१० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सकियो – Nagarikabhiyan : National News

१० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै नेपाल–भारत साहित्य महोत्सव सकियो

विराटनगर । १० बुँदे विराटनगर घोषणापत्र जारी गर्दै तीनदिने नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । विराटनगर महानगरपालिका र भारतको मेरठस्थित क्रान्तिधरा साहित्य अकादमीको संयुक्त आयोजनामा विराटनगरमा जारी महोत्सव आइतबार औपचारिक रूपमा सम्पन्न भएको हो ।

नेपाली साहित्य पुस्तक हिन्दीमा र हिन्दी साहित्यका पुस्तकलाई नेपालीमा अनुवाद गरी दुवै देशको साहित्यलाई एक–अर्को देशमा प्रवद्र्धन गर्नेसहित १० बुँदे घोषणापत्र जारी गर्दै महोत्सव सम्पन्न भएको छ । त्यस्तै महाभारतकालीन राजा विराटको दरबारलाई महाभारत सर्किटसित जोड्ने विषयमा पुरातात्विक विभाग र इतिहासकारहरूसित समन्वय गरेर थप अध्ययन अनुसन्धान गर्ने जारी घोषणापत्रमा उल्लेख छ ।

आगामी महोत्सवमा दुवै देशका विश्वविद्यालय, कलेज र विद्यालयमा अध्ययन गर्ने युवा स्रष्टाहरूलाई बढीभन्दा बढी सहभागी गराइने, वार्षिक साहित्य महोत्सवबाहेक अन्य वर्षैभरि दुवै देशमा विभिन्न साहित्यिक कार्यक्रम आयोजना गर्ने र एक–अर्का देशमा आमन्त्रण गर्ने, युवा साहित्यकारहरूलाई प्रोत्साहित गर्नेलगायत घोषणपत्रमा उल्लेख छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले साहित्य महोत्सवको समापन गर्दै भाषा, साहित्य, कला र संस्कृतिका माध्यमबाट दुई देशबीचको सम्बन्ध बलियो बनाउन भूमिका खेल्ने बताए । उनले आफू महानगरको नेतृत्वमा आएदेखि नै साहित्य महोत्सव गर्ने योजना बनाएको सुनाए ।

आगामी दिनमा थप व्यवस्थित र वृहत कार्यक्रम गर्ने उनको भनाइ थियो । ‘भौतिक विकासलाई मात्रै हामीले विकासका रुपमा लिने गरेका छौं’, मेयर कोइरालाले भने, ‘भौतिकसँगै भाषा, साहित्य, कला र संस्कृतिको पनि विकास हुनुपर्छ । त्यसो भयो भने मात्रै समृद्धि र संस्कारयुक्त समाज निर्माण हुन्छ ।’

विराटनगर राजनैतिक र आर्थिक नगरी मात्रै नभएर भाषा, साहित्य, कला र संस्कृतिको धनी नगरी भएको उनले दाबी गरे । मेयर कोइरालाले महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्न लागिपर्ने सबैलाई धन्यवादसमेत दिए । मेयर कोइरालाले महानगरले भाषा, साहित्य, कला र संस्कृतिलाई उच्च प्राथमिकतामा राखेको प्रस्ट पारे । उनले भौतिक विकासले मात्रै समग्र विकासको मापन नहुने मेयर कोइरालाले बताए ।

नेपालका ७ वटै प्रदेशसहित भारतका सबै राज्यबाट प्रतिनिधिमूलक ३५० भन्दा बढी साहित्यकारहरूको सहभागिता रहेको थियो । तीनदिने महोत्सवमा कृति विमोचन, विभिन्न विषयमा बहस, अनुवाद साहित्यमाथि विमर्श, बहुभाषी गजल, मुक्तक, चारु, लघुकथा, कविगोष्ठीसमेत वाचन गरिएको थियो ।