बर्जुमा प्रधानाध्यापक मण्डलमाथी आक्रमण – Nagarikabhiyan : National News

बर्जुमा प्रधानाध्यापक मण्डलमाथी आक्रमण

इनरुवा ।  विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनाउने विषयमा सुनसरीको बर्जु गाउँपालिका १ रामगञ्ज बेलगछियाको शुक्रबारेमा रहेको नजदुर्गा माविका प्रधानाध्यापक ३८ वर्षिय रनन्जन मण्डल माथि आक्रमण भएको हो । विद्यालय व्यवस्थापन समितिका लागि अभिभावकबाट सदस्यहरु छनौट भएको र शिक्षक प्रतिनिधि समेत छनौट भएकोमा गणपुरक संख्या र अध्यक्ष कसलाई बनाउने विषयमा बिवाद हुदाँ मण्डल माथि बर्जु गाउँपालिका १ का वडा अध्यक्ष श्याम गुरुगंको उपस्थितीमा आक्रमण भएको हो । विद्यालयमा समिति अध्यक्ष छनौटमा वडा अध्यक्ष श्याम गुरुगंले इक्छा जाहेर गर्नुभएको र ऐन नियमले अरु सदस्यहरु हुदाँहुदै वडा अध्यक्ष नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्न नपाउने बनाएपछि प्रअ मण्डल माथी आक्रमण भएको पीडित प्रधानाध्यापक मण्डलले जानकारी दिनुभयो ।

पीडित प्रअ मण्डलले वडा अध्यक्षको उपस्थिती र निर्देशनमा आफूमाथि आक्रमण भएको गुनासो गर्नुभयो । मण्डलका अनुसार वडा अध्यक्ष गुरुगंको निर्देशनमा वर्जु १ का मदन गुरुगं, टेक बहादुर गुरुगं,देवु गुरुगं र शिक्षक प्रतिनिधि शंकर गुरुगं सहितकाले आक्रमण गरेको हो । बैठकमा आजै अध्यक्ष चयन गर्नुपर्ने, हामीले नै भनेको व्यक्ति वा वडा अध्यक्ष श्याम गुरुगंलाई नै बनाउनुपर्ने दबाव दिएकाले प्रअ मण्डलले नियमसंगत गर्नुपर्ने सुझाएपछि तथानाम गालीगलौज सहित हात र मुक्काले कुटपिट गर्नुका साथै माटो र अविर मिसाएर शरिरभरी दलेर दुरव्यवहार समेत गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

यता घटनाको बारेमा संलग्न भनिएको वडा अध्यक्ष श्याम गुरुगंले भने आफु प्रत्यक्ष संलग्न नभएको र समितिमा आफूलाई सदस्यहरुले नै अध्यक्षको प्रस्ताव गरेकोमा प्रअ मण्डलले बहुमत सदस्यको निणर्य हुनुपर्ने र वडा अध्यक्ष नै अध्यक्ष बस्न नमिले भनेकाले केही विवाद भएको तर आक्रमण नै नभएको दावी गर्नुभएको छ । वहाँले घटना हुन नदिनका लागि आफूले सम्झाईबुझाइ गरेको दावी गरेपनि प्रअ मण्डलले भने वहाँले नै निर्देशन गरेको र सदस्यहरु अनि गाउँका केटाहरुले दुरव्यहार सहित आक्रमण गरेको जिकिर गर्नुभएको छ ।

प्रअ मण्डल माथि भएको आक्रमण प्रति वर्जु गाउपालिकाका अध्यक्ष रघुन्दन चौधरीले दुख व्यक्त गर्नुहुदै दोषी जो कोहीलाई पनि कार्वाहीको दायरामा ल्याउने बताउनुभयो । वहाँले शिक्षा र शिक्षक माथिको आक्रमणm दुरव्यहार गाउँपालिकालाई सहय नहुने बताउनुभयो । वहाँले कार्यपालिका बैठकमा पनि प्रअ आक्रमणको घटना उठेकाले यसको छानविन सहित दोषी माथि कार्वाही गर्नुपर्ने र गर्ने समेत प्रतिकृया दिनुभयो