राष्ट्रीय जनगणनामा खटिने गणकका चार दिने तालिम सुरु
१४ कार्तिक २०७८, आईतवार ११:३४
इनरुवा । राष्ट्रीय जनगणना २०७८ मा खटिने गणकका चार दिने तालिम सुनसरीको सदरमुकाम इनरुवामा सुरु भएको छ । आईतबारबाट १२ औं राष्ट्रीय जनगणना २०७८ को लागी चार दिने गणक तालिम इनरुवामा सुरु भएको हो ।
स्थानीय जनगणना अधिकारी मनोज कुमार मेहताको अध्यक्षता तथा जिल्ला जनगणना कार्यालयका प्रमुख सुवास अधिकारीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन सत्र सम्पान्न भई तालिम प्रशिक्षण सुरु भएको छ । तालीममा रामधुनी नगरपालिका र इनरुवा नागरपालिकाका १४६ जना गणकहरुको सहभागिता रहेको छ । तालिम १७ गतेसम्म संचालन हुने जनगणना अधिकारी मनोज कुमार मेहताले जानकारी दिनुभयो । कार्तिक २५ देखि मंसिर ९ गतेसम्म गणकहरु मूख्य प्रश्नावली गणनाको लागि घरदैलोमा जाने कार्यतालिका रहेको छ । कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई प्रमुख रमेश बहादुर दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ पछिको यो जनगणना पहिलो भएको र यो राष्ट्रव्यापी महा अभियानबाट महत्वपूर्ण तथ्यांक प्राप्त हुने भएकाले तालिमलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।
वहाँले जनगणनाबाट समृद्ध नेपाल निर्माणको लागि दीर्घकालीन योजना र नीति निर्माणका लागि भरपर्दो र विश्वसनीय तथ्यांक प्राप्त हुनेमा आफ्नो आशा र विश्वास रहेको बताउनुभयो । वहाँले जनगणनामा गणकका रुपमा छनौट भएहरुलाई बधाई दिदै इमान्दारी पूर्वक दायित्व र जिम्मेबारी पुरा गर्न आग्रह गर्नुभयो ।
प्रमुख दाहालले जनगणनाको क्रममा आवश्यक प्राविधिक सहयोग र समन्वयको लागि आफ्नो सहयोग रहने बताउनुभयोे । तालिम उद्घाटन कार्यक्रममा शिक्षा तालिम केन्द्रका प्रमुख सूर्यराज घिमिरे, मूख्य प्रशिक्षक वेनु सिग्देल, श्यामप्रसाद साह, गणेश पोखरेल, सत्य नारायण मेहता, पत्रकार कृष्ण भट्टराई, जयकृष्ण यादव, गणेश यादव लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया