१५ असार २०७८, मंगलवार १३:२१ – Page 5 – Nagarikabhiyan : National News

आज सामान्य गिरावट सुनको भाउमा

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट अएको छ ।

आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

हिजो छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो । आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले सस्तिदै प्रतितोला १ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

विमलेन्द्र, शशांक र प्रकाशमानले गरे लञ्च मिटिङ

काठमाडौं । महाधिवेशनको रौनक लागेको नेपाली काँग्रेसका तीन शीर्ष नेताहरु आज पनि भेट गर्नुभएको छ ।

उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह मंगलबार लञ्च मिटिङ गर्नुभएको हो ।

निर्वाचनमा सकेसम्म सहमति गरेर देउवाको विकल्प दिनेगरी सहमति गर्न खोजिरहेका यी तीन नेताहरुले आज दिउँसो सिंह निवास चाक्सीबारीमा लञ्चसहित छलफल भएको हो ।

छलफलबारे जानकारी दिदै डा. कोइरालाको सचिवालयले भनेको छ, ‘नेपाली कांग्रेसको १४ औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच चाक्सीबारीमा छलफल ।’

कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतात्रय निधि, कोइराला र सिंहबीच लञ्च मिटिङले निरन्तरता पाएको हो ।

आसन्न महाधिवेशनमा सभापतिका आकांक्षी तीनै जनाले सहमतीमा नेतृत्व चयन गर्ने गरी छलफललाई निरन्तरता दिनुभएको छ ।

कांग्रेसमा पारिवारिक लिगेसी बोकेका निधि, कोइराला र सिंहबीचको निरन्तरको छलफलले पार्टीभित्र तरंग ल्याएको छ ।ज्योतिन्यूजमा छ । शशांक कांग्रेसका संस्थापक नेता वीपी कोइरालाका छोरा हुनुहुन्छ भने विमलेन्द्र महेन्द्रनारायण निधिका र प्रकाशमान गणेशमान सिंहका छोरा हुनुहुन्छ ।

पार्टीभित्र फरक गुटमा रहेका शशांक, विमलेन्द्र र प्रकाशमानको निरन्तरको छलफललाई कतिपयले नयाँ समीकरण निर्माणका रुपमा पनि लिने गरेका छन् । निधि संस्थापक समूहमा हुनुहुन्छ भने कोइराला र सिंह संस्थापनइतर समूहका नेता हुनुहुन्छ ।

होटल क्वारेन्टाइनमा पनि भ्रष्टाचार

काठमाडौं । कोरोना महामारीको बेला हरेक क्षेत्रमा अनियमितता र ठगी बढ्दो छ । स्वास्थ्य सामाग्रीदेखि भ्याक्सिन खरिदमा समेत भएका चलखेलहरु बाहिर आइसकेका छन् । यो बेला कतिपय नीतिगत भ्रष्टाचार समेत मौलाएका छन् । होटल क्वारेन्टाइनका नाममा पनि सरकारी अधिकारीले भ्रष्टाचार गरेको तथ्य खुलेको छ ।

हाल विदेशबाट आउनेलाई १० दिन अनिवार्य होटल क्वारेन्टाइन भनिएको छ । भ्याक्सिन लगाएर आउनेको हकमा समेत लागू गरिएको यस्तो नियमले धेरैलाई समस्यामा परेको छ । यसको मुख्य स्वार्थ भनेको कोरोना नियन्त्रण भन्दा पनि केही सिमित होटलको व्यापार बढाउने हो । ती होटलको पर्यटन मन्त्रालयका अधिकारीसँग साँठगाँठ रहेको छ ।

ती होटलले विदेशबाट आउनेसँग चर्काे शुल्क असुलेका छन् । पहुँच भएकाहरुले पनि आफ्नो होटललाई क्वारेन्टाइन बनाउने अनुमति जिल्ला प्रशासन र पर्यटन मन्त्रालयबाट पाएका छन् । दृष्टि

धेरै शान्ति सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो

काठमाडाैं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्व शान्ति स्थापना कार्यमा धेरै सैनिक पठाउने मुलुकको सूचीमा नेपाल तेस्रो स्थानमा उक्लिएको छ । शान्ति सैनिक खटाएर योगदान पु¥याउने विश्वका मुलुकको सूचीमा नेपालको स्थान तेस्रो रहेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । विश्वभरका द्वन्द्वरत मुलुकका १२ शान्ति मिसनमा पाँच हजार १५४ सङ्ख्यामा अहिले नेपाली शान्ति सैनिक परिचालित छन् ।

विश्वका १२२ राष्ट्रले राष्ट्रसङ्घको आह्वानमा शान्ति सैनिक खटाउँदै आएका छन् । अफ्रिका महादेशका द्वन्द्वरत मुलुक सुडान र कङगोलगायतमा अहिले शान्ति सैनिकका रूपमा कार्यरत नेपाली महिला सैनिकको सङ्ख्या १७६ रहेको छ । यसअघि एक हजार ५५० नेपाली महिला सैनिकबाट शान्ति कार्यमा योगदान भइसकेको छ ।

सैनिक प्रवक्ता पौडेलले भन्नुभयो, “अरु देशको जनशक्ति घटेर तथा हाम्रो जनशक्ति बढेर पनि सूचीमा तलमाथि हुन्छ, अहिले रुवाण्डाको जनशक्ति घटेको छ, त्यसबाट हामी चौथोबाट तेस्रोमा उक्लिएका हौँ । नेपालसँग सयुंक्त राष्ट्रसङ्घले केही समयअघि थप ४५० शान्ति सैनिकको माग पनि गरेको छ ।”

सन् १९५८ मा लेबनानबाट विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाउन शुरु गरिएको हो । विश्वशान्ति स्थापना कार्यमा सैनिक पठाएर योगदान पु¥याएवापत ६३ वर्षको अवधिमा नेपाली सेनाले एक लाख ३५ हजार ३४३ थान शान्ति (युएन) पदक प्राप्त गरिसकेको छ ।

अनुशासित, व्यावसायिक र साहसिक सैनिकका रूपमा स्थापित नेपाली सेनाले ‘शान्ति मिसन’ यात्रामा द्वन्द्वपीडित जनताको मन जित्दै शान्ति कायम राख्न सिपालु ‘पिस च्याम्पियन’को छवि बनाएको छ । नेपाली सेनासँग संसारका ४२ वटा शान्ति मिसनमा खटिई काम गरेको अनुभव छ ।

मिलनसार र उत्कृष्ट ढङ्गबाट जिम्मेवारी पूरा गरेकै कारण संयुक्त राष्ट्रसङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा नेपाली सेना पर्दै आएको छ । नेपालले संयुक्त राष्ट्रसङ्घबाट माग भई आएमा १० हजारसम्मको सङ्ख्यामा फौज पठाउन सक्ने प्रतिबद्धता जाहेर गरिसकेको छ । नेपालले योगदानका आधारमा प्राप्त गरेको सिरियामा तैनाथ अन्डोफ शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारीमा हाल रथी ईश्वर हमाल हुनुहुन्छ । यसअघि कृष्णनारायण थापा, भिक्ट्री राणा, बालानन्द शर्मा, पवनजङ्ग थापा, प्रधान सेनापति पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि प्रतिबद्ध समावेशी चरित्रको नेपाली सेना विश्व शान्तिस्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिँदा पहिलो पङ्क्तिमा रहेर काम गर्दै आएको छ । विश्व शान्तिका लागि यस अवधिमा ६८ नेपाली सैनिकबाट आफनो जीवनको बलिदानी भइसकेको छ । यस अवधिमा ६६ जना सैनिक गम्भीर घाइते भएका छन् ।

मानव अधिकारको पूर्ण पालना, द्वन्द्व व्यवस्थापन र मानवीय सहायतामा नेपाली सेनाबाट हुँदै आएको कार्यको विश्व समुदायबाट मुक्तकण्ठले प्रशंसा हुँदै आएको छ । द्वन्द्वग्रस्त मुलुकमा शान्तिस्थापना गर्ने कार्यमा संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाप्रति निकै ठूलो आसा, भरोसा र विश्वास राखेको छ ।

अन्तर्राष्ट्रिय शान्तिस्थापनाका लागि उल्लेखनीय योगदान दिई विश्व समुदायबाट नेपाली सेनाले ठूलो इज्जत, प्रतिष्ठा र विश्वास आर्जन गरिरहेको छ । रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेले नेपाली सेनाले शान्ति मिसनमा खटेर पु¥याएको योगदान अतुलनीय भएकाले राष्ट्रसङ्घबाट धेरै नै प्रशंसा पाउँदै आएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेको तथा शान्ति सैनिकका रूपमा खटिएको स्थानमा तटस्थता कायम गर्ने भूमिका आदिले नेपाली सैनिकप्रति राष्ट्रसङ्घ र स्थानीय नागरिकले समेत निकै भरोसा राखेको देखिन्छ । त्यो भएर पनि सङ्ख्या थप्ने विषय सम्भव भएको हो ।”

नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्तिस्थापनामा कार्यमा देखाएको व्यावसायिक कुशलताकै कारण विश्व समुदायको पहिलो रोजाइमा पर्दै आएको मात्र होइन विशेषखाले जिम्मेवारी पनि सम्हाल्दैआएको छ । कतिपय द्वन्द्वरत मुलुकका महत्वपूर्ण संरचना, स्थल र विशिष्ट व्यक्तिको सुरक्षाको जिम्मेवारी पनि नेपाली सेनाले प्राप्त गरेको प्रशस्तै उदाहरण छन् ।

सेनाका पूर्वउपरथी जगदीशचन्द्र पोखरेल नेपाली सेना स्वभावैले शान्तिप्रेमी र कसैको पक्षमा नढल्कने तटस्थ भूमिकामा रहने मात्र नभएर राष्ट्रसङ्घको शान्तिस्थापना गर्ने सिद्धान्त र कार्यादेशको पूर्ण पालना गर्दै सहजरूपमा जिम्मेवारी पूरा भएकाले धेरै ठाँउमा नेपाली शान्ति सैनिकको माग हुँदै आएको बताउनुहुन्छ ।

निर्देशन पालना, व्यावसायिक, अनुशासन र मिलनसार चरित्र भएकै कारण नेपाली सेनाले द्वन्द्वग्रस्त मुलुकका जनताको मन जित्न सफल हुँदैआएको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, “नेपाली सेना कुनै पनि मिसनमा जाँदा कुनै स्वार्थ लिएर गएको हुँदैन, ज्यान बाजीमै राखेर भए पनि जिम्मेवारी कार्यादेशलाई नै सर्वाेपरी प्राथमिकता दिन्छ ।”

भूगोलको हिसाबले सानो राष्ट्र भए पनि विश्वशान्तिका लागि नेपालको ठूलो योगदान रहेको छ । नेपाली सैनिक जुन ठाउँमा खटिन्छन् त्यो ठाँउमा प्रभावकारी काम हुन्छ भन्ने सन्देश दिन सङ्गठन सफल भएको पूर्वरथी पोखरेल बताउनुहुन्छ ।

शान्ति सैनिक पहिलो पटक खटाउने सन्दर्भमा निकै संवेदनशील मानिएका लाइबेरिया, कङ्गो, सुडानलगायतका मुलुकमा नेपाली सेनाले अग्रपङ्क्तिमा रही महत्वपूर्ण जिम्मेवारी सम्हालेको घटनाको सर्वत्र प्रशंसा हुँदै आएको छ । शान्तिस्थापनार्थ गरेको योगदानका आधारमा ‘फोर्स कमाण्डर’को नेतृत्व र जिम्मेवारी पाउनुपर्छ भनी नेपालले संयुक्त राष्ट्रसङ्घलाई आग्रह गर्दै आएको छ ।रासस

कोपा अमेरिकामा : अर्जेन्टिनाको शानदार जित

काठमाडौं ।  कोपा अमेरिकामा २०२० मा अर्जेन्टिनाले बोलिभियामाथि सानदार जित निकालेको छ ।

मंगलबार बिहान लियोनल मेस्सी प्रेरित अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोल अन्तरले हराएको हो । समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे ।

अर्जेन्टिनाका लागि अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल थपे । बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल फर्काए ।

मेस्सीको पासलाई सदुपयोग गर्दै गोमेजले खेलको छैटौं मिनेटमा अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए । मेस्सीले पेनाल्टीमा अर्जेन्टिनाको अग्रता दोब्बर बनाए । पहिलो हाफ सकिन तीन मिनेट अघि सर्जियो अग्युरोको पासमा मेस्सीले ब्यक्तिगत दोस्रो गोल गरे ।

खेलको ६० औ मिनेटमा बोलिभियाका लागि सावेद्राले एक गोल फर्काए । त्यसको ५ मिनेटमा मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई ४–१ को शानदार जित दिलाए । समुह एमा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया अंक विहिन हुँदै तालिकाको पुछारमा छ

युरोकप : फ्रान्सलाई पराजित गर्दै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । साविक उपविजेता फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड १६ औं संस्करणको युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

रोमानियामा सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।

रोमान्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा स्विट्जरल्यान्डले बाजी मार्यो । पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम र प्रेसनल किम्पेम्बेले गोल गरे । तर, केलियन एमबाप्पे पेनाल्टीमा गोल गर्न चुके । एमबाप्पेको प्रहार स्विट्जरल्यान्डका गोलकिपर यान सोमेरले बचाए ।

स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन,  अकान्जी  म्यानुएल,  रुबेन भेर्गास र एडमिर मेहमेदीले पेनाल्टीमा गोल गरे ।

पेनाल्टीमा जानु अघि खेलमा सुरुवाती अग्रता स्विट्जरल्यान्डले बनाएको थियो । खेलको १५ औं मिनेटमा हरिस सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई १-० गोलको अग्रता दिलाएका थिए । उनले  स्टेभन जुबरको पासमा हेडरमार्फत उत्कृष्ट गोल गरे ।

खेलको ५५ औं मिनेटमा स्विट्जरल्यान्डले पेनाल्टीमा गोल गर्ने अवसर पायो । तर, स्विट्जरल्यान्डका रिकार्डो रोड्रिगेजले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको पेनाल्टी प्रहार फ्रान्सका गोलकिपर ह्युगो लोरिसले बचाए । लगत्तै ५७ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै फ्रान्सलाई १-१ गोलको बराबरीमा ल्याए ।  एमबाप्पेको पासमा उनले सहजै गोल गरे ।

खेलको ५९ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा फ्रान्सले २-१ को अग्रता बनायो । उनले एन्टोनियो ग्रीजम्यानको पासमा हेड मार्फत गोल गरे । खेलको ७५ औं मिनेटमा पाउल पोग्बाले गोल गर्दै फ्रान्सलाई ३-१ गोलको अग्रता दिलाए । पोग्बाले बक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए । खेलको ८१ औं मिनेटमा केभिनको पासमा स्विट्जरल्यान्डका सेफेरोभिचले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए  ।

त्यसपछि खेलको ९० औं मिनेटमा स्विट्जरल्यान्डका मारियो गाभ्रानोभिचले गोल गरेपछि खेल ३-३ गोलको बराबरीमा सकियो । र, खेल अतिरिक्त समयमा गएको थियो । शाकिरीको स्थानमा ७४ औं मिनेटमा मैदान प्रवेश गरेका उनले कप्तान ग्रानिटको पासमा गोल गरे । यससँगै स्विट्जरल्यान्ड क्वाटरफाइनलमा पुग्ने छैटौं टिम बनेको छ । विश्व विजेता फ्रान्स भने राउण्ड अफ १६ बाट बाहिरिएको छ ।

स्विट्जरल्यान्ड ६७ वर्षपछि पहिलो पटक मुख्य प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो । यस अघि स्विट्जरल्यान्ड १९५४ को विश्वकपमा क्वाटरफाइनल पुगेको थियो ।

अब  स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।  क्रोएसियालाई अतिरिक्त समयमा ५-३ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम आठमा प्रवेश गरिसकेको छ । यस अघि फ्रान्स समूह ‘एफ’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । स्विट्जरल्यान्डले समूह ‘ए’ बाट उत्कृष्ट तेस्रो टिम बन्दै नकआउट चरणमा स्थान बनाएको हो ।

आजदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालन हुने भएको छ। सोमबार बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको थियो ।

काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीका अनुसार सबै सिटमा यात्रु राख्न पाउनेगरी स्वास्थ्य मापदण्ड अपनाएर बस चलाउन दिने निर्णय गरिएको हो ।

उनका अनुसार चालक, सहचालक र यात्रु सबैले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने, स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, सहचालकले अनिवार्य पञ्जा लगाउनुपर्ने र दिनहुँ सवारीसाधन निःसंक्रमण गर्नुपर्ने प्रावधान राखिएको छ ।

प्रजिअहरूको बैठकले उपत्यकाभित्र जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका बस सञ्चालन गर्न दिने निर्णय गरेको छ भने नाकामा कडाइ गर्ने निर्णय गरेको छ । ‘अत्यावश्यक ढुवानीका साधन, दुई जनासम्म कुरुवासहित बिरामी बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी, सुरक्षा निकाय र पास बोकेर आएका सवारीबाहेकलाई उपत्यका प्रवेशमा रोक लगाइनेछ,’ काठमाडौंका सीडीओ पराजुलीले भने ।

यसअघि वारअनुसार निश्चित समयसम्म मात्रै पसल सञ्चालन गर्न दिइएकोमा यो व्यवस्था हटाइएको छ । बिहान ११ बजेसम्म खाद्यान्न, दूग्ध, फलफुल, तरकारी, माछा मासु, खेलकुद तथा स्टेशनरी लगायतका पसल खोल्न दिइएकोमा मंगलवारदेखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ । यसैगरी डिपार्टमेन्ट स्टोर, शपिङ मल, कपडा, अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा हार्डवेयर पसल बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न दिने निर्णय बैठकले गरेको छ ।

१५ जनाको उपस्थितिमा आपूm बसेकै स्थानमा बिहे गर्न दिने निर्णय गरिएको छ भने निषेधका अन्य क्षेत्रहरू यथावत् राखिएको छ । सीडीओ पराजुलीका अनुसार सभा, सम्मेलन, जुलुस, धर्ना, सिनेमा तथा नाट्यगृह, दोहोरी, नाचघर, चिडियाखाना, सैलून, ब्युटीपार्लर, जिमखाना, पुस्तकालय लगायत क्षेत्र सञ्चालन गर्न पाइनेछैन । यसैगरी धार्मिक क्रियाकलाप र भौतिक उपस्थितिसहितको पठनपाठन तथा परीक्षामा निषेध गरिएको हो ।

ओलीको आवेग : सर्वोच्चका न्यायाधीशको नियतमाथि प्रश्न, आफ्नै दलका वरिष्ठ नेतामाथि अभद्र टिप्पणी

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतका न्यायाधीश र विपक्षी गठबन्धनका शीर्ष नेतामाथि आक्रोशपूर्ण अभिव्यक्ति दिएका छन् ।

७०औं मदन भण्डारी जन्मजयन्तीको अवसरमा प्रधानमन्त्रीनिवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले इजलासमै हिंसालाई दुरुत्साहन गर्ने अभिव्यक्ति आउँदा समेत न्यायाधीशले रोक्न नसकेको आरोप लगाए । ओलीको अभिव्यक्तिमाथि न्यायालयको कुनै प्रतिक्रिया नआए पनि विपक्षी गठबन्धनका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भने सोमबार नै जवाफ दिएका छन् ।

१. अहिले त कानुनले प्रस्ट एउटा परिभाषा गरेको छ, फैसला अर्को आउँछ
प्रचण्डपथ यति व्याप्त भइसक्यो, कांग्रेसले त्यसलाई आफ्नो मार्गदर्शक सिद्धान्त बनाएपछि अहिले प्रचण्डपथ सुप्रिम कोर्टमा पनि चर्चा हुन्छ । फ्रान्स र बेलायतका राजाहरू किन काटिन्थे भन्दा अहिलेको राष्ट्रपति र प्रधानमन्त्रीले गरे जस्तो गर्दा रहेछन् र पो काटिँदोरहेछ ।
अथवा, अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काटनुपर्छ ।

यो कुरा सर्वोच्च अदालतमा प्रचण्डका एकजना कार्यकर्ताले भने । कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से मै बन्छु अर्को ठाउँमा भने । आश्चर्य लाग्छ, हिंसालाई दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने गरेको पाइएन । यस्तो हिंसालाई दुरुत्साहन गर्ने काम अदालतमा गर्नुहुन्न । अथवा, विद्वान् अधिवक्ताजी तपाईंं आफ्नो वक्तव्य सम्हालिएर राख्नुहोस् भनेर के न्यायमूर्तिहरूले सुझाब पनि राख्न सक्नु हुन्न र ?

व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाले आ–आफ्ना ठाउँमा बसेर जिम्मेवारी पूरा गर्ने प्रणालीलाई जोसुकैले पनि मान्नुपर्छ । अहिले त कानुनले एउटा प्रस्ट परिभाषा गरेको छ, फैसला अर्को आउँछ । कानुनले स्पष्ट रूपमा एउटा निर्दिष्ट गरेको छ, केन्द्रीय समिति भन्नाले के बुझिन्छ परिभाषाले भन्छ । केन्द्रीय समिति, तदर्थ समिति वा यस्तै जुनसुकै नाम दिएको भएता पनि केन्द्रीय निकायको अधिकार प्रयोग गर्ने हैसियत भएको केन्द्रीय वा राष्ट्रिय तहको संस्था बुझ्नुपर्छ ।

अदालतले त्यो छोडिदिन्छ, परिभाषा नै छोडिदिन्छ । केन्द्रीय कमिटीले गर्नुपर्ने काम महाधिवेशन आयोजक समितिले गरेको हुनाले मिल्दैन भन्छ । परिभाषालाई छाडेर, अराजकतालाई प्रश्रय दिने खालको निर्णय हुन्छ । अदालतको निर्णय भएको हुनाले मान्नैपर्‍यो । तर, देख्नुपर्ने नदेखिदिने, अनुचित कुराले प्रश्रय पाउने । उचित, आवश्यक, लोकतन्त्रका मूल्य मान्यताहरूका स्थापना र कार्यान्वयन हुनेको कुराको व्यवधान हुने कानुनी राजमा हुनुहुँदैन । यस्तो उल्लंघन गरेर संविधानको सर्वोच्चता हुने होइन । संविधानको पालना निष्ठाका साथ गरेर मात्रै हुन सक्छ ।

२. कांग्रेसकै नेताहरू नाथुराम गोड्से खोज्ने र नभेटिए आफैँ हुने तहमा पुगे
कांग्रेस प्रचण्डपथमा हिँडेपछि कांग्रेसकै नेताहरू नै नाथुराम गोड्से खोजी गर्ने, नभेटिए आफैँ हुने भन्ने तहमा पुगेका छन् । यो भनेको प्रचण्डपथ नै अँगालेको हो । यसै त अराजनीतिक, अस्थिरताको खेती, देश कता जान्छ भन्ने मतलब छैन । त्यो कुरामा पुग्नु भनेको स्वाभाविक रूपमा प्रचण्डपथ नै अँगालेको हो । कांग्रेसजस्तो पार्टीका लागि के बित्यो र केका विरुद्ध अहिले आन्दोलनमा उत्रिनुप¥यो ? आन्दोलनको पनि एउटा कारण हुन्छ नि !

३. प्रचण्डले छेपारोले जस्तै एक–एकछिनमा रंग फेर्छन्
प्रचण्डले अस्ति राष्ट्रपतिभन्दा त राजै राम्रो के–के भने क्यारे ! मान्छेले छक्क माने । किन छक्क मान्ने ? छेपारोले एक–एकछिनमा रंग फेर्छ त ! खैरोखैरो मुढामा गयो भने खैरोखैरो रंग बनाउँछ । हरियो हरियोमा गयो भने हरियो बनाउँछ । अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने त्यहाँ कालो बनाउँछ । कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छ ।

कहिले यस्तो हुँदा पनि हाम्रा लोकतान्त्रिक छिमेकी के हेरेर बसेका छन्, किन हस्तक्षेप गर्दैनन् भन्छ । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छ । कहिले गणतन्त्र काम लाग्दैन, गणतन्त्रभन्दा त राजतन्त्र राम्रो भन्ने ठाउँमा पुग्छ । कहिले यो राष्ट्रपति भन्ने संस्थाभन्दा त राजा नै ठीक भन्न पुग्छ । यो प्रचण्डका लागि कु ठूलो कुरा हो ?

४. माधव नेपाल लाज–सरम पचेका मान्छे हुन्, उनी कांग्रेस प्रवेश गर्न सक्छन्
माधव नेपाल भन्ने एकजना कांग्रेसका पछाडि कुद्ने मान्छे छन् । अहिले नेपालको राजनीतिमा सबैजसोले नै चिन्छन् प्रायः किनभने, असाध्यै चर्चा भइराखेको छ कि यतिसम्म पनि मान्छे पतन हुन सक्दोरहेछ । आफ्नो पार्टीको सरकार ढाल्न, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिस्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने, अनि एमालेको वरिष्ठ नेता हुँ भनेर फेरि हिँड्ने । यस्तो लाज–सरम पचेको मान्छे चर्चा अलिकति सकारात्मक हिसाबले मात्रै होइन नकारात्मक हिसाबले पनि गर्छन् नि ! गान्धीको मात्रै चर्चा हुँदैन नाथुराम गोड्सेको पनि चर्चा हुन्छ ।

अहिले धाक के लगाएका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर । मलाई बौलाह कुकुरले टोकेको छ र ? प्रधानमन्त्रीको प्रस्ताव मैले माधव नेपाल भन्ने व्यक्तिलाई राखेँ अरे ! माधव नेपालले आफैँ भन्दै हिँडेका छन्, मलाई प्रधानमन्त्रीको प्रस्ताव राखे, तर म मान्दिनँ ।

कोही काम नपाएर, कोही नेपालमा नभेटाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ? उनी शेरबहादुर देउवाको पार्टी नै ज्वाइन गर्न पनि सक्छन्, कार्यकर्ता भएर हिँडेकै छन् । प्रचण्डको पार्टी त उनलाई ज्वाइन गर्नु नै छ, अन्तमा । एकढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् । पुच्छर भएपछि जन्तु पूर्वतिर फक्र्यो भने त्यो पश्चिमतिर हुन्छ, पश्चिमतिर फर्क्यो भने त्यो पूर्वतिर हुन्छ । पछाडि–पछाडि सँगै हुन्छ । उनी यता जाऊँ भन्यो भने त्यतै पछि–पछि लाग्छन्, कांग्रेसतिर जाऊँ भनेपछि त्यसै पछि लाग्छन् ।

५. एक जनालाई मन्त्री बनाउने मात्रै जनमोर्चाको राजनीति हो
राष्ट्रिय जनमोर्चाको एकजना प्रतिनिधि छ । त्यो एकजना प्रतिनिधिलाई कसरी मन्त्री बनाउन सकिन्छ भन्ने मात्रै उहाँहरूको राजनीति हो । हामीसँग हुँदा पनि राजनीति त्यत्ति हो, अहिले पनि त्यत्ति हो । त्यसका लागि उहाँहरू यताबाट हुँदैन भनेपछि कांग्रेसको नेतृत्व स्वीकार गरेर भए पनि मन्त्री हुने, अथवा अब उहाँहरूको राजनीति कहाँ पुग्यो भन्दा विचारको प्रश्न रहेन, वर्गीयताको प्रश्न रहेन, वर्गीय राजनीतिको प्रश्न रहेन, गन्तव्य र उद्देश्यका प्रश्नहरू रहेनन् । यो एकबारको जिन्दगी मन्त्री बनाइहालिएन भने त पछि त गयो भन्ने ठाउँमा उहाँहरू पुग्नुभयो, तपाईं–हामीले देखिरहेका छौँ ।

विपक्षी गठबन्धनका शीर्ष नेता भन्छन्– ओली अत्यन्तै छुद्र र तुच्छ ढंगले गालीगलौजमा उत्रिए

विपक्षी गठबन्धनका शीर्ष नेताले केपी ओली इतिहासमा कलंकित र बदनाम प्रधानमन्त्रीका रूपमा चिनिने दाबी गरेका छन् । वुद्धिजीवीसँग अन्तरक्रियामा राष्ट्रपति जस्तो संस्थालाई समेत प्रधानमन्त्री ओलीले बदनाम गराएको उनीहरूले बताए । ओलीले सोमबार बिहानै सर्वोच्च अदालतदेखि, बुद्धिजीवी र विपक्षी गठबन्धनका शीर्ष नेतामाथि तिखो टिप्पणी गरेको केही समयपछि गठबन्धनका नेताहरूले प्रधानमन्त्री ओली अत्यन्तै छुद्र र तुच्छ ढंगले गालीगलौजमा उत्रिएको बताए ।

कांग्रेस सभापति शेरबहादुर देउवाले ओलीले प्रयोग गरेको भाषालाई इंगित गर्दै प्रधानमन्त्रीको हैसियतमा देश चलाउने क्षमतमाथि नै प्रश्न उठाए । ‘सम्मान गर्न सक्ने व्यक्तिले देश बनाउँछ । छुद्र भाषामा बोलेर केही हुँदैन । छुद्र भाषा बोल्ने मान्छेले के देश चलाउँछ ?,’ देउवाले प्रश्न गरे ।

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले समेत पदको गरिमालाई नै समाप्त पारेको आरोप लगाए । संविधानले दिएको जिम्मेवारी र कर्तव्य पूरा नगरेर राष्ट्रपति भण्डारीले आफ्नो गरिमा समाप्त गरेको उनको भनाइ छ ।

‘संसद्को कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको छ । हामीले बहुमत पुर्‍याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको कार्यकर्ता बन्नुभयो,’ उनले भने, ‘संविधानको अन्तिम व्याख्या गर्ने संस्था अदालत हो । न्यायालयको निष्पक्षता तथा स्वतन्त्रतामा विश्वास गर्छौँ ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै षड्यन्त्रका गोटी चाल्नका निम्ति ओली जुनसुकै हर्कतमा जान सक्ने खतरा रहेको बताए । राष्ट्रपति संस्था यति छिटो बदनाम होला भन्ने आफूले कल्पनासमेत नगरेको उनको भनाइ छ ।

‘प्रधानमन्त्री र राष्ट्रपति मिलेर जे गरिदिए पनि हुने भन्ने भएको छ’, प्रचण्डले भने, ‘त्यसका निम्ति विभिन्न इन्स्टिच्युटसँग कुरा पनि गर्नुभयो होला । खतराको घन्टी सिद्धियो । अब हामी सुरक्षित भयौँ । हाम्रो संविधान, लोकतन्त्र सुरक्षित भयो भन्ने होइन । ढुक्क हुने स्थिति अझै बनेको छैन ।’

एमाले नेता माधव नेपालले प्रधानमन्त्री ओलीतर्फ इंगित गर्दै राम्रो प्रणाली बसाएर मात्र नहुने साथै राम्रो संस्कार पनि चाहिने बताए । ‘हामी आफैँ अरूलाई भन्छौँ, आफू मान्दैनौँ । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी ओली हुनुहुन्छ,’ उनले भने ।

नेता नेपालले प्रधानमन्त्री ओलीको भाषण रेकर्ड गरेर राख्नसमेत आग्रह गरे । ‘प्रधानमन्त्रीको भनाइ सकारात्मक र नकरात्मक दुवै तरिकाले बुझ्नुपर्छ । तर, बानी र पानी माथिबाट तल बगेको राम्रो,’ उनले भने, ‘मलाई बहुला कुकुरले टोकेको छ र भन्नु भएछ । कति राम्रो ! आफै बुझ्नुस् ! । उहाँका हिजो र आजका भाषण ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’

यस्तै जसपा वरिष्ठ नेता अशोक राइले समयको आवश्यकता गठबन्धन बनाउनुपर्ने अवस्थामा पुर्‍याएको बताए । ‘यो गठबन्धन लामो समयसम्म टिक्नुपर्छ, टिकाउनुपर्छ । गठबन्धन रहरले वा लहडले होइन, आवश्यकताले निर्माण भएको हो,’ उनले भने । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

कोभिडपछिको स्वास्थ्य समस्या लिएर अस्पताल जाने बढे

काठमाडौं । कोभिड निको भएका बिरामीमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेपछि अस्पतालका जनरल वार्डहरू फेरि भरिन थालेका छन् । पहिलोभन्दा दोस्रो लहरमा कोभिडपछि देखिने स्वास्थ्य समस्या जटिल र धेरै संख्यामा छ ।

इमर्जेन्सी वार्ड, त्रिवि शिक्षण अस्पतालमा कोभिडपछिको समस्या लिएर आउने बिरामीको संख्या बढेको जानकारी डा. नीरज बमले दिए । १५ बिरामी आइसियूमा छन् भने जनरल वार्डमा ३० देखि ३५ जना बिरामी उपचाररत छन् ।

पोस्ट कोभिडले निम्त्याएको मनोवैज्ञानिक समस्या लिएर आउनेहरूको संख्या पनि उल्लेख्य छ । निद्रा नलाग्ने, रिँगटा लाग्ने, कमजोर महसुस हुने, छाती भारी हुने, ज्वरो आएजस्तो हुनेजस्ता स्वास्थ्य समस्या लिएर ओपिडीमा आउने बिरामी बढिरहेका छन् ।

फलस्वरूप अस्पतालहरूमा संक्रमितभन्दा पोस्ट कोभिड समस्या लिएर अस्पताल पुग्नेको संख्या बिस्तारै बढिरहेको छ । बिरामीको चाप बढेपछि टिचिङमा आइतबारबाट ओपिडी सेवा पोस्ट कोभिडका लागि मात्रै छुट्याइएको छ । यस्तै, टेकु सरुवारोग अस्पतालमा पनि सक्रिय संक्रमितभन्दा पोस्ट कोभिडको समस्याका बिरामी बढी आउन थालेको अस्पतालले जनाएको छ ।

टेकुमा सरुवा रोगबाहेक विशेषज्ञ सेवा उपलब्ध नभएकाले पोस्ट कोभिडका गम्भीर बिरामीहरू भने छैनन् । तर, निमोनिया, फाइब्रोसिस र इन्फेक्सनजस्ता समस्याका लागि इमर्जेन्सीमा फेरि बिरामी थपिन थालेको बताउँछन् सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन ।

उनी भन्छन्, ‘शारीरिक समस्याभन्दा पनि परीक्षण गराउँदा स्वास्थ्य समस्या नदेखिने, तर कमजोरी वा छटपटी महसुस भयो भन्दै अस्पताल आउनेहरू बढिरहेका छन् । पछिल्लो लहरको तुलनामा अहिले काउन्सिलिङका लागि आउने वा अनलाइनमार्फत आउनेहरूको संख्या बढेको छ । धेरैजसोमा निराशा बढ्दै गएको देखिन्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार पहिलो लहरपछि मात्रै २० प्रतिशतभन्दा बढीमा मानसिक समस्या देखिएको थियो । दोस्रो लहरपछि त्यो समस्या झन् बढिरहेको छ । वीर अस्पतालमा पनि सक्रिय संक्रमितको संख्या घट्दै गए पनि पोस्ट कोभिडका बिरामीहरू बढिरहेका छन् ।

बालबालिकामा एमआइएससीको समस्या बढ्दो
मल्टिसिस्टम इन्फ्लेमेटरी सिंड्रोम इन चिल्ड्रेन (एमआइएससी) कोभिडपछि बालबालिकाहरूमा उत्पन्न हुने निकै दुर्लभ र गम्भीर अवस्था हो । यसले कोरोना संक्रमणपछि बालबालिकामा मुटु, फोक्सो, मिर्गाैला, छाला र आँखा सुन्निने समस्या निम्त्याउँछ । त्यसबाट प्रभावित हुनेहरूको संख्या बढिरहेको छ ।

कान्ति अस्पतालमा मात्रै ४५ जना बालबालिकामा एमआइएससीको समस्या देखिएको अस्पतालले जनाएको छ । चिकित्सकहरूका अनुसार यस्तो समस्या कोभिड निको भएको दुईदेखि चार हप्ताको बीचमा देखिन्छ । उच्च ज्वरो, मुटुको धमनी सुन्निने, कडा खालको निमोनिया भएर अक्सिजन आवश्यक पर्ने, मिर्गौलामा समस्या देखिने, रगतमा प्लेटलेट तथा हेमोग्लोबिन घट्न सक्ने बताउँछन् बालरोग विशेषज्ञ प्रा.डा. आरपी बिच्छा ।

कान्ति अस्पतालमा यस्ता समस्या लिएर आउनेको संख्या दिनानु दिन बढ्दै गइरहेको बिच्छाले जानकारी दिए । ‘तेस्रो लहरमा बालबालिका संक्रमित हुने अनुमान गरिएकाले पूर्वतयारी गरेका थियौँ, अहिले त्यही संख्यामा एमआइएससीका केसहरू आउन थालेका छन् । संक्रमण बढ्दै जाँदा समस्या बढ्दै जान्छ,’ बिच्छाले भने ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

बिपी स्वास्थ्य प्रतिष्ठानमा बेथिति : अस्पतालको सञ्चित घाटा सात अर्ब, बेरुजु एक अर्ब

सुनसरी । व्यवस्थापन लथालिंग हुँदा पूर्वीनेपालको स्वास्थ्य र शिक्षाको अग्रणी संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भित्रभित्रै जर्जर बनेको छ । ०५८ देखिको बेरुजु मात्रै एक अर्ब १० करोडभन्दा माथि पुगेको छ ।०७७ सम्म प्रतिष्ठानको सञ्चित घाटा सात अर्ब पुगेको छ । जबकि विभिन्न परीक्षण, उपचार, बेडभर्ना, शल्यक्रियालगायत गरी प्रतिष्ठानको दैनिक आम्दानी झन्डै एक करोड रहेको अनुमान छ । अस्पतालमा ओपिडी शुल्क एक सय १० रुपैयाँ छ । लकडाउन बाहेकको अवस्थामा प्रतिष्ठानमा दैनिक तीन हजारभन्दा धेरै बिरामी आउने गरेका छन् । बिरामीको चाप सधैँ बढ्दो छ, तैपनि प्रतिष्ठान निरन्तर घाटामा छ ।

महालेखापरीक्षक कार्यालयले प्रत्येक वर्ष प्रतिष्ठानलाई आर्थिक र नीतिगत सुधार गर्न झकझक्याउने गरेको छ । तर, नेतृत्व आफै अनियमिततामा संलग्न हुन थालेपछि सुधारको सट्टा झन् भद्रगोल भएको छ । वर्षौअघि निर्माण थालिएका आधा दर्जन भौतिक संरचना अलपत्र छन् । अस्पताललाई चाहिने औषधिदेखि उपकरण मर्मत तथा खरिद प्रक्रियामा आर्थिक पारदर्शिता नभएको भन्दै चिकित्सकसहितका स्वास्थ्यकर्मी आन्दोलित छन् ।

महालेखाको प्रतिवेदनअनुसार एक अर्ब १० करोड बेरुजुमा केही हिस्सा स्वास्थ्य मन्त्रालयको छ भने अधिकांश प्रतिष्ठानको छ । चार सय ५० बिघा क्षेत्रफलमा फैलिएको प्रतिष्ठानमा नेपाल र भारत सरकारको लगानी छ ।

प्रतिष्ठानले खरिद गरेका कतिपय स्वास्थ्य उपकरण प्रयोग नै नगरी थन्क्याइएका छन् । सामान्य मर्मत गरेर चलाउन सकिने दर्जनौँ उपकरण महिनौं बित्दा पनि व्यवस्थापनले बनाउन चासो देखाएको छैन । जसका कारण सेवाग्राहीहरू महत्वपूर्ण सेवा पाउनबाट वञ्चित भइरहेका छन् । प्रतिष्ठानमा आउने यस्ता बिरामीलाई निजी अस्पतालहरूमा रेफर गर्ने गरिन्छ ।

प्रतिष्ठानमै २० वर्षभन्दा बढी वरिष्ठ चिकित्सकका रूपमा काम गरेका रजिस्ट्रार प्राडा मोहनचन्द्र रेग्मी संस्थामा मौलाएको आर्थिक अनुशासनहीनता र बेथिति देखेर अताल्लिएका छन् । गत १३ जेठमा उनले जारी गरेको आन्तरिक सर्कुलरले त्यस्तै देखाउँछ । सर्कुलरमा नियमविपरीत भएका आर्थिक क्रियाकलापका कारण एक अर्बभन्दा बढी बेरुजु भएको र त्यसको फर्स्योट गर्न रजिस्ट्रार कार्यालय असमर्थ रहेको उल्लेख थियो ।

कुराकानीमा पनि रजिस्ट्रार रेग्मीले प्रतिष्ठानमा आर्थिक अनुशासनहीनतादेखि धेरैखाले समस्या देखिएको र अहिले सुधारको प्रयास भइरहेको बताए । ‘०५८/६० सालदेखिको बेरुजु छ । महालेखापरीक्षकले औँल्याएअनुसार हामी यसलाई फस्र्योट गर्ने प्रक्रियामा छौँ,’ उनले भने, ‘निकै ठूलो समस्या भएकाले क्रमशः सुधार गर्दै लैजान्छौँ । फस्र्योट हुने खालको बेरुजु ताकेता गर्दैछौँ, नहुने किसिमको बेरुजुबारे महालेखापरीक्षकलाई जानकारी गराउने प्रक्रियामा छौँ ।’

अस्पतालको सेवा, कर्मचारीका समस्या, आर्थिक संकटलगायतका विषयमा आफूहरूको ध्यानाकर्षण भएको रेग्मीले बताए । ‘कार्ययोजना बनाएर प्रतिष्ठानलाई सुधार गर्न हामी लागिपर्छौँ,’ उनले भने । अस्पतालका निर्देशक गौरीशंकर साहले पनि धेरैखाले समस्या देखिएको र त्यसलाई सुधार गर्न नागरिक समाजको पनि सहयोग चाहिने बताए । ‘यी समस्या हामी सबै मिलेर सुधार गर्छौँ । नागरिक समाजको पनि साथ–सहयोग चाहिन्छ,’ उनले भने ।

अस्पतालको सेवा विस्तार, उपकरण मर्मत तथा खरिदका लागि प्रक्रिया सुरु गरिएको साहको भनाइ छ । प्रतिष्ठानमा चिकित्सक, कर्मचारीहरूमा गुटबन्दी बढेका कारण पनि समस्या आएको निर्देशक साहको भनाइ छ । ‘काम गर्नेभन्दा पनि खुट्टा तान्ने प्रवृत्ति मौलाएको छ । यही भएर प्रतिष्ठान ओरालो लागेको हो । यसलाई सुधार्न सबैको सहयोग चाहिन्छ,’ उनले भने ।

कमिसनको खेलमा बजेट सुनिश्चित नहुँदै सवा दुई अर्बको भवन बनाउन ठेक्का
प्रतिष्ठानमा मातृृशिशु उपचारका लागि भवन र औजार अभाव भएपछि पाँच वर्षअघि तत्कालीन उपकुलपति प्राडा बिपी दासले चार सय बेडको मातृ–शिशु स्याहार केन्द्र (एमसिएच) भवन बनाउने प्रक्रिया अगाडि बढाए ।

यो भवनसँगै ३८ युनिटको पोस्टग्य्राजुएट छात्रावास निर्माण गर्न दुई अर्ब ३३ करोड २२ लाख ९५ हजारको ‘इस्टिमेट’ तयार गरियो । खासमा कार्यकालको अन्तिमतिर रहेका उपकुलपति दासले कमिसनको खेलमा निर्माण योजना अघि बढाएका थिए ।

दुवै भवन निर्माणका लागि २८ असार ०७३ मा शर्मा–रसुवा कन्स्ट्रक्सन जेभीलाई दुई अर्ब १७ करोड ९८ लाख १३ हजार ६ सय ५५ रुपैयाँमा ठेक्का दिइयो । १२ वैशाख ०७६ भित्र निर्माण सक्नुपर्ने सम्झौता थियो । तर, काम सुरु भएदेखि नै अनियमितता सुरु भयो ।

जसले गर्दा एक वर्षमै काम रोकियो । अनियमितता भएको भन्दै ८ कात्तिक ०७४ मा स्वास्थ्य मन्त्रालयले पाँच सदस्यीय छानबिन टोली बनायो । र, प्रतिवेदन तयार नभएसम्म ठेकेदारलाई रकम भुक्तानी नगर्न पनि निर्देशन दिइयो । त्यतिन्जेलसम्म ठेकेदार कम्पनीले ४५ करोड १७ लाख ८८ हजार ६ सय ४२ रुपैयाँ भुक्तानी लगिसकेको थियो । बाँकी भुक्तानी रोकिएपछि निर्माण कम्पनीले काम बन्द ग¥यो । मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन अहिलेसम्म पनि सार्वजनिक गरिएको छैन ।

तत्कालीन उपकुलपति दासले सार्वजनिक खरिद नियमावलीविपरीत भवन निर्माण प्रक्रिया अगाडि बढाएको महालेखापरीक्षकको कार्यालयले ०७६ को प्रतिवेदनमा उल्लेख गरेको छ । नियमावलीको नियम ६ (१)मा सार्वजनिक निकायले खरिदका लागि आवश्यक बजेट व्यवस्था नभई खरिद कारबाही सुरु गर्न नमिल्ने व्यवस्था छ ।

त्यतिवेला प्रतिष्ठानको स्रोत ८६ करोडको मात्रै थियो तर, दुई अर्ब ३३ करोड २२ लाख ९५ हजार लागत अनुमानको योजना ठेक्कामा दिइयो । कार्यकाल सकिनै लाग्दा उपकुलपति दासले लागत अनुमानको ९९.७८ प्रतिशतमा ठेक्का लगाएका थिए । प्रतिष्ठानले त्यतिवेला स्रोत ‘नेपाल सरकार’लाई देखाएको थियो ।

प्रतिष्ठान सञ्चालक परिषद्को १८ असार ०७५ मा बसेको ४१औँ सभाले रोकिएको भवन निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । तर, ठेकेदार कम्पनीले काम रोकिएको अवधिको क्षतिपूर्ति माग गर्दै काम गर्न मानेन । अहिलेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले ठेकेदार कम्पनीलाई ब्याजसहित एक करोड ९९ लाख ८४ हजार नौ सय ८२ रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएपछि ०७७ देखि निर्माण कार्य अगाडि बढाइएको छ ।

सरकारले ससर्त अनुदानमा दिएको, तर खर्च नभएको ३६ करोड रकम महालेखाले बेरुजु देखाएको छ । बजेट सुनिश्चितता नभई ठेक्का लगाइएका कारण तीन वर्ष भवन निर्माण कार्य अलपत्र पर्‍यो । जसबाट सेवाग्राही सेवाबाट मात्रै वञ्चित भएनन्, राज्यलाई पनि दुई करोड नोक्सान भयो ।

दुई वर्षमा बन्नुपर्ने फार्मेसी भवनको भौतिक प्रगति पाँच वर्षमा ६३ प्रतिशत
सबै सरकारी अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्ने नियम बनेपछि प्रतिष्ठानले पनि फार्मेसी भवन बनाउन पाँच वर्षअघि ठेक्का लगायो । तर, दुई वर्षमा निर्माण भइसक्नुपर्ने भवन अझै पूरा हुन सकेको छैन ।

प्रतिष्ठानले ३० असार ०७३ मा श्यामसुन्दर निर्माण सेवालाई १२ करोड ३७ लाख २७ हजार पाँच सय ४५ रुपैयाँमा भवन निर्माणको ठेक्का दिएको थियो । पटक–पटक गरेर निर्माण कम्पनीले पाँच करोड ५९ लाख ८४ हजार नौ सय ८१ रुपैयाँ भुक्तानी लगिसकेको छ ।

ठेक्का सम्झौतामा तोकिएको समयमा भवन नबने निर्माण कम्पनीलाई प्रतिदिन ०.०५ प्रतिशतका दरले हर्जना लिएर असुल गर्ने व्यवस्था छ । तर, व्यवस्थापनले ठेकेदार कम्पनीसँगको मिलेमतोमा २३ असार ०७६ मा हर्जाना नलिई म्याद थप गरी प्रतिष्ठानलाई व्ययभार बढाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । प्राविधिक प्रतिवेदनअनुसार फार्मेसी भवनको ६३ प्रतिशत मात्र काम भएको छ । करिब एक महिनादेखि निर्माण कार्य फेरि सुरु गरिएको छ ।

होस्टेल निर्माण पनि अलपत्र, हर्जाना नलिईकनै दुई पटक ठेक्काको म्याद थपियो
प्रतिष्ठानले २० पुस ०७३ मा होस्टेल निर्माण गर्न श्यामसुन्दर निर्माण सेवालाई सात करोड ९३ लाख ९० हजार नौ सय ७८ रुपैयाँमा ठेक्का दियो । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता थियो । तर, पाँच वर्षमा दुईपटक म्याद थप गर्दा समेत भवन निर्माण हुन सकेको छैन ।
प्राविधिक समितिले दोस्रोपटक म्याद थप गर्दा निर्माण कम्पनीसँग हर्जना लिन सिफारिस गरेको थियो । तर, २६ साउन ०७६ मा बसेको कार्यकारी समितिको बैठकले ठेक्का सम्झौताविपरीत हर्जाना नलिईकनै म्याद थप गरेर प्रतिष्ठानलाई व्ययभार थप्यो ।

परामर्शदाताले साढे तीन करोड लग्यो, तर दुई सय बेडको कार्डियोलोजी सेन्टर कागजमै सीमित
केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा बिपी प्रतिष्ठानलाई मुटुरोगको विशिष्ट सेवा प्रवाह गर्ने अस्पतालका रूपमा विकास गर्न मनमोहन स्मृति कार्डियोलोजी सेन्टर बनाउने घोषणा बजेट भाषणमै गरेका थिए ।

२९ माघ ०७२ मा बसेको प्रतिष्ठानको ३९औं सञ्चालक परिषद्को बैठकले ७४ करोड ९० लाख १८ हजार नौ सय १० रुपैयाँ लागत अनुमानसहितको बहुवर्षीय योजना तीन वर्षभित्र सक्ने गरी स्वीकृत गरेको थियो । दुई सय बेडको कार्डियोलोजी सेन्टर निर्माण गर्ने योजना थियो । पहिलो वर्ष स्वास्थ्य मन्त्रालयबाट १४ करोड बजेट विनियोजन भएर निकासा समेत भएको थियो ।

आर्थिक वर्ष ०७४/७५ मा ड्रइङ, डिजाइन, कस्ट इस्टिमेटलगायत कार्यका लागि केज कन्सल्टेन्ट प्रालि काठमाडौंलाई परामर्शदाता नियुक्ति गरिएको थियो । उसले एक अर्ब ६२ करोड २५ लाख ६३ हजार तीन सय ३७ रुपैयाँ लागत अनुमानको प्रतिवेदन तयार गर्‍यो । सोही प्रतिवेदनका आधारमा १६ जेठ ०७४ मा कार्यकारी समितिले लागत अनुमान स्वीकृत गरी राष्ट्रियस्तरको पत्रिकामा सूचना प्रकाशित गर्‍यो ।

प्रतिष्ठानले परामर्शदातालाई तीन करोड ३७ लाख ९४ हजार तीन सय १७ रुपैयाँ भुक्तानी गरेको छ । तर, आव ०७५/७६ मा थप केही काम भएन । जसका कारण सरकारबाट प्राप्त हुने अनुदान रकम पनि रोकियो । प्रतिष्ठानमा दक्ष चिकित्सक भए पनि भवन अभावमा छुट्टै कार्डियो विभागको प्रभावकारी सेवा प्रवाह हुन सकेको छैन । यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरेको थियो । त्यसवेलाका पदाधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा विचाराधीन छ ।

कन्सल्टेन्सीले सवा चार करोड लग्यो, तर दुई सय बेडको क्यान्सर उपचार केन्द्रको ठेक्का समेत भएन

२९ माघ ०७२ मा बसेको प्रतिष्ठान सञ्चालक परिषद्को ३९औँ बैठकले दुई सय बेडको क्यान्सर उपचार केन्द्र (अंकोलोजी सेन्टर) निर्माण गर्ने निर्णय गर्‍यो । त्यसका लागि बैठकले एक अर्ब ६९ करोड आठ लाख ६५ हजार एक सय ५९ रुपैयाँ लागत अनुमानमा सैद्धान्तिक सहमति गर्दै सरकारसँग बजेट माग गर्‍यो ।

यो बहुवर्षीय योजनाका लागि सरकारले ०७३ मै तीन करोड विनियोजन गरेर निकासा गरेको थियो । प्रतिष्ठानले ५ वैशाख ०७४ मा तीन महिनाभित्र प्रोजेक्ट रिपोर्ट बनाउन केज कन्सल्टेन्ट प्रालिलाई चार करोड २६ लाख ६० हजार चार सय ४२ रुपैयाँमा जिम्मा दिएको थियो । केजले समयमै काम गरेर भुक्तानी समेत लगिसकेको छ ।

कन्सल्टेन्टलाई लागत अनुमानको २.६ प्रतिशत रकम भुक्तानी गर्ने गरी सम्झौता भएको थियो । तर, त्यसको टुंगो नलाग्दै केजलाई कुन हिसाबले भुक्तानी भयो भन्ने कतै उल्लेख छैन । १६ जेठ ०७५ मा बसेको कार्यकारी समितिको बैठकले आर्थिक वर्ष ०७५/७६ मा लागत रकमलाई रिभाइज गरी सोहीअनुसार बोलपत्र गर्ने निर्णय गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । त्यसपछि कुनै काम अघि बढेको छैन । क्यान्सर उपचार केन्द्र निर्माण नहुँदा जनताले उपचार त पाएनन् नै, प्रतिष्ठानको चार करोड २६ लाख ६० हजार पनि बालुवामा पानी खन्याएझैं भयो ।

इमर्जेन्सी भवन निर्माणमा पनि ठेकेदारलाई पोसियो
आकस्मिक सेवा विस्तारका लागि ४० बेडको भवन बनाउँदा पनि उपकुलपति डा. ज्ञानेन्द्र गिरीले प्रतिष्ठानलाई व्ययभार हुने गरी ठेकेदार कम्पनीलाई हर्जाना छुट गरेका छन् । २० जेठ ०७५ मा ६ महिनाभित्र निर्माण सक्ने गरी सुनकोसी–प्राजिल जेभी प्रालिलाई एक करोड ८६ लाख ६ हजार आठ सय ३३ रुपैयाँमा ठेक्का दिइएको थियो । तर, तोकिएको समयमा काम सम्पन्न नभएपछि प्रतिष्ठानले हर्जना नलिने गरी एक वर्ष म्याद बढाएको थियो । ०७७ चैतमा मात्रै ठेकेदार कम्पनीले प्रतिष्ठानलाई भवन हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानको फार्मेसीमा सुई र स्लाइन पानी मात्रै
स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउन सुपथ मूल्यमा अस्पतालहरूले आफैँ फार्मेसी सञ्चालन गर्नुपर्ने निर्देशिका बनाइएको छ । बिपी प्रतिष्ठानमा फार्मेसी छ, तर औषधिका नाममा सुई र स्लाइन पानी मात्रै पाउने गरेको सेवाग्राहीहरू बताउँछन् । सिटामोल किन्न पनि बाहिर निजी क्लिनिक धाउनुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।

प्रतिष्ठानका केही चिकित्सकदेखि सुरक्षागार्डसम्मले गेटबाहिर फार्मेसी खोलेका छन् । सेवाग्राहीलाई महँगो दरमा त्यहाँबाट औषधि किनाउने गरिन्छ । बेडमै औषधि पुर्‍याउने बहानामा सेवाग्राहीमाथि लुट भइरहेको एमाले धरान नगर कमिटी अध्यक्ष नारायण सुवेदीले बताए । प्रतिष्ठानमै अहिले आमाको उपचार गराइरहेका उनले सरकारको आँखामा छारो हालेर सेवाग्राहीलाई ठगी गरिरहेको बताए ।

सरकारले नागरिकको स्वास्थ्य बिमा गरिदिएको छ । जसमा पायक पर्ने अस्पतालबाट सेवा लिने व्यवस्था छ । यस्ता बिरामीले औषधिसमेत निःशुल्क पाउँछन् । तर, बिपी प्रतिष्ठानले लामो समयदेखि बिमितलाई औषधि सुविधा दिएको छैन । फार्मेसीमा औषधि नभएको भन्दै सेवा कटौती गर्दा लाखौँ बिमित अन्यायमा परेका छन् । औषधि निःशुल्क उपलब्ध गराउन बिमा स्वास्थ्य बोर्डले पनि कुनै पहल गरेको छैन ।

प्रयोगविहीन छन् महत्वपूर्ण स्वास्थ्य उपकरण
देश कोरोना महामारीको चपेटामा हुँदा धेरै नागरिकले उपचारसमेत नपाएर ज्यान गुमाउनुपर्‍यो । तर, बिपी प्रतिष्ठानमा भने भएका भेन्टिलेटरलगायत दर्जनौँ उपकरण सामान्य मर्मत अभावमा थन्क्याएर राखिएका छन् ।

कतिपय उपकरण खरिदमा भएको कमिसनको खेलले गुणस्तरहीन आएका छन् । त्यस्ता सामग्री आपूर्ति गर्ने ठेकेदारलाई कारबाही पनि भएको छैन । महालेखाको प्रतिवेदनअनुसार २० वटा विभागका विभिन्न उपकरण थन्क्याएर राखिएका छन् । भेन्टिलेटर मात्रै १० वटा थन्किएका छन् । आइसियू विभागमा २३ लाखभन्दा बढी मूल्यका पाँच थान भेन्टिलेटर थन्किएका छन् । ठेकेदार कम्पनीले गुणस्तरहीन भेन्टिलेटर ल्याएकाले थन्किएको प्रतिष्ठानले भनाई छ ।

त्यस्तै, स्पेयर पार्टस् नभएको भन्दै ११ लाख मूल्यबराबरका चार थान भेन्टिलेटर थन्किएका छन् । साढे तीन लाख मूल्यको अर्को एभिआइटिएम एक्सएल भेन्टिलेटर पनि स्पेयर पार्टस् अभावमा प्रयोग गरिएको छैन् । त्यस्तै, साढे १६ लाखभन्दा बढी मूल्य पर्ने दुई सेट ट्रान्पोरी भेन्टिलेटर पनि थन्किएका छन् । आठ सय ५० बेड क्षमताको प्रतिष्ठानमा कम्तीमा १० प्रतिशत आइसियू बेड हुनुपर्ने हो । तर, अहिले १५ बेड आइसियू/सिसियू र १३ बेड क्षमताको एनआइसियू, पिआइसियू मात्रै सञ्चालनमा छन् । व्यवस्थापनले आइसियू बेड थप्न पहल पनि गरेको छैन ।

पुरानो मेसिन थन्किएपछि एमआरआई सेवा बन्द
निजी अस्पतालहरूले अत्याधुनिक १०.५ टेस्लाको एमआरआई मेसिन चलाउँदै आएका छन् । तर, बिपी प्रतिष्ठानमा अहिले पनि ०.३५ टेस्लाको मेसिन छ । त्यो पनि पुरानो भएर थन्किएको छ । यो मेसिन सन् २००८ मा सिंगापुरस्थित कादुरी च्यारिटेबल फाउन्डेसनले अनुदानमा दिएको थियो ।

यसका स्पेयर पार्टस्समेत अहिले बजारमा पाइँदैन । एमआरआई मेसिन नहुँदा सेवाग्राही प्रभावित भएका छन् । महालेखाले ०७६ पुसमा गुणस्तरीय मेसिन खरिद गर्न सुझाब दिएको थियो, तर अहिलेसम्म ल्याइएको छैन । तत्कालीन उपकुलपति डा. राजकुमार रौनियारको पालामा खरिद प्रक्रिया सुरु भए पनि ठेक्कामा विवाद भएपछि रद्द गरिएको थियो, जुन अहिले पनि अगाडि बढेको छैन ।

खरिद गरिएका १८ वटा डायलाइसिस मेसिन स्थान अभाव भन्दै जडान नै गरिएनन्

प्रतिष्ठानमा २६ वटा डायलाइसिस मेसिन छन्, तर आठवटा मात्रै सञ्चालन गरिएका छन् । बाँकी मेसिन स्थान अभाव देखाउँदै जडान गरिएका छैनन् । जसका कारण बिरामीले सास्ती खेप्दै आएका छन् । मेसिन तथा जनशक्ति अभावमा नियमित सेवा दिन नसक्दा डायलाइसिस सेवा लिने बिरामी समस्यामा छन् ।

मेमोग्राफी बिग्रिएपछि ब्रेस्ट क्यान्सर परीक्षण बन्द
प्रतिष्ठानमा रहेको मेमोग्राफी मेसिन पनि मर्मत अभावमा दुई महिनादेखि थन्किएको छ । यो मेसिन महिलाको ब्रेस्ट क्यान्सर परीक्षणका लागि प्रयोग गरिन्छ । अस्पतालमा आउने ब्रेस्ट क्यान्सरको शंका गरिएका बिरामीलाई अन्यत्र रेफर गरिन्छ ।

प्रतिष्ठानले सन् २०१५ मा ६७ लाख ३३ हजार ५४ रुपैयाँमा मेसिन खरिद गरेको थियो । खरिद सम्झौताअनुसार आपूर्तिकर्ताले नै मर्मत गर्नुपर्ने हुन्छ, तर प्रतिष्ठानले त्यसको पहल गर्नुको साटो मेसिन नै थन्क्याएको छ । अस्पतालको रेडियोलोजी विभागका प्राविधिक प्रमुख मुकेश झाका अनुसार सो मेसिनको चक्का बिग्रिएको छ ।

त्यस्तै, आर्थिक वर्ष ०७३/७४ मा खरिद गरिएको इएनटी अपरेटिङ माइक्रोस्कोप र स्वास्थ्य सेवा विभाग तथा इन्फ्लुएन्जा नियन्त्रण परियोजनाबाट प्राप्त दुई थान भेन्टिलेटर प्रयोग नै नगरी थन्क्याइएका छन् । आपूर्तिकर्ताले गुणस्तरहीन ल्याएका कारण प्रयोग गर्न नमिलेको प्रतिष्ठानले जनाएको छ । यस्ता सामान खरिद गर्ने पदाधिकारीलाई कारबाही गर्न महालेखाले सिफारिस गरेको छ ।

पुरानो सिटिस्क्यान मेसिन चल्दैन, नयाँ सञ्चालनमै ल्याइएन
प्रतिष्ठानमा सन् २००८ मा पाँच करोड एक लाख ९४ हजार पाँच सय ४० रुपैयाँमा खरिद गरेको सिटिस्क्यान मेसिन थियो । पटक–पटक बिग्रँदै आएको १६ स्लाइसको यो मेसिन दुई महिनादेखि ठप्पै भएको छ । जसले गर्दा सेवाग्राही प्रभावित भएका छन् । प्रतिष्ठानले दुई सय ५६ स्लाइसको नयाँ सिटिस्क्यान मेसिन खरिद गरेको भए पनि अहिलेसम्म जडान गरिएको छैन । सिटिस्क्यान गर्नुपर्ने बिरामीलाई निजी अस्पतालमा पठाइने गरिन्छ ।

इमर्जेन्सी विभागमा प्राइभेट पार्टनरसिपमा अर्को सिटिस्क्यान मेसिन राखिएको छ । व्यापारी चेतन अग्रवाल र प्रतिष्ठानको ६०–४० लगानीमा राखिएको यो मेसिन पनि पटक–पटक बिग्रँदै आएको छ । प्र्रतिष्ठानमा छुट्टै कोभिड अस्पताल सञ्चालनमा छ । तर, त्यहाँ सिटिस्क्यान मेसिन छैन ।

जसले गर्दा कोभिड संक्रमितको पनि इमर्जेन्सीमै ल्याएर सिटिस्क्यान गर्ने गरिएको छ । मेसिन स्यानिटाइज गरेर निश्चित समय तोकी सावधानीपूर्वक संक्रमितलाई सिटिस्क्यान गर्न ल्याइने गरेको प्रतिष्ठानका सहप्रवक्ता डा. चुडामणि पोखरेलले बताए । संक्रमित र अन्य बिरामीको एउटै मेसिनबाट सिटिस्क्यान गर्दा संक्रमणको जोखिम बढेको छ ।

निजी अस्पतालमा रेफर गरिन्छन् बिरामी
प्रतिष्ठानमा अतिविशिष्ट स्वास्थ्य सेवा प्रदान गर्न सक्ने जनशक्ति र साधन छ । तर, भद्रगोल व्यवस्थापनका कारण सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् । सामान्य बिरामी पनि निजी अस्पतालमा रेफर गरिन्छन् । प्रतिष्ठानमा आउने अधिकांश बिरामीलाई आइसियू, एमआरआई, सिटिस्क्यान नभएको बहानामा अन्यत्र रेफर गरिने गरिन्छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

आज १८ औं राष्ट्रिय धान दिवस, यसरी मनाइदै छ

देवानगंज । आज (मंगलबार) १८ औं राष्ट्रिय धान दिवस । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही च्यूरा खाएर मनाइदै छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खान्छन् । यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ ।

असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन् ।

हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ ।

यस्ता शुभ काममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ । गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए ।

आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ ।

दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ । यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ ।

सरकारले विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।

आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपु छुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापा छ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नै पर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

आज २०७८ आषाढ १५ गते मंगलबारको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुष हुँनेछ । व्यापार व्यावसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोकाहुने तथा घर परिवारमा आफन्त सँग घरायसि कुरामा बिवाद सिर्जना हुनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्त बिचको सम्बन्धमा सुधार भएर जानेछ । सुन्दर तथा विलासी बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउँन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउँन सकिनेछ । पढाई लेखाईमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउँन सकिनेछ । घर परिवारमा आफन्त सँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुँनाले सबै खुसि रहनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

नयाँ योजना केहि दिनका लागि थाति राख्नुहोला समय मध्ययम रहेकोछ । आषा देखिउनेहरुलेनै धोका दिनेछन् । धर्म सस्कृति तथा रितिरिवाज जोगाउन समय खर्चिदा राम्रो रहेकोछ । पढाई लेखाईमा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ ।

सिहं (मा,मी,मू ,मे,मो,टा,टी,टू,टे)

नयाँ कामहरु गरेर आम्दानिका स्रोतहरु बढाउँन सकिनेछ । बिभिन्न अवसरहरुले पछ्याउँने हुँदा राम्रा परिणाम मुखि काम गर्न सकिनेछ । सरकारि धन तथा पृत्रिक सम्पति हात लागि हुँने प्रसस्त सम्भावना रहेको छ । प्रेम प्रशङगमा रमाउँन चाहनेहरुका लागि राम्रो रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

नयाँ काम पाउँने तथा नोकरिमा बढुवा हुँने योग रहेकोछ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ भने कार्यक्षेत्रमा तपाईको कामको उच्च मुल्याङन हुँनेछ । बिद्यार्थि वर्गहरुले थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा हात पार्नेछन् । गित संगित तथा मोडलिङ क्षेत्रमा ध्यान जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

खोज तथा अनुशन्धानको क्षेत्रमा अलि बढिनै समय दिदा सकारात्मक नतिजा निकाल्न सकिनेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन पाईनेछ । प्रेम प्रशङगमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा समस्या उत्पन्न हुँन सक्छ ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

आफ्ना कमजोरिहरु भरसक लुकाउँने प्रयास गर्नुहोला अरुले आलोचना गर्न सक्छन् । हतार गर्ने बानिले अनाबस्यक बिवादमा फस्ने योग रहेको छ । पढाई लेखाईमा अरुभन्दा पछि परेको भान हुँनेछ, काम गर्दा ख्याल गर्नुहोला काममा बाधा तथा दुख दिनेहरु सक्रिय हुँनेछन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

बोल्दा वा कुनै निर्णय गर्दा ख्याल गर्नुहोला बोलिको गलत अर्थ लाग्ने तथा तपाईको निर्णय तपाई आफैलाई आत्मघाति हुँन सक्छ । आफन्त, साथिभाई तथा कुटुम्बसँग मनमुटाव बढ्नेछ । खोज तथा अनुशन्धानमा दिएको समय त्यसै खेर जान सक्छ ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँने तथा बिवादित बिषयहरु केहि समय दिएर फत्ते गर्न सकिनेछ । पराक्रम बढेर जानेहुँनाले शाहशिलो काम गर्ने जोस आउँनेछ । माया प्रेममा रमाउँन चाहनेहका लागि यात्राको अवसर जुर्नेछ ।

मीन (दी,दु,थ,झ,ञ,दे,दो,चा,ची)

आफ्नै कारणले पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ । घर परिवार तथा आफन्तबिच घरायसि कुरामा बिवाद निम्तिन सक्छ ध्यान दिनुहोला । कुनै योजना भए केहि समय थाति राख्दा राम्रो हुँनेछ । पुराना लेनदेनका मुद्दाहरु बल्झन सक्छ सजक रहनुहोला ।

तपाईको दिन शुभ रहोस् ।

ओलीलाई विश्वप्रकाशकाे प्रश्न- ‘साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रसँग कुरा मिल्दा आन्द्रा गाँस्ने र छुट्दा निकालिदिने व्यवहार गरेको टिप्पणी गरेका छन् ।

सोमबार सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस प्रवक्ता शर्माले ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग एमाले एकता गर्दा ठिक र कांग्रेससँग मुद्दा मिल्दा बेठिक हुनसक्छ भन्दै प्रश्न गरेका छन्। उनले भनेका छन्, ‘प्रचण्डसँग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक?’

ओलीले एमाले वरिष्ठ नेता माधव नेपालप्रति गरेको टिप्पणीमाथि पनि शर्माले प्रश्न उठाएका छन्। ‘साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय?, ’उनले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीसँग विनम्रसँग सोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो `भेरिएन्ट´?’

सोमबार प्रधानमन्त्री ओलीले कांग्रेसले ‘प्रचण्ड पथ’लाई मार्गदर्शक सिद्धान्त बनाएको टिप्पणी गरेका थिए। कांग्रेस प्रचण्ड पथमा हिँडेपछि कांग्रेस नेताहरु नाथुराम गोड्से खोजेर हिँड्न थालेको उनको भनाइ थियो।दृष्टि बाट

५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने

रोल्पा । रोल्पाको सुनिल स्मृती गाउँपालिका वडा नं ४ ले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । गाउँपालिकाले उपलब्ध गराएको बजेटबाट आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर काटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरिएको वडाध्यक्ष गंज क्षेत्रीले बताउनुभयो ।

यो कार्यक्रम गाउँसभाबाट समेत पारित भइसकेको उनको भनाइ छ । “सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका एकल पुरुषलाई भत्ताको व्यवस्था गर्न लागिएको हो”, वडाध्यक्ष क्षेत्रीले भन्नुभयो “कार्यविधि निर्माण गरेर एकल पुरुषलाई मासिक एक हजार नगद दिइने छ । तर अन्य प्रकारका सामाजिक सुरक्षा भत्ता लिएकाहरु यो योजनामा समेटिने छैनन् ।”

गाउँपालिकाले आर्थिक वर्ष २०७८\७९ का लागि वडालाई उपलव्ध गराएको रु ७० लाख बजेटबाट सामाजिक सुरक्षाको यस्तो कार्यक्रम अघि सारेको हो । वडाले आगामी वर्षका लागि भौतिक पूर्वाधारभन्दा सामाजिक विकासलाई विशेष जोड दिने गरी योजना तथा कार्यक्रम अघि सारेको बताइएको छ ।

त्यस्तै वडाभित्रका दलित, अपाङ्ग र असहायका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम समेत अघि सारेको छ । गाउँपालिका भित्र बसोवास गर्ने दुई सय सात दलित, अपाङ्ग र असहायहरूका लागि निःशुल्क स्वास्थ्य बीमाको कार्यक्रम अघि सारिएको वडा कार्यालयले जनाएको छ ।

वडा कार्यालयले एकल पुरुषको सामाजिक सुरक्षा भत्ताका लागि रु एक लाख ३० हजार तथा दलित, अपाङ्ग र असहायको निःशुल्क स्वास्थ्य बीमाका लागि रु सात लाख २५ हजार बजेट विनियोजन गरेको छ ।

त्यस्तै वडाले शिक्षा र स्वास्थ्यलाई गरिब विपन्न वर्गको पहुँचसम्म पुर्याउन यस्तो कार्यक्रम ल्याइएको हो । यसअघि शिक्षामा सवै बालबालिकाको पहुँच पुर्याउन तथा पठन संस्कृतिको विकास गर्न विद्यार्थीको घरघरमा शिक्षण सिकाइ कुना स्थापना गरेको थियो ।

गरिबलाई विद्युतमा सहज पहुँच पुर्याउन निःशुल्क उज्यालो कार्यक्रम समेत कार्यान्वयनमा ल्याएको वडा कार्यालयले जनाएको छ । प्रतिमहिना २० युनिटभन्दा कम विद्युत् खपत गर्ने घरधुरीको विद्युत् महसुल वडा कार्यालयले तिरिदिने गरेको छ ।रासस

देशभरका सबै यातायात असार १८ बाट चलाउने यातायात व्यवसायीको घोषणा (विज्ञप्तिसहित)

काठमाडौँ । सरकारले असार १५ बाट २५ सिट क्षमताका सार्वजनिक यातायात संचालन गर्न दिने निर्णय गरेसँगै यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असन्तुष्टि जनाएका छन् ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर देशभरका सम्पूर्ण सार्वजनिक यातायात चलाउने घोषणा समेत गरेका छन् ।

हेर्नुस विज्ञप्ति:

बर्जुमा प्रधानाध्यापक मण्डलमाथी आक्रमण

इनरुवा ।  विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाउने विषयमा सुनसरीको बर्जु गाउँपालिका १ रामगञ्ज बेलगछियाको शुक्रबारेमा रहेको नजदुर्गा माविका प्रधानाध्यापक ३८ वर्षिय रनन्जन मण्डल माथि आक्रमण भएको हो । विद्यालय व्यवस्थापन समितिका लागि अभिभावकबाट सदस्यहरु छनौट भएको र शिक्षक प्रतिनिधि समेत छनौट भएकोमा गणपुरक संख्या र अध्यक्ष कसलाई बनाउने विषयमा बिवाद हुदाँ मण्डल माथि बर्जु गाउँपालिका १ का वडा अध्यक्ष श्याम गुरुगंको उपस्थितीमा आक्रमण भएको हो । विद्यालयमा समिति अध्यक्ष छनौटमा वडा अध्यक्ष श्याम गुरुगंले इक्छा जाहेर गर्नुभएको र ऐन नियमले अरु सदस्यहरु हुदाँहुदै वडा अध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न नपाउने बनाएपछि प्रअ मण्डल माथी आक्रमण भएको पीडित प्रधानाध्यापक मण्डलले जानकारी दिनुभयो ।

पीडित प्रअ मण्डलले वडा अध्यक्षको उपस्थिती र निर्देशनमा आफूमाथि आक्रमण भएको गुनासो गर्नुभयो । मण्डलका अनुसार वडा अध्यक्ष गुरुगंको निर्देशनमा वर्जु १ का मदन गुरुगं, टेक बहादुर गुरुगं,देवु गुरुगं र शिक्षक प्रतिनिधि शंकर गुरुगं सहितकाले आक्रमण गरेको हो । बैठकमा आजै अध्यक्ष चयन गर्नुपर्ने, हामीले नै भनेको व्यक्ति वा वडा अध्यक्ष श्याम गुरुगंलाई नै बनाउनुपर्ने दबाव दिएकाले प्रअ मण्डलले नियमसंगत गर्नुपर्ने सुझाएपछि तथानाम गालीगलौज सहित हात र मुक्काले कुटपिट गर्नुका साथै माटो र अविर मिसाएर शरिरभरी दलेर दुरव्यवहार समेत गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

यता घटनाको बारेमा संलग्न भनिएको वडा अध्यक्ष श्याम गुरुगंले भने आफु प्रत्यक्ष संलग्न नभएको र समितिमा आफूलाई सदस्यहरुले नै अध्यक्षको प्रस्ताव गरेकोमा प्रअ मण्डलले बहुमत सदस्यको निणर्य हुनुपर्ने र वडा अध्यक्ष नै अध्यक्ष बस्न नमिले भनेकाले केही विवाद भएको तर आक्रमण नै नभएको दावी गर्नुभएको छ । वहाँले घटना हुन नदिनका लागि आफूले सम्झाईबुझाइ गरेको दावी गरेपनि प्रअ मण्डलले भने वहाँले नै निर्देशन गरेको र सदस्यहरु अनि गाउँका केटाहरुले दुरव्यहार सहित आक्रमण गरेको जिकिर गर्नुभएको छ ।

प्रअ मण्डल माथि भएको आक्रमण प्रति वर्जु गाउपालिकाका अध्यक्ष रघुन्दन चौधरीले दुख व्यक्त गर्नुहुदै दोषी जो कोहीलाई पनि कार्वाहीको दायरामा ल्याउने बताउनुभयो । वहाँले शिक्षा र शिक्षक माथिको आक्रमणm दुरव्यहार गाउँपालिकालाई सहय नहुने बताउनुभयो । वहाँले कार्यपालिका बैठकमा पनि प्रअ आक्रमणको घटना उठेकाले यसको छानविन सहित दोषी माथि कार्वाही गर्नुपर्ने र गर्ने समेत प्रतिकृया दिनुभयो