सहकारीमा देखिएका समस्याप्रति विराटनगर महानगरको चासो – Nagarikabhiyan : National News

सहकारीमा देखिएका समस्याप्रति विराटनगर महानगरको चासो

विराटनगर । विराटनगर महानगरपालिकाले पछिल्लो समय सहकारीमा देखिएका समस्याका विषयमा चासो देखाएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सहकारीलाई बोलाएर महानगरले अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियालाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले मर्जरमा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिए । केही सहकारीका कारण राम्रो काम गर्ने सहकारीको बदनाम भइरहेको उनको भनाइ थियो ।

‘यहाँ सहकारीको उद्देश्य अनुरुप राम्रो गर्ने सहकारीहरू पनि छन्’, उनले भने, ‘केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ । मर्जरमा गएर सहकारी बलियो हुनुपर्छ ।’ सरकारीको मर्म र भावनाअनुसार सहकारी सञ्चालन नभएकै कारण समस्या देखिएको मेयर कोइरालाले बताए ।

कोइरालाले अब कोरोना र आर्थिकमन्दीको समस्या देखाएर सहकारीहरू उम्किन नपाउने चेतावनी दिए । उनले भने, ‘जनताले बचत गरेको पैसा अन्य क्षेत्रमा लगाएर कोरोना र आर्थिकमन्दी छ भन्न पाइँदैन ।’

महानगरकी उपमेयर शिल्पा निराला कार्कीले न्यायिक समितिमा पछिल्लो समय धेरैजसो सहकारीसँग सम्बन्धित उजुरी आउने  गरेको जानकारी दिइन् । स्थापना भएको ३ महिनासम्म ऋण प्रवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि सहकारीहरूले त्यसलाई कार्यान्वयन नगरेको नगरेको उनको भनाइ थियो । उनले सहकारीको पैसा घरजग्गासहित अन्य क्षेत्रमा लगानी गर्दा समस्या निम्तिएको दाबी गरिन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले सहकारी सञ्चालकमा पारदर्शिता र इमान्दारिता जरुरी रहेको औंल्याए । अहिले सञ्चालित अधिकांश सहकारीमा पारदर्शिता नभएको उनको भनाइ थियो ।

अन्तरिक्रयामा सहकारीकर्मी उमेश गुरुङ, मुकुन्द थापा, गोविन्द निरौला, जुनु पोखरेल, हरि भट्टराईलगायतले आगामी आर्थिक वर्षको बजेटमा सहकारीलाई प्राथमिकता राख्न सुझाव दिए । उनीहरूले सहकारीले रोजगारी सिर्जना र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरे पनि राज्यले बेवास्ता गरेको गुनासो पोखेका थिए । महानगरले सञ्चालन गर्ने रोजगारमूलक र सीपमूलक तालिम सहकारीमार्फत गर्नुपर्नेमा उनीहरूले जोड दिए ।