१२ कार्तिक २०७८, शुक्रबार ११:१६ – Page 6 – Nagarikabhiyan : National News

प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन् ।

देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान बेलायतको लन्डन प्रस्थान गरेका हुन् । स्कटल्यान्डको ग्लास्गोमा आयोजना हुने सम्मेलनमा देउवाले सम्बोधज गर्ने कार्यक्रम छ ।

कोप २६ को साइड लाइन वार्तामा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ ।

प्रधानमन्त्री देउवा १७ कात्तिकमा नेपाल फर्कने भएका छन् । उनको अनुपस्थितिमा गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।

कात्तिक मसान्तभित्रै पोल भाडा सम्झौता गर्न प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाप्रदायक संस्थालाई कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न निर्देशन दिएको छ।

प्राधिकरणले बिहीवार एक सूचना प्रकाशन गर्दै नेपाल विद्युत् प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो। ‘नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता नगरी टेलिफोन÷इन्टरनेट सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकले पोल प्रयोग गरेको स्थान, परिमाण र अवधि स्वय घोषणा गरी यही कात्तिक मसान्तभित्र प्राधिकरणसँग सम्झौता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ।

विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी गरी पोल भाडा सम्झौता गर्न सेवाप्रदायक कम्पनीलाई गत असोज १५ गतेसम्मको समय दिएको थियो।

प्राधिकरणले दिएको समयमा सेवाप्रदायक कम्पनीले बक्यौता रकम भुक्तानी नगरेपछि गत असोज १७ गते काठमाडौं उपत्यका लगायतका जिल्लामा इन्टरनेटको तार काटिएको थियो।

यता इन्टरनेट सेवा प्रदायक कम्पनीले भने प्राधिकरणले आफू खुसी पोलको भाडा बढाएको भन्दै बढेको भाडा भुक्तानी नगर्ने अडान राख्दै आएका छन्। सेवाप्रदायकले बक्यौता रकम र नयाँ सम्झौता नगर्ने अडान राख्दै आएकोमा नियामक निकायको रुपमा रहेको दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र सम्झौता गरिसक्न दिर्नेशन दिएको हो।

विद्युत् प्राधिकरणले २०७७ मा काठमाडौैंलगायतका सहरी क्षेत्रमा दोब्बर र ग्रामीण भेगमा आठ गुणाभन्दा बढीले पोलको भाडा बढाएको भन्दै सेवाप्रदायक कम्पनीले बढेको मूल्य फिर्ताको माग गर्दै आएका छन्।

इन्टरनेटको तार काटिएपछि पोलभाडा विवादलाई दीर्घकालीन समाधान गर्न सञ्चार मन्त्रालयको सहसचिवको नेतृत्वमा ६ सदस्यीय समितिसमेत गठन भएको छ।

समितिलाई पोल भाडा विवाद समाधानका लागि मंसिर १५ गतेसम्म प्रतिवेदन बुझाउने म्याद दिइएको छ । प्राधिकरणकोे तथ्यांक अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीले ७ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी छ।

यी हुन् एकाबिहानै ‘ॐ’ उच्चारण गर्दा हुने फाइदा

बिहानै उठेर ॐ उच्चारण गर्ने व्यक्तिलाई आनन्दको अनुभव हुन्छ । ॐकारको उच्चारणले स्वास्थ्यलाई पनि धेरै फाइदा पुर्‍याउँछ ।

ॐ उच्चारण फाइदाहरूको चर्चा गर्नुअघि यसमा निहीत वर्णहरूको कुरा गरौं । ॐ तीन वर्णबाट बनेको छ र तीनै वर्णको आआफ्नै अर्थ छ । अ को अर्थ उत्पन्न हुनु, उ को अर्थ उठ्नु वा विकास र म को अर्थ मौन अर्थात् ब्रह्मलीन हुनु हो । त्यसैले ॐ आफैंमा सम्पूर्ण ब्रह्माण्डको उत्पत्ति र सृष्टिको द्योतक हो ।

ॐको उच्चारण गर्ने आफ्नै तरिका छ । तपाईं ॐ को उच्चारण अलग अलग योग अवस्थामा गर्न सक्नुहुन्छ :

पद्मासन, अर्धपद्मासन, सुखासन र वज्रासन तथा मालाको प्रयोग गरेर पनि तपाईं ॐकारको उच्चारण गर्न सक्नुहुन्छ ।

ॐ को उच्चारण गर्दा गलामा कम्पन उत्पन्न हुन्छ जसका कारण मेरुदण्डको हाड प्रभावित हुन्छ । दिनभरि काम गर्ने क्षमता यसबाट बढ्छ अनि तपाईं सक्रिय हुनुहुन्छ ।

ॐ उच्चारण गर्दै प्राणायाम गर्दा कमजोर फोक्सो पनि बलियो हुन्छ । दमको रोगीले ॐ जप गर्दा फाइदा पुग्छ ।

निद्रा नलाग्ने समस्या भएका मानिसले ॐ जपेको राम्रो हुन्छ ।

ॐ को उच्चारणले तपाईंको शरीरलाई थकाइ लाग्दैन र स्फुर्ति उत्पन्न हुन्छ । शरीर ऊर्जाशील भएर व्यक्ति दिनभरि सक्रिय हुन्छ । भिटामिनको चक्की खानुभन्दा ॐ उच्चारण गरेको ठीक ।

ॐ उच्चारण गर्दा शरीरको पाचनक्रिया पनि गजबको हुन्छ । मुटु र रक्तप्रवाहलाई पनि यसले राम्रो गर्छ ।

पैसा कमाउने चक्करमा भागदौड गरिरहेका मानिसलाई अनेकथरी तनाव हुन्छ । ॐ जप गर्दा तनाव कम हुन्छ र सोच्ने शक्ति प्राप्त हुन्छ । मन शान्त भयो भने समस्याको समाधान निकाल्न सहज हुन्छ ।

थाइरोइडको समस्या विकराल बन्दै गइरहेको छ । यसका लागि औषधि खानुभन्दा बिहानै उठेर ॐ उच्चारण गर्नुस् । गलामा कम्पन भएर थाइरोइड ग्रन्थिमा सकारात्मक प्रभाव पर्छ ।

मलेसियाले छिटै विदेशी कामदार लैजाने, नेपाली पनि जान पाउने

दोहा । नेपाली श्रमिकको श्रम गन्तव्य रहेको मलेसियाले नयाँ विदेशी कामदार लिने भएको छ । कोरोना महामारीको कारण लामो समयदेखि बन्दका कारण कामदार अभाव भएपछि नयाँ कामदार लिन लागिएको हो।

मलेसियाका गृहमन्त्री दातोक श्री हमजाह जैनुद्दीनले पछिल्लो समय कोरोना महामारीले मलेसियाको प्लान्टेशन सेक्टरमा कामदारको अभाव भएको भन्दै अब विदेशी कामदार भर्ना गरिने बताएका छन् ।

नयाँ विदेशी कामदारले मलेसिया प्रवेश गर्दा अनिवार्य ७ दिन सरकारले तोकेको होटेल क्वारेन्टाइनमा बस्नुपर्ने छ। क्वारेनटाइनको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले बेहोर्ने जनाइएको छ ।

मलेसियाले नोभेम्बरबाट भने केही क्षेत्रमा विदेशी पर्यटकका लागि खुला गर्ने भएको छ । मलेसियाले कोरोना विरुद्धको खोप लगाएका र उच्च स्तरका पर्यटकको आवागमनलाई प्राथमिकता दिने भएको हो ।

मलेसिया सरकारको यो निर्णयसँगै लामो समयदेखि रोकिएको रोजगारी नेपाली कामदारका लागि पनि खुल्ला भएको छ । अब नेपालबाट पनि सहज रूपमा रोजगारीका लागि मलेसिया जान पाइनेछ। मलेसियाले विदेशी कामदार लिनेबारे त्यहाँ रहेको नेपाली दूतावासले भने कुनै सूचना जारी गरेको छैन।

कामदारको सेवा सुविधा नदिने रोजगारदाताको पहिचान गर्दै सोक्सो

मानव संसाधन मन्त्रालयले सामाजिक सुरक्षा सङ्गठन (सोक्सो)लाई कामदारहरूको सेवा सुविधा भुक्तानी नगर्ने रोजगारदाता कम्पनीहरूको अनुगमनलाई तीव्र पार्न निर्देशन दिएको छ ।

मानव संसाधन मन्त्री डाटुक सेरी एम सरावननले सोक्सोलाई छिट्टै समस्या समाधान गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् । अब सोक्सोले चाँडै कामदारप्रतिको दायित्वलाई बेवास्ता गर्ने रोजगारदाता कम्पनीहरूको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाउने उनले बताए ।

सोक्सोको तत्थ्यांकको आधारमा २ हजार ५ सय भन्दा बढी रोजगारदाता कम्पनीहरूले कामदारले पाउने सेवा सुविधा उपलब्ध नगराएको आरोपमा अदालतमा मुद्दा दायर भएको मन्त्री सरावननलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यम एनएसटीले जनाएको छ ।

मलेसियामा कामदारले एउटा निश्चित समयावधि भित्र रोजगारदाता कम्पनीमा रहेर सेवा गरेबापत रोजगारदाताले सामाजिक सुरक्षा अन्तर्गत कामदारलाई पेन्सन लगायतका सेवा उपलब्ध गराउनु पर्नेछ । त्यस्तै विदेशी कामदारको हकमा भने पेन्सन नभए पनि तोकिएको मापदण्ड अनुसार सेवा सुविधा उपलब्ध गराउनु पर्ने हुन्छ ।

के हो सोक्सो ?

समझदारी भएको सामाजिक सुरक्षा संस्था (सोक्सो) मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको संस्था हो । सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिकहरू भर्ना गर्दा यस सामाजिक सुरक्षा संस्थामा दर्ता गराउनुपर्ने प्रावधान रहिआएकोमा सोक्सोद्वारा उपलब्ध गराइएको जानकारी अनुसार हालसम्म करिब ३ लाख नेपाली श्रमिकहरू यसमा आबद्ध भैसकेका छन् ।

यस संस्थामा आबद्ध हुनका निम्ति रोजगारदाताले श्रमिकको लागि उसले पाउने मासिक तलबको १.२५ प्रतिशतले हुन आउने रकम मासिक रूपमा बुझाउनु पर्ने हुन्छ ।

विगतमा एफडब्लुसीएसमा आबद्ध भएका श्रमिकको हकमा ३१ डिसेम्बर २०१९ सम्मका लागि एफडब्लुसीएको म्याद समाप्त भएको अर्को दिन सोक्सोमा दर्ता गराउनुपर्ने नियम रहेको थियो ।

तर १ जनवरी २०२० पश्चात् भने सबै रोजगारदाता कम्पनीले अनिवार्य रूपमा यस संस्थामा आबद्ध गराउनुपर्ने व्यवस्था छ । यसै अनुसार हालसम्म ४ लाख भन्दा बढी रोजगारदाता र ७० लाख भन्दा बढी स्वदेशी तथा विदेशी श्रमिकहरू आबद्ध भइसकेका छन् । मलेसियाभर यस संस्थाका ५४ कार्यालयहरू रहेका छन् ।

ललितपुरमा ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप

काठमाडौं । ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियाविरुद्धको खोप दिइने भएको छ । मुलुकमा जाडो बढेसँगै सो उमेरका व्यक्तिलाई चिसोबाट जोगाउन उक्त खोप दिन लागिएको हो ।

चौहत्तर वर्ष उमेरका व्यक्तिलाई आइतबारदेखि बुधबारसम्म पहिलो चरणको सो खोप दिइने भएको महानगरपालिकाका सामान्य प्रशासन महाशाखा प्रमुख सागर थापाले बताए ।

उनले भने, “यो खोप लगाउन इच्छुक व्यक्तिलाई उमेर खुल्ने परिचयपत्र साथमा लिएर दिउँसो ११ देखि ४ बजेसम्म आ–आफ्नो वडाको खोप केन्द्रमा आउन आग्रह गर्दछु ।” पहिलो दिन सो खोप सात वडा अर्थात् १ देखि ५ हुँदै २८ र २९ मा दिइने थापाले जानकारी गराए ।

यसैगरी सोमबार ललितपुरको आठवटा वडा अर्थात् ६ देखि १३ का ज्येष्ठ नागरिकलाई दिनाका साथै मङ्गलबार सात वडा अर्थात् १४ देखि २० र अन्तिम दिन बुधबार सात वडा अर्थात् २१ देखि २७ का नागरिकलाई दिइने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । ललितपुरका २९ वडामा चार दिन सो खोप चल्ने भएको छ ।

१० उत्कृष्ट सहरको सूचीमा न्युजिल्यान्डको अकल्यान्ड पहिलो नम्बरमा

सिड्नी । चर्चित ट्राभल गाईड बुक पब्लिसर लोन्ली प्लानेटले सन् २०२२ का लागि न्युजिल्यान्डको अकल्यान्डलाई विश्वकै उत्कृष्ट सहरको रुपमा छनौट गरेको छ ।

लोन्ली प्लानेटले तयार पारेको विश्वका घुम्नलायका उत्कृष्ट सहरहरुको सूचीमा ताइवानको राजधानी ताइपेय दोस्रो स्थानमा परेको छ । ताइवानलाई चीनले आफ्नो एउटा अलग्गै राज्यको रुपमा व्यवहार गर्छ । तर, ताइवानले आफूलाई स्वतन्त्रत राज्य मान्दै आएको छ ।

त्यस्तै, जर्मनीको फ्रिबर्ग र अमेरिकाको एटलान्टा सहर लोन्लीको तेस्रो र चौथो सूचीमा परेका छन् । सन् २०२२ मा यात्रा गर्नका लागि सुझाएको १० उत्कृष्ट सहरमा नाइजेरियाको लाओस र साइप्रसको लेफकोसिया क्रमशः पाचौं र छैटौं स्थानमा छन् ।

त्यसैगरी, आइरल्यान्डको डब्लिन र मेक्सिकोको मेरिन्डा सातौं र आठौं नम्बरमा छन भने इटालीको प्रसिद्ध फ्लोरेन्स सहर नवौ स्थानमा छ । दक्षिण कोरियाको ग्याओजियु सहर लोल्नीको दशौ उत्कृष्ट सहरमा परेका छन् ।

दैनिक १० घण्टा बन्द गरिँदै बेनी– जोमसोम सडक खण्ड

बेनी । गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड स्तरोन्नति गर्न दैनिक १० घण्टा बन्द गरिने भएको छ। नियमित सडक सञ्चालन गर्दा विस्तारमा समस्या भएपछि शुक्रबार बिहानदेखि अर्को सूचना जारी नहुदाँसम्म सवारी साधन बन्द र काम गर्ने गरी बिहान तथा दिउँसो गरी दैनिक १० घण्टा सडक बन्द हुने जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ।

सडक स्तरोन्नतिका लागि मुस्ताङको सिमानामा पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको काभ्रेभीरमा मर्मत र सवारीसाधन एकसाथ आवतजावत गर्न नसक्ने तथा चलाउँदा पनि अत्यन्तै जोखिमयुक्त हुने भएकाले जोखिमबाट सम्भावित दुर्घटना रोक्न सवारी आवागमन बन्द गर्नुपरेको प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बताए।

दैनिक बिहान ७ देखि ११ बजेसम्म तथा दिउँसो १ देखि ५ बजेसम्म सवारीसाधन सञ्चालन रोकेर सडक स्तरोन्नतिको काम गरिने उनले बताए। त्यस्तै बेलुकी ७ देखि बिहान ७ बजेसम्म र दिउँसो ११ देखि १ बजेसम्म बाटो खुला रहनेछ। उक्त समयमा ठूला सवारीसाधनलाई रुप्से आसपासका क्षेत्रमा रोक्न र पैदलयात्रीलाई पारिबाट गन्तव्यमा पुग्ने गरी वातावरण बनाउन आवश्यक सहयोग गर्ने उनले बताए।

काभ्रेभिर बेनी–जोमसोम सडकको जोखिमयुक्त सडक हो। हरेक वर्ष नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने कामसमेत हुँदै आएको छ।

भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले ७६ किलोमिटर लामो बेनी–जोमसोम सडकको काम पछिल्लो समय तीव्रगतिमा अगाडि बढाइएको छ। झण्डै रु छ अर्ब लागतको राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजना विसं २०७४ देखि निर्माण सुरु गरिएको हो।

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ। च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजेदेखि बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

आजको बैठकमा बिहीबार सम्पन्न स्थायी कमिटी बैठकले गरेको निर्णयको अनुमोदन गर्ने प्रमुख अजेण्डा रहेको तामाङले जानकारी दिए ।

यसअघि बिहीबामर सम्पन्न स्थायी कमिटी बैठकले पाटर्ठीको आसन्न १०औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको मापदण्ड तयार पारेको छ । साथै बैठकमा हाले सम्पन्न वडा तथा पालकिा अधिवेशनका विषयमा समेत छलफल हुने जनाइएको छ ।

तास खेलिरहेका वडाध्यक्षसहित नौ जना पक्राउ

काठमाडौं । नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्ने अन्यमा विदुर–१ का कृष्ण विश्वकर्मा, विदुर–४ का केशवप्रसाद पन्त, विदुर–५ का नवीन चित्रकार, विदुर–६ का मच्छिन्द्र परियार, बेलकोटगढी नपा–१० का सन्तोष त्रिपाठी, लिखु गापा–३ का राजु पन्त, दार्चुला घर भएर हाल विदुर–६ बस्दै आएका पदमसिंह धामी र भारतको मोतिहारी घर भएर हाल बट्टारमा बस्दै आएका ईश्वर गुप्ता रहेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले हारजित हुने गरेर खेलिरहेको तासको खालबाट १६० पत्ती ताससहित रु तीन लाख ५२ हजार नगदसमेत बरामद गरेको जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक अनुसन्धानपश्चात कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा जुवा ऐनमा मुद्दा दर्ता गर्ने प्रहरीले जनाएको छ ।

कोभिड भएका मानिसमा खोपको ‘साइड इफेक्ट’ धेरै

लन्डन । महामारीको स्वरुप लिएको कोभिडबाट अझै पनि विश्वले पार पाइसकेको छैन् । कोभिडविरुद्ध विभिन्न खोप विकास भएका छन् । खोपले भाईरसविरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने विज्ञहरुले बताउदै आएका छन् ।

खोपको सम्भावित साइड इफेक्टको त्रासका कारण रसियाको आधा जनसंख्या अझै पनि खोप लगाएको छैन् । त्यस्तै अन्य विकसित देशका विज्ञहरुले पनि खोपबारे नकरात्मक प्रचार गरिरहेका छन् । यसै सन्र्दभमा वेलायमा खोपको असरबारे एउटा अध्ययन भएको छ ।

अध्ययनअनुसार खोपका कारण स्नायुमा दुर्लभ समस्या उत्पन्न हुनसक्ने र त्यस्तो जोखिम कोभिड भएका मानिसमा बढी हुन्छ ।

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले बेलायतका ३ करोड २० लाख वयस्कमा सो अध्ययन गरेको थियो ।अनुसन्धानकर्ताले कोभिडको पहिलो खोप लगाएका र कोभिड पुष्टि भएका मनिसको एक महिनाको स्नायु प्रणालीको तुलनात्मक अध्ययन गरेका थिए ।

जसअनुसार कोभिड भएका व्यक्तिमा खोप लगाएका व्यक्तिमाभन्दा बढी गियांग बारे सिन्ड्रोम (जीबीएस) देखिएको थियो । यो सिन्ड्रोम हुने व्यक्तिको पैतला र हातगोडमा समस्या हुनुका साथै निर्बलता देखिन्छन् । अध्ययन जर्नल नेचर मेडिसिनमा प्रकाशित छ ।

जलवायु सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री देउवा आज बेलायत जाँदै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिर्वतन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६औँ सम्मेलनको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलको टोलीसहित कतार एयरलाइन्सको विमान आज शुक्रबार विहान १०ः४० बजे उड्ने छ । प्रधानमन्त्ती सहितको टोली आज बेलुका लण्डन पुग्ने छ ।

टोलीमा प्रधानमन्त्री सहित वन तथा वातावरण मन्त्री रामसहाय यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरु सहभागी हुनेछन् । भ्रमणका क्रममा उहाँ अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री त्यहाँ रहँदा उनीसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अक्टोबर ३१ गते प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । उनले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्नेछन् ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनले वल्र्ड लिडर समिटमा नेपालकोतर्फबाट सम्बोधन गर्नेछन् । सोही दिन साँझ उनी बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

उनी नोभेम्बर २ को बिहान प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले नोभेम्बर ३ तारेखमा स्कटल्याडको इडिनबर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले नेपाली बगैँचामा बिरुवा पनि रोप्नेछन् ।

कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुँदैछ ।

प्रधानसेनापति शर्मा भारत भ्रमणमा जाँदै

काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् ।

भारतका सेनाध्यक्ष एम एम नरवणेको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्माले यही २०७८ कात्तिक २३ गते देखी कात्तिक २६ गतेसम्म भारतको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

भ्रमणको दौरान उनलाई भारतका राष्ट्रपतिबाट मानार्थ महारथीको दर्जाबाट सम्मानित गर्ने कार्यक्रम रहेको छ । उनले त्यसै अवसरमा आफ्ना समकक्षी जनरल नरवणे लगायत भारतीय सेनाका विभिन्न उच्च पदाधिकारीहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

साथै बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानसेनापति शर्मालाई भारत भ्रमण गर्न स्वीकृत समेत प्रदान गरेको थियो ।

विश्वमा आजः दिल्लीमा अतिवादी हमलादेखि रेडक्रसको स्थापना

आज अक्टोबर २९ । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम बिकसित भएका थिए । पस्तुत छ विश्वमा आज भएका केही सामाजिक तथा राजनीतिक घटनाक्रमः

स्यान्डी हुरीको विनाश

सन् २०१२ मा आएको स्यान्डी आँधीका कारण अमेरिकाको पूर्वी तटमा ठूलो जन धनको क्षति पुगेको थियो । आँधीबाट अमेरिकामा ५० अर्ब डलर क्षति पुगेको थियो ।

दिल्लीमा शृंखलाबद्ध हमला

सन् २००५ मा भारतको राजधानी नयाँ दिल्लीका बिभिन्न सहरमा भएका बिस्फोट भएका थिए । दिपावलीको पूर्वसन्ध्यामा भएका ती हमलामा ६० जनाको मृत्यु भएको थियो ।

अन्तरिक्षमा उड्ने पहिलो बृद्ध

सन् १९९८ मा अमेरिकाका ७७ वर्षीय जोन ग्लेन डिस्कभरी सटलमार्फ अन्तरिक्षमा उडेका थिए । उनी अन्तरिक्षमा उड्ने पहिलो बृद्ध हुन् ।

रेडक्रसको स्थापना

सन् १८६३ मा स्वीट्जरल्यान्डको जेनेभामा रेडक्रसका लागि अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) को स्थापना भएको थियो । रेडक्रसले तीन पटकसम्म नोबेल शान्ति पुरस्कार प्राप्त गरेको छ ।

डेल्टा एयर लाइन्सको मर्ज

सन् २००८ मा डेल्टा एयर लाइन्सलाई नर्थवेस्ट एयरलाइन्ससँग मर्ज गरिएको थियो ।

आफ्नै ‘नजिर’को फन्दामा जबरा

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले मुद्दाको पेसी तोक्ने, अरू न्यायाधीश इजलासमा नबस्ने क्रम चलिरहेको छ। यो सिलसिला चलेको चार दिन भयो।

इजलास बहिष्कारको ‘नजिर’ भने आफू न्यायाधीश हुँदा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नै बसालेका थिए। विगतमा आफूलाई साथ दिएका सहकर्मीसम्मले अहिले प्रधानन्यायाधीश जबराको आदेशको अवज्ञा गरिरहेका छन्। जबराले त्यस बेला अनपाएको उपाय यस बेला अर्को संस्करण बनेर आफूविरुद्ध नै प्रयोग भइरहेको छ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले बिहान १० बजे इजलास तोके। पराजुलीसँग असन्तुष्ट रहेका तत्कालीन न्यायाधीश जबरा समयमै सर्वोच्च पुगे। तर, इजलासमा बसेनन्। उनीसहित न्यायाधीशले मध्याह्न १२ बजेसम्म मुद्दाको सुनुवाइ गरेनन्।

पराजुलीले तत्कालीन न्यायाधीश तेजबहादुर केसीसँगको पूर्ण इजलासमा बसेर मुद्दा हेर्न थाले। त्यसपछि मीरा खड्का र बमकुमार श्रेष्ठ, शारदा घिमिरे र पुरुषोत्तम भण्डारी, केदारप्रसाद चालिसे र शारदा घिमिरे, दीपककुमार कार्की र टंकबहादुर मोक्तान, ओमप्रकाश मिश्र र डम्बरबहादुर शाहीको इजलास बस्यो। १९ न्यायाधीशमध्ये १० जनाले पराजुलीमाथि उठेका प्रश्नलाई बेवास्ता गर्दै साथ दिए।

जबरासहित आठ जनाले न्यायसम्पादन गर्न अस्वीकार गरे। जबकि उनी प्रधानन्यायाधीशको रोलक्रममा थिए। उनले पराजुलीका विषयमा गम्भीर प्रश्न उठेको बताएका थिए। वरिष्ठतम न्यायाधीश एवं न्यायपरिषद्का सदस्य दीपकराज जोशी तथा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा। आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमान सिंह राउत र सपना प्रधान मल्लले पराजुलीको नेतृत्वमा न्याय निरूपण गर्न नसकिने निष्कर्षका साथ इजलासमा पस्न अस्वीकार गरेका थिए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रधानन्यायाधीशविरुद्ध आन्दोलन तय गर्न बारको बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गरेको नेपाल बार एसोसिएसन थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएको छ ।

त्यसका लागि बारले आज शुक्रबार बिहान ११ बजे बैठक डाकेको छ । बैठकबाट आन्दोलनका कार्यक्रम तय हुने बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिए ।

नेपाल बारले  यसअघि नै प्रधानन्यायाधीशलाई राजीनामा दिन आह्वान गरेको थियो । तर,  जबराले बिहीबार साँझ प्राइम टाइम टिभीमलाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘मेरो बहिर्गमन विधि र प्रक्रिया पनि संविधानले निर्धारण गरेको छ । त्यसअनुसार जान मलाई मञ्जुर छ । तर, सडकबाट आवाज उठ्दैमा राजीनामा दिँदैन ।’

जबराले राजीनामा नदिएपछि अब बारले देशभरका ९० वटा बार इकाईमार्फत आन्दोलन घोषणा गर्नेछ ।

केही मिनेट मात्र ध्यान गरे बद्लिन्छ जिन्दगी

काठमाडौं । ध्यान सबैका लागि उपलब्ध सरल अभ्यास हो, जसले तनाव घटाउने, शान्तपना तथा स्पष्टता बढाउने र खुसी प्रवद्र्घन गर्छ। कसरी ध्यान गर्ने भन्ने विधि सीधा छ र यसबाट चाँडै फाइदा आउँछ । यहाँ तपाईंलाई अधिक समानता, स्वीकारोक्ति र आनन्दको बाटो सुरुआत गर्न आधारभूत तरिका सुझाइएको छ। यसका लागि गहिरो श्वास लिनुपर्छ र रिल्याक्स रहनका लागि तयार हुनुपर्छ ।

आधारभूत तथ्य

औपचारिक ध्यानका लागि समय छुट्याउनु भनेको दिनचर्या स्थापित गर्ने र अभ्यासमा सहज हुने महत्त्वपूर्ण तरिका हो। यदि दैनिक केही मिनेट मात्र ध्यान गर्ने हो भने पनि त्यसले जीवनमा ठूलो फरक पार्न सक्छ ।

कतिपय मानिसले ध्यानका लागि आफ्नो दैनिक दिनचर्याबाट समय छुट्याउनुपर्ने भनी गुनासो गर्छन्। ध्यानको अभ्यास महत्त्वपूर्ण औजार हो, जसले जस्तोसुकै तनावयुक्त अवस्थामा पनि तपाईंलाई वर्तमान क्षणप्रति सजग र सचेत बनाउँछ ।

तर, हामीले ध्यान गर्न छाडे पनि माइन्डफुल अर्थात् होसपूर्वक जिउन भने छाड्नु हुँदैन। माइन्डफुलनेस ध्यानको उद्देश्य जीवनको सबै पक्षमा सजग र सचेत रहनु हो, जसको कारण हामी जे काम गरे पनि जागरुक, सजग र खुला दिलको हुन्छौं। केवल चकटीमा बसेर समय व्यतीत गर्ने भन्ने मात्र हुँदैन ।

माइन्डफुलनेस ध्यानको अभ्यास भनेको वर्तमान क्षणप्रति एकदमै ध्यानाकर्षण गर्नु हो। तर, यो अभ्यास मन खाली गर्ने मात्र अभ्यास भने होइन। यसले वास्तवमा विचार, संवेग र अनुभूतिलाई साक्षी भावले हेर्न मद्दत गर्छ ।

आधारभूत ध्यान निर्देशनका साथै केही लोकप्रिय अभ्यास जस्तो कि बडी स्क्यान, वाकिङ मेडिटेसन र माइन्डफुल इटिङलाई पनि समेट्न सकिन्छ । यस्तो बेलामा अनुभवी गुरुहरुको मार्गनिर्देशन मूल्यवान हुन्छ। हाम्रो मन सजिलै विचलित हुन्छ, त्यही भएर गुरुको स्पष्ट निर्देशनले हामीलाई वर्तमान क्षणप्रति सजग रहन मद्दत गर्छ ।

 मन विचलित हुन्छ

ध्यानमा बस्दा मन विभिन्न ठाउँमा विचरण गर्छ। शरीरमा अन्य अनुभूति हुन सक्छ, वरिपरिको चीजको सम्झना आउन सक्छ, विचारमा हराउन सकिन्छ। विगत, भविष्य वा वर्तमानबारे अनेक सोच आउन थाल्छन्, तपाईंले आफू वा अरुको बारेमा ‘जजमेन्ट’ गर्ने बानी लाग्न सक्छ ।

यस्तो हुनु भनेको बेठिक होइन। विचार आउनु भनेको श्वासप्रश्वास जस्तै स्वभाविक प्रक्रिया पनि हो ।

के ले विचलित बनाइरहेको छ, जानकारीमा मात्र लिनुहोस

तपाईंको ‘अवेरनेस’ श्वासप्रश्वासमा हुनुपर्छ। श्वास भित्र गएको र बाहिर आएको घटनाप्रति सजग रहनुपर्छ । मनलाई सदैव श्वासमा केन्द्रित गराइरहनु जरुरी छैन । केही पटक श्वास लिएपछि मन फेरि विचरण गर्न थाल्छ । यो नेचुरल हो । यस्तो बेलामा जजमेन्ट नगरीकन कुनै वस्तुलाई हेर्नुपर्छ । केही समयपछि वर्तमान क्षणमा आउनुपर्छ र ध्यानलाई जारी राख्नुपर्छ । पहिलेको अवस्थामा फेरि आउने, सोचाइको शृंखला हेर्ने, केही बेर रोकिने र वर्तमान क्षणमा आउनेलगायत प्रक्रिया अवलम्बन गर्नुपर्छ ।

माइन्डफुलनेस ध्यान अभ्यास

तपाईंले जुनसुकै स्थानमा आफ्नो समयअनुसार माइन्डफुलनेस ध्यान अभ्यास गर्न सक्नुहुन्छ । यो अभ्यास सुरु गर्नुभन्दा पहिले आधारभूत गाइडेड मेडिटेसन सुन्यो भने उपयोगी हुन्छ । दक्ष गुरुबाट पाएको निर्देशन पालना गरेमा हामीलाई वर्तमान क्षणमा आउन सजिलो हुन्छ । वर्तमान क्षणमा कसरी जागरुक बन्ने भन्ने थाहा पाउन गाइडेड ध्यान सुन्दा फाइदा हुन्छ ।
तपाईंसँग धेरै समय छैन भने पाँच मिनेटको समयबाटै अभ्यास थालनी गर्न सकिन्छ। यदि तपाईं माइन्डफुलनेस ध्यानमा ज्यादै अनुभवी हुनुहुन्छ भने सेसनको अवधि लम्ब्याउन सक्नुहुन्छ ।

बडी स्क्यान

श्वासमा ध्यान–केन्द्रित गर्नुको साथै ‘बडी स्क्यान’ विधि अपनाउन सकिन्छ। माइन्डफुलनेस ध्यानमा ‘बडी स्क्यान’ प्रक्रिया व्यवस्थित तरिकाले अगाडि बढाउन सकिन्छ। यस प्रक्रियामा टाउकोदेखि खुट्टासम्म हरेक अंग स्क्यान गरेर हेर्नुपर्छ ।

टाउकोको माथिल्लो भागबाट ‘स्क्यान’ सुरु गर्नुपर्छ। छालाको सतहमा ध्यान केन्द्रित गर्नुपर्छ। त्यसपछि स्काल्प, कान, आँखा र नाकको महसुस गर्नुपर्छ अनि अनुहार, घाँटी, काँध हुँदै शरीरको तल्लो भाग स्क्यान गर्दै खुट्टाको आंैलासम्म पुग्न सकिन्छ।

सुरुमा तपाईंलाई केही महसुस नहुन सक्छ, आत्तिनु पर्दैन । केही सुधार हुँदै गएपछि नयाँ अनुभूति महसुस हुन थाल्छ । कुनै अनुभूति रमाइलो, कुनै अनुभूति तटस्थ अनि कुनै अनुभूति नरमाइलो हुन सक्छ ।

जस्तो अनुभूति भए पनि यसलाई खाली नोट मात्र गर्नुहोस्। कुनै अनुभवलाई राम्रो वा नराम्रोको ट्याग लगाएर त्यसमाथि प्रतिक्रिया नदिनुहोस्। तपाईंले जे महसुस गर्नुभएको छ, त्यसलाई स्वीकार गरेर निरन्तर बडी स्क्यान गर्दै जानुहोस्। वास्तवमा, तपाईंको मन घुमिरहेको छ भन्ने तपाईलाई महसुस हुन्छ, सामान्य ढंगले विचारलाई ख्याल गर्नुहोस् र शरीरप्रति विशेष ध्यान राख्नुहोस् ।