जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन आजबाट सुरु
१४ कार्तिक २०७८, आईतवार १०:३७
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि स्कटल्याण्डको ग्लास्गोमा सुरु हुँदै छ । सम्मेलन नोभेम्बर १२ सम्म चल्ने छ ।
सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू, विषय विज्ञ, नागरिक समाज, व्यवसायिक क्षेत्र र सञ्चार माध्यमका प्रतिनिधिहरूसहित हजारौँ मानिसहरू भेला हुँदै छन् । कोप २६ अन्तर्गत विश्व नेताहरूको शीर्ष सम्मेलन भोलि र पर्सी हुने छ ।
सम्मेलनमा जलवायु सम्बन्धी विभिन्न समस्या र समाधानका प्रयासबारे छलफल हुने छ । विश्व नेताहरूले पृथ्वीलाई भविष्यमा पनि जीवनयोग्य बनाउन के कस्ता कदमहरू उठाउने छन् भन्ने आम चासोको विषय बनेको छ ।
कोपका लक्ष्यहरू सफलतापूर्व प्राप्त गर्न र जलवायु परिवर्तनसँग जुध्न शीर्ष नेताहरूले ठोस योजना र विश्वसनीय योजनाहरू बनाउने अपेक्षा गरिएको छ । सन् २०१५ मा फ्रान्सको पेरिसमा भएको सम्मेलनले तय गरेका लक्ष्यहरु यो सम्मेलनले केही परिमार्जन गर्ने अनुमान गरिएको छ ।
सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुँदै छन् । त्यसका लागि उनी २१ सदस्यीय टोलीको प्रतिनिधित्व गर्दै १२ गते नै बेलायत गएका हुन् । प्रधानमन्त्री देउवाले त्यहाँ वर्ल्ड लिडर समिटलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया