१८ फाल्गुन २०७९, बिहीबार १७:१५ – Page 6 – Nagarikabhiyan : National News

श्रोत नखुलेको रकमसहित दुई भारतीय पक्राउ

विराटनगर । विराटनगरबाट श्रोत नखुलेको भारतीय रुपैँयासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बुधबार राती विराटनगर–१५ बाट श्रोत नखुलेको रकमसहित भारत हरियानाका ३० बर्षीय सन्नी गुप्ता र ३४ बर्षीय सुरेन्द्र कुमार पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको गस्ति टोलीले शंकास्पद अवस्थामा रहेका उनीहरूलाई चेकजाँच गर्दा ७ लाख २० हजार बरामद गरेको हो । श्रोत नखुलेको अबैध रकमसहित पक्राउ परेका उनिहरूविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको छ ।

तीन वर्षीया छोरीकाे हत्या आराेपमा बुबा पक्राउ

बाग्लुङ । आफ्नै छोरी ३ वर्षीया अरिसा दिनको हत्या गरेकोआराेपमा बागलुङ नगरपालिका-१२ अमलाचौर घर भई जैमिनी नगरपालिका-४ सर्कुवा बस्ने २० वर्षीय सायर दिनलाई प्रहरीले पक्राउ गरेको छ ।

सायरले ढुङ्गाले टाउकोमा प्रहार गरी आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

युएईसँगको खेलमा नेपाललाई तेस्रो सफलता

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएई सिरिजमा नेपालले तेस्रो सफलता हासिल गरेको छ। नेपालका लागि कुशल मल्लले तेस्रो विकेट लिएका हुन्। यसअघि सन्दीप लामिछानेले एक विकेट लिएका थिए। व्रित्या अरविन्दलाई सन्दीपले बोल्ड गरेसँगै युएईको दोस्रो विकेट पतन भएको छ। चुन्दनग्यापोयिल रिजवानलाई उनले क्याचआउट गराएका हुन्।

करण केसीले पहिलो ओभरमै नेपाललाई सफलता दिलाएका थिए। उनले पहिलो ओभर विकेटसहित मेडन राख्ने क्रममा पाचौं बलमा ओपनर मोहम्मद वासिमलाई आउट गरेका हुन्।

२६ ओभरको समाप्तिमा युइईले तीन विकेटको क्षतिमा ९० रन बनाएर खेलिरहेको छ। दुबईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ।

युएईविरुद्ध नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

काठमाडौं । दुबईमा जारी आईसीसी विश्वकप लिग-२ क्रिकेट अन्तरगत युएईविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ। नेपाललाई दोस्रो सफलता सन्दीप लामिछानेले दिलाएका हुन्।

सन्दीपले आफ्नो ओभरको चौथो बलमा युएईका वृत्यअरविन्दलाई कुसल भुर्तेलको हातबाट क्याच आउट गराएका हुन्। यसअघि पहिलो विकेट करण केसीले लिएका थिए। पहिलो ओभरमै शून्य रनमा विकेट गुमाएपछि सम्हालिएको यूएईको जोडि सन्ददीपले तोडेका छन्। १६ ओभरको खेल सकिँदा यूएईले २ विकेटको क्षतिमा ६१ रन जोडेको छ। ईतिहास हेर्ने हो भने नेपालभन्दा यूएई बलियो देखिएपनि अहिलेको स्थितीमा नेपाल लगातार जित हात पारी रहेको छ । उता, यूएई भने खराब लयमा रहेको छ ।

कर्णाली सरकारलाई दिएको समर्थन राप्रपाले फिर्ता लियाे

सुर्खेत। राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् । केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।

युएईविरूद्ध नेपाललाई पहिलो सफलता

काठमाडौं । विश्वकप क्रिकेट लिग–२ मा नेपालले यूएईविरुद्ध टस जितेर पहिले फिल्डिङ गरिरहेको छ। यूएईस्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर घरेलु टोलीविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

यूएईविरुद्ध खेल्ने नेपाली टोलीमा एक खेलाडी परिवर्तन गरिएको छ। आज नेपाली टोलीमा राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने पनि खेल्दैछन्। मौसम ढकाल (श्याम) घाइते भएपछि सन्दीप उनको स्थानमा खेल्न लागेका हुन्।

नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ। नेपालको लागि पहिलो ओभरमा करण केसीले युएईका ओपनर मोहम्मद वासिमलाई शून्य रनमै बोल्ड आउट गरेका हुन्। पहिलो ओभर करणले मेडन राख्दै विकेट लिएका हुन्। यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल हो। पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई पराजित गरेको थियो। यूएई भने पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।

सुनको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

अघिल्लो दिन बुधबार सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा १ लाख २ हजार १०० रुपैयाँ कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १२५५ रुपैयाँमा कारोबार भएको थियो ।

आईसीसी यू-१९ एसिया छनोट : यूएईविरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ । अजमानको इडन ग्रार्डेन ओभलमा नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो । यूएईले नेपालविरुद्ध केही बेरमा बलिङ थाल्नेछ ।

लगातार चार खेलमा जित निकालेको नेपाल आजको खेलमा सहज जित निकाल्दै विश्वकपमा छनोट हुने योजनामा छ । समान चार खेल खेलेका नेपाल र यूएईको समान अङ्क छ ।

त्यसैले नेपाललाई आजको खेलमा जित आवश्यक छ । नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै २०२४ मा श्रीलङ्कामा हुने यू-१९ विश्वकप खेल्न पाउनेछ ।

एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै

काठमाण्डौ । गुल्मीको एउटा विद्यालयमा कक्षाकोठा अभाव भएपछि एउटै कोठामा एकै समयमा दुई शिक्षिकाले पढाउँदै आएका छन् । रेसुङ्गा नगरपालिका–१४ पराल्मीस्थित जन विकास माध्यमिक विद्यालयमा नर्सरी र अर्को कक्षाका विद्यार्थीलाई एउटै कोठामा एकैपटक पढाउनु परिरहेको छ । एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई शिक्षिकाले पढाउँदा सिकाइमा बाधा पुग्ने गरेको छ ।

नर्सरी तहका विद्यार्थीलाई पढाउँदै गर्नुभएकी शिक्षिका निर्मला पोखरेलले सिकाइ प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो । ‘हामी त बाध्य भएर यसरी पढाउँदै छौँ,’ उहाँले भन्नुभयो, ‘विद्यार्थीलाई पढ्न असहज भएको छ, एकैपटक एउटै कोठामा फरक कक्षाका विद्यार्थीलाई दुई जनाले पढाउँदा समस्या नै हुन्छ ।’

दुवै कक्षाका गरी ३० भन्दा बढी विद्यार्थीलाई यसरी एउटै ठाउँमा पढाउनु परिरहेको छ । सिकाउन आफूहरुलाई पनि असहज भएको र बालबालिकाको सिकाइ प्रभावकारी हुन नसकेको अर्की शिक्षिका रविना पोखरेलले बताउनुभयो । आफूहरुले पढाउँदा आवाज ठोक्किएर दुवैतर्फको सिकाइमा समस्या हुने गरेको उहाँको भनाइ छ ।

पुरानो जीर्ण भवन भत्काएर नयाँ भवन बनाउने क्रममा विद्यार्थीलाई यसरी पढाउनुपरेको प्रधानाध्यापक लोकनाथ पोखरेलले बताउनुभयो । नयाँ चार कोठे पक्की भवन निर्माण भएपछि समस्या समाधान हुने उहाँ बताउनुहुन्छ । कुल ५० लाख रुपैयाँको लागतमा भवन बनाइँदैछ ।

आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढ्दो

ढोरपाटन । कोरोना सङ्क्रमण फैलिनु अगाडि धौलागिरि आयुर्वेद औषधालय धाउने बिरामीको सङ्ख्या निकै कम थियो । त्यसपछि भने औषधालयमा बिरामीको चाप ह्वात्तै बढ्यो । पछिल्लो समय जिल्ला सदरमुकाम बागलुङ बजारमा रहेको आयुर्वेद औषधालयमा जँचाउन आउने र औषधि लिनेको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

औषधालयबाट सबैभन्दा बढी दीर्घरोगी र ज्येष्ठ नागरिकले सेवा लिने गरेका सूचना अधिकारी एकराज ढुङ्गानाले बताउनुभयो । विशेष गरी ग्यास्ट्रिक, पेट दुख्ने, खाना नरुच्ने, बाथलगायत समस्याका बिरामी यहाँ आउने गरेका छन् । आयुर्वेद औषधिमा विश्वास कम गर्नेहरु पनि अब भने यहाँ आउन थालेका उहाँ बताउनुहुन्छ ।

ढुङ्गानाका अनुसार आयुर्वेद औषधालयमा सेवा लिन आउनेमध्ये अधिकांश बिरामी पेटसम्बन्धी समस्याका छन् । उहाँ भन्नुहुन्छ, “आयुर्वेदिक औषधिप्रति बिरामीको विश्वास बढेको पाइएको छ ।” धौलागिरि आयुर्वेदिक अस्ताल आउने बिरामीको तीन वर्षयताको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६÷७७ मा सात हजार एक सय ५४, आव २०७७÷७८ मा १२ हजार पाँच सय ८३ तथा आव २०७८÷७९ मा १६ हजार दुई सय ४७ जनाले यहाँबाट सेवा लिएका छन् ।

चालु आर्थिक वर्ष २०७९÷८० को हालसम्म सात हजार चार सय ३० बिरामीले सेवा लिएको ढुङ्गानाले जानकारी दिनुभयो । सबैभन्दा बढी साउनमा एक हजार तीन सय २० बिरामीले सेवा लिएका छन् । भदौमा एक हजार ३६ जना, असोजमा नौ सय ६१, कार्तिकमा आठ सय ५१, मङ्सिरमा आठ सय ८३, पुसमा एक हजार १०, माघमा एक हजार आठ र फागुन दोस्रो सातासम्म तीन सय ६० जनाले सेवा लिएका छन् ।

औषधालयबाट सबैभन्दा बढी अम्लपित्तका बिरामीले सेवा लिएका छन् । अम्लपित्तसँगै गुदरोग, श्वासप्रश्वाससम्बन्धी रोग, उच्च रक्तचापलगायतका बिरामी दैनिक आउने गरेको धौलागिरि औषधालय बागलुङका प्रमुख डा सरोजकुमार रायले जानकारी दिनुभयो । आयुर्वेदालयले आयुर्वेद तथा योग शिक्षा, जडीबुटी परिचयात्मक, स्वस्थ जीवनलगायत विषयमा कार्यक्रम गर्न थालेपछि आयुर्वेद औषधिमा बिरामीको आकर्षण बढेको उहाँ बताउनुहुन्छ ।

पछिल्लो समय दैनिक ३०÷३५ बिरामी औषधालयमा आउने गरेको डा रायको भनाइ छ । स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये यहाँबाट २३ प्रकारका औषधि उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “अरु औषधिको तुलनामा आयुर्वेद औषधिको ‘साइड इफेक्ट’ कम हुन्छ, चेतनाको वृद्धिका कारण आयुर्वेद्ध औषधि प्रयोग गर्ने बढेका छन्, सरकारले पनि यसलाई प्राथमिकता दिएको छ ।” जिल्लाको बडिगाड, ताराखोला र बरेङ गाउँपालिकामा समेत नागरिक आरोग्य केन्द्र स्थापना गरी सेवा उपलब्ध गराइँदै आएको छ ।

विराटनगरको गुरुकुलमा नाच्दैछन् ‘राजा’ र ‘साँढे’

विराटनगर । विराटनगर हाटखोला स्थित सुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा ‘साँढे’ नाटक मञ्चन भइरहेको छ । गत सोमबारदेखि मञ्चन शुरु भएको नाटक फागुन १९ गतेसम्म दैनिक साँझ ५ः३० बजे मञ्चन भइरहेको छ ।

साहित्यकार भिमनीधि तिवारीद्धारा लिखित उक्त नाटकको निर्देशन अशोक गौतमले गरेका हुन् । कक्षा १२ को अनिवार्य अंग्रेजीको विषयसूचीमा समावेश उक्त नाटकमा भरत कार्की, विकास पराजुली, देवेन्द्र यादव, प्रज्वल दुलाल, सागर विश्वास, समिक्षा दाहाल, रविन चिमरिया, प्रदिप दाहाल, अजय सुवेदीले अभिनय गरेका छन् ।

यस्तै दिक्षा चौधरी, अमन धमला, सुगल अधिकारी, कञ्चन दास, निरज कार्कीले पनि अभिनय गरेका छन् । क्रुर शासक र सोझा जनताबीचको तनाव र संघर्षको कथा नाटकमा छ । नाटकमा राजाको प्रिय साँढे मर्दा प्रजामा फैलिएको त्रास र बाँच्न लगाएको जुक्तिको कथा छ । २ सय वर्षअघिको हाम्रो समाजको मनोविज्ञान बोल्दै गर्दा उक्त नाटकले विद्रोहको झल्को पनि दिन्छ ।

चीनको शान्ति योजनामा बेलारुसको समर्थन

बेलारुसले चीनको शान्ति योजनामा आफ्नो पूर्ण समर्थन रहेको जनाएको छ। राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्कोले चिनिया समकक्षी सी चिनपिङसँग युक्रेन युद्ध अन्त्यका लागि बेइजिङको प्रस्तावलाई बेलारुसले पूर्ण समर्थन गरेको बताएका हुन्।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर सहयोगी लुकासेन्कोले युक्रेनमा रुसको युद्धबारे धारणा पत्र प्रकाशित गरेपछि लुकासेन्को चीनको राजधानी बेइजिङको राजकीय भ्रमणमा छन्। रुसले आफ्नो युरोपेली छिमेकीमाथि गरेको आक्रमणको निन्दा गर्न असफल भएको भन्दै पश्चिमा देशले चीनको आलोचना गर्दै आएका छन्।

संयुक्त राज्य अमेरिका र नेटोले हालै रुसलाई हतियार स्थानान्तरण गर्नेबारे विचार गरिरहेको हुन सक्ने दाबीप्रति उग्र प्रतिक्रिया जनाएको छ । धारणा पत्रमा युक्रेनका सहयोगीहरूले शंका व्यक्त गरेका थिए भने रूसले उक्त प्रस्ताव स्वीकार गरेको थियो। तर द्वन्द्वको शान्तिपूर्ण समाधानका लागि अहिले ‘शर्त’ नभएको बताएको थियो।

लुकासेन्का बेलारुसले चीनसँग प्राविधिक सहयोग बढाउन चाहेको बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।  एजेन्सी

लुम्बिनी प्रदेश नयाँ सरकार गठन गर्ने तयारीमा आठ दल

दाङ ।  केन्द्रमा समीकरण फेरिएपछि त्यसको असर लुम्बिनी प्रदेशमा पनि देखिने भएको छ। राजधानी भालुबाङमा बुधबार आठ राजनीतिक दलको सरकार परिवर्तनबारे छलफल गरेको हो। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमत पार्टी,  जनता समाजवादी पार्टी, लोकतान्त्रीक समाजवादी पार्टी,  एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितको संयुक्त बैठक बसेको हो।

नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले नयाँ समीकरणको आधारमा सरकार गठनका लागि पहल गर्ने बताए। बैठकमा वर्तमान मन्त्री माओवादी केन्द्रका संसदीय दलका नेता तथा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, जनमत पार्टी संसदीय दलका नेता तथा सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्तालगायत सहभागी थिए।

वर्तमान सरकार अफल भएको दाबी गर्दै नयाँ सरकार बनाउने विषयमा छलफल गरेको लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता सन्तोष पाण्डेले जानकारी दिए। उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने र त्यसको एक महिना भित्र मुख्यमन्त्रीले पुनः विश्वासको मत लिँदा बहुमत नपुग्ने पनि जानकारी दिए।

पाण्डेले अबको दुई महिना भित्र प्रदेशमा नयाँ सरकार बन्ने र आफूहरू नयाँ समीकरणका साथ अघि बढ्ने जानकारी दिए।  बैठकमा राष्ट्रपति निर्वाचनलाई लक्ष्य गरी फागुन १९ गते हुन लागेको प्रदेश सांसदको संयुक्त प्रशिक्षणको बारेमा छलफल पनि गरिएको थियो ।

प्रदेशमा हाल नेकपा एमालेका मुख्यमन्त्री लिला गिरी  छन्। उनलाई माओवादी केन्द्र, नाउपा, राप्रपा, जसपा, जनमत, लोसपा, एकीकृत समाजवादी पार्टी र दुई जना स्वतन्त्र सांसद गरी ५७ जनाले विश्वासको मत दिएका थिए।  प्रदेशमा एमालेका २९, कांग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका चार, राप्रपाका चार, जसपा ,जनमत र लोसपाका तीन/तीन, एकीकृत समाजवादीका एक र दुई स्वतन्त्र सांसद छन्।

दक्षिण कोरियाको प्राथमिकतामा पर्यो नेपाल, २०२३ मा २२ हजार कामदार लैजाँदै

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत प्रत्येक महिना दुई हजार नेपाली दक्षिण कोरिया जाने भएका छन् ।  आकर्षक श्रम गन्तव्य देश बनेको दक्षिण कोरियाले यही फेब्रुअरीदेखि प्रत्येक महिना दुई हजार नेपाली युवा कोरिया लैजान थालेको हो ।

वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाका अनुसार सन् २०२३ मा २२ हजार नेपाली युवा ईपीएसमार्फत दक्षिण कोरिया पठाउने गरी काम भइरहेको छ ।

पछिल्लो पटक दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी)ले श्रमिक आपूर्तिबारे केही नीति परिवर्तन गर्दै जुन देशले छिटो श्रमिक पठाउन सक्छ त्यही देशलाई बढी कोटा दिने नीति लिएको छ । ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कुटुवालले दक्षिण कोरिया सरकारले तोकेका प्रक्रिया पूरा गरेर छिटो र छरितो रूपमा श्रमिक पठाउन ईपीएस शाखा सफल भएकाले यस पटक नेपालले बढी कोटा प्राप्त गरेको जानकारी दिए।

उनले भने, “नेपालबाट ईपीएसमार्फत कोरिया जाने श्रमिक छनोट प्रक्रिया पारदर्शी छ, एचआरडीले तोकेको मापदण्डअनुसार छिटो श्रमिक तयार गर्न सकेका छौँ । त्यसैले यो वर्ष दक्षिण कोरियाले नेपालबाट बढी श्रमिक लिन थालेको छ ।”

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

तत्काल पेट्रोलियम पदार्थको मूल्य नघट्ने

काठमाडौं । सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । नेपाल आयल निगमले आज विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको जनाएको हो ।विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।” नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत पाँच रुपैयाँ पाँच पैसाले सस्तो भएर आएको छ ।

यस्तै पेट्रोलमा एक रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा तीन रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसाले लागत घटेको छ ।

निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको लागत प्रतिसिलिन्डर तीन सय ३९ रुपैयाँले बढेको छ । पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ ।

निगमलाई गत आर्थिक वर्षको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व भने बाँकी नै रहेको निगमको भनाइ छ ।

‘कोशी प्रदेश’ नामाकरणको खुसीयालीमा आज (बिहीबार) सार्वजनिक बिदा

देवानगंज । कोशी प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिइएको छ। प्रदेशको नामकरण भएको खुशीयालीमा सार्वजनिक बिदा दिइएको हो। मन्त्रिपरिषद्को बुधबारको निर्णयअनुसार प्रदेशमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको प्रदेशका सचिव उमेश बस्नेतले बताए।

बुधबार नै प्रदेश सभाले दुई तिहाई बहुमतका साथ नाम टुंगो लगाएको थियो।