संसद्को चालू अधिवेशन अन्त्य – Nagarikabhiyan : National News

संसद्को चालू अधिवेशन अन्त्य

काठमाडौँ । ससंदको चालू अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आज (शुक्रबार) राति १२ बजेदेखि लागु हुने गरि संसद्को चालू अधिवेशनको अन्त्य गरेकी हुन् ।

पार्टीले कारबाही गरेको १४ सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको थियो । तर, विपक्षी दलको विरोध र नारावाजीकाबीच पनि सभामुख सापकोटाले कार्यसूची अगाडी बढाउँदै आएका थिए ।

बिहिबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि एमालेले नाराबाजी गरेपछि सभामुख अग्नि सापकोटाले अर्को बैठक कार्तिक २९ गतेका लागि तोकेका थिए ।

सचिवालयले जारी गरेको सूचना

सम्माननीय राष्ट्रपतिज्यूबाट नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८–०७–११ को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन, सम्वत् २०७८ साल कार्तिक १२ गते शुक्रबार राती १२ः०० बजेदेखि अन्त्य भएकोले मिति २०७८ साल कार्तिक ११ गतेको प्रतिनिधि सभाको बैठकबाट कार्तिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधि सभाको बैठक र मिति २०७८ साल असोज २५ गते सोमबार बसेको राष्ट्रिय सभाको बैठकबाट अर्को सूचनाद्वारा तोकिने मिति र समयमा बस्ने गरी स्थगित गरिएको राष्ट्रिय सभाको बैठक समेत अन्त्य हुने भएकोले क्रमशः प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२)को प्रतिबन्धात्मक वाक्यांश र राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ३ को उपनियम (२)को प्रतिबन्धात्मक वाक्यांश बमोजिम दुवै सभाका मा.सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

डा.भरतराज गौतम
संघीय संसदको महासचिव