भारतमा सामुद्रिक आँधीको सन्त्रास, आज राति ओडिसामा ठोक्किने अनुमान
१० आश्विन २०७८, आईतवार १७:१२
काठमाडौँ । भारतमा ‘गुलाब’ नामको चक्रवात ९सामुद्रिक आँधी० को सन्त्रास छाएको छ।
भारतीय मौसम विभागले गुलाब चक्रवात आज राति अबेर ओडिसाको गोपालपुर आन्ध्र प्रदेशको विशाखापत्तनम तटको बीचमा बज्रिने अनुमान गरेको छ।
विभागका अनुसार अहिले त्यो चक्रवात गोपालपुरदेखि १८० किलोमिटर पूर्वमा छ।
ओडिसाका मुख्यमन्त्री नवीन पटनायकले ‘गुलाब’ चक्रवातको खतरा सम्बन्धमा अधिकारीहरूसँग छलफल गरेका छन्।
नेपालमा कस्तो प्रभाव पर्ला ?
भारतमा विकसित गुलाब चक्रवातको प्रभाव नेपालमा पनि आंशिक पर्ने मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु व्यासीका अनुसार गुलाब चक्रवातको आंशिक प्रभाव नेपालमा पर्सि मंगलबारदेखि पर्ने देखिएको छ।
‘नेपालबाट त्यो चक्रवात अलि टाढै भएकाले धेरै प्रभाव पर्ने देखिँदैन, तर पर्सिदेखि आंशिक प्रभावचाहिँ पर्ने देखिएको छ’, मौसमविद् व्यासीले आइतबार भनिन्, ‘नेपालमा मौसम बदली गराउने र देशभर मध्यमसम्म वर्षा गराउनेसम्म हुने अनुमान छ।’
उनका अनुसार थप अनुमान भने त्यो चक्रवात जमिनमा ठोक्किएपछि गर्न सकिन्छ।
‘चक्रवात जमिनमा ठोक्किएपछि त्यो कुन दिशातिर जान्छ भन्ने कुराले नेपालमा पर्ने प्रभावको आकलन गर्न सकिन्छ’, मौसमविद व्यासीले भनिन्, ‘अहिलेसम्मको अनुमानअनुसार सुरुमा यसले नेपालको पूर्वी क्षेत्रमा प्रभाव पार्ने र बिस्तारै देशभर असर फैलिने देखिन्छ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया