इन्सेक प्रतिनिधिद्धारा क्वारेन्टाईनको अनुगमन
३० जेष्ठ २०७७, शुक्रबार १७:०९
इनरुवा । जिल्लाका क्वारेन्टाईनमा मापदण्ड पुरा नभएको गुनासो बाहिर आएकाले अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक जिल्ला प्रतिनिधि जयकृष्ण यादवले जेठ ३० गते विभिन्न क्वारेन्टाईनको अनुगमन गर्नुभएको छ ।
प्रदेश १ को सीमावर्ती क्षेत्रमा पर्ने जिल्ला सुनसरीको सदरमुकाम इनरुवा सहित विभिन्न पालिकाको कोरोना भाईरस कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि देशबाहिरबाट आएकाहरुलाई क्वारेन्टाईनमा राखेकाले त्यहाँको अवस्थाको बारेमा अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा इनरुवा १ को भगवती मावि क्वारेन्टाईनमा ११ जनालाई राखिएको र प्रहरी कार्यालय अगाडी भएपनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी नियमित नबसेको, खानेपानीको अभाव, वाईफाई नभएको, सरसफाई नभएको पाईएको छ ।

भारतबाट आएकाहरु र उद्धार गरिएकाहरुलाई राखिएको भगवती मावि क्वारेन्टाईनमा भवन राम्रो भएपनि व्यवस्थापनमा समस्या रहेकाले त्यसमा सुधार गर्नुपर्ने देखियो । त्यसैगरी इनरुवा ४ नयाँ वस पार्क भवन क्वारेन्टाईनमा २० जनाको क्षमता रहेकोमा १२ जनआलाई राखिएको वडा अध्यक्ष श्यामदेव मेहताले बताउनुभयो ।
उता इनरुवामा अर्को नयाँ क्वारेन्टाईनको रुपमा नेपाल राष्टिय हरि आधारभुत विद्यालयको समेत अनुगमन गरिएको छ । विद्यालयमा भौतिक पूर्वाधारको व्यवस्थापन राम्रो भएपनि बस्न, सुत्न र खानपानमा समस्या रहेको बस्नेहरुले गुनासो गरेका छन् ।
अनुगमनको क्रममा सीमावर्ती देवानगञ्ज गाउँपालिकाको तीन क्वारेन्टाईनमा रहेका ९० जना मध्ये दुई जानमा कोरोना पोजेटिभ देखिएको प्रमुख प्रशासकिय अधिकृत त्रिलोचन न्यौपानेले जानकारी दिनुभयो ।
न्यौपानेका अनुसार देवनागञ्जमा रहेको राजगञ्ज सिनुवारी क्वारेन्टाईन, श्रीमावि क्वारेन्टाईन, कौवाखोच मदर्शा क्वारेन्टाईनमा रहेकाहरुको अवस्था सामान्य रहेको छ । सबै क्वारेन्टाईनमा बास, खान र स्वास्थ्यकर्मीको निगरानी रहेको बताउनुभयो ।

जिल्लाका क्वारेन्टाईनमा देखिएको समस्याका बारेमा सम्बन्धीत पालिकालाई सुधारका लागि आग्रह गरिएको यादवले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया