१४ असार २०७८, सोमबार १३:०२ – Page 7 – Nagarikabhiyan : National News

भरतपुर क्यान्सर अस्पतालमा डीएम र एमसीएच कार्यक्रम चलाउनेबारे छलफल

चितवन । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अंकोलोजी विषयमा डीएम र एमसीएच कार्यक्रम चलाउनेबारे चिकित्सा शिक्षा आयोगले चासो देखाएको छ । आयोगको टोलीले आइतबार क्यान्सर अस्पतालको निरीक्षण गरेर कार्यक्रम सञ्चालनका बारेमा छलफल गरेको छ ।

चिकित्सा शिक्षा आयोगका सदस्य प्रा. डा. आरती शाह, प्रा. डा. दिलीप शर्मा, प्रा. डा. रमेशचन्द्र आचार्य र प्रा. डा. संघरत्न बज्राचार्यको टोलीले अस्पतालको निरीक्षण गरेको हो ।  अस्पतालमा मेडिकल अंकोलोजी, सर्जिकल अंकोलोजी र रेडियसन अंकोलोजीका १८ विषयमा सुपर स्पेसलिष्ट कक्षाहरु डीएम र एमसीएच चलाउन सकिने अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए ।

‘आयोगले प्रवेश परीक्षा लिएर, भर्ना गरेर हामी कहाँ पठाउँछ, हामी पढाउँछौं,’ उनले भने, ‘रजिष्ट्रेसन गर्ने, परीक्षा लिने, सर्टिफिकेट दिने काम आयोगकै हुन्छ, हामीले प्रतिष्ठान बनाएपछि हामी नै दिन्छौं ।’

अस्पतालले आगामी वर्षका लागि १८ जनालाई अंकोलोजी विषयमा डीएम र एमसीएच निःशुल्क पढाउनका लागि रकमसमेत आउने अस्पतालका उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले जानकारी दिए । उनीहरुलाई स्वास्थ्यको नवौं तहको चिकित्सकले पाउने बराबरको सुविधा दिइने उनको भनाइ छ ।

‘हामीले १८ जनाभन्दा बढीलाई पनि पढाउन सक्छौं, आयोगले बनाउने मोडालिटी कस्तो हुन्छ त्यो हेर्न बाँकी छ,’ डा. शर्माले भने । वीर अस्पतालमा डीएम मेडिकल अंकोलोजी विषयमा पढाइ भए पनि केही वर्षअघिदेखि रोकिएको छ । एमसीएच अंकोलोजी सर्जरी भने नेपालमा अहिलेसम्म सुरु भएको छैन ।

डीएम र एमसीएचको कार्यक्रम चलेपछि बिरामीहरुले अझै गुणस्तीय सेवा पाउने तथा जनशक्तिको उत्पादन र थप अनुसन्धान हुने विश्वास अस्पतालले लिएको छ । अनलाइनखबर बाट

भारतमा दिइयो ३२ करोड ३६ लाख डोजभन्दा धेरै कोरोना खोप

काठमाडौं । भारतमा अहिलेसम्म ३२ करोड ३६ लाख डोजभन्दा धेरै कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप मानिसहरुलाई लगाइएको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार एक तथ्यांक सार्वजनिक गर्दै भारतले कोरोना खोप वितरणको मामिलामा अमेरिकालाई पनि पछि पारेको बताएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म अमेरिकामा ३२ करोड ३३ लाख डोज कोरोना खोप मानिसहरुलाई लगाइएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जार ट्वीटरमार्फत् अमेरिकालाई कोरोना खोप दिने मामिलामा पछि पार्नुलाई खोप वितरणमा कोशेढुङ्गा भएको बताएको छ ।
यद्यपि, व्यक्तिगत हिसाबमा भने कोरोना खोप दिने मामिलामा भारत धेरै पछाडि छ ।

अमेरिकामा अहिलेसम्म १५ करोड २० लाखभन्दा धेरैले कोरोनाको पूरा डोज खोप पाइसकेका छन् भने भारतमा अहिलेसम्म केवल पाँच करोड ४० लाख मानिसले कोरोनाको पूरा डोज खोप पाएका छन् ।

जनसंख्याको आधारमा हेर्ने हो भने अमेरिकाको समग्र जनसंख्या ३३ करोडको हाराहारीमा छ भने भारतको जनसंख्या एक अर्ब ३० करोडको हाराहारीमा छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ४६ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् भने संक्रमणको कारण ९७९ जनाको मृत्यु भएको छ ।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या ३ करोड २ लाख ७९ हजार नाघेको छ । त्यस्तै अहिलेसम्म कोरोना संक्रमणको कारण ३ लाख ९६ हजार ७३० जनाको मृत्यु भइसकेको छ । अनलाइनखबर बाट

निवेदकले बहसमा गालीपुराणमात्रै वाचन गरे : महान्यायाधिवक्ता

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासको क्षेत्राधिकार भित्र नपर्ने दावी गरेका छन् । नेपालको संविधानको धारा १३७ अनुसार यो मुद्दा संवैधानिक इजलासमा आउनका लागि संघ र प्रदेश बीचको विवाद वा संघ र स्थानीय तह बीचको विवाद भएको हुनुपर्ने उनले तर्क राखे ।

प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमा सोमबार विपक्षीको तर्फबाट बहस सुरु गर्दै महान्याधिवक्ता बडालले भने, ‘तर, दुर्भाग्य उहाँहरु जुन धारा टेकेर यहाँ आउनुभयो त्यो धारा अनुसारको माग दावी नै छैन । अदालतलाई गुमराहमा पार्नुभयो । १३७ (३) बमोजिम प्रधान न्यायाधीशबाट कुनै आदेश भएको छैन । अरु इजलासमा पेश भएको मुद्दा यो इजलासमा आउने बाटो भनेको १३७ (३) हो तर, त्यो बाटोबाट यो इजलासमा मुद्दा आएको छैन ।’ ‘अधिकार क्षेत्र नै नभएको अवस्थामा कसरी न्यायिक निर्णय गर्न मिल्छ ?’ उनले प्रश्न गरे ।

रिटमा भएको चार दिनको बहस गाली पुराण भएको उनले उल्लेख गरे । गालीको जवाफ गालीबाट दिन नमिल्ने हुनाले बहसबाट दिने उनले बताए । गत जेठ ७ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । यो कदम असंवैधानिक भएको जिकीर गर्दै सर्वोच्च अदालतमा ३० वटा रिट परेका छन् । ती रिटहरुमाथि यही असार ९ गतेदेखि निरन्तर बहस हुँदै आएको छ । संवैधानिक इजलासमा आइतबार रिट निवेदक पक्षको बहस सकिएपछि आजदेखि राष्ट्रपति र प्रधानमन्त्री लगायतका विपक्षीका तर्फबाट बहस सुरु भएको छ । विपक्षीहरुलाई बहसका लागि १५ घण्टा समय निर्धारण गरिएको छ ।  द नेपालटप बाट

गाँजा सहित महिला पक्राउ

उदयपुर । उदयपुरबाट गाँजा सहित युवती पक्राउ परेकी छन् । बेलका नगरपालिका-८ कोठु स्थितबाट १ केजी गाँजासहित भोजपुर हचुवागढी ४ कि १९ बर्षीया सुजता मग्राती गाँजासहित पक्राउ परेकी हुन् ।

हिजो बेलुका ४ बजे अस्थाई प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दक्षिण तर्फ जादै गरेको बोलेरो पिकअपमा सवार रहेकी मग्रातीको जेब्रा झोलामा लुकाई ल्याएको लागुऔषध गाँजा १ केजी बरामद गरेको हो । मग्रातीलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिला लगी थप अनुसन्धान भईरहेको छ ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा नसमेटिएको नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक विद्यार्थीलाई वितरण

काठमाडौँ  ।  लिपुलेक, कालापानी र लिम्पियाधुरा नसमेटिएको नेपालको पुरानै नक्सा भएको पाठ्यपुस्तक विद्यार्थीलाई वितरण भइरहेको पाइएको छ । लिम्पियाधुरासम्मकै क्षेत्र समेटर नयाँ नक्सा एक वर्षअघि नै जारी गरिएको भए पनि सरकारले निःशुल्क वितरण गर्ने पाठ्यपुस्तकमै नक्सा अद्यावधिक नगरिएको हो ।

शिक्षामन्त्री अध्यक्ष रहने पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले समयमा निर्देशन नदिँदा जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशन गृहले सामाजिकलगायत विषयको पाठ्यपुस्तकमा पुरानै नक्सा छापेको स्रोतले जनाएको छ ।

पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिले अनुगमनमा सरकारले निःशुल्क वितरण गर्ने पाठ्यपुस्तकमै नयाँ नक्सा नरहेको पाइएको जनाएको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले भने असार १ गते शैक्षिक सत्र सुरु हुँदै गर्दा पुरानो नक्सा छापेर बिक्रीवितरण गरे कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका थिए । ‘कुनै पुस्तकमा नयाँ, कुनैमा पुरानो नक्सा राखेर बिक्रीवितरण भइरहेको छ । एउटै पुस्तकको पनि कभरमा नयाँ र भित्र पुरानो नक्सा राखिएको पाइयो,’ समितिले गरेको अनुगमनमा सहभागी अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले भने, ‘पाठ्यपुस्तकमा पनि संवेदनशील भएको पाइएन, अनियमितता र मनपरी भेटियो ।’ उनले विद्यार्थीको हातमा नयाँ नक्सा भएकै पुस्तक पुर्‍याउनुपर्नेमा जोड दिए ।

शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा काठमाडौं उपत्यकाका पुस्तक पसलहरूमा अनुगमन गरिएको थियो । अनुगमनका क्रममा २०७८ सालमै छापिएका

पाठ्यपुस्तकमा पनि पुरानो नक्सा राखेको पाइएको हो । लाखौं पाठ्यपुस्तक विभिन्न जिल्लामा पुगिसकेकाले यो शैक्षिक सत्रमा नयाँ नक्सा राख्न सम्भव नहुने जनक शिक्षाका एक अधिकारीले बताए । नयाँ नक्सा राखिएका पाठ्यपुस्तकमा नेपालको कुल क्षेत्रफल भने उल्लेख छैन । सरकारले नै आधिकारिक क्षेत्रफल सार्वजनिक नगरेकाले पाठ्यपुस्तकमा उल्लेख गर्न नसकिएको पाठ्यक्रम विकास केन्द्रका एक अधिकारीले जनाए । नयाँ नक्सा तर क्षेत्रफल कति भनेर विद्यार्थी अलमलमा पर्ने गरेको शिक्षकहरू गुनासो गर्छन् ।

रंगीन पाठ्यपुस्तकमा नेपालको झन्डा, लालीगुराँस, डाँफेलगायत राष्ट्रिय चिह्नहरू ‘ब्ल्याक एन्ड ह्वाइट’ (श्यामश्वेत) मा छपाइ गरेर बिक्रीवितरण भइरहेको छ । ‘किताब ४ रङमा छापिएको छ तर राष्ट्रिय चिह्नहरू रंगीन छैनन्,’ अभिभावक महासंघका अध्यक्ष भण्डारीले भने, ‘यस्तो लापरबाही पनि गरिएको भेटियो, यसले त विद्यार्थीलाई अलमल्याउँछ ।’ सरकारले कक्षा ९ सम्मका सामुदायिक विद्यालयका विद्यार्थीलाई रंगीन पाठ्यपुस्तक निःशुल्क वितरण गर्छ । निजी विद्यालयले प्रयोग गर्ने पाठ्यपुस्तकमा समेत राष्ट्रिय चिह्नहरू श्यामश्वेतमा राखिएको छ ।

‘विद्यार्थीले जुन कुरा जस्तो छ, त्यस्तैगरी चिन्न पाऊन् भनेर रंगीन पाठ्यपुस्तकको अवधारणा आएको हो, १०/१२ वर्ष पहिले जस्तो ब्ल्याक एन्ड ह्वाइट नै छाप्ने भए त त्यसको के अर्थ भयो र ?’ भण्डारीले भने ।

पाठ्यपुस्तकमा उल्लेख गरिएको मूल्य केरमेट गरेर वा कालो पोतेर बढी मूल्यमा बिक्री गरेको समेत पाइएको अनुगमन समितिले जनाएको छ । कतिपय प्रकाशकले भने पुस्तकको मूल्य नै उल्लेख नगरी विक्रेतालाई मनोमानी बिक्री गर्न छुट दिएका छन् । बालबालिकालाई आवश्यकताभन्दा बढी पाठ्यपुस्तक किन्न बाध्य पारिएको समेत भेटिएको छ । ‘कक्षा १ का विद्यार्थीलाई १० वटासम्म किताब किन्न लगाएका रहेछन्,’ अध्यक्ष भण्डारीले भने, ‘पाठ्यक्रम विकास केन्द्रले ४ वटा मात्रै किताब तोकेको छ ।

पाठ्यपुस्तक बिक्रीवितरणमा अनियमितता, आर्थिक, मानसिक र शारीरिक शोषण गरेको पाइयो ।’ निजी प्रकाशन गृहहरूले निजी विद्यालयको मिलेमतोमा आफूखुसी सहयोगी पुस्तक तोक्ने अनि विद्यार्थी र अभिभावकलाई किन्न लगाउने गरेका छन् । एउटा विद्यार्थीलाई १८ वटासम्म किताब किन्न लगाएको अनुगमनमा फेला परेको छ । कतिपय शिक्षक र निजी विद्यालयले कमिसनको चक्करमा तोकिएकै पुस्तक पसल र स्टेसनरीमा पाठ्यपुस्तक, कापीलगायत शैक्षिक सामग्री किन्न विद्यार्थीर् र अभिभावकलाई बाध्य पार्ने गरेका छन् । प्याब्सन र एनप्याब्सनले समेत तोकिएकै प्रकाशन गृह र पसलमा पुस्तकलगायत शैक्षिक सामग्री खरिद गर्न लगाएर कमिसन लिने गरेको स्रोतले जनाएको छ ।

अनुगमनका क्रममा पाठ्यपुस्तक बिक्रीवितरणमा विकृति र समस्या देखिएको पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए । ‘बजारमा देखिएका समस्या नियन्त्रण गर्न, रोक्न र हटाउन पहल भइरहेको छ,’ उनले भने । पाठ्यक्रम विकास केन्द्र र शिक्षा तथा मानवस्रोत केन्द्रले अनुगमनलाई निरन्तरता दिन उपसमितिसमेत गठन गरेको छ । पाठ्यपुस्तक बिक्रीवितरणका विषयमा अनुगमन गरी प्रतिवेदन बुझाउन जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइहरूलाई निर्देशन दिएको महानिर्देशक अर्यालले जानकारी दिए । स्थानीय तह र विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पुस्तकको सट्टा अभिभावकबाट थप शुल्क लिएर निजी प्रकाशनबाट प्रकाशित पाठ्यसामग्री प्रयोग गर्न बाध्य पारेको गुनासो आएको केन्द्रले जनाएको छ । उनीहरूलाई पहिलो चरणमा सचेत गराउने र दोस्रो चरणमा कानुनी कारबाही अघि बढाउने अर्यालले बताए ।

पाठ्यक्रम विकास केन्द्रले नेपालको संशोधित नक्सा प्रयोग नगरेको, अद्यावधिक नगरी पाठ्यपुस्तक छपाइ र बिक्रीवितरण गरेको पाइए प्रकाशक, पुस्तक व्यवसायी, विद्यालय, शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । अभिभावक र विद्यार्थीलाई पाठ्यपुस्तक किन्दा सचेत हुनसमेत आग्रह गरेको छ । पुरानै नक्सा छापिएको हकमा सम्बन्धित प्रकाशन गृहले नयाँ नक्सा छपाइ विद्यालयसम्म पुर्‍याउनुपर्ने केन्द्रले जनाएको छ । पुरानै नक्सा छापेर बिक्रीवितरण गर्ने प्रकाशकहरूलाई स्पष्टीकरण सोधिएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जनाए । ‘गल्ती सुधार नगरे दोस्रो चरणमा प्रकाशन गृहको नाम सार्वजनिक गरेर कारबाही पनि गर्छौं,’ उनले भने ।

चालु शैक्षिक सत्रदेखि कक्षा २, ३, ६ र १२ मा नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन हुँदै छ । कतिपय विद्यालयले भने पुरानै पाठ्यक्रमका आधारमा पाठ्यपुस्तक किन्न विद्यार्थी र अभिभावकलाई भनेका छन् । स्वीकृत पाठ्यक्रमभन्दा बाहिरका पाठ्यपुस्तक लागू गर्ने विद्यालयका प्रधानाध्यापकलाई स्पष्टीकरण सोधेर कारबाही गरिने भट्टराईले जनाए । विशेषगरी निजी

विद्यालयले कक्षा ६ मा पुरानै पाठ्यक्रमका आधारमा पठनपाठन थालेको पाइएको छ । विद्यालय तहको नयाँ पाठ्यक्रमअनुसार सामाजिक र मानब मूल्य शिक्षा विषय नेपाली भाषामा नै अध्यापन गर्नुपर्ने व्यवस्था गरिएको छ । तर यी विषयको नेपाली भाषामा तयार पुस्तकलाई हुबहु अंग्रेजीमा अनुवाद गरेरसमेत बिक्रीवितरण र पठनपाठन हुने गरेको छ । कान्तिपुर दैनिक बाट

बेलायतमा नेपाली मेयरले गरे २ सय बर्ष पूरानो आर्मी ब्यारेक सलामीसहित बिदाई

लण्डन । बेलायतको हंस्लो शहरमा रहेको इरिश गार्ड र क्याभलरी ब्यारेकको बिदाइ गरिएको छ ।

बिदाइ कार्यक्रममा बाल्दै उक्त शहरका मेयर काउन्सिलर विष्णु गुरुङले हंस्लो क्याभलरी ब्यारेक यस क्षेत्र समुदायमा करिब २ सय बर्षदेखि जडित भएर बसेको बताए । उनले ठूलो गर्व गर्नुपर्ने यस ब्यारेकलाई बिदा गर्नुपर्दा अत्यन्तै दुखित भएको भन्दै यूकेमा सेवा दिने क्रममा रेजिमेन्टहरुले हंस्लोलाई घरको रुपमा सम्मान दिएकोमा धन्यवाद समेत दिए ।

हंस्लो शहरको एक महत्वपूर्ण इतिहास बोकेको उक्त ब्यारेकको समयसीमा यही समर सिजनमा सकिदै छ ।
उक्त ब्यारेक करिब २ शताब्दीदेखि यस क्षेत्रका समुदायका मानिसहरुको मनमुटुमा बस्न सफल रहेको बताइन्छ । उक्त ब्यारेकको बिदाइसँगै हंस्लोमा २२९ बर्षपछि आर्मीको उपस्थिति नगण्य हुने भएको छ ।

फ्रेन्च क्रान्तिको समयमा यस क्षेत्रमा हुनसक्ने आक्रमणहरु रोक्ने र मानिसहरुलाई सुरक्षा दिने उद्धेश्यसहित ब्यारेक स्थापना गरिएको थियो । यस क्षेत्रको निम्ती खतरानाक मानिएको हाइवेमेन भनिने लुटेरा तत्वलाई पनि यस ब्यारेकले भगाउन सफल भएको थियो ।

उक्त ब्यारेक विस्तार हुने क्रममा १८८४ मा आफ्नै रेवले स्टेशन समेत बनाइएको थियो । उक्त रेवले विन्सटन चर्चिलद्वारा १८९६ मा अत्याधिक प्रयोगमा आएको थियो । २०११ को मध्येसम्म विस्तारकै क्रममा रहेको थियो ।

२०१६ मा बेलायतको रक्षा मन्त्रालयले उक्त सैनिक ब्यारेक २०२०को अन्त्यसम्म र ढिलोगरी २०२१ को समरसम्म मात्र रहने बताएको थियो ।
यस क्षेत्रमा १४ ग्रेड २ लिस्टेड बिल्डिङ्ग रहेका छन् भने १९ वटा स्थानीयस्तरका बिल्डिङ्ग रहेका छन् ।

मेयर गुरुङले काउन्सिलले यी भवनहरुको संरक्षण गर्न दृढ रहेको भन्दै १६२९ घर र सम्बन्धित भवनहरु संरक्षण गर्ने अभियानमा जनताको सुझावको समेत अपेक्षा राखेको बताए ।

उनले इरिश गार्ड र क्याभलरी ब्यारेकले एक गर्विलो इतिहास कायम गरेको भन्दै अल्डरशटमा उज्जवल भविष्य रहने विश्वास समेत ब्यक्त गरे । हंस्लो बाट उक्त ब्यारेक अल्डरशट सर्न लागेको हो ।

“लडाइँहरुमा सिपाहीहरुको काम, उनीहरुको बलिदानी र जीवनभरको पीडादायक दर्द हामी सबैलाई थाहा छ,” उनले भने, “त्यसकारण मैले एसएसएएफए अर्थात सोल्जर, सेलर, एयरमेन, फेमिसी एसोसियसन च्यारिटी र लोकल छात्रा सैनिक फोर्सको पक्षमा सहयोग र सचेतनाको निम्ती सहयोग गर्न तयार छु । ”

उक्त ब्यारेकको बिदाइ २६ जुनमा मनाइने आर्मी फोर्स दिवस भएकै हप्तामा परेको बताउँदै मेयर गुरुङले उक्त अवसरमा काउन्सिलले आर्मी सेवामा लागेका ब्यक्तिहरुको सम्मानमा आयोजना गरिने राष्ट्रिय सम्मान कार्यक्रममा ऐक्यबद्धता जनाउने बताए ।

कोभिड महामारीको कारण भब्य कार्यक्रम गर्न नसकिए पनि काउन्सिलको तर्फबाट सबै वर्तमान र पूर्व आर्मी सेवकहरुलाई धन्यवाद समेत ब्यक्त गरेका छन् ।

लण्डन बरो अफ हंस्लोका मेयर विष्णु गुरुङको सलामीसँग परेड मार्च पास गरिएको थियो । उक्त परेडमा लेफ्टिनेन्ट कोलोनेल मनी, इरिस गार्डका कमाण्ड अफिसर, सांसद सीमा मलहोत्रा, सांसद रथ क्याडबरी, हंस्लो काउन्सिलका उपप्रमुख काउन्सिलर लिली बाथ, सेवकसदस्यहरु, भेट्रानहरु, शाही व्रिटिश सेना, छात्रा सैनिक, गोर्खा नेप्लिज कम्युनिटी, पत्रकार लगायतको उपस्थिती रहेको थियो । ज्योतिन्यूज बाट

लोकसेवाका पदाधिकारी आएसँगै बढुवा प्रक्रिया सुरु

काठमाडौं । विभिन्न मन्त्रालय, निकाय र प्रदेशहरूमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी आठ सचिव पद रिक्त रहँदै आएको छ ।

प्रशासन सेवाका पाँच, इन्जियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहे पनि समयमा नै पदपूर्ति हुन नसक्दा ती निकायका महत्त्वपूर्ण काम प्रभावित हँुदै आएको छ ।

लोकसेवा आयोगमा तीन महिनादेखि पदाधिकारी नहुँदा सचिव बढुवा प्रक्रिया अवरुद्ध रहँदै आएको थियो । लोकसेवामा पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको हो । समयमा नै पदपूर्ति नहुँदा सचिव बढुवाको मुखमै रहेका वरिष्ठ सहसचिव मर्कामा पर्दै आएका थिए ।

बढुवा प्रक्रिया अवरुद्ध हुँदा आठ सचिव पद रिक्त
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले भने आइतबारदेखि सचिव बढुवा प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । ‘लोकसेवाका पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको छ, अब छिट्टै योग्यताक्रममा रहेका सहसचिवहरू सचिवमा बढुवा हुनेछन् ।’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले राजधानीसँग भने । सचिव बढुवा सिफारिस समितिको अध्यक्ष लोकसेवा आयोगको अध्यक्ष रहेन कानुनी प्रावधान छ ।

आइतबार मात्रै लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सचिव बढुवा सिफारिस समितिको बैठक बसेर बढुवा प्रक्रिया अघि बढाएको हो । अब बढुवा सिफारिस समितिले योग्यता र जेष्ठताका आधारमा सचिव बढुवा प्रक्रियालाई द्रुत गतिमा अघि बढाइने तयारी गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।खबर ब्यूरो

झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिने

झापा । झापाका दुई गाउँपालिकाले आफ्ना नागरिकको बिजुलीको बिल तिरिदिन बजेटमा रकम छुट्याएका छन् । कमल र झापा गाउँपालिकाले आर्थिक वर्ष २०७८/०८९ को बजेटमा बिजुलीको बिल तिर्ने व्यवस्था गरेका हुन् ।

झापा गाउँपालिकाले २० यूनिटभन्दा कम विद्युत् खपत गर्ने पालिकाभित्रका सबै नागरिकको शुल्क तिरिदिने अध्यक्ष जयनारायण साहले बताउनुभयो । उक्त विद्युत् शुल्क तिरिदिनका लागि पालिकाले नवौँ गाउँसभाबाट रु २० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले गर्भवतीलाई झापा जिल्लाभरिका अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने समेत बजेटमार्फत घोषणा गरेको छ । यसका लागि पालिकाले रु पाँच लाख रकम विनियोजन गरेको छ ।

यसैगरी कमल गाउँपालिकाले आगामी आर्थिक २०७८/०७९ को बजेटबाट कृषकहरुले सिँचाइमा खपत गरेको बिजुलीको बिल तिरिदिने भएको छ । फागुन, चैत, वैशाख र जेठ महिनामा खेती गर्दा सिँचाइमा लागेको चार महिनाको बिजुलीको बिलको ५० प्रतिशत रकम गाउँपालिकाले तिरिदिने गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो । आकाशे खेतीमा निर्भर किसान र व्यावसायिक खेतीमा लागेका आधुनिक कृषकलाई प्रोत्साहित गर्ने उद्देश्यले किसानको बिजुलीको बिल तिरिदिने गरी बजेट व्यवस्था गरिएको अध्यक्ष काफ्ले बताउनुभयो ।

झापा गाउँपालिकाले दीर्घरोगीमध्ये उच्च रक्तचाप र मधुमेहका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउने भएको छ । सो औषधि खरिदका लागि पालिकाले रु १० लाख रकम विनियोजन गरेको छ । पालिकाले जन्म र मृत्यु संस्कार कार्यक्रमका लागि विगतमा रु दुई हजार सहयोग दिने गरेकोमा यस वर्ष बृद्धि गरी रु १० हजार प्रदान गर्ने गरी रु २० लाख रकम बजेटमा विनियोजन गरेको पालिकाका अध्यक्ष साहले बताउनुभयो ।

झापा गाउँपालिकाकाले आर्थिक वर्ष २०७८/०७९ का लागि कूल रु ४५ करोड ७४ लाख पाँच हजार ५०० को बजेट पारित गरेको छ । त्यस्तै कमल गाउँपालिकाले आव २०७८/०७९ का लागि कूल रु ७१ करोड ५९ लाख ९३ हजारको बजेट पारित गरेको छ । ज्योतिन्यूज बाट

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो, सार्वजनिक यातायातमा जोर बिजोर लागू

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ । राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सोमवार बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो ।

भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने समेत तयारी भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले निषेधाज्ञा एक हप्ता लम्ब्याउने निर्णय भएको जानकारी दिए । यसअघि थपिएको निषेधाज्ञा आज रातिदेखि सकिँदै थियो ।

सीडीओहरूको बैठकमा उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा समेत छलफल भइरहेको छ । निजी सवारी जस्तै सार्वजनिक यातायातमा पनि जोर बिजोर लागू गर्नेबारे निर्णय हुन सक्ने स्रोतले बतायो ।

कोरोना संक्रमण बढेपछि गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण दर घट्दै गएपछि निषेधाज्ञा खुकुलो गर्न लागिएको हो । खबर सेन्टर बाट

निषेधाज्ञा उल्लङ्घन गर्नेबाट एक लाख जरिवाना

डोटी । कोरोना महामारीका कारण जिल्लाभरिमा गरिएको निषेधाज्ञाको समयमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रु एक लाख २८ हजार ६०० जरिवाना गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, दुई मोटरसाइकल तथा २४ चारपाङ्ग्रे सवारी साधनलाई कारबाही गरी उक्त जरिवाना असुल गरिएको हो ।

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रहरीले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा २१ (२) बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएको भए पनि पूरै नियन्त्रणमा आउन नसकेको भन्दै यहाँको स्थानीय प्रशासनले यही असार २० गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको छ ।

यसैगरी सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीका आधारमा जिल्ला भर मात्रै सञ्चालन गर्न सकिने अनुमति दिइएको छ । बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १०ः०० देखि अपराह्न १ः०० बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ । विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने भएको छ ।

दृष्टि

सिन्धुपाल्चोकमा ८९.५६ प्रतिशतले दोस्रो लहरको कोरोना जिते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा आइताबार हिजो थप ३३ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाभित्रका २३ जना र जुगल गाउँपालिकाको १० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

दोस्रो लहरको नयाँ भेरियन्टसहितको कोभिड –१९ कोरोना भाइरस फैलिएसंगै जिल्लामा सङ्क्रमितको संख्या ३ हजार ९ सय १५ पुगेको हो । थप २२ जना भने कोरोनामुक्त भएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या ३ हजार ४ सय ३२ पुगेको छ ।ज्योतिन्यूज  जिल्लाको १२ वटा स्थानीय तहमध्ये इन्द्रावती गाउँपालिकामा सङ्क्रमितको संख्या शून्य देखिएको छ ।

सबैभन्दा बढी चौतारा साँगाचोकगढी नगर पालिकामा सक्रिय सङ्क्रमित रहेका छन् । स्वास्थ्य कार्यलयको तथ्याङ्का अनुसार दोस्रो चरणको कोरोनाले सिन्धुपाल्चोकका ३० जनाको मृत्युभएको छ ।

आज मदन भण्डारीको ७०औं जन्मजयन्ती मनाइँदै

काठमाडौँ । तत्कालीन नेकपा एमालेका महासचिव ‘जननेता’ मदन भण्डारीको ७०औं जन्मजयन्ती आज मनाइँदैछ । मदनजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले विविध सचेतनामूलक कार्यक्रमहरूको आयोजना गर्दै आएको छ ।

तत्कालीन नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा निधन भएको थियो । भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन ‘जनताको बहुदलीय जनवाद’ को सैद्धान्तिक कार्यक्रम ल्याएका भण्डारीको विशेष योगदान रहेको छ ।

भारतमा ड्रोनबाट कोरोना बिरुद्धको खोप वितरण अभियान

नयाँ दिल्ली । भारतको तेलंगना राज्य सरकारले ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप वितरण अभियान सञ्चालन गर्ने भएको छ ।

तेलंगना सरकारले वल्र्ड इकोनोमिक फोरम, नीति आयोग र हेल्थनेट ग्लोबलको साझेदारीमा मेडिसिन फ्रम द स्काई अभियान सञ्चालन गर्ने भएको हो । यो अभियान अन्तर्गत ड्रोनबाट कोभिड १९ बिरुद्धको खोप तथा औषधि सामाग्री वितरण गर्ने योजना रहेको छ ।

भारतमा ड्रोनबाट खोप वितरण गर्ने तेलंगना पहिलो राज्य भएको सुचना तथा प्रविधि मन्त्री केटी रमा रावले बताए । यो योजना जुन महिनाको अन्तिम साताबाट शुरु हुने अपेक्षा गरिएको छ । भबिष्यमा स्वास्थ्य सेवा क्षेत्रमा ड्रोनको प्रयोग गर्न रणनीति तथा नीति अबलम्बन गर्ने उदेश्यले यो अभियान शुरु गरेको सुचना प्रविधि सचिव जयस रन्जनले बताएका छन् ।

माधव नेपालको आह्वान- ‘कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लागौँ’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सिंगो कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न आह्वान गरेका छन् । एमाले तत्कालीन महासचिव स्वर्गीय मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीको अवसरमा शुभकामना दिँदै उनले यस्तो आह्वान गरेका हुन् ।

राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधानमाथि प्रहार भइरहेको उनको भनाई छ । ‘शान्तिपूर्ण र प्रतिस्पर्धात्मक राजनीतिको माध्यमबाट कम्युनिस्ट पार्टीले प्राप्त गरेको जनविश्वासको जगमा देशको संविधान, पार्टी विधान, विधि र सिद्धान्त अनुरुप पार्टी एवम् सरकार सञ्चालन नगरी राष्ट्रिय हितमा आघात पुग्ने र लोकतन्त्रविरुद्ध दक्षिणपन्थी बाटो अवलम्वन गर्दै लोकतन्त्रका आधारभूत मान्यताहरु नष्ट गर्ने तथा संविधान माथि मर्मान्तक प्रहार गर्ने दिशाको नेतृत्व कम्युनिस्ट पार्टीकै नाम र नेतृत्वमा हुनु वर्तमानको तीतो यथार्थ एवम् हामी सबैका लागि दुःखद अवस्था हो,’ उनले भनेका छन् ।

उनले अधिनायकवाद तथा निरंकुशताविरुद्ध लामो संघर्ष गरेका मदन भण्डारीको नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र देशको कम्युनिस्ट आन्दोलन समेतको अनुभवका आधारमा मार्क्‍सवादको सिर्जनात्मक प्रयोग र विकासको नयाँ आधार निर्माण गरिको पनि स्मरण गरे ।

उनले भने, ‘यसै सन्दर्भमा कम्युनिस्ट पार्टीलाई एकीकृत बनाउने ,लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्ने,स्वच्छ छवि कायम राख्ने,जनताको दुःख (सुखमा सहभागी हुने, बहुदलीय प्रतिस्पर्धाका आधारमा जनताको विश्वास प्राप्त गरी शासन सञ्चालन गरी जनअपेक्षा पूरा गर्दै समाजवादको लक्ष्यमा अघि बढ्न उहाँको नेतृत्वमा जनताको बहुदलीय जनवाद प्रतिपादन गरिएको हो ।’

नेपालले सिंगो कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न पार्टीका नेता तथा कार्यकतालाई आग्रह गरे । ‘अतः विद्यमान वैचारिक–राजनैतिक–सांस्कृतिक–आर्थिक विचलन, विकृति, विसंगति, सांगठनिक वेथिती र अन्यायको अन्त्य गर्दै नेकपा (एमाले), सिंगो कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनलाई नयाँ शिराबाट एकीकृत गर्ने अभियानमा लाग्न सम्पूर्ण पार्टी नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम जनसमुदायमा आह्वानसहित पुनः जननेता कमरेड मदन भण्डारीप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु,’ नेपालले लेखेका छन् ।

सब–इञ्जीनियरमाथि कार्यकक्षमै कुटपिट, वडाध्यक्ष भन्छन् कुटपिट गरेको होइन

जाजरकाेट । शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । अध्यक्ष खत्रीले विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरेको बताउनुभएको छ । उहाँले स्टिमेट गरेका अधिकांश योजना गतिलो नभएको गुनासो गरेको तर सब–इञ्जीनियर शाहीले आक्रमण गरेको भन्दै हल्ला गरेको बताउनुभयो ।

वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा कार्यलयको प्राविधिक कार्यकक्षमै कुटपिट गर्नुका साथै गालीगलौज गरेर ज्यान लिने धम्कीसमेत दिएको शाहीले आरोप लगाउनुभएको छ । शाहीको मुखमा समेत चोट लागेको बताइएको छ । “म आफ्नै कार्यकक्षमा काम गरिरहेको थिएँ, केही केटासहित एक्कासि वडाध्यक्ष आएर झम्टिहाल्नु भयो । मुक्का प्रहार गर्नुभयो, लछारपछार गर्नुभयो । गालीगलौजका साथै ज्यानै लिने धम्की दिनुभयो । त्यसपछि भागेर ज्यान जोगाएँ’, शाहीले टेलिफोनमा भन्नुभयो । खत्री एमालेबाट निर्वाचित वडाध्यक्ष हुनुहुन्छ ।

सब–इञ्जीनियरमाथि भएको घटनाको शिवालयमा कार्यरत कर्मचारीले निन्दा एवं भत्र्सना गरेका छन् । घटनाको विरोधमा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाही नभएसम्म ‘पेनडाउन’ गर्ने निर्णय गरेका छन् ।

“राष्ट्र सेवामा कटिबद्ध कर्मचारीलाई कारणवश कमजोरी वा गल्ती गरेमा विभिन्न विभागीय कारवाही तथा सेवाबाट बर्खास्त गर्ने कानूनी बाटो हुँदाहुँदै मरणासन्न हुने गरी कार्यालय समयमा यसरी अमानवीय तरिकाले गरेको कुकर्मले हामी सेवामा अहोरात्र खटिएका सबै कर्मचारीको मनोबल खस्केको छ । सो कार्यप्रति हामी पेनडाउन गरी सशक्त आन्दोलनमा उत्रिन बाध्य छौँ”, विज्ञप्तिमा भनिएको छ ।

आज प्रदेश-१ र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । देशका अधिकांश स्थानमा आज बद्ली भएर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ । देशभर नै मनसुनी वायुको प्रभाव रहेको र त्यसैको प्रभावले मौसम बद्ली हुने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

प्रदेश–१ र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमडाौं उपत्यकामा पनि मौसम बद्ली भएर सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो ।

पर्सि बुधवारदेखि भने मनसुनी न्यूनचापीय रेखा नजिक आएर मनसुन थप सक्रिय भइ देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो ।

बुधवार थप सक्रिय हुने प्रणालीका कारण बिहिवारदेखि केही दिन देशका धेरै ठाउँमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।