१ असार २०७७, सोमबार १४:५३ – Page 10 – Nagarikabhiyan : National News

सुनौली नाकाबाट उद्धार गरिएका युवकको भिरबाट हामफाल्दा मृत्यु

पोखरा । क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा पर्वतमा भीरबाट हाम फालेका एक जनाको मृत्यु भएको छ ।

भारतबाट फर्केकाहरुलाई क्वारेन्टिनमा राख्न लैजाँदै गर्दा पोखरा–बागलुङ राजमार्ग अन्तर्गत पवर्त कुश्मा–८ चुवा भन्ने ठाउँमा बागलुङ नगरपालिका वडा नम्बर १३ घर भएका ३९ वर्षीय चन्द्रबहादुर नेपालीले हाम फालेका हुन् ।

भारतदेखि फर्केर सुनौली नाका हुँदै रिजर्भमा आएको गाडी पर्वतको चुवा भन्ने ठाउँमा रोकिएको थियो । नेपाली गाडीबाट झरेर भिरमा गएर हाम फालेको पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले अनलाइनखबरलाई जानकारी दिए ।

‘पर्वत, बागलुङ र म्याग्दीका मानिसहरु मिलेर गाडी रिजर्भ गरेर आएका थिए । उनीहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा लैजाँदे थियौं,’ उनले भने, ‘चुवामा गाडी रोकिएका बेला झरेर भिरमा गई नेपालीले एक्कासी हाम फालेछन् ।’

लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बागलुङ र म्याग्दीका गरी १७ जना थिए । पर्वतको डिमुवामा केहीलाई झारेपछि बस बागलुङ र म्याग्दीका यात्रु लिएर जाँदै थियो । अप्ठेरो सडकका कारणले बस केही रोकिएको मौका छोपेर नेपालीले हाम फालेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ ।

श्रीकृष्णका यी १० महत्त्वपूर्ण वचन अनुसरण गरे आउँदैन कहिल्यै दु:ख

भगवान नाम जप्दा मात्र पनि अनेकौं दुखःबाट मुक्ति पाउने धार्मिक विश्वास छ । श्रीकृष्णका अनमोल वचन तथा ज्ञानमा ध्यान दिएमा थकानयुक्त अफिस लाइफमा समेत उर्जा पाउन सक्नुहुन्छ । कृष्णका ति अनमोल वचनहरु के के छन् :

१. रीसमा नियन्त्रण
क्रोधबाट भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र बनाउछ । जब बुद्धि व्यग्र हुन्छ तब तर्क नष्ट हुन्छन् । र जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुने गर्दछ । यदि त्यहि क्रोधलाई सकारात्मक शक्तिमा बदल्न सके त्यसको प्रयोग उपयोगि हुन्छ । जसलाई सफलता निश्चित छ ।

२. कर्ममा खुसि खोज

जो ब्यक्ति आफ्नो कर्ममा आनन्द खोज्दछ तबमात्र उसले पूर्णता पाउछ । र पूर्णता पाएको ब्यक्ति मात्र खुसि रहन सक्दछ । तसर्थ आफ्नो काममा लिन रही जसले आनन्द खोज्दछ उसले त्यहि मात्र खुसि प्राप्त गर्दछ ।

३. मनमा नियन्त्रण

यदि कोही ब्यक्ति आफ्नो मनलाई नियन्त्रित राख्न सक्दैन उसले हमेशा आफैमाथि हानी पुर्याउने काम गर्दछ । ब्यक्तिको मन नै ईश्वर प्राप्तिको मार्ग भएकाले यसलाई नियन्त्रण गर्न आवश्यक छ । यदि कोही ब्यक्ति मनलाई नियन्त्रण गर्दैन भने उसले शत्रु समान कार्य गर्दछ ।

४. अनुशासनमा वस

ब्यक्तिको मनमा जम्मा सन्देहहरु आत्मज्ञानको माध्यमबाट मात्र काट्न सकिन्छ । त्यसैले आफ्नो हृदयमा रहेका अज्ञानका सन्देहहरु आत्मज्ञानको तलवारले काट्नु पर्दछ । र अनुशासनमा रहेर जाग्ने वा माथि उठ्ने प्रयाश गर्नुपर्दछ ।

५. यी काम मात्र गर

कर्ममा प्राप्तिका लागि मेहनत आवश्यक छ । मेहनत मात्र अधिक कर्मले सफल हुन्छ । जो ब्यक्तिले कार्यमा निष्क्रियता र निष्क्रियता पनि कार्य देख्दछ उहि मात्र एक बुद्धिमान व्यक्ति हुन्छ ।

६. हरेक कर्मको फल पाइन्छ

हरेक कर्मको फल पाउने निश्चित छ । फल प्राप्तिको समय केहि ढिलो वा समय ब्यत्तित भएपछि पाइन सकिन्छ । तर फल प्राप्ति निश्चित छ । हरेक जीवनमा न केहि गुम्छ न त केहि ब्यर्थ जान्छ । तसर्थ ब्यक्तिले बिना फल प्राप्तिको चिन्ता लिई आफ्नो काम ईमान्दारीका साथ गर्नुपर्दछ ।

७. अभ्यास आवश्यक छ

बन्द कोठामा बसेर सफलताका लागी लगाइएको बुद्धि ब्यर्थ छ । मन चञ्चल, अशान्त र ब्याकुल हुन्छ । असफलता देख्नासाथ मन त्यस कर्म गर्न प्रेरीत रहदैन । तर त्यहि मन नियन्त्रित गरी लगातार अभ्यास गरेमा असफलता सफलतामा परीणत हुन्छ ।

८. दृढ विश्वास सफलताको कारक

व्यक्ति जे चाहान्छ, त्यहि बन्न सक्छ । तसर्थ लगन, निष्ठा र इमान्दारीताका साथ इच्छित बस्तुमा ध्यान लगाई एकाग्रका साथ कर्म गरेमा त्यो प्राप्ति निश्चित छ । मात्र कर्मको बेला दृढ विश्वास हुन जरुरी छ जो इच्छित वस्तुमा लगातार रहिरहोस् ।

९. तनाव कम गर

समय परीवर्तनशिल छ । लगातार असफलता वा एकै प्रकारको कामबाट ब्यक्ति दिक्क हुने गर्दछ । दैनिक जिवनमा आफ्नो काममा मानिसको ध्यान भट्किन सक्छ र उ तनावमा आउने गर्दछ । त्यो बेला आफ्नो कामलाई भन्दा तनावलाई परीवर्तन गर्न आवश्यक रहन्छ । तनाव भगाउन मात्र तिमि आफ्नो कामलाई प्रेम गर त्यस अलावा अरुको कुराको परवाह नगर ।

१०. आफ्नो काम पहिला गर

अरु कोहि ब्यक्तिको कामलाई पुर्णता दिनुभन्दा आफ्नो कामलाई पुर्ण गर्नु उत्तम रहन्छ । चिन्तनको माध्यमबाट आफ्नो कामलाई पहिलो प्राथमिकताका साथ गर्नुपर्दछ । अरुको काम पूर्णताका साथ गर्नुभन्दा आफ्नो काम अपूर्णताको साथ गरे पनि त्यो लाखौं गुणा उत्तम रहन्छ ।

आज १ आषाढ २०७७ सोमवार को राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल असार १ गते सोमबार इश्वी सन २०२० जुन १५ तारीख आषाढ कृष्णपक्ष दशमी तिथी रेवती नक्षत्र सौभाग्य योग वणिज करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा मातंग योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु आषाढ संक्रान्ति नकादिशी (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ । दाम्पति बिच सामान्य कलह रहने सम्भाबना रहन सक्छ । अन्य ब्यक्तिको पूर्ण बिश्वास नगर्नु होला । आर्थीक क्षेत्र मध्यम रहनेछ । यात्रा कारक समय रहेकोछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अधुराकार्य सम्पादनका निम्ती समय उत्तम रहनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ । पारीवारका सदस्यहरु मध्ये कसैको स्वास्थमा समस्या उत्पन्न हुन सक्नेछ । आय आर्जनको क्षेत्र मध्यम रहनेछ । जिबन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ ।

मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

खानपानका क्षेत्रमा बिशेष सजग रहनु उत्तम रहनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । सामान्य बादबिवादको झमेलामा फसिने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसाय मध्यम रहला । साजेदारी काममा लगानी नगरैकै बेश हुनेछ । आफन्तजन बिचको भेटघाटले मन प्रशन्न रहला ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

दाम्पत्य सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । ब्यापार ब्यवसायका निम्ती उत्तम समय रहेकोछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ । दाजु भाई तथा मित्र जनहरु सँगको सम्बन्ध टाढिन सक्छ । परीवारका कोहि सदस्यहरुको स्वास्थमा खराबी आउन सक्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

स्वास्थको गडबढिका कारण सामान्य खर्चको सम्भाबना रहेकोछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । मित्रजनहरु सगँको भेटघाट पश्चात सामान्य यात्राको योग रहनेछ । शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुनेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अध्यन अध्यापनका निम्ती अधिक श्रम ब्यतित गर्नुपर्ने समय रहेकोछ । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ । मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

भौतिक श्रोतसाधनका प्रयोगमा समय ब्यतित रहला । कार्यक्षेत्रको त्रुटिका कारण आत्मसम्मानमा ठेस पुग्न सक्ने सम्भाबना रहेकोछ । ब्यापार ब्यवसायमा समय मध्यम रहनेछ । प्रेम सम्बन्धमा भने सामान्य झन्झट ब्यहोर्नु पर्ला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अधिक आत्मबिश्वास तथा घमडका कारण मित्रतथा दाजुभाई सगँको सम्बन्धमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । अरुको कार्यक्षेत्रमा भएको त्रुटिको अपजस तपाईले खेप्नु पर्नेछ । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

खानपानको गडबढिका कारण स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । नयाँलगानिका क्षेत्रमा सजग रहनु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

अपरीचित ब्यत्तिहरुको बिश्वासमा नपरेकै बेश रहनेछ । मित्रजनहरुको सहयोगमा अधुरा कार्य सम्पादन हुनेछन । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ । आटँ शाहसको कमीले कार्यमा ब्यबधान आउला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नजीकका ब्यत्तित्वहरुबाट धोका हुनाले कार्य सम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । झुटा आरोपको सम्भाबना रहेकोछ । स्वास्थ क्षेत्रको समस्या जटिल बन्ने योग रहेकोछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

भोजभतेर जन्य कार्यमा सहभागीताको योग बन्नेछ । पुराना मित्रजन सगँको भेटघाटले मन हर्षित रहला । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ । बौधिक क्षेत्रको बिकाशले तपाईको मान सम्मानमा बृद्यि गर्नेछ ।

पर्वत पहिरो अपडेटः पहिरोमा पुरिएका आठ जनाको शव भेटियो, एक जना अझै वेपत्ता

पर्वत । कुश्मा नगरपालिका वडा नं. ३, दुर्लुङमा गएराति गएको पहिरोमा पुरिएका आठ जनाको शव भेटिएको छ ।

स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोमा पुरिँदा नौ जना बेपत्ता भएका थिए । शनिबार रातिको पहिरोमा पुरिएका नौ जनामध्ये राति नै तीन जनाको र आइतबार पाँच जनाको शव भेटिएको थियो । भने एक जना अझै वेपत्ता रहेको जनाइएको छ ।

पहिरोमा पुरिएका तुलबहादुर थापा, नीलकुमारी थापा, दीपा थापा, विविशा थापा, विवेक थापा, सम्राट थापा, कमला विक, प्रमिसा विकको शव भेटिएको भेटिएको र बेपत्ता भनिएका कमला विकका छोरा जेनिस विकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

क्वारेन्टिनमा बसेकी महिलाको सामूहिक बलात्कार !

धनगढी । कैलालीको एक क्वारेन्टिनमा बसेकी एक महिलाले आफू सामूहिक बलात्कारमा परेको बताएकी छन् । लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् ।

तर घटना लुकाउन खोजिएको भन्दै स्थानीयबासीले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका छन् । स्थानीयको विरोधपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट भने, ‘जाहेरी परेको छैन, तर हामी अनुसन्धान गर्दैछौं ।’

के भएको थियो घटना ?

पीडित महिला १२ दिनअघि भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् ।

उनीसँगै कोठामा बसेकाहरु परीक्षण गरेर घर गइसकेका थिए । कोठामा एक्लै भएपछि आफूले एक्लै डर लाग्ने बताएको र अर्को कोठामा जान अनुमति दिइएको बताइन् ।

तर उनी गएको कोठाको ढोकामा चुकुल थिएन । ढोकामा बेञ्च राखेर भित्र सुत्न सल्लाह दिएपछि आफूले त्यसै गरेको उनले बताइन् । ‘सञ्चो थिएन, टाउको दुखिरहेको थियो । पछाडि झ्यालमा स्वयंसेवक आएर ढोका खोल्नुस् भन्यो’ उनले भनिन् ।

मध्यरातमा आएका स्वयं सेवकले ढोका खोल्न भन्दा आफूले नमानेको उनले सुनाइन् । कहिले झ्याल त कहिले ढोकामा आएपछि आफूले पनि गाली गर्नुका साथै पुलिस बोलाउन चेतावनी दिँदा पनि उनी नमानेको पीडितले बताइन् । त्यसपछि ढोका खोलेर के गर्न खोजेको भनेर प्रश्न गरेको उनले भनिन्, ‘उ पछाडिपछाडि सर्दै गयो र अर्को कोठाको ढोका नजिक गइसकेपछि मलाई भित्र पछ्यार्‍यो र ढोका खोलेर मलाई जबरजस्ती गर्‍यो ।’

अर्का स्वयंसेवक आएर भिडियो खिचेको उनले सुनाइन् । त्यही बेला एक स्वास्थ्यकर्मी आएपछि आफूले गुहार मागेको भन्दै उनले भनिन्, ‘अब मलाई सहयोग गर्छ भनेर दाइ बचाउनुस् भनेँ । तर उसले पनि त्यस्तै व्यवहार गर्‍यो ममाथि ।’

भिडियो खिच्ने युवकले आफूसँग पैसा मागेको र नदिए भिडियो भाइरल गर्ने धम्की दिएको पीडित युवतीले बताएकी छिन् । उनले आफू स्वास्थ्य परीक्षणका लागि तयार रहेको भन्दै उनले भनिन्, ‘ म बालबच्चाकी आमा हुँ । नभएको आरोप लगाएर कसैको बेइज्जत गर्नुपर्ने केही कारण छैन ।’

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ । सत्तारुढ नेकपाको आज ४ बजेलाई बोलाइएको सचिवालय बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

एमसीसी लगायतका विषयमा छलफल गर्नका लागि बोलाइएको आजको बैठकले अर्थमन्त्री युवराज खतिवडा र पार्टीले गठन गरेको अध्ययन कार्यदलका सदस्यहरु भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पनि बोलाइएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओ‌लीको स्वास्थ्यका कारण बैठक स्थगित गरिएको बताइएको छ । यसअघि एमसीसीबारे छलफल गर्न जेठ २७ गते बोलाइएको सचिवालय बैठक पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

इनरुवाको हनुमान बस्त्रालयमा भिषण आगलागी, १० करोडको क्षती

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १ बजार क्षेत्रमा रहेको हनुमान बस्त्रालयमा आइतबार बिहान भिषण आगलागी भएको छ । आगलागीका कारण हनुमान बस्त्रालयको चार तल्ले भवनको चार वटा कोठा सहित सम्पूर्ण सरसमान जलेर नष्ट भएको हो । सोही भवनमा टाँसिएर रहेको छत्र बहादुर थापाको घरको माथिल्लो तल्लामा रहेको सिर्जना फाइनान्स लिमिटेड, तल्लो तल्लामा रहेको रेडिमेट कपडा पसल र कपिल परियारको टेलर्स छेउमा रहेको सन्तोषी हार्डवेयरको पसल तथा गोदाममा समेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

आगलागी भएको करिब एक घण्टापछि मात्र इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका दमकल आएकाले दुवै भवनमा रहेका सम्पुर्ण सरसामानहरु पुर्ण रुपमा जलेर नष्ट भएको थियो । त्यसलगतै दुहबी नगरपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, राजविराज नगरपालिका, कन्चनरुप नगरपालिका, विराटनगर महानगरपालिका, सुन्दरहरैचा नगरपालिका सहितका ९ वटा बारुण यन्त्रले ६ घण्टा लगाएर आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माका अनुसार इनरुवा बजारमा रहेको हनुमान बस्त्रालयबाट सुरु भएको आगालागी नियन्त्रणका लागि दमकलले पानीको फोहोरा भित्रसम्म फया्क्न नसकेपछि स्काभेटरले घरको सटर भत्काएर आगलागी नियन्त्रणको हो । हनुमान बस्त्रालय पुर्ण रुपमा जलेर नष्ट भएकाले र सृजना फाईनान्स रहेको भवनको माथिल्लो तलाबाट आगो सुरु भएकाले नियन्त्रणमा कठिनाई भएको थियो ।

सो आगलागी नियन्त्रण गर्न स्थानीयबासीहरु, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, इनरुवा नगरपालिकाका स्काभेटर, फोहोर व्यवस्थापन गर्ने ट्रयाक्टर लगायत प्रयोग भएको थियो । आगलागी भएको घटना स्थलबाट इनरुवा नगरपालिका १ किलो मिटरको दुरीमा भए पनि इनरुवा नगरपालिकाको बारुणयन्त्र बिग्रिएर थन्किएकाले बाहिरबाट बारुणयन्त्र आउदा तत्काल नियन्त्रण हुन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् ।

विद्युत सर्ट भएर आगलागि भएको अनुमान गरेको छ भने आगलागीबाट हनुमान बस्त्रालय, सिर्जना फाइनान्स, बलाजी इम्पोरियम, पशुपती इम्पोरियम सहितका रेडिमेट पसल, हार्डवेयर पसल तथा टेलर्स गरी १० करोड रुपियाँ बराबरको आनुमानीत क्षति भएको पीडित प्रीतम अटलले जानकारी गराउनुभयो । आगलागीबाट क्षतिभएको विस्तृत विवरण आउन अझै दुई दिन लाग्न सक्ने सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । हनुमान बस्त्रालयका सञ्चालक हनुमान अटल बोल्ने अवस्थामा नभएकाले कपडा सहितको स्टोरमा रहेको विवरण संकलन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतद्वारा आत्महत्या

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । ३४ बर्षिय राजपुतले मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । इन्डिया टुडेका अनुसार सुशान्त लकडाउन यता घरमा एक्लै थिए ।

उनको पोस्टमार्टम रिर्पोट आउन बाँकी छ ।

‘कोई पो चे’बाट बलिउडमा डेब्यु गरेका सुशान्त अभिनित ‘केदारनाथ’, ‘छिछोरे’, ‘एम.एस धोनी’, ‘पिके’, ‘शुद्ध देसी रोमान्स’, ‘सोनचिडैया’ लगायतका फिल्म प्रदर्शनमा आएका छन् । फिल्म अगाडि उनी टेलिभिजनमा काम गर्थे । उनका साथीले आज तकलाई बताए अनुसार उनी पछिल्लो ६ महिनादेखि डिप्रेसनको शिकार थिए ।

‘पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण’

काठमाडौँ । सांसदहरुले शान्ति सुरक्षालाई चुस्त बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले यही जेठ २७ गते राति धनुषाको सवैला नगरपालिकामा ट्र्याक्टर चालकले प्रहरी हिरासतमा आत्महत्या गरेको भन्ने घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरे ।

उनीहरुले विगतदेखि सो क्षेत्रमा आपराधिक घटना हुने र राजनीतिक आडमा दोषी जोगिने प्रवृत्तिलाई रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद उमाशङ्कर अर्गरियाले धनुषामा पीडितले प्रहरीसमक्ष किटानी जाहेरी लिन नमान्दा शव परीक्षण हुन नसकेको र घटनाको छानविन गरी दोषीमाथि कारवाही माग गरे ।

सांसद राजेन्द्रकुमार केसीले प्रतिपक्षीदलले राम्रा काममा सदैव सरकारलाई सहयोग गरिरहेको स्पष्ट पार्दै काठमाडौँलगायत शहरमा केही दिनदेखि भइरहेको युवाको आन्दोललाई ‘प्रतिपक्षीले उचालेको भन्ने हल्ला’ निराधार भएकोे बताए ।

सांसद पे्रम सुवालले यही जेठ ७ गते जारी गरेको नयाँ नक्साअनुसार शनिबार प्रतिनिधिसभाले संविधान संशोधन पारित गरेको र त्यस सम्बन्धमा ‘भारतको विदेश मन्त्रालयले वार्ता गर्ने समझदारी उल्लङ्घन भयो’ भनी टिप्पणी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रभु साहले किसानले अहिले मलखाद नपाएको,कृषि सामग्री कम्पनीबाट हुने बिक्री वितरणमा पनि भनसुन हुने गरेको जनाउँदै क्वारेन्टिनमा बसेकलाई पिसिआर परीक्षण छिटो हुने व्यवस्था मिलाउन माग गरे ।

सांसद देवप्रसाद तिमिल्सिनाले प्रदेश नं २ को रौतहटमा पिसिआर परीक्षण कम हुने , रिपोर्ट ढिला आउने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै कोरोनाको उपचारमा भएको खर्चको सार्वजनिक गर्न माग गरे ।

सांसद प्रदीप यादवले शनिबार पारित संविधान संशोधनपछि अब सो क्षेत्रको जग्गा कसरी फिर्ता गर्ने सम्बन्धमा ध्यान जानुपर्छ भने । उनले प्रमाण जुटाउन सरकारले गठन गरेको विज्ञ समितिमा मधेशी र जनजाति समावेश नगरेकोमा आपत्ति जनाए ।

बैठकमा सांसदहरु लालकाजी गुरुङ, रामकुमारी चौधरी, दुर्गाबहादुर राउत र पदम गिरीले पिसिआर परीक्षण बढाउन माग गरेका थिए । रासस

सरकारको विरुद्धमा बराहक्षेत्रका युवाहरू उत्रिए सडकमा

बराहक्षेत्र । सरकार कोरोना भाइरस विरुद्धमा लड्न असफल भएको भन्दै बराहक्षेत्रमा युवाहरुले नगरपालिका परिसरमा शान्तिपुर्ण प्रदर्शन गरेका छन् । स्वतन्त्र रुपमा आएका युवाहरूले चक्रघटी स्थित महेन्द्र गेटमा भेला भएर युवाहरु मुनाल चौक, बसपार्क , रागा चौक , बुधबारे चौक हुँदै नगर नगरपालिकाको कार्यलय अगाडि पुगेर राष्ट्रभाबले ओतप्रोत गित गाउदै सांकेतिक बिरोध गरेका थिए ।

करिव २ सयको संङख्यामा उपस्थित युवाहरुले कोरोना भाइरस (कोभिड -१९) विरुद्धको लडाइँमा सरकार असफल भएको, सरकारले कोरोना परिक्षणमा पिसिआर परिक्षण गर्न असक्षम भएको, किसानको समस्यालाई बेवस्था गरेको, वराहक्षेत्र नगरपालिकाले बिकास निर्माणको काममा कार्यक्रता पोसेको , सोलरमा भष्ट्रचार गरेको , केन्द्रीय सरकारले कोरोना विरुद्धको लडाइमा छुट्याइएको १० अर्बको सार्बजनिक नगरेको, सरकारका जिम्मेवार निकायले गैरजिम्मेवारी जवाफ दिने गरेको भन्दै युवाहरुले असन्तुष्ट ब्यक्त गरेका थिए।

प्रदर्शनमा सहभागीहरूले कोरोनासँग जोडिएका विषयमा सरकारलाई प्रश्न सहित असन्तुष्टि ब्यक्त गरेका थिए भने नयाँ नक्साका लागि सरकारलाई धन्यवाद समेत दिएका थिए ।

उपस्थित मध्ये एक युवा सन्तोष चौलागाईले सरकारले जनताको चाहना अनुरुप काम गर्न नसकेकाले आफुहरु प्रदर्शननमा उत्रिएको बताए । अर्का युवा तिर्थराज भट्टराईले भने यो सरकारले नया नक्सा जारी गर्यो हामी यसमा खुसी छौ तर नक्सा मात्र हाम्रो भएर हुदैन । अब भुमी हाम्रो हुनुपर्छ भन्ने हाम्रो माग भएको बताउदै हामी युवाहरु आन्दोलमा उत्रिएको र अझै यो क्रम जारी राख्ने बताए।

त्यसमध्यका अर्का युवा प्रतीक राईले सरकार जनतालाई कोरोनाको समयमा बिनियोजित १० अर्ब नाम मात्रको पैसा भएको तर कहाँ कति कसले पाए भन्ने आजसम्म जनता अलमलमा परेको हुदाँ सरकारलाई सचेतनाका लागि सडकमा उत्रन बाध्य रहेको बताए । त्यसैगरी उपस्थित महिला छबिना मगरले आफुँहरुले देख्दा देख्दै सरकार कोरोना नियन्त्रणको नाममा भष्ट्रचार गर्न सरिक भएकाले आफुहरु सचेतक जनताहरु भएकोले चुप लागेर बस्न नसक्ने बताइन ।

प्रदर्शनमा उनीहरूले ‘ नयाँ नक्साका लागि धन्यवाद नेपाल सरकार । तर १० अर्बको हिसाब खोइ ? ‘नक्साका लागि धन्यवाद, नो आरडीटी १०० प्रतिशत पीसीआर, १० अर्ब खै? राष्ट्रको सान किसानलाई किन अपमान, सरकार चामल किन्ने कि गाडि?’ धिमधिमे सोलर बलेन, वराहक्षेत्रमा सरकार चलेन, वराहक्षेत्रमा वडा कार्यलयलाई ५० लाख कार्यक्रतालाइ एक करोड लेखिएको प्ले कार्ड पनि बोकेका थिए । प्रदेश पोर्टलबाट

नवलपरासीमा पुलबाट गाडी खस्दा गाउँपालिका अध्यक्षको मृत्यु

बुटवल । नवलपरासीको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माको दुर्घटनामा परी मृत्यु भएको छ। उनी सवार गाडी आइतबार बर्दघाट नगरपालिका वडा नम्बर(४ स्थित पूर्व(पश्चिम राजमार्गमा रहेको शिवकलोनी पुलबाट तल खसेको स्थानीय अर्जुन पाण्डेले बताएका छन्।

घटनास्थल बर्दघाट बजारमै रहेकोले तत्काल उद्धार गरी चिसापानी अस्पताल ल्याइए पनि अध्यक्ष शर्माको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। लु १ झ ३७० नम्बरको गाउँपालिकाको स्कार्पियोमा सवार अध्यक्ष शर्माको मृत्यु भए पनि उनीसँगै सवार हरिला रज्जाक घाइते छन्।

दुर्घटना हुँदा अध्यक्ष शर्मा आफैंले गाडी चलाएका थिए। घाइते रज्जाकलाई थप उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ। गाउँपालिकाबाट बुटवलतर्फ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। सेतोपाटीबाट

इनरुवा मुख्य चोकमा लागेको आगो ६ घण्टा पछि नियन्त्रणमा

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा मुख्य बजारमा लागेको आगो ६ घण्टा पनि नियन्त्रणमा आएको छ ।

धरान, इटहरी, बराहक्षेत्र, दुहबी र मोरङको सुन्दरहरैंचाको ६ वटा दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयवासीको निरन्तरको प्रयासले आगो नियन्त्रणमा आएको सुनसरी प्रहरीले जनाएको छ ।

आगलागीबाट हनुमान बस्त्रालय पर्णरुपमा जलेको छ । नजिकैको सिर्जना फाईनन्स पनि पुर्ण रुपमा जलेको छ । सप्तकोसी हार्डवेयरमा पनि केही क्षति पुगेको बताइएको छ । के कारण आगलागी भएको हो र के कति क्षति भयो बारेमा भने अहिले जानकारी आएको छैन ।

इनरुवा नगरपालिकाको दमकल बिग्रिएको कारण मुख्य चोकमा भएको आगलागीले ठुलो रूप लिएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

खाना खानसाथ यस्तो गल्ती त भइरहेको छैन ?

शरीरलाई निरोगी, तन्दुरुस्त राख्न कस्तो खानेकुरा खाने भन्ने कुरा मात्र काफी छैन । कसरी पकाउने, कतिबेला खाने, कति खाने, कसरी खाने भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैगरी खाना खानुअघि के गर्ने, खाना खाइसकेपछि के गर्ने वा नगर्ने भन्ने कुराले पनि यसमा अर्थ राख्छ ।

जस्तो कि, खाना खानुअघि पानी सेवन गर्नु उचित मानिदैन । खाना खानुभन्दा आधा वा एक घण्टा अघि पानी पिएको हुनुपर्छ । खाना खाए लगत्तै पानी पिउनु पनि उचित हुँदैन ।

खाना खानसाथ शरीरमा त्यसलाई पचाउने प्रंक्रिया सुरु हुन्छ । त्यसैले पाचन प्रक्रियालाई सहज बनाउनका लागि हामीले केही कुरामा सावधानी अपाउनुपर्छ ।

जस्तो कि, खाना खाए लगत्तै बज्रासनमा बस्नु एकदमै उपयुक्त हुन्छ । बज्रासनमा बस्दा पाचन प्रक्रिया सहज र चुस्त हुन्छ । कम्तीमा पाँच मिनेट यस किसिमको आसनमा बस्नु राम्रो मानिन्छ । यद्यपि खाना खाए लगत्तै, हिँड्नु, पानी पिउनु, चिया वा चुरोट सेवन गर्नु राम्रो हुँदैन । यस किसिमको गतिविधिले शरीरमा नकारात्मक असर पार्छ ।

खाना खाए लगत्तै हिँड्नु

खाना खानसाथ तुरुन्तै हिँड्नु सहि हुँदैन । किनभने यसले रक्त संचारमा प्रभाव पार्छ । यस्तोमा पाचन प्रक्रिया पनि सहि हुँदैन । खाना खाएको आधा घण्टापछि मात्र टहल्नु राम्रो हो ।

चिया पिउनु

खाना खाएको दुई घण्टाबीचमा चिया पिउनु हुँदैन । किनभने चियाको पातमा एसिडिक तत्व हुन्छ । त्यसैले खाना खाए लगत्तै चिया पिउँदा प्रोटिनको डाइजेशन सहि ढंगले हुन पाउँदैन ।

फलफूल सेवन

खाना खाएको एक घन्टापछि मात्र फलफूल सेवन गर्न सकिन्छ । खाना खाए लगत्तै फलफूल सेवन गर्दा त्यो पचाउन गाह्रो हुन्छ । त्यसको न्यूट्रिशन शरीरले ग्रहण गर्दैन । फलतः एसिडिटी वा डाइसेसनको समस्या हुनसक्छ ।

नेपाल भित्रियाे मनसुन, मुलुकका अधिकांश स्थानमा वर्षा हुने

काठमाडौं । नेपालमा मनसुन भित्रिएको छ । अब पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न जल तथा मौसम विज्ञान विभागले सबैलाई अनुरोध गरेको छ ।

पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै जाने छ । मौसमविद समिर श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अहिले मनसुन पूर्वी भागमा छ । पूर्वबाट पश्चिम सर्ने क्रममा छ । सामान्यता ५ देखि ७ दिनभित्र मनसुन देशभर फैलिन्छ ।’

सामान्यतयाः १० जुनमा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्दछ । तर यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको छ ।

गत वर्ष नेपालमा १० दिन ढिलो अर्थात् ५ असार ९२० जुन० मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । नेपालबाट मनसुन बाहिरिने सामान्य मिति भनेको २३ सेप्टेम्बर हो ।

मनसुनमा सरदर वर्षा हुने

सुदूरपश्चिम र कर्णाली प्रदेशका भूभागमा अहिले पश्चिमी वायुको प्रभावले बदली र वर्षाको अवस्था छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा शनिबार पनि पानी परेको थियो । त्यहाँ आइतबार पनि बदलीको अवस्था छ । पूर्वी भूभागमा पनि अधिकांश स्थानमा बदली रहेको मौसमविद श्रेष्ठले बताए ।

यस वर्षको मनसुनमा नेपालमा सरदर पानी पर्ने मौसमविद श्रेष्ठ बताउँछन् । सामान्यतया सरदर वर्षा भन्नाले कुनै स्थान विशेषको लामो समय अर्थात् ३० वर्षको अवधिमा भएको औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मानिन्छ ।

बंगालको खाडीमा विकसित अंपुन चक्रवातका कारण नेपालमा मनसुन करिब एक हप्ता ढिलो भित्रिने अनुमान यसअघि मौसमविदले गरेका थिए । तर लगत्तै अरब सागरमा अर्को चक्रवात निसर्ग विकसित भएपछि भने नेपालमा मनसुन समयमै भित्रिनेमा मौसमविद विश्वस्त थिए ।

जुकरबर्गको आलोचना गर्ने फेसबुकका कर्मचारी बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आक्षेपयुक्त तथा विवादास्पद टिप्पणीका विरुद्ध कदम नचालेको भनेर सिइओ मार्क जुकरबर्गको आलोचना गर्ने एकजना कर्मचारीलाई फेसबुकले बर्खास्त गरेको छ ।

फेसबुकमा युजर इन्टरफेस इन्जिनियरको रुपमा कार्यरत ब्रान्डन डेइलले आफूलाई फेसबुकले बर्खास्त गरेको ट्वीटरमार्फत जानकारी गराएका छन् ।

अमेरिकामा रङ्गभेद विरुद्ध चलिरहेको ‘ब्लाक लाइभ्स म्याटर’आन्दोलनको समर्थनमा विज्ञप्ति जारी गर्न जुकरबर्गले अस्वीकार गरेको भनि डेइलले सार्वजनिक रुपमा जुकरबर्गको आलोचना गरेका थिए ।

साथै, उनले अन्य ६ जना इन्जिनिर सहित दर्जन बढी कर्मचारीहरुसँग मिलेर कार्यालयमा आफ्नो काम बहिष्कार गर्नुका साथै रंगभेद विरोधी आन्दोलनका बारेमा ट्रम्पले व्यक्त गरेका गलत धारणाहरुको खण्डन गर्ने काम नगरेको भन्दै ट्वीटरमा विरोध जनाएका थिए ।

जुन २ मा उनले ट्वीटरमा लेखेका छन्, ‘नियतवस रुपमा कुनै विज्ञप्ति जारी नगर्नुमा वास्तवमा राजनीतिक कारण छ ।’ शुक्रबार उनले उक्त ट्वीटमा अभिव्यक्त आफ्नो धारणामा आफू दृढ रहेको बताएका थिए ।

फेसबुक कम्पनीले डेइलको बर्खास्तीको पुष्टि गरेको भएपनि त्यसको कारणका बारेमा खुलाएको छैन । तर डेइलसँगै लागेर आन्दोलन गर्ने अन्य कर्मचारीमाथि भने कुनै कारवाही नहुने फेसबुकको भनाइ छ ।

प्रहरीले घाँटी थिचेर एकजना अफ्रिकी मूलका युवाको हत्या गरेसँगै पछिल्ला दिनहरुमा अमेरिकामा रंगभेद विरोधी आन्दोलन चलिरहेको छ । सोही आन्दोलनप्रति लक्षित गर्दै ट्रम्पले नश्लवादी टिप्पणी गरेको भन्दै उनको आलोचना भैरहेको छ । ट्रम्पले सो आन्दोलनप्रति लक्षित गर्दै ‘जब लुटपाट सुरु हुन्छ, तब गोली प्रहार सुरु हुन्छ’ भनेर ट्वीट गरेका थिए र सोही पोष्ट फेसबुकमा पनि राखेका थिए ।

यस्तो ट्वीटमा ट्वीटरले चेतावनीको संकेत राखिदिएको छ । ट्रम्पको त्यस्तो ट्वीटले हिंसालाई प्रवद्र्धन गर्ने निष्कर्ष ट्वीटरको छ । तर ट्रम्पको त्यस्तो पोष्टमाथि फेसबुकले कुनै कारवाही गरेन ।

यस विषयमा गत हप्ता कर्मचारीहरुसँग भएको गरमागरम बैठकमा जुकरबर्गले ट्रम्पका टिप्पणीमाथि कुनै कदम नचाल्ने आफ्नो निर्णयको बचाउ गरेका थिए ।

फेसबुक लगायतका सिलिकन भ्यालीका ठूला कम्पनीहरुमाथि कम्पनीको आलोचना गर्ने कर्मचारीहरुलाई कारवाही गर्ने गरेको भनेर आलोचना हुँदै आएको छ ।

गत वर्ष कम्पनीको आलोचना गर्ने ५ जना कर्मचारीलाई गुगलले बर्खास्त गरेको थियो । त्यस्तै, कोरोना भाइरस महामारीका बेला गोदाममा काम गर्ने कामदारका लागि उपयुक्त कार्यवातावरण नभएको भनी आलोचना गर्ने कर्मचारीलाई अमेजनले बर्खास्त गरेको थियो । एजेन्सी

सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको राजीनामा माग

गौर । रौतहटको देवाही गोनाही नगरपालिकाका कार्यपालिका सदस्यहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको राजीनामा माग गरेका छन् । राजीनामा माग गर्ने सबै (उपमेयरसहित दुई तिहाईभन्दा बढी जनप्रतिनिधि) नेकपाबाट निर्वाचित हुन् ।

संघीय मन्त्रालयले नगरलाई अस्तव्यस्त बनाएर कोरोना फैलाउने वातावरण निर्माणमा सहयोग गरी मानवताविरुद्धको अपराध गरेको आरोप लगाउँदै मन्त्री त्रिपाठीको राजीनामा मागिएको हो । उक्त नगरपालिकामा विगत डेढ महिनामा ५ जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरी मन्त्रालयले स्थिति प्रतिकुल बनाएको भन्दै राजीनामा नदिए वा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्खास्त नगरे नगरपालिकाको कार्यालय अनिश्चितकालीन बन्द गर्ने घोषणा गरेका छन् ।

नगर उपप्रमुख परनिया देवीसहित ६ जना वडाध्यक्ष र ८ जना कार्यपालिका सदस्यहरुद्वारा प्रेस वक्तव्य जारी गरि कोरोना महामारीसँग जुध्नुपर्ने महत्वपूर्ण घडीमा मन्त्रालयबाट सरुवाको नाटक मञ्चन गरि नगरलाई संकटमा पारिएको आरोप लगाएका छन् । अधिकृत नहुँदा क्वारेन्टाइन अस्तव्यस्त भएको र देशमै सबै भन्दा अव्यवस्थित क्वारेन्टाइन उक्त नगरपालिकामा बनेको उनीहरुको आरोप छ ।

‘दुई वर्ष बस्दै नबसेको नगरसभा प्र.प्र. अधिकृत सिकिन्द्र साहको पहलमा केहि महिना अगाडि मात्रै बैठक बसी सर्वसम्मत ढंगले बजेट पारित गरेको थियो । बजेट पारित भई कार्यान्वयनको जटिल अवस्थामाएवं कोरोना सन्त्रास र लकडाउनमा मन्त्रालयबाट सहयोग र सहजीकरण गर्नुको सट्टा निरन्तर हस्तक्षेप गरि अस्तव्यस्त पार्ने कार्य निन्दनीय छ । कोरोना सन्त्रास र लकडाउनमा डेढ महिनामा ५ जना हाकिम सरुवा गरि संघीय सरकारले कोरोना प्रति कति गम्भीर तथा स्थिरता र सुशासनको कस्तो अभ्यास गर्दैछ ? आफैँमा विचारणीय छ’वक्तव्यमा उल्लेख छ ।

‘आज संकटपूर्ण अवस्थामा यो नगरपालिका अस्तव्यस्त भएको छ, क्वारेन्टाइनको अवस्था दयनीय छ, बजेट खर्च करिब करिब शून्य छ, राहत र बचाउको कार्य पनि कमजोर नै छ । यसको जिम्माकसले लिने ? संघीय मन्त्रालयले नगरलाई अस्तव्यस्त बनाएर कोरोना फैलाउने वातावरण निर्माणमा सहयोग गरी मानवता विरुद्धको अपराध गरेको छ । तसर्थ माननीय मन्त्री हृदयेश त्रिपाठीले यो सम्पूर्ण कार्यको जिम्मा लिएर नैतिकताको आधारमा राजीनामा दिन जरुरी छ । यदि मन्त्रीले राजीनामा नदिए संघीय सरकार स्थानीय तहको क्षेत्राधिकार प्रति जिम्मेवार, कोरोना संक्रमणप्रति गम्भीर तथा स्थिरता र सुशासनको लागि प्रतिबद्ध छ भन्ने मा. मन्त्रीलाई तुरुन्त बर्खास्त गर्न सम्माननीय प्रधानमन्त्री ज्यूलाई आग्रह गर्दछौं’ वक्तव्यमा भनिएको छ, ‘यस नगरपालिकाको हाकिम सरुवामा मा. मन्त्रीको स्तरबाट भईरहेको अदृश्य चलखेल रोक्न र गलत कार्यको जवाफदेही बनाउन संघीय सरकार खासगरी सम्माननीय प्रधानमन्त्री ज्यूद्वारा चित्त बुझ्दो कदम नचालिए यो नगरपालिका कार्यालय अनिश्चितकालीन बन्द गर्न बाध्य हुने व्यवहोरा अनुरोध गर्दछौं ।’

कोरोना महामारीको रोकथाम र नियन्त्रणमा नगरपालिकाले लकडाउनको सुरुसँगै प्रभावकारी ढंगले कार्य अगाडि बढाइरहेको सन्दर्भमा एकाएक वैशाख ११ गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र साहको सरुवा गरि भोजबहादुर ऐडीलाई पठाएको थियो । ऐडी नगरपालिकामा हाजिर भएको एक हप्ता नपुग्दै विजय कार्कीलाई वैशाख १८ गते हाजिर गराइयो । लगत्तै कार्कीको सरुवा गरी वैशाख २८ गते मनोज रजकलाई पठाइयो । मनोज रजक हाजिर हुन खोजि रहेकै बेला ५ दिनपछि उनको पनि सरुवाभई एक जना नासुलाई प्रमुख प्रशासकीय अधिकृत तोकिएको बताइएको छ ।द नेपालटपबाट