३० जेष्ठ २०७७, शुक्रबार २०:०२ – Page 12 – Nagarikabhiyan : National News

स्वास्थ्य सामग्री प्रदान

राजविराज ।  सप्तरीको तिन वटा स्वास्थ्य संस्थालाई आज शिशु स्यहारकालाई स्वास्थ्य सामग्री बितरण गरिएको छ ।

सेभ द चिल्ड्रेनको एसएनएल प्रोजेकटबाट र सेभ द सप्तरीको सम्बन्वयमा सप्तरीको लोनीयाँ स्वास्थ्य चौकी, सखडा स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्र तोपामा शिशु स्यहारकालाई स्वास्थ्य सामग्री बितरण गरिएको सेभ द सप्तरीका फिल्ड अधिकृत बिदया मण्डलले जानकारी दिनुभयो ।

नवजात शिशु स्याहार कुना स्थापना र अङगालोको माया (कगारो मर्दर केयर )को लागि बेबी ओरमर १ पिस , वालप्लक उथ सेकेन्ड हेन्ड १ पिस , रुम थम्रोमिटर १ पिस , एम्बु ब्याग एनड माक्स २ पिस , पेङगुङ सक्सन २ पिस लगायत ९ प्रकारको स्वास्थ्य सामग्री बितरण गरिएको सेभ द सप्तरीले जनाएको छ ।

उक्त ३ लाख ६० हजार ४ सय ७५ रुपैयाको स्वास्थ्य सामग्री बितरण गरिएको जनाइउको छ । सो स्वास्थ्य सामग्री ३ वटा संस्थालाई सहयोग दिइएको बताइएको छ ।

ति स्वास्थ्य सामग्री वडा प्रतिनिधि, स्वास्थ्य ब्यवस्थापन समिति र पालिका प्रमुखको उपस्थिितमा बितरण गरिएको थियो ।

कार्यक्रममा सेभ द दसप्तरीका फिल्ड अधिकृत बिष्णुकान्त देव, बिदया मण्डल र मुकेश मण्डल तथा समाजिक परिचालक कासिन्द्र खंग,रुभा मण्डल र बिनिता यादव लगायतका उपस्थित रहेको थियो ।

संविधान संशोधन विधेयकको पक्षमा जनता समाजवादीले मतदान गर्ने

काठमाडौं  ।  जनता समाजवादी पार्टीले नेपालको संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने भएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवको संयुक्त अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिनिधिसभामा रहेको राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी दल एकता भएर बनेको सो पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

‘नेपालको संविधानको अनुसूची–३ मा संशोधन गर्न संसदमा प्रस्तुत गरिएको नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयकको पक्षमा मतदान गर्ने निर्णय गरियो ।’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

कानुन, न्याय तथा संघीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नेपालको नक्सा संविधानको अनुसूचीमा रहेको निशान छापमा समावेश गर्न सो विधेयक संसद्मा दर्ता गराएकी थिइन् ।

शनिबार प्रतिनिधिसभा बैठकको कार्यसूचीमा संविधान संशोधन विधेयकमाथि दफाबार छलफल र विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

कोरोना संक्रमणबाट नेपालमा १६ औं व्यक्तिको मृत्यु

इटहरी । कोरोना संक्रमणका कारण नेपालमा १६ औं व्यक्तिको मृत्यु भएको छ । अर्घाखाँचीका एक ५७ वर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जिल्लाको मालारानी क्वारेन्टाइनमा रहेका ती पुरुषको स्वास्थ्यमा समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरी घर फर्किने क्रममा बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। योसँगै नेपालमा मृतकको संख्या १६ पुगेको छ।

जेठ २९ गते भैरहवामा भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो। उनी भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका थिए। उनको अर्घाखाँचीमै अन्तेष्टि गरिने भएको छ। नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघेको छ। प्रवक्ता गौतमका अनुसार शुक्रबार एकैदिन ४ सय ४८ जनामा संक्रमण पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको हो। जसमा ४ हजार ७ सय ९ जना पुरुष र ३ सय ५३ जना महिला रहेका छन्। प्रदेश पोर्टलबाट

प्रकाशपुर खानेपानीको ९ वर्ष : न हिसाब सार्वजनिक भयो, न त ‘पानी’ नै आयो

इनरुवा । तत्कालीन प्रकाशपुर गाविस हुँदा २०६८ सालमा प्रकाशपुर खानेपानी उपभोक्ता समिति स्थापना भयो । गाविस हुँदा बखत ग्रामीण खानेपानी अन्तर्गत प्रकाशपुरमा खानेपानी नाममा आयोजनाको काम सुरु भएको थियो । २०६८ साल देखि नै खानेपानी कार्यक्रम सुरु भए पनि अहिले सम्म त्यसको हिसाब किताब सार्वजनिक हुन् सकेको छैन ।

जनप्रतिनिधि नभएको अवस्थामा तत्कालीन गाविसमा उपलब्ध राजनीतिक दलको सहमतिमा खानेपानी उपभोक्ता समिति गठन भएको थियो । समितिमा तत्कालीन नेपाली काँग्रेस गाउँ सभापति नवराज बस्नेतको अध्यक्षतामा खानेपानी समिति बन्यो र अझै सम्म पनि बस्नेत नै अध्यक्ष रहेका छन् ।

गाविस हुँदा नै बनेको खानेपानी समितिले अधिकार सम्पन्न नगरपालिका बनिसक्दा पनि आफ्नो हिसाब किताब सार्वजनिक भएको छैन । ९ वर्ष बिती सक्दा न प्रकाशपुर बासिन्दाले न त खानेपानीमा लगानी भएको करोड बराबरको हिसाब थाहा पाएका छन् । न त घर घरमा शुद्ध खानेपानी नै पुगेको छ ।

‘मेरो घरकै छेउमा खानेपानीको अफिस छ, म पनि सामाजिक काममा चासो राख्ने मान्छे हो तर अहिले सम्म यहाँ के हुदैछ कसो हुदैछ केही जानकारी छैन’ खानेपानी कार्यालयको छेउमै घर भएका सुरेन चौधरीले भने ‘ खै के गर्न हो अस्ति रड ल्याएको थियो तर अहिले सम्म पनि काम अघि बढेको छैन ।’

चौधरीले भने जस्तै अहिले सो ठाउँमा खानेपानीको ओबरहेड ट्याङ्की राख्न खाल्डो खनिएको छ । बराहक्षेत्र ९ प्रकाशपुरको डोलबजियामा अहिले खानेपानी भवनको लथालिङ्ग अवस्थामा छ । ९ बर्ष सम्म घरघरमा खानेपनि पुग्नु पर्नेमा हालसम्म ओबरहेड ट्यांकी समेत बन्न सकेको छैन ।

समितिकै एक सदस्यले नाम नखुलाउने सर्तमा करिब एक करोड भन्दा बढी खानेपानीमा खर्च भए पनि अहिले सम्म आफूहरूले खर्चको स्पष्ट विवरण पाउन नसकेको गुनासो गरे । गाँउगाँउमा खानेपानी पुर्‍याउन तत्कालीन राजनीतिक संयन्त्रको मिलेमतोमा बनेको खानेपानी समितिले ९ वर्ष बितिसक्दा साधारण सभा नगरेको समितिकै सदस्यहरूले नै गुनासो गर्न थालेका छन् ।

‘समिति भित्रका हामीले धेरै पटक-पटक हिसाब सार्वजनिक गर्नुपर्छ भनेर भनी सक्यौ तर अझै पनि सार्वजनिक भएको छैन’ हाल सम्म अनुमानित कति खर्च भयो भनेर गरेको प्रश्नमा समितिको एक सदस्यले भने ‘ भन्दा त लाज हुन्छ तर अझै सम्म अध्यक्ष बाहेक अरूलाई थाहा छैन ।’

समितिका सदस्यहरू मात्र हैन स्थानीय जनप्रतिनिधिहरूलाई समेत खानेपानीको आर्थिक र साधारण सभाको विषयमा जानकारी छैन । बराहक्षेत्र ९ का वडाध्यक्ष दीपक कुमार लिम्बुका अनुसार निकै पटक आफूहरूले लेखा परीक्षण प्रतिवेदन पेस गर्न भने पनि अझै सम्म आफूहरूले पाउन नसकेको बताउँछन् ।

जब अक्षयकी श्रीमती ट्विकंलले भनिन्, शाहरुख, सलमान र आमिर खानको भन्दा अक्षयको लामो छ…

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारकी श्रीमति ट्विंकल खन्नाले केहि समय पहिले अनौठो खुलासा गरेकी थिइन् ।

भारतीय सञ्चार माध्यमका अनुसार करण जोहरको शोमा करणले ट्विंकललाई उनको श्रीमान् अक्षय कुमारसँग के छ ? जुन बलिउड कलाकार शाहरुख , सलमान र आमिर खानसँग छैन भनेर प्रश्न गरेका थिए ।

ट्विंकलले उत्तर अंग्रेजीमा दिदै भनिन् – अ फ्यू एक्स्ट्रा इन्चेस (A few extra inches) । उत्तरसँगै करण जोहरको अनुहार रातो बन्यो । अक्षय कुमार पनि लाजले यता(उता हेर्न थाले। ट्विंकल यतिमै रोकिनन् करणलाई अक्षय कुमार तर्फ प्रश्न गर्न नदिइ आफ्नो कुरा स्पस्ट पारिन् । उनले अक्षयको कुनै विशेष अंगको कुरा नगरेर अक्षयको खुट्टाको भनेको बताइन् ।

कार्यक्रमको क्रममा ट्विंकलले अक्षयले सेसिबल चलचित्रमा अभिनय नगरे सम्म दोस्रो सन्तान नदिने चेतावनी दिइन् । ट्विंकलले यस खालको प्रतिक्रिया दिनु नौलो भने होइन उनले यस भन्दा पहिले पनि यस्तो भनाइ राख्दै आएकी छन‍् ।

इन्सेक प्रतिनिधिद्धारा क्वारेन्टाईनको अनुगमन

इनरुवा । जिल्लाका क्वारेन्टाईनमा मापदण्ड पुरा नभएको गुनासो बाहिर आएकाले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवले जेठ ३० गते विभिन्न क्वारेन्टाईनको अनुगमन गर्नुभएको छ ।

प्रदेश १ को सीमावर्ती क्षेत्रमा पर्ने जिल्ला सुनसरीको सदरमुकाम इनरुवा सहित विभिन्न पालिकाको कोरोना भाईरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि देशबाहिरबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखेकाले त्यहाँको अवस्थाको बारेमा अनुगमन गरिएको छ ।

अनुगमनका क्रममा इनरुवा १ को भगवती मावि क्वारेन्टाईनमा ११ जनालाई राखिएको र प्रहरी कार्यालय अगाडी भएपनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नियमित नबसेको, खानेपानीको अभाव, वाईफाई नभएको, सरसफाई नभएको पाईएको छ ।

भारतबाट आएकाहरु र उद्धार गरिएकाहरुलाई राखिएको भगवती मावि क्वारेन्टाईनमा भवन राम्रो भएपनि व्यवस्थापनमा समस्या रहेकाले त्यसमा सुधार गर्नुपर्ने देखियो । त्यसैगरी इनरुवा ४ नयाँ वस पार्क भवन क्वारेन्टाईनमा २० जनाको क्षमता रहेकोमा १२ जनआलाई राखिएको वडा अध्यक्ष श्यामदेव मेहताले बताउनुभयो ।

उता इनरुवामा अर्को नयाँ क्वारेन्टाईनको रुपमा नेपाल राष्टिय हरि आधारभुत विद्यालयको समेत अनुगमन गरिएको छ । विद्यालयमा भौतिक पूर्वाधारको व्यवस्थापन राम्रो भएपनि बस्न, सुत्न र खानपानमा समस्या रहेको बस्नेहरुले गुनासो गरेका छन् ।

अनुगमनको क्रममा सीमावर्ती देवानगञ्ज गाउँपालिकाको तीन क्वारेन्टाईनमा रहेका ९० जना मध्ये दुई जानमा कोरोना पोजेटिभ देखिएको प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले जानकारी दिनुभयो ।

न्यौपानेका अनुसार देवनागञ्जमा रहेको राजगञ्ज सिनुवारी क्वारेन्टाईन, श्रीमावि क्वारेन्टाईन, कौवाखोच मदर्शा क्वारेन्टाईनमा रहेकाहरुको अवस्था सामान्य रहेको छ । सबै क्वारेन्टाईनमा बास, खान र स्वास्थ्यकर्मीको निगरानी रहेको बताउनुभयो ।

जिल्लाका क्वारेन्टाईनमा देखिएको समस्याका बारेमा सम्बन्धीत पालिकालाई सुधारका लागि आग्रह गरिएको यादवले बताउनुभयो ।

दोस्रो चरणको राहत वितरण

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाले दोस्रो चरणको राहत वितरण गरेको छ । लकडाउनका कारणले हातमुख जोड्न समस्या रहेका परिवारलाई बल्ल दोस्रो चरणको राहत वितरण गरेकाको हो ।

इनरुवा नगरपालिकाले करिब अढाई महिना पछि दोस्रो चरणको राहत वितरण गरेको पीडितहरुले बताएका छन ।

इनरुवाको ४ नम्बर वडाले एक हजार तीन सय परिवारलाई प्रति परिवार २५ केजीका दरले दोस्रो चरणको राहत वितरण गरेको वडा अध्यक्ष श्यामदेव मेहताले जानकारी दिनुभयो ।

उता अन्य वडाहरुले समेत दोस्रो चरणको राहत वितरण गरीरहेको नगर प्रमुख राजन मेहताले जनाकारी दिनुभयो ।

देवानगन्ज सहित सुनसरीमा १० जना कोरोना सङ्क्रमित थपिए

देवानगन्ज । सुनसरीमा शुक्रवार थप १० जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५६ पुगेको छ ।

थपिएका सङ्क्रमितहरू सबै क्वारेनटाइनमै बसेकाहरू रहेको बताइएको छ । भोक्राहा क्वारेनटाइनमा बस्ने ६ जना, देवानगन्ज क्वारेनटाइनमा बस्ने २ जना र हरी नगर क्वारेनटाइनमा बस्ने २ जना गरी १ महिला र ९ जना पुरुष गरी जम्मा १० जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् ।

उनीहरू देश बाहिरबाट आएर क्वारेनटाइनमा बसेकाहरू रहेको बताइएको छ ।

 

नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो

काठमाडौं । शुक्रबार थप ४ सय ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या ५ हजार नाघेको छ ।

हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला रहेका छन् ।

कोरोना संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्न सक्दैनौं : प्रदेश ५ सरकार

काठमाडौं । प्रदेश ५ सरकारले कोरोना संक्रमण पुष्टि भएका सबै संक्रमितलाई अस्पतालमा राखेर उपचार गर्न नसकिने अभिव्यक्ति दिएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले अब कोरोना संक्रमितलाई अस्पतालबाहिरकै आइसोलेसनमा राख्ने निर्णय गरेको हो ।

जिल्ला स्तरीय, स्थानीय तह स्तरीय र सेल्फ आइसोलेसन सेन्टरको मापदण्ड स्वीकृत गर्दै बैठकले यस्तो निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले बताए ।

प्रदेश सरकारले बुटवल, भैरहवा, दाङ र नेपालगञ्ज गरी चार ठाउँमा कोरोना विशेष अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ । ती चार अस्पतालमा रहेका २ सय ३२ वटा आइसोलेसन बेड कोरोना संक्रमित बिरामीले भरिएका छन् । संक्रमित बढ्दै गएपछि स्थानीय तहमा बनाइएको ३ सय ५९ आइसोलेसन सेन्टरमा २ हजार ५९ बेड छन् ।

प्रदेशमा अझै करिब ८ स्वाब पीसीआर परीक्षणको पालो पर्खेर बसेका छन् । ठूलो संख्यामा नतिजा आउन बाँकी रहेकाले सरकारले अब कोरोना अस्पतालमा राखेर उपचार गर्न नसक्ने निचोडमा पुगेको प्रदेश सरकारका प्रवक्ता चौधरीले बताए ।

जसपाले भन्यो- शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गर्‍यो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सरकारले शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाएको छ । पार्टी अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले शुक्रबार विज्ञप्तीमार्फत जनताको आवाज नसुनी हेपाहा प्रवृत्ति देखाएको उल्लेख गरेको छ ।

‘केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना महामारी नियन्त्रण गर्न पूर्ण असफल सिद्ध भएको छ, सरकारका असफलताका विरुद्ध व्यापक जनप्रदर्शनहरू भइरहेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले जनताका आवाज सम्बोधन गर्नुको सट्टा हेपाहा प्रवृत्ति देखाई शान्तिपूर्ण जनप्रदर्शनमाथि दमन गरेकोमा यस्ता कार्यलाई बन्दी गरी जनताका न्यायोजित आवाज तुरुन्त सम्बोधन गरिनु पर्छ ।’अनलाइनखबरबाट

दाङमा त्रिशुल प्रहारबाट एक जनाको हत्या

दाङ । दाङमा शुक्रबार त्रिशुल प्रहारबाट एक जनाको हत्या भएको छ ।

बबई गाउँपालिका ३ धनबाँस गुन्द्रीका नारायण डाँगीलाई स्थानीय युवा बालाराम ओलीले त्रिशुल प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।

त्रिशुल प्रहारबाट गम्भीर घाइते डाँगीको उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए ।

ओलीले गाउँमा रहेको मन्दिरको त्रिशुल उप्काएर डाँगीमाथि प्रहार गरेको प्रारम्भीक अनुसन्धानमा खुलेको छ । प्रहरीका अनुसार हत्याको कारण भने खुल्न सकेको छैन ।

धनगढीमा पीसीआर परीक्षण बढाउन माग गर्दै प्रदर्शन

धनगढी । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै धनगढीमा प्रदर्शन भएको छ ।

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा व्यापक प्रदर्शन भएको छ । संक्रमण पहिचानका लागि पीसीआर परीक्षण बढाउन र खर्च पारदर्शी बनाउन माग गर्दै युवाले स्वस्फूर्त रुपमा आज (धनगढी)मा प्रदर्शन गरेका हुन् ।

देशका विभिन्न ठाउँहरुमा आन्दोलन भईरहदा कैलालीको धनगढीमा पनि युवाले स्वस्फूर्त रुपमा सडकमा उत्रिएका छन् । धनगढीको सडकमा बिहान ९ बजेतिर हातमा प्लेकार्ड बोकेर युवाहरु सडकमा उत्रिएका हुन् ।

उनीहरुले सांसदको भत्ता पाक्ने नागरिकको भात नपाक्ने ? क्वारेन्टाईन गोठ जस्तो क्वाटर महल जस्तो किन सरकार ? कोरोना भाईरस मौलायो मेरो सरकार बौलायो जस्ता नाराहरु सहित प्रदर्शन गरेका छन् ।

राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भयोः मन्त्री ढकाल

काठमाडौं । ई-टिकेटिङ एप्स सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले राजनीति सवार कोरोनालाई व्यवस्थापन गर्न कठिन भएको बताएका छन् ।

पीसीआर परीक्षणको दायरा बढाउन माग गर्दै पछिल्लो समय सरकारविरुद्ध भइरहेका प्रदर्शनहरुलाई लक्षित गर्दै मन्त्री ढकालले कोरोनामा राजनीति मिसिने खतराहरु बढेको बताएका छन् ।

उनले भने ‘सुरुमा रागबाट मात्रै आक्रान्त थियौँ हामी । पछिल्लो दिनमा राजनीति पनि मिसियो । खतराहरु बढ्दै गएको हुनाले अब राजनीतिक कोरोनासँग लड्नका लागि विश्वको भन्दा फरक मोडालिटीमा प्रवेश गर्न लागेका छौँ ।’

मन्त्री ढकालले विश्वका अन्य कुनै पनि देशमा राजनीतिक नेतृत्व र सरकारको आलोचनाभन्दा पनि कोरोनाविरुद्ध कसरी लड्न सकिन्छ भन्ने हिसाबले काम भए पनि नेपालमा त्यसो हुन नसकेको बताए । पछिल्लो १/२ दिनको घटना हेर्दा कोरोनामा राजनीति प्रवेश गरेको उनले बताए ।

८० जनाको र्यापिड टेष्ट पोजिटिभ भएपनि लक्षण नदेखिदा घर पठाइने

सुखड । कैलालीको घोडाघोडी नगरपालिकाका विभिन्न वडामा क्वारेन्टाईनमा बसेकाहरुको र्यापिड डायग्रनोस्टिक टेस्ट (आरडिटि) मा ८० जनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।

नगरपालिकाका विभिन्न विद्यालयमा रहेको ६३ ओटा क्वारेन्टाईनमा रहेका २ हजार २ सय ३८ जनामा र्यापिड टेष्ट गर्दा ८० जनाको आरडीटी रिपोर्ट पोजिटिभ आएको हो ।

घोडाघोडी नगरपालिकामा १ सय ५ जनाको स्वाव संकलन गरी पठाईएकोमा १ जनामा कोरोना पुष्टि भएको छ । जुन नगरपालिकाको वडा नं.११ का ३२ वर्षिय पुरुष हुन् ।

त्यस्तै बिहिबार नगरपालिकाका विभिन्न क्वारेन्टाईन बाट ७० जनाको स्वाव संकलन गरी सेति प्रादेशिक अस्पताल पठाईएको स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिए ।

घोडाघोडी नगरपालिकाले आरडिटी रिपोर्ट पोजिटिभ आएर १४ दिन क्वारेन्टाईनमा बस्दा लक्षण नदेखिएका ६९ जना लाई होम क्वारेन्टाईन बस्ने गरी घर पठाएको छ ।

अहिले नगरपालिकाका ६३ ओटा क्वारेन्टाईनमा २ हजार ५ सय २० जना पुरुष र ४ सय ८१ जना महिला गरी ३ हजार १ जनाले आश्रय लिएका छन् ।

चितवनको माडीमा ८ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनको माडी नगरपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा माडीका ८ जनामा संक्रमण भेटिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ ।

माडीका ८५ जनाको नमुना परीक्षण गरिएकामा ८ जनामा पोजेटिभ भेटिएको हो । भरतपुर अस्पतालमा शुक्रबार १ सय ९७ वटा स्वाब परीक्षण गरिएको थियो ।

जसमध्ये बीपी कोइरालामा क्यान्सर अस्पतालको ३, खैरहनी नगरपालिकाको ११, पुरानो मेडिकल कलेजको ८, चितवन मेडिकल कलेजको ५, देवघाट गाउँपालिकाको १५, राप्ती नगरपालिकाको १५ र भरतपुर अस्पतालको २९ स्वाब परीक्षण गर्दा संक्रमण भेटिएको छैन ।