इनरुवाको हनुमान बस्त्रालयमा भिषण आगलागी, १० करोडको क्षती
३२ जेष्ठ २०७७, आईतवार १५:४९
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १ बजार क्षेत्रमा रहेको हनुमान बस्त्रालयमा आइतबार बिहान भिषण आगलागी भएको छ । आगलागीका कारण हनुमान बस्त्रालयको चार तल्ले भवनको चार वटा कोठा सहित सम्पूर्ण सरसमान जलेर नष्ट भएको हो । सोही भवनमा टाँसिएर रहेको छत्र बहादुर थापाको घरको माथिल्लो तल्लामा रहेको सिर्जना फाइनान्स लिमिटेड, तल्लो तल्लामा रहेको रेडिमेट कपडा पसल र कपिल परियारको टेलर्स छेउमा रहेको सन्तोषी हार्डवेयरको पसल तथा गोदाममा समेतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
आगलागी भएको करिब एक घण्टापछि मात्र इटहरी उपमहानगरपालिका र बराहक्षेत्र नगरपालिकाका दमकल आएकाले दुवै भवनमा रहेका सम्पुर्ण सरसामानहरु पुर्ण रुपमा जलेर नष्ट भएको थियो । त्यसलगतै दुहबी नगरपालिका, धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, राजविराज नगरपालिका, कन्चनरुप नगरपालिका, विराटनगर महानगरपालिका, सुन्दरहरैचा नगरपालिका सहितका ९ वटा बारुण यन्त्रले ६ घण्टा लगाएर आगोलाई पूर्ण रुपमा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद शर्माका अनुसार इनरुवा बजारमा रहेको हनुमान बस्त्रालयबाट सुरु भएको आगालागी नियन्त्रणका लागि दमकलले पानीको फोहोरा भित्रसम्म फया्क्न नसकेपछि स्काभेटरले घरको सटर भत्काएर आगलागी नियन्त्रणको हो । हनुमान बस्त्रालय पुर्ण रुपमा जलेर नष्ट भएकाले र सृजना फाईनान्स रहेको भवनको माथिल्लो तलाबाट आगो सुरु भएकाले नियन्त्रणमा कठिनाई भएको थियो ।
सो आगलागी नियन्त्रण गर्न स्थानीयबासीहरु, जनपथ प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, इनरुवा नगरपालिकाका स्काभेटर, फोहोर व्यवस्थापन गर्ने ट्रयाक्टर लगायत प्रयोग भएको थियो । आगलागी भएको घटना स्थलबाट इनरुवा नगरपालिका १ किलो मिटरको दुरीमा भए पनि इनरुवा नगरपालिकाको बारुणयन्त्र बिग्रिएर थन्किएकाले बाहिरबाट बारुणयन्त्र आउदा तत्काल नियन्त्रण हुन नसकेको स्थानीयहरुले गुनासो गरेका छन् ।

विद्युत सर्ट भएर आगलागि भएको अनुमान गरेको छ भने आगलागीबाट हनुमान बस्त्रालय, सिर्जना फाइनान्स, बलाजी इम्पोरियम, पशुपती इम्पोरियम सहितका रेडिमेट पसल, हार्डवेयर पसल तथा टेलर्स गरी १० करोड रुपियाँ बराबरको आनुमानीत क्षति भएको पीडित प्रीतम अटलले जानकारी गराउनुभयो । आगलागीबाट क्षतिभएको विस्तृत विवरण आउन अझै दुई दिन लाग्न सक्ने सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । हनुमान बस्त्रालयका सञ्चालक हनुमान अटल बोल्ने अवस्थामा नभएकाले कपडा सहितको स्टोरमा रहेको विवरण संकलन गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया