प्रहरी हुँ भन्दै बाटो छेकेर सर्वसाधारणलाई दुःख दिने व्यक्ति पुर्पक्षका लागि कारागार चलान – Nagarikabhiyan : National News

प्रहरी हुँ भन्दै बाटो छेकेर सर्वसाधारणलाई दुःख दिने व्यक्ति पुर्पक्षका लागि कारागार चलान

काठमाण्डाै –प्रहरी हुँ भन्दै सर्वसाधारणलाई दुःख दिने एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
ललितपुरको गोदावरी नगरपालिका(६ टीकाभैरव घर भई अहिले टोखा नगरपालिका(११ भण्डारीटोल बस्ने २२ वर्षीय विश्व मल्‍ललाई पुर्पक्षका लागि केन्द्रीय कारागार जगन्नाथदेवल चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रहरी उपरीक्षक एसपी कुमोध ढुंगेलले जानकारी दिनुभयो ।

मल्लले असोज ११ गते बिहान साढे ४ बजेको समयमा बाटोमा हिँडिरहेका सर्वसाधारणलाई रोकेर आफू सिभिल घुमुवा प्रहरी हुँ तलासी लिनुपर्छ भनेर प्रहरीको नक्कली परिचयपत्र देखाएका थिए । तलासी लिन खोजी सर्वसाधारणलाई दुस्ख दिइरहेको अवस्थामा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले मल्ललाई पक्राउ गरेको थियो । प्रहरीको उनको साथबाट प्रहरीको नक्कली परिचयपत्र, स्कुटर र स्कुटरको डिकीभित्र खुकुरी बरामद गरेको थियो ।