सुनसरी । रामधुनी नगरपालिका–१ झुम्का बजारमा सिटी सफारीको ठक्करबाट गए राति एकजनाको मृत्यु भएको छ। रामधुनी–५ का ५९ वर्षीय भक्तबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ ह ३८७७ नम्बरको सिटी सफारीले पैदलयात्री कार्कीलाई ठक्कर दिएको थियो। उपचारका क्रममा कार्कीको मृत्यु भएको हो। सफारी चालक टहरी–५ का ३५ वर्षीय सुरेश चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
Month: २३ फाल्गुन २०७९, मंगलवार १०:५४
लोपोन्मुख हुँदै होलीको जोगिरा
भैरहवा । नयाँ पुस्ताले खासै चासो राख्न छाडेपछि तराईमा होलीको जोगिरा लोपोन्मुख अवस्थामा पुगेको छ। जोगिरा गाउने पुराना पुस्ताका अधिकांशको मृत्यु भइसकेका र केही वृद्ध अवस्थामा पुगिसकेकाले जोगीरा लोपोन्मुख हुन थालेको जनाइएको छ। पछिल्लो समय नयाँ पुस्ताले यसबारे खासै चासो नदिएको जनाइएको छ।
तिथिमिति सम्झना नराख्नेका लागि पनि होली सुरु भएछ भन्ने सन्देश दिने मृदङ्ग, मजिरा, करताल, हारमोनियम र डफला (एक प्रकारको डम्फू)का तालमा सुनिने जोगिरा गीत एक दशकयता विस्तारै लोपोन्मुख हुँदै गएको छ । आपसी सद्भाव, भातृत्व र उमङ्गको प्रतीकको रुपमा रहेको होली पर्वमा गीतबाटै गरिने छेडखानी, प्रेमयुक्त भाव आदानप्रदानको माध्यम पनि हो जोगिरा।
होलीको मुख्य गहनाका रुपमा रहेको जोगिरा सुनिन छाडिएपछि यो पर्व अहिले रङ र अविरमा मात्र सीमित हुँदै गएको छ। सामाजिक छुवाछूत, जातीय भेदभाव, व्यक्तिगत रिसराग बिर्सिएर भातृत्व भाव र समानताको सन्देश दिन होलीलाई रमाइलो पर्वका रुपमा मनाउने परम्परा छ। तर यी सबैलाई एक ठाउँमा बाँधेर राख्ने जोगिराको स्थानमा अचेल ‘डिस्को’ बाजा बज्न थालेपछि होलीको मौलिकता हराउँदै गएको रुपन्देहीका ग्रामीण क्षेत्रका बासिन्दाको गुनासो छ।
लुम्बिनीका बासिन्दा वीरेन्द्र मिश्रले स्थानीय संस्कृतिलाई संरक्षण गर्न र गीतद्वारा आफ्ना दुःख सुख जोगिरामार्फत व्यक्त गर्ने गरिएका बताउछन् । उनले अहिलेको पुस्ता यसलाई बिर्सिदै गएको र डिजेमा भुल्ने गरेको गुनासो गरे। “हामी हुँदासम्म जेनतेन यसलाई धानिरहेका छौँ, हामी नरहे हाम्रो परम्परा जोगिरा पनि नरहने भयो।” उनले भने, “आजकलमा युवाहरु डिजेमा अश्लिल गीत सुन्न मै रमाउँछन्, जोगिरा जोगाउनतर्फ उनीहरुलाई उत्पे्ररित गर्न सकिएन।”
पहिले पहिले गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगिरा गाइने चलन थियो । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावका कारण लोप हुँदै गएको हो। होलीमा गाइने यस्ता गीतलाई नै ‘जोगिरा’ भनिन्छ।
होलिया (फागु गीत गाउने गायक)का स्वरमा घरभित्र लुकेर बसेकी नवयौवनालाई पनि उकुसमुकुस बनाउने र सबै सामाजिक पर्दा उघारेर बाहिर नाच्न आउँआउँ लाग्ने जोगिरा लोप हुँदै गएपछि फागु पर्वको सौन्दर्य स्वात्तै घटेको पुराना होलियाहरु बताउँछन् । सहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्ध रुपमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको लुम्बिनी सांस्कृतिक विरहा समूहका राधेश्याम पालको भनाइ छ। पौराणिक होली गीतमा विषयवासना, प्रेमालाप, सीताराम र शिवपार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो।
अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलता जस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको उनले बताए। तराई–मधेस क्षेत्रमा होली पर्वमा गाइने जोगिरा गीतको संरक्षण एवं स्थानीय भाषा र संस्कृतिको रक्षाको लागि केही पाका स्थानीयले “लुम्बिनी सांस्कृतिक विरहा समूह” गठन गरेका छन्।
समूहकै सदस्य जनार्दन यादवले आजका युवालाई फागु बुझाउन समूह लागि परेको बताउँछन्। तर युवाहरुको यसप्रति आकर्षण नभएको उनको भनाइ छ। पौराणिक कथाअनुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्थे । उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए।
हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णु भक्तिबाट अलग गराउन होलिकासँगै आगोमा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन। सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फागुण शुक्ल पूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढाइँ गर्ने चलन रहिआएको छ।
थारु समुदायमा होली पर्व : आगो भित्र्याउने प्रचलन
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायका अगुवा लहानु चौधरी होली पर्वका अवसरमा गाउँको देउथानमा आगो बाल्नमा व्यस्त छन्। देउथानमा बालेको नयाँ आगो घर घरमा भित्र्याउने प्रचलन अनुसार उनी आगो बाल्न व्यस्त देखिएका हुन्।
होलीका अवसरमा गन्यारी नामक काठबाट निकालिएको आगो घरको चुलोमा बालेर वर्ष भरी निभ्न नदिने गरिएको उनले बताए। “होलीका बेला भित्राइएको आगो तापेमा घरमा सुख शान्ति हुने र रोग व्याधि हटेर जाने विश्वास रहेको छ”, उनले भने, “देउथानमा बालिएको आगोमा गुइँठामा सल्काएर गाउँका सबैले घरमा लैजाने चलन पुस्तौँदेखि चल्दै आएको छ, यसलाई जीवन्त राख्दै आएका छौँ।”
सिमलको हाँगा गाडेर राखिएको ठाउँमा तोरीको डाँठ लगायतले बेरेर ठूलो थुम्को बनाएर राखिन्छ। थारु गाउँका गुरुवा, वडघरियाले देउथानमा तेलमा पकाईएको रोटी, गुडले पूजा गरि दियो बालेपछि परिक्रमा सकेपछि त्यस थुम्कोमा आगो लगाउने गर्दछन। आगो भने गाउँको दक्षिणतर्फ रहेको क्षेत्रमा बाल्ने गरिन्छ। रोटी र गुड आगो ल्याउन आएका सबै जनालाई प्रसादका रुपमा समान रुपमा बाँड्ने र ग्रहण गर्ने चलन रहेको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए। आगो लग्न आएका व्यक्तिले हिँड्दै गर्दा बाटोमा छाडेको आगो निभाउने गरिन्छ।
आगलागी लगायतका घटना नहुन भनेर बाटोमा छुटेको आगो निभाइने गरेको उनले बताए। “होलीका बेला आगोलाई सगुनका रुपमा भित्र्याउने गरेका छौँ”, उनले भने, “होलीका जलाएको भोलिपल्ट गाउँका महिलाले लोटामा पानी लगेर त्यस ठाउँमा रहेको आगो बह्रनी (एक प्रकारको झाडु) ले निभाउने र सफा गर्ने गर्दछन्। महिला घर फर्केपछि होलीमा रङ लगाउने कार्य गरी रमाइलो गर्दै होली मनाउने गरिन्छ।”
कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण देखियो
चितवन । जिल्लामा पालिएका कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखिएको छ। भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका अनुसार जिल्लाका विभिन्न स्थानमा पालिएका कुकुरमा सो भाइरसको सङ्क्रमण देखिएको हो।
केन्द्रका सूचना अधिकारी डा प्रभात न्यौपानेले अस्पतालमा उपचारका लागि ल्याइएका कुकुरमा ३० देखि ४० प्रतिशतमा भाइरस देखिएको बताए। मौसममा आएको परिवर्तनसँगै यो समस्या आएको हो। घरपालुवा कुकुर उपचारको लागि ल्याउने गरिए पनि सडकमा रहेका भुस्याहा कुकुरको उपचारमा भने कसैले ध्यान नदिएको उनले बताए। यो रोग घरपालुवासहित छाडा छोडिएका कुकुरमा देखिने गरेको उनको भनाइ छ।
पार्वोको सङ्क्रमण भएका कुकुरमा खानमन नलाग्ने, पखाला लाग्ने, रगत मासी पर्ने जस्ता लक्षण देखापर्ने उनले बताए। सामान्यतया पार्वो खतरनाक समस्या नभए पनि उपचार नभएमा कुकुरको मृत्यु हुने गर्दछ। कुकुरलाई नियमित खोप नलगाउँदा यस्तो समस्या देखापर्ने गर्दछ। कुकुरलाई डिएचएलपिपी नामक खोप नियमित पाँच वटा दिएमा यस्ता सङ्क्रमण नहुने न्यौपानेले बताए। अधिकांश घरपालुवा कुकुरमा नियमित खोप लगाउने अभ्यास नभएकाले यस्तो खालको समस्या देखिने गरेको उनले जानकारी दिए।
कुकुरलाई जन्मिएको छ देखि आठ हप्तामा पार्वो विरुद्धको नियमित खोप लगाउनुपर्ने चिकित्सकको सुझाव छ।
मिथिलामा तीन दिन होली
जनकपुरधाम । मध्यपूर्वी तराईमा तीन दिन ‘होरी’ (होली, फागु) पर्व मनाइँदै छ । मिथिला क्षेत्रमा फागुन पूर्णिमाका दिन मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरेर होलिका दहनको धुरा उडाएपछि (राक्षसी प्रवृतिकी प्रतीक मानिने होलिका राक्षसीको आकृति डढाएको खरानी उडाउने विधि) भोलिपल्ट होरी मनाइने परम्पराअनुसार आज पर्व मनाइँदै गरिएको हो ।
होरी अर्थात फागु पर्व बारको आधारमा नभई तिथि र अन्तरगृह परिक्रमालाई आधार मानेर मनाइने भएको हुँदा यो पर्व आजै चैत कृष्ण प्रतिपदाका दिन मनाइन पर्ने साधु परम्पराका अनुयायीहरुको मत छ । “मध्यमा परिक्रमा जनकपुरको रङभूमि मैदानमा जम्मा भएकै दिन राती होलिका दहन गर्ने, भोलिपल्ट पूर्णिमाका दिन अन्तरगृह परिक्रमासँगै धुरा उडाउने र चैत कृष्ण प्रतिपदाका दिन पर्व मनाउने परम्परा छ”, महोत्तरीको भङ्गाहा–५ सीतापुरस्थित रामजानकी मठका साधु रामदास बैष्णबले भन्नुभयो, “यसमा बारको भूमिका हुँदैन, त्यसैले मिथिला परम्पराको होरी आज नै हो ।”
चैत कृष्ण प्रतिपदाकै दिन होरी मनाउने परम्परा भए पनि आज खरो मानिने भएकाले भोलि होरी मनाउने तयारीमा रहेका यहाँ धेरै छन् । यसपालि पूर्णिमा तिथिको भोग पनि दुई दिन देखिएको छ । सोमबार दिउँसो पूर्णिमा लागेर आज अबेर दिउँसोसम्म यो तिथिको भोग रहने मैथिल कर्मकाण्डका ज्ञाता बर्दिबास–२ का महेशकुमार झाले बताउनुभयो । “हिजो करिब २२ घडि र आज करिब ३० घडि पूर्णिमाको भोग छ”, उहाँले भन्नुभयो ।
“बारको प्रभाव हुन्न, मानिन्न भन्ने कुरा हाम्रो परम्पराअनुकूल छैन, हामीकहाँ घरबाट निस्कदा, अन्य कुनै काम प्रारम्भ गरिदा यो बार, यो तिथि ठीक हुन्छ भनिन्छ”, भोलिको होरी तयारीमा रहनुभएका बर्दिबास–९ पशुपतिनगरका बच्चुलाल महतो भन्नुहुन्छ, “मङ्गलबार खरो दिन मानिन्छ, अनि एकापसमा अङ्कमाल गर्ने खुसीको पर्व यस्तो दिन किन पार्ने ? त्यसैले भोलि मनाइनु ठिक हो ।” महोत्तरीको जलेश्वर, रामगोपालपुर, बलवासहितका नगरक्षेत्रमा भोलि बुधबार होरीको तयारी देखिन्छ ।
आआफ्ना सुविधा र मान्यताअनुसार तीन दिन होरी मनाइँदै गरिए पनि यसपाली होरी शान्त नै देखिएको छ । बस्तीका घरघर र सडक गल्लीसम्म एकअर्कोलाई लघार्दै लोला हान्ने, भीड जम्मा हुने र रङ प्रयोगमा कमी देखिएपछि होरी शान्त देखिएको हो ।
मधेस प्रदेशभित्रका आठै जिल्लामा स्थानीय (जिल्ला) प्रशासनले भीडभाड नगर्न, भीडभाडमा नजान, रङ र लोला नहान्न सार्वजनिक सूचना नै जारी गरेर अपिल गरेको छ ।
बालुवाटारमा माओवादी धारका पार्टीहरूको बैठक
काठमाडौं । माओवादी धारका नेताहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपा अध्यक्ष डा. बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीकाका नेता सिपी गजुरेल, नेकपा माओवादीका प्रवक्ता प्रकाण्ड, नेकपा बहुमतका नेता धर्मेन्द्र बास्तोला, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका अध्यक्ष आहुती लगायत बैठकमा सहभागी छन्। माओवादीबाट उपाध्यक्ष कृष्णबहादुर महरा, महासचिव देव गुरुङ, उपमहासचिव शक्ति बस्नेत, मात्रिका यादव, हरिबोल गजुरेल पनि सहभागी छन्।
यसअघि फागुन २१ मा माओवादी घटकका नेताहरु प्रचण्ड, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द लगायत एउटै मञ्चमा देखिएका थिए। सहिद तथा वेपता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको सो कार्यक्रममा नेताहरूले माओवादी घटकहरू मिल्नुको विकल्प नभएको बताएका थिए।
त्यसपछि आज पहिलोपटक माओवादीबाट विभाजित भएका नेताहरूको बैठक बसेको हो। बैठकमा पार्टी एकता वा कार्यगत एकताबारे छलफलको एजेण्डा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
तराई-मधेशमा आज होली मनाइँदै
काठमाडौं । देशको तराई-मधेस क्षेत्रमा आज होली मनाइँदैछ । पहाडी क्षेत्रमा फागुन शुक्ल पूर्णिमाका दिन मनाइने होली पर्व तराई-मधेसमा भने प्रतिपदाका दिन मनाउने चलन छ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश बोकेको फागु पर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचीन परम्परा रहेको छ । शक्तिको दुरुपयोग गर्ने प्रवृतिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
सोमबार काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा उत्साह र उमङ्गका साथ मनाइयो । काठमाडौंको वसन्तपुर दरवार स्क्वायरमा होली विशेष कार्यक्रमको आयोजना गरिएको थियो । जहाँ युवायुवतीहरु आपसमा रंग, अबीर दलेर आत्मीयता साटासाट गरे ।
डोटीका ३२ विद्यालयलाई वाइफाइ डिभाइस
डोटी ।डोटीको बडीकेदार गाउँपालिकाले ३२ वटा सामुदायिक आधारभूत विद्यालयलाई ब्रोड ब्याण्ड इन्टरनेट सेवाका लागि वाइफाइ डिभाइस वितरण गरेको छ।
पालिकाले संघीय सरकारसँग गरेको सम्झौताअनुसार दूरसञ्चार प्राधिकरणको सहयोगमा फोरजी सेवा चल्ने सिमकार्डसहितको वाइफाइ डिभाइस वितरण गरेको हो।
शिक्षामा नयाँ प्रविधिको प्रयोग गरी शिक्षण कार्यलाई थप प्रभावकारी बनाउन सहजता होस् भन्ने उद्देश्यले वाइफाइ डिभाइस वितरण गरिएको बडीकेदार गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिबेक देउवाले बताए।
उनले विद्यालयमा इन्टरनेट सेवा जडान हुँदा पढाइका साथै विद्यार्थीलाई नयाँ विषयवस्तुको बारेमा जानकारी गराउन थप सहज हुने विश्वास व्यक्त गरे। बडीकेदार गाउँपालिकाअन्तर्गत ३२ वटा आधारभूत र नौ वटा माध्यमिक विद्यालय गरी ४१ वटा विद्यालय छन्।
पालिकाअन्तर्गत रहेका माध्यमिक विद्यालयमा इन्टरनेट सेवा पहिले नै जडान भइसकेको छ। पालिकाले यसअघि २२ वटा विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी सिर्जना गरी शिक्षकको व्यवस्थापन गरिसकेको छ।
विद्यालयलाई सिमसहितको उपलब्ध गराएको डिभाइसमा इन्टरनेट सञ्चालन गर्नका लागि दुई वर्षसम्म आवश्यक शुल्क दूरसञ्चार प्राधिकरण बेहोर्ने र त्यसपछि विद्यालयले व्यवस्थापन बेहार्नेछ। विद्यालयलाई उपलब्ध गराएको एउटा डिभाइसको मूल्य रु ७३ हजार नौ सय रहेको छ।
काठमाडौंमा होली मनाउन शुरु भएसँगै चेकजाँचमा कडाइ
काठमाडौं । काठमाडौं उपत्यकामा होली मनाउन शुरु भएसँगै चेकजाँचमा कडाइ गरेको छ। काठमाडौं उपत्यकामा आज (सोमबार) बिहानैदेखि होली मनाउन शुरु भएकोमा होलीलाई व्यवस्थित बनाउन प्रहरीले चेकजाँचमा कडाइ गरेको हो । होली पर्वको अवसरमा मानिसहरु उश्रृंखल गतिविधि गर्ने, लोला हान्ने, मादक पदार्थ पिएर सवारीसाधन चलाउने गतिविधिहरु हुने भएकाले प्रहरीले चेकजाँचमा कडाइ गरेको हो ।
काठमाडौं उपत्यकाका थापाथली, त्रिपुरेश्वर, न्युरोड, कान्तीपथ, दरबार मार्ग, भद्रकाली र बग्गीखाना लगायतका स्थानमा प्रहरीले चेकजाँच गरिरहेको छ।त्यस्तै विभिन्न १९ स्थानबाट मोवाईल भ्यानले नियमित गस्ती समेत गरिरहेको छ।
नेपाल प्रहरीले होलीलाई सुव्यवस्थित बनाउन सबैले सतर्कताका साथ होली खेल्न आग्रह गरेको छ। साथै प्रहरीले सम्भावित दुर्घटना हुन नदिन घरको छत लगायत जोखिमपूर्ण स्थानमा बसेर होली नखेल्न आग्रह गरेको छ।
राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल र झलनाथ खनालबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। सोमबार बिहान उनीहरूबीच भेटवार्ता भएको हो।
भेटवार्ताका क्रममा समसामयिक राजनीतिका विषयमा छलफल भएको जनाइएको छ। आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन र पछिल्लो राजनीतिका बारेमा छलफल भएको पौडेलको सचिवालयले जनाएको छ।
पौडेल आठ दलीय गठबन्धनको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार बनेका छन्। पौडेलविरुद्ध नेकपा एमालेले उपाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।
बाबुराम भट्टराईको स्पष्टीकरणः जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम होइन
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बहालबाला प्रधानमन्त्रीलाई मुद्धा लगाउने पाउने तर जनयुद्धकालिन मुद्धा अदालतको नियमित काम नभएको बताएका छन ।
सामाजिक सञ्जालवाट स्पष्टीकरण दिदै अध्यक्ष भट्टराईले आफनो हिजोका अभिब्यक्तिमा स्पष्टीकरण दिने त्रममा साे धारणा राखेका हुन । ‘सानो स्पष्टीकरणः बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ, म आफै प्रम छॅदा थुप्रै मु्द्दा खेपेको छु, अदालतमा हाजिर भएको छु, भट्टराईले भनेका छन, ‘तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन, प्रम प्रचण्डको हकमा पनि त्यही हो, आवेग हैन विवेकले काम गरौं ।’
गत शुक्रवार सर्बोच्च अदालतले फौजदारी मुद्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मुद्धा दर्ता गर्न सक्ने आदेश दिए पछि अनेक तर्क बिर्तक भईरहेको बेला माओवादी नेताहरुले हिजो त्यसको प्रतिबाद गरेका थिए भने सत्तारुढ ९ दलले जनयुद्धकालिन अर्थात संक्रमणकालिन मुद्धा अघि बढाउन सत्य निरुपण मेलमिलाप आयोगलाई सक्रिय बनाउने निर्णय गरिसकेका छन ।
ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि सबस्टेसन निर्माण
दमौली । तनहुँका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा सबस्टेसन निर्माण अघि बढाइएको छ। विद्युत् सेवा नपुगेका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि आयोजनामार्फत काम अगाडि बढाइएको हो।
विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन इष्ट इन्डिया उद्योग/वाइबा इन्फ्राटेक जेभीसँग सम्झौता भएको थियो।
तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठका अनुसार २०७५ साल मंसिर १३ मा कम्पनीसँग अमेरिकी डलर ६१ लाख ५३ हजार २०७ तथा नेपाली १४ करोड ८८ लाख ३१ हजार ९६७ रुपैयाँमा खरिद सम्झौता भएको थियो।
निर्माण व्यवसायीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरी ३३/११ केभी तथा एलटी लाइन निर्माण गरिरहेको छ। घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा सबस्टेसन निर्माण सम्पन्न भएको श्रेष्ठले बताए।
घिरिङ सबस्टेसनमा छ/आठ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ। स्थानीय तहमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ। कूल ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ। सबस्टेसनमार्फत तनहुँको भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को केही भागमा विद्युत् आपूर्ति गरिएको छ।
बन्दीपुर गाउँपालिका–६ साराङघाटमा निर्माण गरिएको सबस्टेसनबाट आँबुखैरेनी, बन्दीपुर र देवघाट गाउँपालिकामा विद्युत् आपूर्ति गरिएको छ। यसबाट त्यस क्षेत्रका उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत् आपूर्ति पाएका छन्। आँबुखैरेनी गाउँपालिकास्थित मार्कीचोक सबस्टेसनदेखि बन्दीपुर गाउँपालिकाको डुम्रेसम्मको ३३ केभी प्रसारण लाइनलाई ट्यापिङ गरिएको छ।
प्रसारण लाइनलाई बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा ट्यापिङ गरी सराङघाट सबस्टेसनसम्म पुर्याउने १९ किलोमिटर लामो ३३ केभी लाइन पनि निर्माण सम्पन्न भएको छ। यसमध्ये एक हजार १३० मिटर प्रसारण लाइनलाई भूमिगत गरिएको बताइएको छ। आयोजनाअन्तर्गत तनहुँको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन निर्माण गरिएको छ।
ग्रामीण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखिएको श्रेष्ठले जानकारी दिए। नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना कार्यान्वयनमा ल्याइएको हो।
राष्ट्रपति निर्वाचन : आज राति १२ बजेदेखि मौन अवधि सुरु
काठमाडौं । राष्ट्रपति निर्वाचन अन्तर्गत आज (सोमबार) राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै सोमबार मध्यरातदेखि मतदान सम्पन्न नभएसम्म प्रचारप्रसार गर्न नपाइने जनाएको हो ।
‘मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागू हुने निर्वाचन आचारसंहिता, २०७९ मा व्यवस्था गरिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा जारी, विज्ञप्तिमा भनिएको छ, ‘उक्त व्यवस्थाबमोजिम राष्ट्रपतिको निर्वाचनका लागि आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने व्यहोरा सम्बन्धित राजनीतिक दल, उम्मेदवार, मतदाता र सम्बद्ध सबैलाई अवगत गराइन्छ।’
आचारसंहिता उल्लंघन गरे निर्वाचन कसुर तथा सजाय ऐन, ७३ को दफा २४ को ५ तथा निर्वाचन आचारसंहिता २०७० को दफा १७ बमोजिम सजाय हुने बताएको छ। राष्ट्रपतिका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन्।
आज पहाडी जिल्लामा होली मनाइँदै
काठमाडौं । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।
होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ । फागु पूर्णिमाको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीका साथै राजनीतिक दलका शीर्ष नेताहरुले शुभकामना दिएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पुर्णिमाको अवसरमा शुभकामना दिँदै पर्वले विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरुलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरुको संरक्षण र संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताइन्।
साथै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभित्र प्रत्येक जातजाति र धर्मावलम्बीहरुका आ–आफ्नै सांस्कृतिक महत्व बोकेका मौलिक परम्परा र पर्व रहेको भन्दै यस्ता मौलिक परम्परा, संस्कृति र पर्वहरुले सामाजिक सद्भाव, एकता र सहकार्यको आधारशिला खडा गर्नाका साथै राष्ट्रिय एकता र स्वाधीनताको प्रतिनिधित्व गर्ने उल्लेख गरे ।
शिक्षकहरूको तलब मासिक रूपमा बैंक खातामा पठाउने बर्जु गाउँपालिकाको तयारी
देवानगंज । सुनसरीको बर्जु गाउँपालिकाले शिक्षकहरूको तलब मासिक रूपमा बैंक खातामा हालिदिने तयारी गरेको छ । गाउँपालिका भित्र रहेका सरकारी विद्यालयका शिक्षकलाई सहजताका लागि गाउँपालिकाले उक्त तयारी थालेको हो ।
आज गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेको प्रगती र नयाँ योजनाको बारेमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिइएको हो ।कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख प्रशाकिय अधिकृत बाबुन्नदन मेहताले भने, ‘गाउँपालिकाले शिक्षकको तलब मासिक रूपमा खातामा पठाउने तयारी थालेको छ । यसले उहाँहरूलाई सहज हुनेछ ।’
कार्यक्रममा गाउँपालिका अध्यक्ष जिवछ राय, उपाध्यक्ष नितु चौधरी शिक्षा शाखाका प्राविधि हेमाराज दाहाल, शिक्षा साहयक सरोज चौधरी, बर्जु गाउँपालिका भित्र रहेको सम्पूर्ण विद्यालयका प्रअहरुको सहभागिता रहेको थियो । बुर्ज गाउँपालिका शिक्षा क्षेत्रमा भएको प्रगति विवरणहरु सार्वजनिक गरेको थियो ।
बैंक वित्तीय क्षेत्रको समस्या समाधान गर्न प्रधानमन्त्रीले थाले छलफल
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आर्थिक तथा बैंक, वित्तीय क्षेत्रका समसामयिक विषयमा निजी क्षेत्रका प्रतिनिधि र राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्नुभएको छ ।। पछिल्लो समय बैंकको चर्काे ब्याजका कारण ऋणीले आत्महत्या गर्न थालेको लघुवित्तका कारणले धेरैको उठिवास लागेको समाचार आइरहेका बेला प्रधानमन्त्री प्रचण्डले समस्या समाधानका लागि सम्बन्धित् पक्षसँग छलफल थालेका हुन् ।
आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयमा नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थसचिव लगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि र बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिहरुसँग आर्थिक तथा बैंक वित्तीय क्षेत्रका समसामयीक विषयमा छलफल गरेका हुन्।
बैंक तथा वितीय क्षेत्रमा विशेष गरी लघुवित्तहरूले ऋणीहरूलाई मारमा पारेको भन्दै लघुवित्त खारेजसम्मको माग ऋणीहरूले राख्दै आएका छन् । यता बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋण तिर्न सक्दैनौँ, मिनाहा गर्नुपर्छ भन्ने सडक आन्दोलनमा एउटा समूह रहेको छ । बैंकहरूले ब्याजदर बढी लिएको भन्दै व्यापारीहरूसमेत सडक आन्दोलन गरिरहेका छन् ।
प्रधानमन्त्री दाहालले यी नै विषयमा सरोकारबालाहरुसँग छलफल सुरु गरेका हुन्। छलफलमा मुख्य सचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव तोयम राया, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी, लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा लगायतको सहभागिता रहेका छ।
