१४ असार २०७८, सोमबार १६:३२ – Page 6 – Nagarikabhiyan : National News

सुनसरीमा भाेली देखि जाेरबेजाेर प्रणालीबाट सबारी साधन चलाउन पाउने ।

देवानगञ्ज । सुनसरीमा थप एक हप्ताका लागि निषेधाज्ञा थपिएकाे छ । जिल्ला प्रशासन कार्यालय सुनसरीकाे साेमबार बसेकाे बैठक अनुसार जिल्लामा थप एक हप्ताका लागि निषेधाज्ञा बढाएकाे छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालकाे अध्यक्षतामा बसेकाे बैठकले एक सता निषेधाज्ञा थप्पदै आगामी असार २२ गते सम्म लम्बाइएकाे हाे ।

यसअघि प्रशासनले १४ गते राति सम्मका लागि निषेधाज्ञा थपेकाे थियाे । प्रशासनले जिल्लाभर निजी सवारी साधन जाेरबेजाेर प्रणालीमा सञ्चालन गर्न समेत निर्णय गरेकाे छ ।

प्रशासनकाे निर्णय अनुसार अबदेखि खाध्यान्न , फलफुल , तरकारी , दूध डेरी , माछामासु पसल १० बजे देखि दिउँसो ४ बजेसम्म खाेल्न पाईनेछ । यस्तै कृषि , थाेक बजार भने बिहान ४ देखि बिहान १० बजे सम्म सञ्चालन गर्न पाईनेछ ।

विपक्षी गठबन्धनलाई थापाको प्रश्नः तपाइँलाई हामी सत्तामा नहुदा मात्र चाहिने ?

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले विपक्षी गठबन्धनहरुले आफूहरुलाई सत्तामा नहुँदा मात्र सम्झने गरेको बताउनुभएको छ ।

सोमबार विपक्षी ५ दलले विभिन्न पेशागत क्षेत्रका बुद्धिजीवीसँग नयाँ बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै थापाले सत्तामा रहुञ्जेल बुद्धिजीवी नचाहिने र सत्ताबाहिर पुगेपछि चाहिने भन्दै ब्यङ्ग्य गर्नुभयो ।

उहाँले विपक्षी दलका नेताहरूलाई आज सरकारले गरेको संवैधानिक नियुक्ति जस्तै तपाईले पनि भोलि त्यसरी नै नियुक्त गर्ने हो ? त्यसरी पनि देश बन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले सबै दल मिलेर समाजवाद ल्याउने भनेर संविधानमै लेखेको तर समाजवाद ल्याउने कुनै काम नगरेको बताउनुभयो । उहाँले त्यसका लागि विद्येयक ल्याउनुभयो ? त्यत्रो जनयुद्ध गर्नुभयो तर त्यसका लागि न्युनतम कुरा के ल्याउनुभयो भन्दै प्रश्न गर्नुभयो ।ज्योतिन्यूजमा छ ।

अहिले अदालतमा सेटिङको कुरा आएको भन्दै उहाँले भन्नुभयो, ‘मुद्दा हेर्ने न्यायाधीश छान्दा धेरै देशमा पैसा खाएर वाक्क दिक्क पारेपछि अटोमेशन सिस्टम ल्याएको छ । नेपालमा केही न्यायाधीशले त्यसको अभ्यास गर्न खोजेपनि अहिले त्यसलाई रोकिएको छ ।’

अधिवक्ता थापाले काँग्रेस सभापति शेरबहादुर देउवालाई सरकारले गरेको संवैधानिक नियुक्तिमा कति भाग पाएको छ भन्दै प्रश्न गर्नुभयो ।

देउवाले त्यसको प्रष्ट जवाफ दिन आग्रह समेत गर्नुभयो ।

बालुवाटारमा ७० औं मदन जयन्ती समारोह, तस्वीरहरु

काठमाडौँ । ७० औं मदन भण्डारी जन्मजयन्ती बालुवाटारमा मनाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त कार्यक्रममा सम्बोधन गर्नुभयो ।

प्रधानमन्त्रीले मदन भण्डारीको तस्वीरमा माल्यार्पण गर्नुभएको थियो ।

प्रधानमन्त्रीको सचिवालयबाट प्राप्त केही तस्वीरहरु

 

 

ज्योतिन्यूज

गाउँपालिकाद्वारा ९० जना किसानलाई बंगुरका पाठापाठी वितरण

कैलाली। कैलालीको जानकी गाउँपालिकाले ९० जना किसानलाई बंगुरका पाठापाठी वितरण गरेको छ । गाउँपालिकाले पालिकाभित्र व्यावसायिक रूपमा बंगुर पालन गरिरहेका किसानलाई ३७० ओटा पाठापाठी वितरण गरेको हो ।

बंगुरका साना व्यवसायी कृषि उत्पादन केन्द्र (पकेट विकास कार्यक्रम) अन्तर्गत गाउँपालिकाले कृषकलाई निःशुल्क बंगुरका पाठापाठी वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले व्यावसायिक बंगुरपालक किसानको आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले पाठापाठी वितरण गरिएको बताए ।

‘व्यावसायिकरूपमा बंगुरपालन गरिरहेका किसानलाई सघाउने पालिकाको उद्देश्य हो’, अध्यक्ष चौधरीले भने, ‘बंगुरपालन सहज र मासु खपत पनि राम्रो रहेकाले किसानले घरमै बसेर आम्दानी गर्न सकिने व्यवसाय हो । हामी कृषि तथा पशुपालनमा आबद्ध किसानलाई प्रोत्साहन गर्ने कार्यमा सक्रिय छौँ ।’

गाउँपालिकाका उपाध्यक्ष उमा महतोले पाएको अनुदानलाई सही सदुपयोग गर्न किसानलाई आग्रह गरे । ‘हामीले दिएका बंगुरलाई पालेर व्यवसाय विस्तार गर्नुहोला । केही दिन पालेर काटेर खाने होइन’, उनले भने, ‘हामी निरन्तर अनुगमनमा आउने छौँ । राम्रोसँग पशुपालन गर्ने किसानलाई थप प्रोत्साहन गर्ने खालका कार्यक्रम पनि छन् ।’

पशुसेवा शाखा प्रमुख नरबहादुर कार्कीले व्यावसायिकरूपमा बंगुरपालन गरिरहेका १० ओटा समूहलाई बंगुरका पाठापाठी वितरण गरिएको बताए । ‘हामीले गाउँपालिकामा व्यावसायिकरूपमा बंगुरपालन गरिरहेका १० ओटा समूहका ९० कृषकलाई प्रतिकृषकलाई तीन पाठी र समूहमा एक पाठा पर्ने गरी पाठापाठी वितरण गरेका छौँ’, उनले भने, ‘पठापाठी वितरण गर्न रू. २० लाख खर्च भएको छ । यसलाई सदुपयोग गर्नुहोला ।’ रासस

सुजिता हत्या प्रकरण : श्रीमान् र देवर पक्राउ

महाेत्तरी ।  महोत्तरी प्रहरीले सुजिता ठाकुरको हत्याको आरोपमा उनका श्रीमान् मुकेश ठाकुर र देवर रूपेश ठाकुरलाई पक्राउ गरेकाे छ । हत्या गरी गाडिएकाे अवस्थामा आइतवार साँझ खेतमा शव भेटिएलगत्तै प्रहरीले मृतकका श्रीमान् र देवरलाई पक्राउ गरिएकाे महाेत्तरीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयाे । मृतक सुजिताका सुसरा पतिराम ठाकुर भने अझै फरार रहेको प्रहरीले बताएकाे छ ।

सुजिताको माइती पक्षले भने हत्यामा उनकाे श्रीमानको संलग्नता नभएकाे तथा देवर र ससुरामाथि शङ्का रहेको जनाएको छ । सुजिताकाे माइती पक्षका अनुसार गएकाे जेठ १९ गते बिहान आफ्नी छाेरीसँग देवर र ससुराकाे झगडा भएको थियोे । त्यसलगत्तै सुजिता सम्पर्कविहीन भएकी थिइन् ।

आइतवार बेलुका सुजिता सुजिताको शव आफ्नै खेतमा गाडिएको अवस्थामा भेटिएकाे थियाे ।  धनवीर महतो

एक नम्बरमै शाखा अधिकृतमा नाम निकालेका सुशीलका यस्ता छन् लोकसेवा सूत्र

लोकसेवा लगाव 

म हुर्केको ठाउँमा अग्रजहरूको प्रभावले घरपरिवारको चाहना निजामती कर्मचारी होस् भन्ने नै थियो । सेन्ट लरेन्स कलेज चाबहिलमा स्नातक पढ्दै गर्दा पूर्ण छात्रवृत्ति पाएको थिएँ । जसलाई कायम गर्न बिबिएसका प्रत्येक वर्षमा प्रथम श्रेणी ल्याई कलेजको प्रथम, द्वितीय वा तृतीय स्थान हासिल गर्नुपर्ने बाध्यता थियो ।

‘पार्टटाइम’ जागिर गर्ने भएका कारण तत्काल लोकसेवा पढ्ने सोच बनाएको थिइनँ । सानैदेखि सँगै पढ्नुभएका दाइ (मामाका छोरा) लोकसेवा तयारी गर्न काठमाडौं आई मेरै कोठामा बस्नुभयो ।

लोकसेवा आयोगको एकीकृत परीक्षामा ‘आइक्यू’, गणित र विज्ञान विषयसमेत थप भएका कारण दाइले परीक्षा दिन प्रेरित गर्नुभयो । बिहान कलेजबाट फर्केपछि दिनको एक घन्टा दाइले बिहानदेखि पढेका विषयहरू दोहोर्‍याएर पढेँ ।

फलतः ०६८ सालमा खरिदारमा पहिलो नम्बरमै सिफारिस भएँ । त्यसलगत्तै नायब सुब्बामा पनि नयाँ पाठ्यक्रम लागू भएपछि ०६९ सालमा चौथो नम्बरमा सिफारिस भएँ । ०७१ मा शाखा अधिकृतको परीक्षा दिई एक नम्बरमै सिफारिस भएँ ।

सफलताको रहस्य  
मेरो सफलतामा धेरै पक्षले काम गरेको छ । यसमा सानैदेखिको शैक्षिक पृष्ठभूमि प्रमुख हो । गणित, विज्ञान र ‘आइक्यू’मा तुलनात्मक हिसाबले राम्रो दख्खल भएका कारण अन्य पेपरलाई अलि ध्यान दिने समय पाएँ ।

पढ्दा गम्भीरताका साथ पढेँ । अन्यभन्दा कसरी फरक रूपले प्रस्तुति दिन सकिन्छ भन्नेमा पनि ध्यान दिएँ । आफूलाई सजिलो लागेका विषयवस्तुलाई ‘क्यास’ गर्दै कमजोर भएको विषयमा जोड दिएँ । परीक्षामा प्रश्नले मागेको कुरा प्रस्ट हुन अंग्रेजी र नेपाली दुवैमा उत्तर दिएँ । एउटा प्रश्न अंग्रेजीमा र नेपालीमा फरक भएका कारण नोट लेखी अंग्रेजीलाई आधार बनाई लेखेँ । यसले सकारात्मक भूमिका खेल्यो ।

लोकसेवा सूत्र 
लोकसेवामा सफलताको कुनै वैज्ञानिक सूत्र छैन । नाम निकाल्न कोसिस गर्ने व्यक्ति रचनात्मक र सिर्जनात्मक हुन जरुरी हुन्छ । नियमित पढ्ने, पत्रपत्रिका पढ्न नछुटाउने, हरेक घटनासँग अपडेट हुने, नियम कानुन एवं संविधानका बारेमा विस्तृत जानकारी लिनेजस्ता कुरा परीक्षा दिने सबैका लागि आवश्यक हुन् । समय व्यवस्थापन गर्ने बानीको विकास अत्यन्त जरुरी हुन्छ । मिहिनेत सबैले गर्छन्, तर त्यो मिहिनेत सही समय र विषयमा गर्नुपर्दछ । लेख्न सबैले लेख्छन्, तर आफ्नो प्रस्तुतीकरण अरूका भन्दा विशिष्ट हुनुपर्दछ ।

लोकसेवामा सफलताको कुनै वैज्ञानिक सूत्र छैन । नाम निकाल्न कोसिस गर्ने व्यक्ति रचनात्मक र सिर्जनात्मक हुन जरुरी हुन्छ ।

परीक्षा तयारी 
विषयगत प्रश्नको तयारी गर्दा सुरुमा प्रत्येक विषयको परिचय, विकासक्रम, महŒव, कमजोर पक्ष, सबल पक्ष, समस्या, चुनौती, नेपालमा त्यसको अवस्था आदिका बारेमा अध्ययन गरेँ । यस्तै, एउटा पुस्तकलाई आधार बनाई अन्य पुस्तक तथा विभिन्न लेखबाट प्राप्त थप जानकारीलाई सोही आधार पुस्तकमा टिपोट गरेँ, तर छुट्टै नोट बनाइनँ । विषयगत प्रश्नको घोकेर भन्दा बुझेर पढ्ने प्रयास गरेँ । प्रश्नको उत्तर लेख्ने अभ्यास गर्दा सुरुमा किताबबाट पढ्दै–लेख्दै, त्यसपछि हेर्दै–लेख्दै र अन्त्यमा नहेरी लेख्दै गर्ने गरेँ ।

वस्तुगत प्रश्नको उत्तर सम्झन सजिलोका लागि कुनै वस्तुसँग तुलना गर्ने, छोटकरी रूप बनाउने, सूत्र बनाउने गरेँ । विभिन्न कथा, नाटक, चलचित्रका पात्र आदिसँग तुलना गर्ने र वस्तुगत प्रश्नहरू जोडेर नयाँ कथा सिर्जना गर्ने प्रयाससमेत गरेँ । सामान्य ज्ञानका लागि ‘रिभिजन’ चाहिने हुँदा २–४ दिनमा पुनः दोहोर्याएर अध्ययन गर्ने गरेँ । यस्तै, मिति याद गर्न आफ्नो नजिकका नातेदारको जन्म, मृत्युलगायत विभिन्न घटनासँग दाँज्ने, सोही मितिमा घटेका घटनालाई ‘गु्रपिङ’ गर्ने, मितिलाई घट्दो र बढ्दो क्रममा मिलाएर पढ्नेजस्ता कार्य गरेँ ।

मेरो सुझाब
आफ्ना अग्रजसँग सल्लाह लिनुहोला । अध्ययन गर्दा आफूलाई सजिलो लाग्ने विधि अपनाउनुहोला । बजारमा निस्केका सबै किताबको पछि नलाग्नुहोला । आधिकारिक तथ्यांकहरूमा अद्यावधिक भइरहनुहोला । समय व्यवस्थापन गर्न सिक्नुहोला । लोकसेवा परीक्षालाई विकल्पको रूपमा हलुका तरिकाले नलिई पहिलो प्राथमिकतामा राखी मिहिनेत गरे सफलता सुनिश्चित छ । सुशील लम्साल

उत्पादनमा कमी आउँदा आँपको मूल्य आकाशियो

उदयपुर। उदयपुरको स्थानीय बजारमा आँपको मूल्य आकाशिएको छ । उत्पादनमा कमी आउँदा यो वर्ष उदयपुरमा आँप महँगिएको हो । बजारमा आँपको मूल्यमा वृद्धि भए पनि किसानले त्यसअनुसारको बजार मूल्य पाउन सकेको छैनन् ।

आँप दाना लागेको समयमा आएको पटक पटकको हावाहुरीले गर्दा आँप उत्पादनमा यसपटक कमी आएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरले जानकारी दिएको छ ।

विगतमा आँपको मौसम शुरु भएपछि स्थानीय बजारमा प्रतिकिलो आँपको मूल्य रू. २० देखि ३० पर्नेमा यस वर्ष रू. ७० देखि १०० सम्म रहेको छ । आँपको मौसम शुरु हुन सयममै मूल्य बढेकाले अन्तिम समयसम्म आँपको मूल्य अझ बढ्न सक्ने स्थानीय व्यापारी बताउँछन् । आँपको उत्पादनमा कमी आएका कारण बढी मूल्यमा बेच्नु परेको व्यापारीको भनाइ छ ।

‘उत्पादनमा कमी आएकै कारण बजारमा आँपको मूल्य महँगो भएको हो’, त्रियुगा नगरपालका—११ का धनबहादुर खत्रीले भने’, ‘विगतका वर्षमा असारको मध्यतिर बढीमा प्रतिकिलो रू. ३० मा किनेर खाने गरेको आँप अहिले रू. ७० भन्दा बढी पर्ने गरेको छ ।’ आँपका थोक विक्रेताले किसानबाट सयकडाका दरमा खरीद गरी किलोग्राममा विक्री गर्दा किसानले भने सोचेजति आम्दानी लिन पाएका छैनन् ।

त्रियुगा नगरपालिका-१ जोगिदहका किसान धनीकलाल चौधरीले व्यापारीले तौलेर नलिईकन गोटाको सयकडा रू. ८०० का दरले खरीद गर्ने गरेकाले आफूहरूले आम्दानी लिन नपाएको दुःखेसो पोखे । सीमित मात्रामा बजारमा आएकाले व्यापारीले सयकडाको दरले आँपको विक्री गर्न मानेका छैनन् ।

स्थानीय व्यापारी कृष्णदेव साहका अनुसार मालदह आँप प्रतिकिलो रू. ७० मा विक्री भइरहेको छ । गत वर्ष स्थानीय बजारमा प्रतिकिला रू. ३० देखि ४० सम्म विक्री भएको थियो । यस वर्ष बजारमा आँप कम आएकाले मूल्यमा केही उतारचढाव आएको उनको भनाइ छ ।

जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ । जिल्लाको बेलका नगरपालिकाको तपेस्वरी, आम्बासी, भागलपुर, चौदण्डी गढी नगरपालिकाको हँडिया,सुन्दपुर क्षेत्र, त्रियुगा नगरपालिकाको जोगिदह, बगाहा, श्रीपुर, राजाबास, लक्ष्मीपुर, साउने, खाँबु, कटारी नगरपालिकाको त्रिवेणी, रिस्कु, सोमबारे, मरुवा, उदयपुर गढी गाउँपालिकाको दनुवारबेसी, नेपालटार, भलायाडाँडा क्षेत्र आँप जोनको रुपमा रहेको केन्द्र कृषि प्राविधिक अधिकृत अम्बीका भट्टराईले जानकारी दिए ।

यो वर्ष आँप राम्रो फल्ने वर्ष नभएको र आँपमा मजुरा लागेदेखि नै हावाहुरी, असिना पानी र मधुवा किराले क्षति पुर्‍याएपछि आँपको उत्पादन घटेको उनको भनाइ छ । आँपको उत्पादन घटेसँगै उदयपुरमा आँपको मूल्यमा पनि वृद्धि भएको केन्द्रले जानकारी दिएको छ । रासस

सुनसरीबाट भएको स्याउ तस्करीमा चार प्रहरी दोषी ठहर

विराटनगर । सुनसरीबाट तस्करी गरी भारत पुप्याइएको चाइनिज स्याउको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले गठन गरेको छानविन टोलीले चार जनालाई कार्वाहीको सिफारिस गरेको छ ।

भारतीय प्रहरीले जेठ ३० गते तस्करी गरेर लगिएको तीन ट्रक चाइनिज स्याउ बरामद गरेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए ।

स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको छ । अनुसन्धान टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीका अनुसार अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारबाहीको लागि सिफारिस गरिएको छ ।

जेठ २९ गते राति हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट चाइनिज स्याउ बोकेका तीनवटा नेपाली नम्बरका ट्रक भारतसम्म पुगेको पाइएको छ । घटनापछि सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई गङ्गा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई आशनारायण चौधरी निलम्बनमा परेका थिए । छानविन टोलीले कार्कीलाई दोषी भएको निश्कर्ष निकालेको छ भने थापा र चौधरीलाई निर्दोष देखाएको छ ।

अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान दोषी देखिएकाले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको छ । सो प्रकरणमा प्रहरीका उच्च अधिकारीको पनि संलग्नता रहेको चर्चा रहेकोमा छानविन प्रतिवेदनमा त्यसबारे उल्लेख छैन ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह बाहिनी मुख्यालय पकली सुनसरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा गठन गरेको छानविन टोलीले सशस्त्र प्रहरी बल बिओपी लाहीका इञ्चार्ज इन्स्पेक्टर महेश कार्कीलाई दोषी ठहर गरेको छ । नाका सिल रहेको अवस्थामा लाखौं मूल्य पर्ने १ हजार ३५० कार्टुन चाइनिज स्याउ बोकेर तीन वटा नेपाली ट्रक सजिलैसँग भारतीय भूमि पुगेका थिए ।

 

प्रदेश २ सहित देशभर बुधवारबाट अझै भारी वर्षा हुने

जनकपुरधाम । आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ।
योसँगै प्रदेश २ सहित देशभर भिषण वर्षा हुने भएको छ ।
विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताए। उनका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ।

यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ।
अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा भने पानी परिरहेको जनाइएको छ।

लालबन्दीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ

सर्लाही । सर्लाहीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

लालबन्दी नगरपालिका-१५, तीनतले झल्ला चौडीबाट ८० किलो प्रतिवन्धित लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् ।

२ नं. प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रहरी चौकी परवानीपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले ईश्वरपुर नगरपालिका-१२ का ३३ वर्षीय आइत सिंह स्याङतान र सोही ठाउँका ५४ वर्षीय मान बहादुर स्याङतानलाई लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा खटिएर गएको प्रहरी टोलीले उत्तरी चुरेक्षेत्रस्थित फूलजोर खोलाको किनारमा पर्ने झल्ला चौडीबाट प्याकिङ गरी बोराभित्र हालेर ल्याउँदै गरेको अवस्थामा गाँजा बरामद गरेको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।टुुडेपाटीमा छ ।

गाँजासहित पक्राउ परेका दुवैलाई अहिले ईलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको लालबन्दी प्रहरीका प्रमुख एवं प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

लालबन्दी प्रहरीले यस आर्थिक वर्षमा २५० किलो गाँजा बरामद गरिसकेको छ ।

बैंकको एटीएम तोडफोड गर्दागर्दै पक्राउ

मोरङ। बुढीगंगा गाउँपालिका–३ टंकीचोकस्थित एनआईसी एसिया बैंकको एटिएम तोडफोड गर्दै गरेको अवस्थामा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने सुनसरी दुहबी नगरपालिका–९ घर भएका २४ वर्षीय मो।इम्तियाज रहेका छन्।

उनलाई आइतबारराति प्रहरीले पक्राउ गरेको हो। उक्त कार्यमा संलग्न अर्का २५ वर्षीय मो।अनिस हुसेन भने फरार भएको प्रहरीले जनाएको छ।

अविरल बर्षाका उत्तरी क्षेत्र जोड्ने एकमात्रै सडक साङ्कोस – तिप्लिङ – लपाङ्फेदी सडक अवरुद्ध

धादिङ । जिल्लाको उत्तरी क्षेत्र जोड्ने एकमात्रै सडक साङ्कोस – तिप्लिङ – लपाङ्फेदी सडक अवरुद्ध भएको छ ।

गत असार १० गते बिहान देखि परेको अत्याधिक अविरल वषाको कारण सडकका ठाउँठाउँमा पहिरो र खोल्सिहरुमा बाढिको कारण सडक अबरुद्ध भएको हो । बाढीले खेतीयोग्य जमिन पनि नष्ट गरेको छ ।

त्रिपुरासुन्दरी गाउपालिका र नेत्रवती गाउपालिकाको सिमानामा पर्न लपाङ खोलामा आएको अत्याधिक बाढिको कारण खेती योग्य जमिन नष्ट भएको हो ।

त्यस्तै लपाङ्फेदिमा रहेको मोटरेबल पुलको दाहिने तर्फको एप्रोच सडकका सम्पुर्ण संरचनाहरु समेत बगाउदा तथा क्षेती हुदा आवातजावतमा समेत कठिनाइ भएको स्थानीयले बताएका छन् ।

आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि–अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताए। उनका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, वाग्मती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ । यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा भने पानी परिरहेको जनाइएको छ ।

माधवलाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ? : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री प्रस्ताव नगरेको बताउनुभएको छ ।

७० औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले नेता नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्न आफूलाई बोलाहा कुकुले नटोकेको बताउनुभयो ।

नेता नेपाल प्रचण्डको पुच्छर भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो मलाई बहुला कुकुरले टोकेको छ र ? अरु कोही नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्री प्रस्ताव केपी ओलीले राख्ला ?’

ओलीले एमाले नेता माधव नेपाललाई लाज सरम पचेको मान्छे समेत भएको टिप्पणी गर्नुभयो । उहाँले सर्वोच्च अदालतमा पनि प्रचण्डपथको चर्चा हुने भन्दै उहाँले प्रचण्डपथ कांग्रेसले अंगालेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेसले अंगालेपछि प्रचण्डपथ यति व्याप्त भइसक्यो कि अहिले प्रचण्ड पथ सर्वोच्च अदालतमा पनि चर्चा हुन्छ’ ।

उहाँले अघि भन्नुभयो, ‘फान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरेको जस्तै गर्दा रहेछन् र पो काटिँदो रहेछ। अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ, यो कुरा त प्रचण्डका एक जना कार्यकर्ताले त सर्वोच्च अदालतमै भने।’ ज्योतिन्यूज बाट

सोमालियामा आत्मघाती कारबम हमला र सेनाको कारबाहीमा परी ४१ जनाको मृत्यु

सोमालियामा आइतबार भएको एक आत्मघाती कारबम हमला र सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको सोमाली सेना स्रोतले जानकरी दिएको छ । सो सेनाले दिएको जानकारीअनुसार यहाँको अल सेबाब आतंककारी समूहले कारबम हमलामा गराएका थिए । सोमालियाको राष्ट्रिय सेनाको कारबाहीमा यसरी मारिनेमा अधिकांश अल सेबाबकै लडाकू रहेका छन् । त्यसैगरी अन्य केही स्थानमा भएको सेनाको कारबाहीमा पनि अल सेबाबका लडाकूहरु मारिएका थिए ।

यस क्रममा यहाँको सेनाका तीन जना अधिकारी पनि अल सेबाबको आक्रमणमा परी मारिएका छन् भने अरु केही घाइते पनि रहेका छन् ।

त्यसैगरी कतिपय स्थानमा अल सेबाबका लडाकूहरुले गरेका हमलाहरुमा परी अरु कैयौँ सर्वसाधारण व्यक्ति घाइते भएका छन् । खबर सेन्टर बाट

स्याउ तस्करीमा थप प्रहरीको संलग्नता पुष्टि

विराटनगर । चिनियाँ स्याउ तस्करी प्रकरणमा थप प्रहरीको संलग्नता पुष्टि भएको छ । छानबिनका लागि गठित प्रहरीको टोलीले चार जना प्रहरीलाई कारबाही सिफारिस गरकेो छ ।

सुनसरीको नाकाबाट तस्करी गरी भारत पु¥याइएको चाइनिज स्याउको सम्बन्धमा अनुसन्धान गर्न प्रहरीले गठन गरेको छानबिन टोलीले चार जनालाई कारबाहीको सिफारिस पनि गरेको छ ।
भारतीय प्रहरीले जेठ ३० गते तस्करी गरेर लगिएको तीन ट्रक चाइनिज स्याउ बरामद गरेपछि त्यसबारे अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेका थिए ।
स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको छ ।

अनुसन्धान टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीका अनुसार अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारबाहीको लागि सिफारिस गरिएको छ ।

छानबिन समितिले अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की, अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान दोषी देखिएकाले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरिएको छ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह बाहिनी मुख्यालय पकली सुनसरीले एसएसपी प्रकाश थापाको नेतृत्वमा गठन गरेको छानबिन टोलीले सशस्त्र प्रहरी बल बिओपी लाहीका ईञ्चार्ज इन्स्पेक्टर महेश कार्कीलाई पनि दोषी ठहर गर्दै कारबाहीको लागि सिफारिस गरिएको छ । सुनसरीका एसपी कमल थापा र सशस्त्र प्रहरीका एसपी माधव पौडेलको समेत संलग्नता रहेको बताइएपनि उनीहरुलाई उन्मुक्ति दिइएको छ । दृष्टि बाट