३२ जेष्ठ २०७७, आईतवार ११:१५ – Page 11 – Nagarikabhiyan : National News

प्रदेश २ मा आइतबार बिहान थपिए ३४ जना कोरोना संक्रमित

काठमाडौं । प्रदेश २ मा आइतबार बिहान थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा पर्साका १७, बाराका ९, रौतहटका ७ र सर्लाहीका १ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

शनिबार मात्रै नारायणी अस्पतालको ल्याबमा ५ सयको हाराहारीमा थ्रोट स्वाबको नमुना परीक्षण गरिएको थियो ।

पर्साको पोखरिया क्वारेन्टिनमा बस्दै आएका ३२ र ३६ वर्षीया महिलासहित २५, २२, ३५, ४५, २४, ३०, २४ र २९ वर्षका पुरुष गरी १० जनामा संक्रमण पुष्टि भएको छ । पोखरिया क्वारेन्टिनमा बस्दै आए पनि ३२ वर्षीया महिला वीरगञ्जको र २४ वर्षीय एक पुरुष बहुदरमाईका छन् ।

विन्दबासिनी क्वारेन्टिनमा रहेका सखुवाप्रसौनी–३ का ४० वर्षीय र विन्दबासिनी–३ का २६ वर्षीय पुरुषमा, जिराभवानी क्वारेन्टिनमा बस्दै आएका जिराभवानी–१ शान्तिटोलका ३२ वर्षीय पुरुषमा, धोविनी क्वारेन्टिनका २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रिपोर्ट ढिलो आएको भन्दै धोविनी क्वारेन्टिनबाट ४४ जना भागेर घर पुगेका थिए । पछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर फिर्ता ल्याएको थियो ।

पर्सागढी नगरपालिका ४ बस्ने ३१ वर्षीया महिला, पटेर्वा सुगौली गाउँपालिका– १ लक्ष्मीपुरका ३७ वर्षीय र पटेर्वासुगौली– ५ निचुटा बस्ने २० वर्षीय पुरुषको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ देखिएको छ । उनीहरु सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए ।

बाराका ९ जना संक्रमित सबै पचरौताका छन् । पचारौताका २४, २३, २५, ३८, ३५, ३०, २४, १६ र ३० वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

रौतहट र सर्लाहीका संक्रमितको थप विवरण आउन बाँकी छ ।

पद जोगाउनकै लागि प्रधानमन्त्री ओलीले कालापानी क्षेत्रसहितको नयाँ नक्सा ल्याएः हिन्दुस्तान टाइम्स

काठमाडौं । भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सले प्रधानमन्त्री केपी शर्मा ओलीले पद जोगाउनका लागि नयाँ नक्सा ल्याइएको जनाएको छ ।

हिन्दुस्तान टाइम्सले शनिबार एक समाचार प्रकाशित गर्दै सबैतिरबाट प्रधानमन्त्री ओलीले पद छोड्नु पर्ने दबाब आइरहेका बेला उनले कालापानी क्षेत्र समेटेर तयार पारिएको नक्साको मुद्दा बाहिर ल्याएर पद जोगाएको जनाएको हो ।

शनिबार प्रकाशित समाचारमा भारतले परराष्ट्र सचिव स्तरीय वार्ताका लागि अनुरोध गरेको तर प्रधानमन्त्री ओली तयार नरहेका कारण तत्काल वार्ता हुन नसकेको बताइएको छ ।

‘नेपालले अद्यावधिक गरेको नक्सामा भारतको उत्तराखण्ड र विहार राज्यका केही भूभाग पनि परेको छ’ समाचारमा लेखेको छ ‘नेपाली जनताको विचारमा प्रधानमन्त्री केपि ओलीले नेपाल कम्युनिष्ट पार्टीमा आफ्नो पद जोगाइराख्न संवैधानिक संशोधनलाई प्रयोग गरिरहेका छन् ।’

‘प्रधानमन्त्री ओलीलाई अहिले नै संविधान संशोधन गर्दा भारतसंगको कूटनीतिक मार्गहरु बन्द हुने, सीमा विवाद सुल्झाउन कूटनीतिक छलफल अघि बढाउनुपर्ने सुझाव दिएको तर उनले पद बचाउनका लागि नक्सा विवाद अघि सारेको’ अखबारको दाबी छ ।

एकातिर खुल्ला वार्ताको आह्वान गरेको देखाउने र अर्कातिर वार्ता बिगार्न निजी प्रयास सक्रिय बनाउने काम प्रधानमन्त्री ओलीबाट भएको आरोप लगाएको छ । भारतले स्पष्ट रुपमा विदेश सचिव स्तरीय टेलिफोन वार्तापछि दुवै सचिवबीच भिडियो कन्फरेन्स हुने तथा नेपालका विदेश सचिवले त्यसपछि सिमा विषयमा छलफल गर्न भारत भ्रमण गर्ने प्रस्ताव राखेको पनि हिन्दुस्तान टाइम्सको दावी छ । नेपालपानाबाट

थुनामा रहेका पाकिस्तानी पूर्वप्रधानमन्त्री गिलानी कोरोना संक्रमित

एजेन्सी । भ्रष्टाचार आरोपमा थुनामा रहँदै आएका पाकिस्तानी पूर्व प्रधानमन्त्री युसुफ राजा गिलानीलाई कोभिड–१९ सङ्क्रमण भएको छ ।

पाकिस्तानी पत्रिका डनका अनुसार पूर्व प्रधानमन्त्री गिलानीलाई सङ्क्रमण भएको सूचना उहाँकै छोरा कासिम गिलानीले ट्वीटमार्फत सार्वजनिक गरेका छन् ।

पाकिस्तानी पूर्व प्रधानमन्त्रीका छोरा कासिमले देशको उच्च पदस्थ पदको जिम्मेवाारीसमेत सम्हालेका आफ्ना पिता जेलमा रहँदा सङ्क्रमणको खतरा रहेको भन्दै धरौटीमा रिहा गरिदिन केही समय पहिले वर्तमान सरकारसँग अनुरोध गरेका थिए ।

पूर्व प्रधानमन्त्री गिलानीका छोरा कासिमले आफ्ना पिता कोभिड–१९ बाट सङ्क्रमित भएपछि ट्वीटमा प्रधानमन्त्री इमरान खान र राष्ट्रिय उत्तरदायित्व विभागको आलोचना गरेको डनले समाचारमा उल्लेख गरेको छ ।

पाकिस्तानमा सङ्क्रमित व्यक्तिको सङ्ख्या शनिबारसम्म एक लाख ३४ हजार ६६७ पुगेको छ भने दुई हजार ५७४ कोरोनाभाइरस सङ्क्रमितको मृत्यु भएको छ ।

डनका अनुसार युसुफलाई राष्ट्रिय उत्तरदायित्व विभागमा मुद्दामाथि सुनुवाईका लागि बिहीबार उपस्थित गराइएको थियो । उक्त समय पूर्व प्रधानमन्त्रीले कैयौँ वकीलहरूमा सङ्क्रमण रहेको भन्दै न्यायधीशलाई मुद्दाको सुनुवाईका लागि आफु प्रत्यक्ष हाजिर नहुनेगरी व्यवस्था गरिदिन आग्रह गरेको डनले लेखेको छ ।

पाकिस्तानमा पछिल्ला केही हप्ता यता कैयौ उच्च पदस्थ राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, नर्स तथा खेलाडीहरू समेतलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

संविधान संशोधन भएको खुशियालीमा देशका विभिन्न स्थानमा दीप प्रज्वलन

काठमाडौं । नेपालको वास्तविक नक्शा निशान छापमा समावेश गर्न प्रस्तुत नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ पारित भएको खुशियालीमा आज तनहुँको दमौलीमा दीप प्रज्वलन गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीले दुई तिहाइभन्दा बढी मतले संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा दीप प्रज्वलन गरेको हो ।

भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको विधेयक पारित भएसँगै नेपाल कम्युनिष्ट पार्टीले दमौलीस्थित मुख्यचोकमा दीप प्रज्वलन गरेको हो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले संविधान संशोधन विधेयक पारित भएका दिन नेपाली जनताका लागि गर्वको दिन रहेको बताउँदै भारतले कब्जा गरेको भूमि फिर्ता ल्याउन नेपाली जनता एकजुट हुनुपर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एकबहादुर रानाले भारतसँग कूटनीतिक वार्ता गरेर गुमेको भूमि फिर्ता गर्नुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) व्यास नगर कमिटीका अध्यक्ष श्रीराम कार्कीले राष्ट्रियताका सवालमा सबै दलबीच अभूतपूर्व एकता कायम भएकाले अतिक्रमित भूमि फिर्ता ल्याउन पनि सबै दल एकजुट हुनुको विकल्प नरहेको बताए । राष्ट्रिय जनमोर्चा तनहुँका सचिव पुष्पलाल श्रेष्ठले राष्ट्रिय स्वाधीनताका लागि लड्न सबै नेपाली तयार हुनुपर्ने बताए ।

नेकपाका जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेले संविधान संशोधन विधेयक पारित भएको खुशियालीमा जिल्लाका दशवटै स्थानीय तहमा दीप प्रज्वलन गरिएको जानकारी दिए ।

स्याङ्जामा पनि दिप प्रज्वलन

कालापानी लिपुलेक र लिम्पियाधुरासहितको नेपाली भूभाग समेटर जारी गरिएको नेपालको नयाँ नक्शा र निशान छापको अद्यावधिकका लागि आज गरिएको नेपालको संविधानको दोस्रो संसोधन विधेयक २०७७ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको खुशियालीमा स्याङ्जामा दिपावली गरिएको छ ।

जिल्ला सदरमुकामस्थित शहदि चोकमा दिपावली गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष सूर्यप्रसाद गैह्रे पारले जानकारी दिए । यसैगर वालिङ उद्योग वाणिज्य सङ्घले पनि दिपावली गरेको छ ।

जिल्लाका सर्वसाधारण एवं विभिन्न सङ्घसंस्थाले समेत आज प्रतिनिधिसभाबाट सर्वसम्मतरुपमा नेपालको संविधानको दोस्रो संशोधन पारित भएर भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्शाका साथै निशान छाप संविधानमा समेट्नका लागि गरिएको संविधान संशोधनको प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको खुशियालीमा जिल्लामा दिपावली गरेका हुन् ।

नक्शा पारित भएको खुशीमा दीप प्रज्वलन

प्रतिनिधिसभाको आजको बैठकबाट नेपालको संविधान (दोस्रो) संशोधनमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसहित नेपालको नक्शा अङ्कित निशान छाप दुई तिहाइ बहुमतबाट पास भएको खुशियालीमा विराटनगरको जनआन्दोलन चोकमा आज साँझ दीप प्रज्वलन गरिएको छ ।

राष्ट्रिय युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन मोरङद्वारा आयोजित उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गुरु बराल, महेश रेग्मी, प्रदेशसभा सदस्य सावित्रा रेग्मी, मोरङ अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेतीलगायत नेता कार्यकर्ताले नेपालको नक्शामा मैनबत्ती बाली दीप प्रज्वलन गरेका थिए ।

सो अवसरमा सर्वसाधारणले पनि दीप प्रज्वलन गरेका थिए । यसैगरी जिल्ला प्रशासन कार्यालय मोरङ आगाडि, वरागाछीसमेतमा नक्शा अङ्कित निशान छाप पारित भएको खुशीमा दीप प्रज्वलन गरिएको छ । खुशियाली मनाउन सर्वसाधारण नागरिकले आफ्नो घरमा दीप प्रज्वलन गरेका छन् ।

लिपस्टिकको प्रयोगबाट दिमागमा असर, बन्नसक्छ क्यान्सरको कारण

महिलाले दैनिक प्रयोग गर्ने सौन्दर्य सामग्रीमध्ये सबैभन्दा बढी प्रयोग हुने कुन होला ? प्राय सबैको जवाफ हुन्छ, ‘लिपस्टिक’ । ओठलाई सुन्दर देखाउने ‘लिपस्टिक’ महिलाले घरमा बस्दा समेत प्रयोग गर्ने गर्छन् ।

अहिले त पुरुषले समेत लिपस्टिक प्रयोग गर्ने गरेका छन् । पुरुषले प्रयोग गर्ने लिपस्टिक समेत बजारमा किन्न पाइन्छ । सुन्दरतालाई महत्व दिएर हामीले प्रयोग गर्ने लिपस्टिकले हाम्रो स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ त ?
आज हामी तपाईंलाई एक अध्ययनबाट पत्ता लागेको तथ्यबारे जानकारी दिँदै छौं । उक्त अध्ययनअनुसार लिपस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता कमजोर हुँदै गएको फेला परेको छ ।

लिपस्टिकमा सीसा (लिड)को प्रयोग हुन्छ । उक्त लिड मानवीय स्वास्थ्यका दृष्टिकोणले उच्च हानिकारक हुन्छ ।

केही समय अगाडि ‘गूड मर्निङ अमेरिका’ पत्रिकाले लिपस्टिकमा लिडको प्रयोगबारे अध्ययन गरेको थियो । अध्ययनमा २२ वटा लिपस्टिक ब्राण्डको अध्ययन गरिएको थियो । जसमध्ये ५५ प्रतिशतमा (लिड)जस्तै हानिकारक तत्वको प्रयोग गरेको पाइयो ।

नेपालमा पनि केही समय अगाडि सरकारले सौन्दर्य सामग्रीमाथि हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो । उक्त अधययनमा पनि लिपस्टिकमा धेरै मात्रामा सीसा (लिड)को प्रयोग हुने गरेको फेला परेको थियो ।

चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका कारण क्यान्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जोखिम हुन्छन् ।

साथै सीसाका कारण तपाईंको सोच्ने र सिक्ने क्षमतामा समेत ह्रास आउन सक्छ । यदि तपाईं पनि दैनिक रुपमा लिपस्टिक प्रयोग गर्नुहुन्छ भने सचेत भइहाल्नुहोस्, कतै सुन्दर बन्ने तपाईंको चाहना स्वास्थ्यका लागि खतरानाक साबित त भइरहेको छैन ?

आज ३२ जेठ २०७७ आइतवार को राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल ज्येष्ठ ३२ गते आइतबार इश्वी सन २०२० जुन १४ तारीख आषाढ कृष्णपक्ष नवमी तिथी उत्तरभाद्रपदा नक्षत्र आयुष्मान योग तैतिल करण चन्द्रमा मिन राशिमा आनन्दादि योगमा स्थिर योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण ग्रीष्म ऋतु विश्व रक्तदाता दिवस (ज्यो.प.सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मनोरञ्जनको क्षेत्रमा समय र धन खर्चनु पर्नेछ । सकरात्मक सोचको कारण सामुहिक दाहित्व हात लाग्नेछ । जिबन साथिको सहयोगले अचल सम्पति प्राप्तिको योग रहेको छ । मित्र सगँको अति सामिप्यता कष्टकर रहला । स्वास्थ सम्बन्धी सामान्य समस्याले मनमा तनाब उत्पन्न गराउन सक्ला ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अप्रत्यासित मित्रजन सगँको भेटले मन प्रफुल्लीत रहनेछ । नयाँ कार्यको थालनिलाई नयाँ योजनाको आवश्यक पन्र्न सक्ला । पारीवारिक साथ सहयोगले आम्दानि बृद्धि हुनेछ । अरुको कुरा सुन्ने बानिले झन्झट आईपर्ला । यात्रामा सामान्य चोटपटकको सम्भाबना रहेकोछ । मान्यजनको सहयोगमा गरीएका कार्यले दीगो फाईदा दिलाउनेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आर्थीक समस्याबाट बच्न सकरात्मक सोचको आबश्यक पर्न सक्ला । परीस्थीतिसगँ जुध्ने क्षमतामा बृद्धि हुनाले कार्य सफल रहनेछ । परिवारको सहयोगले बौधिक तथा आर्थीक बिकासको बाटो फेला पर्ने छ । शारीरिक आलस्यातले गर्दा गरीरहेको कामको क्षेत्रमा अपजस सहनु पर्ला । खानपानमा बिशेष ध्यान दिनु पर्ने समय रहेको छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनाले अपजस खेप्नुपर्ला । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा तथा अनावश्यक खर्च उत्पन्न हुनेछ । परीवारमा बिताएको समय फाईदा जनक रहला । प्रतिपक्क्षी सबल रहनाले तपाईलाई आफ्नु कमजोरीको महसुस हुनेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मान्यजनको स्वास्थमा देखिएको खराबिले मानसिक तनाब उत्पन्न गराउला । मित्रजनको यथेष्ट सहयोग द्वारा आम्दानिका नँया स्रोत फेला पर्नेछन । लापरबाहिले धनमालको क्षति ब्यर्होनु पर्ने सम्भाबना रहेको छ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ बिशेष ध्यान दिनु होला । अरुको कुरामा बिशेष ध्यान नदिनु होला ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

हतासमा गरिएको निर्णयको कारण दाम्पत्य जिवनमा खटपट उत्पन्न हुन सक्नेछ । प्राकृतीक स्रोत साधनको परिचालनबाट यथेष्ट लाभ उठाउन कुटुम्बको सहयोग आवश्यक रहनेछ । बिद्या तथा सन्तान शुख प्राप्ति हुने योग रहेकोछ । आय आर्जनमा बृद्यि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ ।

तुलाराशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

तपाईको परोपकारी भाबनाको फाईदा अरुले उठाउनाले तपाई कमजोर रहनु हुनेछ । अगाडि सारेका व्यक्तीद्वारा सम्पादित कार्यहरु बिफल हुनेछन । अर्काको खुसिको लागी अनावश्यक समय र धन ब्यय गर्नु पर्नेछ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चा को बिषय भईन सकिनेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्थान परीबर्तनले मानसिक तबरमा समस्या आईपर्न सक्ला । आफु भन्दा सानाको सहयोगले गरीएका कार्यहरु फाईदा जनक रहनेछ । नयाँ कार्यको थालनिले मनमा उमंग छाउनेछ । सन्तानको स्वास्थमा आएको असरमा बृद्धि हुनेछ । शारीरिक आलस्यताका कारण कार्यक्षेत्रमा अपजसको सम्भाबना रहनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मनोरञ्जनको क्षेत्रमा समय ब्यतित गर्नु पर्ने दिन रहेको छ । सामान्य कार्यको निम्ति ज्यादा परीश्रम र समय खर्च हुनेछ । आफ्नो कला कौशलता को प्रयोगले अरुको मन जित्न सफल रहिनेछ । हतासमा निर्णय नगरैकै बेश हुनेछ । मान्यजनहरु सगँको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामान्य परिस्थति बिकराल बन्नाले प्रिय ब्यक्ति हरु सगँ को सम्बन्ध टाढिएला । जिबन साथिको खराब स्वास्थले कार्यक्षेत्र प्रभाबित रहन सक्नेछ । नेत्रृत्व गर्ने क्षमतामा बृद्धि तथा नेत्रृत्व गर्ने समय प्राप्त हुनेछ । मानसिक चन्चलताका कारण गरीरहेका कार्यमा सामान्य ढिलाईको सम्भाबना रहेकोछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मान्यजनको पुर्ण सहयोगले कार्य सहज बन्ने छ । अपरीपक्क कार्यले सामान्य खर्च बढाउन सक्नेछ । खानपानमा बिषेश ध्यान दिनु होला । परीस्थीतिसगँ जुध्नसक्ने क्षमताको खाचो महसुस हुनेछ । प्रतिपक्षीहरु सवल रहनाले कार्य सम्पादनमा झन्झट उत्पन्न हुन सक्नेछ । सामान्य आर्थिक अभाब झेल्नु पर्ला ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

कार्यको बेवास्ताले मान्यजनलाई ठेश पुग्नेछ । पारीवारिक सरसल्लाहाबाट अगाढि बढाइएको काममा सफलता प्राप्त हुनेछ । हतारमा गरिएको निर्णयले पछि पछुताउनु पर्ने हुनाले सचेत रहि अघि बढ्नु होला । बौधिक ब्यत्तित्व हरुको साथ सहयोगमा आर्थिक क्षेत्र सवल बन्ने सम्भाबना रहेकोछ । नयाँ लगानिमा उत्तम समय रहेकोछ ।

क्वारेन्टिनबाट निस्किएर सडकमा अवरोध, प्रहरीद्वारा हवाई फायर

रौतहट । समयमा पीसीआर रिपोर्ट नआएको भन्दै रौतहटको क्वारेन्टिनमा बसेका युवाहरूले सडक अवरुद्ध गराएका छन् । रौतहटको राजपुर नगरपालिकाको वडा नम्बर १ का तीन वटा क्वारेन्टिनमा बसेका ३०५ जनाले सडक अवरुद्ध गरेका हुन् ।

उनीहरू क्वारेन्टिनमा बसेको १८/२० दिन हुन लागिसकेको छ भने स्वाब संकलन गरेर पठाएको एक साता पुगेको छ । तर एकसातासम्म रिपोर्ट नआएपछि उनीहरू आन्दोलित भएका हुन् ।

समयमा रिपोर्ट नआएको विरोधमा बहुअर्वा र आधारभूत विद्यालयको क्वारेन्टिनमा बसेकाहरूले शनिबार गौर चपुर सडकखण्डको बहुअर्वामा सडक अवरुद्ध गरेका हुन् ।

वडाध्यक्ष शेख अरिरुल्लाह भन्छन्, ‘२४ गते काठमाडौं स्वाब पठाएका थियौं । रिपोर्ट आएको छैन । रिपोर्ट आउन ढिला भएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।’

उनीहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको छ । क्वारेन्टिनमा बसेकाहरूले प्रहरीमाथि ढुङ्गामुढा गर्दै क्वारेन्टिन छोडेर भाग्न खाजेपछि अश्रुग्यास र हवाई फायर गरेको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोले बताए । प्रहरीले १४ सेल अश्रुग्यास र २ राउण्ड हवाई फायर गरेको छ ।

प्रर्दशनकारीले हानेको ढुङ्गा लागेर प्रहरी हवल्दार सुवोध सिंह घाइते भएका छन् । क्वारेन्टिनबाट भागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेन्टिनमै पुर्‍याएको छ ।

वडाध्यक्षका अनुसार दुई ठाउँमा क्रमशः ९६ र/७५ जना छन् । अरू भगवानपुर मदरसामा छन् ।

निशान छाप अब नयाँ नक्सामा

काठमाडौं । संविधान संशोधनसँगै नेपालको निशान छापमा अब नयाँ नक्सा अंकित हुने भएको छ ।
सरकारले संघीय संसदमा पेश गरेको संविधान संशोधन विधेयक दुवै सदनबाट पारित भएपछि निशान छापमा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्सा अंकित गर्ने बाटो खुलेको हो ।

संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट शनिबार पारित भएको छ । २ सय ७५ सांसदमध्ये २ सय ५८ जना संसदले मतदान गरेका थिए । योसँगै संशोधान विधेयक प्रतिनिधिसभाबाट पारित भएको हो । साथै आइतबार बस्ने राष्ट्रियसभा बैठकबाट पनि अब विधेयक पारित हुने प्रवल सम्भावना देखिएको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेको संविधान संशोधन विधेयक संघीय प्रतिनिधिसभाबाट पारित भएको छ । मन्त्री तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन विधेयक २०७७) माथि दफाबार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेकी थिइन् । मन्त्री तुम्बाहाङ्फेको प्रस्तावपछि संसदमा संविधान संशोधन विधेयकमाथि दफाबार छलफल भएको हो ।

सरकारले ल्याएको संविधान संशोधन विधेयकप्रति सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महता र उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देन, प्रनिधिसभा सदस्य दुर्गा पौडेल, राष्ट्रिय मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, नेकपाका महासचिव विष्णु पौडेल, नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइराला, ज्ञानेन्द्रबहादुर कार्की प्रकाशमान सिंह र नेकपाका गोकर्ण बिष्ट लगायतका सांसदहरुले धारणा राख्नु भएको छ ।

सांसदहरुको धारणपछि मन्त्री तुम्बाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन विधेयक २०७७) लाई पारित गरियोस् भन्ने प्रस्ताव गरेकी थिइन् । मन्त्री तुम्बाहाङ्फेको प्रस्तावलाई सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधनको पक्ष र विपक्षमा आफ्नो मत जाहेर गर्न सांसदहरुलाई रुलिङ गरे । लाई वणर्ननुक्रम अनुसार राखिएको नाममा मत दिन आग्रह गरेका थिए ।सभामुखको रुलिङपछि संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएको हो ।

भोक्राहामा दुर्गा मन्दिरको सिल्यनास सम्पन्न

भोक्राहा । सुनसरीको भोक्राहा नर्शिङ्ग गाउँपालिका वार्ड न २ अकाहा बजारमा रहेको दुर्गा मन्दिरको सिल्यानास आज शनिबार सम्पन्न भएको छ ।

प्रदेश सरकार र गाउँपालिका कार्यालयको सन्युक्त सयोगमा अध्यक्ष महेन्द प्रसाद यादव द्वरा सिल्यानास सम्पन्न भएको मन्दिर निर्माण समितका अध्यक्ष नरायण मेहताले बताउनु भएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस गाउँ सभापती युवराज दहाल , लक्षमण मेहता ,सदानन्द मण्डल , राजेन्द्र प्रसाद मेहता , शुकदेव मेहता , वडा सदस्य श्यामदेव ठाकुर , सुनिता साह , शुशिला शाह , जसपाका महेन्द्र यादव , जितेन्द्र ठाकुर , सुब्बा लाल मेहता , रामकुमार मेहता , शिक्षक मजोज मेहता , सुर्य नरायण मेहता , राजु ठाकुर लगायतका व्याक्तीहरुको उपस्तिथि रहेको निर्माण समितिका मेहताले बताउनु भएको थियो।

सशस्त्र प्रहरीद्धारा यादवलाई यातना

देवानगंज । विश्वभरी फैलिएको कोरोना भाईरस(कोभिड १९) का कारणले नेपालको सीमावर्ती क्षेत्रमा समेत तनाव बढेको बेला सशस्त्र प्रहरीको ज्यादती बढेको सुनसरीका किसानले गुनासो गरेका छन् । सुनसरीको देवानगञ्ज गाउँपालिका ३ र ४ को सीमामा स्थानीयहरुलाई कोरोना भाईरस(कोभिड १९)को भन्दा सशस्त्र प्रहरीको दमन र कुटपिटको पिडाले सताएको स्थानीय रामेश्वर मेहताले गुनासो गर्नुभयो ।

कोरोनाको कहर कारणले प्रभावित भन्दा सशस्त्र प्रहरीको नजगाराना असुली धन्दा, किसानलाई मकै उठाउन गरेको अवरोध र अनावश्यक कुटपिट तथा यातना दिने घटनाले त्रासित बनेको देवानगञ्ज गाउँपालिका ३ र ४ कप्तानगञ्जका गाउँलेहरुको गुनासो रहेको छ । सीमा नाकामा रहेका सशस्त्र प्रहरीले लकडाउनको मौकामा नेपाली नागरिकहरुलाई सीमामा आफैले उत्पादन गरेको मकैं भित्रियाउन अवरोध गरेको र उठाउने नाममा प्रति ट्याक्टर एक सय रुपियाँदेखी १५ सय रुपियाँसम्म नजराना उठाउने गरेको देवानगञ्ज गाउँपालिकाका स्थानीयहरुले गुनासो गरेका छन् ।

यसैबीच देवानगञ्ज गाउँपालिका ३ का ३६ वर्षिय अरविन्द कुमार यादवले आफूलाई सशस्त्र प्रहरी जवान कृष्ण भुजेलले कुटेको गुनासो गर्नुभएको छ । खेतमा मकैं उठाउन गएको बेला २०७७ जेठ ३० गते शुक्रबार दिउसो २ : ३० बजेको समयमा नजराना नदिई मकै लान नपाउने भन्दै गालीगजौज गरेर कुटेको यादवले बताउनुभयो । पीडित यादवका अनुसार किसानहरुको बीचमा कुराकानी र मकैं उठाउने बारेमा छलफल चरिरहेको मौकामा सशस्त्र प्रहरीले आफूलाई पागल भन्नेको आरोप लगाउदै कुटपिट गरेको र चार घण्टासम्म सशस्त्र प्रहरीले नियन्त्रणमा राखेको हो ।

यादवले सामान्य किसानदेखी भारतीय नागरिक र तस्कारसंग अबैधरुपमा रकम असुली कार्य अझै नरोएिको विषयमा केही समय अगाडी कुरा उठाएको रिसिवि साध्नका लागि आफू माथि सुन्योजित रुपमा आक्रमण प्रयास र कुटपिट गरेको आरोप लगाउनुभयो ।

सशस्त्र कुटाईबाट यादवको हात र खुट्टामा निलडाम बसेको छ । स्थानीय क्लिनिकमा उपचार गराएको छ भने सुरक्षाको माग र दोषी माथि कार्वाहीको माग गर्दै इलाका प्रहरी कार्यालय देवानगञ्जमा उजुरी गरेका छन् । प्रहरीले निवेदन आएको पुष्टी गरेपनि के के विषय उल्लेख गरिएको भने खुलाईएको छैन् ।
सशस्त्र प्रहरीका प्रहरी निरीक्षक पशुपती पुरीले समेत घट्नाको पुष्टी गर्नुहुदै पीडितले लगाएको आरोप जस्ता नभएको प्रतिकृया दिनुभयो । यादवसंग सामान्य ठेलमठेल भएको तर यातना र कुटपिट नगरेको दावी गर्नुभयो । यादवले भने जस्तो हिरासतमा नराखी सशस्त्रको घेरा भित्र राखेर आफन्तको जिम्मा लगाएको बताउनुभयो ।

उता सीमाको फरक प्रसंगमा बन्दाबन्दीमा समेत देवानगञ्ज नाकाको सीमा क्षेत्रमा रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न बाहाना बनाएर नेपाली र भारतीयहरुसंग पैसा उठाउने काम नरोक्दा नागरिकहरु समस्यामा परेका छन् । नेपाल भारत सीमामा खेतीपाती गर्ने किसानहरुसंग विभिन्न बाहाना बनाएर सीमा क्षेत्रमा बसेको सशस्त्र प्रहरीले पैसा उठाउने गरेको जनगुनासो बढ्दै गएको छ ।
यस सीमा नाकामा सुरक्षा जाँचकालागि बसेका सशस्त्र प्रहरीले नेपाली र भारतीय मोटरसाईकल तथा साना गाडीबाट गैरकानुनीरुपमा पैसा उठाउने गरेकाछन् । कतिपय नागरिकहरुप्रति दुव्र्यवहार गर्ने र गैरकानुनीरुपमा रकम उठाउने गरेकोले स्थानीयहरुले त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन । सीमामा किसानको मकैं बोकेको ट्याक्टर गाडीबाट प्रति गाडी १०० रुपियाँदेखी १५ सय रुपियाँका दरले रकम उठाउने गरेका छन् ।

सुरक्षा जाँचका नाममा बसेको सशस्त्र प्रहरीले गैरकानुनी काम गर्दा समेत सरोकारवाला निकाय मौन बस्दा सुरक्षा प्रतिनै गम्भीर आशंका उत्पन्न भएको स्थानीय रविन्द्र यादवले गुनासो गर्नुभयो ।

लकडाउनको पालना र कार्यान्वयन तथा अबैध सामानहरु नेपाल नभित्रियोस र सीमा नाकामा गलत काम नहोस भन्दै सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीले खुल्यामरुपमा रकम उठाउँदा समेत सरोकारवाला निकाय बेखवर बन्नु दुःखद भएको स्थानीय बासिन्दाहरु बताउँछन् । सशस्त्र प्रहरीले ड्युटीमा बसेर रकम उठाउनु र सरोकारवाला निकाय मौन बस्नुले गम्भीर शंका उत्पन्न भएको स्थानीय चुलाही सरदारले बताउनुभयो ।

स्थानीय सन्जय यादवका अनुसार सीमामा सशस्त्र प्रहरीले रकम उठाउन होडबाजी नै चलेको छ । जसले राजस्व छली रोक्ने काम गर्नेहो उही निकाय राजस्व छल्न लाग्ने र राज्यलाई ठग्दै आफु अनुकुल काम हुने गरेको यादवको भनाई छ ।

सशस्त्र प्रहरीको राजस्व अनुसन्धान गस्तीका प्रहरीहरुनै राजस्व छल्ने काममा प्रयोग हुने गरेको स्थानीयले आरोप लगाएका छन् । सशस्त्र प्रहरीका प्रमुखहरुका संरक्षणमा अबैध रकम असुली बढेको स्थानीयको आरोप छ । प्रहरी अधिकृतको संलग्नतामा नागरिकहरुबाट रकम असुल हुने गरेको छ ।

सशस्त्र प्रहरीले इन्ट्री फि भनेर सय रुपियाँ देखी १५ सय रुपियाँ मागेको रन्जय यादवले बताउनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरीले प्रति मोटरसाईल सय रुपियाँका दरले असुली गरिरहेको छ । पैसा नदिए प्रहरीले गाडी चालकको लाइसेन्स माग्ने र अनेक बाहाना गरेर दुःख दिने गरेको उहाँले बताउनुभयो ।
केही दिन अघि भारत र केही नेपाली तस्कारलाई लाईन दिने गरेको र सर्वसधारणलाई यातना, कुटपिट र झर्को मान्ने गरेको थियो ।

अहिले लकडाउनमा अनावश्यक दुःख दिने गरेकाले स्थानीयहरु त्रसित बनेको कप्तानगञ्जका भुनेश्वर यादवले बताउनुभयो ।

२ सय ५८ मतसहित संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएको उक्त विधेयक आजको प्रतिनिधिसभा बैठकबाट पारित भएको हो ।

शनिबारको प्रतिनिधि सभा बैठकमा २५८ सांसद उपस्थित थिए। उनीहरू सबैले संविधान संशोधनको पक्षमा अर्थात् हुन्छ भन्ने पक्षमा मत दिएका हुन्। विपक्षमा भने कुनै पनि मत परेन।

प्रतिनिधसभाबाट पारित भएपछि विधेयक अब राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभामा पनि प्रस्ताव प्रस्तुत गर्ने, सामान्य छलफल गर्ने, त्यसमाथि संशोधन दर्ता गराउने, प्रतिवेदनसहित विधेयक पारित गरिनेछ । संघीय संसदको दुबै सदनबाट पारित भएपछि विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेस हुनेछ । राष्ट्रिय सभाको बैठक आइतबार बस्दैछ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी सदनमा प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

सरकारले सङ्घीय संसद्मा यही जेठ ९ गते संविधान संशोधन गर्न विधेयक दर्ता गरेकामा कानूनमन्त्री डा तुम्बाहाङ्फेले जेठ १८ गते प्रतिनिधिसभासमक्ष प्रस्तुत गरेकी थिइन् ।

प्रतिनिधिसभाको जेठ २७ को बैठकमा मन्त्री डा तुम्बाहाङ्फेले प्रस्तुत गरेको ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको थियो । सो स्वीकृतिसँगै विधेयकमा संशोधन भएमा पेश गर्न सांसदलाई ७२ घण्टाको समय उपलब्ध गराइएको थियो ।

भारतमा कोरोना संक्रमित ३ लाखभन्दा बढी, मृतक संख्या ८ हजार ८९०

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ३२० जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरस संक्रमण हुने मानिसको संख्या ३ लाख ९ हजार ६०३ पुगेको हो ।

एकै दिन अरू ३८९ जनाको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ८ हजार ८९० पुगेको छ ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ५४ हजार २३१ जना संक्रमणमुक्त भएका छन् ।

यातायात व्यवसायीको गुनाासो ‘ऋणको डरले निद्रा लाग्दैन’

पोखरा । कोभिड १९ का कारण देश लकडाउनमा परेपछि सार्वजनिक सवारीसाधन सबै थन्किएका छन् । त्यसैले सार्वजनिक सवारीसाधन धनीहरू ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्ता व्यक्त गर्न थालेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले भन्नुभयो, “सरकारको यातायात क्षेत्रलाई हेर्ने दृष्टिकोण कहिल्यै सही भएन । अहिलेको विषम परिस्थितिमा यो व्यवसायका लागि सरकारले कुनै पनि योजना निर्माण गर्न सकेको छैन । हाम्रो पीडा बुझिदिने कोही भएनजस्तो लाग्न थाल्यो ।”

सो कम्पनीका एक हजार पाँच सय सवारी थन्किएका छन् । जसले गर्दा यातायात व्यवसायी किस्ता तिर्नसक्ने अवस्थामा छैनन् । केसी भन्नुहुन्छ, “हामीले किस्ता रकम तिरिदिन सरकार र माननीयज्यूहरूलाई भनेका थिएनौँ, मात्र समय थप गरिदिन भनेका थियौँ तर सरकारले हाम्रो कुरो सुनेन ।” यस्तो विषम परिस्थितिलाई हेरेर बैङ्कको ब्याज र किस्तालाई सहुलियत र छ महिना समय व्यवस्थापन गरिदिनका लागि बजेटअघि नै सरकारसँग माग गरेको स्मरण गराउनुभयो ।

अरू उद्योगीले उठाएका कतिपय मागको सम्बोधन भएको तर आफ्नो मागको सुुनुवाइ पनि नभएको गुनासो यातायात व्यवसायीको छ । उहाँले भन्नुभयो, “तीन महिना भयो, सवारीसाधन चलेका छैनन् । यातायात व्यवसायीका घरपरिवार कसरी बाँचेका होलान् भन्नेसम्मको ध्यान सरकारको जान सकेको छैन ।”
यातायात व्यवसायीले आफूहरू बेसहाराजस्तो भएको अनुभव सुनाउन थालेका छन् । व्यवसायी केसीले भन्नुभयो, “बैङ्क तथा वित्तीय संस्थाबाट फोन आउँछ । किस्ता र ब्याज कसरी तिर्ने ? सवारीसाधनको तालाचाबी, कागजपत्र बुझाउनुको अन्तिम विकल्प छैन । व्यवसायीलाई रातभर निन्द्रा नलाग्ने अवस्था भएको छ ।”

पोखरा बस व्यवसायी समितिका प्रबन्ध निर्देशक अमृत शर्मा तिमिल्सिनाले यातायात व्यवसायी अब आफ्नो व्यवसाय सम्हालेर बाँच्न नसक्ने अवस्था सिर्जना भएको पीडा पोख्नुभयो । उहाँले भन्नुभयो, “हाम्रो अवस्था सबैलाई थाहा नै छ । हामी यही देशका नागरिक हौँ । कम्तीमा एक वर्षका लागि जरिवाना किस्ता वा कागजात नवीकरणका लागि स्थानीय सरकार वा प्रदेश सरकारले राहतका प्याकेज ल्याइदिए हामीलाई ठूलो सहयोग हुने थियो ।” पर्यटनसँग प्रत्यक्ष सरोकार राख्ने ट्याक्सी व्यवसायी पनि उत्तिकै मारमा परेको पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटन व्यवसायीजस्तै हामी पनि मर्ने भइसक्यौँ । सरकारले हाम्रो लागि कहिले हेर्ला ?
तीन महिना भयो ट्याक्सी चल्न सकेका छैनन् । ट्याक्सीको साँवा र ब्याज कसरी तिर्ने अनि परिवार कसरी पाल्ने ?” यातायात व्यवसायीको मर्म बुझ्न नसकेको गुनासो गर्दै तिवारीले सरकारले छिटो कार्यविधि बनाएर सवारीसाधन सञ्चालन गर्ने वातावरण नबनाए आफूखुसी सवारीसाधन निकाल्न बाध्य हुने उहाँको भनाइ छ ।

देशमा करिब तीन लाख सार्वजनिक सवारीसाधन रहेको यातायात व्यवस्था विभागले जनाएको छ । ती सवारीसाधनमा यसमा काम गर्ने प्रत्यक्ष नौ लाख मजदुर र तिनका आश्रित ३६ लाख परिवार मारमा परेका छन् । गण्डकी प्रदेशमा १५ हजार सवारीसाधन र ४५ हजार मजदुर छन् । ६० प्रतिशत मजदुर स्वरोजगार मजदुर छन् । ४० प्रतिशत भनेका नितान्त यसैबाट खाने छन् । गोरखापत्रबाट

संविधान संशोधन विधेयक आज पारित हुँदै

काठमाडौँ । नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुने भएको छ । जेठ १८ गते प्रस्तुत विधेयकमा शुक्रबारसम्म संशोधन दर्ताको समय थियो । संशोधनको अवधि सकिएसँगै पारितको प्रक्रिया अघि बढाइएको हो ।

सङ्घीय संसद् सचिवालयले शनिबार १ बजे बस्ने बैठकमा विधेयकको दफावार छलफल र पारित प्रतिनिधि सभामा नै गर्ने गरी सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । संविधान संशोधन विधेयकमाथि एक संशोधन प्रस्ताव पनि दर्ता भएको छ । पार्टीले प्रस्ताव फिर्ताको लिखित निर्देशन नै दिए पनि प्रस्ताव फिर्ता भएको छैन । प्राप्त संशोधन स्वीकृत गर्ने वा नगर्ने भन्ने अन्तिम अधिकार सभामुखमा हुनेछ ।

शनिबार विधेयकमा दफावार छलफलपछि पारितको प्रक्रिया अगाडि बढ्ने छ । हस्ताक्षरसहितको मत विभाजन प्रक्रियाबाट संशोधन विधेयक पारित हुनेछ । हालसम्म सदनमा प्रतिनिधित्व गर्ने सबै दल संशोधन विधेयकको पक्षमा छन् । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, कालापानी र लिपुलेकसमेतको क्षेत्र समेटेर सरकारले अद्यावधिक प्रशासनिक र राजनीतिक नक्सा जेठ ७ गते सार्वजनिक गरेको थियो । नक्साअनुसारको निशान छाप परिवर्तनका लागि जेठ ९ गते संविधान संशोधन विधेयक दर्ता गरेको थियो ।

यसैबीच जनता समाजवादी पार्टीले संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरेको सो पार्टीका नेता केशव झाले बताउनुभयो ।  गोरखापत्रबाट

सरकारद्वारा कोरोना नियन्त्रण खर्च सार्वजनिक

काठमाडौँ  । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको छ  ।

कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । नेपालमा पहिलो सङ्क्रमण आशङ्कामा सङ्कलन गरिएको स्वाब नमुना परीक्षणका लागि हङ्कङ पठाइएको थियो । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ । भारतलगायत विभिन्न देशबाट आएका एक लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारेन्टाइनमा रहेका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपियाँ खर्च भएको छ । यस्तै, औषधि र स्वास्थ्य सामग्री खरिदमा एक अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्वारेन्टाइन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख ३१ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपियाँ निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपियाँ खर्च भएको जनाइएको छ ।

त्यस्तै, रक्षा मन्त्रालयमा दुई अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएकोमा दुई अर्ब ४० करोड २४ लाख ५७ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । जसमध्ये दुई अर्ब ३६ करोड ९५ लाख २७ हजार रुपियाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा खर्च भएको जनाइएको छ । त्यस्तै, क्वारेन्टाइन निर्माणमा एक करोड २९ लाख रुपियाँ र विविध अन्य ३५ लाख रुपियाँ खर्च भएको छ ।

मन्त्रालयका अनुसार गृह मन्त्रालयमार्फत दुई करोड ४५ लाख ८८ हजार रुपियाँ खर्च भएको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयमा ६५ लाख निकासा भएको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छ करोड निकासा भएकोमा पाँच करोड २० लाख रुपियाँ खर्च भएको छ । त्यस्तै, सहरी विकास मन्त्रालयमा एक करोड ४२ लाख, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू (सातै प्रदेश) मार्फत १५ करोड ७५ लाख रुपियाँ खर्च भएको जनाइएको छ । जसमध्ये सहरी विकास मन्त्रालयको बजेट क्वारेन्टाइन निर्माणमा खर्च भएको जनाइएको छ । त्यस्तै, प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा १४ करोड र औषधि तथा स्वास्थ्य सामग्री खरिदमा एक करोड ७५ लाख रुपियाँ खर्च भएको जनाइएको छ ।

यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत प्रविधि विकास र वैकल्पिक सिकाइका लागि २६ करोड ७५ लाख ७८ हजार निकासा भएकोमा दुई करोड ६९ लाख ७८ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाममा संलग्न आठ मन्त्रालयमा जम्मा पाँच अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएकोमा चार अर्ब १० करोड ५५ लाख छ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ ।

यसैगरी, प्रदेश सरकारमार्फत एक अर्ब ३० करोड चार लाख ९९ हजार रुपियाँ खर्च भएको जनाइएको छ । जसअनुसार प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकीले १५ करोड ४२ लाख १० हजार, प्रदेश ५ ले सात करोड ७९ लाख ३० हजार, कर्णालीले २३ करोड ९२ लाख ८३ हजार र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपियाँ खर्च गरेको छ ।

त्यस्तै, स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपियाँ खर्च भएको स्रोतले जनाएको छ ।  गोरखापत्रबाट

आज ३१ जेठ २०७७ शनिवार को राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

अध्ययनमा सफलता मिल्नेछ । पारिवारिक कलहको सम्भावना छ । स्वास्थयमा समस्या देखिन सक्छ । वैदेशिक यात्राको योग छ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

आफन्तबाट साथ सहयोग मिल्नेछ । मिष्ठान्न भोजन हुनेछ । अध्ययनमा बाधा आउँला । शत्रुहरुसँग टाढै रहनु उत्तम देखिन्छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रेममा सफलता मिल्नेछ । आकस्मिक धन प्राप्तिको योग छ । मुद्दा मामिला तपाईको पक्षमा हुनेछन् । स्वास्थ्यमा समस्या देखिनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अनावश्यक झमेलामा फसिने सम्भावना छ । मानसिक तनाव बढ्ने छ । पारिवारिक कलहको सम्भावना, पति–पत्नीबीच विवाद होला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

व्यापारमा हानी हुने योग छ । राजनीतिमा शुभ देखिन्छ । सामाजिक कार्यबाट लाभ मिल्नेछ । आकस्मिक धनमालको लाभ हुने योग छ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अध्ययनमा सफलता मिल्नेछ । व्यावसायिक सफलता । आफन्तबाट जोगिनुहोला । धार्मिक कार्यमा मन लाग्नेछ । लामो दूरीको यात्रा नगर्नुहोला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

निर्णय लिन द्विविधा होला । प्रेममा बाधा आउने छ । अध्ययनमा सुधार, आर्थिक लाभको सम्भावना । घरायासी कलह बढ्ने योग छ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पारिवारिक साथ सहयोग मिल्नेछ । आर्थिक लाभको सम्भावना छ । मिष्ठान्न भोजन हुनेछ । वैदेशिक यात्राको सम्भावना देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

नयाँ व्यापार व्यवसाय गर्दा उत्तम देखिन्छ । मन प्रफूल्लित रहनेछ । शत्रु सक्रिय हुनेछन्, आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

चोटपटक लाग्न सक्छ । वादविवाद हुने सम्भवान छ । आलोचना गर्नेहरु प्रशस्त हुनेछन् । मनमा अशान्ति छाउनस सक्छ । यात्रा सुखद ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

जागिरमा पदोन्नतति होला । व्यापारमा फाइदा हुने देखिन्छ । प्रेम सफल हुनेछ । आफन्तहरुसँगको भेटघाटले मन प्रफूल्लित होला ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

सामाजिक कार्यबाट प्रसिद्धि कमाइने छ । धन सिञ्चित हुनेछ । बोलीको प्रभाव बढ्ला । जागिरमा पदोन्नतिको हुने सम्भावना छ ।