२१ फाल्गुन २०७९, आईतवार १५:०५ – Page 4 – Nagarikabhiyan : National News

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले मागे विश्वासको मत

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत मागेका छन् । मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशसभामा आइतबार अपरान्ह विश्वासको मत मागेका हुन् ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा भैरवकुण्ड

सिन्धुपाल्चोक।  यहाँको प्रख्यात धार्मिक तथा पर्यटकीयस्थल भैरवकुण्ड अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ। समुन्द्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको भैरवकुण्डमा जनैपूर्णिमाका दिन मेला लाग्ने भए पनि अहिले बाह्रै महिना पर्यटक पुग्ने गरेका छन्। त्यसले गर्दा यहाँको चहलपहल बढेको छ।

भोटेकोसी गाउँपालिका–३ मा अवस्थित भैरवकुण्डको दर्शन गरेका मनले चिताएका कुरा पूरा हुने जनविश्वास रहेको छ। भैरवकुण्ड पर्यटक पदमार्गका लागि निकै आकर्षक ठाँउ हो। कुण्डबाट देखिने हिमशृङ्खलाको मनमोहक दृश्यले जो कोहीलाई रोमाञ्चित बनाउँछ । अहिले स्वदेशी तथा विदेशी पर्यटक भैरवकुण्ड पुग्ने गरेका स्थानीय देवबहादुर खड्काले बताए। सातामा सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेको उनले बताए।

बिदाको समयमा हिँउ खेल्नलगायत मनोरञ्जनका लागि यहाँ अहिले पर्यटक पुग्ने गरेका छन्। ‘आइस’ बनेको ताल, त्यहाँबाट देखिने विभिन्न हिमशृङ्खलाको मनोमोहक दृष्य अवलोकन गर्न पाइने भएकाले भैरवकुण्ड पर्यटकको रोजाइमा परेको काठमाडौँ हाइकिङ ग्रुपका संयोजक अनिरुद्र आचार्य बताउँछन्।

अहिले हिउँदको समयमा सवारीसाधनमा डाँकलाङ, लिस्ति हुँदै चोकरमोकरसम्म पुग्न सकिन्छ। भैरवकुण्ड जाने बाटैमा पर्ने प्रसिद्ध लिस्तिमाइको दर्शन गर्दै जाने पर्यटकको सङ्ख्या बढेपछि अहिले यहाँका होटल व्यवसायी, यातायात व्यवसायीदेखि स्थानीय खुसी छन्।

सवारी चालक विशाल माझी पर्यटक बढेपछि आफ्नोलगायत होटलको आम्दानी बढेको बताउँछन्। सडक सुधार गर्नसके अझै पर्यटक बढ्ने उनको विश्वास छ। सिन्धुपाल्चोकमा एक सयभन्दा धेरै कुण्ड तथा ताल रहेका छन्।

काठमाडौँबाट नजिकै भएकाले पनि यहाँ रहेका धार्मिक तथा पर्यटकीयस्थलमा पर्यटक पुग्ने गरेका हुन्छन्। धार्मिक, आध्यात्मिक र प्राकृतिक हिसाबले रमणीय तथा सुन्दर भैरवकुण्ड पर्यटकको मनोकाङ्क्षा पूरा गर्ने उत्कृष्ट गन्तव्य बनेको सगरमाथा आरोही माया गुरुङको भनाइ छ।

सिन्धुपाल्चोक पर्यटनको प्रशस्तै सम्भावना बोकेको जिल्ला हो। यहाँका अधिकांश स्थानीय तहले पर्यटन, कृषि, उद्योग र जलाधारलाई मूल नारा बनाएर काम गरिरहेका पाइन्छ। पर्यटन प्रवद्र्धनमार्फत स्थानीयको आयस्तर उकास्नका लागि टेवा पुग्ने सरोकारवालाको भनाइ छ।रासस

अमेरिकन बिमानमा सहयात्री माथी पिशाव फेर्ने भारतीय नियन्त्रणमा

काठमाडाै‌ । न्युयोर्कवाट नयाँ दिल्लीका लागि उडान भरेकाे बिमान भित्रै एक भारतीय यात्रुले पिशाव फेरिदिएका छन ।शनिवार राती दिल्ली एअरपोर्टमा अवतरण गरेको एए २९९ को उडानकाे बिमानमा भारतीय बिद्यार्थीले आफनै सहयात्रीको शरिरमा पिशाब फेरिदिएका हुन् ।

मादक पदार्थ सेवन गरेका ती बिद्यार्थीले आफनै सहयात्रीलाई पिशाब फेरिदिए पछि दिल्ली एअरपोर्टमा बिमान अवतरण हुने बितिक्कै उनलाई नियन्त्रणमा लिईएको छ । भारतीय नागररिक उडडयन महानिर्देशनालय (डिजिसि)का अनुसार सो घटना पछि एअरलाईन्सका चालक सदस्य दलले बिमानलाई सहजै दिल्ली एअरपाेर्ट  सहजै अवतरण गराईएको जनाएको छ ।

अमेरिकी एअरलाईन्सले एक बिज्ञप्ति जारी गरी बिमान भित्र दुब्यर्बहारको घटना भए पनि पाईलटहरुले सहजै स्थीति नियन्त्रणमा लिन सकिएको जनाउँदै बिमानका अन्य यात्रुहरुलाई कुनै समस्या नपरेको जनाएको छ ।

दिल्ली एअरपोर्टका डिसीपी देबसकुमार महलाकाका अनुसार दिल्ली प्रहरीले उनलाई पक्राउ गरी हिरासतमा लिएको छ । ‘बिमान भित्रै मादक पदार्थ सेवन गरे सहयात्री माथी  गर्ने ती बिद्यार्थीलाई दिल्ली एअरपोर्टवाट नियन्त्रणमा लिइसकेको छ’ उनले भने । पक्राउ परेका उनलाई भारतीय नागरिक उडडयन महानिर्देशनालयले केही समयका लागि उनलाई हवाई सवारीमा प्रतिबन्ध लगाएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार  बिमानस्थलमा हर्कत गर्ने बिद्यार्थीको नाम भने उनको करिअरलाई ख्याल गरेर गोप्य राखिएको भारतीय प्रहरीले जनाएको छ।यसअघि पनि एक भारतीयले बिमान भित्र यस्तै हर्कत गरेको घटना सार्वजनिक भएको थियो ।

लागुऔषधसहित ६ जना पक्राउ

काठमाडाै‌ं । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिका-११ बिपि चोकबाट अवैध लागऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २१ ग्राम ५ सय मिलिग्राम सहित भारत नानपारा बस्ने ४५ वर्षीय महोमद आदिललाई  प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागुऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।बाँकेकै कोहलपुर नगरपालिका-१० बाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्रामसहित नेपालगंज उपमहानगरपालिका-१४ बस्ने २२ वर्षीय भूपेन्द्र पाठकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.४ प ८२७८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकल चालक पाठकलाई पक्राउ गरेको हो ।

झापाकाे अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कस्थित  पशुपतिनगर होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-९ बस्ने २१ वर्षीय प्रेम सागर सावा, मेचिनगर नगरपालिका-१२ बस्ने २० वर्षीय मनिस बराल र मोरङ मिक्लाजुङ गाउँपालिका-४ बस्ने १९ वर्षीया तिलु राई रहेका छन् । अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।कैलालीकाे गोदावरी नगरपालिका-१ तरकारी बजार नजिक किराना पसल संचालन गरी बस्ने ५४ वर्षीया कुसुम भट्टलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ३१ ग्रामसहितप्रहरीले पक्राउ गरेको छ । उनले लागुऔषध बिक्री गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

पूर्वमाओवादीहरु एकजुट हुन प्रचण्डको आह्वान

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वमाओवादीहरु एकजुट हुनुपर्ने बताएका छन् । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित ‘जनयुद्धका सहिद तथा बेपत्ता योद्धाका योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीहरु एकजुट भएर सडकमा लाखौँ जनता उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरु कमजोर हुने दाबी गरे । डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लवसहितका पूर्वमाओवादी नेताहरुलाई एकजुट हुन आह्वान गर्दै प्रचण्डले भने, एकचोटी माओवादीहरू एकै ठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरू धेरै कमजोर छन्। माओवादीले फेरि एक पटक विजयको नयाँ यात्रा सुरु गर्न सक्छ।’

माओवादी शक्तिहरू एकताबद्ध हुँदाको प्रभाव बुझेर   प्रतिक्रियावादीहरुले विभिन्न भ्रम छरेर घेरा हाल्ने षड्यन्त्र गरिरहेको भन्दै अध्यक्ष प्रचण्डले माओवादीहरु एकजुट भएर फेरि एक पटक विजयको नयाँ यात्रा सुरु सकिने दाबी गरे ।

नेपालले जित्यो तेस्रो अन्तर्राष्ट्रिय कराँतेमा २ स्वर्ण, २ रजत

काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालले २ स्वर्ण र २ रजत पदक जीत्न सफल भएको छ । श्रीलंकाको रतनपुरा इन्डोर स्टेडियमा भएको प्रतियोगितामा नेपालले दुई स्वर्ण र २ रजत पदकमा जीत हासिल गर्न सफल भएको हो ।

९ वर्ष उमेर समूहमा सन्यम कँडेलले र ७५ केजी तौल समूहमा कमरुद्धिन अलिले स्वर्ण पदक जित्न सफल भएका हुन भने पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ भने रजत पदकमा चित्त बुझाउनु परयो ।सो खेलमा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान श्रीलंकासहित ५ राष्ट्रको सहभागिता थियो । प्रतियोगितामा नेपालवाट भने  ५जना खेलाडीका सहभागीता रहेको थियो ।

नेपाल कराँते महासंघका महासचिव एवं दक्षिण एसियाली वादोरियो कराँते महासंघका अध्यक्ष हरिशरण केसीको नेतृत्वमा टिम व्यवस्थापक जेनिश पन्थीसहितको टोली ५ खेलाडी लिएर श्रीलंका पुगेका थिए ।

प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्ने आदेश शान्ति सम्झौता विपरीत : माओवादी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्नु भनी सर्वोच्च अदालतले दिएको आदेश विस्तृत शान्ति सम्झौता विपरीत भएको नेकपा माओवादी केन्द्रले ठहर गरेको छ।

महासचिव देव गुरुङले एक विज्ञप्ति जारी गर्दै दश वर्षे जनयुद्धको क्रममा भएका घटनाहरूको सम्बन्धमा वृहद् शान्ति सम्झौताले निर्देशित गरे बमोजिम सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोग गठित भई उक्त आयोगहरूले सङ्क्रमणकालीन न्यायिक कारबाही सम्पन्न गर्न लामो समयदेखि क्रियाशील भइरहेको परिप्रेक्ष्यमा उक्त आयोगको अधिकार क्षेत्र भित्रका विषयहरूलाई प्रतिकूल असर पर्ने गरी कुनै पनि अधिकार क्षेत्र ग्रहण गर्न, कारबाही अगाडी बढाउन र सो सम्बन्धमा कुनै निर्णय गर्न नमिल्ने स्मरण गराउँदै सचेतसमेत गरेका हुन्।

ज्ञानेन्द्र राज आरणलेप्रचण्ड उपर दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भनी दरपिठ गरेको आदेशलाई अदालतका न्यायाधीश ईश्वर खतिवडा र न्यायाधीश हरि फुयाँलको संयुक्त इजलासबाट बदर गरी रिट दर्ता गर्नु भनी रजिष्ट्रारको नाममा शुक्रबार आदेश जारी भएको थियो।

नेपाल एयरलाइन्सले दक्षिण कोरिया सिधा उडान गर्ने

काठमाडाैँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले दक्षिण कोरियामा सिधा उडान गर्ने भएको छ । दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेशल एयरपोर्टमा उडान गर्नका लागि प्रक्रिया अगाडि बढाइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए ।

उक्त प्रयोजनका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इञ्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरिएको छ । समितिमा निगमको सेफ्टी, इञ्जिनियरिङलगायत विभागको प्रतिनिधित्व छ ।

दक्षिण कोरियामा सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्नका लागि समिति गठन गरिएको हो । “उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ, सोहीको तयारीका लागि निगमको तर्फबाट समिति गठन गरी काम सुरु गर्न लागिएको छ”, निगमका प्रवक्ता खड्काले भने ।

निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तारको योजनाअनुरुप दक्षिण कोरिया सिधा उडानको तयारी सुरु गरेको हो । राष्ट्रिय ध्वजावाहक निगमको उपस्थिति र सिधा उडान सुरु गरेपछि बजार नियन्त्रण भई हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजाबाहकको दायित्व पनि पूरा हुने निगमको विश्वास छ ।

निगमले हाल भारतका तीन गन्तव्य आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ । निगमसँग दुई थान न्यारोबडी ए–३२० र दुई थान वाइडबडी ए–३३० जहाज छन् ।

बुटवलबाट दुई केबलकार सञ्चालनको तयारी

बुटवल I पाल्पाको ऐतिहासिक तथा पुरातात्त्विक क्षेत्र वसन्तपुर र नुवाकोट जोड्ने गरी बुटवलमा दुई केबलकार निर्माण भइरहेका छन् । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माण गर्न थालिएको हो ।

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर र वडा नं २ को नुवाकोटगढी जोड्न तिनाउ नदीको वारिपारी बेस स्टेशन राखेर बुटवलमा लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार निर्माणको काम तीव्र पारिएको छ । तिनाउ नदीको पूर्वमा सिद्धार्थ राजमार्गसँगै बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार स्टेशन रहेको लुम्बिनी केबलकारको टप स्टेशन पाल्पाको तिनाउ–३ वसन्तपुरमा राखिने छ ।

वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित त्यसको आधारका रुपमा केबलकार निर्माण गर्न लागिएको लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बताउनुहुन्छ । यसले पाल्पाको वसन्तपुर क्षेत्रमात्र नभएर त्यसको आधार स्टेशन रहेको बुटवल र यस आसपासको पर्यटन विकाससँगै आर्थिक गतिविधिलाई  चलायमान बनाउने उहाँ बताउनुहुन्छ । उक्त केबलकारको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गर्नुभएको थियो ।

रु साढे तीन अर्ब बढी लगानीमा निर्माण भइरहेको लुम्बिनी केबलकार आगामी वर्ष वैशाखसम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ । वसन्तपुरमा रहेको दुर्गा मन्दिरलाई भारतको कामाक्ष मन्दिरको आकृतिमा निर्माण गर्न लागिएको छ । यहाँ आउने पर्यटकलाई बसाउनका लागि रिसोर्ट, पाँच तारे होटल र उद्यानसहितका संरचना बनाउने काम भइरहेको छ । पाल्पाको वसन्तपुर डाँडामा एक सय ५० कोठासहितको पाँचतारे होटल बन्दै छ ।

लुम्बिनी केबलकारमा २५ वटा गोण्डुला (बाकस) रहनेछन् । एउटा गोण्डुलामा आठ यात्रु चढ्न मिल्छ । यसमा प्रतिघण्टा छ सय यात्रु आवतजावत गर्न सक्ने छन् । यो केबलकार नियमितरुपमा सञ्चालनमा आए दैनिक पाँच हजार व्यक्तिलाई ओहोरोदोहोरो गराउन सकिने अध्यक्ष ढकाल बताउनुहुन्छ ।

त्यस्तै तिनाउ नदी पश्चिममा पूर्वपश्चिम राजमार्गसँगै मणिमुकुन्द सेन उद्यान (फूलबारी)को उत्तरतर्फको शिखर देउराली वनमा आधार स्टेशन रहेको सिद्धार्थ केबलकारले पाल्पाको ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको नुवाकोटलाई जोड्नेछ । यो केबलकारको पनि आधार स्टेशन शिखर देउराली र पाल्पाको तिनाउँ गाउँपालिका–२ नुवाकोटमा पूर्वाधार निर्माणको कामलाई तीव्र बनाइएको छ । सिद्धार्थ केबलकारले सुविधा सम्पन्न रिसोर्ट बनाइरहेको छ ।

त्यस्तै यहाँ बसपार्क बाल उद्यान, पर्यटन सूचना केन्द्र, शान्ति उद्यान, गुम्बा, भ्यूटावर, स्वास्थ्य केन्द्रलगायत संरचना बन्नेछन् । यो केबलकारको तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७७ फागुन ९ गते शिलान्यास गर्नुभएको थियो । एक दशमलव ९४ किमी लम्बाइको सिद्धार्थ केबलकारमा शिखर देउराली वनमा रहेको बेस स्टेशनबाट नुवाकोट डाँडामा आठ मिनेटमा पुग्न सकिनेछ । नियमितरुपमा केबलकार सञ्चालनमा आउँदा दैनिक पाँच हजार यात्रु ओहरदोहर गर्न सक्ने सिद्धार्थ केबलकारका अध्यक्ष ई राजेन्द्रसिंह गुरुङले बताउनुभयो । उहाँका अनुसार यो केबलकार अबको करिब सात महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।

केबलकार निर्माणसँगै रुपन्देहीले दुई ठूला पर्यटकीय गन्तव्य पाउन लागेको उल्लेख गर्दै बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले केबलकार सञ्चालनमा आए यहाँको आर्थिक गतिविधि थप चलायमान हुने विश्वास व्यक्त गर्नुभयो ।

गर्मी याममा बुटवल तथा यस आसपासको तराईको अधिकतम तापक्रम ४०÷४२ डिग्री सेल्सियस हुन्छ भने त्यही समयमा पाल्पाको ती स्थानको अधिकतम तापक्रम २० देखि ३० डिग्री सेल्सियस रहने भएकाले केबलकारले तराईको गर्मी छल्न मद्दत पुग्ने छ ।  रासस

विद्युतीकरणको काम अलपत्र, ठेकेदार सम्पर्कविहीन

खोटाङ । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण खोटाङको खोटेहाङ गाउँपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा विद्युतीकरणको काम अलपत्र परेको छ । ठेकेदार कम्पनी अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभी, काठ्माडौंको लापरवाहीका कारण खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरी र खोटेहाङ गाउँपालिका–२ वाप्लुखा तथा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीको ग्रामिण विद्युतीकरणको काम अलपत्र परेको हो ।

सम्झौताअनुसार गत असारमै विद्युतीकरणको काम सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीले नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रबाट बुझेर लगेको तार, पोल, ट्रान्सफर्मर लगायतका उपकरण निर्माणस्थलमा असरल्ल पारेको छ । खोटेहाङ गाउँपालिकाले विनियोजन गरेको दुई करोडमा विद्युतीकरण गरिएको वडाका बाँकी रहेको ठाउँमा प्राधिकरणमार्फत विद्युतीकरणको काम अघि बढाइएको थियो ।

अजिमा–मरिन–चन्द्रकुमारी थापा जेभीले २०७९ असार २० गतेसम्ममा विद्युतीकरणको काम सक्नेगरी २०७८ फागुन १६ गते एक करोड १० लाखमा विद्युतीकरणको ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले खोटेहाङ गाउँपालिकामा ७० लाख र दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ४० लाखमा विद्युतीकरणको काम गर्नेगरी ठेक्का सम्झौता गरेको हो । तर सो कम्पनीले २०७९ असार १ गते ४१ हजार ८५८ रुपैयाँ बराबरको पोल, तार, ट्रान्सर्फर लगायतका सामान बुझेर लगे यता अन्य उपकरण नलगेको नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख ईन्जिनियर बिजयराज रेग्मीले बताए ।

लिकुवापोखरीमा लगिएका पोल, तार, ट्रान्सफर्मर लगायतका उपकरणहरु अलपत्र पारिएका छन् । डेढ वर्षदेखि हङमा र पिक्लाममा पोल र तार छरपष्ट राखिएको स्थानीय राजकुमार राईले बताए । अँधेरी र खैलामा डोजरले अलपत्र तार चुँडाएको छ । ‘हङ्मामा तार छरपष्ट छ । पिक्लाममा पोल लडिरहेको छ,’ राईले भने, ‘डेढ वर्षअघि बल्नुपर्ने बत्ती अझै बलेको छैन । यो विद्युतको लापरवाही हो । ठेकेदारको बदमासी हो ।’

लिकुवापोखरीका पुर्ववडाध्यक्ष खड्ग कार्कीका अनुसार निर्माण व्यवसायी दिनेश थापाले ४९ वटा पोल पिक्लाम र बेगुवामा बेवारिसे अवस्थामा राखेको छ । ढुवानीको जिम्मा लिएका भविन कार्कीले हालसम्म भुक्तानी पाएका छैनन् । विद्युतीकरणका लागि आवश्यक उपकरण नेपाल विद्युत प्राधिकरणले उपलव्ध गराइरहेकोछ । निर्माण कम्पनीले उपलव्ध सामग्री ढुवानी गरेर एचटि तथा एलटि लाईनको पोल गाड्ने, तार टाँग्ने, ट्रान्सफर्मर इन्स्टलेसन गर्ने लगायतका काम गर्नुपर्ने सम्झैता छ ।

ठेकेदार थापाले बाँकी सामान बुझ्ने, ढुवानी गर्ने तथा कार्य सम्पन्न गर्न कुनै चासो नदेखाएको प्रमुख रेग्मीले बताए । विद्युतीकरणका लागि आवश्यक एबिसि केवल, डिस्क, पिन, तार, च्यानल हार्डवेर स्टोरमा रहेको दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

ठेकेदार सम्पर्कविहीन 

विद्युतीकरणको ठेक्का लिएको निर्माण कम्पनीले सम्झौता मितिभित्र काम सम्पन्न नगरेपछि २०७९ पुस ३० गतेसम्मका लागि म्याद थप गरिएको थियो । थप भएको म्याद पनि कामै नगरी गुज्रिएपछि ठेकेदार कम्पनी पुःन म्याद थपका लागि सम्पर्कमा नआएको प्राधिकरणको दिक्तेल वितरण केन्द्रले जनाएको छ ।

विद्युतीकरणको काम अलपत्र पारेपछि २०७९ भदौ ७ गते ताकेता पत्र पठाएको दिक्तेल वितरण केन्द्रले सम्झौता उल्लंघनका विषयमा २०७९ मंसिर १८ गते स्पष्टीकरण माग गरेको थियो । जवाफमा २०७९ मंसिर २५ गते स्पष्टीकरण दर्ता गरेको ठेकेदारले २०७९ माघ ३० गतेसम्ममा सबै काम सक्ने मञ्जुरनामा गरेका थिए । तर, निर्माण व्यवसायी थापाले फोन नै उठाउन छाडेको लिकुवापोखरीका वडाध्यक्ष धनबहादुर महाराजीले बताए । ‘अहिलेसम्म ८० वटा पोल झारेका छन् । आधा क्वायल तार छरपष्ट परेको देखिन्छ,’ महाराजीले भने, ‘पुस १५ गते फोन गर्दा पाँच दिनपछि आएर काम गर्छु भनेको ठेकेदारले अहिले फोन उठाउन छाडेको छ ।’

विद्युतीकरण अलपत्र हुँदा मिटरबक्स पनि थन्किए 

विद्युतीकरणको काम अलपत्र हुँदा अधिकांश सेवाग्राहीका मिटरबक्स पनि थन्किएका छन् । लिकुवापोखरीमा प्रतिघर चार हजारका दरले रकम उठाएर लगिएको मिटर बक्स हालसम्म राखेकै ठाउँमा थन्किएका छन् । लिकुवापोखरीका सेवाग्राहीबाट रकम उठाएर विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्राविधिक शिव श्रेष्ठले २०७७ भदौमा दिक्तेलबाट ३० सेवाग्राहीको मिटर बक्स लगेर पुर्ववडाध्यक्ष कार्कीको घरमा थुपारेका छन् । लालपुर्जा नभएका सेवाग्राहीबाट श्रेष्ठले मिटर बक्स ल्याउनका लागि प्रतिपरिवार छ हजारका दरले रकम उठाएका थिए । श्रेष्ठले पैसा उठाएर मिटर बक्स खरिद गरेर गाउँमा लगिदिने ठेक्का लिएका हुन् ।

विद्युतीकरणको काम अलपत्र पर्दा र ऋणपान गरेर ल्याएको मिटर बक्स हलसम्म प्रयोगमा नआउँदा सेवाग्राही आक्रोशित छन् । विद्युतीकरणका क्रममा मिटर बक्स र घरसम्म पुग्ने तार स्वयं ग्राहकले खरिद गर्नुपर्ने हुन्छ । विपक्षीले राजनीतिक फाइदाका लागि पुर्ववडाध्यक्ष कार्कीले मिटर बक्स आफ्नो घरमा राखेको आरोप लगाउँछन् । कार्कीले भने विद्युतीकरण सकिएपछि लैजानेगरी आफ्नो घरमा मिटर बक्स स्टोर गरिएको बताउँछन् ।

कार्य सम्पादन जमानत जफतका लागि बैंकलाई पत्राचार 

खोटेहाङ र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको विद्युत विस्तारको काम अलपत्र पारेको भन्दै नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रले अजिमा–मरिन–चन्द्रकुमारी जेभीको कार्य सम्पादन जमानत जफतका लागि बैंकलाई पत्र पठाएको छ । बोलपत्रदाताले समयमा काम नगरेको हुँदा ठेक्का रद्ध गरिएको उल्लेख गर्दै दिक्तेल वितरण केन्द्रले कृषि विकास बैंक लिमिटेड, स्वयम्भु, काठ्माडौंलाई वितरण केन्द्रको नाममा जारी गरिएको पर्फमेन्स ग्यारेन्टी जफत गराएर वितरण केन्द्रको धरौटी खातामा जम्मा गर्न पत्राचार गरेको हो । फागुन ८ गते पठाइएको पत्रमा निर्माण कम्पनीको तीन लाख १६ हजार रुपैयाँ पर्फमेन्स ग्यारेन्टी जफत गर्न भनिएको छ ।

बहिनीमाथि यौन हिंसा गर्ने दिदी पक्राउ, भिडियो बनाएर पुरुष साथीलाई पठाएको खुल्यो

भक्तपुर । आफ्नै नाबालिग बहिनीमाथि यौन हिंसा गरेको आरोपमा दिदी पक्राउ परेकी छन् । बहिनीसँग यौनजन्य गतिविधि गर्दै त्यसको भिडियोसमेत बनाएर पुरुष साथीलाई पठाएको आरोपमा महिललाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसर सूचना अधिकारी कुमारप्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार बहिनीसँंग यौनजन्य गतिविधि गरेर सोको भिडियो बनाएर आफ्नो पुरुष साथीलाई जिमेलमार्फत पठाएको खुल्न आएको छ । पक्राउ परेकी महिलामाथि थप अनुसन्धान गरिरहेको उनले बताए ।

यसअघि गत जेठ ६ गते इन्टरपोल्स क्राइम एगेष्ट चाइल्ड युनिटबाट बालिकालाई यौन दुरुपयोग गरेकोसम्बन्धी सूचना नेपाल प्रहरीको इन्टरपोल शाखाको प्राप्त भएको थियो ।प्रहरी प्रधान कार्यालय साइवर व्युरोबाट प्रारम्भिक अनुसन्धन भई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी परिसमा गत २० पुसमा  प्राप्त भई अनुसन्धान थालेको परिसले जनाएको छ ।

आन्तरिक ऋण उठाउन १५ अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैङ्क

काठमाडौं । आन्तरिक ऋण उठाउन नेपाल राष्ट्र बैङ्कले १५ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि दुई अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ ।

त्यस्तै ९१ दिन अवधिका लागि छ अर्ब चार करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल तथा १८२ दिन अवधिको सात अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने राष्ट्र बैङ्कले जनाएको छ । यसमध्ये ९१ दिन अवधिको पाँच अर्ब र १८२ दिन अवधिको सात अर्ब नयाँ रहेको छ ।

जारी ट्रेजरी बिल २८ दिनको चैत २१ गते परिपक्व हुनेछ । ९० दिन अवधिको जेठ २३ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको आउँदो भदौ १९ गते परिपक्व हुनेछ । यो ट्रेजरी बिल आज दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैङ्कले जनाएको छ । बोलकबोलमा बैङ्क तथा वित्तीय संस्था र सर्वसाधारण नागरिक पनि सहभागी हुन सक्ने राष्ट्र बैङ्कले जनाएको छ।

नाइजेरियामा अपहरणमा परेका १४ जनाको उद्धार

लागोस । नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको समाचारमा जनाइएको छ ।

सो राज्यमा यहाँका सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका थिए । बन्दक बनाएर राखिएको अवस्थामा उनीहरुलाई नाइजेरियाली सुरक्षा फौजले उनीहरुलाई उद्धार गरेको समाचारमा जनाइएको हो ।
कादुना क्षेत्रमा नाइजेरियाका बोको हराम आतंककारी समूहको प्रभाव रहेको बताइएको छ । ती १४ जनालाई पनि उनीहरुले नै अपहरण गरेर लगी बन्दक बनाएका प्रहरीको भनाइ छ ।

सो क्षेत्रमा नाइजेरियाली संयुक्त सुरक्षा फौजले केही महिनादेखि सशक्त कारबाही अघि बढाएको छ । त्यसै क्रममा उनीहरुलाई अपहरणमुक्त गरेको बताइएको छ ।

नाइजेरियाको कादुना राज्यका प्रहरी प्रमुखले सो कुराको जानकारी दिएका छन् । उनले ती १४ जनालाई कहिले उद्धार गरिएको हो भन्ने बारेमा भने जानकारी दिएका छैनन् । उनीहरुको उद्धारका क्रममा भएको सुरक्षा कारबाहीमा परेर एकजना अपहरणकारीको ज्यान गएको र अरु केही भागेका उनले जनाएका छन् । रासस/सिन्ह्वा

जनयुद्धका सहिद परिवारले बोलाए प्रचण्डसहित शीर्ष नेतालाई एउटै कार्यक्रममा

काठमाण्डौं। तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका परिवारका सन्ततिहरूले शीर्ष नेताहरू बोलाएर आज अन्तरक्रिया गर्ने भएका छन् । सहिद र बेपत्ता परिवारका सन्ततिहरूले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ सहित शीर्ष नेताहरूलाई बोलाएर कार्यक्रम गर्न लागेका हुन् ।

सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले प्रचण्डसहित सम्पूर्ण विभाजित माओवादी नेताहरूलाई बोलाएर अन्तरक्रिया गर्न लागेका हुन् । सहिद सप्ताहको अन्तिम दिन पारेर आज प्रज्ञा भवन कमलादीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको फाउन्डेसनका अध्यक्ष सन्दीप पुनले बताए । प्रधानमन्त्री प्रचण्ड सहित ६ पूर्व माओवादीका नेताहरूले आउन बचन दिएको पुनले बताए ।

‘तत्कालीन जनयुद्धमा सहिद तथा बेपत्ता पारिएका सबै सन्ततिहरूको नाममा संस्था बनाएका छौँ । जनयुद्धमा सहभागी भएका सबै शीर्ष नेताहरूलाई बोलाएको छ’ पुनले भने, ‘सबै शीर्ष नेताहरूलाई एउटै ठाउँमा बोलाएर सहिद तथा बेपत्ता पारिवाको तर्फबाट आफ्नो कुरा राख्ने तयारी गरेका छौँ ।’

कार्यक्रममा सहिद तथा बेपत्ता पारिएका परिवारको सपना पूरा गराउन घचघच्याइने पुनले बताए । सो कार्यक्रममा प्रचण्डसहित नेकपा ९क्रान्तिकारी माओवादी०का महासचिव मोहन वैद्य, नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराई, नेकपा महासचिव विप्लव, नेकपा बहुमतका अध्यक्ष धर्मेन्द्र बास्तोला, नेकपा समाजवादी माओवादीका अध्यक्ष कर्णजीत बुढालाई बोलाएको छ ।

अछाम र काभ्रेपलाञ्चोकमा भूकम्प

काठमाडौं । अछाम र काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर दुई भूकम्प गएको छ । आज बिहान आठ बजेर ३५ मिनेट जाँदा अछाम केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि बिहान आठ बजेर तीन मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।

अराजक र एकलौटी तवरले संगठन चलाउन दिँदैनौं : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अराजक र एकलौटी तवरले पार्टीका भ्रातृ संगठनहरुलाई चलाउन नदिने बताएका छन्। आइतबार नेपाल विद्यार्थी संघ संस्थापक पक्षबाट घाइते बनाइएका नेविसंघका पूर्वकोषाध्यक्ष शिव रिमाललाई भेट्न पुगेका नेता कोइरालाले उक्त कुरा बताएका हुन्।

स्टार हस्पिटल सानेपामा उपचार गराइरहेका रिमालको स्वास्थ्य लाभको कामना गर्दै कोइरालाले भने, ‘आफ्नै संगठन भित्र मारपिट हुनु दुखद कुरा हो। संगठनभित्र अराजकता बढ्यो। मारपिटका दोषी जो भए पनि कारबाहीको दायरामा ल्याउनुपर्छ। गुण्डागर्दी गर्ने छुट कसैलाई छैन। पार्टीमा रहेका जो कोही पनि अनुशासनको दायरामा बस्नैपर्छ।’

कोइरालाले आफू निकट विद्यार्थी नेताहरुलाई रत्तिभर पनि निराश नहुन र उच्च मनोबलका साथ स्ववियुको तयारीमा लाग्न निर्देशन दिए। उनले भने, ‘पार्टीमा सिरियस कुरा हुन्छ, अराजकता र एकलौटी तवरले संगठनलाई चलाउन दिइँदैन।’

नेविसंघका पूर्व कोषाध्यक्ष रिमाल, नेविसंघ त्रिविका पूर्वअध्यक्ष हरि आचार्यलाई अध्यक्ष दोजाङ शेर्पाको निर्देशनमा अराजक समूहले सांघातिक आक्रमण गरी घाइते बनाएको आरोप संस्थापन इतर पक्षले लगाएको छ।