१५ असार २०७८, मंगलवार १७:०२ – Page 4 – Nagarikabhiyan : National News

मुलुकभर २६३६ जना नयाँ संक्रमित थपिए, २० को मृत्यु

काठमाडौँ । मंगलवार नेपालमा थप २ हजार ६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २५९ पीसीआर परीक्षण गर्दा १ हजार ७२८ र ४ हजार ४८९ एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै गत २४ घण्टामा देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ३५ हजार ३१० जना सक्रिय संक्रमित रहेका छन्।

धनुषामा एक महिलाको शंकास्पद मृत्यु, हत्या भएको आशंका, ५ महिनाकी गर्भवती थिइन् उनी

जनकपुरधाम । धनुषामा शंकास्पद अवस्थामा एक महिलाको शव फेला परेको छ । लक्ष्मीनियाँ गाउँपालिका– ४, सपहीमा २३ वर्षीया प्रियङ्का पासवानको शव फेला परेको हो ।

प्रियङ्काको घाँटीमा डाम देखिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार प्रियङ्का र उनका श्रीमान् सन्तोष पासवानबीच गएराति विवाद भएको थियो । विवादकै कारण प्रियङ्काको हत्या वा आत्महत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

यद्यपि महोत्तरीको बलवा नगरपालिका– ५ बस्ने प्रियङ्काका बुबा विनोद पासवानले ज्वाइँले नै कुटपिट गरी छोरीको हत्या गरेको आरोप लगाएका छन् । उनका अनुसार प्रियङ्का पाँच महिनाकी गर्भवती थिइन् ।

‘पहिले पनि धेरै पटक कुटपिट गरेका थिए । मार्ने प्रयास पनि गरेका थिए ।जनकपुर प्रेसमा छ । राति झगडा गर्दै मेरी छोरीको घाँटी थिचेर मारेछन्,’ उनले भने ।

यद्यपि पोस्टमार्टम रिपोर्ट नआउञ्जेल हत्या वा आत्महत्या भएको भन्न नमिल्ने धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले बताए । उनका अनुसार प्रियङ्काका श्रीमान् सन्तोषलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

‘उनका श्रीमान्‌ले क्लियर कुरा भनिरहेका छैनन् । कहिले आफैँ झुण्डिएर मरेको भन्छन्, कहिले झुण्डिएको देखेपछि डोरी काटिदिएको भन्छन् त कहिले घरमै नरहेको भन्दैछन् । बयान फेरेको फेरै छन् । अहिले हामी घटनााको अनुसन्धान गर्दै छौँ,’ उनले भने ।

शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको डीएसपी मिश्रले बताए ।

प्रधानमन्त्री नियुक्तिका लागि आधार नदेखिएपछि प्रतिनिधिसभा विघटन भयो : नायव महान्यायाधिवक्ता

नायव महान्यायाधिवक्ता पद्मप्रसाद पाण्डेयले नेपालको संविधान अनुसार प्रधानमन्त्री नियुक्तिका लागि आधार नदेखिएपछि राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नुपरेको तर्क गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाईका क्रममा सरकारी पक्षबाट बहस गर्दै उनले प्रधानमन्त्रीका लागि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति देउवा दुवैको आधार स्पष्ट नभएपछि संविधानअनुसार विघटन गरिएको तर्क गरे।

प्रधानन्यायाधीशले राणाले प्रश्न गर्दै भने, “नेपालको संविधानको धारा ७६ (५)को प्रक्रिया पूरा नगरेकाले प्रश्न उठेको हो, विकल्प खोज्नु पर्ने थिएन र ?” जवाफमा नायव महान्यायाधिवक्ता पाण्डेयले जवाफ दिँदै भने,“दुवैको आधार नदेखेपछि राष्ट्रपतिले अस्वीकार गर्नुभयो, यो विषयलाई अदालतले हेर्न पनि मिल्दैन।”

प्रधानन्यायाधीश राणाले पुनःप्रश्न गरे, “कुनै दुईमध्ये एकलाई नगर्दा यो अवस्था आएको हो कि हैन रु भारतलगायत देशमा के अभ्यास छ ?” नायब महान्यायाधिवक्ता पाण्डेयले जवाफमा भने, “भारतमा पनि पटकपटक संसद् विघटन भएको छ, भारतमा संसद् विघटनपछि सरकार स्थिर भयो, जहाँ सरकार स्थिरता हुन्छ, त्यहाँ विकास  हुन्छ, विघटनले प्रजातन्त्र कमजोर हुँदैन ।”

नायव महान्यायाधिवक्ता पाण्डेयको बहस चिया विश्रामपछि पुनः हुनेछ। उनका लागि दुईघण्टा समय निर्धारण गरिएको छ। महान्यायाधिवक्तासहित ११ जनाले सरकारी पक्षबाट बहस गर्ने तय भएको थियो। त्यसमध्ये महान्यायाधिवक्ता रमेश बडालले सोमबार बहस गरिसकेका छन्। रासस

बिराटनगरमा मंगलबार पत्रकार फाउण्डेसन द्वारा केन्द्रीय समिति गठन

सुन्दरहरैचा । मोरङमा पत्रकारहरूको मंगलबार बसेको बैठकले पत्रकार फाउण्डेसन केन्द्रीय समिति गठन गरेको छ । संचारकर्मीको अधिकारका लागि मात्र काम गर्ने उद्देश्य राखेर समिति गठन गरिएको हो ।
न्यू सृष्टि दैनिकका प्रकाशकरप्रधान सम्पादक शंकर खरेल अध्यक्ष रहेको समितिमा कौशल निरौला वरिष्ठ उपाध्यक्ष छन् । ब्रम्हदेव यादव र निर्मल ढुंगाना उपाध्यक्ष चयन भएका छन् ।

महासचिवमा वीरेन्द्रकुमार साह, सचिव गोपाल काफ्ले छन् भने कोषाध्यक्षमा सुधा थापा छिन् । सदस्यहरूमा श्रीमन्त भट्टराई, राज पोखरेल, प्रकाशनारायण झा, अनुज सापकोटा, रोसिका अधिकारी, नवराज काफ्ले, दिलीप अग्रवाल, सरिता कर्मकार, एलएन गच्छदार छन् । मंगलबार विराटनगरमा भएको भेलाले गठन गरेको कार्यसमितिमा सबै क्षेत्रलाई समेटिएको महासचिव साहले बताए ।

समितिमा थप दुई सदस्य चयन हुन बाँकी छन् । ‘संचारकर्मीलाई पीरमर्का परेको बेला जस्तोसुकै सहयोग पनि गर्ने उद्देश्य राखिएको छ’ अध्यक्ष खरेलले भने, ‘हामी कसैप्रति पूर्वाग्रह हुन्नौ, सामाजिक कार्यमा संलग्न हुने उद्देश्यसहित फाउण्डेसनको जग बसालेका हौं ।’ बैठकमा सामाजिक अभियन्ता तथा कांग्रेसका युवा नेता राजेशकुमार गुप्ताले सामाजिक कार्यमा संचारकर्मीलाई जोड्ने प्रयासका लागि शुभकामना दिए ।

बृहद शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले नवगठित कार्यसमितिले सामाजिक कार्य र संचार क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै भने, ‘यस्तो सशक्त टिमले धेरै असल काम गर्न सक्छ ।’ महासचिव साहले आफुहरू सकारात्मक सोचका साथ आएको र फाउण्डेसन कुनै संस्थाको विकल्प नभएको उल्लेख गरे । वरिष्ठ उपाध्यक्ष निरौलाले सेवाको क्षेत्रमा इमान्दारिता पूर्वक काम गर्ने बताए ।

कालीगण्डकी परियोजनाविरुद्ध पाँच राजनीतिक दल एक ठाउँमा

काठमाडौं । कालीगण्डकी नदी डाइभर्सन आयोजनाको विरोधमा स्याङजाका ५ राजनीतिक दल एकै ठाउँमा उभिएका छन् ।

कालीगण्डकी–तिनाउ डाइभर्सन बहुउद्देश्यीय परियोजनाको कार्यालय स्थापनासँगै यहाँका क्रियाशील पाँच राजनीतिक दलले यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सङ्घर्षका लागि तयार रहन आग्रह गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाले सोमबार एक विज्ञप्ति जारी गर्दै उक्त योजना राष्ट्रिय हितमा नरहेको स्पष्ट हुँदाहुँदै पनि जबर्जस्ती कार्यालय स्थापना गर्ने कार्य बद्नियतपूर्ण रहेको जनाएको छ ।

कांग्रेसका कार्यवाहक सभापति बुद्धिबहादुर राना, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शैलेन्द्र घिमिरे, नेकपा एमालेका अध्यक्ष रामचन्द्र भट्टराई, जसपा अध्यक्ष श्याम ढकाल र राजमा अध्यक्ष राजेन्द्र गैरेले संयुक्त रुपमा विज्ञप्तिमा हस्ताक्षर गरेका हुन् ।

प्राचीन मानव सभ्यताको उद्गम स्थल, सनातन संस्कृतिको धरोहर, शालिग्राम पाइने विश्वको एकमात्र नदी कालीगण्डकीको प्राकृतिक माग परिवर्तन गर्ने गरी जुन योजना अगाडि बढाउन थालिएको छ, यो कार्यप्रति स्याङ्जाका क्रियाशील पाँच राजनीतिक दलको गम्भीर ध्यानाकर्षण भएको कांग्रेस कार्यवाहक सभापति रानाले बताउनुभयो । “सामाजिक, साँस्कृतिक, प्राकृतिक एवं वातावरणीय, आर्थिक पक्षको बृहत् अध्ययन, सरोकारवालाहरुसँगको गहन छलफल तथा परामर्श विना सङ्घीयताको मर्म र भावना विपरित यो परियोजना अगाडि बढाउन खोजिएको छ”, उहाँले भन्नुभयो, “ सीमित स्वार्थमा सम्झौता गरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । ”

यस परियोजनाले कालीगण्डकी जलाधार क्षेत्रमा बसोबास गर्ने नागरिकको जनजीवन प्रभावित पार्ने र कृषि उत्पादनको ठूलो भूभाग मरुभूमिकरणमा परिणत हुने नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक घिमिरेले बताउनुभयो ।

“यो परियोजनाको निर्माणले आर्थिक क्षति धेरै हुनुका साथै जलाधार क्षेत्रमा बसोवास गर्ने नागरिकको जनजीवनलाई गम्भीर असर पर्न गई विस्थापितसमेत हुनुपर्ने अवस्था समेत आउन सक्छ”, उहाँले भन्नुभयो, “राष्ट्रिय हितमा नरहेको यो परियोजना सञ्चालन गर्ने उद्देश्यले कार्यालय स्थापना गरेर कार्य अगाडि बढाउन खोज्नु बद्नियतपूर्ण छ ।”

नेपालीको हितमा नरहेको यो परियोजनाका विरुद्धमा डटेर सामना गर्न दलहरु प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

यसका विरुद्धमा आ–आफ्नो ठाउँबाट आवाज बुलन्द गर्न र आवश्यक परेको खण्डमा सङ्घर्षका लागि तयार रहन पनि विज्ञप्तिमार्फत अपिल गरिएको छ ।

कालीगण्डकी नदी स्याङ्जा, पर्वत र गुल्मीको सङ्गमस्थल सेतीवेणी शिलादेखि स्याङ्जा, तनहुँ र पाल्पाको सङ्गमस्थल केलादीघाटसम्म स्याङ्जा जिल्ला भएर वगेको छ ।

स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदी धाम राम्दीभन्दा केही तलबाट बाँध बाँधेर डाइभर्सन गरी तिनाउ नदीमा पानी लैजाने यसअघि पनि पटक पटक छलफल तथा प्रयासहरु भएका थिए । ज्योतिन्यूज तर बाँध बाँध्ने स्थलभन्दा तल्लो तटीय क्षेत्रमा रहेका स्याङ्जा, पाल्पा, तनहुँ, नवलपुरलगायतका जिल्लावासीले यसको विरोध गर्दै आएका छन् ।

कालीगण्डकी डाइभर्सन परियोजनाको विरोधमा गण्डकी प्रदेश सरकारले सोमबार बोलाएको सर्वपक्षीय बैठकमा प्रदेशका विभिन्न राजनीतिक दल तथा संघसंस्थाले यो आयोजना तत्काल रोक्न सरकारसँग माग गरेका थिए ।

प्रदेश २ मा चट्याङ लागेर एकैदिन ५ जनाको ज्यान गयो, तीन घाइते

जनकपुरधाम । प्रदेश २ मा एकैदिन चट्याङ लागेर पाँच जनाको ज्यान गएको छ ।

मंगलबार बिहान चट्याङ लागेर पर्सामा तीन र महोत्तरीमा दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुासार पर्साको सखुवाप्रसौनी गाउँपालिकाका दुई जना र जिराभवानी गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।

सखुवाप्रसौनी गाउँपालिका– ४ देवरवाना निवासी ५५ वर्षीय रघुवीर यादवको बिहान ७ बजेतिर चट्याङ लागेर मृत्यु भएको हो । यादव भैंसी चराउन गएका थिए ।

यसै गरी बिहान भैंसी चराउन गएका सखुवाप्रसौनी– १ गदियानीका २७ वर्षीय रोसुला गदीको पनि चट्याङ लागेर मृत्यु भएको डीएसपी खनालले जनाए । गदीसँगै रहेका राजबली गदी गम्भीर घाइते भएका छन् ।

उनलाई उपचारका लागि वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जनाए ।

खेतमा रोपाइँ गर्न गएकी जिराभवानी– ३ जितपुर बस्ने ५० वर्षीय असुतरनीदेवी थरुनीको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । थरुनीसँगै रहेका अन्य ३ जना सामान्य घाइते भएका छन् ।

त्यसैगरि मनरासिसवा नगरपालिका वडा नं ४ साढा गाउँकी ५० वर्षीया प्रेमशिला देवी र वडा नं ५ कटैयाका ८० वर्षीय विशेश्वर राय रहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।जनकपुर प्रेस

उनका अनुसार प्रमिला देवी घर नजिकै खेतमा राखिएको धानको बीउमा मल राखिरहँदा र रायको गाउँ नजिक भैँसी चराउँदै गरेका अवस्थामा आज विहान परेको चट्याङ्ग लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।

गोदावरी र पाँचखालमा ७०० गुर्जो रोपण

ललितपुर। गोदावरी नगरपालिकाको दशघरलगायत नगर क्षेत्रका विभिन्न स्थानमा मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन सहयोग गर्ने वनस्पति गुर्जोका ५०० बिरुवा रोपिएको छ ।

गोदावरी सरोकार समाजको नेतृत्वमा फुलचोकी आमा समूहलगायत संस्थाको सहभागितामा गुर्जो रोपिएको हो । ती स्थानमा तेजपात र कोइरालालगायतका औषधिजन्य वनस्पति पनि रोपिएको छ । देशव्यापीरूपमा गुर्जोका बिरुवा रोप्ने अभियानमा लागेका अभियानकर्मी कमलबहादुर राजलवटले बिरुवा उपलब्ध गराएका हुन् । उनी स्थलगत रूपमै बिरुवा उपलब्ध गराउँदै रोपणमा पनि सहभागी भएका थिए ।

कार्यक्रममा गुर्जोबाट बनेको चिया र धुलो औषधि पनि वितरण गरिएको थियो । सो अवसरमा योगगुरु किशोरकुमार जोशीले योग गराएका थिए । सामाजिक अभियानकर्मी राजेश प्रधानले उपस्थितलाई सकारात्मक सोचको ऊर्जा प्रदान गर्ने कार्यक्रम प्रस्तुत गरेका थिए ।

यसैगरी नगरपालिकाको ठैवमा निरा गृहिणी समाजको सक्रियतामा स्थानीयबासीलाई गुर्जोको बिरुवा तथा यसबाट बनेको चिया तथा धुलो सेवा गरिएको थियो । यो सेवा विशेषगरी कोरोना प्रभावितलाई दिइएको हो ।

पाँचखालको दुग्धेश्वरमा २०० गुर्जोको बिरुवा रोपण :

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालस्थित दुग्धेश्वर महादेवको प्राङ्गणमा रहेको सामुदायिक वनमा पनि २०० गुर्जोको बिरुवा रोपिएको छ । कार्यक्रममा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, दुग्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामहरि घिमिरे, वन उपभोक्ता समितिका अध्यक्ष प्रकाश तिमल्सिनाका साथै स्थानीय सङ्घसंस्था एवं स्थानीय बासिन्दाको सहभागिता थियो ।

कार्यक्रमको समन्वय पाँचखाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष तथा समाजसेवी दिलबहादुर श्रेष्ठले गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई गुर्जोबाट बनेको चिया सेवन गराइएको थियो ।

विसं २०७६ चैत ११ गते कोरोना महामारीबाट बच्न बन्दाबन्दी जारी गरिएपछि एक लाख ५० हजार गुर्जोका बिरुवा रोप्न निःशुल्क वितरण गरिएको सो अवसरमा राजलवटले बताए । यस वर्ष पनि करिब नौ हजार बिरुवा रोप्न निःशुल्क वितरण भइसकेको छ ।

निःशुल्क बिरुवा वितरणका अवसरमा गुर्जोबाट बनेको चिया अभियानकर्मीलाई खुवाइएको थियो । सहभागी सबैलाई गुर्जोबाट बनेको चिया र धुलो निःशुल्क वितरणसमेत गरिएको थियो । आन्तरिक राजश्व कार्यालय लहानको प्रमुख कर अधिकृत हुँदा त्यहाँको सरकारी निवासमा बिरुवा उमारेर देशव्यापी रूपमा निःशुल्क वितरण अभियानमा उनी लागेका हुन् । हाल धुलिखेलमा सरुवा भएपछि पनि उनले गुर्जो वितरण र रोपण अभियानलाई निरन्तरता दिइरहेका छन् ।

आयुर्वेद शास्त्रको ‘यस्य देशस्य यो जन्तो स् तस्य तद् औषधं हितम्’ अर्थात् मानिस जुन स्थानमा जन्मन्छ उसलाई औषधिको काम गर्ने वनस्पति त्यहीँ हुन्छ भन्ने वचनका आधारमा प्रत्येक घरमा एउटा गुर्जोको बिरुवा रोपाउने अभियानमा आफू लागेको उनले बताए । घरसँगै सार्वजनिक स्थलमा पनि गुर्जो रोपेर मानवलाई आवश्यक परेका बेला औषधिका रूपमा उपयोग गर्न सकिने विश्वास लिइएको छ ।

मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने भएकाले आवश्यक पर्नेले देशभर तोकिएका १२१ केन्द्रबाट गुर्जोबाट बनेको चिया र धुलो लिन सक्ने अभियानकर्मी राजलवटले बताए । यी केन्द्र हाल देशभरका ३६ जिल्लामा स्वयंसेवी रूपमा शुरु गरिएको छ । अन्य जिल्लामा पनि स्वयंसेवीका रूपमा गुर्जो बाँड्न चाहने अभियानकर्मीले सेवा गर्न सक्ने जनाइएको छ ।रासस

धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न

काठमाडौं । धान रोपाईं हुने क्षेत्रफलमध्ये देशभर करिब २७ प्रतिशतमा वर्षे धान रोपाइँ सम्पन्न भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार असार १५ सम्ममा देशभर २७ दशमलव १२ प्रतिशत क्षेत्रफलमा वर्षे धान रोपाइँ सम्पन्न भएको हो ।

सात प्रदेशमध्ये हालसम्म कर्णाली प्रदेशमा सबैभन्दा बढी धान रोपाइँ भएको केन्द्रका प्रमुख रामकृष्ण श्रेष्ठले जानकारी दिए । उनले कर्णाली प्रदेशमा छिटो रोपाइँं थालिने भएका कारण पनि सबैभन्दा बढी रोपाइँ सकिएको जानकारी दिए ।

प्रमुख श्रेष्ठका अनुसार प्रदेश नं १ मा दुई लाख ७५ हजार ९०१ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ४९ हजार ६२३ हेक्टरमा धानबाली रोपिएको छ । यो धान रोपाइँ हुने कूल क्षेत्रफलमध्ये १७ दशमलव ९९ प्रतिशत रहेको छ ।

त्यस्तै प्रदेश नं २ मा १० दशमलव ५५ प्रतिशत मात्र रोपाइँ सकिएको छ । तीन लाख ६५ हजार ६१५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म यो प्रदेशमा ३८ हजार ५८६ हेक्टरमा मात्र धानबाली रोपाइँ सकिएको छ ।

वाग्मती प्रदेशको एक लाख १५ हजार २९५ हेक्टर क्षेत्रफलमध्ये हालसम्म २१ दशमलव ०७ अर्थात् २४ हजार २८८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ ।

यसैगरी गण्डकी प्रदेशमा १० लाख आठ हजार २७८ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १५ दशमलव ३४ प्रतिशत अर्थात् १६ हजार ६१२ हेक्टरमा, लुम्बिनी प्रदेशमा तीन लाख ३ हजार ५९३ हेक्टर क्षेत्रफलमध्ये ४५ दशमलव ९४ प्रतिशत अर्थात् एक लाख ३९ हजार ४५६ हेक्टर, कर्णाली प्रदेशमा ३८ हजार ३८५ हेक्टर क्षेत्रफलमध्ये ६२ प्रतिशत अर्थात् २३ हजार ८५० हेक्टर क्षेत्रफलमा र सुदूरपश्चिम प्रदेशमा एक लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफलमध्ये ४८ दशमलव ३१ प्रतिशत अर्थात् ७९ हजार ५४० हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

गत वर्ष असार १५ गतेसम्म सातै प्रदेशमा ३५ दशमलव ४८ प्रतिशत धान रोपाइँ सकिएको थियो ।न्यूज२४मा छ । सातै प्रदेशका १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफलमध्ये चार लाख ८६ हजार ६६२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो ।

आफूलाई बचाउन गालीगलौजमा उत्रिए ओली

काठमाडौँ । दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि झन् संकटमा पर्दै गएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना निर्णयहरूको बचाउ गर्न विपक्षी गठबन्धनका नेताहरूमाथि मात्र होइन, संसद् र सर्वोच्च अदालतको नेतृत्वप्रतिसमेत गालीगलौज र आक्षेप लगाउन थालेका छन् ।

उनको स्वभावै तिखो बोल्ने हो तर पछिल्ला दिनमा बोलीको लय झन् बदलिएको छ । जबकि धेरैपटक बोल्दा र लेख्दा प्रयोग गर्ने भाषाको शिष्टताप्रति उनी नै बुद्धिजीवी, लेखकलगायतलाई प्रशिक्षणको शैलीमा सिकाउन खोज्थे ।

ओलीको बोलीको सीमाको कुन तहमा पुगेको छ भन्ने पछिल्लो उदाहरण हो– उनले आफ्नो विरोधी कित्तामा रहेका नेता, सर्वोच्च अदालतका न्यायाधीश र संसद्का सभामुखप्रति सोमबार गरेको टिप्पणी । एमाले नेता–कार्यकर्ताले आफ्नो वैचारिक धारको आदर्श व्यक्ति मानेका मदन भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रत्येक व्यक्तिको नाम किटेर टिप्पणी गरेका थिए । भण्डारी आफ्नो राजनीतिक एजेन्डा बोकेर प्रतिस्पर्धाबाट विपक्षीमाथि विजय हासिल गर्नुपर्छ भन्ने मान्यता राख्थे तर आफूलाई तिनै भण्डारीको खास उत्तराधिकारी ठान्ने ओली राजनीतिक सीमा नाघ्दै व्यक्तिगत टिप्पणीमा चर्को रूपमा उत्रिए ।

उनको शब्दवाणको मुख्य निसाना माधव नेपाल र पुष्पकमल दाहालमा थियो जोसँग उनी निकट विगतसम्म काँध मिलाएर कम्युनिस्ट आन्दोलनलाई समाजवादमा लैजाने सपना देख्थे । ओलीले सोमबार कांग्रेस र कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्च अदालतका न्यायाधीशमाथि टिप्पणी गरे ।

 

ओलीले कसलाई के भने ?

नेपाल– ‘पुच्छर, लाजसरम पचेको’

प्रधानमन्त्री ओलीले झन्डै ५ दशकदेखि एउटै राजनीतिक आन्दोलन र पार्टीमा बसेर काम गरेका नेता माधवकुमार नेपाललाई ‘पुच्छर’ को सज्ञा मात्र दिएनन्, ‘लाजसरम पचेको’ समेत भने । नेता नेपालका विषयमा उनले भने, ‘एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन् । पुच्छर भएपछि जन्तु पूर्वतिर फर्कियो भने त्यो पश्चिमतिर हुन्छ । पश्चिमतिर फर्कियो भने पूर्वतिर हुन्छ । पछाडि–पछाडि सँगै हुन्छ त्यो । यतायता जाऔं भन्यो भने यतै पछिपछि लाग्छ ।’

केही दिनअघि नेता नेपालले आफूलाई प्रधानमन्त्री बन्ने प्रस्ताव आएको अभिव्यक्ति दिएका थिए । त्यसक्रममा नेता नेपालले आफूले विपक्षी गठबन्धनलाई धोका दिएर नहिँड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपालको त्यही अभिव्यक्तिलाई ओलीले जवाफ दिए । ‘अहिले धाक के लगाएर हिँडेका छन् भने केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर । मलाई बहुला कुकुरले टोकेको छ र ?’ ओलीले भने, ‘कोही काम नपाएर, कोही मान्छे नपाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’ नेता नेपालले कहिले अध्यक्षको प्रस्ताव राखेको त कहिले प्रधानमन्त्रीको प्रस्ताव राखेको भनेर आफ्नो महत्त्व बढाउन खोजेको ओलीको टिप्पणी थियो । ‘माधव नेपाल भन्ने एक जना कांग्रेसका पछाडि कुद्ने मान्छे छन् । नेपालको राजनीतिमा उनलाई सबैजसोले चिन्छन् । असाध्यै चर्चा भइरहेको छ । मान्छे यतिसम्म पनि पतन हुँदो रहेछ,’ उनले भने, ‘आफ्नो सरकार ढाल्ने र प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने कम्युनिस्ट आन्दोलन सिध्याउने, अर्कोतर्फ लाग्ने अनि एमालेको वरिष्ठ नेता भनेर हिँड्ने यस्तो लाजसरम पचेको मान्छे ?’

दाहाल– ‘छेपारो, नील वर्णस्य शृंगाल’

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई रङ फेर्ने ‘छेपारो’ र संस्कृत नीतिकथा ‘नील वर्णस्य शृंगाल’ (नीलो रङको स्याल) को चरित्रसँग तुलना गरे । ओलीको आक्रोश दाहालले राष्ट्रपतिप्रति दिएका पछिल्ला अभिव्यक्तिसँग बढ्ता थियो । ‘प्रचण्डले अस्ति राष्ट्रपतिभन्दा त राजै राम्रो के–के भने क्यार… मान्छेले छक्क माने । किन छक्क मान्ने ? छेपारोले रङ एक–एकछिनमा फेर्छ त । खैरो मुढामा गयो भने खैरो–खैरो खालको रङ बनाउँछ । हरियोमा गयो भने हरियो–हरियो रङ बनाउँछ । अलि कालो बोक्रो भएको ठाउँमा पुग्यो भने कालो–कालो बनाउँछ,’ ओलीले भने । केही दिनअघि दाहालले राष्ट्रपतिले यति धेरै असंवैधानिक काम गरेको र त्यसले राष्ट्रपतिको मान राजाहरूको जति पनि हुन नसकेको भन्दै तुलना गरेका थिए ।

कांग्रेसजस्तो पार्टीले दाहाललाई गुरु थापेर हिँडेको ओलीको टिप्पणी थियो । आफैंले पार्टी एकता गरेर माओवादी आन्दोलनका सबै क्रियाकलापलाई वैधानिक अनुमोदन गरेका ओलीले सोमबार सशस्त्र द्वन्द्वकालका घटनासमेत खोतले । ‘कहिले विदेशबाट हतियार ल्याएर नरसंहार गर्छन् । नेपाली जनताले दुःखले थुपारेको पैसा बैंकका बैंक लुटेर सखाप पार्छन् । स–साना कृषि सहकारी लुटेको हुन्छ । संरचना ध्वस्त पारिदिएको हुन्छ । निर्दोष, बालबालिकासमेत ध्वस्त पार्ने अमानवीय जघन्य अपराध गरेको हुन्छ,’ दाहाललाई इंगित गर्दै ओलीले भने, ‘कहिले बाँदरमुढे घटाउँछ । मानिसलाई महिनौंसम्म नियन्त्रणमा लिएर जघन्य अपराध गर्छ ।’

पहिलोपटक प्रतिनिधिसभा विघटन भएपछि दाहालले ओलीको विकल्पमा देशी/विदेशी सबैका लागि आफूहरूले ‘कम्फर्टेबल’ हुने खालको सरकार बनाउने धारणा राखेका थिए । ओलीले सोमबार त्यो प्रसंग पनि उप्काए । ‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्छन्, कहिले यस्तो हुँदा पनि हाम्रा छिमेकी के हेरेर बसेका छन् भन्छन् ।कान्तिपुरमा छ । कहिले गणतन्त्र ल्याउने मै हुँ भन्छन् । अहिले गणतन्त्रभन्दा त राजतन्त्र नै राम्रो भन्छन् । कहिले यो राष्ट्रपति भन्ने संस्थाभन्दा त राजा नै ठीक भन्छन् । यो भन्नु कुन ठूलो कुरा हो र प्रचण्डलाई ? अगाडि बस्दैमा आफूले नेतृत्व गरेको भन्ने हुँदैन, गोरु हलीको अगाडि नै हुन्छ ।’

देउवा– ‘प्रचण्डपथको यात्रामा’

नेकपाको एकीकरण भंग हुनुअघि कांग्रेस सभापति शेरबहादुर देउवासँग ओलीको विशेष खालको सम्बन्ध थियो । सत्ता र विपक्षी दलका नेताहरूको गठजोडले राजनीतिक चर्चासमेत पाउँथ्यो । तर अहिले ओली देउवाप्रति पनि उत्तिकै आक्रोशित छन् । उनले सोमबार देउवाले राजालाई आफ्नो सत्ता बुझाएकोदेखि आफ्नो हत्या गर्ने योजना बनाएर प्रचण्डपथको हिंसात्मक बाटोमा हिँडेको समेत आरोप लगाए । ‘प्रचण्डपथमा हिँडेपछि कांग्रेसका नेताहरू नै नाथुराम गोड्से खोजी गर्ने, खोजी गर्दा भेटिएन भने आफैं नाथुराम गोड्से हुने भन्ने तहमा पुगेका छन् । त्यो भनेको प्रचण्डपथ नै अँगालेको हो,’ ओलीले भने, ‘यसै त अराजनीतिक, अस्थिरताको खेती, देश कता जान्छ भन्ने कुराको मतलव छैन । त्यो कुरामा पुग्ने भनेको स्वाभाविक रूपमा प्रचण्डपथमै पुग्नु हो ।’

कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यले गत महिना वाग्मती प्रदेशसभामा अहिलेको नेतृत्वलाई विस्थापित गर्न आफू ‘नाथुराम गोड्से’ बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । भारतीय स्वतन्त्रता संग्रामका नेतृत्वकर्ता महात्मा गान्थीको हत्या गरेका नाथुराम गोड्सेको प्रसंग वैद्यले उठाएपछि विरोध भएको थियो । वैद्यले आफूले गल्ती बोलेको भन्दै माफी मागिसकेका छन् । यही प्रसंगलाई ओलीले आफ्नो हत्या गर्ने प्रयत्नमा कांग्रेस रहेको भन्ने संकेत गरेका हुन् । ओलीले देउवाको प्रधानमन्त्री बन्ने उत्कट अभिलाषाका कारण कांग्रेसले लोकतान्त्रिक बाटो बिराएको आरोप लगाए ।

देउवालार्ई साथ दिनेहरूलाई ओलीले ‘जाली फटाहा’ को संज्ञा दिए । ‘प्रधानमन्त्री हुने उत्कट इच्छाले शेरबहादुरजीले लोकतान्त्रिक मार्ग छाड्नुभयो । केही जाली फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्न खोज्नुभयो,’ उनले भने, ‘संसद्बाट बनेको भए हुन्थ्यो, जनतामा जाने बाटो अवरोध गरेर अन्तैबाट प्रधानमन्त्री बनाउने ?’ त्यस सन्दर्भमा ओलीले २०५९ असोज १८ र २०६१ माघ १९ का घटनाक्रम पनि सम्झिए । ‘जनतामा जाने कुरालाई कांग्रेसले कू भन्यो । जनतामा जानु कू हो भने २०१७ सालको अभ्यासचाहिँ लोकतान्त्रिक हो ? कांग्रेसले कू भनेको के हो बिर्सिसकेछ,’ ओलीले भने, ‘शेरबहादुरलाई सोध्न चाहन्छु, माघ १९ के थियो ? असोज १८ के थियो ?’

सर्वोच्च अदालत/न्यायाधीश– ‘हिंसा दुरुत्साहनका साक्षी’

सर्वोच्च अदालतले एकपछि अर्को गर्दै असंवैधानिक कदम खारेज गरिदिएपछि ओलीको निसानामा सर्वोच्च अदालत र त्यहाँका न्यायाधीशहरू पनि परेका छन् । अदालतमा सेटिङ भइरहेको आशंकासमेत गर्दै आएका ओलीले वकिलहरूले हत्या प्रसंगका उदाहरण दिँदै इजलासमा गरेका तर्कहरूलाई अदालतले किन नरोकेको भनी प्रश्न गरे । ‘फ्रान्स र बेलायतमा राजाहरू किन काटिन्थे, अहिलेका प्रधानमन्त्री र राष्ट्रपतिले गरेजस्तै गर्दा रहेछन् र पो काटिँदो रहेछ । अथवा अहिलेका राष्ट्रपति र प्रधानमन्त्रीलाई पनि काट्नुपर्छ । यो कुरा प्रचण्डका एक जना कार्यकर्ताले सर्वोच्च अदालतमै भने । कांग्रेसका कार्यकर्ताले नाथुराम गोड्से म बन्छु भनेर अर्को ठाउँमा भने,’ ओलीले भने, ‘आश्चर्य लाग्छ, सर्वोच्च अदालतले हिंसालाई यस्तो दुरुत्साहन गर्ने वक्तव्य दिँदा रोक्ने काम गरेको पाइएन । यस्तो हिंसालाई दुरुसाहन अदालतमा गर्नु हुन्न अथवा विद्वान् अधिवक्ताजी आफ्नो वक्तव्य सम्हालेर राख्नुहोस् भनेर के न्यायमूर्तिहरूले त्यो सुझाव पनि राख्न सक्नुहुन्न र ?’

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस गर्ने क्रममा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले राष्ट्रपति तथा प्रधानमन्त्रीका भूमिका र कामकारबाहीको उदाहरण दिने क्रममा फ्रान्स र बेलायतका घटनाहरूको प्रसंग उप्काएका थिए ।

सभामुख– ‘प्रचण्डका कार्यकर्ता मात्र’

अग्निप्रसाद सापकोटा सभामुख नियुक्त हुनुअघिदेखि नै ओलीसँग उनको सम्बन्ध राम्रो थिएन । प्रतिनिधिसभा नै भंग गरेपछि त ओली र सापकोटा झगडिया भइहाले । ओलीले सभामुखलाई संसदीय मर्यादा राख्न नसकेको आरोप लगाउँदै आएका छन् । सोमबार भने उनले विपक्षी गठबन्धनलाई संसद् भवन परिसरमा अन्तरक्रिया र भेटघाटका लागि हल र कोठा उपलब्ध गराएको भन्दै सभामुखको आलोचना गरे । त्यहाँ भइरहेका पत्रकार सम्मेलन र अन्तरक्रियालाई ओलीले ‘तथाकथित बकवासी’ को संज्ञा दिए । ‘संसद् भवनलाई संसदीय क्रियाकलापबाहेक अरूमा प्रयोग गर्न दिइँदैन । तर तथाकथित बुद्धिजीवी भेला, तथाकथित पत्रकार सम्मेलन, तथाकथित नागरिक समाजका अन्तरक्रिया… के अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र संसद्ले भाडामा लिएको यस खालका बकवासी कामका लागि हो ?’

ओलीले भने, ‘यसै गर्ने हो भने अरूले किन नपाउने ? प्रचण्डका कार्यकर्ता सभामुख हुनेबित्तिकै अनि प्रचण्डले जे भन्यो त्यो कानुनभन्दा माथि अभ्यासभन्दा माथि हुने ? यसैमा मेरो टाउको दुखाइ होइन । मेरो चिन्ता लोकतन्त्रको भविष्यप्रति हो । यस अभ्यासले लोकतन्त्रको भविष्य कहाँ पुर्‍याउँछ ?’

छुद्र बोल्नेले देश चलाउन सक्दैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले ‘छुद्र भाषा बोल्नेले देश चलाउने नसक्ने’ टिप्पणी गरेका छन् । ओलीले सोमबार विपक्षी गठबन्धनका नेताहरूप्रति लक्षित अभिव्यक्ति दिएपछि सोमबारै बुद्धिजीवीहरूसँगको अन्तर्क्रियामा देउवाले ओलीप्रति संकेत गर्दै यस्तो बताएका हुन् । ‘सम्मान गर्न सक्ने व्यक्तिले मात्र देश चलाउन सक्छ, छुद्र बोल्नेले देश चलाउँछ ?’ उनले भने । उनले राष्ट्रपतिले आफ्नो गरिमा कायम गर्न नसकेको बताए ।

ओलीले अझै षड्यन्त्रका गोटी चाल्न सक्छन् : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा टिकिरहनका लागि अझै पनि षड्यन्त्रका गोटी चाल्न सक्ने खतरा कायमै रहेको बताए । उनले अदालतको निर्णयमाथि प्रभाव पार्ने षड्यन्त्रमा प्रधानमन्त्री ओली लागेको आरोप लगाएका हुन् । उनले सत्ताकेन्द्रित भएर नेपाली राजनीतिमा ठूलो चलखेल भएको गन्ध आफूले पाएको दाबी पनि गरे । प्रधानमन्त्री ओली इतिहासमै सबैभन्दा कलंकित र बदनाम भएको तथा राजनीतिक भविष्य ओरालो लागिसकेकाले अन्तिम समयसम्म पनि षड्यन्त्रका गोटीहरू चाल्न सक्ने खतरा रहेको उनले दाबी गरे । प्रधानमन्त्री ओलीले अदालतलाई धम्क्याउने, तर्साउने र कुनै न कुनै रूपले दबाबमा पारेर, खैजेडीमा पारेर निर्णयमाथि प्रभाव पार्ने खुला षड्यन्त्र गरेको उनले आरोप लगाए ।

‘केपीजी अब सिद्धिनुभयो र नेपालको इतिहासमा सबैभन्दा कलंकित र बदनाम प्रधानमन्त्रीका रूपमा, सबैभन्दा निरंकुशको पनि तुच्छस्तरको निरंकुश, झूट, बेइमानबाहेक केही नजान्ने निरंकुशका रूपमा नेपाली इतिहासमा बदनाम भएर जाने हुनुभयो,’ उनले भने, ‘मलाई त कहिलेकाहीं केपीजीलाई यसो सम्झिँदाखेरी पनि कठै विचरा भन्न मन लाग्छ ।’

ओलीका अभिव्यक्ति मर्यादाहीन : नेपाल

एमाले नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले मर्यादाहीन अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । उनले सधैं संस्कार र मर्यादाका कुरा गर्नेले नै अरूको मर्यादा राख्न नसकेको बताए । उनले नेतृत्वको कार्यशैलीलाई नै कार्यकर्ताले अनुशरण गर्ने भन्दै प्रधानमन्त्री ओलीका आइतबार र सोमबारका भाषणहरू रेकर्ड गरेर राख्न सुझाव दिए । ‘हामी आफैं संस्कृति र संस्कारको कुरा गर्छौं, अरूको मान–सम्मानको कुरा गर्छौं तर आफैं त्यस्तो गर्छौं । यसमा नम्बर वान कोही छ भनेर खोज्दाखेरी आजहिजोको हाम्रा सम्माननीय प्रधानमन्त्रीज्यूको अभिव्यक्ति । उहाँको भाषण तपाईंहरू सबैले रेकर्ड गरेर राख्नुहोला । ध्यान दिन लायक छ,’ उनले भने ।

राष्ट्रपतिलाई त्यस्तो के बाध्यता थियो र देउवाको दाबी जाँच गर्ने मौका किन दिनुभएन ? भन्दै जब राणा रन्किए

प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको दाबीलाई जाँच गर्ने मौका राष्ट्रपतिले किन नदिएको भन्दै नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेलाई प्रश्न गरेका छन्। प्रतिनिधि सभा विघटनको मुद्दामा मंगलबार सरकारका तर्फबाट बहसमा सहभागी पाण्डेलाई प्रधानन्यायाधीश राणाले यस्तो प्रश्न उठाएका हुन्।

‘बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्ने व्यक्तिलाई राष्ट्रपतिले नियुक्त गर्नका लागि अधिकार दिइएको होइन?,’ उनको प्रश्न थियो, ‘नेपालको संविधानको धारा ७६ को उपधारा (५) को प्रक्रिया पूरा नगरेकोमा प्रश्न उठेको हो। दुई (केपी शर्मा ओली र शेरबहादुर देउवा) मध्ये एकलाई प्रधानमन्त्रीमा नियुक्त नगर्ने यो व्यवस्था हो कि होइन? भारतलगायतमा के अभ्यास भएको छ?’

राष्ट्रपतिले प्रधानमन्त्रीमा गरेको दाबी विश्वसनीय हुने आधार प्रस्तुत गर्ने मौका दिनुपर्ने र त्यसका लागि विकल्प खोज्नुपर्ने समेत उनको आशय थियो। ‘राष्ट्रपतिले दाबीकर्ताको आधार र त्यसको विकल्प खोज्नु पर्थ्यो कि पर्दैनथ्यो?,’ प्रधानन्यायाधीश राणको प्रश्न थियो।

उनले राष्ट्रपतिको कदमको बचाउमा बहस गरेका थिए । खबरसेन्टरमा छ ।यसपछि न्यायाधीश मिरा खड्काले राष्ट्रपतिको कामको न्यायिक पुनरावलोक गर्ने काम अदातलको भएको तर प्रधानमन्त्रीमा दाबीकर्ताको आधार जाँच गर्ने प्रतिनिधि सभामा अधिकार राष्ट्रपतिले किन हनन गरेको भन्दै प्रश्न उठाएकी थिइन्। ‘प्रधानमन्त्रीमा दाबीकर्ताको आधार ठिक छ कि छैन? त्यस्लाई जाच्ने प्रतिनिधिसभा त छँदै थियो नि होइन र?’ भन्दै न्यायाधीश खड्काले प्रश्न गरेकी थिइन्।

प्रधानमन्त्रीमा १४९ जना सांसदको हस्ताक्षरसहित दाबी गरेका देउवाको दाबीलाई राष्ट्रपतिले खारेज गर्दै जेठ ८ प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल

बाँके । कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् ।

बाँकेका मात्र नभई लुम्बिनी प्रदेशसहित कर्णाली र सुदूरपश्चिम प्रदेशका समेत बिरामी उपचारका लागि यहाँ आउने भएकाले अहिलेदेखि नै आवश्यक पूर्वतयारी शुरु गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले बताउनुभयो । उहाँका अनुसार, तेस्रो लहरको कोरोना सङ्क्रमण फैलिनु अगावै आवश्यक पूर्वाधार, स्वास्थ्य सामग्री र जनशक्ति व्यवस्थापनको पूर्वतयारीमा अस्पताल जुटेको छ ।

उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासले कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको सम्भावित जोखिम र त्यसलाई न्यूनीकरण गर्नका लागि व्यवस्थित रुपमा पूर्वतयारी गर्न भेरी अस्पतालसमेतका नाममा अन्तरिम आदेश दिएकाले पनि भेरी अस्पतालले पूर्वतयारीलाई अगाडि बढाएको छ । कोरोनाको दोस्रो लहरमा करिब एक हजार सङ्क्रमितको उपचार गरेको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पनि तेस्रो लहरको पूर्वतयारी शुरु गरिएको अस्पतालका उपनिर्देशक डा दिनेश श्रेष्ठले बताउनुभयो ।

कोरोना सङ्क्रमणको दोस्रो लहरमा भाइरस निकै आक्रमक र तीब्रगतिमा फैलिएका कारण मानवीय क्षति पनि बढी भएको कोभिड अस्पतालका संयोजकसमेत रहनुभएका उपनिर्देशक डा। श्रेष्ठले बताउनुभयो । १ सय ३० शय्याको यो अस्पतालमा बिरामीको सङ्ख्या घट्दै गएको र तेस्रो लहरको पूर्वतयारी गर्न तत्कालका लागि कोभिड वार्ड बन्द गरिएको छ ।न्यूज२४मा छ । अस्पतालमा उपचाररत चारजना बिरामीलाई भेरी अस्पतालमा पठाएसँगै अस्पतालका सबै शय्या खाली भएका छन् । तेस्रो लहरले बालबालिकालाई बढी असर पार्न सक्ने सम्भावना बढी रहेकाले यहाँका अस्पतालले सोही अनुरुपको पूर्वतयारी शुरु गरेको बताइएको छ ।

दोस्रो लहरमा अक्सिजनको समस्याले धेरै तनाव दिएकाले त्यसको व्यवस्थापनका लागि पाइपलाइन मर्मतसँगै विस्तार गर्नुपर्ने, सिप्याप मेसिन, अक्सिजन मास्कलगायतका उपकरण तयारी अवस्थामा राख्ने गरी पूर्व तयारीमा अस्पताल जुटेको छ । कोरोना दोस्रो लहरको सिकाइले अस्पतालमा शय्यादेखि भेन्टिलेटरलगायत भौतिक पूर्वाधारको पनि व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको अस्पतालका उपनिर्देशक डा श्रेष्ठको भनाइ छ । “कोरोना भाइरस सङ्क्रमण तेस्रो लहरका बिरामीको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा भौतिक संरचनाको पूर्व तयारीमा हामी जुटेका छौं”, उहाँले भन्नुभयो ।

एमाले महाधिवेशन आयोजक कमिटी भंग, माधवबाहेक असन्तुष्ट खेमाका सबै नेता पार्टीमा फर्कने

काठमाडौँ । नेकपा एमालेले दसौँ महाधिवेशन आयोजक कमिटी भंग गर्ने भएको छ । यस कमिटीले गरेका कारवाहीलाई अदालतले मान्यता नदिएको र असन्तुष्ट खेमाले पनि पार्टी एकताको मुख्य सर्त बनाएको कारण प्रधानमन्त्री केपी शर्मा ओली पछि हट्न तयार भएका हुन् ।

आज एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् । त्यही बैठकबाट यो संरचना भंग गरी ०७२ जेठ २ को संरचना ब्युँताउने निर्णय हुनेछ । यो निर्णयपछि असन्तुष्ट खेमातिर लागेका सबैजसो नेता कार्यकर्ता पार्टीमा फर्केर आआफ्नो भूमिकामा सक्रिय हुने भएका छन् ।

संस्थापनको यो तयारीलाई असन्तुष्ट खमाका नेताहरुले सकारात्मक भनेका छन् । यो अवस्थामा माधव नेपाल पनि पार्टीमा पर्किने उनीहरुको दावी छ । तर, नेपालनिकट स्रोतका अनुसार ओलीले एकदमै धेरै अपमान र गालीगलौज गरिरहेकाले उनी फर्किने सम्भावना कम छ । नेपालसँगै भीम रावल पनि पार्टी बस्ने सम्भावना कम रहेको बुझिएको छ । उनीहरु पुष्पकमल दाहाल प्रचण्डसँग मोर्चा बनाएरै जानुपर्ने पक्षमा छन् ।
सु

रेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, ठाकुर गैरे लगायत प्रभावशाली नेताहरु एमालेमा फर्किने निश्चित भएको छ ।

असन्तुष्ट खेमाबाट लालबाबु यादव, शेरबहादुर तामाङ, गणेश पहाडी, उषाकला राई, विष्णु रिजाललगायत यसअघि नै संस्थापक्षमा उभिइसकेका छन् । रामकुमारी झाँक्रीलगायत ओलीप्रति आक्रामक नेताहरु पनि पार्टीको मूल धार नछाड्ने निर्क्योलमा पुगेको बुझिएको छ । झाँक्री घनश्याम भुसाल, योगेश भट्टराई र ठाकुर गैरेलगायतको पूर्वमाले समूहमा रहेकाले उनीहरु सबैजना एमालेमा रहने निर्णयमा पुगेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा लागेर विपक्षी कांग्रेसका नेता शेरबहादुर देउवाको समर्थनमा एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन् । तीमध्ये करिब २० जना एमालेमै फर्किने भएका छन् ।pathivara daily एमालेको यस निर्णयले विपक्षी देउवाको प्रधानमन्त्रीमा दावी कमजोर हुने भएको छ । अदालतमा बुझाएका १ सय ४६ सांसदमध्ये २० जनाले फिर्ता लिने, अरु कतिपयको दावी शंशयपूर्ण रहने र पार्टीबाट कारवाहीमा पर्ने सम्भावना भएकाले देउवाको दावीले अदालतबाट मान्यता पाउन मुस्किल भएको हो ।

पूर्वमाओवादी के गर्लान् ?
एमालेको दसौँ महाधिवेशन कमिटी भंग र २०७५ जेठ २ अघिको संरचना ब्युँताउने निर्णयले पूर्वमाओवादी नेताहरु केही समय बाहिरै पर्ने भएका छन् । उनीहरुले बाहिरै बसेर पार्टी एकताका पक्षमा योगदान गर्ने बताएका छन् । पुरानो संरचनाअनुरुपको केन्द्रीय समितिको बैठक बसेपछि पूर्वमाओवादी लगायत अन्य नेताहरुको पनि कार्यविभाजन हेरफेर तथा समायोजन गर्ने तयारी संस्थापन पक्षको छ । योसँगै स्थायी समितिलगायत अन्य संरचनामा पनि पद मिलान नयाँ ढंगले हुनेछ । यसैका निम्ति विधान संशोधनको काम पनि भइरहेको छ ।

महाधिवेशन के होला ?
एमालेभित्रको यो परिवर्तित राजनीतिले महाधिवेशन भने थप अन्योलमा परेको छ । सम्भवत: आगामी मंसिरका लागि घोषणा गरिएको महाधिवेशन अब टरेको छ ।

नयाँ ढंगले कमिटीहरु पुन:संरचना गर्ने, जिम्मेवारी हेरफेर गर्ने र सदस्यता पनि अद्यावधिक गर्ने कामले प्राथमिकता पाउनेछ । माओवादीबाट प्रवेश गरेका रामबहादुर थापा बादल पक्षका कति सदस्य प्रवेश गर्छन् र उनीहरुलाई कति संगठित सदस्य दिने भन्नेमा केही समय खर्च हुने आकलन । त्यसमाथि आमनिर्वाचन भयो भने महाधिवेशन स्वत: पर धकेलिनेछ । असन्तुष्ट खेमा त्यागेर एमालेमा समाहित हुने नेताहरुले पनि महाधिवेशन केही समय पर धकेल्न चाहेका छन् । आफ्नो तयारीका लागि पनि उनीहरुले विलम्ब चाहेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवासमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नुभएको छ ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार ओलीले मंगलबार बिहान १० बजेर १० मिनेटदेखि ११ बजेर २० मिनेटसम्म ओलीले भण्डारीसँग छलफल गर्नुभएको हो ।

संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेका बेला उहाँहरुबीच छलफल भएको हो।

प्रधानमन्त्रीबाट दुई स्वास्थ्यकर्मीलाई ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका छन् ।

जननेता मदनकुमार भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेसनद्वारा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ‘जनताको बहुदलीय जनवाद जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा पुरस्कार हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले ती पुरस्कार प्रदान गरेका हुन् ।

कोभिड महामारीका क्रममा भेरी अस्पतालको आइसियुमा कार्यरत कालीकोटकी स्टाफ नर्स सुनिता सहकारी र नेपाल एम्बुलेन्स सर्भिस काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बमबहादुर गुरुङलाई जनही रु एक लाख राशिको सो पुरस्कार प्रदान गरिएको हो ।

कोभिड– १९ को महामारीमा आफ्नो ज्यान जोखिममा राखेर अग्रपङ्क्तिमा रही कोभिडबाट सङ्क्रमित बिरामीको सेवामा दिनरात खटेर सेवा गरेका उनीहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै यो पुरस्कार प्रदान गरिएकोे फाउण्डेशनका सचिव पेम्बा लामाले बताए ।

सो पुरस्कार चयनका लागि मानवअधिकारवादी सुशील प्याकुरेलका संयोजकत्वमा चयन समिति गठन गरिएको थियो । समाजमा सकारात्मक योगदान प्रदान गर्ने विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिँदै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ यसअघि हास्य कलाकार महजोडी, शहीद पार्क–हेटौँडा, मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला र सामाजिक अभियन्ता महावीर पुन, ‘धुर्मुस सुन्तली फाउण्डेसन’, प्राडा सुबोध शर्मालाई प्रदान गरिएको थियो ।

यसैगरी जन्मजयन्तीका अवसरमा ‘नेपालको संविधान र जननेता भण्डारी’ विषयमा आयोजित राष्ट्रव्यापी खुला निबन्ध प्रतियोगिताका विजयीलाई पनि पुरस्कृत गरियो । पुरस्कृत हुनेमा कास्कीका दुर्गा पौडेल (प्रथम), दोलखाका प्रकाश पकुवाल (द्वितीय) र दार्चुलाका वसन्तसिंह ठगुन्ना (तृतीय) रहेका छन् ।

उनीहरुलाई क्रमशः रु १५, १० र पाँच हजार राशिको पुरस्कार दिइयो । पुरस्कार छनोटका लागि स्रष्टा अनिल पौडेलका संयोजकत्वमा समिति गठन गरिएको थियो ।खबर बाणी

भटमास र सूर्यमुखी कच्चा तेलको मूल्य घट्यो, कति पुग्यो तेलको मूल्य ?

अन्तरराष्ट्रिय बजारमा भटमास र सूर्यमुखी कच्चा तेलको मूल्यमा ह्रास आएपछि नेपालमा पनि खाने तेलको मूल्य घट्ने भएको छ । नेपाली बजारमा तेलको मूल्य घट्दा उपभोक्तालाई भने फाइदा हुनेछ । तर, मूल्य घट्नुअघि नै एलसी खोलेर कच्चा तेल मगाएका उद्योगीहरूले घाटा बेहोर्ने भएका छन् । मूल्य घट्नुअघि एलसी खोलेर मगाएको कच्चा तेलमा नेपाली उद्योगीले करीब १ अर्ब ८० करोड गुमाएका छन् ।

नेपालका उद्योगीहरूले अर्जेन्टिना र ब्राजिलबाट पैठारी गर्ने भटमासको कच्चा तेलको मूल्यमा १ सातामा ३ सय डलर प्रतिमेट्रिक टन घटेको छ । साता अघिसम्म १ हजार ४ सय ७५ डलर रहेको भटमासको तेलको मूल्य १ हजार २ सय अमेरिकी डलरमा झरेको व्यवसायीहरूले बताएका छन् ।

बजारमा अहिले सूर्यमुखी तेलको मूल्य थोक मूल्य प्रतिलिटर २५० र भटमासको तेलको खुद्रा मूल्य २३० रहेको छ । अन्तरराष्ट्रिय बजारमा तोरीको मूल्यमा कमी नआएकाले तोरीको तेलको मूल्य भने स्थिर रहने घरेलु तेल उद्योगका सञ्चालक श्रवण अग्रवालले बताए । उनका अनुसार भटमास र सूर्यमुखी तेलको मूल्यमा भने प्रतिलिटर २० देखि ३० रुपैयाँसम्म कमी आउन सक्छ ।

उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष एवं श्रीराम रिफाइनरीका सञ्चालक प्रदीप मुरारकाले गतवर्ष यो बेलामा भटमासको कच्चा तेलको मूल्य ६ सय ६० डलर मात्र रहेको बताए । तर, कोरोनाका कारण कच्चा तेलको मूल्य लगातार वृद्धि भएको उनले बताए ।

सूर्यमुखी कच्चा तेलको मूल्य प्रतिटन १ हजार ६ सय ५० अमेरिकी डलरबाट १ हजार ३ सय २५ डलरमा झरेको छ । अघिल्लो वर्ष यही सिजनमा सूर्यमुखी कच्चा तेलको मूल्य प्रतिटन ७ सय २५ देखि ७ सय ५० अमेरिकी डलर थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दैछ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक आज ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

यस्तै एमालेले वुधबार महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ। एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बस्नुअघि स्थायी कमिटी बैठक डाकेको हो ।

पार्टीले गठन गरेको महाधिवेशन आयोजक कमिटी सर्वोच्च अदालतले अवैधानिक भनेपछि उक्त कमिटी भंग गर्ने एमालेको तयारी रहेको बुझिएको छ।