२१ फाल्गुन २०७९, आईतवार १२:०० – Page 5 – Nagarikabhiyan : National News

एक हजार २६ करोड संकलनसहित पठान किर्तिमानीमा

काठमाडौं । शाहरुख खान अभिनित पठानले १०२६ करोड संकलन गरेको छ । गत जनवरी २५ मा रिलजि भएको पठानले हिन्दी सिनेमाको इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर किर्तिमान कायम गरेको छ ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोड भन्दा माथीको किर्तिमानलाई तोडदै बलिउडको पठानले सबैभन्दा बढी रकम सकंलन गरेर किर्तिमान कायम गरेको हो ।सो फिल्ममा शाहरुखको अलबा, दिपिका पादुकोण र जोन अब्राहमलगायतको अभिनय रहेको छ ।बायकट बलिउड ट्रेन्डलाई परास्त गदै पठानले किर्तिमानी कलेक्सन कायम गरे पछि बलिउडमा उत्साह छाएको छ । दक्षिणी फिल्महरुले भारतमा कब्जा जमाउन थाले पछि चिन्तित बलिउडकर्मीलाई पठानकाे किर्तिमानी कलेक्सनसँगै साहस बढेको क्रिटिक्सहरुले टिप्पणी गर्न थालेका छन् ।

सप्तरीमा डिजे बन्द गर्न माग

सप्तरी । सप्तरीमा डिजे बन्द गर्न राजनीतिक दलका नेताहरूले सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई आग्रह गरेका छन् ।राजनीतिक दलका नेताहरूले डिजेले एक किसिमको आतंक मच्चाउँदै आएकोले तत्काल रोक्न आग्रह गरे ।

पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष उमेश कुमार यादवले डिजेका कारण स्वस्थ्य व्यक्ति पनि अस्वस्थ्य हुन थालेकोले डिजे अविलम्ब बन्द गर्न माग गरेका हुन् । उनले डिजेको साउन्डले मुटुको धड्कन बढाउँदै व्यक्तिको ज्यानसमेत लिन सक्ने भएकोले यसलाई तत्काल नर‍ोके दुर्घटना हुन सक्ने बताए ।नेपाली कांग्रेसका जिल्ला सचिव सनत कुमार मण्डलले केही दिन अगाडि मात्रै डिजे बजाउँदा महादेवा गाउँपालिकामा एक व्यक्तिको ज्यानै गएको जानकारी गराउँदै उनले पनि डिजे बन्द गर्न माग गरे । डिजे बन्द नभए धेरै व्यक्ति मुटुको रोगी हुन सक्ने भन्दै उनले अविलम्ब बन्द गराउन प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरे ।  प्रमुख जिल्ला अधिकारी थापाले डिजे बन्द गराउन प्रशासन तयार रहेको बताए । यसबारेमा छिट्टै निर्णय गर्ने जानकारी समेत दिए ।

ओखलढुङ्गामा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, ११ जना घाइते

काठमाडौं । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो।

दुर्घटनामा परी चिशङ्खुगढी–३ का ७० वर्षीय भक्तबहादुर थापा र ५२ वर्षीय मीनबहादुर श्रेष्ठको मृत्यु भएको ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपनिरीक्षक दीपक केसीले जानकारी दिए। दुर्घटनामा परी ११ घाइते भएका छन्।

तीमध्ये केहीलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको चिशङ्खुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले बताए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ।

पाँच जना यात्रु बोक्ने क्षमता भएको बोलेरोमा १३ सवार थिए। क्षमताभन्दा बढी यात्रु बोकेका कारण बालेरो अनियन्त्रित भइ दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाको विस्तृत जानकारी आउन बाँकी छ।

इङवा हाइड्रोपावरको आईपीओ निष्काशन

काठमाडौं । इङवा हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले दुई चरण गरेर आईपीओ निष्काशन गरेको हो ।

पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँअंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको हो ।स्थानीय बासिन्दाले नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लक्ष्मी बैंक, सिभिल बैंक, सप्तकोशी विकास बैंकका तोकिएका तोकेको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।त्यस्तै, दोस्राे चरणमा सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशत अर्थात् १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्याइएको छ ।

उक्त आईपीओ आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङको सिदिङ्गवा गाउपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको हो । यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यसमा चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् ।यता वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेसम्म आवेदन दिनुपर्नेछ  । रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ ।जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आईपीओमा नेपाल एसबिआई क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

शीर्ष नेताबीच सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई विश्वासको मत दिने सहमति जुटिसक्यो : नैनसिंह महर

काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने विषयमा केन्द्रमा शीर्ष नेतृत्त्वबीच सहमति जुटेको बताएका छन्। उनले नयाँ बानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै गठबन्धनका नेताहरूबीच मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने विषयमा सहमति जुटिसकेको बताएका हुन्।

केन्द्रमा पनि गठबन्धन छ। यसको प्रभाव तलसम्म पर्छ। गठबन्धन भएकाले पछि दलहरूबीच सत्ता आलोपालो होला। तत्काल कमलबहादुर शाहजीलाई विश्वासको मत दिन माओवादी सहमत भएको छ,’ उनले भने। शाहले विश्वासको मत नपाए सुदूरपश्चिममा राजनीतिक अस्थिरता निम्तिने र त्यो कुनै पनि दलका लागि हितकर नहुने महरको भनाइ छ।

‘अहिले निर्वाचन अघिकै गठबन्धन व्युतिएको छ। जनताको म्यान्डेट पनि त्यही थियो। हामीले चुनावको समयमा यही गठबन्धनले मुलुकमा समृद्धि ल्याउँछ भनेका थियौं। विकास विरोधीहरूले बीचमा खेल्न खोजे पनि असफल भए। फेरि पुरानै गठबन्धनसहित केही नयाँ शक्ति एक ठाउँमा उभिएका छौं। अब मिलेर जानुको विकल्प छैन,’ महर भन्छन्।

यसअघि माओवादीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत नदिने जनाउँदै आएको थियो। नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता खगराज भट्टले यथास्थितीमा विश्वासको मत दिने अवस्थामा आफूहरू नरहेको बताएका थिए। उनले आलोपालो सरकारका लागि कांग्रेससँग लिखित प्रतिबद्धता माग गर्दै आएका थिए। तर, केन्द्रको सहमति अनुसार माओवादी शाहलाई विश्वासको मत दिन तयार भएको छ।

आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ। सोही बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्। एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठूलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

एमालेका रावलले विश्वासको मत नपाएर राजीनामा दिएपछि ठूलो दलको हैसियतले नेपाली कांग्रेस संसदीय दलका नेता शाह संविधानको धारा १६८ को उपधारा ३ बमोजिम नियुक्त भएका थिए।

माघ २६ गते गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। विश्वासको मतका लागि सुदूरपश्चिममा २७ मत आवश्यक हुन्छ। गठबन्धनमा रहेका आठ दलमध्ये सुदूरपश्चिममा काँग्रेससँग १९, नागरिक उन्मुक्तिका ७, नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। माओवादीका ११ प्रदेश सभा सदस्य छन्। एक जना स्वतन्त्र सांसदको पनि शाह नेतृत्वको सरकारलाई नै साथ छ।

हिमपात भएपछि किसान खुसी

मनाङ I हिमाली जिल्ला मनाङमा ढिला गरी हिमपात हुँदा किसान खुशी भएका छन् ।   ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङले ढिलै गरी भएको हिमपातले आलु र करुको उत्पादन बढ्नसक्ने बताउनुभयो । “यहाँको मुख्यबाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । यस पटक ढिला गरी प¥यो, माटो राम्ररी नभिजे पनि सुक्खापन केही कम हुन्छ”, उहाँले भन्नुभयो, “जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनि नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन, उत्पादन घट्छ, तर पनि केही मात्रामा हिमपात हुँदा पनि हामी खुसी भएका छौँ ।”,

उहाँका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर पर्छ । “स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन”, उहाँले भन्नुभयो, “आवश्यक मात्रामा न हिमपात भएको छ, न त पानी नै परेको छ  ।”

जिल्लामा जेठमा फापर , चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । “पुसमा हिउँ परेको भए  जमिनमुनीसम्म पानीको मात्रा पुग्छ । अहिले समयमा हिउँ खेतीबाली के राम्रो होला खै रु तापक्रम बढेपछि परेको हिउँ पग्लिएर माथि–माथि नै सुक्छ । बारीमा लगाएको बालीको जरासम्म पुग्दैन”, किसान गुरुङले भन्नुभयो । कार्यवाहक प्रमुख जिल्ला अधिकारी शिशिर घिमिरेले जिल्लामा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात हुन सुरु भएको जानकारी दिनुभयो । यसबाट किसानलाई केही राहत मिलेको बताउनुभयो ।

“माथिल्लो मनाङमा केही बाक्लो हिमपात भएको छ भने तल्लो मनाङमा आंशिक मात्रामा हिमपात भएको छ”, उहाँले भन्नुभयो । बेमौसममा हिमपात बढ्ने देखिएको उहाँले बताउनुभयो । “मङ्सिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो । अहिले फागुनको तेस्रो साता मात्रै हिमपात हुन थालेको छ”, नासो गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले भन्नुभयो, “बल्ल मात्र हिमपातको सुरुआत भएको छ ।”

मनाङ ङिस्याङ–९ का वडाध्यक्ष च्योल्पा गुरुङले मौसममा हिमपात नभए पनि ढिला गरी हिमपात भइरहेको बताउनुभयो । “विगतमा यतिबेला हिउँले ढकमक्क ढाकिएको हुन्थ्यो, घरको हिउँ फाल्नमा व्यस्त हुन्थ्यौँ, अहिले बल्ला आंशिक रुपमा हिमपात भएको छ, यसपाला सुक्खापन छ । सुक्खापनले हिमालकै हिउँ पग्लिएका छन्”,  उहाँले भन्नुभयो ।

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात भएको तर आवश्यकताअनुसार नभएको बताउनुभयो । “डाँडाकाँडा र हिमालको फेदीतिर हिउँ बाक्लै देखिन्छन् तर बस्ती र खेतबारीसम्म आइपुग्ने गरी हिमपात भएको छैन”, उहाँले भन्नुभयो । उहाँका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फू गाउँमा आवश्यक मात्रामा हिमपात हुन सकेको छैन । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेसी झरिसकेका छन् । मङ्सिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदानपछि सबै बेसी झरे पनि हिमपात भने आवश्यक मात्रामा नपरेको उहाँले जानकारी दिनुभयो ।

विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो । तर यस पटक सोही अनुसारको व्यवस्था गरिए पनि ढिला गरी हिउँ परेको उहाँले बताउनुभयो । जिल्लामा गत वर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायजसो मङ्सिर अन्तिमदेखि मात्र हिमपात हुने गर्दछ ।

चिसो र हिमपात छल्न मनाङवासी कात्तिक अन्तिम र मङ्सिर पहिलो साता बेसी झर्ने गर्दछन् । उनीहरू काठमाडौँ, पोखरा, बेँसीसहरलगायत स्थानतर्फ जाने गर्दछन् । यस पटक भने उनीहरू गाउँघर फर्किने समयमा हिमपातको सुरुआत भएको छ । रासस

सत्ता साझेदारको बैठक ४ बजे बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता साझेदार दलका बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा अपरान्ह ४ बजे सो बैठक बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

फागुन २५ गते हुन गईरहेको राष्ट्रपति निर्वाचन र मन्त्रीमण्डल विस्तार लगायतका बिषयमा छलफल हुने बुझिएको छ।

सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ।

आज सुनको मूल्य प्रति तोला ३ सयले बढेर १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। शुक्रबार सुनको मूल्य १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो। महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

चट्याङबाट सुरक्षित हुन अर्थिङ टावर निर्माण

लमजुङ । लमजुङको बेसीसहर नगरपालिका–३ गाउँसहर क्षेत्रको थुम्काडाँडा बस्तीमा अर्थिङ टावर निर्माण गरिएको छ ।

उक्त क्षेत्र चट्याङको उच्च जोखिम भएकाले जनधनको सुरक्षा गर्न गाउँमा अर्थिङ टावर राखेर सुरक्षित बनाइएको स्थानीय अजय मजाकोटीले बताए । गाउँको ६ ठाउँमा चट्याङको शक्ति नष्ट गर्ने अर्थिङ टावर राखेर बस्तीलाई चट्याङबाट सुरक्षित बनाइएको स्थानीय देवी श्रेष्ठले बताइन।

सुखानी दिवस सहिद परिवारको घरमा मनाउँदै एमाले

विराटनगर । नेकपा एमाले फिदिमले सुखानी हत्याकाण्डको सम्झनामा सुखानी  दिवस यस पटक सहिद परिवारका घरमा गएर मनाउने निर्णय गरेको छ ।

पञ्चायती दमनको विरुद्ध मोर्चा बन्दी गरेको आरोपमा पक्राउ परेका पाँच जना कम्युनिष्ट नेताहरूलाई झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने बहानामा २०२९ फागुन २१ मा सुखानीको जङ्गलमा लगेर गोली हानि हत्या गरिएको थियो ।

तत्कालीन प्रशासनले नेत्र घिमिरे, कृष्ण कुइकेल, वीरेन राजवंशी, नारायण श्रेष्ठ र रामनाथ दाहाललाई हत्या गरिएको सम्झनामा एमाले फागुन २१ लाई सुखानी दिवसको रूपमा मनाउँदै आएको छ ।

पार्टीले सञ्चालन गरेको मिसन ग्रास रुट अन्तरगत फिदिममा शुक्रवार भएको योजना बैठकले पार्टीले सञ्चालन गरेका अभियानका क्रममा सहिद भएका फिदिम नगरपालिका क्षेत्रका सहिद परिवारका घरमा गएर सुखानी दिवस मनाउने योजना बनाएको एमाले केन्द्रीय सदस्य अमृता सुब्बाले बताइन् ।

उनले सहिद परिवारको सुख दुख बुझ्न र पार्टीले बनाएको योजना सहिद परिवारसँग बाँड्न पार्टी सहिद परिवारको घरैमा जान लागेको बताइन् । सहिदको बलिदानले उपलब्धि भए पनि पार्टीले सहिद परिवारलाई बिर्सिएको आलोचना भइरहँदा ग्रास रुट अभियानले पार्टी सहिद परिवारसँगै भएको अनुभूति दिलाउने उनले बताइन् ।
बैठकले  बनाएको प्रदेश कमिटी सदस्य मेघराज घिमिरे, जिल्ला कमिटी सचिव विष्णु सापकोटा र जय प्रसाद केरुङ संयोजक रहने तीन वटा कमिटी समेत गठन गरेको छ । कमिटीले पालिकाका सबै वडामा गएर सङ्गठन विस्तार गर्ने छ । बैठकले जन वर्गीय सङ्गठनको भेला, गठन र  पूर्नगठन गर्ने छ । यस्तै अभियान अन्तरगत प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने छ ।

अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुई महिला सम्मानित

विराटनगर । अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुई महिला सम्मानित
विराटनगर । ११३  औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा दुई महिला सम्मानित भएका छन् । उक्त अवसरमा राजनीति र पत्रकारीताको माध्यमबाट  समाजमा योगदान दिने दुई महिला सम्मानित भएका हुन् । सम्मानित हुनेहरूमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङनाम र पत्रकार चिना थापा रहेका छन् ।

पेशागत महासंघ जिल्ला कार्य समिति मोरङ र नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङ तथा महिला विभागले शुक्रबार एक कार्यक्रमको आयोजना गरी उनीहरूलाई सम्मान गरेको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष इङनामले महिलाहरूलाई अगाडि बढ्न निकै चुनौति रहेको बताइन् । उनले आफूले राजनीति गर्ने बेलामा बेलुका घरको काम गरेर दिनमा बाहिरको काम अनि पार्टीको काम पनि भ्याउने गरेको स्मरण गरिन् । उनले महिलाको भूमिका धेरै हुने भएकाले सबैलाई एकसाथ अगाडि बढाउन सहज नहुने बताइन् ।

‘घरको सबै काम भ्याएर राजनीति गर्थे, तर मैले म यहाँसम्म आइपुग्छु भनेर राजनीति गरेको थिइन्’, उनले भनिन्, ‘संगठनमा रहेर ईमान्दारीसाथ काम गर्यो भने लक्ष्यमा पुगिन्छ भन्ने आत्मविश्वास भने थियो’ । उनले हरेश नखाई मेहनत गर्न महिलाहरूलाई आग्रह समेत गरिन् ।

पेशागत महासंघ केन्द्रिय स्थायी कमिटी सदस्य अशेष लम्साल, अनेमसंघ केन्द्रिय सदस्य तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य सरस्वती खरेल, नेपाल निजामति कर्मचारी संगठन मोरङका अध्यक्ष ओमराज सुवेदी, राष्ट्रिय बाणिज्य बैंक कर्मचारी संगठन केन्द्रिय सह कोषाध्यक्ष लिना यादव लगायतले दिवसको महत्व र महिलाको योगदानको विषयमा चर्चा गरेका थिए ।
‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच विस्तार’ भन्ने मूल नाराका साथ मार्च ८ अर्थात फागुन २४ गते अन्तराष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइदैँ छ ।

अर्किड कलेजमा विज्ञान प्रर्दशनी तथा फूड फिस्टा सम्पन्न

विराटनगर । विराटनगर–१० मा रहेको अर्किड कलेजमा एक दिने विज्ञान प्रर्दशनी तथा फूड फिस्टा सम्पन्न भएको छ । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले एक दिने विज्ञान प्रर्दशनी आयोजना गरिएको कलेजका प्रिन्सिपल दिपेश बास्तोलाले जानकारी दिए ।

कलेजमा कक्षा ११ र १२ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरूले विज्ञान प्रर्दशनीमा विभिन्न १० वटा स्टल राखेका थिए । विद्यार्थीहरूले डीनए मोडेलदेखि लिएर ग्यास डिटेक्टर, डोजर, टेस्ला कोइल लगायत प्रर्दशनीमा राखेका थिए ।

कलेजमा कक्षा ११ र १२ मा होटेल मेनेजमेन्टमा अध्ययनरत विद्यार्थीहरूले आफुले शिकेको सीपको सदुपयोग गर्दै विभिन्न खानाका परिकारहरू  प्रर्दशनीमा राखेका थिए । सोही अवसरमा अर्किड कलेजका पूर्व विद्यार्थी गायक शुसान्त रेग्मीले गित गाउँदै विद्यार्थीलगायत शिक्षकहरूलाई नचाएका थिए । कार्यक्रममा कलेजले दोस्रो त्रैमासिक परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कृत तथा सम्मान गरेको थियो ।

विराटनगर महानगरपालिकाले नगर बस सञ्चालन गर्ने

विराटनगर । विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ। महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ।

महानगरकी कार्यवाहक प्रमुख शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायत टोलीले यसबारे जानकारी लिएको हो । महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ । लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागेको कार्कीले बताइन्।

‘कुन–कुन रुटमा कति साइज र क्षमताका बस सञ्चालन गर्न सहज हुन्छ भनेर जानकारी लिएका छौँ’, उनले भनिन्, ‘दुई–तीन महिनाभित्रै नगर बस सञ्चालनमा ल्याउँछौँ ।’ ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क आवागमनको व्यवस्था गर्न लागिएको छ। महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने कार्कीको भनाइ छ । बस वातानुकूलित सुविधासहितको हुने महानगरले जनाएको छ।

सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो। प्रारम्भिक चरणमा १९ सिटी बस सञ्चालनको तयारी छ। निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणम पुगेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए। नगर बस सञ्चालनका लागि प्रमुख नागेश कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई खरिद प्रक्रियासमेत अगाडि बढेको छ।

विराटनगर जेसीजले स्वर्ण जयन्ती सप्ताह मनाउँदै

विराटनगर । विराटनगर जेसीजले ५० बर्ष पुगेको उपलक्ष्यमा स्वर्ण जयन्ती जेसीज सप्ताह आयोजना गर्ने भएको छ । जेसीजले यहि फागुन २० गते शनिवारदेखि फागुन २७ गते शनिबारसम्म स्वर्ण जयन्ती जेसीज सप्ताह आयोजना गर्न लागेको हो ।

स्वर्ण जयन्ती जेसीज सप्ताहमा विभिन्न कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सप्ताहको पहिलो दिन ‘स्वास्थका लागि दौड’ नाराका साथ विराटनगर रन हुने छ । यसमा प्रथम हुनेले ५ हजार १ सय, दोस्रोले ३ हजार १ सय र तेस्रो हुनेले २ हजार १ सय पुरस्कार पाउने विराटनगर जेसीजका अध्यक्ष अभिनास थापाले जानकारी दिए ।

दौडमा विना शुल्क सहभागी हुन पाउने र सहभागीलाई टिसर्ट, जुस साथै खाजाको ब्यबस्था गरिएको उनले बताए । त्यस्तै दोस्रो दिन बाल माध्यमिक विद्यालयका बिद्यार्थीका लागि व्हाइट बोर्ड तथा शैक्षिक सामाग्री प्रदान गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए ।

तेस्रो दिन मानव सेवा आश्रममा मायाको भोजन तथा आँखा शिविर आयोजना गरिने साथै चौथो दिन रङ्गिन होली तथा विराटनगर जेसीजको ५० औँ स्थापना दिवस मनाउने कार्यक्रम रहेको उनले बताए । त्यस्तै पाचौँ दिन प्रभावकारी कार्यक्रम संचालन सम्बन्धि वर्कसप जेसीज भवनमा आयोजना गरिएको छ । छैठौँ दिन महानगरको सभाहलमा ‘अबको विराटनगर शीर्षकमा  छलफल गर्ने कार्यक्रम तय भएको उनले बताए ।

सातौँ दिन होटल मनास्लु इन बरगाछीमा स्वर्ण जयन्ती जेसीज सप्ताह समापन तथा जेसीज सम्मान कार्यक्रम गर्दै सप्ताह सम्पन्न गरिने कार्यक्रम संयोजक तुलसी निरौलाले जानकारी दिए । विराटनगर जेसीज ५० बर्ष पुगेको उपलक्ष्यमा आयोजना गर्न लागिएको कार्यक्रम जेसीजको मात्र नभएर समग्र विराटनगरबासीको लागि गर्वको कुरा भएको अध्यक्ष थापाले बताए । उनले सम्पुर्ण कार्यक्रममा सहभागी हुन विराटनगरबासीलाई अनुरोध समेत गरेका छन् ।

बेकेदाह्रीको ‘यो हो होली’ बोलको गीत सार्वजनिक

विराटनगर । गायक श्रीकृष्ण लुईटेल बोकेदाह्रीको होली गीत बजारमा ल्याएका छन् । उनले ‘यो हो होली’ बोलको गीत बजारमा ल्याएका हुन् । बोकेदाह्रीको स्वर, शब्द तथा संगीतमा रहेको सो गीतमा सुरज श्रेष्ठको एरेन्ज रहेको छ ।

सुमन तामाङको छायांकन रहेको सो गीतको भिडियोमा गायक बोकेदाह्रीका साथै, ज्याक, राजाबाबु, कृष्ण काफ्ले, दिपेश पोखरेल लगायको अभिनय रहेको छ । भिडियो हेमन्त तामाङले सम्पादन गरेका हुन् ।

बेकेदाह्रीका ‘ए बा किन्देउ न भट्भटे’, ‘बाँके बर्दिया’, ‘सररर इज्निने गाडीमा’, ‘मर्गेली हम’ लगायतका दर्जनौँ कमेडी तथा चेतनामुलक गीत लोकप्रिय छन् ।

बालकको हत्या गरेको आरोपमा दुई जना पक्राउ

विराटनगर । बालकको हत्या गरेको आरोपमा मोरङबाट दुई जना पक्राउ परेका छन् । सुनवर्सी नगरपालिका–१ का १४ बर्षीय बालकको हत्या गरेको आरोपमा स्थानीय ३५ बर्षीय विरेन्द्र पासवान र उनकी ३४ बर्षीया श्रीमती डल्ली पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

प्ररीका अनुसार डिल्ली बहादुर माझीको छोरा विशाल माझी फागुन ११ गते बेलुका घरबाट चोक तिर घुम्न निक्लिएका थिए । तर उनी फर्किएर नआएछि खोजतलास थालिएको थियो ।

फागुन १७ गते प्रहरीले बालकको हत्या गरी स्थानिय पोखरीको डिलमा गाडेको भन्ने सुचना पाए लगत्तै इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलील उत्खनन् गर्दा बालकको शब फेला परेको थियो  ।

बालकको हत्या गरी गाडेको अवस्थामा शव फेला परेसँगै घटनाको अनुसन्धानको क्रममा दुईजना पक्राउ परेका हुन्  । बालक हत्याको आरोपमा पक्राउ परेका उनिहरूविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।