उहाँले भन्नुभयो, “संविधान र राजनीतिक दस्ताबेजमा राम्रा कुरा लेखिए, तर व्यवहारमा आएन ।” आफूहरूले देखेको सपना स्वास्थ्य र शिक्षा राज्यको दायित्वभित्र पर्ने विषय भएको जनाउँदै उहाँले स्वास्थ्य र शिक्षालाई मौलिक अधिकारका रूपमा लिएर पनि ठोस रूपमा प्रगति हुन नसकेको बताउनुभयो ।

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अर्बौँ लगानी भइसकेकाले क्यान्सरसँग सम्बन्धित केन्द्र अन्यत्र हुन नसक्ने उहाँको भनाइ थियो । क्यान्सर प्रतिष्ठान भक्तपुरमा बनाउन लागिएको सन्दर्भमा उहाँले भन्नुभयो, “क्यान्सरको केन्द्र चितवनबाहेक अन्यत्र बनाउन सम्भव छैन ।”

भरतपुर अस्पताल केन्द्रीय अस्पताल भए पनि दरबन्दी र भौतिक पूर्वाधारमा काम हुन नसकेकाले अब यस अस्पताललाई पनि एकीकृत प्रतिष्ठानभित्र राखेर सुविधा सम्पन्न र व्यवस्थित बनाउनुपर्ने उहाँको भनाइ थियो । नेपाल आफैँले कोरानाविरुद्धको खोप उत्पादन गरेर आत्मनिर्भर हुनुपर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “आफ्नै खोप उत्पादन हुनुपर्छ, चितवनमा भए अझ राम्रो ।”

कार्यक्रममा भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम, नेपाल चिकित्सक सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा अनिलविक्रम कार्की, निजी अस्पताल समन्वय समितिका अध्यक्ष नारायणसिंह कुँवर, डा कृष्णसागर शर्मा, डा मधु न्यौपाने, डा आविष्कार चापागाईँलगायतले स्वास्थ्य क्षेत्रका समस्याबारेमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका प्रचण्डलाई अवगत गराउनुभएको थियो ।

कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष नीरा अधिकारीको अध्यक्षतामा भएको थियो । चार दिनदेखि अध्यक्ष दाहाल गृह जिल्ला चितवनमा हुनुहुन्छ । उहाँ जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।

अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छन् गुण्डुका फूल

भक्तपुर। बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । जिल्लामा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन् ।

भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डु यतिखेर ढकमक्क फुलेका सयपत्री र मखमली फूलले गाउँको सौन्दर्यता नै बढेको छ । घरको आँगनदेखि खेत र बारीका पाटाभरि फुलेका फूलले यहाँको सौन्दर्यता मात्रै थपेको छैन, राम्रो आम्दानीको स्रोतसमेत बनेको छ ।

नेपालमा भारतीय फूलले बजार ओगटिरहेका बेला यहाँका फूल भने अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्ने गरेका छन् । राष्ट्रिय कृषक समूह महासङ्घ नेपालकी केन्द्रीय सचिवालय सदस्य एवं २० वर्षदेखि फूलखेती गर्दै आउनुभएकी स्थानीय अनिता बस्नेत आफ्नो बारीमा फुलेका फूललाई अमेरिकादेखि अष्ट्रेलियासम्म पुर्‍याउने गरेको बताउनुहुन्छ ।

तीन रोपनी जग्गामा फूलखेती गरेकी उहाँले एक सिजनमा रु चार लाखसम्म आम्दानी हुने गरेको सुनाउनुभयो । बस्नेत भन्नुहुन्छ, “मैले सयपत्री साढे दुई र मखमली फूल आधा रोपनीमा मात्रै लगाएको छु, यसवर्ष नै रु तीन लाखको सयपत्री र एक लाखको मखमली फूल उत्पादन भएको छ ।” एक रोपनी जग्गामा मखमलीका चार हजारवटा माला उन्न सकिने जनाउँदै उहाँले एउटा मालाको यस वर्ष कम्तीमा रु २५ मा बिक्री हुँदा पनि रु एक लाखको माला उत्पादन हुने बताउनुभयो ।

उहाँले विदेशमा रहेका नेपालीमार्फत पनि फूल तथा माला निर्यात गर्दै आउनुभएको छ । उहाँले भन्नुभयो, “यस वर्ष तिहारका लागि दसैँ अगाडि नै अमेरिकामा पाँच हजार र अष्ट्रेलियामा १० हजार माला पठाइसकेको छु, केही दिनमै अमेरिकामा थप पाँच हजार माला पठाउँदैछु, यहाँबाट विभिन्न मुलुकमा फूल र माला निर्यात हुँदै आएको छ ।” विदेशमा माला पठाउँदा आफूले मात्रै उत्पादन गरेकाले नपुग्ने भएपछि अरुसँग प्रतिमाला रु २५ मा खरिद गरी रु २७ मा पठाउने गरेको उहाँको भनाइ छ ।

मखमली फूल र माला लिन गाउँमै व्यापारी आउने गरेका छन् । कतिपयले भने आफैँ बजार पुर्‍याउने गर्छन् । सयपत्री फूल एक मुठाको रु १० देखि १२ मा बिक्री हुने गरेको छ भने तिहारमा चार पाथी अट्ने ढ्वाङमा हालेर एक ढ्वाङको रु ६०० मा बिक्री गरेको छ । स्थानीय मीना नगरकोटीले एक रोपनी जग्गामा फूलखेती गरेको जनाउँदै रु एक लाखको फूल बिक्री हुने बताउनुभयो । उहाँले मखमली फूलको माला गाँस्ने चटारो परेकाले चार आना जग्गामा लगाएको मखमली फूलबाट एक हजार १०० माला उनेको बताउनभयो । अहिले माला उन्ने र सयपत्री फूलको व्यवस्थापनको चटारो चलेको छ ।

गुण्डुमा व्यावसायिक फूलखेती हुने भएपछि नगरपालिकाले समेत अनुदानमा फूलको बेर्ना वितरण गर्दै आएको छ । सूनपा-७ गुण्डुका वडाध्यक्ष रवीन्द्र सापकोटाले यस वर्ष यहाँका किसानलाई सयपत्री फूलको ४५ हजार बेर्ना वितरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “फूलखेतीमा लागेको किसानलाई प्रोत्साहन दिन नगरपालिकाले यस वर्ष रु चार लाख लगानी गरेर ८० प्रतिशत नगरपालिकाको अनुदानमा फूलको बेर्ना वितरण गर्‍यौँ, स्थानीय जनप्रतिनिधि भएपछि आवश्यकतानुसार किसानलाई बेर्ना वितरण गर्‍यौँ ।”

गुण्डुमा स्थानीयवासीसँगै विभिन्न जिल्लाबाट आएर घर भाडामा बस्नेले पनि जग्गा भाडामा लिएर फूलखेती गर्दै आएका छन् । वडाध्यक्ष सापकोटाले गुण्डुमा मात्रै करिब ४०० रोपनी क्षेत्रफलमा फूलखेती गरेको र यहाँबाट मात्रै वर्षमा करिब रु तीन करोडको फूल बिक्री हुने गरेको बताउनुभयो । उहाँले फूलखेतीको बजार व्यवस्थापनका लागि एकद्धार प्रणाली लागू गर्नेबारे किसानसँग छलफल भएकाले किसानले अस्वस्थ्य प्रतिस्पर्धा नगरी एकद्धार प्रणालीमा जान चाहेमा वडाले त्यसको व्यवस्थापन गर्ने जानकारी दिनुभयो । स्थानीय रुपा बस्नेतले फार्म नै बनाएर फूलखेती गर्नुभएको छ । मखमली फूल करिब एक रोपनी र सयपत्री फूल चार रोपनी जग्गामा लगाउनुभएकी उहाँलाई तिहार नजिकिएपछि मखमली फूलको माला उन्न र सयपत्री फूल बजार पुर्‍याउन भ्याइनभ्याई भएको छ ।

गुण्डु निवासी सांसद एवं पूर्वमन्त्री महेश बस्नेतकै पहलमा आएको करोडौँको बजेटले यहाँको विकासले मुहार फेरेपछि अहिले व्यापारी घरघरमै पुग्न थालेको जिल्ला समन्वय समितिका उपप्रमुख एवं स्थानीयवासी सरिता कुँवरले जानकारी दिनुभयो । पहिला जीणर् सडक र पिछडिएको गुण्डुमा फूलखेती गरे पनि बजार पुर्‍याउन कठिन हुनेमा अहिले चार वर्षकै अन्तरालमा गुण्डु जाने चारवटा ठूला र पक्की सडक बनेपछि व्यापारीलाई गाउँसम्म आउन र व्यवसायीलाई बजारसम्म जान निकै सहज भएको उहाँले बताउनुभयो ।

भक्तपुरमा गुण्डु, सिपाडोल, चित्तपोल, ताथली, सुडाल, वागेश्वरीलगायतका ठाउँमा अहिले व्यावसायिक फूलखेती हुन थालेको छ । सूर्यविनायक र चाँगुनारायण नगरपालिका क्षेत्रमा हुने व्यावसायिक फूलखेतीबाट मात्रै एक सिजनमा करिब रु पाँच करोडको फूल बिक्री हुने गरेको नगरपालिकाले जानकारी दिएको छ । मकै बारीमै फूलखेती लगाउन सकिने भएपछि दोहोरो बालीका रूपमा किसानले फूल र मकै खेती गर्दै आएका छन् । धानमा भन्दा फूलबाट आम्दानी बढी हुने भएपछि कतिपयले धान खेतमा समेत फूल लगाउँदै आएका छन् । सत्रपत्री फूलभन्दा मखमली फूलमा औषधि धेरै हाल्नुपर्ने र धेरै स्याहार्नु पर्ने भएपछि पछिल्लो समय सयपत्री फूलतर्फ किसान आकर्षित भएका छन् ।रासस

विराटनगरमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण हुने

विराटनगर । विराटनगर महानगरपालिका र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा रु पाँच अर्बको लगानीमा २५ तले व्यापारिक भवन निर्माण गरिने भएको छ ।

विराटनगर–९ स्थित पुरानो गुद्रीबजार क्षेत्रमा रहेको १४ कट्ठा जग्गामा उक्त व्यापारिक भवन निर्माणका लागि हिजो (बिहीबार) सम्झौतामा हस्ताक्षर गरिएको छ । विराटनगर महानगर र प्रदेश नं १ सरकारले व्यापारिक भवन निर्माण बनाउने समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

नेपाली काँग्रेस प्रमुख सचेतक केदार कार्की, विराटनगरका नगर प्रमुख भीम पराजुली, उप प्रमुख इन्दिरा कार्की, वडा नं ९ का वडाध्यक्ष विश्वनाथ भगतलगायतको उपस्थितिमा प्रदेश लगानी प्राधिकरणका निर्देशक डा. सरोज कोइराला र महानगरका प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

परियोजनाको काम आगामी तीन महिनाभित्र सुरु गरिने बताइएको छ । स्वदेशी लगानीकर्ताको लगानीमा बन्ने उक्त भवन निर्माण हुने भएको छ । प्रमुख सचेतक कार्कीले प्रदेशको भवन निर्माणबाट राजधानीका रूपमा रहेको यस सहर आर्थिक रूपमा सबल बन्ने विश्वास व्यक्त गरे ।

विराटनगर महानगरका प्रमुख पराजुलीले नगरवासीको दीर्घकालीन हितलाई ध्यानमा राख्दै भवन निर्माणबाट सहर थप गतिशील रूपमा स्थापित हुने विचार राखे।

उक्त भवन आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्यले कार्य गरिने भएको छ भने निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण नियमावली–२०७६ मा भएको कानुनी व्यवस्थाको अधीनमा रही निर्माण सम्पन्न गरिने भएको छ ।

विश्वकप क्रिकेट : आज पाकिस्तान र अफगानिस्तान तथा वेस्ट इन्डिज र बंगलादेश भिड्दै

काठमाडौँ ।  आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेश भिड्ने छन् । यी दुई टोली बीचको खेल सारजाहमा नेपाली समय अनुसार दिउँसो पौने ४ बजेबाट सुरु हुने छ। साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए ।

समूह १ मा रहेको वेस्ट इन्डिज अंक विहीन रहदै पुछारमा रहेको छ । बंगलादेश पाँचौं स्थानमा रहेको छ। यस्तै आज नै हुने दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुने छ। पाकिस्तान र अफगानिस्तानबीचको खेल राति पौने ८ बजे सुरु हुने छ। दुबई आज पाकिस्तान लगातार तेस्रो जितको खोजीमा हुनेछ । पाकिस्तानले अघिल्ला दुई खेलमा जित निकालेको थियो ।

पाकिस्तान २ खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा रहेको छ । अफगानिस्तान भने दोस्रो जितको खोजीमा हुनेछ । अफगानिस्तान १ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

मध्य भोटेकोशीको आईपीओ बाँडफाँट

काठमाडौँ । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओ बाँडफाँट भएको छ । माग भन्दा चार गुणाभन्दा बढी आवेदन परेको कम्पनीको आईपीओ गोलाप्रथामार्फत बाँडफाँट गरिएको हो ।

कम्पनीको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रवार बिहान भएको बाँडफाँटमा गोलाप्रथा मार्फत ८ लाख १९ हजार जना आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् ।

कुल २३ लाख ९० हजार २१८ जनाले आवेदन दिएकोमा ९५ हजार ७२२ जनाको आवेदन रद्द भएको थियो । गोलाप्रथामा २२ लाख ९४ हजार ४९६ जना आवेदकलाई सहभागी गरिएको थियो ।