प्रहरीले उजुरी नलिएको यादवको गुनासो, न्यायको लागि पहल गरि दिन इन्सेकमा निवेदन – Nagarikabhiyan : National News

प्रहरीले उजुरी नलिएको यादवको गुनासो, न्यायको लागि पहल गरि दिन इन्सेकमा निवेदन

इनरुवा । आफूलाई २०७७ जेठ ३० गते शुक्रवार सशस्त्र प्रहरीको कुटपिटबाट पीडित भएका सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका ३ का ३६ वर्षिय अरविन्द कुमार यादवले आफुले न्याय माग्न प्रहरीमा जाँदा कुनै सुनवाई नभएको गुनासो गर्नुभएको छ ।

सशस्त्र प्रहरीले आफुलाई बिना कारण कुटपिट गरेको र यातना दिएको बिषयमा न्याय माग्न जिल्ला प्रहरी कार्यालय सुनसरी पुग्दा आफनो उजुरी लिन नमानेको गुनासो गर्नुभएको छ ।

राज्यकै निकायबाट कुटपिट हुनु र न्याय माग्न जाँदा सुनवाई नभएकोले आफु झन असुरक्षित भएको गुनासो गर्नुभएको छ । यादवले आफनो कुरा सुनवाई नभएपछि न्यायका लागि पहल गरिदिन भन्दै सोमवार राष्टिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकलाई गुहारेको छ ।

यादवले आफनो गुनासो र पीडा शनिवार मात्रै पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराउनु भएको थियो । सो घटनाको बिषयमा बिभिन्न संचार माध्यममा समाचार प्रकाशन तथा प्रसारण समेत भएको थियो । तर सुनवाई नभएपछि अधिकारकर्मी र संचारकर्मीलाई गुहारेको यादवको भनाई रहेको छ ।

यादवले २०७७ असार १ गते न्यायको लागि पहल गरीदिन र कानुनी उपचारमा सहयोग तथा दोषीलाई कार्वाहीका लागि भन्दै आयोग र इन्सेकमा निवेदन पठाउनुभएको छ । मानव अधिकारको हनन भएको र उल्टै निवेदन समेत नलिएकाले इन्सेक र आयोगमा निवेदन दिएको बताउनुभयो । यादवले जिल्ला प्रहरी कार्यालय सुनसरीमा शान्ति सुरक्षा कायम गरी घाउँजाँच केश फारम भरी कानुनी कार्वाही गरी पाउँ भनेर निवेदन लिएर जाँदा प्रहरीले लिन अस्विकार गरेको दाबी गर्नुभयो ।

निवेदनमा सुनसरीको देवानगंज गापा ३ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउटपोष्ट बीओपी कप्तानगंज कार्यालयमा कार्यरत प्रहरी निरीक्षक पशुपति पुरी र कृष्ण भुजेललाई बिपक्षी बनाइएको छ । बिपक्षीहरुले आफुलाई बर्दीको आडमा कुटपिट गरेको र आफनो स्वतन्त्र पूर्वक बाँच्ने अधिकारको कुण्ठित गरेको गुनासो गर्नुभयो ।

यादवलाई मकैं उठाउन आफ्नै खेतमा गएको बेला सीमामा मकै किन ओसारेको आरोप लगाउदै सशस्त्र प्रहरीका जवान भुजेलले लाठ्ठी प्रहार गरी हात र खुट्टा कुटेको हो । यादवले आफूलाई आफ्नै खेतमा कुटपिट र यातना दिदै सशस्त्र प्रहरीले चार घण्टा विना कारण नियन्त्रणमा राखेको गुनासो गरेका छन् । खेतमा मकैं उठाउन गएको बेला गत शुक्रबार दिउसो अन्दाजी २: ३० बजेको समयमा नजराना नदिई मकै लान नपाउने भन्दै गालीगलौज गरेर कुटेको पीडित यादवले बताएका छन् ।

पीडित यादवका अनुसार किसानहरुको बीचमा कुराकानी र मकैं उठाउने बारेमा छलफल चरिरहेको मौकामा सशस्त्र प्रहरीले आफूलाई पागल भन्नेको आरोप लगाउदै कुटपिट गरेको र चार घण्टासम्म सशस्त्र प्रहरीले नियन्त्रणमा राखेको थियो ।

यादवले सामान्य किसानदेखी भारतीय नागरिक र तस्कारसंग अबैधरुपमा रकम असुली कार्य अझै नरोकिएको विषयमा केही समय अगाडी कुरा उठाएको र सोही रिसिवि साध्नका लागि आफू माथि सुन्योजित रुपमा आक्रमण प्रयास र कुटपिट गरेको आरोप लगाउनुभयो । सशस्त्र कुटाईबाट यादवको हात र खुट्टामा निलडाम बसेको छ ।