११ आश्विन २०७८, सोमबार १५:१८ – Page 5 – Nagarikabhiyan : National News

राष्ट्रिय सभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाबाट बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । सोमबार प्रमुख विपक्षी नेकपा (एमाले) को विरोधकाबीच बजेटसँग सम्बन्धित उक्त विधेयक राष्ट्रियसभाले पारित गरेको हो । आजको बैठक सुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेका थिए। र समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताए ।

तर, सभाध्यक्ष गणेश तिमल्सिनाले एमालेको विरोधकाबीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधयेक २०७८ माथिको दफाबार छलफल अगाडि बढाए । दफाबार छलफलमा कुनै पनि सांसदले भाग लिएनन् । आजको बैठकले बजेटको राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक पारित गरेको हो। दुवै विधेयक प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा गएको थियो । सोमबार राष्ट्रिय सभाले पनि पारित गरेर पुनः प्रतिनिधिसभामै पठाएको छ।

अब आजै दिउँसो दुई बजे बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभाले पारित गरेको संदेश पेश हुनेछ । र प्रतिनिधिसभाले सभामुख हुँदै प्रमाणिकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ र प्रमाणिकरण भएपछि कार्यान्वयनमा जाने छ ।

दुर्घटनबाट यसरी जोगियो बुद्ध एयर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोर्स ल्याण्ड गरिएको बुद्ध एयरको जहाजमा सवार  यात्रु सकुशल रहेका छन्। जहाजमा रहेका सबै यात्रु सकुशल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले  जानकारी दिए। विमानमा ७५ जना यात्रु सवार थिए।

सोमबार बिहान ८:३० बजे बुद्ध एयरको विमान काठमाडौंबाट विराटनगरका लागि उडेको थियो। विराटनगर एयरपोर्टमा ल्यान्डिङका क्रममा जहाजको गियरमा समस्या आएपछि पुन: काठमाडौं फर्काइएको थियो।

जहाज काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइ अलर्ट गरिएको थियो।

अमेरिका पुगेर परराष्ट्र मन्त्री खड्काले एमसिसी सम्बन्धि दिए यस्तो प्रतिक्रिया

काठमाडौं। परराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने बताएका छन्।

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक आईपुगेका मन्त्री खड्काले एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड छ यसको प्रकिया छ नेपालले संशोधन गर्दा एमसिसी लागू भएका देशसमेत प्रभावित हुने भएकोले यो कठिन हुने उनले जिकिर गरे।

‘राष्ट्रिय सहमति अपरिहार्य हो। तर एमसिसी बारे भइरहेका अनर्गल प्रचार गलत हो’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दे मन्त्री खड्काले भने, ‘ओली सरकारमा हुँदा धेरै पटक सभापति देउवासँगको भेटमा ओलीको एउटै कुरामा जोड हुने गर्थ्यो- एमसिसी मुलुकको आवश्यकता हो संसदवाट बिना संशोधन पास गर्नुपर्छ।’

मेथीको साग सेवन गर्नु भएको छ ? यस्तो छ मेथी सेवन गर्नुका फाइदाहरु

एजेन्सी । हरियो सागसब्जी स्वास्थ्यका दृष्ट्रिले हेर्ने हो भने, स्वस्थ रहनका लागि एकदमै आवश्यक छ ।

हिजोआज हरियो सागसब्जीले बजार भरिभराउ छ । रायो, चम्सुर, पालुङ्गो लगायतका अनेकौ सागसब्जीले बजार भरीभराउ छ । सागसब्जी जति स्वादिलो हुन्छ, यसमा रहेको पौष्टिक तत्वले शरीरलाई त्यति नै पोषण प्रदान गर्छ ।

आज हामी यहाँ चर्चा गर्दैछौं मेथीको सागको बारेमा । यसले शरीरलाई अनेकौं समस्याबाट लड्न सक्ने शक्ति दिन्छ । जाडो याममा चिसोका कारण धेरैलाई कब्जियत, ग्यास्ट्रिक लगायत पेटसम्बन्धी समस्या हुने गर्छ । मेथीको हरियो साग खानाले पाचन तन्त्रले सुचारु रुपमा काम गर्छ र कब्जियत, ग्यास्ट्रिक लगायतका समस्याबाट मुक्ति दिलाउँछ । मेथीको साग खानाले जोर्नीको दुखाईसमेत कम हुन्छ । त्यसैले त, पहिले पहिलेका मानिसहरु जाडो सुरु हुन लाग्दा मेथीको साग तथा भिजाएको मेथीलाई तारेर खाने गर्थे ।

अधिकांश बालबालिकामा पेटमा जुका वा किरा पर्ने आम समस्या हो । किरा परेमा पनि मेथीको सेवन प्रभावकारी मानिन्छ । मेथीको पत्तिलाई पिसेर त्यसबाट निकालिएको रसलाई प्रत्येक दिन सेवन गरेमा पेटको किराको समस्या कम हुने गर्छ । मेथीले चिसो लाग्नबाट शरिरलाई जोगाउँछ । प्रत्येक दिन यसलाई कुनै न कुनै विधिबाट सेवन गर्नाले चिसो लाग्दैन । र, चिसोका कारण हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ । मधुमेहका बिरामीका लागि पनि मेथी निकै फाइदाजनक मानिन्छ । प्रत्येक दिन मेथीको पत्ताको रस निकालेर पिएर यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सघाउ पुर्‍याउँछ । अनुहारको सुन्दरता बढाउन पनि मेथी निकै लाभदायक मानिन्छ । मेथीलाई पिसेर लगाउनाले अनुहार चमकदार र कसिलो हुन्छ । साथै, यसले छाला नरम बनाउने हुँदा सुख्खा छाला भएका व्यक्तिहरुका लागि पनि मेथी निकै उपयोगी मानिन्छ ।

मेथीको पत्तामा प्याज हालेर खाएमा उच्च रक्तचापको समस्या कम हुने गर्छ भने न्यून रक्तचाप भएका व्यक्तिका लागि मेथी मिसाइएको तरकारी निकै लाभदायक मानिन्छ । नियमित रुपमा मेथीको सेवनले मुटुसम्बन्धी समस्या कम गर्न मद्दत गर्छ । यसले हृदयघातको सम्भावनालाई न्यून बनाई शरीरलाई स्वस्थ राख्न मद्धत गर्छ । नियमित रुपमा मेथीको सेवनले तौल नियन्त्रित गर्न समेत मद्दत गर्छ । र, शरीरमा जमेको बोसो क्रमिक रुपमा कम हुँदै जान्छ ।बारम्बार पिसाब लागेमा मेथीको पत्ताको रसलाई नियमित रुपमा सेवन गरेमा यो समस्या तुरुन्तै कम हुने गर्छ ।

यीनै हुन् मेथीको साग सेवन गर्नुका फाइदाहरु । आउनुस् यसका फाइदा पढौं, स्वस्थ बनौं ।

जितिया पर्व आजबाट विधिवत रुपमा सुरु

देवानगंज । मिथिलाञ्चलका विवाहित हिन्दु नारीहरुले मनाउने पबित्र पर्व जितिया आजबाट विधिवत रुपमा सुरु भएको छ । यस पर्व विवाहित हिन्दु नारीहरुले पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै मनाउने गर्छन । मिथिलाञ्चल क्षेत्रमा लोकप्रिय रहेको जितिया पर्व प्रतिवर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाईने परम्परा रहि आएको छ ।

पर्वको पहिलो दिन सप्तमी तिथीमा ‘नहा, खा’ (नुहाएर खानु) विधिबाट पर्व सुरु भएको हो । ब्रतालु नारीहरुले नदी, पोखरी तथा जलासयमा स्नान गरी घिरौलाको पातमा पिना, तेल र सिन्दुर भगवान जितमाहनको पुजा गर्ने गर्छन। पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन रहिआएको छ । जसलाई ‘माछ मरुवा’ पनि भन्ने गरिन्छ ।

जितियाको दोस्रो दिन अष्ठमीतिथिमा ब्रतालुहरु २४ घण्टाको लामो निराहार उपवास बसेर भगवान जितमाहनको कथा सुन्ने गरिन्छ भने अन्तिम दिन नवमी तिथिमा पुनः नदि, पोखरी तथा जलासयमा स्नान गरी घरमा आएर चौका लगाई चिउरा, दही तथा सखरको प्रसाद अर्घ दिएर ब्रत समाप्त भएको मानिन्छ ।

आणविक हतियाररहित विश्व निर्माण गर्न राष्ट्रसंघको आग्रह

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । उनले विश्व आणविक हतियार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताएका हुन् ।

उनले आणविक हतियारहरू विश्वबाट नै अनिवार्य रुपमा उन्मूलन हुनुपर्नेमा जोड दिए । महासचिव गुटर्रेसले यो हतियार मानवता विरुद्धको र घातक भएकोले विश्वबाट नै उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको हो । तर अहिले पनि आणविक हतियारहरू विश्वमा चुनौतीका रुपमा रहेको उनले बताए ।

उनले गएको एक दशकयता विश्वबाट नै आणविक हतियारहरू घट्दो रुपमा रहेको पाइएको भएपनि यसको संख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको उनले बताए । तर यो पनि अहिलेको विश्वका लागि घातक नै रहेको उनले बताए ।

त्यसैले यी सबै हतियारहरू विश्वबाट नै उन्मूलन गर्नेगरी काम गर्नुपर्ने चुनौती संयुक्त राष्ट्रसंघ समक्ष रहेको उनको भनाई थियो । उनले संयुक्त राष्ट्रसंघले यसको स्थापनादेखि नै यस्ता हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि स्पष्ट पारेका थिए ।

संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढ्यो : महन्थ ठाकुर

काठमाडौँ ।  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् ।

उनले देशमा राजनीतिक अस्थिरता रहेपनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि जानकारी दिए ।

सोमबार पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकार समेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको स्पष्ट पारे ।

प्रचण्ड र नेपालबीच भेटवार्ता, दलसम्बन्धी अध्यादेशबारे छलफल

काठमाडौँ । सत्तारुढ साझेदार दलका प्रमुख दुई घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

नेपालको निवास कोटेश्वरमा दुई नेताबीच सोमबार भेटवार्ता भएको हो । नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका थिए ।

करिब १ घण्टासम्म चलेको भेटवार्तामा दुई नेताबीच मन्त्रिपरिषद् विस्तार तथा राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशका विषयमा छलफल भएको जनाइएको छ ।

७५३ वटै स्थानीय तहको शिक्षक दरबन्दी मिलान अन्तिम चरणमा, कार्तिक भित्रै सरुवा गरिसक्ने केन्द्रको दाबी

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी मिलानको काम अन्तिम चरणमा पुगेको जनाएको छ। केन्द्रले स्थानीय तहसँग समन्वय गरेर शिक्षक रिक्त विवरण अद्यावधिक गरेसँगै दरबन्दी मिलानको काम अघि बढाएको जनाएको हो।

केन्द्रले दरबन्दी मिलानको काम ७७ वटै जिल्ला शिक्षा तथा समन्वय एकाइ र ७५३ वटै स्थानीय तहले शिक्षकलाई सरुवा गर्ने प्रक्रिया सुरु गरेको केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले जानकारी दिए।

केन्द्रले २०७२ असोज ३ यता जिल्लाअन्तर सरुवा भई आएका स्थायी शिक्षक तथा बाँकी शिक्षकको नामनामेसी, कार्यरत विद्यालय, स्थानीय तह र कनिष्ठको सूचीसमेत तयार गरी अद्यावधिक गर्न स्थनीय तहलाई निर्देशन दिएको थियो।

शिक्षक दरबन्दी तथा मिलान कार्यविधि २०७६ अनुसार हिमाल, पहाड तथा तराइको लागि शिक्षक विद्यार्थी अनुपात क्रमशः चालीस, पैँतालीस र पचासलाई स्थानीय तहको शिक्षकको मौजुदा अवस्था र आवश्यकता पहिचानको आधारमा दरबन्दी पुर्नवितरण गर्ने भनिएको छ। तर, साबिकमा व्यवस्था रहेको प्राथमिक, निम्न माध्यमिक, माध्यमिक र उच्च माध्यमिक शिक्षाको संरचना अनुसार नभई अहिले परिवर्तित विद्यालय शिक्षाको संरचना अनुसार मिलान गर्न शिक्षा नियमावलीमा नै परिवर्तन गर्नुपर्ने भएकाले शिक्षक सेवा आयोगले नियमावली संशोधन गरेर मात्रै दरबन्दी मिलान गर्न सकिने जनाएको छ।

यिनै हुन् बुद्ध एयरको जहाजलाई ठुलो दुर्घटनाबाट जोगाउने क्याप्टेन आङगेलु शेर्पा

काठमाडौं । आकाशमा दुई घण्टासम्म फन्को मारेको बुद्ध एयरको जहाज काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान्य अवस्थामा अवतरण गरेको छ । आज बिहान काठमाडौंबाट विराटनगर प्रस्थान गरेको उक्त जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसकेपछि पुनः काठमाडौंमै फर्किएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले उक्त जहाज ‘नर्मल ल्याण्ड’ गरेर पार्किङस्थलमा गइसकेको बताए ।जहाज सुरक्षित अवतरण भएकाले सम्भावित सं’कट टरेको छ । सो जहाजमा चालक दलका ४ सदस्यसहित ७७ जना थिए ।

सो जहाज सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएका थिए ।उक्त जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन । सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि विराटनगरको तुलनामा काठमाडौंमा अवतरण गर्न उपयुक्त हुने ठानेर सो जहाजलाई काठमाडौं फर्काइएको थियो ।

अवतरण गर्नुअघि त्रिभुवन विमानस्थलमा आधा दर्जन बढी दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरुलाई तयारी अवस्थामा राखिएको थियो । सो जहाजले धावनमार्ग छोएपछि जहाजको दायाँ-बायाँबाट दमकल र एम्बुलेन्स जहाज गएतर्फ गुडेका थिए ।

जहाजले आकाशमा धेरैबेर फन्को लगाइरहनुको कारणबारे विमानस्थलका एक अधिकारीले भने, ‘यस्तो अवस्थामा जहाजको इन्धन कम गराउनु पर्ने हुन्छ । त्यतिन्जेलसम्म विमानस्थलले आकस्मिक अवस्थामा चाहिने तयारी पूरा गर्छ । दमकल, एम्बुलेन्सदेखि अन्य सुरक्षाका सबै तयारी पूरा गरिन्छ ।’

आज २०७८ असाेज ११ गते साेमबारकाे राशिफल

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसर प्राप्त भए पनि समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। अरूको आलोचना गर्दा आफैंलाई हानि हुनेछ। असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा धेरै समय दिन नसकिएला। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला। शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। व्यापारमा केही लाभांश मिल्नेछ।

वृष –इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आँटले काम लिन नसक्दा व्यवहारमा पछि परिनेछ। अरूको मुख ताक्ने बानीले पनि काम अधुरो रहनेछ। आगन्तुकहरूले अलमल्याउने हुँदा काममा समय दिन नसकिएला। तापनि विगतका कमजोरीलाई सुधार गर्ने मौका पाइनेछ। बुद्धिको उपयोगले ढिलै भए पनि काम बन्न सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। विश्वासपात्रमाथि शंका जाग्न सक्छ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्नै बेहोसीले नोक्सान पुर्याउन सक्छ। बलजफ्तीले पनि बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुन सक्छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्।

कर्कट –हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मिहिनेत परे पनि तारिफयोग्य कामको चर्चा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। तापनि कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।

कन्या –टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिकूल परिस्थितिले चिन्ता बढाउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।

तुला –र, रि, रु, रे, रो, ता, ति, तु, ते
अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था रहनेछ। अरूका काममा व्यस्त बन्नुपरे पनि आफ्ना कामको मेसो नमिल्दा पछि परिएला। आफ्नो श्रमबाट अरूले फाइदा उठाउने काेसिस गर्नेछन्। गाेप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ। उपलब्धिका लागि पहिले सम्पादन भइसकेकाे काम समेत दाेहाेर्याउनुपर्ला। परिस्तिथिवश काममा ढिलासुस्ती हुन सक्छ।

वृश्चिक –तो, ना, नि, नु, ने, नो, या, यि, यु
छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ। सुझबुझका साथ काम लिएमा उपलब्धि प्राप्त हुनेछ। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा भने सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला।

धनु –ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ हुनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ। पछिका लागि सकारात्मक संकेत प्राप्त हुनेछ।

मकर –भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसरले पछ्याए पनि परिस्थिति संघर्षमय रहनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनेछ। दिगो कामलाई केही समय पर्खनुपर्ला। पहिलेका सहयोगीहरू पछि हट्नाले कामको चाप बढ्नेछ। बलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। अध्ययनमा समय दिन नसकिएला। विवादास्पद जिम्मेवारी आउन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्नेछ।

कुम्भ –गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थिति आफ्नै लागि प्रतिकूल रहला। हडबडीले काम बिग्रनेछ भने सानो गल्तीले काम दोहोर्याउनुपर्ला। बेसुरको व्यवहारले समस्या निम्त्याउनेछ। महत्त्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। निर्णायक मोडमा दुविधा हुने हुँदा हतारमा निर्णय नलिनुहोला। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। गोपनीयतामा सावधान रहनुहोला।

मीन –दि, दु, थ, झ, ञ, दे, दो, च, चि
छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत-साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्नाले थप काम गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीबाट जाेगिएर काम गर्नुहाेला। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ।

हरिपुरमा जितिया विशेष कार्यक्रम सम्पन्न

सुनसरीको कोशी गाउँपालिकामा एतिहासिक जितिया विषेश कार्यक्रम सम्पन्न भएको छ । कोशी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिपुरको आयोजनामा आईतबार कोशी गाउँपालिका वडा नम्बर ७ हरिपुरमा जितिया विशेष कार्यक्रम सम्पन्न भएको हो । कोशीका ३ वटा वडाका महिला , सहकारी संस्थाका सदस्यहरु, सम्पूर्ण वडाबासिहरु तथा गाउँबासिहरुको उत्साहजनक सहभागीतामा जितिया विषेश कार्यक्रम सम्पन्न भएको जनाएको छ । संहकारीले कोशी गाउँपालिकाको कार्यालय लौकहीको सहयोगमा मधेसी तथा थारू समुदायका महिलाले मनाउने आस्था, निष्ठा र कठोर उपबासको पर्व जितियाको पूर्व सन्धयामा जितिया विषेश कार्यक्रम सम्पन्न गरेको संस्थाकी चन्द्रकला नेपालले जानकारी दिनुभयो । समपन्न भएको जितिया विषेश तथा सांस्कृति कार्यक्रममा स्थानीय कलाकारहरुले नृत्य, गायत र अभिनय गरेर सहभागीहरुलाई मनोरन्जन समेत प्रदान गरेको कार्यक्रम संचालक धर्मेन्द्र मेहताले बताउनुभयो । सम्पन्न भएको कार्यक्रममा वत्ताहरुले महान पर्व जितियाको विविध धार्मिक, एतिहासिक र पौराणिक तथ्यका बारेमा चर्चा गर्दै बर्त बस्न लागेकाहरुलाई शुभकामना समेत दिएका थिए । सोमबार विहानबाट विधिवत रुपमा सुरु हुने जितिया पर्वमा विशेष गरी तराईमधेशका मधेसी तथा थारु महिलाहरु निराहार ब्रत बस्ने गर्छन । जितिया पर्व तराईमा बसोबास गर्ने विशेष गरी मधेसी, मैथली र थारु संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्वको रुपमा लिने गरेको कार्यक्रममा कोशी ७ का वडा अध्यक्ष रामचन्द्र महतोले बताउनुभयो ।
कार्यक्रममा पत्रकार जयकृष्ण यादवले जितियाको महत्व र जितमहान व्रत अनि पर्वको चर्चा गर्दै महिलाहरुको नेतृत्वमा बनेको सहकारीको प्रसंसा समेत गर्नुभयो । यादवका अनुसार पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराई÷मधेसका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँने र त्यसमा कोशीको महिनाहरुले विषेश सांस्कृति कार्यक्रम गरेर सामुहिक कार्यक्रम गरेको र गाउपालिकाले सहयोग गरेकोमा उदाहरणीय कार्य भएको छ । कोशी गाउँपालिकाका उपाध्यक्ष अनितादेवी यादवले परिवारको कल्याण र पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन विधिद्धारा पूजा गरेर यो पर्व मनाउने चलन रहेकाले सबैलाई शुभकामना दिनुभयो । वहाँले महिलाहरु जितिया मनाउन वर्त बस्ने र कोही माइती जाने , जान नसकेका महिलाहरु घरमै साथीहरु जमघट गर्ने, जितुवाहानको कथा प्रबचन सुन्ने र एकआपसमा शुभकामना आदानप्रदान गरेर पनि जितिया मनाउने बाउनुभयो । वहाँले गाउँका महिलाहरुलाई सयौको संख्यामा एकैठाउमा जम्माभेला गरी कोशीमा एतिहासिक कार्यक्रम समेत भएकाले आयोजक र सहयोगीलाई धन्यवाद समेत दिनुभयो । वहाँले स्थानीय सरकारले जितिया पर्वको अवसरमा पाकिलाका ८ वटै वडाका महिलाका लागि दुई ठाउँमा कार्यक्रम गर्न सहकारीको प्रस्तावलाई स्विकार गरेर सहयोग समेत बताउनुभयो ।
यसैबीच कार्यक्रमका प्रमुख अथिति ऐयुव अंसारीले जितिया पर्वको अवसरमा महिलाहरुको सकृयामा भएको जितिया महोत्सव विषेश तथा सांस्कृति कार्यक्रम एतिहासिक भएको बताउनुभयो । गाउँमा एकैठाउँमा आयोजना गरेको विषेश कार्यक्रममा हजारको संख्यामा महिलााहरुलाई दर खुवाउने र सांस्कृति कार्यक्रममा जोड्ने काम भएकोमा खुसी व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममाम अध्यक्ष अंसारीले सहकारीमा आवद्ध भएकाहरुलाई एकसाथ सम्मान गर्नुभएको छ । कार्यक्रममा सम्मानित हुनेहरुमा साविक नागरिक सचेतना केन्द्रका संयोजकहरु र सहजकर्ताहरु रहेका छन् । हरिपुरमा मिना कुमारी झा, कौशीला खत्वे, ममता मेहता, सितादेवी मेहता, रेणु यादव, ममिता यादव, चन्दादेवी यादव, तिलेश्वरी यादव, बन्दना झा, विन्दुदेवी झा, सरिता सुतिहार, लालबती राम, रिंकु यादव, सरस्वती मण्डल, अनिला बहरखेर, सुगावती यादव, आरती यादव लगायतका ५८ जना महिलाहरुलाई सम्मान गरेको अध्यक्ष अंसारीले बताउनुभयो । महिलाले मनाउने जितिया पर्वको कथाको बारेमा जानकार रहेको बताउदै अंसारीले सबैलाई शुभकामना र राम्रो काम गर्ने तत्कालिन नागरिक सचेतना केन्द्रका महिलाहरुलाई सहकारीमा आवध गराउन र सम्मान गर्न पाउदाँ खुसी लागेको बताउनुभयो ।
सोही कार्यक्रममा अध्यक्ष अंसारीले रुतम मण्डल, भागवतप् मण्डल, लक्ष्मी राम, प्रमिला सदा, पुलतिदेवी झा, चन्द्रकला नेपाल, सोनीदेवी सदा, लिला देवी मेहता, बन्सरी साफी, निर्मला सरदार, सिलादेवी कठैत, मन्जुदेवी खत्वे ,सुधादेव सरदार, सिमला सरदार, सन्ध्या यादव, गिता पौडेल, जानकी शिवाकोटी, मुन्नी मेहता, सन्जु मण्डल, सुनिता यादव, निमल पाठक, कल्पना यादव, सविता यादव सहितकालाई सम्मान गर्नुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष गिता पौडेलले कोशी गाउँपालिका अध्यक्षज्यूबाट कोशी गाउँपालिकामा पहिलो पटक एतिहासिक पिछडिएका महिला, दलित, अपांग, भुमीहिन, गरिब महिलाहरुको सम्मान भएको बताउनुभयो । सहकारी बनाउन अथक प्रयास, महिलाहरु र नागरिक सचेतना केन्द्रका अध्यक्षहरुको योगदानमा अध्यक्ष अन्सारीको ठूलो योगदान रहेकोमा पौडेलले धन्यवाद दिनुभयो । सबै सहभागीलाई स्वागत गर्दै कार्यक्रममा योगदान गर्नेहरुलाई पनि सम्मान गर्नुभयो । चार वर्ष अघि जिल्लामा सन्चालन हुँदै आएका सहकारी संस्थाहरुलाई सम्वन्धित स्थानीय तहमा हस्तान्तरण गरिएको थियो । तर यो संस्था भने नयाँ भएको र गाउपालिकाले स्वामित्व लिएर सहयोग गरी दर्ता र संचालनमा सहयोग गरेको छ । जिल्लामा सन्चालित ६ सय ७५ सहकारी संस्थाहरु मध्ये एकमात्र स्थानीय तह कार्यक्षेत्र भएका ५ सय ५३ ओटा सहकारी संस्थाहरुलाई सम्वन्धित स्थानीय तहमा हस्तान्तरण भएका छन् । एक सय २२ ओटा संस्थाको भने कार्यक्षेत्र एकभन्दा वढि स्थानीय तह रहेकाले ती संस्थाहरुलाई प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । जिल्लाका १२ स्थानीय तह मध्ये सवैभन्दा वढि १ सय ५८ ओटा संस्था इटहरी उपमहानगरपालिकामा सन्चालन हुँदै आएका छन् । भने सबैभन्दा कम कोशी गाउँपालिकामा २३ ओटा सहकारी संस्थाहरु सन्चालन हुँदै आएका छन् ।
कार्यक्रममा अधिकारकर्मी रमेश भट्टराईले सामाजिक न्याय, समानता र सम्मानको संस्कृति स्थापित हुँदा मनहरु जुट्छन, शान्ती कायम हुन्छ । सकारात्मक शान्ति कायम हुनु दिगो बिकासको सूचक हो । साँस्कृतिक पर्व जितियाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम कोसि गापा–७ मा भएको प्रतिकृया दिनुभयो ।

लौकहीमा जितिया महोत्सव कार्यक्रम सम्पन्न

सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा ऐतिहासिक रुपमा जितिया महोत्सव शुभकामना आदान प्रदान तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सप्तकोशी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड लौकहीको आयोजनामा आईतबार कोशी गाउँपालिका वडा नम्बर १ लौकहीमा जितिया महोत्सव कार्यक्रम सम्पन्न भएको हो । कोशीका ५ वटा वडाका महिला, सहकारी संस्थाका सदस्यहरु, सम्पूर्ण वडाबासिहरु तथा गाउँटोलबासिहरुको उत्साहजनक सहभागीतामा जितिया महोत्सव कार्यक्रम सम्पन्न भएको संस्थाकी कविता मण्डलले जानकारी दिनुभएको छ । संहकारीले कोशी गाउँपालिकाको कार्यालय लौकहीको सहयोगमा मधेसी तथा थारू समुदायका महिलाले मनाउने आस्था, निष्ठा र कठोर उपबासको पर्व जितियाको पूर्व सन्धयामा जितिया महोत्सव कार्यक्रम सम्पन्न गरेको संस्थाकी अध्यक्ष मोती मेहताले जानकारी दिनुभयो । समपन्न भएको जितिया महोत्सव कार्यक्रममा स्थानीय कलाकारहरुले धार्मिक अध्यात्मिक नृत्य, गायत र अभिनय गरेर सहभागीहरुलाई मनोरन्जन समेत प्रदान गरेको कार्यक्रम संचालक पवन रौनीयारले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अथिति कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अंसारीले आफूले पाकिलाभरीका दुई हजार बढी महिलाहरुलाई सहकारीमा जोड्ने काम गरेको बताउनुभयो । वहाँले सिडिपी नामक संस्थाको प्रोजेक्टमा रहेका महिलाहरुलाई जिविकोपार्जन सहित बचत गर्न आफ्नै गाउँटोलमा सुलभमा आवश्यक पर्दा ऋण समेत लिन पाउने गरी सहकारी संस्था निर्माणमा सहयोग गरेको बताउनुभयो । अध्यक्ष अंसारीले साविकका ३९ वडा नागरिक सचेतना केन्द्रहरुलाई एकिकृत गरेर ११७० महिलाहरुको सामूहिक हितका लागि एउटा र अर्को २९ वटा नागरिक सचेतना केन्द्रहरुलाई एकिकृत गरेर ८३० महिलाहरुको सामूहिक हितका लागि सहकारी संस्था निर्माणमा सहयोग गरेको बताउनुभयो । वहाँले अहिले कोशी महिला बचत तथा ऋण सहकारीमा २९ लाख रुपियाँ र सप्तकोशी महिला बचन तथा ऋण सहकारीमा ३९ लाख रुपियाँ विउँ पुजीको रुपमा रहेकामा दुवैमा पाँच । पाँच लाख रुपियाँ थप अनुदान दिने घोषणा गर्नुभयो । वहाँले महिलाहरुको क्षमता, नेतृत्व र शिक्षामा पहुच भएको खण्डमा विकास हुने भएकाले आर्थिक क्रान्तिका लागि महिलाहरुको सकृयतामा बचत तथा ऋण सहकारीमा सहयोग गरेको बताउनुभयो । वहाँँले पाँच वर्षमा प्रत्येक सेयर सदस्यहरुको एक लाख बढी सेयर हुने र संस्थामा करौडोको कारोबार हुने अपेक्षा आफूले गरेको बताउनुभयो । कार्यक्रममा कोशीका नेपाली काग्रेंस सभापती तथा कोशी ३ का वडा अध्यक्ष सुलेमान मंसुरी, कोशी १ का वडा अध्यक्ष राजकुमार साह, कोशी २ का अध्यक्ष द्रोपदी साह, भोक्राहा नरसिंह ४ का वडा अध्यक्ष हारुन अंसारी , नेपाली काग्रेंसका नेता सत्रुधन यादव, अधिकारकर्मी रमेश भट्टराई, कोशीका उपाध्यक्ष अनिता यादव, अध्यक्षका स्वकिय सचिव धर्मेन्द्र विश्वास र गोरखापत्र दैनिकका जयकृष्ण यादव, पत्रकार पवन रौनीयार सहितको उपस्थिती रहेको थियो ।

 

भारतमा सामुद्रिक आँधीको सन्त्रास, आज राति ओडिसामा ठोक्किने अनुमान

काठमाडौँ । भारतमा ‘गुलाब’ नामको चक्रवात ९सामुद्रिक आँधी० को सन्त्रास छाएको छ।

भारतीय मौसम विभागले गुलाब चक्रवात आज राति अबेर ओडिसाको गोपालपुर आन्ध्र प्रदेशको विशाखापत्तनम तटको बीचमा बज्रिने अनुमान गरेको छ।

विभागका अनुसार अहिले त्यो चक्रवात गोपालपुरदेखि १८० किलोमिटर पूर्वमा छ।

ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले ‘गुलाब’ चक्रवातको खतरा सम्बन्धमा अधिकारीहरूसँग छलफल गरेका छन्।

नेपालमा कस्तो प्रभाव पर्ला ?

भारतमा विकसित गुलाब चक्रवातको प्रभाव नेपालमा पनि आंशिक पर्ने मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु व्यासीका अनुसार गुलाब चक्रवातको आंशिक प्रभाव नेपालमा पर्सि मंगलबारदेखि पर्ने देखिएको छ।

‘नेपालबाट त्यो चक्रवात अलि टाढै भएकाले धेरै प्रभाव पर्ने देखिँदैन, तर पर्सिदेखि आंशिक प्रभावचाहिँ पर्ने देखिएको छ’, मौसमविद् व्यासीले आइतबार भनिन्, ‘नेपालमा मौसम बदली गराउने र देशभर मध्यमसम्म वर्षा गराउनेसम्म हुने अनुमान छ।’

उनका अनुसार थप अनुमान भने त्यो चक्रवात जमिनमा ठोक्किएपछि गर्न सकिन्छ।

‘चक्रवात जमिनमा ठोक्किएपछि त्यो कुन दिशातिर जान्छ भन्ने कुराले नेपालमा पर्ने प्रभावको आकलन गर्न सकिन्छ’, मौसमविद व्यासीले भनिन्, ‘अहिलेसम्मको अनुमानअनुसार सुरुमा यसले नेपालको पूर्वी क्षेत्रमा प्रभाव पार्ने र बिस्तारै देशभर असर फैलिने देखिन्छ।’

विराटनगर उच्च अदालतको गेटमै युवा व्यवसायीमाथि खुकरी प्रहार

विराटनगर । उच्च अदालत विराटनगरको गेटमा युवा व्यवसायी कलामसिंह लामामाथि खुकरी प्रहार भएको छ । आइतबार उच्च अदालत विराटनगरको गेटमा ३२ वर्षीय लामामाथि खुकुरी प्रहार भएको हो ।

आज मध्याह्नतिर काभ्रे घरका इँटा व्यवसायीमाथि खुकुरी प्रहार भएको इलाका प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीका अनुसार लामामाथि खुकुरी प्रहार गर्ने विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्की पक्राउ परेका छन् ।

उनलाई भाग्दै गरेको अवस्थामा कोशी अस्पताल नजिकबाट पक्राउ गरिएको उनले जानकारी दिए । मोरङ प्रहरी प्रवक्ता दीपक श्रेष्ठका अनुसार फरार एक जनाको खोजी कार्य तीव्र पारिएको छ । यद्पि, खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन ।

काभ्रे घर भइ भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेका थिए । मोरङको कटहरी गाउँपालिका–६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए ।

घाइते लामाको उपचार विराटनगर अस्पतालमा उपचार भइरहेको छ । उनकाे अवस्था सामान्य रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

सप्तरी तिलाठी कोइलाडी गाउँपलिकाका बाढीपहिरो पीडितलागि राहत हस्तान्तरण

सप्तरी ।  नेपाल भारत महिला मैत्री समाजले सप्तरी जिल्लाको तिलाठि कोइलाडी गाउँपालिकाका बाढीपहिरो पीडित परिवारका लागी राहत सामग्री हस्तान्तरण गरेको छ । आइतबार राजबिराजमा आयोजित एक कार्यक्रमकोबिच भारत सरकारबाट प्राप्त सहयोग मैत्री समाजले करिव एक सय पीडित घरपरिवारलाई पुग्ने राहत सामग्री हस्तान्तरण गरिएको हो ।

सप्तरी जिल्ला बिपद ब्यबस्थापन समितीका अध्यक्ष तथा जिल्ला प्रशासन प्रमुख जनार्दन गौतमलाई महिला मैत्री समाजकि अध्यक्ष तथा संघिय सांसद चन्दा चौधरीले करिव ४२ लाख बराबरको राहत सामग्री पिडित परिवारलाई हस्तान्तरण गरेकि हुन । कार्यक्रमलाई संबोधन गर्दै सांसद चौधरीले राहत बास्तबिक पीडित समक्ष पुग्नु पर्ने आग्रह गरिन । त्यस्तै, जिल्ला प्रशासन प्रमुख जनार्दन गौतमले सहयोगका लागि भारत सरकार र महिला मैत्री समाजलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो । सो अबसरमा पीडितहरुको अस्थायी बसोबासका लागि ठूलो टेन्ट-३० वटा , सानो टेन्ट-५५ वटा, मझौला टेन्ट-२५ वटा र प्लाष्टिकको गुन्द्री-२०० वटा लागयतको सामग्री रहेको थियो।