१७ फाल्गुन २०७९, बुधबार १६:२० – Page 7 – Nagarikabhiyan : National News

प्रदेश १ को नाम ‘कोसी’ पारित

विराटनगर । प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको छ । अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुने छ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले पारित भएको हो ।

समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए ।

कोसीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ ।

इलाम कारागारभित्र मदिरा सेवन गरि तास खेलेको भिडिओ सार्वजनिक भएपछि छानबिन सुरु

इलाम । इलाम कारागारभित्र मदिरा सेवनसहित जुवातास खेलेको भिडिओ सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय इलामले छानबिन सुरू गरेको छ। समिति नै गठन गरेर छानबिन सुरू गरिएको हो।

सञ्चारमाध्यममा कैदीहरूले कारागारभित्र नै मदिरा सेवन गर्दै गरेको भिडिओ सार्वजनिक भएपछि तीन सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयका अधिकृत हरिकुमार थापाको संयोजकत्वमा समिति गठन भएको हो।

सो समितिले काम थालिसकेको संयोजक थापाले बताए। भिडिओ कहिलेको हो र को-को व्यक्ति यसमा संलग्न थिए भन्ने विषयमा छानबिन हुने र आवश्यक कारबाही अगाडि बढाइने बताइएको छ।

कानुनले वर्जित गरेका कुनै पनि गतिविधि, मदिरा सेवन, जुवातास तथा मोबाइल फोनसमेत प्रयोग गर्न नपाइने भए पनि कारागारभित्र खुलेआम सो कार्य भइरहेको भिडिओ बाहिरिएको हो। इलाम कारागारमा भने कानुनले वर्जित गरेका मदिरा सेवन, जुवातास तथा मोबाइल फोन समेतको प्रयोग हुने गरेको र यसमा कर्मचारीको समेत संलग्नता रहेको शंका गरिएको छ।

जेलर सुमित मगरले उक्त भिडिओ कारागारभित्रकै रहेको स्वीकार गरे। उनले यो दृश्य इलाम कारागारकै रहेको र त्यहाँ देखिएका केही कैदीबन्दी अहिले पनि यही रहेको तथा केही छुटेका र सरुवा भएर गइसकेका बताए। कारागारको क्षमता एक सय २५ जना क्षमताको भए पनि हाल यहाँ दुई सय ८० छन्।

प्रदेशको नामकरणमा हुने विरोध रोक्न विराटनगरमा निषेधाज्ञा जारी

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले बुधबार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो । प्रदेशमा कोशी नाम राख्न नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहमत छन् ।

दलहरु भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो । प्रशासनले प्रदेशसभा भवन अगाडि (विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म) जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि अर्को सुचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

ती क्षेत्रमा कुनै किसिमका सभा, जुलुस, भेला र्याली, धर्नाजस्ता कार्यहरु नगर्न आग्रह गरेको छ । प्रदेशको नामकरणको तयारी भएपछि प्रदेशका सबै जिल्ला प्रहरीले सतर्कता अपनाएको छ । अन्य क्षेत्रबाट प्रदेश राजधानी आउने सवारी जाँचमा पनि प्रहरीले कडाइ गरेको छ ।

हिउँदयाम सकिएसँगै देशभर प्रि-मनसुन सुरु

काठमाडौँ । हिउँदयाम सकिएसँगै देशभर प्रि–मनसुन सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् मञ्जु बासीका अनुसार हिउँदयाम सकिएर मार्च १ अर्थात् आजदेखि सुरु भएको प्रि– मनसुन तीन महिनासम्म रहनेछ । प्रि– मनसुनको अवधि मार्च, अप्रिल र मेसम्म रहने, त्यसपछि मनसुन सुरु हुने उनले बताइन् ।

प्रि–मनसुनको समयमा दिउँसो मेघगर्जनरचट्याङ्का साथै हावाहुरी र असिना पानीको सम्भावना रहने मौसमविद्ले बताएका छन् । यस मौसमी प्रणालीका समयमा स्थानीय वायुको प्रभाव धेरै हुने गरेको बताइएको छ ।

स्थानीय वायुको प्रभावका कारण आज दिउँसो पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् बासीले जानकारी दिइन् । उनका अनुसार आज सुदूरपश्चिम र कर्णाली प्रदेशका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । यस वर्ष हिउँदमा १४ वर्षयताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हिउँदयाम सकिने बेलामा केही दिनअघि काठमाडौँ, पोखरासहित केही ठाउँमा हल्कादेखि सामान्य वर्षा भएको थियो । यस वर्षको हिउँदमा उच्च पहाडी र हिमाली जिल्लामा न्यून हिमपात भएको विभागले जनाएको छ ।

सन्दीप लामिछानेलाई आज यूएई पठाउने तयारी

काठमाण्डौं । नेपालले भोली विहिबार आईसीसी विश्वकप लिग–२ अन्तरगत यूएईसँग दोस्रो महत्वपूर्ण खेल खेल्दै छ । उक्त प्रतियोगितामा भाग लिनका लागि क्रिकेटर सन्दीप लामिछाने आज नेपालबाट त्यसतर्फ जाने तयारीमा रहेका छन् । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेका क्रिकेटर लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि यूएई पठाउन लागेको हो ।

विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ । विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको हो । क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई आज यूएई पठाउन लागिएको जानकारी दिए । ‘आईसीसीसँग कुराकानी भइरहेको छ । आज सन्दीपलाई यूएइ पठाउने चाहिँ निश्चित हो । उनको भिसा पनि आइसकेको छ,’ दासले भने ।

यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले एकजनालाई सन्दीपले प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको उनको भनाइ छ । कसलाई प्रतिस्थापन गर्ने भन्ने चाहिँ टिम म्यानेजर र प्रशिक्षकले तय गर्ने उनले बताए । आईसीसीको प्रावधान अनुसार कुनै पनि श्रृंखलाको बीचमा खेलाडी घाइते भएमा उसलाई रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्छ । सन्दीप अहिले रिजर्भ खेलाडीका रुपमा छन् । क्यानले आईसीसी घाइते एक खेलाडीको स्थानमा सन्दीपलाई राख्न पहल गरेको हो । आइसीसीले यसबारेमा निर्णय दिइसकेको छैन, तर क्यान विश्वस्त छ । आज यूएई गए पनि सम्भवतः भोलिको म्याच छुटाउन सक्छन् । नेपालको १६ सदस्यीय स्क्वाडमा पहिल्यै रहेकाले सन्दीपलाई टिम ज्वाइन गर्न भने समस्या छैन ।

रुपन्देहीमा डिएसपी सहित १४ प्रहरीलाई कारवाही

भैरहवा । प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्य विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारवाहीमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष ०७८/७९ मा २९ जना गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्ने ६५ जना प्रहरी पुरस्कृत भएका छन् । भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही, गैर व्यावसायिक कार्य र अनुसाशनहिन लगायतका काम गरेका प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १ जना प्रहरी नायब उपरीक्षक, १ जना प्रहरी वरिष्ठ नायब निरीक्षक, २ जना प्रहरी नायब निरीक्षक, १ जना प्रहरी वरीष्ठ हवलदार, १ जना प्रहरी हवलदार ४ जना प्रहरी सहायक हवलदार र ३ जना प्रहरी जवानलाई कारवाही गरिएको हो । यस्तै यसै अवधिमा ६ जनाले राजिनामा, ४ इन्सपेक्टर सहित ८ जनाले अनिवार्य अवकाश लिएको प्रवक्ता अर्यालले भने ।

गम्भीर किसिमको भ्रष्टाचारमा संलग्नलाई सेवाबाट हटाउने तथा बर्खास्तीको कारबाही हुने गर्छ । यसै गरि कारवाही स्वरुप पदोन्नती रोक्का, कारवाही स्वरुप तलब कट्टी, तल्लो टाईम स्केलमा घटुवा, नसिहत, सख्त चेतावनी दिइने गरिन्छ । गम्भीर किसिमको भ्रष्टाचारमा संलग्नलाई नोकरीबाट हटाउने तथा बर्खास्तीको कारबाही हुने गरेको छ । कारवाहीमा पर्नेहरुको बढुवा र पदोन्नतीमा असर पर्ने गर्छ ।

प्रहरीले कारवाही मात्र नगरि राम्रा काम गर्नेलाई पुरस्कृत गरेको छ । पछिल्लो ७ महिनामा ३ डिएसपी, १९ इन्सपेक्टर सहित ६३ जना प्रहरीलाई पुरस्कृत गरिएको छ भने ४८ जना प्रहरीको बढुवा गरिएको छ । बढुवा हुनेमा प्रहरी निरिक्षकमा ३ जना, प्रहरी नायब निरीक्षकमा १ जना र प्रहरी सहायक हवलदारमा ४४ जना रहेको कार्यालयले जनाकारी दिएको छ ।

आर्थिक वर्ष २०७८/७९मा ७ जना ले राजिनामा लिएको, २९ जनालाई विभिन्न प्रकृतिको कारावाही गरिएको ६५ जनालाई पुरस्कृत गरिएको र ४ सय १९ जनालाई बढुवा गरिएको प्रहरी प्रवक्ता अर्यालले भने । कार्यालयको प्रस्तावमा प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा अन्तर्गत प्रहरी महानिरीक्षकको निर्णय अनुसार पदोन्नती हुने गरेको छ । पदोन्नती भएका सबैलाई जिल्ला प्रहरी कार्यालयले दर्ज्यानी चिन्ह प्रदान गर्ने गर्छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विगतमा पनि उत्कृष्ट कार्य गर्ने प्रहरीलाई महिना पिच्छे पुरस्कृत गर्दै आएको थियो । प्रहरी उपरीक्षक हेम कुमार थापाले जिल्लाको कार्यभार सम्हाले देखि जिल्ला प्रहरी र मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मुल्याँकन गरेर हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड र पुरस्कार दिदै आएका थिए । यस्तै प्रहरी उपरीक्षक मनोज केसीले पनि कार्यभार सम्हाल्दा प्रहरी इन्ट्रिग्रीटी अवार्ड भन्दै मासिक रुपमा प्रहरी कर्मचारीहरुलाई सम्मान गर्ने गरेका थिए । सधै गलत गर्नेलाई प्रहरीलाई कारवाही गर्नु मात्र नभई उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरेर पनि सुधार ल्याउन सकिन्छ भन्ने उद्देश्यले प्रोत्साहन स्वरुप अवार्ड दिने गरेको थियो ।

ठूलो परिमाणमा लागु औषध बरामद गर्ने, संगठित प्रकृतिको अपराधको अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभाबकारी भूमिका निर्बाह गर्ने, विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने, आदेश–निर्देशनको पालना गर्ने, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहने, आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति दिने, कर्तव्य ज्यान वा पुराना प्रतिवादीहरुलाई पक्राउ गर्न सहयोग पुर्याउने लगायतका सूचकको आधारमा उत्कृष्ट प्रहरीलाई सम्मान गर्ने गरिएको थियो । अवार्डले प्रहरी बीच कामको प्रतिस्पर्धात्मक विकास, मनोबल बढ्नुका साथै चेकजाचमा दुरुस्तता, सबै प्रहरी सूचनामा अपडेट पनि हुने गरेका थिए ।

सर्लाहीमा पाँच हजारभन्दा बढी शिक्षक दरबन्दी रिक्त

सर्लाही । सर्लाहीका सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी शिक्षक कर्माचारीको दरबन्दी खाली छ। जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली छ।

जिल्लामा चार सय ७८ सामुदायिक विद्यालय रहेकामा दुई हजार तीन सय ८८ शिक्षक कार्यरत छन् भने पाँच हजार तीन सय १७ शिक्षकको दरबन्दी खाली रहेको शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिल कुशवाहले जानकारी दिए।

त्यस्तै विद्यालय सहायक परिचर चार सय ७८, विद्यालय सहयोगी कर्मचारी ८६ तथा निजी स्रोतका शिक्षक एक सय आठ दरबन्दीमा कार्यरत रहेका उनले बताए। जिल्लामा रहेका चार सय ७८ सामुदायिक विद्यालयमा पाँच हजारभन्दा बढी जनशक्ति कार्यरत रहे पनि सामुदायिक विद्यालयको अवस्था दिनानुदिन खस्कँदो छ। जिल्लामा रहेका चार सय ७८ सामुदायिक विद्यालयमा दुई हजार नौ सय ३९ शिक्षकको दरबन्दी अतिआवश्यक रहेको कुशवाह बताउँछन्।

रिक्त शिक्षक दरबन्दी पदपूर्ति नहुँदा सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रवाह गर्न नसकेको गुनासो आउने गरेको उनको भनाइ छ। जिल्लामा अधिकांश सामुदायिक विद्यालयमा तहगत शिक्षक, विषयगत शिक्षक र विद्यार्थी तथा शिक्षकको अनुपात मिलान नहुँदा शिक्षा र अध्यापनमा सुधार हुन सकेको छैन। बीस स्थानीय तह रहेको सर्लाहीमा हरेक स्थानीय तहमा १० भन्दा बढी सामुदायिक विद्यालय छन्।

साुमदायिक विद्यालयको गुणस्तर खस्किँदो अवस्थामा रहेका कारण विद्यार्थी सङ्ख्या न्युन हुँदै गएको छ । केही विद्यालयमा विद्यार्थी सङ्ख्या धेरै रहेको भए पनि शिक्षकको अभाव छ । केही विद्यालयमा शिक्षक मात्र छन भने केहीमा विद्यार्थी नै नभएको अवस्था छ ।

मकैमा अमेरिकी फौजी कीरा

बनियानी । झापाका केही स्थानमा लगाइएको मकै बालीमा अमेरिकी फौजी कीरा देखिएको छ । झापाको बाह्रदशी, अर्जुनधारा र भद्रपुरका केही स्थानमा अमेरिकी फौजी कीरा देखिएको हो ।

केही ठाउँमा अमेरिकी फौजी कीरा देखिएको कृषि ज्ञान केन्द्र झापाका कृषि प्रसार अधिकृत गणेश शिवाकोटीले जानकारी दिए । “ठूलो क्षति गर्ने गरी प्रकोपका रूपमा देखिएको छैन”, उनले भने । फौजी कीरा देखिएको ठाउँमा आवश्यक औषधोपचार गरिएको उनले बताए ।

वर्षापछि घाम लाग्दा फौजी कीराको जीवनक्र बढी सक्रिय हुने भएकाले मकैखेती गर्ने कृषकलाई सचेत रहन कृषि ज्ञान केन्द्रले आग्रहसमेत गरेको छ । अमेरिकी फौजी कीरा मकै बालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने रात्रिचर स्वभावको कीरा हो । भर्खर निस्किएको लार्भाले पातको हरियो भाग कोत्रेर खाइदिन्छ । यो कीराले क्षति पु¥याएको बिरुवा बढ्दै जाँदा पातमा स–साना प्वाल देखिन्छन् ।

“कलिलो अवस्थाको गुभोभित्र बसेर लार्भाले मकैको गुभो खाने गर्छ”, शिवाकोटीले भने, “लार्भाले खाँदै गर्दा पातहरूमा प्रशस्त आलो दिसा देख्न सकिन्छ, मकै बढ्दै गएपछि यसले धानचमर, जुँगा तथा घोगामा समेत नोक्सानी गर्छ ।”

कृषकलाई ४५ लाख अनुदान

प्रदेश नं १ सरकारले मकैखेती प्रवद्र्धनका लागि झापामा ४५ लाख अनुदान दिएको छ । मकैको उत्पादन बढाउने उद्देश्यले जिल्लामा तीन सय हेक्टरका लागि प्रतिहेक्टर १५ हजारका दरले अनुदान आएको शिवाकोटीले जानकारी दिए ।

जिल्लामा अनुदानका लागि मागभन्दा धेरै कृषकले आवेदन दिएका छन् । कृषकले सात सय हेक्टरमा खेती गरेको भन्दै अनुदानका लागि आवेदन दिएको कार्यालयले जनाएको छ । आवेदनका आधारमा स्थलगत अनुगमन भइरहेको छ । मकैखेती प्रवद्र्धनअन्तर्गत सरकारले मान्यता दिएका बीउ प्रयोग गरी खेती गरेका सूचीकृत कृषि फार्म, कृषि समूह, कृषकले अनुदान पाउने छन् ।

सरकारले उत्पादन बढाउने उद्देश्यले हाइब्रिड जातका मकैलाई प्राथमिकता दिएको छ । झापामा अहिले कतै मकै रोपिसकिएको छ भने कतै रोप्ने अवस्थामा छ । छिटपुटरूपमा उत्पादित मर्क किसानले बिक्रीका लागि बजारमा ल्याउन थालेका छन् ।रासस

संसद् बैठक चैत ५ गतेसम्मलाई सर्‍याे

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक सरेको छ। आज दिउँसो १ बजे बस्ने भनिएको बैठक चैत ५ गते आइतबार दिनको १ बजेसम्मका लागि स्थगित भएको हो।

 

 

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य १ हजार २ सय ७० रुपैयाँ मा कारोबार भईरहेको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।  महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रदेश–१ को नामसम्बन्धी प्रस्ताव पेस गरिँदै

विराटनगर । लामो समयदेखि थाती रहेको प्रदेश-१ को नामकरणको विषयले आज प्रदेश सभामा प्रवेश पाउने भएको छ। राजनीतिक दलहरुले आज बस्ने प्रदेशसभा बैठकमा नामाकरणको विषय टुंगो लगाउने तयारी गरेका हुन्। नामै राख्न नसकेर एक कार्यकाल गुजारेको प्रदेश १ ले आज अबेरसम्म प्रदेशसभामा छलफल गरेर भए पनि नाम टुंगो लगाउने तयारी गरिएको हो।

प्रदेशको नाम भूगोल वा पहिचान केको आधारमा राख्ने भन्नेमा विवाद छ । नामकरणका लागि ९३ मध्ये कम्तीमा ६३ सांसदको समर्थन अर्थात् दुईतिहाइ बहुमत चाहिन्छ । प्रदेशको नाम कोसी, किराँत, लिम्बुवान, विराट राख्ने विषयमा दलपिच्छे फरक मत छ ।

प्रदेश १ प्रदेशसभामा एमालेका ४०, काँग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । सत्तापक्ष र विपक्षमा विभाजित हुँदा कसैको पनि दुई तिहाइ मत पुग्न सक्ने सम्भावना कम रहेको कारण सर्वसहमतिमा नामकरणको टुंगो लगाउने तयारी छ ।

विदेशमा सीप सिकेर स्वदेशमा लगानी

रामपुर । कुनै समय घरका आँगन र डिलमा सौखका रूपमा कफी लगाइन्थ्यो । उत्पादन लिन नभई घर वरपरको वातावरण सुन्दर र हरियाली बनाउन गाउँघरमा सबैका घरमा दुई–चार बोट कफीका भेटिन्थे । कफीका बोटमा फलेका दानाको महत्व राम्रोसँग थाहा नहुँदा त्यसै खेर जान्थ्यो। हिजोआज भने कफीतर्फ आकर्षण बढ्दै गएको छ।

यसको खरिद बिक्री, खेती विस्तारमा समेत जोड दिइन थालिएको छ । पाल्पाको रामपुर नगरपालिका–५ भम्बकका प्रेमबहादुर सिंले अहिले कफीखेती गर्नुका साथै गाउँघरमा उत्पादित कफी खरिद बिक्री गरिरहेका छन् । करिब आठ वर्ष दक्षिण कोरिया बसेर फर्किएका उनी अहिले कफी व्यवसायमा रमाइरहेका छन् ।

विदेशमा रोजगारीका क्रममा उनी कफी कम्पनीमा काम गर्थे । त्यहाँ बस्ने क्रममा कफी उत्पादन, प्रशोधन र बजारीकरणका सीप सिकेपछि अहिले स्वदेशमा बसेर व्यवसाय गर्न सजिलो भएको बताउछन् । वैदेशिक रोजगारीका क्रममा गुल्मीमा उत्पादन भएको कफी आफू कार्यरत कम्पनी सञ्चालकले खरिद गरी हिमालयको गिफ्ट नामले प्रशोधन गरी बजारमा बिक्री गरेको देखेपछि सिंले गाउँ फर्केर आफ्नो देशको उत्पादन आफैँले बिक्री गर्ने अठोट लिए।

“हाम्रो देशमा उत्पादन भएको कफी विदेशीले महँगो मूल्यमा ब्राण्ड बनाएर बजारमा बिक्री गरिरहेको छ”, उनले भने, “सीप र प्रविधि नहुँदा नेपाली उत्पादन विदेशीले प्रशोधन गरी बजार पठाएका छन्, आफ्नो उत्पादन आफैँ प्रशोधन गरी बजार पठाउने मनसायले विदेशबाट फर्केर यस व्यवसायमा लागेको हुँ ।”

नेपालमा उत्पादन भएको कफीको स्वाद बेग्लै पाएपछि नेपाल फर्केलगत्तै व्यवसायमा लागेको सिं बताउछन् । उनले कफी उत्पादन, खरिद बिक्रीमात्र नभई ग्राहकको मागअनुसार बिरुवा उपलब्ध गराउँदै आएका छन् । बरमुन अर्मिलो, बरमुन भर्बिलो, गेइसिया जातका कफी खरिद बिक्री गर्छन्। स्थानीय उत्पादन भएकाले ग्राहकले धेरै मन पराएका छन् ।

उनी भन्छन्, “घरका आँगन, डिल वरिपरि सौखमा रूपमा लगाइएका पाँच–सात कफीका बोट आमाले लगाउने गर्नुहुन्थ्यो, दाना फल्ने आफैँ भुइँमा झर्ने गथ्र्यो, कुनै उपयोगमा ल्याइएन, विदेशमा गएपछि मात्रै कफी कम्पनीमा काम गर्न थालेपछि यसको महत्व र फाइदाबारे जानकारी पाएँ।”

विदेशमा बटुलेको अनुभवले सिंले स्वदेशमा सोही सीप लगानी गरेका छन् । आफूले उत्पादनदेखि प्रशोधनका प्रविधिको ज्ञान सीप जानेपछि काम गर्न धेरै सजिलो परेको उनको भनाइ छ। उनले गुल्मीबाट बीउ ल्याएर खेती सुरु गरेका हुन्। स्याङ्जाको चापाकोट नगरपालिका–४ लग्दाहामा आजभन्दा करिब सात वर्षअघि पाँच सय बोट बिरुवा लगाए । सो बिरुवाले हाल उत्पादन दिइरहेको छ। व्यावसायिक तवरबाट खेती गरेका उनले बिरुवा लगाएको दुई वर्षमा फुल्न थालेको बताए।

स्याङ्जाको वालिङ, जगत्भन्ज्याङमा उत्पादन भएका कफी खरिद गरेर पाल्पा रामपुरमा प्रशोधन गरी बाहिर पठाउछन् । ‘अग्र्यानिक चिया तथा कफी’ नाममा गत वर्ष घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा दर्ता गरी आफैँ उत्पादन, खरिद, प्रशोधन गरी बजारीकरण गरिरहेका छन् । आफ्नै घरमा प्रशोधन मेसिन जडान गरी बजारीकरण गरेपछि राम्रै आम्दानी हुन थालेको सिंले बताए। गत वर्षमात्रै आफूले लगाएको एक हजार आठ सय किलो कफी उत्पादन गर्नुभएको छ भने करिब २८ टन कफी खरिद बिक्री गरेको उनले बताए।

गत वर्ष एक हजार छ सय किलो कफी जापान, २५ किलो जर्मनी, सात किलो भारत, छ किलो कोरियालगायत देशमा खपत गरेका छन् । गत वर्ष करिब रु आठ लाख बराबरको कारोबार गर्नुभएका सिं यस वर्ष रु १० लाख बढी कारोबार हुने बताउछन् । छहारी, भिरालो जनिनमा बिरुवा लगाएका छन् । कफीखेतीलाई व्यवसायीकरण गर्न उनले आफैँ उत्पादन गरेको एक हजार बिरुवा स्थानीयलाई निःशुल्क वितरण गरेका छन् । यस वर्ष पाल्पा रामपुरमा कफीका बिरुवा लगाउने तयारी गरिरहेका छन्।

“यसै व्यवसायबाट परिवारको जीविका चलेको छ, अर्काको देशमा काम गर्न सजिलो छैन, आफ्नै देशमा बसेर व्यवसाय गर्दाको आनन्द नै बेग्लै छ”, उनले भने। कफी प्रशोधनका लागि घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले प्रशोधन गर्ने मेसिन अनुदानमा उपलब्ध गराएपछि सहज भएको छ  आफ्नै देशमा घरपरिवारका साथमा व्यवसाय गर्न पाउँदा मन आनन्दित भएको सिं अनुभव सुनाउनुहुन्छ । आफ्नो देशमा उत्पादन भएको वस्तु यहीँ प्रशोधन गरी उपभोक्तामाझ पुर्‍याउन पाउँदा खुसीको क्षण सम्झिन्छन्।

उनले रामपुर क्षेत्रलाई कफी उत्पादन प्रशोधन केन्द्रका रूपमा चिनाउने अठोट लिएका छन्। जापानबाट माग धेरै आएकाले पुर्‍याउन नसकिएको उनी बताउँछन्। प्रशोधन गरिएको कफी हाल सिंले प्रतिकिलो रु एक हजार आठ सयमा बजारमा बिक्री गरिरहेका छन्। उनले कफी उत्पादनका लागि सातवटा प्रशोधन मेसिनको व्यवस्थापन गरेका छन्। यस व्यवसायमा करिब रु १० लाख बराबरको लगानी परेको छ।

अहिले उनको नर्सरीमा करिब आठ हजार कफीका बिरुवा बिक्री गर्न लायकका छन्। मध्यपहाडका ४० जिल्लामा कफीखेती गरिएको तथ्याङ्क छ । केही जिल्लामा भने व्यावसायिकरूपमा खेती गरेको पाइन्छ। पाल्पा, स्याङ्जा, पर्वत, अर्घाखाँची, कास्की, लमजुङ, तनहुँ, गोरखा, ललितपुर, धादिङ, मकवानपुर, म्याग्दी, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोकलगायत जिल्लामा कफीखेतीको विस्तार गरिँदै छ।

लघुवित्तको ज्यादतीः घर छाड्दै गाउँबासी

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका ६ की गुडिया बिकले पाँच वटा लघुवित्तय संस्थाबाट ऋण लिएकी छन । कृषि उत्पादन र पशुपालनका लागि लिईएको थियो तर उत्पादन केहि छैन । ब्याजले ऋण बढ्दैछ । तिर्ने आम्दानीको श्रोत केहि नभएपछि उनी गाउँ छोड्ने अवस्थामा पुगेको बताउँछन । अरु धेरै ऋण तिर्नु त परै जाओस एउटा लघुवित्तको जम्मा १५ हजार ऋण समेत तिर्न नसकेर भाग्ने अबस्थामा पुगेको उनको भनाई छ ।

गुल्मीदरबार गाउँपालिका १ बलिथुमकी सिता कुमारी रेश्मी मगरको अवस्था पनि उस्तै छ । मध्येरातमा आएर लघुवित्तहरुले कहिले भैसी फुकाउन खोज्छन भने कहिले लालपुर्जा माग्छन । उनी पनि चार पाँच वटा लघुवित्तको ऋणमा डुबेकी छन । छत्रकोट गाउँपालिका २ पल्लीकोटकी जमुना सोमरेले लघुवित्तमा ऋण खाएकाहरु मध्ये कतिपयले गाउँ छाडेको र कतिपय श्रीमान श्रीमतिको सम्वन्ध विच्छेद भएकोले लघुवित्तिय संस्थाहरु खारेज हुनु पर्ने माग गर्छिन् ।

बलिथुमकी सावित्रा रजाली मगरले १२ वटा लघुवित्तबाट ऋण लिएको सुनाउँदै भनिन सुरुमा फकाई फकाई डेढ लाख ऋण दिएको अहिले ३ लाख पुगेको र ऋण तिरेर छाड्छुभन्दा पनि नमान्ने गरेको बताउँछिन । धुर्कोटरजस्थलका राजन भण्डारी अपाङ्ग छन् । विभिन्न लघुवित्तको ऋण खाएका उनले ‘आज पैसा छैन । दुई चार दिनपछि दिन्छु ।’ भन्दा लघुवित्तका मान्छेले ‘एक हजार रुपैयाँ दिन्छु विष खाएर मर’ भन्ने कटुवचन बोलेको दुखेसो सुनाउछन् ।
लघुवित्तहरुले महिला, गरिव तथा विपन्न, दलित र जनजाती वस्ती छानेर जथाभावी अनउत्पादक क्षेत्रमा ऋण प्रवाह गरेको आरोप छ । अहिले गाउँमा शोषक सामन्तले झैं ऋण दिदा ठेली काट्ने गरेर गरिवहरुलाई थप गरिव बनाउँदै जान थालेपछि कैंयौै घरबाट बिस्थापित भएको गुनासो बढेको छ । एउटै टोल धुर्कोटरजस्थलबाट मात्रै १० घर परिवार विस्थापित भएको गुल्मीको जिल्ला प्रशासन कार्यालय अगाडिको बिरोध पर्दशनमा आएकी सोही गाउँकी लघुवित्त पीडित महिला बिजुला परियार बताउँछिन् ।

गुल्मीका मुख्य बजारमा दर्जनौं लुघुवित्त संस्थाहरु रहेका छन । उनीहरुको निगरानी न स्थानीय सरकारले गरेको पाईन्छ न त जिल्ला प्रशासनले नै । यसर्थ पीडितहरु सडकमा ओर्लेर आन्दोलन गरिरहेका छन् । गुल्मीबाट सुरु भएको लघुवित्त वित्तिय संस्था बिरुद्धको आन्दोलन यति बेला देश ब्यापी बन्न पुगेको छ । मंगलबार पनि लघुवित्तिय संस्थाहरुको खारेजीको माग गर्दै गुल्मीसहित देशका विभिन्न जिल्ला प्रशासनमा बिरोध प्रदर्शन तथा धर्ना दिईएको छ ।

नवसामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज हुनुनपर्ने उनीहरुको माग रहेको छ । त्यस्तै लघुवित्तहरुले दिएको सामुहिक ऋण सरकारले मिनाह गरी दिनु पर्ने, आम गरिव किशानहरुलाई सरकारले निःशुल्क ऋण प्रदान गर्नु पर्ने उनिहरुमो माग छ । त्यस्तै आवश्यकता र श्रमको आधारमा काम र दामको ब्यवथा गर्नु पर्ने र समाजवादी अर्थतन्त्रको ब्यवस्था गर्नु पर्ने आफूहरुको माग रहेको लघुवित्तिय संस्था बिरुद्धको संघर्ष समिति नेपालका केन्द्रि अध्यक्ष गुल्मी बलिथुम गाउँका मानिराम ज्ञवाली बताउँछन ।