प्रधानन्याधीशलाई थापाको प्रश्न ‘बारले राजीनामा माग्दा नदिने तपाइँ को हाे ? – Nagarikabhiyan : National News

प्रधानन्याधीशलाई थापाको प्रश्न ‘बारले राजीनामा माग्दा नदिने तपाइँ को हाे ?

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भू थापाले व्यक्तिको लागी बिरोध नभएर प्रवृत्तिमाथको बिरोध भएको बताएका छन् । न्यायपालिका भित्र प्रधानन्यायाधीशको भूमिका ठीक नभएको भन्दै राजीनामा नदिएसम्म नेपाल बार एशोसिएशनले चरणवद्ध आन्दोलन गर्ने उनको भनाई छ । उनले कोर्ट बारभन्दा ठूलो नभएको भन्दै बारले नै राजीनामा माग्दा राजीनामा दिन्न भन्ने कुरा लज्जास्पद भएको बताए । उनले कसैलाई पनि लोभ लालच दिएर उचालेको थाहा पाए सह्य नहुने चेतावनी पनि दिए ।

वरिष्ठ अधिवक्ता थापाले भने ‘कसैलाई नेता ल्याउन मन छ भने ल्याए हुन्छ, कसैलाई राज सिंहासनमा बसाउन मन छ भने बसाए हुन्छ, हामीले व्यक्तिको कुरा होइन, न्यायालयलाई पूजा गरिहरेका छौँ, न्यायालय भित्र तपाइँको भूमिका ठीक भएन, तपाइँ एक वर्षसम्म आफ्नो पदमा बस्नुभयो भने कार्यकालभर नेपाल बारले कार्यक्रम गर्छ, न्यायालयमा दुषित प्रक्रिया छ, त्यो प्रक्रियालाई बन्द नगर्ने, टार्ने हिसावबाट भएको छ, आफ्नो इजलासमा राखेको मुद्दा समेत हेर्न सक्दैनन् भने प्रधानन्यायाधीशलाई प्रधानन्यायाधीशको हैसियतमा हामीले मानिरहनु पर्ने कुरा छैन, बार कोर्ट भन्दा पनि ठूलो हो, बारले नै राजीनामा मागिसक्यो भने तपार्इँ राजीनामा नदिने को हो ? यदि लोभलालच दिएर कसैलाई फसाएको थाहा भयो भने हामी छोड्दैनौँ ।’

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचार बिरुद्धको नेपाल बार एशोसिएशनको अभियान अन्तर्गत कानून व्यवसायीहरुले कार्तिक १४, १५, १६ र १७ गते कालोपट्टीसहितको बिरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।

उनीहरुले ‘न्यायपालिकाको गरिमा कायम राख्न नसक्ने प्रधानन्यायाधीश राजीनामा देउ’ भन्ने ब्यानरसहित बिरोध गरेका छन् । बारले नैतिकताको आधारमा प्रधानन्यायाधीशले राजीनामा नदिएको भन्दै चरणवद्धरुपमा बिरोध कार्यक्रम शुरु गरेको हो ।