२ असार २०७७, मंगलवार १८:२४ – Page 9 – Nagarikabhiyan : National News

भारत र चिनियाँ सेनाबीच भिडन्त, ५ चिनियाँ सेना ठहरै

एजेन्सी । भारत र चीनका सेनाबीच सीमा क्षेत्र लद्दाखमा भिडन्त भएको छ ।

भारत र चीनका सेनाबीचको भिडन्तमा ३ भारतीय र ५ चीनियाँ सैनीकको मृत्यु भएको भारतीय सञ्चारमा माध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

भिडन्त भारतका ३ र चिनिया ५ सेनाले ज्यान गुमाउनुका साथै ११ चिनिया सैनिक घाइते समेत भएको ग्लोबल टाइम्सले दाबी गरेको छ । तर पुष्टि भने भइसकेको छैन ।

बीबीसी हिन्दीका अनुसार यस अगाडि भारतीय सेनाले भारत–चीन सीमामा सोमबार राति भिडन्त हुँदा एक वरिष्ठ सैन्य अधिकारी र दुई सैनिकको मृत्यु भएको पुष्टि गरेको थियो । त्यस लगतै भारतिय सेनाले अर्को विज्ञप्ति जारी गरी दुवै देशमा विज्ञप्ति क्षति भएको पुष्टि गरेको थियो ।

सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन्। केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेपछि विवाद बढेको भारतले जनाएको छ ।

भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी यो सङ्घर्ष भएको हो। चीनले भारतलाई तनाव बढ्ने गरी कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ।

रुसमा ५ लाख ३७ हजारभन्दा बढीमा कोरोना संक्रमण

एजेन्सी । साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ५ लाख ३७ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

एकै दिन ८ हजार २४६ जनामा संक्रमण देखिएपछि रुसमा ५ लाख ३७ हजार २१० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा १४३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ७ हजार ९१ पुगेको छ ।

२ लाख ४५ हजार ५८० जनाको उपचार भइरहेको छ भने २ लाख ८४ हजार ५३९ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ९ हजार ९ सय नाघ्यो

एजेन्सी ।  भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ४३ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार २४३ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ४३ हजार २६ पुगेको हो ।

एकै दिन अरू ३९५ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ९ हजार ९१५ पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ८० हजार ३२० जना संक्रमणमुक्त भएका छन् ।

आज २ आषाढ २०७७ मंगलवार को राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुँनाले शरिरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमुलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । लामो दुरिको धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेकोछ । नयाँ काम गरि आम्दानिका स्रोत बढाउँन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

माया प्रेममा अबश्विास तथा धोका हुँने अधिक सम्भावना रहेकोछ । बिहानको समय उत्तम रहेकोले नयाँ काम गर्न सकिने समय रहेकोछ । समय मध्ययम रहेकोले कुनै व्यापार व्यावसायमा लगानि गर्नको लागि केहि दिन कुर्नुहोला । आर्थिक व्याबस्थापनका लागि गरिने कामहरु अन्तिम निष्कर्षमा नपुगि बिचमानै अवरुद्ध हुँन सक्छन् ध्यान दिनुहोला । हरेक क्षेत्रमा अवसरबादि हावि हुँनाले कामहरु समयमा सम्पन्न हुँदैनन् । पढाई लेखाईमा एकरुपमा नहुँदा अरुभन्दा पछ परिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

राजनिति तथा समाजसेवामा अलि बढि गम्भिरता अपनाउँनुहोला आलोचना गर्नेहरु सक्रिय रहनेछन् । कृषि पेशा अपनाउँनेहरुले मनग्गे रुपैया पैसा संग्रह गर्न सक्नेछन् । प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ भने कुनै काम गर्दै हुँनुहुँन्छ भने बिहानको समय उत्तम रहेकोछ । समय अनुकुल नहुँनाले आमा तथा परिवारका सदस्यहरु तपाईदेखि टाडिन सक्छन् ध्यान दिनुहोला । बिद्यार्थिहरुले पढाई लेखाईमा समय दिन नसक्दा भनेजस्तो नतिजा हात लगाउँन गाह्रो पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

छुट्टिएका माया प्रेमहरु पुनः जोडिने अधिक सम्भावना रहेको छ भने नयाँ नयाँ प्रेम प्रस्ताब आउँनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धि पेशा व्यावसायबाट मनग्गे धन कमाउँन सकिनेछ । आफन्त तथा सन्तानले प्रगति गरि तपाईलाई सम्झनेछन् ।भौतिक वस्तुहरुको प्रयोग गर्न पाईने तथा आकस्मिक धन सम्पति प्राप्त हुँने हुँदा सुखसागरमा रमाउँने समय रहेकोछ । शिक्षामा सुधार भई बिगतका कमजोरिलाई सच्याउँदै चाहेको गन्तब्य पहिल्याउँन सहज हुँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

न्यायिक निर्णय तथा कानुनि फैसलाहरु तपाईकै पक्षमा आउँनेछन् । पढाई लेखाईमा मन जाने हुँनाले अरुलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । भाग्यले साथ दिने हुँनाले थोरै लगानिबाट मनग्गे आम्दानि गर्न सकिनेछ । दाजुभाई तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । आन्तरिक व्यावसायिक यात्राको प्रसस्त सम्भावना रहेकोछ भने सकारात्मक उपलब्धि हात लाग्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

बिवादित निर्णयहरु तपाईकै पक्षमा आउँने हुँनाले मन प्रशन्न हुँनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा आउँने हुँदा घर परिवार तथा आफन्तहरु खुसि हुँनेछन् । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुँने योग रहेकोछ । पुराना स्वास्थ्य सम्बन्धि समस्याहरु हल भएर जानेछन् भने संकटबाट मुक्ति मिल्ने समय रहेकोछ । नोकरीमा प्रतिष्पर्धिहरुलाई हराउँदै अगाडि बढ्न सकिनेछ भने सत्रुता राख्नेहरु आफै साईड लाग्नेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ । अध्ययनमा अध्यापनमा मन जाने हुँनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ । व्यापार व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पुरा हुँने हुँनाले मन चङगा हुँनेछ । भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरि थप फाईदा लिन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

व्यापार व्यावसायमा लगानि गरि मनग्गे नाँफा कमाउँन सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा लगानि गर्नेहरु सफल रुपमा स्थापित हुँनेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुँने समय रहेकोछ ।आउँने अवसरलाई सहि रुपमा सदुपयोग गर्न सक्दा चाहेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नोकरिमा बढोत्तरि हुँने योग रहेकोछ भने राजनिति गर्नेहरुले राज्यबाट बिशेष पद प्राप्त गर्न सक्नेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

पढाई लेखाईमा उल्लेख्य प्रगति गर्न सकिने तथा नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्न पाईने समय रहेकोले मन प्रशन्न हुँनेछ । सामाजिक कामहरु समयमानै सम्पादन गर्न सकिने हुँदा मान सम्मानमा बृद्धि हुँनेछ । राजनिति कर्मिले सर्बसाधारणको काम गरि पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दाम्पत्य जीवन खुसि रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्न पर्ने हुँन सक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ । बिदेशि धन सम्पति हात लाग्ने समय रहेकोछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउँन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाई लेखाई अधरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

अध्ययनमा सफलता मिल्नेछ । गुरुहरुको राम्रो सहयोग पाईने हुँदा गन्तब्य पहिल्याउँन सहज हुँनेछ । व्यापार व्यावसायमा लगानि बढाई आम्दानिका स्रोतहरु पढाउँन सकिनेछ । भौतिक सम्पति तथा मानव निमित बस्तुहरु प्राप्तिको गतिलो योग रहेकोछ । लामो समय देखि भेट नभएका मित्रहरु सँग भेट हुँनेछ भने माया प्रेममा आत्मियताको बढोत्तरि हुँनेछ भने रमाईलो यात्राको तय हुँनेछ ।

मंगलबार चीनले बीडीएस-३ भूउपग्रह प्रक्षेपण गर्दै

काठमाडौं ।  चीनले मंगलबार बीडीएस-३ भूउपग्रह प्रक्षेपण गर्ने भएको छ ।

बेडाउन नेभिगेसन सेटेलाइट सिस्टम बीडीएसमा आधारित भूउपग्रह मंगलबार स्थानीय समय अनुसार १० बजेर ११ मिनेटदेखि १० बजेर ५० मिनेट भित्र अन्तरिक्षमा पठाइसकिने जनाएको छ ।

लङ मार्च-थ्रीबी रकेटले यस भूउपग्रहलाई अन्तरिक्षमा पुर्याउनेछ । बीडीएस प्रणाली जीपीएस, ग्लोनास जस्तै प्रणाली हो । यसबाट विश्वका मानिसहरुलाई विभिन्न क्षेत्रको समय, स्थिती तथा गतिविधिको जानकारी हुन्छ ।

यस भूउपग्रहले विभिन्न क्षेत्रका समय, स्थितीको बारेमा सूचना संकलन गर्दछ । हालको भूउपग्रहले सूचना संकलनमा धेरै सहयोग पुर्याउने अपेक्षा गरिएको जनाइएको छ ।

सरकारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सोमबार सरकारविरुद्ध प्रदर्शन गरेको छ ।

सरकारले कोरोना महामारी नियन्त्रणमा प्रभावकारी काम नगरेको, संकटका बेलामा आर्थिक अनियमितता भएको, क्वारेन्टिनहरु मापदण्ड अनुसार व्यवस्थित नभएकोलगायतका विषयलाई लिएर प्रदर्शन गरेको नेविसंघका अध्यक्ष राजीव ढुंगानाले जानकारी दिए ।

सोमबार काठमाडौंको विजुलीबजारबाट र्यालीसहित नयाँ वानेश्वर पुगेको टोलीले कोणसभा गरेको थियो । र्यालीका सहभागीले कोरोना महामारी नियन्त्रणका लागि खर्च भएको भनिएको १० अर्बको हिसाब सार्वजनिक गर्नुपर्ने, विदेशमा अप्ठेरामा परेकाहरुको उद्धार गर्नुपर्ने, मजदुरलाई राहत दिनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग गरेका छन् ।

कोरोना महामारी नियन्त्रणमा लाग्नुपर्ने सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर नभएको र आर्थिक अनियमिततामा नै केन्द्रित भएकाले खबरदारी गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।

र्यालीपछि कोणसभालाई सम्बोधन गर्दै उनीहरुले सरकारले बजेटमा ल्याएको सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्ने जिम्मा निजीलाई दिने व्यवस्था खारेज गर्न र रुकुम घटनाका दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

कोरोना अपडेटः काठमाडौं उपत्यकामा पनि थपिए ५ जना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा पनि थप ५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले जनाए अनुसार काठमाडौंका ४ र ललितपुरका १ जना गरी ५ जनामा कोरोना संक्रमण देखिएको हो।

धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक पुरुष र काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा १ जना गरी दुईजना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

देशमा सोमबार एकै दिन ४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै देशमा कोरोना भाइरस संक्रमितको संख्या ६  हजार २११ पुगेको छ ।

प्रहरीले उजुरी नलिएको यादवको गुनासो, न्यायको लागि पहल गरि दिन इन्सेकमा निवेदन

इनरुवा । आफूलाई २०७७ जेठ ३० गते शुक्रवार सशस्त्र प्रहरीको कुटपिटबाट पीडित भएका सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका ३ का ३६ वर्षिय अरविन्द कुमार यादवले आफुले न्याय माग्न प्रहरीमा जाँदा कुनै सुनवाई नभएको गुनासो गर्नुभएको छ ।

सशस्त्र प्रहरीले आफुलाई बिना कारण कुटपिट गरेको र यातना दिएको बिषयमा न्याय माग्न जिल्ला प्रहरी कार्यालय सुनसरी पुग्दा आफनो उजुरी लिन नमानेको गुनासो गर्नुभएको छ ।

राज्यकै निकायबाट कुटपिट हुनु र न्याय माग्न जाँदा सुनवाई नभएकोले आफु झन असुरक्षित भएको गुनासो गर्नुभएको छ । यादवले आफनो कुरा सुनवाई नभएपछि न्यायका लागि पहल गरिदिन भन्दै सोमवार राष्टिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकलाई गुहारेको छ ।

यादवले आफनो गुनासो र पीडा शनिवार मात्रै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउनु भएको थियो । सो घटनाको बिषयमा बिभिन्न संचार माध्यममा समाचार प्रकाशन तथा प्रसारण समेत भएको थियो । तर सुनवाई नभएपछि अधिकारकर्मी र संचारकर्मीलाई गुहारेको यादवको भनाई रहेको छ ।

यादवले २०७७ असार १ गते न्यायको लागि पहल गरीदिन र कानुनी उपचारमा सहयोग तथा दोषीलाई कार्वाहीका लागि भन्दै आयोग र इन्सेकमा निवेदन पठाउनुभएको छ । मानव अधिकारको हनन भएको र उल्टै निवेदन समेत नलिएकाले इन्सेक र आयोगमा निवेदन दिएको बताउनुभयो । यादवले जिल्ला प्रहरी कार्यालय सुनसरीमा शान्ति सुरक्षा कायम गरी घाउँजाँच केश फारम भरी कानुनी कार्वाही गरी पाउँ भनेर निवेदन लिएर जाँदा प्रहरीले लिन अस्विकार गरेको दाबी गर्नुभयो ।

निवेदनमा सुनसरीको देवानगंज गापा ३ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट बीओपी कप्तानगंज कार्यालयमा कार्यरत प्रहरी निरीक्षक पशुपति पुरी र कृष्ण भुजेललाई बिपक्षी बनाइएको छ । बिपक्षीहरुले आफुलाई बर्दीको आडमा कुटपिट गरेको र आफनो स्वतन्त्र पूर्वक बाँच्ने अधिकारको कुण्ठित गरेको गुनासो गर्नुभयो ।

यादवलाई मकैं उठाउन आफ्नै खेतमा गएको बेला सीमामा मकै किन ओसारेको आरोप लगाउदै सशस्त्र प्रहरीका जवान भुजेलले लाठ्ठी प्रहार गरी हात र खुट्टा कुटेको हो । यादवले आफूलाई आफ्नै खेतमा कुटपिट र यातना दिदै सशस्त्र प्रहरीले चार घण्टा विना कारण नियन्त्रणमा राखेको गुनासो गरेका छन् । खेतमा मकैं उठाउन गएको बेला गत शुक्रबार दिउसो अन्दाजी २: ३० बजेको समयमा नजराना नदिई मकै लान नपाउने भन्दै गालीगलौज गरेर कुटेको पीडित यादवले बताएका छन् ।

पीडित यादवका अनुसार किसानहरुको बीचमा कुराकानी र मकैं उठाउने बारेमा छलफल चरिरहेको मौकामा सशस्त्र प्रहरीले आफूलाई पागल भन्नेको आरोप लगाउदै कुटपिट गरेको र चार घण्टासम्म सशस्त्र प्रहरीले नियन्त्रणमा राखेको थियो ।

यादवले सामान्य किसानदेखी भारतीय नागरिक र तस्कारसंग अबैधरुपमा रकम असुली कार्य अझै नरोकिएको विषयमा केही समय अगाडी कुरा उठाएको र सोही रिसिवि साध्नका लागि आफू माथि सुन्योजित रुपमा आक्रमण प्रयास र कुटपिट गरेको आरोप लगाउनुभयो । सशस्त्र कुटाईबाट यादवको हात र खुट्टामा निलडाम बसेको छ ।

प्रदेश १ मा सबैभन्दा बढी बजेट भौतिक पुर्वाधार विकासमा

इटहरी । प्रदेश नम्बर १ को सरकारले आर्थिक वर्ष २०७७-७८ का लागि भौतिक पुर्वाधार तथा विकाश मन्त्रालयमा सबै भन्दा बढी बजेट विनियोजन गरेको छ । मन्त्रालयगत बजेट विनियोजनमा भौतिक पुर्वाधार विकाश मन्त्रालयलाई १७ अर्ब ९३ करोड २९ लाख ८२ हजार कुल बजेटको ४३ दशमलव ८४ प्रतिशत बजेट विनियोजन गरेको हो । सबै भन्दा कम बजेट अर्थ मन्त्रालय अन्र्तगतको आन्तरिक ऋण भुक्तानी तर्फ शुन्य दशमलव शुन्य २४ प्रतिशत रहेको छ ।

सोमबार प्रदेश सभामा आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङबोले पेश गरेको बजेटमा प्रदेश व्यवस्थापिकामा २३ करोड ५० लाख ३६ हजार रुपैया विनियोजन गरेको छ भने प्रदेश लोक सेवा आयोगका लागि ५ करोड ५९ लाख २२ हजार, मुख्य न्यायधिवक्ताको कार्यालयका लागि १ करोड ८५ लाख ७८ हजार, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ७५ करोड ८० लाख ७६ हजार रहेको छ ।
मन्त्रालयगत तर्फ आर्थिक मामिला तथा योजना मन्त्रालयमा ५९ करोड ८१ लाख ८४ हजार, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा प्रदेश सरकारबाट ३ अर्ब ४९ करोड ३८ लाख ८९ हजार र स्थानीय तहले वित्तिय व्यवस्थाका लागि ७ करोड रुपैया गरि कुल ३ अर्ब ५६ करोड ३८ लाख ८९ हजार रुपैया विनियोजन गरेको छ ।

त्यस्तै भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई १७ करोड स्थानीय तहले व्यवस्थापन गर्ने गरि प्रदेश सरकारले ३ अर्ब ८३ करोड १६ लाख ३३ हजार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई १ अर्ब २७ करोड ४० लाख ८९ हजार, सामाजिक विकाश मन्त्रालयलाई स्थानीय तहले २२ करोड ७२ लाख ४५ हजार वित्तिय व्यवस्था गर्ने गरि प्रदेशले ५ अबं ३० करोड २० लाख ७५ हजार, प्रदेश योजना आयोगलाई ४ करोड २२ लाख ३८ हजार, अर्थ वित्तिय व्यवस्थामा ३ करोड, कर्मचारी सुविधा तथा सेवानिवृत्त सुविधाका लागि ३ करोड, अर्थ विविधमा ४ अर्ब ३९ करोड ९ लाख र स्थानीय तहलाई २ अर्ब ४२ करोड १० लाख रुपैया विनियोजन गरेको छ ।प्रदेश पोर्टलबाट

इटहरीका ७५ जना कृषकलाई कोरली गाई वितरण

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाले ७५ जना कृषकलाई कोरली गाई वितरण गरेको छ । गाईपालन जोनका रुपमा निर्धारित १,२ र २० नम्वर वडाका ७५ जना कृषकलाई कोरली गाई वितरण गरिएको हो । विहान इटहरी २ का २५ जना कृषकलाई प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले कोरली गाई वितरण गर्नुभयो ।

यसअघिनै अन्य १ र २० दुई वडाका पचास जना कृषकलाई गाई वितरण गरिसकिएको छ । इटहरीलाई कृर्षिमा आत्मनिर्भर वनाउने अभियान अन्र्तगत कोरली गाई वितरण गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले चुनावको बेला भनेका थियौं कम्तिमा इटहरीलाई माछा, दुध र तरकारीमा आतमनिर्भर गराउँछौं, सोही बमोजिम यि गाईहरु वितरण गरेका छौं ।”

कार्यक्रममा २ नम्बर अध्यक्ष हर्क बहादुर मगरले कृषिमा आत्मनिर्भर बनाउन थप टेवा पुग्ने बताउँदै, यो वर्ष नपाउने कृषकले अर्काे वर्ष पाउने बताउनुभयो । कोरली गाई वितरण गरिएका ७५ जना कृषकलाई गाईपालक कृषक वनाउने र यो अभियानलाई निरन्तरता दिएर इटहरीलाई दुधमा आत्मनिर्भर वनाउने उपमेयर गौतमले वताउनुभयो । कृषकले कोरली गाई पाएपछि खुशी ब्यक्त गरेका छन् ।

इटहरीका किसानलाई पावर ट्रिलर

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकाले खनजोत गर्न मिनि पावर ट्रिलर उपलब्ध गराएपछि कृषकहरु उत्साहित भएका छन । उपमहानगर परिसरमा प्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले ११ वटा पावर ट्रिलर कृषकहरुलाई हस्तान्तरण गर्नुभयो । कृषिसमूह र उद्यमी कृषकलाई मिनि पावर ट्रिलर हस्तान्तरण गरिएको हो ।

मिनि पावर ट्रिलर प्राप्त भएपछि अव खेतिपातीमा धेरै सजिलो हुने इटहरी १५ की तरकारी खेति गर्ने कृषक शर्मिला चौधरीले बताउनुभयो । उहाँले खुशी हुदै भन्नुभयो“गोरुले जोतेर आफै खनजोत गरेर तरकारी खेति लगाउदै आएकी थिएँ,नगरपालिकाले ठूलो गुन लगायो अव सजिलो भयो ।”

उहाँले १५ कठठा जग्गामा तरकारी खेति लगाउदै आउनुभएको छ । इटहरी उपमहानगरको ७५ प्रतिशत लगानीमा मिनि पावर ट्रिलर वितरण गरिएको हो ।
इटहरी उपमहानगरले इटहरीलाई कृर्षीमा आत्मनिर्भर वनाउन विभिन्न कार्यक्रम र अनुदानमा विभिन्न कृषि सम्वन्धी समाग्री वितरण गर्दै आएको छ ।

केरा पकेट सञ्चालक समिति गठन

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत बबिया केरा पकेट सञ्चालक समिति गठन भएको छ । एक स्थानीय एक पकेट क्षेत्र कार्यक्रम अन्तर्गत इनरुवा नगरपालिकामा पनि केरा पकेट परेको कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख नुनुलाल उरावँले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले केरा पकेटमा आवद्ध हुन कृषक समूह, सहकारी तथा कानुन अनुसार दर्ता भएका संस्थालाई आव्हान गरिएको थियो । त्यसमा इनरुवा नगरपालिकाका तीन ओटा समूह र सहकारीले आवेदन गरेका थिए । यदुवंशी बहुद्देशिय कृषक समूह, केरा तथा फलफुल कृषक समूह र बबिया कृषि सहकारी संस्थाले प्रस्ताव पेश गरेको थियो । तीन ओटै कृषक समूहलाई मिलाएर एक सञ्चालक समिति गठन गरिएको छ ।

हरिनारायण मेहताको संयोजकत्वमा ११ सदस्य बबिया केरा पकेट सञ्चालक समिति गढन भएको हो । सहसंयोजकमा ममता कुमारी यादव, सचिवमा यदुनन्दन यादव, सहसचिव रमेश कुमार मेहता रहेका छन् । सदस्यहरुमा रामकृष्ण यादव, राजकुमारी मेहता, नौशाद आलम, हिरा उरावँ, रुपा मण्डल, दुर्गादेवी खत्वे र पदेन सदस्यामा इनरुवा नगरपालिकाको स्थानिय कृषि शाखाको प्रविधिक समुना कोइरला रहनुभएको छ ।

कोरोना संक्रमितको संख्या ६२ सय नाघ्यो

काठमाडौं । सोमबार ४ सय ५१ जनामा जनामा  कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयका अनुसार हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमण निको भएर हालसम्म १ हजार ४१ जना डिस्चार्ज भएका छन् । जसमा ९ सय ३७ पुरुष र १ सय ४ जना महिला रहेका छन् ।

नेपालसँगको सीमा विवाद वार्ताबाट समाधान गर्छौं : भारतीय रक्षामन्त्री सिंह

काठमाडौं । भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल(भारत सीमा विवादको समाधान वार्ताबाटै खोज्ने बताएका छन् ।

भारतीय जनता पार्टीका उत्तराखण्डका कार्यकर्तालाई ‘जन संवाद’ कार्यक्रमअन्तर्गत सम्बोधन गर्दै रक्षामन्त्री सिंहले भारत(नेपालको बीचमा रोटी(बेटीको सम्बन्ध रहेको र यसलाई कसैले तोड्न नसक्ने बताए । उनले भने, लिपुलेकबाट धार्चुला जोड्ने सडकलाई लिएर नेपालमा केही गलत बुझाई भए त्यसलाई सम्वादबाटै हल गरिनेछ ।’

भारतको नेपालसँग सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक मात्र नभई आध्यात्मिक सम्बन्ध पनि रहेको उनले बताए । गोरखा रेजिमेन्ट सेनाले समय समयमा आफ्नो शौर्यको परिचय दिने गरेको भन्दै उनले नेपालसँगको सम्बन्ध टुट्न नसक्ने बताए ।

उनले अघि भने, ‘म विश्वासको साथ भन्न चाहन्छु कि भातीयको मनमा कहिल्यै पनि नेपालको विषयमा कुनै प्रकारको कटुता पैदा हुन सक्दैन । हाम्रो नेपालसँग यति गहिरो सम्बन्ध छ । हामी सबै समस्याको सामाधान वार्ता र सम्वादमार्फत नै गर्नेछौँ ।’

पर्सामा तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा संक्रमण पुष्टि

वीरगञ्ज । पर्सामा थप तीन जना स्वास्थ्यकर्मीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा एक जना महिलासहित १० जनामा संक्रमण पुष्टि भएको गण्डक कोभिड अस्पतालका कोओर्डिनेटर डा. उदयनारायण सिंहले जानकारी दिए । संक्रमण पुष्टि हुनेमा विन्दवासिनी गाउँपालिका ४ का २६, ३६, ३९ र ५६ वर्षका पुरुष, वडा नम्बर ३ का ३२ वर्षीया एक महिलासहित ३२ र ४० वर्षीय पुरुष, वडा नम्बर २ का ४३ वर्षीय दुई जना पुरुष गरी कुल ९ जना र एक जना पटेर्वा सुगौली २ का ४१ वर्षीय पुरुष रहेका छन् ।

विन्दवासिनी गाउँपालिकाका ४३ र ३९ वर्षीय दुई जना स्वास्थ्य सहायक प्रमुख र एक जना अमरपट्टीस्वास्थ्य चौकीका ५६ वर्षीय सिनियर अहेबमा संक्रमण पुष्टि भएको गाउँपालिकाले जनाएको छ । तीनै जना वडा नम्बर ३ झौवागुठीस्थित विद्यालयको क्वारेन्टिनमा बसेकाहरुको स्वास्थ्य निगरानीमा खट्ने गरेका थिए । यस्तै सोमबार संक्रमण पुष्टि भएका मध्ये एक जना सोही क्वारेन्टिनमा भान्सेको रुपमा खट्दै आएका झौवागुठीका एक व्यक्ति समेत रहेका छन् । अन्य ६ जना भने भारतबाट आई क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरु हुन् ।

सो क्वारेन्टिनबाट १८ जनाको जेठ २६ गते स्वाब संकलन गरिएको थियो । जसमध्ये १० जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि आइतबार पोखरियाका पाँच जना स्वास्थ्यकर्मीसहित १७ जनामा संक्रमण पुष्टि भएको थियो ।

गुगलका पूर्वकर्मचारीमाथि १८ करोड डलर जरिवाना

व्यवसाय सम्बद्ध गोप्य जानकारीहरु सार्वजनिक गरेको अभियोगमा गुगलका एकजना पूर्व कर्मचारीमाथि भारी जरिवाना भएको छ ।

अमेरिकाको सनफ्रान्सिस्को स्थित एक अदालतले गुगलका पूर्व कर्मचारी एन्थोनी लेभान्डोस्कीमाथि १७ करोड ९० लाख डलर जरिवानाको फैसला सुनाएको हो । आदेश अनुसार लेभान्डोस्कीले उक्त रकम गुगललाई क्षतिपूर्तिबापत तिर्नुपर्नेछ ।

स्मरण रहोस्, गुगलको जागिर छाडेसँगै लेभान्डोस्की र उनका सहकर्मी लिओर रोनले ओट्टो नामक स्वचालित गाडी कम्पनी स्थापना गरेका थिए । त्यसअघि उनीहरु गुगल कम्पनीको स्वचालित गाडी सम्बन्धी विभाग ‘वेमो’मा कार्यरत थिए ।

गुगलका ती पूर्व कर्मचारीले स्थापना गरेको कम्पनी गुगलकै प्रतिस्पर्धी कम्पनीको रुपमा स्थापना भएको थियो जो स्वचालित ट्रकहरु उत्पादनमा केन्द्रित थियो । अन्ततः उनीहरुले स्थापना गरेको नयाँ कम्पनी पनि गुगलले नै खरीद गर्नुपरेको थियो ।

ती दुई व्यक्तिले गुगलसँगको सम्झौता तोडेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिएको आरोप गुगलको थियो । उनीहरुले गुगलका व्यापार सम्बद्ध गोप्य जानकारीहरु समेत अनधिकृत रुपमा दुरुपयोग गरेको दाबी गुगलको थियो ।

तर रोनले केही रकम तिरेर गुगलसँगको विवाद समाधान गरेका थिए । तर लेभान्डोस्कीले भने गुगलको आरोप अस्विकार गर्दै कानूनी लडाइँमा होमिएका थिए । अन्ततः अदालतले उनीमाथि १७ करोड ९० लाख जरिवानाको फैसला गरेको छ ।

तर लेभान्डोस्कीले भने आफुले त्यतिधेरै रकम तिर्न नसक्ने भन्दै आफु टाट उल्टिएको निवेदन पेश गरेका छन् ।

आफ्नो कूल सम्पत्ति नै बढिमा १० करोड डलर मात्र रहेको भन्दै उनले आफुले १७ करोड ९० लाख जरिवाना तिर्न नसक्ने बताएका छन् । एजेन्सी