इन्डो–नेपाल महिला क्रिकेटमा भारतसँग नेपाल पराजित – Nagarikabhiyan : National News

इन्डो–नेपाल महिला क्रिकेटमा भारतसँग नेपाल पराजित

विराटनगर । विराटनगरमा जारी प्रथम रेडमण्ड इन्डो–नेपाल मैत्रीपूर्ण महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली विराटनगर क्रिकेट क्लव एण्ड एकाडेमी (विसिसिए) पराजित भएको छ । आइतबार भएको खेलमा भारतको अल इन्डिया वुमन टि–२० क्रिकेट एसोसिएनसँग नेपाल  ६ विकेटले पराजित भएको हो । जितसँगै भारतले ४ खेलको श्रृखला १–१ को बराबरीमा ल्याएको छ ।

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा विराटनगर–६ मा रहेको मेल्बन ज्वाला क्रिकेटको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा १८.२ बलमा  सवै विकेट गुमाई ९७ रनको सामान्य स्कोर बनाएको थियो ।

घरेलु टोलीका लागि सम्झना खडकाले २१ रन बनाउँदा कविता जोशीले १८ रन र काजल श्रेष्ठले १२ रनको योगदान दिए । भारतकी वैदथिया विनोदाले ४ ओभरमा १ मेडन राख्दै ४ विकेट लिइन् ।  उनी खेलको प्लेयर्स अफ द म्याच समेत घोषित भइन् । त्यस्तै कप्तान रुतु भोस्ले ३ विकेठ लिँदा भड्ला ममथाले २ विकेट लिइन् ।

जवाफमा ९८ रनकोे लक्ष्य पछ्याएको भारतिय महिला टोलीले १९ दशमलव १ बलमा ४ विकेट गुमाई सो विजयी लक्ष्य भेट्टाएको थियो ।

भारतकी रिया दर्वालले अविजित २१ बनाउँदा रिना रानीले पनि २१ रन बनाइन्  । नेपालकी सरस्वती चौधरीले २ विकेट लिँदा सवनव राईले १ विकेट लिइन् । पहिलो खेलमा भारतलाई नेपालले ९ विकेटले पराजित गरेको थियो ।